स्थापना उद्देश्य

नेपाली साहित्यको वर्तमान धरातल अझ बढी फराकिलो पार्दै नेपाली साहित्यलाई सशक्त र समुन्नत बनाई विश्वसाहित्यको समकक्षमा स्थापित गर्न सघाउने विशुद्ध भावना राखेर वि. सं. २०५७ सालमा दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको स्थापना भएको हो। नेपाली साहित्यमा सृजनशील अग्रज लेखकहरूलाई कदर एवम् सम्मान गर्ने, नवोदित प्रतिभाहरूलाई प्रोत्साहित गर्ने र नेपाली साहित्यको श्रीवृद्धि गर्न छरिएर रहेका विभिन्न धारमा कलम चलाउने साहित्यकारहरूलाई समेट्दै अगाडि बढ्ने यस प्रतिष्ठानको उद्देश्य रहेको छ।

वि. सं. २०४४ सालदेखि निरन्तर प्रकाशन हुँदै आएको ‘दायित्व’ पत्रिकाको आफ्नै लामो साहित्यिक इतिहास रहेको छ। दायित्वका गतिविधि समेतलाई हृदयङ्गम गरी उपर्युल्लिखित उद्देश्यहरूको परिपूर्तिहेतु सङ्घसंस्था दर्ता ऐन २०३४ को दफा ४ बमोजिम २०५७ जेठ ३२ गते काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा रामप्रसाद पन्त – अध्यक्ष, ठाकुर शर्मा भण्डारी – सचिव, लक्ष्मी शर्मा पन्त – कोषाध्यक्ष तथा सदस्यहरू – केशवराज पन्त, यादव भट्टराई, कमलप्रसाद ज्ञवाली र विष्णु ज्ञवालीको संस्थापकत्वमा दायित्व वाङ्मय प्रतिष्ठान, नेपाल दर्ता गरिएको हो।

वि. सं. २०७६ सालमा बुढानीलकण्ठ नगरपालिका वडा नं ८ स्थित दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको आफ्नै एक तले पुस्तकालय भवन निर्माण भई सञ्चालनमा आएको छ।

गतिविधि

दायित्व वाङ्मय प्रतिष्ठानले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। साहित्यिक कृति प्रकाशन गर्ने, भाषासाहित्यका क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने स्रष्टाहरूलाई पुरस्कार, सम्मान र अभिनन्दन अर्पण गर्ने, भाषासाहित्यका विविध विषयमा गोष्ठीहरूको आयोजना गर्नेलगायतका कार्यक्रमहरू नियमित रूपमा प्रतिष्ठानले गर्दै आएको छ। कृति विमोचन र अन्तर्क्रिया जस्ता कार्यक्रमहरू पनि प्रतिष्ठानका नियमित कार्यक्रम बनेका छन्। यसका साथै ‘ दायित्व ‘ पत्रिकामार्फत विभिन्न समयमा दुई दर्जन विविध विशेषाङ्कहरू प्रकाशन गरिसकेको तथ्य सर्वविदितै छ। ‘ दायित्व ‘ का हालसम्म १२९ अङ्क प्रकाशित भइसकेका छन् भने प्रतिष्ठानद्वारा हालसम्म नेपाली साहित्यका विभिन्न विधाका १६६ थान पुस्तकहरू प्रकाशित छन् ।

पुरस्कार, सम्मानको स्थापना

() शङ्कर कोइराला स्मृति पुरस्कार

नेपाली साहित्यको आख्यान विधामा कलम चलाई कृति प्रकाशनका माध्यमबाट योगदान गर्ने विशिष्ट स्रष्टा वा आख्यानकार शङ्कर कोइरालाका बारेमा अध्ययन अनुसन्धान गर्ने अनुसन्धातालाई यो पुरस्कार आख्यानकार शङ्कर कोइरालाको जन्मजयन्तीका अवसरमा आयोजना गरिने कार्यक्रममा अर्पण गरिन्छ। यो पुरस्कार वि. सं. २०५९ सालदेखि प्रत्येक वर्ष अर्पण गरिँदै आएको छ।

() दायित्व वाङ्मय विशिष्ट सम्मान

नेपाली भाषासाहित्यका क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने दुई जना स्रष्टालाई यो सम्मान वि. सं. २०५९ सालदेखि निरन्तर रूपमा प्रत्येक वर्ष अर्पण गरिँदै आएको छ।

() हरिकलागुणाकर दायित्व रचना पुरस्कार

‘ दायित्व ‘ द्वैमासिक पत्रिकामा वर्षभरिमा प्रकाशित लेखरचनाहरूमध्ये उत्कृष्ट एक रचनालाई यो पुरस्कार वि. सं. २०६४ सालदेखि निरन्तर रूपमा प्रत्येक वर्ष अर्पण गरिँदै आएको छ।

() दायित्व वाङ्मय सम्मान

दायित्व वाङ्मय प्रतिष्ठान, नेपालका आजीवन सदस्यहरूमध्येबाट दुई जना विशिष्ट स्रष्टालाई यो सम्मान वि. सं. २०६५ सालदेखि निरन्तर रूपमा प्रत्येक वर्ष अर्पण गरिँदै आएको छ।

() दायित्व मुरलीदेवीगुरुदत्त काफ्ले स्मृति पुरस्कार

शिक्षा, साहित्य, संस्कृति, कलालगायतका विविध क्षेत्रमा योगदान गर्ने एक जना समाजसेवी व्यक्ति वा संस्थामध्ये एकलाई यो पुरस्कार वि. सं. २०७५ सालदेखि निरन्तर रूपमा प्रत्येक वर्ष अर्पण गरिँदै आएको छ।

() दायित्व यशोदा पन्त प्रतिभा पुरस्कार

नेपाली भाषासाहित्य, संस्कृति, कला, पत्रकारितालगायतका क्षेत्रमा समर्पित भई योगदान गर्ने सिर्जनशील युवा नारी प्रतिभालाई यो पुरस्कार वि. सं. २०७५ सालदेखि निरन्तर रूपमा प्रत्येक वर्ष अर्पण गरिँदै आएको छ।

माथि उल्लिखित (२) देखि (६) सम्मका सबै सम्मान र पुरस्कारहरू दायित्व वाङ्मय प्रतिष्ठानको वार्षिकोत्सवका अवसर आयोजना गरिने कार्यक्रममा  अर्पण गरिँदै आएको छ।