साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

यक्ष प्रश्नको घेरामा

‘अरूलाई हेर्‍यौँ पटक–पटक, माओवादीलाई हेरौँ एकपटक,’ भन्दै २०६२–०६३ सालको जनआन्दोलनपछि निर्वाचन मैदानमा आएको माओवादीलाई जनताले विश्वास गरेकै हुन् । केही गरेर देखाउने मौका दिएकै हुन् । तर माओवादी नेतृत्वले जनअपेक्षा विपरीत जे–जस्ता गतिविधिहरू त्यस अवधिमा देखायो, त्यसले निर्वाचनमा रामकुमारी चौधरी ‘रोजिना’जस्ता प्रतिबद्ध कार्यकर्तालाई जनताबाट अनुमोदित हुन समस्या पर्‍यो । यो कुराबाट माओवादी नेतृत्व किन सार्वजनिक रूपमा आत्म–आलोचित छैन ? वा उसको व्यवहारमा त्यो किन देखिँदैन ?

एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीको नेतृत्वका रहेका दीनानाथ शर्मासँग एक दिन मैले यस्तै जिज्ञासा राखेँ ।

bahulako diary small and inside post

‘यसमा हामी प्रशस्त आत्म–आलोचित छौँ । हामीले यो विषयमा पार्टीभित्र गम्भीर समीक्षा गरेका छौँ । यो कुरा रामकुमारीजीलाई पनि थाहा छ ।’

औपचारिक फेस–सेभिङको सिलसिला यसरी सुरु भयो ।

माओवादीलगायत जुन पार्टी पनि प्रतिपक्षमा हुँदा वा सत्तामा नहुँदा राष्ट्रियताका चर्काचर्का कुरा गर्ने चलन छ । त्यो बेला पार्टीहरूले मेची–महाकाली जागरण यात्रालगायत यस्तो अभियान चलाउँछन् कि लाग्छ, अब चाहिँ सीमा सरोकारका लागि जनता, युवापुस्ता जागिसके । मार्चपास, जनजागरण, टायर–दहन, नेपाल बन्द, घोर–भत्सर्ना आदि–इत्यादि आन्दोलनको आँधी–बेहरीले दसगजा वरपरका फोहोर र अतिक्रमणहरू निश्चित व्यवस्थापन हुनेछन् । तर पार्टीहरू जब सत्तामा जान्छन् तब तिनलाई न कालापानी बिझाउँछ, न सुस्ता दुख्छ । न सुनसरीको रानीगञ्ज भन्सारसहित सात हजार बिघा नेपाली भू–भाग कोसी ब्यारेज निर्माणको बहानामा भारतमा विलय पारिएको कुराले पोल्छ । औपचारिक–अनौपचारिक कुनै पनि भ्रमण, भेटघाटको एजेन्डा बन्दैन सीमा सरोकारको कुरा । यस्तो किन गर्नुहुन्छ तपाईहरू ? माओवादी नेतृत्वसमक्ष दोस्रो जिज्ञासा राखियो ?

‘सीमा मिचिएको कुरा जहिले पनि हाम्रो प्राथमिकतामा पर्दै आएको छ । त्यस विषयमा हामी गम्भीर छौँ । तर सडकमा गरिएको अहिलेको जस्तो राजनीतिक अभ्यासले मिचिएको भूमि फर्काउन सकिँदैन भन्ने कुरामा पनि हामी प्रस्ट छौँ । यसका लागि राष्ट्रिय–अन्तर्राष्ट्रिय समुदाय र विशेषज्ञमार्फत कुटनीतिक पहल गर्नुपर्छ । यसमा हामी चुकेका छैनौँ । फेरि यो विषय आजका भोलि समाधान हुने कुरा पनि होइन ।’

जबाफदेही नेतृत्वको धाराप्रवाह भनाइलाई यस्तै शब्दहरूमा टिप्न भ्याइयो ।

जब–जब तपाईहरूसँग कसैले सहकार्य गर्छ, सँगै हिँड्न थाल्छ, त्यो बेला कमल थापा होस्, दुर्जकुमार राई होस्, चाहे जोसुकै होस्, त्यस्तो व्यक्ति तपाईहरूका लागि अति प्रिय हुन्छ । राष्ट्रवादी हुन्छ । दूधले नुहाएको हुन्छ । तर जब कसैले तपाईहरूको काम–कारवाहीप्रति विमति राख्दै नोट अफ डिसेन्ट लेख्छ । दोबाटोबाट मोडिएर अलग्गै हिँड्ने अभ्यास गर्छ, त्यसपछि ऊ घनघोर अराष्ट्रिय तत्व हुन्छ । उसमा फोहोरै–फोहोर देखिन थाल्छ । पागलसम्म भन्न पनि पछि पर्नुहुन्न । यस्तो किन गर्नुहुन्छ तपाईहरू ? अनपेक्षित पृष्ठभूमिमा तपाईहरूको अघिल्लो कुरा पत्याउने कि पछिल्लो ?

‘हामी कसैले पनि पागल भनेको छैन । कहीँ–कतैबाट यस्तो कुरा आएको छ भने त्यो गलत छ, पूर्णतः भ्रमपूर्ण छ । हामीले भनेको के मात्र हो भने उहाँ हामीसँग रहँदादेखि नै माक्र्सवादको मुख्य पथ (प्रचण्ड–पथ) त्यागेर ओरालो जाने राजनीतिक गोरेटोमा हिँड्दै हुनुहुन्थ्यो । हामीले उहाँलाई पटक–पटक सचेत पनि गरायौँ । उल्टै हामीलाई नै त्यही बाटोमा लाने प्रयास गर्नुभयो । तर सक्नुभएन । यतिबेला उहाँ त्यही पतनको मार्गमा हिँड्ने अभ्यासको उत्कर्षमा हुनुहुन्छ । पचास वर्षभन्दा बढी समयको उहाँको राजनीतिक जीवन बल्ल यहाँसम्म आइपुग्यो । अब पचास वर्ष बाँच्नु होला–नहोला । यो अवधिमा उहाँले देशलाई अँध्यारो भासमा पुर्‍याउने हुनुभयो भन्ने चिन्ता सर्वत्र छ । हाम्रो चिन्ता पनि त्यही हो । हामी अहिलेसम्मको अनुभवका आधारमा उहाँ वा अरू कोहीका कारणले देश अँध्यारो गर्तमा नभासियोस्, प्रतिगमनमा नजाओस् भनेर रोक्न बल गरिहेका छौँ,’ माओवादी नेतृत्वले भन्यो, ‘हामी यस विषयमा प्रस्ट र अत्यन्तै गम्भीर छौँ ।’

चौथो प्रश्न दुनियाँवादी होइन, सरकारवादी फौजदारी अभियोगसँग जोडियो । ओखलढुङ्गाका बालकृष्ण ढुङ्गेल प्रकरणबाट पीडित भएका परिवारका तस्बिरहरू अखबारमा आइरहन्छन् । अपराधपीडित आमा–दिदीका रोदनहरू रेडियोमा एकपछि अर्को शृङ्खलामा सुनाइन्छन् । चुहाएका आँसुका दृश्यहरू टेलिभिजनका पर्दामा देखाइन्छन् । अदालतले अपराधका विपक्षमा फैसला पनि गर्छ । तर यति हुँदा–हुँदै पनि तपाईहरू खासगरी माओवादी नेतृत्वको मन चाहिँ किन पोल्दैन ?

‘यस प्रकरणमा अब हाम्रो जबाफ सुन्नुस् । यसरी एक–एक व्यक्ति छानेर द्वन्द्व–कालका राजनीतिक मुद्दालाई फौजदारी अभियोग लगाउँदै, ब्युँताउँदै जाने हो भने समाज र मुलुकको राजनीतिक स्थिति कहाँ पुग्छ ? अहिले सबैको राजनीतिक सहमतिमा प्राप्त संविधान, गणतन्त्र आदि संस्थागत हुँदै गरेका उपलब्धिहरूको नियति के हुन्छ ? पक्कै पनि हामी कसैले फेरि यो मुलुकलाई लामो सशस्त्र द्वन्द्वमा लान चाहेको होइन होला । मुलुकमा भाँडभैलो मच्चाउन खोजेको होइन होला । फेरि रगतको खोलो बगाउन चाहेको होइन होला । त्यसैले हामी के भनिरहेका छौँ भने यसरी एक–एक गरेर होइन, समग्रमा… !’
होइन, यो त एउटा केटाले एउटी केटीलाई मन पराएर अन्तर्जातीय विवाह गरेको घटना र त्यससँग जोडेर गरिएको अपराधको कुरा होइन र ? यसलाई द्वन्द्वकालको राजनीतिक मुद्दा हो भनेर एउटै धोक्रोमा हाल्न मिल्छ ?

‘कसले भन्यो तपाईलाई यो कुरा ?’

सर्वोच्च अदालतले नै स्वीकार र प्रमाणित गरिदियो अनि ?

‘सर्वोच्च अदालत नै सबैथोक होइन । राजनीतिक गणित मिलाउने, राजनीतिक मुद्दा निरुपण गर्ने राजनीतिक तरिका र सूत्रहरू हुन्छन् । अघि मैले जबाफ दिँदै थिएँ, तपाईले पूरै कुरा नै सुन्नुभएन । हामीले अदालतको अपमान गर्छौं भनेका छैनौँ । कानुनी राज्यको उपहास नहोस् भन्नेमा पनि हामी सचेत नै छौँ । तर हाम्रो भनाइ कति मात्र हो भने, हामी भन्दै छौँ, सत्य निरुपण तथा मेलमिलाप आयोगले आफ्नो काम नसकुञ्जेल यसरी नानाथरि निकायबाट द्वन्द्वकालका मुद्दालाई जथाभावी गिजोल्ने काम नगरियोस् ।’

पाँचौँ जिज्ञासाका लागि निर्धारित समय पुगेन । कमरेडहरूलाई अर्कै कार्यक्रममा पुग्नुपर्ने हतारो थियो ।

जिज्ञासा थियो– तपाईहरू गरिब, सर्वहारा वर्गको नेतृत्व गर्छौँ भन्नुहुन्छ । उनीहरूको उत्थानका लागि राजनीति गरेको भन्नुहुन्छ । पहिले–पहिले त्यस्तै देख्न पाइन्थ्यो पनि । तर अचेल त्यो एकादेशको कथा भयो । अचेल तपाईहरू पनि अरूले जस्तै आवश्यकताभन्दा बढी सुकिलो–मुकिलो हुनुभयो । सरकारी र अन्य सुविधा भनेपछि मरिहत्ते गर्ने हुनुभयो । पार्टीका लागि उठेको पैसामा भ्रष्टाचारको गन्ध मिसाउनुभयो । राजधानी र सुविधासम्पन्न ठाउँमा नेताका महल ठडिए । चन्दादाता जो भए पनि उसलाई पार्टीमा उच्च आसनहरू दिनुभयो । कम्युनिस्ट सिद्धान्तको व्यावहारिक परिपालना भन्दा पुँजीपतिको भींड जम्मा गरेर त्यसैमा रमाउन थाल्नुभयो । जनताका घरमा, कम्युनमा बस्ने परिपाटी त्यागेर ठेकापट्टा कमिसनको आर्जन मिठो मान्न थालेको देखियो । तपाईहरूलाई माइला लामा, जेबि टुहुरे, रामेश श्रेष्ठहरू जेसुकै गाउन्, जतासुकै जाउन् भने जस्तो लाग्न थाल्यो । जब यिनै कुराहरू गर्नुथियो भने सुरुमा हामी अरूहरूले जस्तो यस्ता आलोचनायोग्य कामहरू चाहिँ गर्दैनौँ भनेर किन भन्नुभएको ? क्रान्तिको विशेष उपलब्धिका रूपमा विकसित गरिएको प्रचण्ड–पथको हविगत के हुँदै छ ? विचार गर्दै हुनुहुन्छ नि !

साँच्चै यदि यही भूमिकासहित पाँचौँ जिज्ञासा राखिएको भए, प्रवक्ता शर्माले के जवाफ दिनुहुन्थ्यो होला ? मैले त्यसै अनुमानका भरमा भन्ने कुरा आएन । तर उहाँको जबाफको सारमा के चाहिँ अवश्य जोडिन्थ्यो भने, यस विषयमा हामी प्रशस्त आत्म–आलोचित छौँ । तथापि बहुलवादी प्रतिस्पर्धाको राजनीतिमा सबै कुरा हामीले सोचेजस्तो सरल रेखामा अघि बढिरहेको हुँदैन । हामीले गल्तीहरूबाट सिकेका छौँ । ती गल्तीहरू नदोहोर्‍याउने सार्वजनिक बाचा गरेका छौँ । सम्पूर्ण देशभक्त र राष्ट्रवादी शक्तिहरूलाई गोलबद्ध गर्दै, प्राप्त उपलब्धिको रक्षा र लोकतन्त्र संस्थागत गर्नका लागि बाँकी राजनीतिक मुद्दा निरुपण गरेर जन–अपेक्षाअनुरूप आर्थिक विकासको कार्य–दिशामा अघि बढ्न प्रतिबद्ध छौँ ।

यहाँनेर एउटा अर्को जिज्ञासा पनि समीचिन छ । इतिहासमा एक रात, केही दिनपछि आफैँ हावाले उडाएर लैजाने कसिङ्गर रुक्माङ्गत कटवाललाई कुचोले नबढारी भएन । घमासान जुँगाको लडाइँ देखाउनुपर्‍यो । बन्दा–बन्दैको अरुण तेस्रो रोकेर एमालेले र आफ्नै बहुमतको सरकार ढालेर काङ्ग्रेसजनले जुन देशविरोधी हर्कत देखाए, त्यसले मुलुकलाई राजनीतिक–आर्थिक विकासको कोर्समा स्वाभाविक ढङ्गले अघि बढ्न अझै अवरोध गरिरहेकै छ । त्यही स्तरको गल्ती, एकप्रकारले बालहठ भन्न सुहाउने काम नयाँ नेपाल बनाउन चाहने माओवादीले किन गर्नुप¥या थियो ?

‘हामी विधिको शासन स्थापित गर्छौँ । भ्रष्टाचार, अपराधका सन्दर्भमा शून्य सहशीलता देखाउँछौँ । आर्थिक क्रान्ति हुनेछ,’ देशमा आदि–इत्यादि सुगर–कोटेड शब्दमा अनेक सार्वजनिक सपना बाँडेका छन् दल र नेतृत्वले । पहिले–पहिलेजस्तो उम्किने ठाउँ बाँकी छैन ।

अब द्वन्द्वकालको सत्य निरुपण कसरी हुन्छ ? राजनीतिक आवरणमा भएको ज्यादती र क्षतिको परिपुरण कसरी हुन्छ ? जनताको स्वतन्त्रता, सार्वभौमसत्ता सम्पन्नता के हुन्छ ? पत्रकारहरूलाई अलिकति धक्का लगाए पनि केही हुँदैन भन्ने प्रतिगामी विचारको हैसियत के हुन्छ ? नेतृत्वले काम गर्न पाइएन भन्ने राजनीतिक बहानाबाजी कहिले सकिन्छ ?
समकालीन ‘हि सेड, सि सेड’ जर्नालिज्मका लागि यति प्रश्न पर्याप्त थिए ।

‘तपाई कुन पत्रिकाको हो ?’

कमरेडलाई खसखस लाग्यो । दुनियाँले असामयिक ठानिदिए हुने भन्ने लागिरहेका ‘फरक’ प्रसङ्ग कोट्याउँदा कमरेड छक्क पर्नुभयो ।

‘अहिले कुनै पत्रिकामा छैन तर म लामो समयदेखि सुनसरी क्षेत्रमा रहेर पत्रकारिताको गतिविधिसँग सम्बन्धित छु । तपाईका यहाँका साथीहरूले मलाई चिन्नुहुन्छ ।’

कमरेड आश्वस्त हुनुभयो, बिनासन्दर्भ बालकृष्ण ढुङ्गेलको प्रश्न उठाउने मान्छे कम से कम ‘र’ को एजेन्ट वा कुनै पार्टीको प्रवक्ताचाहिँ होइन ।

अहिलेको दिल्ली, ऊ बेलाको हस्तिनापुरमा युधिष्ठिर र भाइहरू सत्य, न्याय र शान्ति स्थापनाको मार्गमा थप अघि बढ्नुअघि यक्षले (जनता भनेका राजनीतिक दलका भाग्य निर्माता हुन्, भगवान् हुन् भनिएको सन्दर्भमा) परीक्षा लिएका थिए । परीक्षामा ‘मान्छेको सच्चा मित्र को हो ?’ लगायत यक्ष–प्रश्नहरू सोधिएका थिए । नेतृत्वले ती प्रश्नको यथोचित जवाफ दिएपछि मात्र पाण्डवहरूका लागि जारी धर्मयुद्धमा विजयी हुने बाटो खुलेको थियो । यता, उहिलेको त्रिपुर (भक्त, कान्ति, ललित) अर्थात् अहिलेको बृहत् नेपाल–मण्डलको सेरोफेरोमा यो लेखाइको पाश्र्व र अन्तर्यमा कम्युनिस्टहरू पनि त्यही सङ्घारमा उभिएका छन् । नेतृत्वको जबाफले चित्त नबुझुञ्जेल जनताबाट कमरेडहरूले अघिल्लो यात्राका लागि बोर्डिङ–पास पाउनेवाला छैनन् । कमरेडहरूले प्रस्तुत ‘मिथक’को अर्थ बुझ्नुभएकै होला । नबुझिएका कुरा गुगल सर्च गर्दा हुन्छ ।
प्रष्टीकरण – यहाँनेर सम्झेर लेख्ने बेलामा शब्दहरू केही तल–माथि परेका हुनसक्छन् तर उल्लिखित सन्दर्भ, जिज्ञासा तथा पात्रहरू कुनै पनि काल्पनिक होइनन् । कसैलाई काल्पनिक लागे त्यो संयोग मात्र हुनेछ ।

प्रतिक्रिया
Loading...