“ तपाईंको नाम के हो ?”  

“ सिनम ”

“ घर कहाँ हो ?” 

“ थाहा छैन ।”

“ घर परिवारमा को को छन् ?” 

“ कोही छैनन् ।”

“ कहाँ बुस्नुहुन्छ ?” 

“टेम्पो ग्यारेजमा ।” दुर्घटनामा घाइते सिनम सकिनसकी जवाफ दिइरहेको थियो ।

बाढी पहिरोको प्रकोपका कारण सपरिवार गुमाएर शहरमा उपचारका लागि ल्याइएको असहाय टुहुरो केटो रहेछ सिनम । मोटर ग्यारेजमा काम गर्दागर्दै टेम्पो चलाउन सिकेछ । अहिले साहुकै टेम्पो भाडामा चलाउँदो रहेछ । 

दुर्घटना स्थलमा पुलिसले केरकार गर्यो । अन्तत: केस चल्ने अवस्था भयो । सारा व्यहोराबाट टेम्पो चालक निर्दोष भएको देखिँदा पनि उसको पक्षमा बोलिदिने कोही भएन । दुर्घटना गराउने कारको बोलवाला भयो । अन्तमा एक मनकारी व्यक्तिले उसको पक्ष लिए । घटनाको प्रतिवाद गरे । निर्दोष व्यक्तिलाई दोषबाट मुक्त पार्न भरपुर प्रयास गरे तर सफल भएनन् ।

मुद्दा चल्यो । असहायको तर्फबाट बहस गर्ने वकिल त उनै भलादमी मनकारी व्यक्ति पो रहेछन् । 

वकिलले श्रीमतीसँग फोनमा सञ्चो बिसञ्चोको कुरा गरे । मुद्दाको बहसको घटना पनि सुनाए । श्रीमतीले आफन्त हुनसक्ने आकलन गरिन् । उनको मामाघरमा घटेको यस्तै प्रकृतिको दुर्घटना सुनाइन् ।

“ तिमीलाई अहिले कस्तो छ सुधा ?” 

“ ठीकै छु । शरीर अलि झमझमाइरहेछ । ती असहायका लागि सक्दो सहयोग गर्नुहोला । म सञ्चो भएपछि को रहेछ भेटन आउँछु ।” 

बहस लम्बिँदै गयो । बिरामी श्रीमती र असहायको चिन्ताले उनी भावुक भए । अन्तिम बहस पछि निर्णय आउँदै थियो । उनी बहस चेम्बरमै थिए । श्रीमतीको कल आएकाले उनको सहयोगीले फोन दिए । फोनमा श्रीमतीको अन्तिम वाक्य सुने र फोन काटे । चेम्बरमै लामो सास फेरे र आँसुका धारा सरर बगाए । न्यायाधीशले सोधे । 

“ के भयो वरिष्ठ अधिवक्ताज्यू ?” 

“ श्रीमान् असहाय दीन दुःखीले न्याय त पाउँछ होला । हर्षविभोर भएँ । तर श्रीमान्……………”