छोराले जाने जति नेपाली नामहरू, एक एक गरी प्रस्ताव राख्तै गयो । मैले ती सबैमा आफ्नो असहमति जनाउँदै गएँ । छोराले नेपालीपनको सम्मान गर्न कुकुरलाई नेपाली नाम राख्न खोज्दै थियो भने म चाहिं त्यही नेपालीपनको सम्मान गर्न उसको प्रस्ताव अस्वीकार गरिरहेको थिएँ ।
00000
जागीरको सिलसिलामा एक ठाउँबाट अर्को ठाउँ सर्ने क्रममा ‘अप्रिज’लाई हामीसँगै लान अलिक कठिनाइ पर्ला जस्तो भयो र हामीले उसलाई कसैसित छोडिदिने विचार गर्यौँ । अप्रिजलाई त्यसरी आफूसँग राख्न तयार परिवार पनि भेटिएको थियो । अप्रिजलाई हामीसँगै लान नमिल्ने कुरो हामीले हाम्रो नौ वर्षे छोरोलाई अलिक अघि नै भनेका थियौं ।
अप्रिज हाम्रो कुकुरको नाम थियो ।
“भोलि कुनै अर्को जागीरमा सर्नु परे अनि मलाई लान मिलेन भने, मलाई पनि त्यसरी नै अरूसँग छोडिदिनु हुन्छ ?” एक दिन छोराले सोध्यो ।
“हैन, त्यो जागीर नै छोडिदिन्छु बरु । नाथे कुकुर र छोरो वा परिवारको कुनै पनि सदस्य कतै उस्तै हुन्छ ?” छोराको प्रश्नको प्रहारबाट सम्हालिन खोज्दै मैले भनें ।
“अप्रिज पनि त हाम्रै परिवारको एउटा सदस्य हो नि !”
म अवाक भएँ । मलाई थाहा छ, त्यस्ता कुरामा मसँग आखिरमा भन्ने कुरा केही हुँदैन । नेपालको एउटा पहाडको गाउँमा जन्मेहुर्केको म र अमेरिकामा जन्मी हुर्कंदै गरेको मेरो छोराको, कुकुरलाई हेर्ने बेग्लै आँखा रहेछन्, बेग्लै संस्कृति विकसित भएका रहेछन् – मलाई यस्तो लाग्यो ।
“यो छाउरालाई नेपाली नाम राख्नुपर्छ,” केही वर्षपहिले अप्रिजलाई हामीले एउटा सानो छाउरोको अवस्थामा दोकानबाट किनेर घरमा ल्याउने बित्तिकै उसलाई सुमसुम्याउँदै मेरो छोराले प्रस्ताव राखेको थियो ।
“भै हाल्छ नि,” मैले भनेको थिएँ ।
हामी अमेरिकामा बस्ने गरे पनि छोराछोरीले नेपालसँगको सम्बन्ध र बन्धन नचुँडाउन् भनेर आफूले नेपालका बारेमा जाने, सुनेका र अनुभव गरेका कुरा सकेसम्म बेलाबेला सबै भन्ने, बुझाउने र सम्झाउने अनि चाडपर्व मनाउने गरेका थियौं ।
“यसको नाउँ उमेश राखौं है,” उस्ले भन्यो ।
“ए , यो त हुँदैन ।”
“किन ?”
“उमेश अंकल हाम्रो घरमा आएको बेला कुकुरलाई ‘ए उमेश’ भनेर झुक्केरै भए पनि बोलाउनु पर्यो भने उमेश अंकलको ठूलो अपमान हुन्छ,” मैले अलिअलि हाँस्दै भनें ।
उमेशजीको परिवार पनि हामी जस्तै नेपालबाट आएको थियो । कारमा जाने हो भने त उमेशजीको घर हाम्रोबाट त्यस्तै पाँच-सात मिनेट टाढा थियो होला । अनि हाम्रा दुई परिवारको बीचमा खूब आवतजावत पनि थियो ।
“त्यसो भए कृष्ण राखौं ।” हामीले भरखरै हिन्दी सिरियलको भिडियोहरू मार्फत ‘महाभारत’ हेरेका थियौं । बीच-बीचमा रोक्तै भिडियोमा देखाइएका कुरा सारांशमा छोरालाई बुझाउने प्रयास गर्थ्यौं । उसलाई सबैभन्दा मन पर्ने पात्र कृष्णको थियो ।
“कृष्ण पनि हुँदैन, कृष्ण त झन् भगवानको नाम हो, कुकुरको नाम कृष्ण राख्दा झन् ठूलो अपमान हुन्छ,” मैले भनें ।
“अनि महाभारतको कृष्ण साँच्चै भगवान् हो ?”
“होइन, ऊ एउटा मान्छे हो ।”
“मान्छेको नाम कृष्ण राख्दा भगवानको अपमान हुँदैन ?”
मैले केही पनि भनिनँ ।
छोराले जाने जति नेपाली नामहरू, जसमा हाम्रा नातागोता साथीभाइ साथै केही पौराणिक नामहरू परेका थिए , सबै एक एक गरी प्रस्ताव राख्तै गयो । मैले ती सबैमा आफ्नो असहमति जनाउँदै गएँ । छोराले नेपालीपनको सम्मान गर्न कुकुरलाई नेपाली नाम राख्न खोज्दै थियो भने म चाहिं त्यही नेपालीपनको सम्मान गर्न उसको प्रस्ताव अस्वीकार गरिरहेको थिएँ ।
म र मेरो छोरा दुवैको कुरो पुगोस् भनेर म अलिक बेग्लै खाले नाम सोच्न थालें ।
“अपरिचित, यो छाउराको नाम अपरिचित राखौं,” एकछिन सोचेर भनें ।
“अप्रिज ?” छोराले सोध्यो ।
“हैन, अपरिचित ! किन, मन परेन र ?” मैले सोधें ।
“अलिक अप्ठ्यारो सुनियो, अप्रिज मात्रै भने हुँदैन ?”
“हुन्छ ।”
मैले हुन्छ भनेपछि शायद उसले ‘अप्रिज’ कुनै नेपाली शब्दै हो भन्ने ठान्यो होला । उसले पनि सोधेन, मैले पनि केही भनिनँ ।
र त्यसरी त्यो कुकुरको छाउराको न्वारान भएको थियो र हामी उसलाई अप्रिज भन्न थाल्यौं ।
‘बोर्डर कली’ जातको कुकुर थियो अप्रिज ! बोर्डर कली प्रायः उहिले भेडा गोठालाहरूले आफूसँग भेडा चराउन जाँदा लिएर जान्थे र कुकुरले भेडा धपाउन अनि फर्काउन सहायता गर्थ्यो अरे ! त्यसैले यो जातिको कुकुरलाई बाठो मानिन्छ ।
“बुवा तपाईं अप्रिजलाई किन मन पराउनुहुन्न,” कुनै बेला छोराले मलाई सोधेको थियो । त्यस बेला अप्रिज निकै ठूलो भइसकेको थियो ।
“हैन, त्यस्तो हैन,” भनें ।
“त्यसोभए किन ऊसँग खेल्नु हुन्न ? उसलाई किन सुमसुम्याउनुहुन्न ?”
“एक त मलाई फुर्सद हुँदैन । अर्को, कुकुरको जातै अलिक फोहोरी हुन्छ ।”
“टिभी हेर्न त फुर्सद छ तपाईंलाई । अनि फेरि उसलाई आमाले बेलाबेला नुहाइदिने गरेको छ त, कसरी फोहोरी छ ऊ ?” छोराले तुरुन्तै भन्यो ।
हुन पनि अप्रिज खूबै खेल्न मन पराउँथ्यो । कुनै हल्का-फुल्का खेलौना, काठको टुक्रा अलिक पर फ्याँकिदियो भने, त्यसलाई आफ्नो मुखमा च्यापेर ल्याउँथ्यो । अनि फ्याँक्नेकै छेउमा राखिदिन्थ्यो । त्यस चीजलाई फेरि फ्याँक भने जसरी मुखमा हेर्थ्यो, बिस्तारो भुकभुक गर्थ्यो । छोरो र अप्रिज त्यसरी खेलिराख्थे ।
घरमा कहिलेकाहीं संयोगवश म र अप्रिज मात्रै पनि हुन्थ्यौं । म सोफामा बसेको बेला ऊ पनि बुरुक्क उफ्रेर सोफामा मसँगै टाँसिएर बस्न आउँथ्यो । उसलाई म ‘तल जा’ भन्थें अनि ऊ खुत्रुक्क ओर्लन्थ्यो र मेरो खुट्टा नजिकै बस्थ्यो ।
म किताबमा वा टिभीमा वा लेख्नमा व्यस्त हुँदा कहिलेकाहीं ङुर्र गरेर अप्रिज मेरो ध्यान आकर्षण गर्थ्यो । म ऊतिर यसो पुलुक्क हेरिदिन्थें अनि ऊ मलाई हेरेर पुच्छर हल्लाइदिन्थ्यो । कहिलेकाहीं उसले मलाई टुलुटुलु हेरिरहेको पनि पाउँथें । उसको आँखा मान्छेका जस्तै लाग्थे, फिका कत्था रङका जस्ता ! अप्रिजका ती आँखामा एकछिन हेरिराख्यो भने, केही भन्न खोजे-खोजे झैं देखिन्थ्यो तर ऊसँग वाकशक्ति नभएर मात्रै शब्द निकाल्न नसकेको जस्तो लाग्थ्यो । म झल्याँस्स भएर अर्कैतिर मुन्टो फर्काउँथें ।
मैले अप्रिजसँग त्यति नखेलेको या उसलाई त्यति वास्ता नगरेको जस्तो छोरालाई लाग्थ्यो । त्यसैले बेलाबेला विभिन्न प्रश्न सोधेर मभित्र कतै निर्दयता र कठोरता छ कि भनेर छाम्न खोज्थ्यो शायद ! त्यसले मलाई अप्ठ्यारो पनि लाग्थ्यो । छोरालाई मैले दिएका सफाइ र तर्कप्रति विश्वास नभएको जस्तो देखिन्थ्यो । यो साँचो थियो कि मलाई अप्रिजप्रति त्यस्तो आत्मीय लगाव थिएन तर छोराले सोचे जस्तो म उसलाई घृणा चाहिं गर्दिनँ थिएँ । मलाई लाग्यो– छोरोले, मेरो र कुकुरको सम्बन्धबाट उसको र मेरो सम्बन्धलाई हेर्न खोज्थ्यो र पुनर्परिभाषित गर्न खोज्थ्यो । यो कुनै सुखद अनुभूति थिएन मेरो लागि।
“म सानो छँदा, मेरो पनि एउटा कुकुर थियो,” मैले एक दिन खाना खाइसकेर सोफामा बस्दै छोरालाई भनें । यो भन्नुभन्दा अघि रिमोट कन्ट्रोलले टिभीको आवाज अलिकति कम पारें । कुनै गीतको कार्यक्रम आइरहेको थियो ।
“हो ?” नपत्याए जसरी हेर्यो छोराले मलाई ।
“हो,” मैले भनें ।
“तपाईं ऊसँग खेल्नुहुन्थ्यो ?”
“हो ।”
“ऊ अप्रिज जस्तै थियो ? “
“अप्रिजले मलाई बारम्बार उसको सम्झना गराउँछ”।
“तपाईंको कुकुर अप्रिज जत्रै थियो?” छोराले एकछिन पछि फेरि सोध्यो।
“शुरूमा अप्रिजलाई किनेर ल्याउँदाको जस्तै धेरै सानो थियो तर पछि धेरै ठूलो भयो “।
मेरो बुवा बाहिरको जिल्लामा कतै जागीर खानुहुन्थ्यो र प्राय घरमा बस्नुहुन्नथ्यो । आमा र म गाउँमा एक्लै बस्थ्यौं । हामीलाई साथी हुन्छ भनेर बुवाले पठाइदिएको त्यो कुकुरको छाउरो पहिलो दिन हाम्रो घर आएको मलाई अझै सम्झना छ । त्यो भोट-तिब्बत तिरको कुकुरको छाउरो थियो अरे। हुर्केपछि ठूलो र डरलाग्दो हुन्छ र सुरक्षा दिन्छ भनेर पनि पठाइदिनु भएको थियो बुवाले । नभन्दै हेर्दाहेर्दै हलक्कै बढेर ठूलो र डरलाग्दो देखिन थालेको थियो । मान्छेहरू टाढैबाट उसलाई देखेर डराउँथे ।
“तपाईं उसलाई मन पराउनु हुन्थ्यो ?” छोराले अरू जिज्ञासा व्यक्त गर्यो ।
“धेरै नै, र उसले पनि मलाई खूबै मन पराउँथ्यो ।”
“अनि, अनि ।”
“म गाउँमा जता गए पनि सँगसँगै जान्थ्यो । गाउँका अरू केटाहरूलाई चुनौती दिँदै म भन्ने गर्थें ‘जो मलाई छुन सक्छ त्यो राजा’। अनि जब केटाहरूको मलाई छुन कुदेर मेरो छेउमा आउँथे, कुकुरले खाउँला जस्तै गरेर भुकेपछि डराएर भाग्थे । कति केटाले त उनीहरूको आफ्नो कुकुर समेत ल्याउने प्रयास गरे, तर सबैका कुकुर मेरो कुकुरसँग डराउँथे,” मैले एकै सासमा भने ।
अनि फेरि थपें, “त्यस बेला म आफूलाई राजा नै सम्झन्थें । घरमा आमाले राजा भन्नुहुन्थ्यो बाहिर साथीहरूको माझमा कुकुरले मलाई राजा बनाइदिन्थ्यो । कसैले पनि मलाई छुने आँट गरेर मेरो साम्राज्य खोसेर लाने हिम्मत गर्दैनथ्यो ।”
“अनि अरू पनि त्यस्ता सम्झना छन् ?” छोराले एक छिनपछि सोध्यो ।
“कति छन् कति ! एकपल्टको कुरो हो, मेरो हजुरबाले मलाई अलिक ठूलो स्वरले हकार्नुभयो । कुकुरले झम्टिहाल्यो, भुकेर सातो लियो । त्यति मात्र होइन, त्यस दिनदेखि त्यस कुकुरले हजुरबालाई जहाँ देखे पनि छेउमा गएर भुक्दै खेदिहाल्थ्यो, छोपिहाल्थ्यो ।”
“तपाईंको हजुरबा कहाँ बस्नुहुन्थ्यो ?”
“हाम्रो घरभन्दा केही पर कान्छा काकासँग ।”
“तपाईंहरूले पनि उसलाई हामीले अप्रिजलाई जस्तै छोडेर कतै सर्नु भयो कि ?” छोराले मेरो कुकुरको कुरा अप्रिजसँग जोड्न खोज्यो ।
“हैन, ऊ एक दिन अचानक हरायो, मलाई छोडेर कता गयो कता,” यहाँनेर मैले छोरालाई ढाँटें ।
वास्तवमा मेरो कुकुरलाई चितुवाले मारेर खाएको थियो । भदौको बेला, चारैतिर मकैघारी भएको मौका पारेर चितुवा गाउँ पसेको रहेछ । चितुवाले आधा खाइसकेको उसको शरीर हाम्रो घरभन्दा तीन कान्लामुनि मकै बारीमा मैले पनि देखेको हो, ऊ हराएको भोलिपल्ट । एक मनले उसको त्यो रक्तरंजित, क्षतविक्षत अनि विदीर्ण शरीर नदेखेको भए हुन्थ्यो जस्तो लाग्यो । तर त्यो नदेखेको भए ऊ कता गयो होला, मलाई किन छोडेर गयो होला भने प्रश्नहरू मेरो जीवनभर खुलाका खुलै रहन्थे होला । यी सबै कुरा मैले छोरालाई भनिनँ ।
“मेरो यस्तो यस्तो कुकुर हरायो, कसैले भेट्नुभयो भने यो नम्बरमा फोन गर्नु होला भनेर बाटामा, बिजुलीका खम्बामा पोस्टर टाँस्नुभयो ?” छोराले सोध्यो ।
“अहँ, सानो गाउँमा सबैले सबैलाई चिन्थे । पोस्टर टाँस्नै पर्दैन,” अनि फेरि मुस्कुराउँदै भनें, “फेरि त्यस बेला बिजुली नै थिएन, कहाँबाट बिजुलीका खम्बा हुनु, फोन पनि थिएन । कसैले भेटेको भए ल्याइदिइहाल्थे ।”
“त्यसो भए, ‘वान् हन्ड्रेड वान् ड्यलमेशन्’ कि कुकुर चोर्नी क्रुएला जस्तै कुनै चोरले लग्यो होला तपाईंको कुकुर ।” छोराले, केटाकेटीको लागि बनेको एउटा प्रसिद्ध अमेरिकी सिनेमाको प्रसङ्ग निकाल्यो ।
“खै होला कि, तर मलाई त्यो दिन, दिनभरी नै असाध्यै नराम्रो लागेको थियो । खाना खान पनि मन लागेन । त्यसभन्दा अघि त्यस्तो कहिल्यै भएको थिएन । अझै पनि म त्यो झलझली सम्झन्छु,” छोरालाई सुनाएँ ।
“त्यसपछि फेरि कहिले तपाईंको अर्को कुकुर भयो ?” छोरोले कुरा टुङ्ग्याउन चाहेको थिएन । थप प्रश्न सोधिहाल्यो ।
“अहँ, एक चोटि मायामा धोका खाएपछि फेरि माया गर्न गाह्रो हुन्छ भन्छन्,” मैले अलि हाँसे जसरी भनें ।
“अब सुत्ने बेला भयो, भोलि फेरि सबेरै स्कूल जानुपर्छ,” छोरातिर हेर्दै मैले भनें । ऊ सोफाबाट उठेर सुत्ने कोठातिर लाग्यो । ढोकामा पुगेर कोठाभित्र छिर्नै लाग्दा मैले छोरालाई बोलाएँ, “ए साँच्ची, एउटा कुरा भन्नुथियो, यहाँ आइज त छोरा ।”
ऊ मेरो नजिकै आएर उभियो ।
मैले उसको अनुहारमा हेरेर भनें, “हामी जसरी भए पनि अप्रिजलाई सँगै लैजाउँला ।”
म, मेरो छोराको माया छुटाउने खलनायक पिता हुन चाहन्नथें । अनि मैले भोगेको थिएँ र मलाई थाहा थियो पहिलो मायाको चोट कस्तो दुख्छ भनेर ।
टिभीमा मधुरो आवाजमा, एउटा प्रसिद्ध अंग्रेजी गीत आइरहेको थियो, ‘फस्ट कट इज द डीपेस्ट’ -पहिलो घाउ (मायामा) सबैभन्दा गहिरो हुन्छ. . . तर यदि तिमी चाहन्छौ भने, म फेरि माया गर्ने प्रयास गर्नेछु ।
त्यस दिनपछि छोराले फेरि कहिल्यै पनि मैले अप्रिजसँग किन नखेलेको भनेर सिकायत गरेन ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 










