“वेलकम टू इजिप्ट सर, पिरामिड?”
“नो, टेक मी टू माउन्ट सिनाई ।’’
डबल भाडा दिनुपर्ने उसले माग गर्यो । माउन्ट सिनाईबाट फर्केर कायरो एअरपोर्ट आउन उसलाई अर्को ५-६ घण्टा लाग्नेछ र फर्केर आउने बेला उसले ग्राहक नपाउन पनि सक्छ । माग जायज लाग्यो । अबको ५-६ घण्टा मेरो साथी यही ड्राइभर हुनेछ । उसको नाम? खासै जान्नै पर्ने नाम होइन र यो यात्रामा मलाई माउन्ट सिनाई पुर्याउनु बाहेक उसको अरू कुनै योगदान पनि छैन तर नाम जान्न लास्टै ज्यान चिलाएको भए – उसको नामे बकारी थियो । मिल्यो ठण्डक ?
अस्ट्रेलियामा म एक क्याथोलिक चर्चको फादर हुँ । किन भए? कसरी भए? चर्चको नाम के हो? यी मुख्य प्रश्न होइनन्, बरु म अचानक किन यसरी हावाझैँ हुर्रिएर इजिप्ट आएको छु त्यो मुख्य कुरा हो ।
यो प्रसङ्ग गत हप्ताको हो । म चर्चमा नेपाली भाषामा अनुवादित बाइबलको पहिलो अध्याय भनौं या पहिलो पुस्तक उत्पत्ति अर्थात् ‘जेनेसिस‘को कथा वाचन गर्दै थिएँ ।
“परमेश्वरले सबैभन्दा पहिला एडम (आदम)लाई बनाउनुभयो अनि उसैको करङ्गबाट इभ (हब्बा)लाई बनाउनुभयो र ती निर्वस्त्र आदि मानवलाई आज्ञा दिनुभयो – तिमीले कुनै चिन्ता बिना यस बगैंचाको कुनै पनि रूखबाट फलहरू खान सक्छौ । तर तिमीले त्यस रूखको कुनै फल खानु हुँदैन जसले असल र खराबको ज्ञान दिन्छ । …तब ती स्त्रीले त्यस रूखको फल हेर्नमा राम्रो र खानमा पनि असल बुझिन् कारण त्यस रूखको फलले ज्ञान दिन्थ्यो त्यस रूखबाट केही फलहरू टिपेर खाई अनि आफूसँग भएको मानिसलाई पनि खान दिई र उसले पनि खायो ।”
केही थान अल्लारे ठिटाहरू खासखुस गर्दै गलल हाँसे । त्यो छाडा हाँसोले मेरो वाचन त्यही रोकियो । भर्खर-भर्खर जुँगाको रेखी आउँदै गरेको एक युवक खिल्ली उडाउँदै जोरले चिच्यायो –
“एडमले खाएको त्यो फल इभको थियो कि रूखको थियो ।” सबै अल्लारे केटाहरू गलल्ल हाँसे । त्यसको लगत्तै चार-पाच जना केटाहरू जर्याकजुरुक उठेर हाँस्दै बाहिर निस्के ।
त्यो प्रश्न के थियो? मेरो आस्थामाथिको प्रहार थियो? नवजवान मगजमा उभिने निष्कपट प्रश्न थियो? मलाई थाहा छैन के थियो त्यो? प्रश्न सुनिसकेपछि शुरूमा त मलाई लाग्यो अल्लारे उमेरको अल्लारे प्रश्न थियो । लाग्यो डार्विनवाला यो नयाँ पुस्ताले बाइबलको उत्पत्तिको मजाक उडाए । तर बिस्तारै यो प्रश्नले म आफैलाई समात्न थाल्यो । वास्तवमा आदम र हब्बाले कुन फल खाए? स्याउ? या आदमले हब्बाको फल खायो? छ्या मेरो दिमाग पनि । शायद बिहे नगरी बसेको एउटा त्रिचालिस वर्षेको सुषुप्त यौन चाहनामा त्यो उत्ताउलो प्रश्नले कतै तरङ्ग त ल्याएन? हैन, अहँ हुनै सक्दैन । ममा त्यस्तो चाहना आएकै छैन मैले आफ्नो पूरा जीवन यशुलाई सुम्पेको छु ।
कहिले सेक्स गर्नुभएको छ? कृपया यस्तो वाहियात प्रश्न नगर्नुस् । मेरो कौमार्य तोडिएको छ कि छैन त्यो मेरो निजी मामिला हो र यसलाई निजी नै रहन दिनुहोस् । तपाईं यहाँ मेरो कुरा सुन्न आउनुभएको हो, सुन्नुहोस् । ज्यादा बकवास नगर्नुहोस् । मलाई मान्छेको बकवास मन पर्दैन ।
छ्या! त्यो दिन पूरै एक तमासले बित्यो । रातभरी आँखा झिमिक्क भएन । अर्को दिन फेरि उहीं रुटिन । तेस्रो दिन लगभग म जोम्बी भइसकेको थिएँ । दिमागमा एउटै प्रश्न थियो – के थियो त्यो फल?
अति के अब, त्यस्तो सामान्य प्रश्नमा पनि यस्तो ताल? यस्तो बेहाल? हुन्छु । मेरो मर्जी । म यस्तै छु । हल्का साइको टाइप ।
धन्न तेस्रो रात निद्रा पर्यो । सपना पनि सँगसँगै आयो – यात्रा बोकेर । हो, यात्रा! ठ्याक्कै पार्नुभयो । इजिप्टवाला । बकारीसँगको यात्रा!
सपनाको भरमा हिंड्दिने ? कस्तो हावा ? हिंड्छु । यो मेरो निजी मामिला हो । म यस्तै छु । हल्का भेजाखाले हो, यस्तै भन्छन् क्या । बरु प्रश्न यो हो कि सपनामा मैले के देखे जसले मलाई माउन्ट सिनाई उडायो? सपना त्यस्तै थियो – सपनामा मैले यी-यी चीज देखें – प्राचीन चर्च, उजाड पहाड, गुफा, हातमा बाइबल लिएर पलेटी कसेर बसेको कुनै महामानवझैँ देखिने फकिर/योगी/सन्त, जसको आँखाको तेज म ब्यूँझिसकेपछि पनि मेरो आँखाबाट हट्न सकेको थिएन । हरेक पटक सपनामा एउटा प्रतिध्वनि पनि सुन्थें – “सत्य र असत्य त फगत भ्रम मात्र हो ।” अनि हरेक पटक यसरी आवाज प्रतिध्वनित हुँदै गर्दा ती सन्तको अनुहारमा गजबको चमक हुन्थ्यो ।
तर एउटा सपनाले मात्र म कहाँ हिंडेको हूँ त । मैले त त्यस्ता सपना लगातार सात दिन देखें । हो, सात! सात – एक पवित्र संख्या । परमेश्वरको संख्या । सात सङ्केत थियो मेरो लागि । परमेश्वरको सङ्केत !
सपनाको पहाड, गुफा, ती सन्त कहाँ हुन सक्लान् ? मैले दिमागको आयतनलाई सक्दो फैलाएँ तर म माउन्ट सिनाईभन्दा फैलाउन सकिनँ । तपाईंलाई थाहा छ झट्का त त्यति बेला लाग्यो जब मलाई बकारीले ल्याएर माउन्ट सिनाई छोडिदियो । दुई दिन माउन्ट सिनाईको धुलो खाए सपनालाई बिपनामा खोज्न थालेँ तर अहँ, माउन्ट सिनाईमा मेरो लागि केही पनि थिएन ! मैले खोजेको त्यहाँ केही पनि भेटिनँ । क्या वाहियात यात्रा, मोजेसलाई सम्झिएर आँखा चिम्लिनु बाहेक त्यो सुनसान, बन्जर पहाडमा केही भेटिनँ । मनमा व्यापक नैराश्यता छायो । भयङ्कर कालो बादल मेरो सपनालाई चुनौती दिंदै आकाशमा सिङ्गौरी खेलेझैं लाग्यो । के सपना सपनासिवाय केही थिएन ? के म वास्तवमै एक पागल हूँ । एउटा सपनाको भरमा दौडिने पागल!
ह्या ! जे सुकै होस् अब । यत्रो यात्रा त तय गरिसकेँ । अब म जेरुसेलम जान्छु । यशुले आफ्नो ज्ञान र मानव जातिको पापको निम्ति आफूलाई सुलीमा चढाएको पवित्र ठाउँ, यशुको समाधिस्थल साथै यशुको पुनर्जन्म भएको एक ऐतिहासिक, सांस्कृतिक, अलौकिक ठाउँ – गोलगोथा । यहीँ ठाउँमा त बनाइएको छ चर्च ‘अफ द होली सेपुल्कर ‘ । जसलाई राजा कन्स्टेटिनले बनाएका थिए लगभग १७०० वर्ष अगाडि । शायद त्यहाँ केही उत्तर मिल्नेछ । मेरो यात्रा अब इजरायलको गोलगोथातिर मोडियो । माउन्ट सिनाई एक असफल यात्रा रह्यो मेरो लागि । मेरो सपना उत्तानो टाँग लाग्यो । छ्या!
० ० ० ०
मलाई इजिप्टतिर खोजिरहनु भयो होला तर म हिजो नै जेरुसेलम आइसकें । एउटा पुरानो-पुरानो देखिने होटेलमा बसेको छु । होटेलमा एउटा सानो भाइ रहेछन् उसले मलाई आज ल्याएर चर्च अफ द होली सेपुल्करको अगाडि छोडिदिएका छन् । एउटा बीस डलरको नोट निकालेर दिएँ- अस्ट्रेलियन । फुच्चे भाइ मक्ख पर्यो । ऊ मक्ख परेको देखेर म झन् डबल मक्ख परे ।
“नीड एनी हेल्प, टेल मी” बीसको नोट दाहिने गोजीमा राख्दै ऊ बोल्यो । जवाफमा म मुस्कुराएँ र चर्चभित्र छिरें । वाह ! कस्तो मिठो अनुभूति ! म त पूरै नशामा मस्त भएझैं मनमगन भएँ । हावा सपना नै सही यस्तो अलौकिक अनुभव गराउन दिएकोमा सपनालाई धन्यबाद भनें ।
चर्चको आध्यात्मिक घनत्वले थिचिएको छु म यति बेला । गिर्जाघर पनि भन्छन् क्यारे चर्चलाई नेपालीमा – के ? गिर्जाघर भन्दिन पर्यो ? ल ल तपाईंलाई राम्रो लाग्छ भने गिर्जाघर नै भनिदिउँला ।
केही समय भयो मेरो चर्च तपाईंको गिर्जाघर चारैतिर नियालिरहेको छु । केही समय अघिदेखि एउटा सत्तरी-असी वर्षजस्तो देखिने मानिसले मलाई नै हेरिरहेको थियो । तर ‘मलाई किन हेरिरहेको छस्, ए मरन्च्याँसे !’ भन्ने हिम्मत आएन । नेपाल या अस्ट्रेलिया भएको भए भनिसक्ने थिएँ होला शायद । तर यहाँ भनिनँ । डर, हजुर डर !
हैन त्यो मान्छे त मतिर सरासर पो आयो त । काँतर मन झन् काँतर भयो के पो भन्ने हो ।
“फ्रम ?”
कहाँबाट आएको भन्न खोजेको होला पक्कै पनि ।
“अस्ट्रेलिया,”
“गुड” यसमा के गुड छ मलाई थाहा छैन तर टाउको हल्लाएँ ।
“क्वेसन ट्रबल यू, लूकिङ आन्सर हा हा हा,”
ए बुढौ, के हौ तिमी, मान्छे हौ ? कि जादुगर हौ ? कि हचुवामा गोली हान्यौ ? यही छातीमा पर्ने गरी । म त अक्क न बक्क !
“हाउ ………………” जादूगर हो कि यो ? के जाति हो वाक्य पनि पूरा गर्न पनि दिएन बुढौले ।
“आइ नो, लर्ड टेल, हाहाहाहा । एडम, इभ, क्वेसन हाहाहाहा, गो फार, भेरी फार, गो टु इन्डिया, फइण्ड थोमस”
“थोमस हू ?”
“थोमस, थोमस, क्राइस्ट, ओल्ड थोमस,”
हत्तेरी कुन थोमस हो यो । ह्या यत्रैसिति अँध्यारोमा गोली चलाइदिएँ ।
“जिसस डिसाइपल ?”
“यस, यस, हिम् हाहाहाहा”
“योर नेम ?” मेरो कौतुहलता ।
“नेम नट इम्पोर्टेन्ट, योर क्वेसन इम्पोर्टेन्ट, टेक दिस्, गो इन्डिया” उसले मलाई एउटा सानो स्क्रोल जस्तो केही थमाइदियो । खोलेर हेरें, “बूक अफ थोमस” । यशुमसिका बाह्र शिष्यमध्येका एक शिष्य ‘थोमस’ । यो पुस्तक त बाइबलमा छैन त । बाइबल त मलाई ध्वस्तै याद छ । म्याथ्यु, मार्क, लुक र जोन यी चार जना, चार खम्बा । अनि यो थोमस कहाँबाट आयो फेरि ? त्यो पनि शङ्कालु थोमस । भनिन्छ थोमसले यशुमसीको बौराइलाई विश्वास गर्न नसकेर यशुमसीको छातीमा रोपिएको घाउमा औलाले छामी-छामी परीक्षण गरेको थियो । स्वयम् परमेश्वरको वचनलाई विश्वास गर्न नसक्ने शंकालु थोमस ! मलाई जुडास पछि कोही मन पर्दैन भने त्यो थोमस हो, हुन त थोमसलाई ‘डिडिमस जुडास थोमस’ पनि त भनिन्छ । थोमसको नाममा त झन् दुवै छ थोमस र जुडास । छ्या ! समय, जे मन पर्दैन भन्यो त्यही परिपरि आउँछ । एडम, इभ, बाइबल, अब थोमस ओहो यो अन्यौलता, उत्तर जान्ने कौतुहलता ।
यो अन्यौलता र कौतूहलता पनि बडो शक्तिशाली हुन्छ । हैन अनि यो सुढ्ढो मान्छे जहिले हा हा हा गर्दै किन हाँस्छ ? परमेश्वरको कसम, ममा अलिकति पनि कौतुहुलता हुने थिएन भने म यो ख्यातख्यात-ख्यातख्यात हाँसो देखेर इरिटेट नै हुन्थेहोला । कौतूहलताले इरिटेसनलाई जन्मनै दिएन । ठिकै भयो । दिक्दारीभन्दा त कौतूहलता नै ठीक ।
“गो गो गो,”
“गो, बट गो ह्वेर इन इन्डिया ?” मैले पनि गोर्खे अंग्रेजीमा सोधें । जसो-जसो बाहुन बाजे उसै-उसै स्वाहा । परमेश्वरको कसम, मैले बाहुन र गोर्खे दुवैको अपमान गरेको होइन । उखान हो, प्रसङ्ग ठ्याक्कै मिल्यो अनि मनमा जे आयो त्यहीं लेखिदिएँ । तपाईंको कसम मैले यो बाहुन र गोर्खे ६ पटकसम्म लेख्दै मेट्दै गरें तर त्यहाँ ती दुई शब्दहरू निकै सुन्दर लागिरहेका थिए । सातौं पटक लेखें । अनि लाग्यो यो मेट्दिनँ अब । सात नम्बर त परमेश्वरको संख्या हो । सातमा जे हुन्छ त्यो अन्तिम हुन्छ । फाइनल ।
“गो, गो, थोमस, थोमस हाहा हाहा,” यति भनेर मान्छे ढोकाबाहिर अलप भयो ।
लामो श्वास फेरेँ । चारैतिर हेरेँ, आफू कतै हराएजस्तै लाग्यो । फेरि पुस्तक हेरेँ । ए हो त फेरि केही भेटिएझैँ लाग्यो । फेरि लय समाएझैँ भयो । सपना त हावा रैनछ कि क्या हो ? मेसो ल्यायो है । रहस्यमयी अन्दाजमा सपना आयो र सपना सक्कियो भन्दै गर्दा अर्को रहस्यमयी खितखिताइरहने वृद्ध बाले केही आश दिलाए गाँठे । ए साँच्चै ती बुढा बाका दाँत थिए कि नाइँ रे ? हैन थिए, थिए । पक्कै थिए । दाँत नभएको भए त कहाँ त्यति राम्रो उच्चारण हुने । ठुटे अङ्ग्रेजी नै सही उच्चारणमा कठिनाइ थिएन बुढालाई । हो, हो पक्का हो बुढाका मुखमा दाँत थिए । ह्या म पनि इन्डियातिर नगएर कहाँ दाँतको हिसाबकिताब राखिरहौंला । म पनि अत्ति नै छु के । के के सोचिबस्छु के के । भनेँ नि मेरो दिमाग अलि भेजाखाले छ ।
हो । अब म इन्डिया जाने । तेस्का बाजे, तर इन्डिया कहाँ जाने ? डाइनोसरको खप्परभन्दा ठूलो पो छ त इन्डिया । झट्पट मोबाइल निकालेँ । मैले जानेको जम्मा दुइटा शब्द थियो । थोमस अनि इन्डिया । गूगल बाबालाई ती दुई शब्द भेटी चढाएँ ।
हैन यो के अचम्म यस्तो ।- थोमसको चिहान इन्डियाको चेन्नाईमा ।
अब के ?
अब ।
अब, चेन्नाई एक्स्प्रेस ।
माफ गर्नुहोला । यो शाहरूख खानवाला चेन्नाई एक्स्प्रेस होइन । यहाँ दीपिका, थङ्गाबली कोही आउँदैनन् ।
० ० ० ०
“वणकम् सार,”
“वणकम्” मैले हात जोरेर नमस्ते फर्काएँ । धन्नै दुई चारवटा तामिल फिल्म हेरिएछ हैन भने यही वणकम् नबुझेर दोभाषे खोज्नपर्थ्यो ।
“आपको किधर जाना हैं ?” लौ मार्यो । यो तामिल मानवले मलाई आफ्नै देशको रैथाने मान्यो कि क्या हो । हुन पनि सक्छ अस्ट्रेलियामा सबैले आर यू इन्डियन भनेको सुन्ने बानी परेको यो ज्यानलाई यही देशमा आउँदा त झन् ज्वाइँ साब आउनुभयो भनेर स्वागत गरे पनि हुने हो । के रे ? मैले अघि नै भनिसकेँ । म अविवाहित पुरुष हुँ । र मेरो पूरा जीवन यशुको नाममा सुम्पिसकेको छु । मलाई ज्वाइँ बन्ने कुनै रहर छैन ।
यत्रैसिति त्यो तामिल मान्छेको किधर जाना हे नबुझे झैँ गरेर मैले पनि व्हाट भन्दिएँ ।
“व्हेर आर यू गोइङ्ग सार ?” अब आया ना उट पहाडके निचे । मैले हिन्दी नै बोल्न नजान्ने त कहाँ हो र । मान्छेको इगो भन्ने पनि त हुन्छ नि यार । इगो हर्ट त गर्न भएन नि ।
“सेंट थोमस् क्याथेड्रल बेसिलिका ।” मैले मोबाइलमा गूगल बाबाले देखाउनुभएको तस्वीर देखाउँदै भनेँ ।
“ओह सेंट थोमस ओके ओके ।”
मैले त्यस ट्याक्सी ड्राइभरसँग बाटोमा के के भयो लेखिनँ है । उसको कहानीको कुरा लेख्नलाई त एउटा गतिलो आकारको उपन्यास नै लेख्नपर्ने हुन्छ । त्यो पनि दुई भागको । गयो नि सातो । त्यही भएर केही नलेखेको ।
कस्तो सुन्दर चर्च ! भित्र छिरेँ । सेंट थोमसको समाधिस्थल । कति सुन्दर बनाइएको रहेछ । अगाडि देखिने सेंट थोमसको समाधिस्थल यस्तो थियो कि मानौं त्यस ठाउँले ऐतिहासिक पीडाहरू बोकेर शान्तिको खोजी गरिरहेको थियो । सुन्दर । निकै सुन्दर ।
के हो त्यो ? भालाको धारिलो छेउ ? सेंट थोमसलाई यही भालाको टुप्पोले घोचेर मारिएको थियो रे ! छातीमै हो क्या शायद । गूगल दाइले भन्नुभएको थियो तर लेख्ने बेलासम्म बिर्सिएँ । यही इन्डियामा मारेका रे नि त । कसले ? खोइ । कुनै हिन्दू सम्राटले होला या कुनै झुण्डले होला । या हुनसक्छ यता पनि कसैको घाउ कोट्याउन गए होलान् । घाइते मान्छेलाई झोक चल्यो अनि आफूसँगको भएको भालाले रोपिदियो छातीमा । अनि बिचरा त्यही फत्रकफत्रक परी मरे । कहाँ सबै यशुजस्तो महान् हृदयका हुन्छन् र सहजै माफी दिई मुस्कुराउने । यही थोमसको कुरा सम्झीसम्झी मलाई कसैको घाउ चलाउन मन लाग्दैन । चाहे त्यो भौतिक होस् या मानसिक । चोट भनेको चोट नै हो । त्यसलाई कसैले प्रमाणीकरण गरिरहन पर्दैन । चोटलाई घोचिरहनु पाप हो । ह्या ! म पनि के के सोच्छु सोच्छु ।
यशुलाई पनि त घोचीघोची मारेका थिए । त्यही भाला रोपिएर बनेको घाउमा त हो थोमसले औंलाले कोट्याएपछि यशुको बौराइलाई विश्वास गरेको । शङ्कालु थोमस ! डिडिमस जुडास थोमस ! आखिरमा शङ्कालु थोमसको पनि उस्तै मृत्यु भएछ । नियति पनि विचित्रको हुन्छ । शायद भाग्य, कर्म भन्या यस्तैयस्तै केही होला । तर म कर्म, प्रारब्ध यस्तो बकुम्फुसे कुरा मान्दिनँ है । हामी मान्दैनौं । प्रसङ्गमा प्रसङ्ग चल्दा फ्याट्ट कर्म निस्केछ । माफ गर्नुहोला ।
“फाइनल्ली आइपुग्नुभयो ? ह्याप्पी निउ इयर टू थाउजेन्ड एट,” एउटा ढाका टोपी लगाएको मान्छे मुस्कुराउँदै आयो र हात बढायो ।
बडा अन्योलताका साथ मैले पनि हात बढाएँ । म हुस्सुले नयाँ वर्षको शुभकामना पनि फर्काइनँ ।
“कन्फ्यूज हुनुहुन्छ ? म बुझ्छु । म तपाईंलाई तीन देखि कुरिरहेको छु । सालले दुई साल । दुई हजार सात, दुई हजार आठ हाहाहाहा,” हैन यो मान्छे फेरि को हो जो मलाई तीन देखि कुरिरहेको छ यो अनजान ठाउँमा ।
“मलाई ?” म हल्का ठिस भइरहेको छु ।
“हो हो तपाईंलाई नै ।
“किन ?”
“तपाईंको झोलामा बुक अफ थोमस छ हैन ? यो पुस्तक पनि थप्नुस् – गोस्पल अफ फिलिप ।”
हातमा पुस्तक लिएँ । यो के आइलाग्यो फेरि । अर्को पुस्तक जुन बाइबलमा नै छैन ।
“मलाई थाहा छ तपाईं कन्फ्यूज हुनुहुन्छ । के थाहा पाउनूस् भने बाइबलमा सबै पुस्तक समावेश छैनन् ।”
“अनि यी सबै पुस्तक कहाँबाट आए ?”
“नागमणी लाइब्रेरी !”
“नागमणी ?”
“हाहाहाहा नागमणी हैन । नाग हमडी । यसमा नाग र मणी दुवै छैनन् । यी पुस्तकहरू इजिप्टको नाग हमडी भन्ने शहरमा आजभन्दा ७०-८० वर्षअघि फेला परेका हुन् । यसमा के लेखिएका छन् के छैनन् ती पढ्ने जिम्मा तपाईंको भयो ।”
“यिनी पुस्तकहरू किन बाइबलमा छैनन् त ?”
“यी प्रश्नहरूको उत्तर लामो छ । यति बुझ्नुस् । बाइबलमा भएका छैंसट्ठी वटा पुस्तक बाहेक अरू पनि पुस्तक छन् । इन्टरनेटमा खोज्नसक्नुहुन्छ ।”
“अनि के यी सबै पुस्तक वास्तवमै हामीहरूकै हो त ? के यी सबै सत्य हुन् ।”
“सत्य र असत्य बीचको भिन्नता निकै पातलो छ मित्र ! सत्य र असत्य छुट्याउने जिम्मा परमेश्वरलाई दिनुस् र रह्यो तपाईंको मुख्य प्रश्नको उत्तर त्यसको लागि तपाईं यहाँबाट नेपाल जानुपर्ने हुन्छ । तपाईंको प्रश्नको उत्तर तपाईंले त्यहीं पाउनुहुनेछ ।”
“नेपाल कहाँ ?”
“माथिल्लो मुस्ताङ !”
“कहाँ जानुपर्ने ?”
“कहाँ हैन कसलाई ?”
“कसलाई ?”
“योगी शान्तमशानन्द !”
“एउटा इसाईले योगीलाई भेट्ने ? अनि यो कस्तो नाम हो ? शान्तमशानन्द ।”
“शान्तमशानन्द । अर्थात् शान्त, तमश अनि आनन्द । सुनेको छु उहाँ अहिलेसम्म गुफाको तमश अर्थात् अन्धकारबाट निस्कनुभएको छैन र उहाँ सधैं शान्त र आनन्दमा रमाइरहनुहुन्छ रे । त्यसैले उहाँको नाम योगी शान्तमशानन्द !”
“मैले किन भेट्नुपर्ने उहाँलाई ?”
“त्यो त तपाईंलाई नै थाहा होला । म त एक सन्देशवाहक मात्र हुँ । तपाईंको अबको यात्रा माथिल्लो मुस्ताङमा पर्ने तेताङ्ग गाउँको हुनेछ ।” यो भनेरऊउ मुसुक्क हाँस्यो अनि फेरि थप्यो –
“तेताङ्ग । तेताङ्गको काखमा रहेको पहाडको गर्भमा रहेको एक गुफा जसले तपाईंलाई पर्खिरहेको हुनेछ ।”
तेताङ्ग ! तेताङ्ग ! तेताङ्ग !
मेरो गाउँ । म जन्मे हुर्केको ठाउँ । त्यो रित्तो उजाडिएको पहाड । हो, त्यही पहाड त थियो मेरो सपनामा देखिएको पहाड ।
“जरा बिर्सेको मानिसले अगाडि लहरा नै आए पनि समाउन सक्दैन । तपाईंले आफ्नै गाउँको डाँडा नचिन्नाले माउन्ट सिनाई छिचोल्न जानुभयो । खैर, परमेश्वरको जो मर्जी ।”
त्यस बखत मलाई कम्ता त लज्जाबोध भएन । म आफ्नै गाँउको डाँडा चिन्न नसकेर कताकता भौँतारिएँ । लाज भन्ने कुरा पनि विचित्रको हुन्छ । आफै आउँछ फोकटमा । जे होस् लाज त पचाउन पर्यो । लाज टार्ने मनशायले मैले उसले भनेको कुरालाई बेवास्ता गर्दै सोधेँ ।
“के तपाईंले ती योगीलाई पहिले भेट्नुभएको छ ?”
“डिटेल नट इम्पोर्टेन्ट, क्वेसन इम्पोर्टेन्ट ।” उसले आँखा झिम्कायो । मैले टाउको चिलाएँ ।
० ० ० ०
तेताङ्ग म जन्मेर हुर्केको ठाउँ ! यहाँ मेरो आफ्नो भन्नु केही छैन, कोही छैन याद बाहेक । किन, कसरी यस्तो कथा नसोध्नुस् । मलाई आँसु बेच्नुछैन । ल ल ल कम्तीमा यति बेला छैन । भयो । चित्त बुझ्यो ? भोलिको दिनमा पैसाको खाँचो नै परेछ भने लिटरका-लिटर बेचौंला । परमेश्वरको कृपाले एक हप्तामा ४ वटा देश घुम्छु भने पनि पैसा पुगेछ । धरोधर्म मैले लागू पदार्थ बेच्दिनँ । हँ ? शरीर । त्यसभन्दा त बरु म आँसु नै बेच्छु के रे ।
यो पहाड आज पनि उस्तै छ । २० वर्ष अगाडिजस्तै । साँच्चै बीस वर्ष भएछ । यस पहाडलाई त यो बीस वर्ष केही सेकेन्ड झैं भयो होला । उस्तै छ । दुरुस्तै छ । तर यो समयमा मेरो रौं, भुत्ला, कपाल के के जाति हुन् सबैले एउटा युग नै देखे । गाउँ छाडेर जाँदा भर्खर जुँगाको रेखी आउँदै थियो । ढिलो आयो । क्या अरम् त । अहिले झ्यापुल्ले भ’को छ दाह्री । जुल्फी हल्लाउँदै हिंड्थें । अहिले निधारको क्षेत्रफल बढ्दै-बढ्दै धेरै माथि पुगिसक्यो । हो झर्यो, मेरो अगाडिको आधा कपाल सर्लक्कै झर्यो । आधा तक्ला छु । चिल्लै छ । रोएर भएन । कराएर भएन । गयो कपाल । नजा त भने नि तर मरे सुनेन । उपचार ? पोलेको घाउमा नून नछर् कान्छा ! बडा तकलिफ हुन्छ बे ।
तेताङ्गको डाँडामुनि उभिएको छु । अब मैले यी पहाडहरूको क्षेत्रफल नाप्नु छ । थाहा छैन अबको यात्रा यी पहाडका कुन खोप्चामा, ढिस्कामा, या कुन गुफाभित्र हुनेछ ।
अचानक कताकताबाट, हैन, हैन, हो त्यतै हो । उत्तर दिशातर्फबाट कस्तो मीठो बतास महसूस गरेँ । भित्रै आँतसम्म शीतल हुनेगरी । हो, हो थाहा छ मलाई । सिकाइरहन पर्दैन । थाहा छ हो, थाहा छ । माथिल्लो मुस्ताङमा आँत नै चिस्याउने गरी बतास चल्छ । तपाईंले सुन्नुभको होला या त यस्सो १-२ दिन डुल्न आउँदा चिसो स्याँठ खाएर ठहरै पर्नुभयो होला । हामी यहीं हुर्क्या मान्छे हुम् । तपाईं जुन चिसो स्याँठ खाएर उत्तानो पर्नुभो नि हामी त्यो चिसो स्याँठसँग हरेक दिन सिङ जुधाएर हिँड्थ्यौ । ठूला कुरा गर्ने ?
बेक्कारमा मलाई अल्झाएर । कहाँ थिए रे म ? अँ । क्या मीठो बतास । सम्मोहित बनाउने खाले । हैन-हैन सम्मोहित बनाउने खाले होइन रैछ यो त सम्मोहन नै हैछ क्या ? ओए ! ओए ! ओए ! मेरो पाइला त आफैँ-आफैँ बतास आएको दिशातिर रोबोट हिँडे झैँ हिंड्न पो थाल्यो त । रोकिन्नन् त हे दैव । ए सरी, हे परमेश्वर ! आदतसे मजबुर !
के यस्तै हुन्छ सम्मोहन ? तर यो त डरलाग्दो त छैन त हो । कस्तो मज्जा । म त भित्रैबाट हल्का पुलकित महसूस गरिरहेको छु त । यस्तो लाग्दैछ मेरा पाइलाहरू मैले होइन अरू कसैले चाल्दैछ । लाग्दैछ म उडिरहेछु । वाह ! कस्तो हल्का महसूस भएको । कतै म अघिको बतासमा उडिरहेको त छैन । हा हा हा… मेरो दिमाग, खुट्टा त भुइँमा नै रैछ । उडिसकेको त रैनछु । 🤣🤣🤣 – यो चाहिँ म मनमनै हाँसेको हो है । के हो यो ? कथामा पनि इमोजी ? मलाई बाल । तपाईंले फेसबूकमा, ट्विटरमा, म्यासेजमा, भएन भनेर इमेलमा इमोजी हाल्नुहुने । मैले जाबो एउटा कथामा यस्सो इमोजी हालेको तपाईंलाई टाउको दुख्यो । टाउको दुखे प्यारासिटामोल खानुस् । कति कचकच ।
शायद अदृश्य शक्तिले नै होला मलाई एक गुफाको अगाडि ल्याएर छोड्यो । केही होशमा आएजस्तो । खुट्टाहरूले भुइँ महसूस गरेजस्तो लाग्यो । ए ! मेरा पयरहरूमा अब आफ्नै नियन्त्रण रहेछ । मैले खुट्टा नभनेर के खान पयर भनेको होला ? तातो न छारो ।
आँखाअगाडि एक गुफा छ । त्यहीं सपनाको गुफा । अन्धकार छ तर मलाई बाल । मसँग मोबाइल छ । मोबाईलसँग लाइट छ । मोबाइलको बत्ती बाले हल्का उज्यालो भयो । उज्यालोको पछि लाग्दै हिंडें । जबजब अलिअलि भित्रभित्र छिर्दै गएँ तबतब अन्धकारको साम्राज्य त उत्पातै बढ्न थाल्यो । यस्तो लाग्दै थियो यहाँ अन्धकारले निस्पट्ट कालो साडीको फन्का बेरेको छ । मेरो मोबाइलको उज्यालो त त्यही हराउला झैँ पो भयो । यहाँ त बस् अन्धकार मात्र छ । अन्धकारले अन्धकारलाई घेरिरहेछ । अन्धकार यतिसम्म घनघोर हुन्छ । तमस, हो यही हो तमस, हो हो अब आउँदैछ यस्तै अन्धकारमा त हो ती योगी बस्ने । ठीक, ठीक म गन्तव्य नजिक छु ।
ए उज्यालो, देखियो हल्का । कसैले गुफाभित्र आगो बालेको छ । हल्का धुवाँको गन्ध त अघिदेखि नै नाकमा आइरहेको थियो । तर म अन्धकारमा यति रुमलिएको रैछु कि भित्र आगो बलिरहेको छ भन्नेसमेत सोच्ने ल्याकत भएन । थुइय मलाई !
फाइनल्ली भेटिए सपनाका बुढा । लगभग असी नब्बे शायद यस्तै होला, हो हो यस्तै हो । लगभग असीनब्बे वर्षका पीतवस्त्रधारी एक वृद्ध योगी पद्मासनमा ध्यान मुद्रामा लीन छन् । अनुहारमा कस्तो कान्ति, कस्तो शान्ति, अनि कस्तो शीतलता, हैन अनुहार पनि शीतल हुन्छ र भन्या ? हुँदो रैछ त । भइराको छ त । मैले कसम कस्तो शीतल महसूस गरिरहेको छु । हुन त गुफाको शीतलता पनि होला ।
गुफाको चारैतिर हेरेँ – बस्ने आसन – के को ? छाला हो त्यो ? चिनिनँ । योगीको ठीक दायाँतिर एक त्रिशुल । बायाँतिर दुइटा पुस्तक । हैन कत्रा मोटा हुन् यी किताब । ओए ! यो त छालामा लेखिएको पुस्तक हो । छालाको पुस्तक । ओए ओए, त्यहाँ लेखिएको भाषा त म चिन्छु त – हिब्रु । हो हिब्रु नै हो । पुस्तकको नाम मबाट उल्टो तिर परेकोले कस्तो गाह्रो भएको पढ्न पनि । अनि किताब पनि उल्कै पुरानो भाको छ अक्षरहरू धमिलिए जस्ता । आँखाका गेडा नै भित्र पस्लाझैँ गरी भृकुटी खुम्च्याई खुम्च्याई हेरेपछि बल्ल पढ्न सकेँ – पवित्र बाइबल ।
लौ न के आश्चर्य हो यो ? एक योगीका हातमा बाइबल ! त्यो पनि हिब्रु । अनि त्यो पनि तेताङ्गको यो गुफामा । अघिसम्म आँखाको गेडाभित्रै छिर्न लाको थियो अब आश्चर्यले बाहिर निस्कन लागेझैँ हुनलाग्यो ।
योगीका आँखा खुले । योगी मुसुक्क मुस्कुराए । म जवाफमा मुस्कुराउनु कि आँखा झिम्काउनु के गरूँ गरूँ असमञ्जसमा परेँ । जानेको एउटा थियो नमस्ते गर्न, त्यही गरेँ । जवाफमा योगीको ओठ मुस्कुराहटमा थप तन्कियो । योगीले चिम्टा उठाए र केही कोइलाहरू यताउता मिलाउन थाले ।
“योगीको हातमा बाइबल ?” अचानक बोलें । बोलेपछि लाग्यो धत् म पनि प्वाक्क के बोल्या होला । बेलाबेला म पनि कस्तो अधैर्य हुन्छु भने आफ्नै गालामा आफै चड्कन हान्नुजस्तो ।
“अनि यो प्राचीन हिब्रु बाइबल नेपालमा कसरी ?” लौ के भाको म । भर्खरै प्याच्च बोलें भनेर आत्मग्लानि गरिरहेको थिएँ । होइन र ? मलाई फेरि बोल्नुपर्ने । परमप्रभु परमेश्वर लौ न मेरो अधैर्यताको लागि कतै बुटी पाइँदैन ? हो साँच्चै म त बुटी सुटीमा विश्वास गर्दिनँ । कुनै इन्जेक्सन या गोली/चक्की पाइँदैन भन्या ? साँच्चै मैले प्रश्न गर्दा मेरो टोन कस्तो थियो ? पक्कै रुखो थियो । प्रश्न जतिसुकै जायज भए पनि प्रश्नशैली, स्वरले त्यहीं प्रश्नको प्रभाव कम गर्छ क्यारे । मेरो शैली पनि त बिजोग थियो । बुढा रिसाए । पक्का रिसाए ।
ए हैनछ । बुढा त मुस्कुराए त ओए ! अब त बोले पनि ।
“प्राचीन, उम् निकै प्राचीन,” योगी पुस्तक हेरेर मुकुराउँदै बोले ।
“कति प्राचीन ?”
“लगभग दुई हजार वर्ष !”
“दुई हजार ?” म दङ्गको दास ।
बुढा मुस्कुराए ।
“यति प्राचीन पुस्तक तपाईंको हातमा कसरी ?”
“तपाईंलाई केही पुस्तकहरू उपलब्ध गराइएको थियो पढ्नुभयो?” नेपरिएका बुढा । उत्तरको साटो उल्टो प्रतिप्रश्न !
“उम् पढें, थोमस र फिलिप दुवैलाई पढें ।”
“के छ धारणा ?”
“फरक छ । यो त अहिलेको बाइबल र इसाईहरूको स्थापित मान्यताभन्दा फरक छ । यो किन मैले पढ्नुपर्ने ? यो त नोस्टिक बाइबल हो । हाम्रो स्थापित बाइबलभन्दा फरक । र यी त असत्य हुन् ।” मैले पनि गूगल ध्वाँस देखाइदिएँ । त्यही गूगलले त हो मलाई यी पुस्तकहरूलाई नोस्टिक भनेर सिकाएको । हैन भने त मलाई यत्रोको आउँथ्यो र यति बोल्न ।
“पढ्नुस् राम्रै हुन्छ । बाइबलमा अटाएका मात्र सत्य अरू सबै असत्य भन्ने साँघुरो मानसिकताबाट निस्कनुस् । सत्य र असत्य त फगत भ्रम मात्र हो ।”
“सत्य र असत्य त फगत भ्रम मात्र हो ।“
“सत्य र असत्य त फगत भ्रम मात्र हो ।“
ठ्याक्कै सपनामा बारम्बार यही वाक्य त सुन्थें म ।
“के ती दुई प्राचीन बाइबलमा यी सबै पुस्तक छन् ?”
“यशुको बौराइपश्चात् पहिलो पाँच दशकमा उनका सबै मुख्य शिष्यहरू तथा अरू प्रत्यक्षदर्शीहरूद्वारा लिखित लगभग दुई सय वटा पुस्तकहरू यी दुई बाइबलमा समाहित छन् ।”
“दुई सय ?”
“हो, यी सबै पुस्तक अहिले प्रचलित बाइबलमा अटेनन् या अटाइएनन् । धेरै नअटेका पुस्तकहरू हराउँदै गए । कति चर्चहरूबाटै अधिग्रहण भयो र लापत्ता भए । कति जलाइयो । कति जमीनमुनि लुकाइए । केही दशकअघि केही पुस्तकहरू उत्खलन भयो त्यसै मध्यको दुईवटा तपाईंले पनि पढ्नुभयो ।”
“के म्यारीको कथा सत्य हो ?”
“परमेश्वर यशु र म्यारीको बारेमा केही बेरमा गफ गरौंला । यति बुझ्नुस् सत्य तपाईंले बुझेजति मात्र छैन ।”
“त्यसो भए तपाईं चाहिँ के ? इसाई कि हिन्दू ।” मेरो कौतूहलता ।
“म यशु अनुयायीमध्येको एक ।”
“एक यशु अनुयायी, हातमा त्रिशुल र धुनी लगाउँदै नेपालमा ?”
“यो हिमखण्ड त स्वयम् परमेश्वर यशुले ज्ञान पाउनुभएको ठाउँ । म त एक अनुयायी । म यो ज्ञानभूमिमा नआएर कहाँ जाऔँ ?”
हैन के भन्छ यो मान्छे ? यो हिमखण्डमा कस्तो ज्ञान ? यो त पूर्वीय दर्शन मान्नेहरूको लागि मात्र पवित्रभूमि होइन र ? यशु र पूर्वको त दूर-दूर सम्मको नाता छैन त ।
“तर बाइबलमा त … … …”
“छैन थाहा छ । बाइबलमा सबै कुरा उल्लेख छैनन् ।”
त्यसपछि हामी बीच एक लामो वार्तालाप भयो । निकै लामो ! शायद केही घण्टा बिते । गफ के-के विषयमा भयो भनेर सोध्नुभएको ? ए ए त्यही त हो परमेश्वर यशु, म्यारी, जुडास र यशु र यो हिमखण्ड बीचको नाता, केही पूर्वीय दर्शन र विभिन्न अरू पुस्तकहरू जुन बाइबलमा छैनन् । किन ती बाइबलमा छैनन् ? ए साँच्चै, केही तन्त्रको बारेमा पनि कुरा भयो । के रे इसाईमा तन्त्र ? हो भन्या ! पहिले त मलाई पनि थाहा थिएन तर अब अनजान रहिनँ ।
कुरा गर्दैगर्दा कति समय बित्यो पत्तो पाइनँ । तर मेरो पेटले भने मेसो पाएछ । मेरो पेटले मेसो पाएको योगीले पनि मेसो पाइसकेछन् । बुढाले त यसो पछाडि फर्केजस्तो गरेर खानाले भरिएको थाल पो निकाले गाँठे । म त हेर्या हेर्यै । त्यसरी नै निस्कियो पानीको गिलास । म त कसम फेरि दङ्गदास । कहाँबाट आयो यो खाना भनेर सोध्न त मन नभाको कहाँ हो र तर परमेश्वरको कसम मैले मुख खोल्नै सकिनँ । शब्द घाँटीभन्दा माथि निस्के त मरिजाऊँ । बरु घाँटीबाट घुर्लुक्क-घुर्लुक्क खाना चाहिँ मस्तै गयो ।
भातेनिद्रा, थाहा छ तपाईंलाई ? थाहा छ भने थाहा पाउनुभयो नि के भयो ? हो त्यही भयो, म भुस भएँ । क्या मस्त निदाइएछ । न त सपना नै देखें, न त कतै कुनै किसिमको असुविधा नै महसूस गरेँ । कस्तो मज्जाको निद्रा । शायद घोडा बेचेर सुत्ने भनेको यही हो क्यारे । यसरी म यो भन्दा अघि कहिले सुतेथेँ मलाई याद छैन । शायद आमाकै गर्भमा होला
आँखा खोल्दा ती योगी ध्यानमै थिए । मेरो उठाइले शायद ध्यानभङ्ग भयो । आँखा खोले बुढाले । या मेरो उठाइको प्रतीक्षा गरेर बसेका पनि हुनसक्छन् । मोबाइल हेरेँ । स्विच अफ रैछ । मैले पो पेटपूजा गरेँ त मोबाइलको ब्याट्रीले त आफ्नो पेटपूजा गर्न पाको छैन नि । हिजोदेखि होला । शायद । हिजो नै त होला नि । यहाँ त न दिन थाहा हुन्छ न त रात नै । खाना खाएर लम्पसार परेको हुँ । कति घण्टा सुतेँ केही अत्तोपत्तो छैन । अनुमान गरेँ एक रात पक्का बिताएँ ।
“ल अब सोध्नुस्, तपाईंलाई के जान्न मन छ ?”
उठेर कसमसे हाई काढ्न पनि पाएको छैन सिधै मुद्दामा । योगीहरूसँग समय नै समय हुनुपर्ने होइन र ? हुन त यी योगीले मेरै समयको महत्वलाई ध्यान दिएर हतार गरेका होलान् । एउटा प्रश्नको उत्तरको लागि जता पायो त्यतै भौंतारिने हावा मान्छेले आफ्नो समयको महत्त्वको कुरा गर्यो भनेर तपाईं हाँसेको हो ? मलाई बिल्ला गर्या हो ? गर्नुस् । मलाई बाल ।
“आदम र हब्बाले खाएको निषेधित फलको कहानी के हो ? निषेधित गरिएको फल के थियो ? स्वर्गको बगैंचामा भएको दुई विशेष वृक्ष – ज्ञानको वृक्ष र जीवनको वृक्षको रहस्य के हो ?”
योगी मेरो आँखामा हेर्दै बोले – “ठीक छ तपाईं मलाई तपाईंले जानेको कहानी भन्नुस् अनि म त्यसमा थप्दै जानेछु ।”
मैले बाइबलको कहानी जुन चर्चमा सुनाएको थिएँ त्यही नै रिपिट ब्रोडकास्ट गर्न थालेँ – एडम, इभ………. जीवनको वृक्ष, ज्ञानको वृक्षमा, वर्जित फल ……… , सर्प आएर इभलाई फल खाऊ राम्रो र नराम्रो थाहा पाउँछौ भनेर उक्सायो अनि इभले खाई । अनि एडमलाई पनि खान दिई । पिता परमेश्वर आउनुभयो । उनीहरू आफू नाङ्गो भएको थाहा पाए र लाजले आफ्नो जननेन्द्रियहरू लुकाए, अनि पिता परमेश्वरले दुवैलाई श्राप दिनुभयो । एडम – मृत्युपर्यन्त कडा मेहनत गर्नुपर्ने । इभ – बच्चा जन्माउँदा पीडा सहनुपर्ने ।” मैले फास्ट ट्रयाकमा भनेँ है । कसैलाई यसको विस्तृतमा जान्न मन छ भने तपाईंलाइ पवित्र बाइबल पढ्न अनुरोध गर्दछु ।
“अब म केही प्रश्नहरू सोध्छु उत्तर दिँदै जानुस् है त” कस्तो नेपरिएको योगी रहेछ यो । उल्टै मलाई पो प्रतिप्रश्न गर्ने रे । ठीकै छ । मेरो पो के बित्दो छ र ? हुन्छ भन्दिए ।
“जीवनको वृक्षले के दिन्छ ?”
“जीवन !”
“अनि जनेन्द्रियले ?”
“जीवन !”
“जीवनको वृक्ष बगैंचाको कहाँ थियो ?”
“बगैँचाको बीचमा ।”
“ओके, अनि तपाईंको जननेन्द्रिय शरीरको कहाँ छ ?”
“बीचमा !”
“केही बुझ्नुभयो ?”
“बुझ्दैछु ।”
“ल अब आऔँ ज्ञानको वृक्षमा । के तपाईंले कहिल्यै ऊर्ध्वमूलमधःशाखमश्वत्थं प्राहुरव्ययम्……. भन्ने गीताको अंश पढ्नुभएको छ ?”
“छैन – किन पढ्नु मैले गीता ? नजाने गाउँको बाटै नसोध्नू । न त मेरो पुस्तक न त हाम्रो पवित्र ग्रन्थ !”
“एउटा उल्टो लट्केको वृक्ष जसको जरामाथि र हाँगाहरू तल झुकेका छन् । कैयौं योगीहरूका भनाइअनुसार मानव मस्तिष्कलाई वृक्षको जरासँग तुलना गरिन्छ । र बाँकी स्नायु, धमनीहरू यस्का हाँगाबिँगा । यसरी हेर्दा हरेक मानवले आफैसँग उर्ध्वमुलम् वृक्ष बोकेर हिंडिरहेका छन् । जसले यो कुराको पहिचान गर्नसक्छ । जसले यो ज्ञान प्राप्त गर्दछ । उसले ब्रह्मतत्त्व प्राप्त गर्दछ ।”
योगी केही बेर रोकिए र फेरि बोल्न थाले, “मलाई बताउनुहोस् मानव शरीरको कुन अङ्गले सही गलत छुट्ट्याउने काम गर्छ ?”
“मस्तिष्कले ।”
“कुरा बुझ्नुभयो ?”
“बुझ्दैछु ।”
“मलाई बताउनुहोस् – यदि बच्चालाई उसले खान हुँदैन है भनेर भनेको कुरा उसले खाँदैगर्दा पक्राउ गरियो भने उसले के लुकाउँछ ?”
“उसले हातले मुख छोप्छ । र खाएको कुरा लुकाउन खोज्छ ।”
“फेरि भन्नुस्, यदि उसले चोरी गरेको बेला पक्राउ पर्यो र उसको हातमा त्यो वस्तु छ भने उसले के गर्छ ?”
केही बेर सोचेर जवाफ दिएँ ।
“अफ कोर्स् उसले चोरी गरिएको बस्तु हातमा लिन्छ र ढाडपछाडि लुकाउँछ ।” यो चाहिँ आफ्नै अनुभव हो है ।
“अर्थात् एउटा बच्चाले आफूले केही बिराम गरे त्यस गल्तीलाई लुकाउन खोज्छ हैन त ? अब मलाई भन्नुस् एडम र इभले के लुकाए ।”
“आफ्नो गुप्ताङ्ग ।”
“कुरा बुझ्नुभयो ?”
“बुझ्दैछु ।”
“अब न्यूटनलाई सम्झौं । हरेक क्रियाको प्रतिक्रिया हुन्छ । होइन त ?”
“हो । जस्तो कि उनीहरूलाई परेको श्राप !” मैले श्रापको कुरा झिक्न चाहेँ ।
“ल त्यसो भए अब त्यस विषयमा कुरा गरौं ।” योगीले त्यो भन्दै थिए त्यति नै बेला उनको शरीरमा रहेको पातलो गम्छा जस्तो पीतवस्त्र काँधबाट सर्कंदै झर्यो र शरीरको माथिल्लो भाग पूरै उदाङ्गो भयो ।
हैन, एक वयोवृद्ध योगीको कपडा सर्किंदैमा हुन्छ के ? केही हुँदैन । म जस्तो अविवाहित पुरुषको अगाडि कुनै सुन्दरीको आँचल मात्र झर्दा पनि उल्कै हुन्थ्यो होला । हुन त आजभोलि जसले जसलाई देख्दा पनि जे पनि हुनसक्छ । पुरुषले पुरुषलाई देख्दा पनि हुनसक्छ । महिलाले महिलालाई । र अरू धेरै सम्भावनाहरू । पहिचानको जो युग छ । यो पहिचानको आन्दोलन चर्को छ । हो हो त्यही । लिङ्ग पहिचानको । पुलिङ्ग, स्त्रीलिङ्ग, समलिङ्ग, नपुंसकलिङ्ग, अस्थिरलिङ्ग, सर्वलिङ्ग, फिलिङ्ग, झिर्लिङ्ग, जेपिटीलिङ्ग आदि इत्यादि । यी सबै लिङ्गहरूले सिर्जना गर्नसक्ने सम्भाव्यताहरू त कति हो कति । त्यसैले आजभोलि जसको आँचल सर्किए पनि कुछ कुछ होता हे जता पनि हुनसक्छ । के त्यसो भए मलाई पनि कुछ कुछ भएको हो त ? होइन होइन त्यस्तो होइन । म गे होइन, कम्तीमा आजसम्मको लागि होइन । भोलिको दिन भएछु भने भनौँला ।
त्यसो भए कपडा सर्क्या कुरा पनि किन उल्लेख गर्या त ? त्यसै त कथा हो कि के जाति हो यो फोकटमा लामो भएर दिक्क लागिसकेको छ ।
अरे वाह ! खूब ! मैले जानीजानी लम्ब्याएको हो र । लम्बियो आफै । मलाई कम्ता गाह्रो भएको छ यो लम्बिएर । लेखेछु, लेखेछु, सकिँदैन । झन् बेलाबेला तपाईं ल्याङल्याङ गरिरहनुहुन्छ अनि झन्झन् यो गन्थन लम्बिँदै जान्छ ।
ए म कहाँ थिएँ रे ? ए हो त त्यही । योगीको पीतवस्त्र काँधबाट सर्कंदै झर्यो र योगी उदाङ्गो भए । ए आम्मा के हो त्यो ? घाउ हो ? कस्तो गहिरो । लाग्छ कुनै भालाले रोपिएको हो । के अचम्म हो यो । घाउ छ, गहिरो छ, आलै छ, रगत पनि छ, त्यो पनि आलै छ, तर रगत । रगत त बगेको छैन त । अडिएको छ त ठप्प – जस्तो कि तस्वीर । मानौं कि त्यहाँ समय रोकिएको छ । मेरो आँखालाई भ्रम भयो कि क्या हो ? हैन हैन भ्रम होइन । त्यहाँ पक्कै पनि केही रोपिएकै हुनपर्छ । केही धारिलो अनि फराकिलो । दिमागमा यति बेला भालाबाहेक अरू केही आएको छैन ।
हैन कि यो कुनै मेकअप डिजाइनरको कलाकारिता त होइन ? घाउ आलै, रगत आलै, तर यो किन बग्दैन हँ ? हैन यो त बडा क्न्फ्यूजन भयो गाँठे । एकपल्ट छोएरै हेर्न पाए दुबिधाको अन्त्य हुनेथियो कि क्या हो ।
“ल भन्नुस् त श्राप के थियो ?” ए हो त म त यहाँ श्रापको विषयमा पो गफ गरिरहेको थिएँ त ।
“इभलाई श्राप थियो कि उसले बच्चा जन्माउँदा दुखाइको अनुभव गर्नेछे । अनि आदमलाई उसले जीवनपर्यन्त परिवारलाई हुर्काउनको लागि मेहनत गर्नुपर्नेछ भनेर श्राप दिइएको थियो ।”
“अब मलाई भन्नुहोस् – कोही परिवार हुर्काउँदै गरेकालाई तपाईं के भन्नुहुन्छ ?”
“के भन्नू नि । अब जिम्मेवार भएर परिवार हेर्नू, अब एक्लो जीवनमा भन्दा बढी जिम्मेवारी थपिन्छ । परिवारलाई खुवाउन, हुर्काउन, बढाउन परिश्रम बढी गर्नुपर्ने हुन्छ । गाउँले भाषामा भन्नुपर्दा अब दश नङ्ग्रा बढी चिथोर्नुपर्ने हुन्छ ।”
“कुरा बुझ्नुभयो ?”
“उम् बुझेँ ।” मैले बिस्तारै टाउको हल्लाउँदै उत्तर दिएँ ।
“त्यसो भए अब मलाई भन्नुहोस् – जसले कहिल्यै बच्चा जन्माउँदा हुनसक्ने पीडाको बारेमा बुझेकी छैनन् ती गर्भवती स्त्रीलाई तपाईं के भन्नुहुन्छ ?”
“मैले पनि भोगेको होइन, सुनेको कुरा भन्नुपर्दा अथाह पीडा हुन्छ रे, आफूलाई दह्रो बनाउनु यहीं त भन्ने होला ।”
“पिता परमेश्वरले के भन्नुभएको थियो ?” योगीको प्रश्न ।
“त्यही बच्चा जन्माउने बेला पीडा हुन्छ ।” म एकैछिन रोकिएँ र फेरि अघि बढें, “पख्नुस् है त यो त यसरी हेर्दा त श्राप कम एक नव दम्पतीलाई सम्झाए जस्तो देखिन्छ त । हैन ?”
जवाफमा योगी मुसुक्क मुस्कुराए अनि उल्टै प्रतिप्रश्न गरे – “बुझ्नुभयो नि ?”
“बुझेँ ।”
“के त्यसो भए पवित्र बाइबलको शुरूवात नै घिनलाग्दो यौनबाट भएको छ ? उत्पत्तिको कथामा यौन छ । अविश्वसनीय !” हाउ कम ? यो त अति नै के ।
“यौन, अनि घिनलाग्दो ? हा हा हा हा हा हा । म, तपाईं अनि यो जगतमा जति पनि, पशुपंक्षी, जीवजनावर, कीरापतंग, चराचर केही अपवाद छोडेर जति पनि यी जगतमा छन् ती सबैको सृष्टि दुई फरक सत्ताबीच भएको संसर्गबाट नै भएको हौइन र । बाइबलको पहिलो कथाको नाम उत्पत्ति, अर्थात् सृष्टि, अनि तपाईंलाई थाहा छ सृष्टिको लागि के चाहिन्छ ? कुरा बुझ्नुभयो ?”
“उम्, बुझें ।”
हो, अब म छर्लङ्ग भएँ । पक्का भएँ । तर मैले अझैसम्म एउटा कुरा के बुझेको छैन भने …… । याद आयो तपाईंलाई ? त्यही के- योगीको शरीरमा देखिएको घाउ, आलो, रातो तर नबग्नेवाला रगत । अघि यत्रोबेर गफ गर्दैगर्दा मेरो दिमागमा त्यो कुरा धेरै पटक नआएको कहाँ हो र तर कुरा नकाट्या मात्र हो । मलाई अघि नै देखि चुकचुक भइरहेको थियो अब त मुख नै फोडें ।
“के त्यो साँच्चैको घाउ हो ?”
“हजुर !”
“के त्यो कुनै भालाको चोट हो ?”
“हजुर !”
“कहिले भएको निकै आलो देखिन्छ त ?”
“धेरै पहिले !”
“धेरै पहिले भए त सुक्नुपर्ने त, घाउ आलै देखिन्छ त अनि रगत पनि छ तर स्थिर देखिन्छ । कसरी हुन्छ त्यस्तो ? रगतको स्थिरता हेर्दा त साँच्चैको जस्तो त लाग्दैन त । ”
“उम्’’ जम्मा उम् । यति नै हो खै व्याख्या ? मलाई झन् कौतुहलता बढ्यो । जान्ने इच्छा यति तीव्र थियो कि मलाई त्यहाँ छोएरै जाँच गर्न मन लाग्यो ।
“के म छोएर जाँच गरूँ ?” लौ त जा जे सुकै होस् । मैले त अनुमति नै मागिदिएँ ।
योगी जवाफमा मुसुक्क मुस्कुराउँदै स्वीकारोक्तिमा मुन्टो हल्लाए । बस् यत्ति त चाहिएको थियो मलाई । योगीको छातीको घाउमा बिस्तारै लगेर दाहिने हातको चोर औंलाले छोएँ । चित्त बुझेन । घाउमा औंला डुलाएँ । के अचम्म ! यो त साँच्चैको घाउ हो । कस्तो तातो, अनि घाउ पूरै आलै थियो । चोट छ, घाउ छ, रगत छ, सबै आलै छ तर तरल रगत स्थिर छ बा । म त दङ्ग खाएँ । हुन त पछिल्ला मेरा केही दिनहरू यसरी नै त बितेको छ – दङ्ग खाएर ।
“यो चोट कसरी लाग्यो ?” योगीलाई सोधेँ ।
“केही प्रश्नहरूको उत्तर बिस्तारै पाउनुहुन्छ । यो प्रश्नको उत्तर पनि छिट्टै पाउनुहुन्छ ।”
केही बेर ती योगीको अनुहार हेरिरहेँ । उनी मुस्कुराइरहे । कस्तो शीतल मुस्कान । योगीले जाने इशारा गरे ।
हुन पनि हो अब यो अन्धकारमा बसिरहनुको औचित्य पनि त थिएन त्यसैले जाने तरखरमा उठेँ । बिदावारी भएर हिँडे अन्धकारमा छामछुम गर्दै । अचानक केही प्रश्न याद आएझैँ भयो । म टक्क अडिएँ । हो त्यहीं – लगभग पाँच सात पाइला चालिसकेपछि पछाडि फर्किएँ । योगी मलाई हेरी अझै पनि मुस्कुराइरहेका थिए । यस्तो लाग्थ्यो उनलाई थाहा छ मेरो प्रश्न के हो ।
“एउटा अन्तिम प्रश्न – तपाईंको नाम योगी शान्तमसानन्द । यो त तपाईंले पछि आर्जित गरेको या मानिसहरूले तपाईंलाई सम्बोधन गर्ने नाम भयो । तर तपाईंको वास्तविक नाम चाहिँ के हो ?” शायद यो मेरो अन्तिम प्रश्न हुनसक्छ यी योगीलाई ।
म जवाफ कुरेर ठिङ्ग उभिरहें । उभिरहें । उभिरहें । अझै उभिरहें । अझै पनि उभी नै रहेँ । तर जवाफ आएन । योगी मुसुक्क मुस्कुराइरहे मात्र । केवल मुस्कान मात्र । के नाम मुस्कान हो भन्न खोजेको हो ? छ्या होइन हो त्यो त । मुस्कान त बल्ल हाम्रो पालोमा चलेको नाम हो । यी योगी त सत्तरी-असी वर्षका देखिन्छन् । म जवाफ कुरी उभी नै रहेँ । कसम भनेको मैले त्यहाँ दुईतीन मिनेट त नामै कुरेर उभिँए होला । तर यी योगीले नाम बताएनन् । केवल मुस्कुराई रहे मात्र । हार खाएँ । झोँक चल्यो । फरक्क फर्किएँ ।
“म यशु शिष्य थोमस, पूरा नाम डिडिमस जुडास थोमस !”
ह्वाट ? जिसस डिसाइपल डिडिमस जुडास थोमस ? के सुनेँ मैले । व्हाट द हेल । उहीँ शङ्कालु थोमस जसले यशुको घाउलाई छोएर परीक्षण गरेको थियो । हाउ कम् ? यो कसरी सम्भव छ ? हाउ ? हाउ ।हाउ ? ह्याङ्ग अन, मैले पनि त भर्खरै उहाँको घाउको सत्यताको परीक्षण गरेको थिएँ । मेरुदण्डमा चिसो हावा पसे जस्तो, शरीर एकपल्ट थरर काँपे जस्तो भयो ।
म फरक्क फर्किएँ । लौ न के अचम्म हो ? के आइलाग्यो यो फेरि ? यहाँ त कोही पनि छैन त । न त योगी शान्तमशानन्द उर्फ थोमस, न धुनी, न बाइबल, न आसन, यहाँ त घोर अन्धकार छ, केवल अन्धकार । यो सुनसानमा म सिवाय यहाँ कसमसे केही पनि छैन, कोही पनि छैन । म अर्को चरणको दङ्ग खाएँ । लगभग अर्को चरणको प्रश्नहरू लाम लाएर उभिन थाले । थप प्रश्नहरूको भारी बोकेर बिस्तारै गुफाको अन्धकारबाट बाहिर निस्केँ ।
लौ न ! यो फेरि के अचम्म हो ? बाहिर त अर्कै छ त । म कुन कुनाबाट निस्केँ फेरि ? – पूर्व -पश्चिम -उत्तर -दक्षिण जुन कुनाबाट निस्के पनि यो तेताङ्ग त होइन त । ज्यान गए हुँदै होइन । पूरै भूगोल नै फरक छ । सबै फरक छ । हावापानी, माटोको गन्ध, ढुङ्गामाटा यी केही पनि तेताङ्गका होइनन् । अब अर्को प्रश्न । म छु चाहिँ कहाँ ?
एउटा कुरा चाहिँ के प्रष्ट थियो भने म कतै हिमालको काखमा छु । म निस्केको पहाडलाई पूरै हिउँले ढाकेको छ । मेरा चारैतिर पहाडहरू चिरनिद्रामा मस्त छन् । यी पहाडहरूको बीचमा म कतै हराएजस्तो भएको छु । दिमागमा खेल्नको लागि धेरै कुरा थिए तर यति बेला एउटै कुरा चलिरहेको थियो । म कहाँ छु ? व्हेर द हेल एम आई ?
मोबाइलले त उहिल्यै गुफामा दम तोडिसकेको कुरा त तपाईंलाई थाहै छ । त्यसैले मोबाइलमा ठाउँ खोज्ने विकल्पलाई पनि ब्याट्रीले स्वाहा भनिसकेको थियो । लगभग एकाध घण्टा ओरालै-ओरालो लागेपछि दुई जना भिक्षुहरू नाङ्गा पयरमा उकालो चढ्दै थिए । मलाई देख्नासाथ एउटा अलि उमेर पुगेको भिक्षु टक्क अडिए र टाउको झुकाएर नमस्ते गरे । अनि उनले आफ्नै भाषामा अर्को भिक्षुलाई के भने खै ती भिक्षु अझै झुकेर स्वास्ती गरेझैँ गरे । मैले पनि त्यसरी नै जवाफ फर्काएँ । शायद भिक्षुहरूको चलन होला बटुवाहरूलाई प्रणाम गर्दैहिंड्ने ।
उनीहरूलाई म कहाँ छु भनेर अङ्ग्रेजीमा सोधे । उनीहरू मुखामुख मात्र गरे । शायद प्रश्न बुझेनन् किनकि भाषा बुझेनन् । नेपालीमा प्रयास गरेँ । त्यसले पनि हावा खायो । हाउभाउले प्रश्न गरेँ । त्यो प्रयास पनि उत्तानो पर्यो । प्रश्नको उलारले मलाई थप ओरालो झराल्दै गयो ।
भने नि मेरो मनमा धेरै प्रश्नहरू छन् । व्यापक छन् । म एक्लै घोत्लिँदै हिंडेको छु त्यो सुनसानमा प्रश्नहरूले जेलिंदै । प्रश्नहरूको चाङमा पहिलो प्रश्न अझै पनि त्यही नै छ – व्हेर त हेल एम आई ? म कहाँ छु ?
ढाडपछाडि बोकेको मेरो यात्राको साथी, मेरो सानो ब्यागले मलाई हल्का दुःख दिइरहेको छ । भारी केही गह्रुङ्गो भएजस्तो । शायद थकाइ बढ्दै गएको छ । शरीर गल्दै गएको छ । आफ्नै भारी केही गह्रुङ्गो भएजस्तो भएको छ । शरीरकै कुरा गर्दा छातीको देब्रे पाखोतिर पनि सामान्य दबाब बढ्दै छ । दुखाइ तीव्र होइन तर कताकता कमिलाले चिमोटेझैँ बेलाबेला चिसिक्क-चिसिक्क गरिरहेको छ । अनि बेलाबेला शीतल पनि हुन्छ । यो उकाली ओरालीमा दमले हानेजस्तो भएको छ । हल्का स्वाँस्वाँ भइरहेको छ । हैन हैन चिन्ता नलिनुस् त्यस्तो गम्भीर केही पनि छैन एकदम सामान्य हो । मैले आफ्नो विवरण बताएको मात्र हुँ । आत्तिहाल्नुपर्ने केही होइन । सामान्य थकाइ मात्र हो ।
लगभग एक घण्टा हिंडेपछि एउटा मोडमा बीस-तीस जनाको मानिसहरूको समूह बिस्तारै अगाडि बढिरहेको थियो । एक लामा दाह्री, पितवस्त्रधारी योगी उनीहरूलाई पछ्याइरहेका थिए । उनको वस्त्रभरी ॐ नम: शिवाय लेखिएको थियो । उनी जोरले ॐ नम: शिवाय भन्थे अनि भीडले उनको आवाजलाई पछ्याउँथ्यो । सामान्यतया गुरुलाई शिष्यले पछ्याउँछन् तर यहाँ दृश्य उल्टो छ । किन उल्टो छ मलाई थाहा छैन । अब त मलाई केही पनि थाहा छैन भन्दा पनि हुन्छ । पछिल्ला केही दिनमा केही पनि कुरा सोचेजस्तो भएको छैन मेरो जीवनमा । पछिल्ला केही दिन केही पनि सामान्य भएको छैन । अनि रह्यो ती योगीको उमेर । त्यो त म के बताऊँ । बताइनँ भो । अघि थाहा पाइहाल्नुभयो कसरी मेरो उमेरको अनुमानले पानी पनि भन्न पाएन । अब त यति मात्र भन्छु त्यस्तै साठी सत्तरीका देखिन्थे देखिनलाई चाहिँ । अब उमेर त जति पनि हुनसक्छ । साठी, सत्तरी, एक सय सत्तरी, दुई हजार सत्तरी ।
ती योगीलाई एक टकले हेर्दै हिंडेको थिएँ । त्यति नै बेला अगाडिबाट आइरहेको मान्छेले अर्को मान्छेलाई प्रश्न गरेको सुनें ।
“लास्ट टाइम यहाँ कहिले आउनुभएको थियो ?”
“ट्वान्टी ट्वान्टीको जुनमा आएको थिए । अनि तपाईं ?” अर्कोले जवाफ दियो ।
ह्याङ् अन, के सुनेँ मैले ? दुई हजार बीस रे । हिजो दुई हजार आठ साल जनवरी तीन तारिखको दिन त हो म यहा तेताङ्ग आएको । यो दुई हजार बीस कहाँबाट आयो फेरि ? यो कुन सालको कुरा गर्या हो यिनीहरूले ? शायद कानले गलत सुन्यो होला । तरपनि एकपल्ट गते सोध्दा त के नै बिग्र्यो र, होइन र ? अनि मलाई यो कुन ठाउँ हो पनि त सोध्न छ ।
“सुन्नु न,” उनीहरूले सुने
“हजुर,”
“यो कुन ठाउँ हो ?”
उनीहरू दुवैले मुखामुख गरे अनि एउटाले जवाफ दियो – “कैलाश पर्वत !”
“व्हाट म चाइनामा छु ?” मेरो मुखबाट फ्याट्टै निस्कियो ।
“उम् तिब्बत !”
मलाई भाउन्न भएर रिङ्गटा लागेझैँ भयो ।
“आज जनवरी कति गते हो ?”
“आज सत्ताइस तारिख, तर यो जनवरी होइन, यो त मे हो ।”
“व्हाट ?” यस्तो ठूलो स्वरले चिच्याएछु कि सबै जनाले मलाई पुलुक्क हेरे । मान्छेहरू खासखुस गर्न थाले । मलाई कताकता लाज लागे झैँ हुन थाल्यो । अब लाजसाज मारो गोली एउटा अन्तिम प्रश्न त सोध्नै पर्यो ।
“यो कुन साल हो ?”
“ट्वान्टी-ट्वान्टी टू, आर यू अलराइट सर ?”
“यो हुनै सक्दैन । अस्ति भर्खर त दुई हजार …… ।” म यो भन्दा बढी बोल्न सकिनँ ।
“सर तपाईंलाई हाइट लागे जस्तो छ । आज दुई हजार बाइस साल मे सत्ताइस तारिख ।”
दुई हजार बाइस,
दुई हजार बाइस,
दुई हजार बाइस
मेरो कानमा खाली यही आवाज मात्रै गुञ्जियो । एकैछिन केही पनि नसुनेझैँ भएँ । कान डम्म भएजस्तो भयो । पानी प्यास लागे जस्तो । ढाडपछाडिको झोला झन्झन् गह्रुङ्गो भएझैँ, छातीमा चिरचिर पसिना आएझैँ, देब्रे पाखोमा कमिलाले चिटीचिटी टोकेझैँ । दुई हजार आठको जनवरीमा तेताङ्गको गुफामा छिरेको मान्छे तिब्बतको कैलाश पर्वतमा निस्केको छु त्यो पनि चौध वर्षपछि । म उस्तै छु । अस्ति काटेको झैँ लाग्छ दाह्री । त्यो हल्का बुरुरु बाहेक केही भएको छैन । नङ, कपाल सबै उस्तै छन् । म उस्तै छु, क्यालेन्डर फेरिइसकेछ । एकपल्ट होइन चौध-चौध पटक । एक दिनमा चौध वर्ष कटाउनुभएको छ ? कस्तो हुन्छ तपाईंलाई के थाहा ?
“सर आर यू अलराइट ? के तपाईं ठीक हुनुहुन्छ ?” कोही मलाई प्रश्न गर्दै झक्झकाइरहेको थियो । अनि म ? सुतेको थिइनँ । म त बस् ए क्या हुवा ? कैसे हुवा ? वाला भावमा आफैंलाई प्रश्न गर्दै रल्ल परेको थिएँ ।
“आइ एम ओके, थ्याङ्क यू” मैले मुसुक्क मुस्कुराउने प्रयास गर्दै जवाफ दिएँ । उनीहरूलाई शायद मेरो उत्तरले सन्तुष्टि मिलेन । उनीहरूले आफ्नो गुरुतिर हेर्न थाले । अफ कोर्स चित्त बुझेन, म बुझ्नसक्छु ।
ती गुरु मेरो नजिक आए अनि मुस्कुराए अनि बोले – “चौध वर्षको गुप्तबास बसेर निस्कनुभयो ?”
यो के अचम्म ? योगीको बोली भुइँमा खस्न भ्याएको थिएन अचानक सबै शिष्यहरूको झोला फ्यात्त-फ्यात्त भुइँमा खस्दै गयो । घुँडाहरू गिटी, ढुङ्गाको परवाहबिना भुइँमा धसिँदै गए । कुराहरू त्यतिमै रोकिएनन् । सबैको आँखा मतिर थिए । सबैको अनुहारमा एउटा चमक थियो । सन्तुष्टिको आभा झल्किरहेको थियो । एकाएक सबैका शिरहरूले मलाई प्रणाम गर्दै निधारहरूले जमीनमा स्पर्श गरिरहेका थियो । म आश्चर्य भावले ती योगीलाई हेरेँ । मैले कसम बुझ्न सकेको छैन यहाँ के भैइरहेको छ । मेरो अघि ती योगी शान्त भावमा मुस्कुराइरहेका थिए ।
योगीले एउटा सादा श्वेतवस्त्र भुइँमा ओछ्याउँदै बोले, “झोला गह्रुङ्गो भएको छैन?”
“हजुर भएको छ । धेरै थाकेको छु शायद त्यसैले…”
“एकैछिन विश्राम गर्नुहोस् । झोलालाई त्यस वस्त्रमाथि राख्नसक्नुहुन्छ ।”
खै किन हो किन म आज्ञाकारी बालकजस्तो झोलालाई थपक्क त्यस कपडामाथि राखिदिएँ । ज्यानले हल्का महसूस गर्यो । एकपल्ट हात तिनिक्क तन्काएँ । ती योगीले आफ्ना दुई जना शिष्यलाई झोला उठाउने इशारा गरे । हँ यो के अचम्म हो ? झोला त टसको मस गर्दैन त । दुई जना मान्छे झोला उठाउन लागिपरे तर झोला उठेन । झोलाले ऐया पनि भनेन त । कुनै पिल्लर जस्तै । जमीनमा भासिएको ढुङ्गाजस्तै । म आश्चर्यचकित भएर योगीलाई हेरेँ । हतारहतार झोलालाई हातमा लिएर उचालेँ । झोला त सजिलै उठेको छ त । मसँग फ्र्याङ्क त भइरहेको छैन ? मैले योगीलाई हेरेँ । शिष्यहरू आश्चर्यचकित भावले मलाई हेर्न थाले ।
“अचम्म नमान्नुस् त्यो झोला जो कोहीले बोक्न सक्दैन” यति भनेर उनी आफ्ना चेलाहरूतिर फर्किए अनि बोले “आज टेन्ट यही गाडम् । आजको बसाइँ यही हुनेछ” सबैजना हामी दुवैलाई प्रणाम गर्दै टेन्ट गाङ्न तितरबितर भए ।
“यो चौध वर्षको फण्डा के हो ?” मैले योगीलाई प्रश्न गरें ।
“यो पढ्नुस्,” उनले आफ्नो झोलाबाट भागवत पुराण निकालेर मेरो हातमा थमाइदिए । आजभन्दा एक हप्ता अघि, सरी ! चौध वर्षअघि मलाई यो पुस्तक कसैले दिन्थ्यो भने म पक्कै लिने थिइन तर यो एक हप्तामा हत्तेरी ! सरी ! यो चौध वर्षमा धेरै परिवर्तन भएको छ । धेरै अविश्वसनीय घटनाहरू घटेका छन् । अब त यो मेरो यो तेरो भन्ने नै रहेन । पुस्तक हातमा लिए अनि सोधें – “यसमा के छ ?”
“धेरै छ । तपाईंको गुफा भित्रको एक दिन बाहिर कसरी चौध वर्ष भयो भन्ने उत्तर पनि पाउनुहुन्छ । त्यहाँ राजा काकुद्मी र उनको छोरी रेवतीको कथा छ । त्यस कथाले तपाईंको उत्तर दिनेछ । विज्ञानको भाषामा सापेक्षता सिद्धान्त अझै टू द पोइन्ट जाने हो भने टाइम डाइलेसन !”
हातमा पुस्तक लिएँ । ओल्टाइपल्टाइ हेरेँ अनि झोलामा राख्न चेन खोलें । ओए के अचम्म हो यो ? झोलामा त बाइबल छ त । हिब्रु बाइबल ! त्यही, गुफामा भएको बाइबल ! सन्त थोमसले बोकिरहेको दुई प्राचीन बाइबल । यो बाइबल कसरी मेरो झोलामा आइपुग्यो ?
म आश्चर्यचकित भावले ती योगीलाई हेरें । उनी मुसुक्क मुस्कुराउँदै बोले – “थाहा पाउनुभयो झोला किन गह्रुङ्गो थियो ?” म केही बोल्न सकिनँ । झोलाबाट बाइबल झिकेँ अनि ओल्टाइपल्टाइ हेर्न थालेँ । मेरोअघि योगी शान्त भावमा बसिरहेका थिए । हातमा बाइबल लिएर पर रहेको कैलाश पर्वत हेरेँ । त्यही पर्वतको कुनै गुफाबाट त निस्केको थिएँ म । म त टोलाएझैँ भएँ । टोलाएझैँ होइन, शायद शून्यमा हराए जस्तो । कति समय बित्यो थाहै भएन । बस् म त कैलाश पर्वत हेर्दै हराएछु ।
“गुरुजी, स्वामीजीको टेन्ट तयार भयो,” कसैले आएर ध्यान भङ्ग गर्दै बोल्यो ।
योगीले मतिर हेर्दै बोले – “आज आराम गर्नुहोस् !”
झोला बोकेर म त्यो शिष्यको पछि लागेँ । उसले मलाई एउटा सानो टेन्टअगाडि लगेर छोडिदियो । भित्र छिरें । एउटा फोल्डेबल बेड र स्लिपिङ ब्याग थियो । बिस्तारा देख्नासाथ ज्याकेटसितै डङ्ग्रङ्ग बिस्तारामा फ्याँकिएँ । केही बेर यत्तिकै फ्याँकिएँ । मनमा धेरै कुरा छ । धेरै प्रश्नहरू खडा भएका छन् । एउटा प्रश्नको उत्तरको लागि यहाँसम्म आएको थिए । अहिले झन् प्रश्नैप्रश्नको पहाड थुप्रिएको छ । मलाई थाहा छैन अब यी प्रश्नहरूको उत्तरहरू खोज्न म कहाँ जानुपर्ने हो ? कसलाई भेट्नुपर्ने हो ? एउटा उत्तर थाहा पाउने चक्करमा अन्य पचास प्रश्न खडा भएका छन् । यो प्रश्नहरू पनि ‘रक्तबीज’ राक्षस जस्तै हुने रहेछन् । मलाई यो रक्तबीजको कथा पनि कहाँ थाहा थियो र ? यो त खै हिजो हो कि चौध वर्षअघि गुफामा हुँदा सन्त थोमसले सुनाएर मात्र त थाहा भएको । रक्तबीज एक इन्ट्रेस्टिङ कहानी । इन्ट्रेस्टिङ एनालोजी ।
ज्याकेटले केही असजिलो भएझैँ भयो । हुन पनि त हो चौध वर्षदेखि यही लुगा लगाएर बसेको छु । चेन्ज गरेर नयाँ लुगा लगाउँछु । ज्याकेट खोले र भित्रको गन्जी पनि । व्ह्याट ? के हो यो ? मेरो शरीरमा घाउ ? ओए यो त उस्तै छ त शन्त थोमसको शरीरमा भएको जस्तो । के हो यो ? मेरो छातीमा कहाँबाट आयो यो भालाले रोपेको घाउ ? अनि यसमा किन छैन दुखाइ ? अनि किन बग्दैन रगत ? म त अतालिएझैँ भएँ । नाङ्गो शरीर लिएर चिच्याउँदै टेन्ट बाहिर निस्केँ । मेरो चिच्याहटले सबै शिष्य आफूले गरिरहेका काम छोडी मैतिर फर्किए ।
“योगीजी यो के हो ? व्हाट इज दिस ?” म सबैलाई बेवास्ता गर्दै लगभग चिच्याएँ ।
सबैजनाले मतिर हेर्दै थिए । बाहिर धुनीअगाडि योगीजी पलेटी कसेर बसेका थिए । एकदम शान्त अनि स्थिर मुद्रामा । म हुर्रिंदै उनको सामु पुगेँ र घाउ देखाउँदै चिच्याएँ – “योगीजी यो के हो ? व्हाट इज दिस ?”
योगी मतिर हेर्दै भारी स्वरमा बोले – “व्हाट इज द्याट इज नट इम्पोर्टेन्ट, हु आर यू इज इम्पोर्टेन्ट !”
“देन टेल मी, हु एम आई ? म को हूँ ? हु एम आई ?”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२४ मंसिर २०८२, बुधबार 










