सोमबारको दिन साँझ करीब ३ बजेको समय थियो । दाहिने गोजीमा राखिएको मोबाइल कम्पनमा ‘भ्यार–भ्यार’ गरेर बज्न थाल्यो । म गोजीबाट मोबाइल निकाल्दै फोन उठाउन खोजेँ । नम्बरमा नजर पुग्दा अन्तिम अंक ‘९३’ देखियो । चिनेजानेको जस्तो लागे पनि ठ्याक्कै सम्झन सकिनँ । कहिलेकाहीँ कल आउने गर्थ्यो, तर आज कसले गरेको होला !

मैले लाउडस्पिकरमा राखेर फोन रिसिभ गरेँ । उता परिचित जस्तो तर ठम्याउन नसकिने स्वर— हल्का रुघाले सताएको जस्तो आवाजमा बोली आयो —

“हेल्लो !”

मैले पनि “हजुर” मात्र भनें । त्यसपछि उताबाट एकोहोरो स्वरमा भनियो, “तिमी कता छौ आजकल ? म पनि विशेष कामले अस्तिको दिन काठमाडौं आएको थिएँ । आज बेलुकी अलिक फुर्सद भयो । तिमी चाहिँ चाबहिल बस्छौ भन्ने सुनेको थिएँ । अहिले साँझतिर पशुपति आऊ न, भेटौं । अहिले म अलिक व्यस्त छु, भोलि भेटेरै चिया गफ गरौंला, है ।”

त्यति भनेर फोन काटियो । म अकमक्क परेँ— धेरै सम्झन खोजेँ, तर आवाजसँग मेल खाने अनुहार मनमा आउन सकेन ।

कौतुहलता मेटाउन मैले पुनः कल गरेँ, तर ‘तपाईंले सम्पर्क गर्न खोज्नुभएको नम्बर अहिले उपलब्ध छैन, कृपया केही समयपछि प्रयास गर्नुहोस्’ भन्ने आवाज आयो ।

फोन काटेर म थचक्क बसें । त्यसपछि ध्यान केन्द्रित गर्न  फेसबुक चलाउन थालें । कात्तिक महिनाको मध्यम तापक्रम, घाम पनि निकै प्यारा लाग्ने बेला थियो । कोठामा घाम नछिर्ने भएकाले म माथि छतमा गएर घाम ताप्ने निर्णय गरेँ ।

म्याट ओछ्याएर ढल्कँदै घाम ताप्दै थिएँ, तर अघिल्लो फोनको कौतुहलताले निदाउन दिएन । मनमा अनेक सोच पलाए, आकाशतिर टोलाउँदै गर्दा तलबाट ठूलो आवाजमा चामलको विज्ञापन गर्दै गाडी गुड्दै आएको आवाजले झसङ्ग बनायो । मोबाइल हेर्दा सवा ५ बजिसकेको रहेछ ।

त्यसपछि हल्का आङ तानेर म छतमा हिंड्दै थिएँ, तर उता चकटीमै मोबाइल पुनः बज्दै थियो । यसो हेर्दा, त्यही पुरानो नम्बर, मैले तुरुन्त उठाएँ ।

“तिमी कता छ्यौ ? म आइपुगेँ त पशुपति, म गुह्येश्वरी जाने उकालोको देब्रेपट्टिको चिया पसलमा छु । छिट्टै आऊ, है ।”

त्यति भनेर फेरि फोन काटियो ।

मान्छेलाई कुराउने काम सबैभन्दा गाह्रो भन्ने सुनेको थिएँ । अब म आफैं त्यसैमा परेँ । हतारहतार रातो फूल प्रिन्टको टी–शर्ट, स्पोर्ट जुत्ता, कालो हाफ पाइन्ट र माथिबाट जिन्सको ज्याकेट लगाएँ र कपाल मिलाउँदै, कानमा इयरफोन लगाउँदै बंगला मुखीको ओरालो झरेँ ।

मनमा अनेक प्रश्न उठ्दै थिए, को होला त्यो ? आवाज चिनेजस्तो तर ठ्याक्कै ठम्याउन नसकिने, विद्यालयदेखि कलेजका सबै साथी सम्झें, तर मेल खाँदैनथ्यो ।

पशुपतिको द्वार पुगेर पूर्वमुखी भएर एकछिन भगवानलाई दर्शन गरेँ अनि नयाँ साथीसँगको भेटको आशामा गुह्येश्वरी जाने बाटो लागेँ । साँझको समय, पशुपति सधैं झैं भीडभाड, बालबालिकादेखि वृद्ध, सबैको रोजाइको स्थान, काठमाडौं आएका बाहिरी जिल्लाका मानिसका लागि फोटो र सेल्फीको प्रिय ठाउँ ।

त्यहाँ पुगेँ, देब्रेपट्टिको चिया पसलतिर तर चिनेजानेको अनुहार कतै देखिएन  । मैले फोन गरें, “तपाईं कहाँ हुनुहुन्छ ? म आइपुगेँ ।”

उता हाँसो मिसिएको आवाज आयो, “अब देब्रे मोडेर अगाडिको फलैंचातिर आऊ, मैले तिमीलाई देखिसकेँ ।”

त्यो सुनेर म अघि बढेँ, फलैँचामा आँखाले भ्याएजति सबै हेरेँ, हरेक मान्छे आफ्नै तालमा रमाइरहेका ! अचानक कतैबाट आवाज आयो, “अब अगाडि हेर त, कुनातिर हात हल्लाएकी छु, देख्यौ ?”

त्यहाँ करीब २०–२१ वर्षकी युवती- कालो मास्क, खुला कपाल, कालो जिन्समाथि नीलो कुर्ता, कालो बरको ओढेकी, एक्लै बसिरहेकी थिइन् । आँखा टक्क रोकिन पुगेँ, म सोझै उभिएँ । “सन्चै छै ? मलाई चिन्यौ ?” उनी मुस्कुराउँदै बोलिन्, “मखमली !”

म केही क्षण अचम्म परेँ ।

“मखमली ?”

उनी हाँस्दै भनिन्, “तिम्ले त अझै बिर्सेको रहेनछौ ।”

“बस न,” भन्दै उनले देब्रेपट्टि ठाउँ देखाइन्, मास्क तल झार्दै, मलाई एकोहोरो हेरिरहिन् ।

(‘मखमली’ भन्ने सम्बोधन मेरो मनमा अति प्यारो थियो— मखमली जस्तो कोमल, मायालु, उनी त्यही थिइन्, जो केही वर्षअघि आयोगको परीक्षा दिन जाँदा विराटनगरमा भेट भएको थियो । केही महिना फेसबुकमार्फत निरन्तर सम्पर्कमा रहेर हामी आत्मीय बनेका थियौं । तर नियतिको खेलले लामो समयसम्म सम्पर्क टुटेको थियो ।)

“आज कताबाट हो ?” सोधेँ ।

उनी हाँस्दै भनिन्, “तिम्ले नै बिर्स्यौ, माया मार्‍यौ हामीले बिर्सन सकेनौ त्यसैले आएको, भेटौं भनेर ।”

“तिम्ले त रातदिन सम्झनामै दिन काटेजस्तो कुरा गर्‍यौ त,” मैले भनें ।

“रिसाइहाल्छौ त,” भन्दै उनले मुस्कुराइन् ।

मैले कुरा बदल्दै भनेँ, “छोड न यी कुरा, अहिले के गर्दैछौ ?”

“के गर्नु र, तिम्ले बिर्स्यौ, अब परदेश जान खोज्दै छु, जापान ट्राइ गर्दैछु, एन.ओ.सी लिन लागेको । के गर्नु, तिम्रो जस्तो पढ्न सकिनँ,” भन्दै मुसुक्क हाँसिन् ।

सोधेँ, “काम सकेर फर्किँदै हो त ?”

“आज सकियो, भोलि बिहान ८ बजे विराटनगरको फ्लाइट छ, यहाँ आएपछि निस्ठुरी मान्छेलाई भेटौं भनेर आएको,” एकछिन छेउछाउ वातावरण नियाल्दै भनिन्, “अनि यो ठाउँमा त कति जाडो, तिम्रो लुगा लगाउने स्टाइल त हेर्न लायक छ त माथि ज्याकेट, तल हाफ पाइन्ट, शहरी हावाले छोयो कि के हो?”

हाँस्दै भनेँ, “हतारमा यही भेटियो, लाएर निस्कें,तिमीलाई भेट्ने आतुरतामा के लगाउने भन्ने पनि बिर्सें ।”

“गफाडी, तिम्रो हाँसीमजाक गरी बोल्ने बानी कहिले गएन ?” भन्दै हाँसिन् ।

भनेँ, “चिया खान जाऔं न ।”

“ओहो! सरले चिया पनि खान थाल्नुभएछ ? धेरै प्रगति रहेछ त,” भन्दै खिल्ली उडाइन् ।

“समयको माग हो मखमली,” हल्का मुस्कुराउँदै भनेँ, “भेट्दा पनि चिया गफ भएन भने भेटको मज्जा के ?”

मेरो मुस्कानलाई साथ दिइन् । कुममा हल्का ठक्कर दिँदै भनिन्, “गफाडी !”

हामी नजिकको चिया पसलमा गयौं । बस्दै गर्दा सोधेँ,

“के मगाऊँ त मखमली आज त ?  विदेश जाने परदेशीलाई !”

उनले भनिन्, “आज तपाईंको रोजाइमा ।”

“मेरो रोजाइ त कहिल्यै पूरा भएको छैन, बरु परदेशीको रोजाइमै रहोस्,” उनको आँखामा आँखा मिलाउँदै भनें ।

उनले २ कप दूध चिया अर्डर गरिन्, “तर, दिदी, कम्ती चिनी है ।”

मैले थपें, “दिदी, एउटा सूर्य चुरोट पनि ।”

“चुरोट ?” उनी अचम्म परिन्, “तिमी पनि खान्छौ ? छि:, काठमान्डु आएपछि बिग्रिएछौ ।”

सानी नानीले चिया ल्याएर राखिन् ।

“आवश्यकताअनुसार चिनी हाल्नुस् है,” भन्दै प्लेटमा चम्चा राखिदिइन् ।

मखमलीले आधा चम्चा चिनी हालिन्, चम्चा मलाई दिँदै भनिन्, “ल, बाहुनलाई त पक्कै गुलियो मन पर्ला, हालौं है ?”

उनको कुरा सुनेर मलाई जिस्कन मन लाग्यो, “तिमीले हालिदिए झन् मिठो हुन्थ्यो ।”

शायद ऊ पनि जिस्कने मूडमा थिइन्, “सक्दिनँ म कसैका छोरालाई खुवाउन ।”

“जाबो चिनी हाल्न पनि नसक्ने,” भन्दै हात बढाएँ ।

देब्रे हातले मेरो हात रोक्दै, दाहिने हातले चिनी हाल्दै भनिन्, “के सारो बोल्ने भयो है तिमी ?”

हाँस्ने र जिस्कने पालो अब मेरो थियो, “माया त अझै लाग्दो रहेछ त ।”

मुस्कुराउँदै भनिन्, “नलाग्ने भए भेट्न आउँथें र ?”

चिया गफसँगै पुराना सम्झनाहरू आइरहे, कहिले ओठमा हाँसो, कहिले आँखामा आँसु  ।

साँझ ढल्किसकेको रहेछ, मोबाइल हेर्दा साढे ६ बजिसकेको ।

“पशुपति आरतीको तयारी हुँदैछ, अब निस्कौं न?” मैले भनें । उनले पनि टाउको हल्लाएर सहमति जनाइन् ।

बिल तिरेर हामी बाहिर निस्कियौं ।

ओरालो झर्दै गर्दा उनले सोधिन्, “अब हामी कहिले भेट्ने ?”

“जापान जाने बेला एअरपोर्टमा बिदाइ गर्न आउँला नि ?”

उनले मुस्कुराउँदै सोधिन्, “जापान गइन भने त भेट्दैनौ ?”

“सबै कुरा अपवाद बन्नुपर्छ र ?” हाँस्दै जवाफ दिएँ ।

“निकै रात भैसक्यो,” केही मौनतापश्चात् उनी फेरि बोलिन्, “तिमी केमा जान्छौ ?”

“म यतै बस्छु, पशुपतितिरै,” भनी हल्का हाँसोको खित्का छोडेँ  ।

“म त बानेश्वर फुपूको घर जान्छु, भोलि बिहान घर जानु छ ।” मैन नसोधे पनि उनी आफैंले जवाफ दिइन् ।

मोबाइल निकाल्दै भनेँ, “म पठाऊ बोलाइदिन्छु जाऊ न ।”

“पर्दैन, म आफैँ जान्छु, मलाई अब ढिलो भयो,” मुस्कुराइन् र साथै छुट्टिने तयारी पनि गरिन् ।

जिस्क्याउँदै भनेँ, “छुट्टिनु हतार, अनि सहयोग नलिनुको अर्थ त जापानबाट केही ल्याइदिनुपर्छ भनेर होला । हामीले आश राखेका छैनौं भो,”

उनले मायालु स्वरमा हल्का बालापन झल्काउँदै भनिन्, “पागल !”

मनमनमा दोहोर्याएँ – “पागल !”

त्यत्तिकैमा १५० सीसीको पल्सर आइपुग्यो र  चालकले भन्यो, “सर, तपाईंले बोलाउनुभएको हो ?”

“हो, मेरी मखमलीलाई बानेश्वर पुर्‍याइदेऊ ।”

उनी बाइकमा चढिसकेपछि, हात हल्लाउँदै म कोठातिर लागेँ ।

क्रमशः…