बिस्नी – नमुकी दौँतरी, उसकी बालो उमेरकी साथी । हालै पखेरामा सोत्तर बटुल्नको लागि गएको बेला बिस्नी सल्लीपीरमा चिप्लिएर भिरबाट लडेर ठहरै मरिछे । यो दुखलाग्दो खबर अचानक आज सुन्दा नमुका आँखा रसाए, मुटु चस्कियो, दृष्टि धमिलो भयो ।

“कस्ती अभागिनी रहिछ बिचरी,कहिल्यै सुख र सन्तोष अनुभव गर्न पाइन । बिचरीको जिन्दगीको आखिरी घडी पनि कसलाका साथ नै बितेछ,” भन्ने कुरा नमुको मनमा हुन्डरी बनेर भुमरी पर्दै मडारिइरह्यो ।

भर्खरै त हो, राम्रो कमाइमा लागेकी नमुले पनि । अब अलिकता बिस्नीलाई प्रष्ट राहत अनुभव हुने मात्राको रकम सहयोग  गर्नुपर्ला भन्ने सोचाइ नमुको मनमा आइरहेको बेलामा हरे कस्तो

मुटु नै चिरिने खबर सुन्नुपर्‍यो ! नमुको मन बेसरी अत्तालियो, के गरूँ कसो गरूँ भयो ।

नमुको मनमा बीस वर्षअघिका घटनाहरू  टेलिभिजनको पर्दामा चलचित्रझैँ गरेर नाच्न थाले ।

० ० ० ०

बीस वर्षअघि तुम्कोटमा बिजुली बत्ती भित्रिएको भर्खर दुई तीन वर्ष भएको थियो । रात पर्‍यो कि चकमन्न हुने गाउँमा  राति अबेरसम्म मान्छेरू छिमेकमा जाने र फर्कने गर्न थालेका थिए । टिमटिमे टुकीको उज्यालोमा बानी बसिसकेका गाउँलेहरूलाई  कुनै रात साँझमा बिजुली जाँदा आँखाको रोशनी नै हराए जस्तो लाग्न थालेको थियो । क्यासेट प्लेयरमा थरीथरीका दोहोरी लोक गीतहरू चर्को स्वरमा गुन्जिन थालेका थिए ।

नमुका बुबा कपडा पसल चलाउँथे । उनको घरको छाँटकाँट  अरू गाउँलेको भन्दा बेग्लै थियो, चमकदार थियो, रवाफदार थियो । बिजुली आएपछि त्यस घरको रौनक अझ बढेको थियो । अरू कसैको घरमा नभएको टेलिभिजन पनि उनको घरमा भित्रिएर घन्किन थालेको थियो । साँझ पर्‍यो कि नमुका घरमा टेलिभिजन हेर्न आउनेहरूको घुइँचो लाग्थ्यो । दोहोरी गीत आउने दिन त टिभी राखेको मझेरीमा खुट्टा राख्ने ठाउँ समेत हुँदैनथ्यो ।

बिस्नी  एक वर्ष जेठी भए पनि दुवैले एउटै कक्षामा पढ्थे । यी दुई बीचमा असाध्यै राम्रो मेल थियो । दुवैजना सँगसँगै पाठशाला जान्थे र सँगसँगै फर्कन्थे । नमुलाई आमाले पोल्टामा राखिदिएको नास्ता दुवैले  बाँडिचुँडी खान्थे ।

धेरै जसो घर बाहुनहरूका थियो यस गाउँमा । उनीहरूको घरमा बिस्नीलाई तल्लो जाति भनेर छि:छि: दुरदुर गरिन्थ्यो । बिस्नीका बाआमाले तिनै बाहुनहरूका घरखेतमा बनिबुतो गरेर दुःखसँग गुजारा चलाउँथे । एक छाक मकै एक छाक भोकै जस्तो गरेर उनीहरूले निर्वाह चलाउनुपर्थ्यो ।

गाउँमा बिजुलीले ठूलो फेरबदल ल्याइदिए पनि बिस्नीको बुकुरोमा भने बिजुली छिर्न पाएको थिएन । अरू घरमा  बिजुली बत्ती झिलिमिली बल्दा पनि उसको घरमा टिमटिमे ढिब्री टिलपिलाउने गर्थ्यो । धेरै बेर बाल्न मट्टीतेल नपुग्ने भएको हुनाले ढिब्री पनि अति नै खाँचो परेको बेला मात्रै बाल्ने गरिन्थ्यो । बिजुलीको मिटर, तार, गुलुप, होल्डर, बटन जस्ता सामानहरू किनेर बिजुली जोड्ने बर्कत उनीहरूको थिएन । त्यसैले बिजुलीबत्ती उनीहरूको लागि आकाशको फल आँखा तरी  मर जस्तै भएको थियो ।

नमुले एक दिन आफ्ना बाबासँग सोधेकी थिई, “बाबा, बिस्नीको घरमा किन बिजुली बत्ती नबलेको ?”

उसका बाबाले ठट्यौली पारामा जवाफ दिएका थिए, “उसको घर धेरै चिसो छ क्या नानी, त्यसैले बिजुली नबलेको ।”

काँचा वा पानीले भिजेका दाउरा चुलोमा नबल्दा आमाले घाममा सुकाएको नमुले देखेकी थिई । त्यसैले बाबालाई भनेकी थिई, “बाबा, बिस्नीको ‘घर’ घाममा लगेर सुकाइदिनुस् न । चिसो घर सुकेपछि त बिजुली बलिहाल्ला नि ।

थप जवाफ दिइरहनु भन्दा “हुन्छ कुनै दिन सुकाउँला,” भनेर उनी पन्छिएका थिए । बिस्नीसँग भेट भएपछि नमुले भनेकी थिई, “तिमीहरूको घर  त चिसो भएर  बिजुली नबलेको रे । आफ्नो बाबालाई घर घाममा सुकाउन भन न तिमीले ।”

“तिमीहरूको घरमा जस्तै तार, गुलुप, मिटर नभईकन कसरी बल्छ र बिजुली ?” एक वर्ष मात्रै जेठी भए पनि अलि पाकोपन देखाउँदै बिस्नीले भनेकी थिई ।

“म हाम्रो बाबालाई सबै चीज किनिदिन भन्छु अनि तिम्रो घरमा पनि बिजुली बालम्ला है ।” भन्दै नमुले बिस्नीलाई आशा देखाएकी थिई ।

आफ्नो घरमा बिजुली बलेको सपना देख्दै घर पुगेपछि बिस्नीले आफ्नो बाबासँग भनेकी थिई, “नमुका बाबाले हाम्रो लागि तार, गुलुप किनिदिने रे, बाबा । हाम्रो घरमा पनि छिटै बिजुली बल्छ रे ।”

“त्यस्तो सपना नदेख्, नानी ! भन्ने मात्रै हो,कसैले किनिदिँदैनन् ।” बाबाले निराशा पोख्दै भनेका थिए । यो सुनेर बिस्नी निराश भएकी थिई ।

नमुकहाँ टिभी आएदेखि साँझबिहानै बिस्नीको बास त्यहीँ हुन थालेको थियो । भित्र पस्ने ढोका छेउको दलानमा बसेर आँखा झिमिक्क नपारी उसले टिभीको पर्दा हेर्ने गर्थी । पर्दामा रङ्गीचङ्गी लुगा पहिरेका मान्छेहरू फर्‍याकफुरुक गरेको, थरीथरीका जन्तुहरू कुदेको र  केटाकेटीहरू खेलेको हेर्न उसलाई असाध्यै मन पर्थ्यो । जाडोमा सिमेन्टीको चिसो दलानमा बसेर टिभी हेर्दै गरेकी बिस्नीलाई देखाउँदै नमुले आमासँग सोध्थी, “आमा, तपाईं मलाई त चिसो लागेर बिरामी परिन्छ भनेर दलानमा बस्न दिनुहुन्न । बिस्नीलाई त केही भन्नुहुन्न त ?”

“उसको जाडो त उसैको मनेले खाइदिन्छ नि । त्यसैले उसलाई चिसोले भेट्दैन ।” आमाले बहाना बनाउँदै भनेकी थिइन् ।

“मलाई पनि त्यस्तै जाडो खाने मने ल्याइदिनुस् है ।” नमुले लाडिँदै भनेकी थिई ।

“हुन्छ हुन्छ, भोलिपर्सि ल्याइदिउँला ।” भन्दै हाँसेर आमा भान्साघरतिर लागिथिन् ।

एकदिन आमाले भान्साबाट ताताताता मकैका फूल थालीमा राखेर  नमुलाई ल्याइदिएकी थिइन् । बिस्नीलाई भने हेलासी गरेर ठेट्ना मकै बौतामा राखिदिइथिन् । भोक लागेको बेला बिस्नीले ठेट्ना मकै भए पनि  कर्‍याम कर्‍याम चपाई ।

आमा भने भुतभुताउँदै थिइन्, “आमाबाउले थोरै काम गरिदिए पनि औंला भाँचीभाँची कसेर ज्याला हिसाब गर्छन् । तिनकी बानलाई भने मैले बिहान साँझै घँस्याउनुपर्ने । तातो न छारोसित अर्काको बाछो चाटी मुखमा रौँ हुने कुरा थाहा हुँदाहुँदै पनि पोस्नुपर्ने मैले ।”

तै बिस्नीको कानमा आमाले बोलेको रुखो कुरो परेन । नत्र बिचरीको अनुहार कति दयालाग्दो हुन्थ्यो होला !

बिस्नीको भागमा एउटै फुल पनि नदेखेपछि नमुलाई नमज्जा लाग्यो । आमासित सल्लाह माग्दै उसले भनी, “आमा , हामी दुवैजना सँगै बसेर मकै खान्छौं है ।”

“हुँदैन । उसले छोएको खायो भने तेरा झरेका दाँत पलाउँदैनन्, बुझिस् ?” आमाले उसलाई सावधान गराएकी थिइन् ।

“हजुरबाका दाँत कसले छोएको खाएर नपलाएका हुन् त, आमा ?” हजुरबाको थोते मुख सम्झँदै नमुले खुल्दुली पोखेकी थिई ।

“उहाँका दाँत पनि छोइएको खानाले त्यस्ता भएका हुन् ।” आमाले ढँटुवारे जवाफ दिएकी थिइन् ।

“हामीले छोएको खाँदा बिस्नीका दाँत पलाउँछन् कि पलाउँदैनन् नि ?” नमुले अर्को बालसुलभ प्रश्न राखेकी  थिइन् ।

“कुन्नि के गर्छन् ! तेरो बाबालाई सोध्, मलाई थाहा छैन ।” भनेर आमा तर्केकी थिइन् ।

नमुले र अरू केटाकेटीले जस्तै गरेर भित्रै मझेरीमा बसेर बिस्नीले टिभी हेर्न किन नभएको हो त्यो कुरा दुवै जनालाई थाहा थिएन । बाहुनहरूको सँघार नाघ्ने  हक बिस्नीलाई  थिएन । उस्तै हात, उस्तै खुट्टा, उस्तै आँखा, मुख र नाक भए पनि बिस्नीलाई किन भित्र पस्न नमिलेको हो भन्ने कुराको मर्म दुवै अबोध केटीहरूले बुझ्न सकेका थिएनन् ।

बिस्नीलाई कुनै डरलाग्दो सरुवा रोग लागेको पनि थिएन । देख्दा ऊ नराम्री घिनलाग्दी  पनि थिइने । न उसको बानी व्यहोरा नराम्रो थियो  । रगतको रङ पनि फरक थिएन । ऊ पनि मान्छेकै गर्भबाट जन्मिएकी थिई । तर पनि बिस्नीलाई अछुत किन ठानिन्छ भन्ने दुवै साथीको दिमागले बुझ्न सकेको थिएन ।

एकदिन टिभी हेर्दा अरूको टाउकाले टिभी छेलिएकोले बिस्नीलाई तन्किनुपर्‍यो । तन्किँदै गर्दा उसको दाहिने खुट्टो अनायासै सँघारभित्रै छिरेछ । आमाको चनाखो नजर भित्र छिरेको खुट्टामा परिहालेछ ।  उनी रिसले मुर्मुरिइन् । हजुरबाको तमाखु खाने नलीले सोठ्ठाउंदै आमा बमकिइन्, “जसको जौ खाने,उसैको जुँगा मुड्ने ? हामीले नै हरदिन खान दिने, टिभी हेर्न दिने, छोरीसँग खेल्न दिने । यसले भने हाम्रै घर बिटुलो पारिदिने ?”

बिस्नीमाथि रिस पोखेपछि आमाले गउँत, गङ्गागाजल, सुनपानी के के छर्केर घर चोख्याएकी थिइन् । घर त के बिटुलिएको थियो र, आफ्नै बिटुलो मन चोख्याएकी थिइन् ।

नलीको दुई चोट पाएर बिस्नीका पिँडौलामा निला सुम्ला उठेका थिए । ऊ डरले खुलेर रुन पनि सकिरहेकी थिइने । निसासिँदै सुँक्कसुँक्क गर्दै थिई, गला अवरुद्ध भएको थियो । नमुलाई साह्रै नमज्जा लाग्यो र ऊ पनि बाहिर आई । उसका  अनुहारमा करुणाका रेखा कोरिए । बिस्नीका गालाका ताता ताता आँसु पुछिदिँदै उसले रोइरहेकी आफ्नी प्यारी साथीलाई फुल्याउने कोशिश गर्दै भनेकी थिई, “नरोऊ, बिस्नी ! म ठूली भएपछि तार, गुलुप, टिभी जम्मै किनिदिन्छु । अनि तिम्रै घरमा बसेर हामी दुवैले टिभी हेरौंला, खेलौंला । तिम्रो घरभित्र अरू कोही पस्यो भने हामीले पनि यसरी नै नलीले हिर्काउँला, ल ।”

नमुको मायालु बोली र स्पर्शले बिस्नीको हिक्का झन् झन् बढेको थियो । मनभित्रको बेथा छलछली पखालुँला झैँ गरेर बलिन्धारा आँसु झरेका थिए । यो  देखेर नमुका आँखामा पनि आँसु छचल्किएका थिए । यी दुवै जनाको रुवाबासी  देखेर टिभी हेर्न बसेका सबैको मन कमल भयो । ‘यिनीहरूको माया कहिल्यै नछुटोस्, भगवान् !’ भनेर  एकदुई जनाले पुकारा पनि गरेका थिए ।

० ० ० ०

बितेको समयमा रङमङ्गिन पुगेको नमुको मन फेरि वर्तमानमै फिर्ता आयो । खोलानालाबाट धेरै पानी बगिसकेको छ, समय फेरिइसकेको छ । पहिलेको जस्तो बाहुनले  दलितलाई छि:छि: दुरदुर गर्ने हालत अहिले भने छैन । बिस्नीको घरमा टिभी नपुगे पनि बिजुली भने पुगिसकेको छ । नफेरिएको भनेको उही बिस्नीको गरीबी हो । अबको सुध्रिएको आफ्नो कमाइले बिस्नीको गरीबीलाई  फेरिदिने नमुको बलियो अठोट अधुरै रह्यो, कहिल्यै पूरा हुने भएन ।