लाउने लुगा हालेर पुट्ट भएको, काँधमा झुन्ड्याउने पुरानो झोलामा मिलाएर पट्याएको कम्बल, धुसा र बर्कोलाई दुवैपट्टि झारेर, झोलाको माझ भुँडीमा सुत्लीडोरीले रिङ्गै बाँधेर, फूर्बाले भारको बाँसमा झुन्ड्याएको लालटेन – अनि ढोका अलिकता बन्द गरेर त्यसको कुनाको छाता निकाल्यो र एक-दुइवटा भाँडाबटुका हालेर अघि नै तयार पारेको चोयाको टोक्रीसहित सबै समान यत्नपूर्वक बाहिर आँगनमा ल्याएर राख्यो । केही हरायो जस्तो, केही बिर्से जस्तो उसले शून्य नजरले, रुन्चे परेको अनुहार लिएर, ती समानहरू हेरिबस्यो ।
उसको मन त्यहाँ थिएन । मरिससकेको थियो ।
गाई चराउँदै आएकी पोक्ची-आमाले माथिल्लो गह्राबाट फूर्बालाई नै मायालु नजरले हेरिरहेकी थिई ।
घोरिंदा-घोरिंदै फूर्बा दगुर्दै घरभित्र पस्यो र एकछिनमा निस्केर सिकुवामा उभियो, त्यही रुन्चे अनुहार लिएर । लगत्तै ऊ फेरि घरभित्र पस्यो र निकै बेरमा मात्र निस्केर फेरि आँगनमा उभिन आइपुग्यो – उही शून्य नजर लिएर ।
“के भयो, फूर्बा ?” पोक्ची-आमाले माथिबाटै सोधी ।
फूर्बाले मास्तिर हेरेर भन्यो, “दिदी, मलाई त गोमतीले भित्रबाट बोला’को जस्तो लाग्यो ।”
ऊ रुनै आँटेको थियो ।
“थत्…! कस्तो खाल्को तिमी त ! केटकेटी जस्तो ।”
पोक्ची-आमाले भनी तर ऊ पनि फूर्बाको दुःखले कम मर्माहत भएकी थिइन, “मर्द भएर त मन पो बलियो राख्नुपर्छ ।”
“होइन दिदी, मलाई त बोलाकै जस्तो लाग्यो,” – फूर्बाले भन्यो । गाई धपाउने सिर्कनालाई हातमा अन्यमनस्क भावले खेलाइरहेकी थिई पोक्ची-आमा ।
“रोएर कराएर, गएको फर्कने होइन । बरु भगवानको ध्यान गर, गोमतीले बाटी पाओस् । अजम्मरी यो धरतीमा को छ र ? हामी सबै त मर्छौं । गोमती र तिमी मिलेर घर गरिखाएको देख्ता हामीलाई कत्रो खुशी लागेको थियो; मुजूरको जोडी जस्तो । दैवको खटनमा हाम्रो के लाग्छ र । गाउँ छाडेर के हुन्छ ? तिम्रो दुःख मनको मनैमा रहनेछ; गोमाको सम्झना तिमीलाइ आउनेनै छ । जहाँ गए पनि यो दुःख भुल्ने त होइनौ ।”
फूर्बा सुस्तरी हिंड्न लागेको थियो । हिंड्दै बिस्तारै भन्यो- मैले गाउँ छाडेको गोमतीलाई भुल्नु होइन, दिदी । मलाई त रुन मन मात्र लाग्छ । कहाँ हुन्छ, म त एक्लै रोइबस्छु ।”
पोक्ची-आमाले शायद सुनिन होली । उसले हेर्दा फूर्बा पर माने डाँडा जाने बाटोको आधा बीचमा पुगिसकेको थियो ।
* * * *
नाम्चीको रमाइलो बूटमार गाउँ तल-तलसम्म फिंजिएको छ औ गाउँको बीचको अग्लो थुम्कीमा एउटा रमाइलो हावा-घर छ । डाँडालाई गाउँलेहरू “माने डाँडा” पनि भन्छन् कारण त्यहाँ माथि थुप्रै मानेहरू छन् । फूर्बा त्यही माने डाँडा पुग्यो र हावा घरको चिसो भूइँमा थचक्क बसेर एकोहोरिएर उसकै अघि उभिरहेका धेरै मानेहरूलाई हेर्न लाग्यो । यी मानेहरू पनि आफूलाई धेरै माया लागेका आफन्ताहरू मर्दा गाउँलेहरूले बनाएका हुन् । धेरै-धेरै माया गर्नेहरूले छाडेर जानेहरूको सम्झना गर्दै रुनलाई यी मानेहरू बनाएका होलान्, छाडेर जानेले पनि बाँच्दाको जत्तिनै माया गर्छ होला – (फूर्बाले अड्कल लायो) । जीउ खरानी भए पनि आत्मा त मर्दैन नि । उसो भए गोमतीले पनि फूलाई धेरै माया अझ गर्दै होली…!
गोमतीको माने बनाउने ठाउँ हिजोनै फूर्बाले, आफ्नै पारामा, ओगटी सकेको थियो । उसैले त्यो ठाउँमा दुई-दुई हात जतिको फरक गरेर चार सुरमा काठ गाडेर काँचो धागोले तीन फन्को बाँधेको थियो औ माझमा एउटा ढुङ्गा ठड्याएको थियो । अहिले फूर्बाले ती काठहरू राम्ररी दबाउँदै गोमतीलाई भन्यो- “गोमती… तिमीले भने जस्तो तिम्रो माने बनाइदिन्छु । तिमीले त्यो त्यस्तो बोल्न नहुने… एक्लो भएँ फेरि । टुहुरो त थिएँ नै… तिम्रो माने यहीं नै बनाइदिनेछु…।”
हावा-घरको सिलिङ्गमा कलाकारले सुन्दर ढङ्गमा, बुद्धदेवले विभिन्न स्थानमा, धर्म प्रचार गरिरहेका चित्रहरू बनाएका थिए । माने र हावाघरको छेवैबाट कहीं एउटा कहीं दुइटा टेकोले अड्याएर कप्टेरो बाँसको नाली अलिक मुन्तिर मोक्तान्नी बज्यूको घरसम्म लगेको थियो औ त्यो नालीमा सधैं चिसो र चम्किलो पानी बगिबस्थ्यो । हावा-घरको छेवैमा पानीको नालामाथि अर्को एक हात जत्ति लामो बाँसको नाली तेर्सिएको थियो । तिर्खाएकाले मीठो तिर्खा मेटोस् भनीकन मोक्तान्नी बज्यूले यो छोटो नाली राखिदिएकी हो । जसले पनि पानी पिउन मनपरे यो छोटो नाली लगाएर आफूतिर पानीका धारा फर्काउन सख्थे ।
फूर्बालाई यो नालीले दुई महिना अघिको एक दिनको सम्झना गरायो…
त्यसदिन फूर्बा र गोमती दुवैजना गोमतीको माइत गएका थिए । ससुराले भान्सा गरेर मात्र फर्कनु भनेकाले फर्कंदा झमक्क साँझ परिहालेको थियो । उकालोमा असिन् र पसिन् हुँदै आएर हावा-घरमा बिसाएका थिए दुवैले । त्यो रात पूर्णेको टकटकी उज्यालो जून लागेको थियो । धेरै बेर थकाइ मारेपछि गोमतीले, जुनेली रात देखी विरह मानेर होली, सोधेकी थिई, “म मरें भने यस्तै माने बनाइदिन्छौ ?”
माने औंल्याउन उठेको गोमतीको हातलाई समातेर आफ्नो घुँडामा राख्तै फूर्बाले भनेको थियो, “धत् कस्तो हो ! त्यस्तो पनि बोल्नुहुन्छ ?”
गोमती मुसुमुसु हाँसेकी थिई । फूर्बाले त्यो नरम हात खेलाउँदै धेरै बेरपछि सोधेको थियो, “एउटा कुरा सोध्छु, गोमा, भन्ने ?”
“सोध न ।”
“होइन, भन्ने ?”
“सोध, भन्छु ।”
बिस्तारै “अब कति महिना छ, हँ ?” भनेर फूर्बाले सोद्धा गोमतीले हाँस्तै, लाजले घोप्टो परेर, भनेकी थिई, “छिई कस्तो हो तिमी त ! म त के पो सोध्छ होला भनेको त…।”
हर्षले गद्गद् भएर निहुरिएर अझै हाँसिरहेकी गोमतीको नरम-नरम केशको बी-बीचबाट, फूर्बाले पारी पाखामा हेरेको थियो । ढकमक्क फुलेको सयपत्री फूलका थुङ्गाहरू छप्-छप् राखेको जस्तो त्यो पाखैभरि दार्जीलिङको बिजुली बत्ती बलिरहेको थियो । रोङ गाउँको जुरो जस्तो उठेर खोलातिर झरेको डाँडाले मात्र दार्जीलिङको भोटेबस्तीको अलिकता भागलाई छोपेको थियो । फूर्बाले गोमतीलाई हेर्दा, ऊ पनि आले डाँडातिर ध्यानमग्न भएर हेरिरहेकी, देखेको थियो । जून टहटह लागेकोले आले डाँडाका धजाहरू पनि सेतै सहजै देखिन्थे । त्यो डाँडाबाट विस्तारै ओह्रालिएर झरेको नाम्चीको रमाइलो पाखा तल कोप्चे गाउँ पुगेर मिसिएको थियो । माथि डाकबंगलाको खुला झ्यालबाट भित्र बत्तीको उज्यालो देखिन्थ्यो । शायद कोही परदेशीले बास लिएछ- फूले अडकल लगायो ।
फूर्बाले अझै घुँडामा राखेर सुम्सुम्याइरहेको हात गोमतीले तान्न खोज्दा फूले अड्को थापेको थियो-
“पहिले भन अन्त मात्र ।”
“के ?”
“मैले सोधेको ।”
अनि गोमाले मुख खोले हाँस्नु पर्ला भन्ने डरले, फूर्बाले न्यानो बनाइदिएको आफ्नो हात तानेर, त्यही हातका दुइटा औंला देखाइदिई ।
फूर्बाले आँखा ठूला-ठूला पार्दै “दुई महीना !” भनेर अचम्भ मान्दा हाँसो थाम्न नसकेर च्याप्प पारेको दुवै ओंठ अलिअलि कमाउँदै शिर ऊँभो-ऊँधो हल्लाउँदै, गोमतीले मुखभित्रै भनेकी थिई “उम्” ।
धेरै बेर हावाघरमा बसेपछि गोमतीले भनी, “तिर्खा लाग्यो ।” अनि उठेर नालातिर जाँदा फूर्बाले, उठेर त्यतै जाँदै, भन्यो, “अस्तिको जस्तो मोक्तान्नी बज्यू ठाडै छोपेर आउली नि ।”
“कहिले अस्ति ?” नालाको छेवमा पुगेर गोमतीले सोधी ।
“अस्तिनै नि, क्या हो त । हाम्रो बिहा भएको नै थिएन नि त्यस बेला ।” “ए…हो त साँच्ची ।”
बल्ल पो गोमतीलाई याद भयो । अँ त्यस बेला तिनीहरूको बिहे भएको थिएन, तर प्रत्येक साँझ हावा-घरमा दुईको भेट हुन्थ्यो । भेट्न नसकेको दिन दुवैलाई रात काट्नु युग बिताउनु पर्थ्यो । हावा-घरमा साँझपछि भेटेर कुरा गरिरहँदा ऊँधो उँभो हिँड्नेहरूले तिनीहरूलाई जिस्क्याउँथे । गाउँहरूले पनि केही भन्दैनथे । सबैले फूर्बा र गोमतीको जोडी मन पराएका थिए । उमेर मिलेको, जात मिलेको । त्यसमाथि फूर्बा जस्तो परिश्रमी । दोंग बाजेले पनि छोरीलाई फूर्वासँग भेटघाट गर्नमा रोकटोक् लाउँदैनथे ।
एकदिन, सधैं हावा-घरमा बात गरिबस्ता गोमतीले फूर्बालाई – “तिर्खा लाग्यो, पानी खान्छु,” भनेकी थिई ।
फूर्बाले अघिअघि गएर बाँसको सानो चाहिं नाली तेर्स्याएर धारा छुट्याइदिएको थियो । गोमतीले, अलिक निहुरिएर, सानोसानो हातको अँजुली बनाएर तिर्खा मेटुञ्ज्याल त्यो शीतल र मीठो पानी पिइसकेको मात्र थिई तलबाट मोक्तान्नी बज्यूले नचिनेको जस्तो गरेर चिच्याएकी सकेकी थिई, “हन… को हो हौ… ? यस्तो चिसो साँझतिर पनि केको तिर्खा लागेको ! भाँडा त थाप्नु मत्तै पर्यो, पानी ट्याप्पै सुकिहाल्यो ।”
लगत्तै फेरि मोक्तान बाजे भित्रबाट निस्केर स्वास्नीलाई, “को ? के भयो ?” भनेर सोद्धा मोक्तान्नी बज्यूले, फूर्बा र गोमतीले नसुन्ने गरी, जवाफ दिई । बूढो “ए…ल ल” भन्दै, हाँस्तै भित्र पस्ता पो गोमतीले लाजले, आफ्नो शिर फूर्बाको फाँटिलो छातीमा लुकाएकी थिई ।
यसरी कति क्षण बित्ने थिए होला तर, मोक्तान्नी बज्यूको – “हन तिर्खा मेटिसकेन कि क्या हो !… कि नालाको सप्पै पानी तुर्ने हो हँ ?” भनेको चर्को स्वर सुन्दा मात्र फूर्बाले हतार-हतार पानी नालातिर लगाइदिएको थियो । नालाबाट फेरि पानी सलल बगेर गयो अनि कत्ति अघिदेखि पर्खिरहेको भाँडामा धारा तररर शब्द गरेर खसेपछि मोक्तान्नी बज्यू – “सकिएन आचकलका दोस्ती दोस्तिनी- हरूसित पनि” भनेर हाँस्तै घरभित्र पसेकी थिई ।
* * * *
बितेको दिनको सम्झनाले कति बेलादेखि रोइरहेको फूर्बालाई आफैलाई थाह भएन । हावाघरको चिसो भूइँमा ऊ त्यसै टोलाएर बसिरह्यो ।
सर्र-सर्र बतास चलिरहेको थियो । मानेहरू आफ्नै निस्तब्धतामा सुखी थिए । हावाघरको सिलिङ्गका चित्रहरू सबै मौन थिए । शून्य, चारैतिर शून्य । फूर्बाको लागि सपना जस्तो- समाउने, टेक्ने, भरपर्ने केही नभएको । मौनता, निराकार, निराधार । शब्द थियो त खालि मोक्तान्नी बज्यूको आँगनमा सधैं भर्ने बाँसको नालाको पानीको एकनास तर्तर् ध्वनि ।
“गोमा !” फूर्बाले उठ्तै भन्यो, “म पनि तिम्रा माने बनाइदिनेछु । गान्तोक- तिर गएर पैसा कमाएर ल्याउँछु । यो बूमटारमा मलाई बाँच्नु कठिन पर्यो; म टुहुरो त थिएँ नै, तर तिमीले पनि छाडेर जाँदा अझ टुहुरो भएँ । तिमी यहीं बस- जबसम्म यो नालामा पानी बगेको सुन्छौ, जब जब मोक्तान्नी बज्यूको स्वर सुन्छौ, तब तब म तिम्रो धेरै नजिकमा छु भन्ने सम्भिदेऊ…”
एकैछिन पछिनै, देब्रे कुममा झोला र त्यही हातले टोक्री झुन्ड्याएको र अर्को हातको काखीमा छाता चेपेको र हातमा लालटेन झुन्ड्याएको फूर्बा बूमटार गाउँको शिरमा पुगिसकेको थियो । टाढो भएर होला चिन्नै नसकिने – फूर्बा हो कि होइन जस्तो ।
(‘भारतीय नेपाली कथा’बाट)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ कार्तिक २०८२, मंगलवार 










