
युद्ध र भोकले मान्छेलाई धपाउँछ । तर शान्तिसुरक्षा हुँदाहुँदै र अवसरका प्रशस्तै मार्गहरू छँदाछँदै पनि किन मान्छे कहिलेकाहीं शहरबाट अचानक बहिर्गमन हुन चाहन्छ ?
आजकाल हावाको झोक्काहरूमा अक्सिजन बहँदैनन् क्यारे ! जसरी बाग्मतीमा पानी बग्न छोडेको छ । लाग्छ मेरो नशाहरूमा रगत अक्सिजनको सट्टा कार्बन मलकुल बोकेर सञ्चार भइराखेको छ । मेरो फोक्सोको पत्रहरूमा कतै नाइट्रोक्सका अणु-परमाणुहरू टाँसिएका त छैनन् ? यति खसखस हुन्छ कि घाँटी एक माना धुलोका कणहरूले ढपक्कै छोपेको छ जस्तै गरेर ।
रातमा बेलाबेलाको खोकीले निद्राबाट ब्यूउँझिरहन्छु । डिस्टर्ब भएर आजकाल ऊ पनि छुट्टै सुत्न थालेको छ । अनि त बिस्तारै हाम्रा रङ्गिन रातहरू रङ्गहीन बन्न थालेका छन् । एक हप्ता भयो काममा जान सकेको छैन । धेरै पल्ट भइसक्यो सिक लिभमा बसेको । दिक्क लागेर आउँछ घरीघरी, सालमा चार-पाँचपल्ट अस्वस्थ्य जीवनको कैदी बनेर बस्नुपर्दा ।
रोगको पहिचान भइसकेको छ । डक्टरले अस्थमा हो भनिसकेका छन् । रोग निको होला भन्दा झनै च्यापेको जस्तो देख्छु । वायुमण्डललाई प्रदूषणका रोगले सताएपछि त्यही वायुमण्डल ओढेर जिउन खोज्ने हामी प्राणीलाई पनि रोगले थल्लाइहाल्छ नि । किन हो ? एक मुट्ठी श्वास फेर्न पनि, बाग्मतीको पानी अँजुलीमा उघाएर पिउनुभन्दा अगाडि सोचे जस्तै, सोच्नुपर्ने भयो ।
मलाई थाहा छ मेरो रोगको उपचार कुनै दबाइले गर्दैन । डक्टरले दिएको पफ सुँघ्दा खोकीलाई एकै छिन मत्थर पार्ने मात्रै हो । यसले स्थायी रूपमा निको पार्ने आशा गरेकी छैन । यसको दीर्घकालीन समाधान के होला ? मैले पत्ता लगाएरै छोड्नुपर्छ ।
जसरी एक अल्कोहोलिक पतिले पत्नीलाई शारीरिक यातना दिंदा सुखपूर्ण जीवन यापनको लागि डिभोर्सको विकल्प रहन्न त्यस्तै यो शहरले मलाई शारीरिक सास्ती दिइरहन्छ भने यससँग सधैंका लागि नाता तोड्नु बाहेक अरू उपाय म केही देख्दिनँ ।
तर म कसरी छोडूँ मेरा हृदयको टुक्राहरूलाई एक्लो बनाएर ! म बिर्सन सकुँला यो वातावरण अमैत्री शहर । तर म कसरी टाढिन सकुँला र मेरा मुटुका दुई टुकडा रोहितको ड्याडी र रोहितबाट ।
यो देश यति सुन्दर हुँदाहुँदै पनि यो शहरको फोहोरमैला र प्रदूषित हावाको कारणले मेरा धेरै सहकर्मी आ-आफ्ना देश फर्किसके । एनजिओद्वारा विकास कार्य गरेर धानिएको देशमा यसरी धमाधम प्रदूषणका कारण देखाई तिनीहरू फर्किने भेल उर्लेको देख्दा म चिन्तित बनेको छु । अझ यो शहर र देश चिन्तित बन्नुपर्ने । म कसरी रोक्नसक्छु र यो भेललाई, म स्वयम तिनीहरूको जस्तै मनस्थिति बनाइरहेको बेला ।
रोहितलाई पनि अस्थमा रोगको पहिचान भएको छ । बिचरा त्यो बालकलाई ! बाटोमा हिंडेर स्कूल जानआउन स्वास्थ्यकर छैन, गाडीको धुँवा र धुलोले । मास्कको कामै छैन । बालकहरू मास्क लगाउन पनि मान्दैनन् । हामी वयस्कलाई त अप्ठ्यारो लाग्छ । बिहान लगाएर स्कूल गएको युनिफर्मले बेलुका आधा किलो धुलो सँगालेर घर फर्केको हुन्छ । लुगालाई धोइराख्ने प्रशस्तै पानी पनि खेलाउन पाइने होइन !
यता कतै बालबालिका खेल्ने पार्क छैन । गत वर्षसम्म घरको छेउमा खाली रोपनी जग्गा थियो । स्कूबाट आएर इभनिङ र विकेन्डमा खेल्ने खुल्ला चौर । त्यही जग्गामा अहिले घर निर्माण गर्न थालिसकेपछि केटाकेटीको मनोरञ्जनको स्थान मेटिएको छ ।
रोहितको ड्याडीसँग पहिलोपल्ट यो शहरमा वोर्लदाँ खूबै सुन्दर लागेको थियो । उतिबेला वारिपारिका हरिया डाँडा र उत्तरको सेता हिमाल प्रायः छर्लङ्गै देखिन्थ्यो । कुनैकुनै दिन मात्रै तुवाँलो वा बादलभित्र लुक्थे । साँझ बिहान बहकिने हावा ताजा लाग्थ्यो ।
अहिले हप्ताभरी यी पर्वतको दर्शन गर्न मुश्किल पर्छ । आजकाल राती आकाशबाट ताराहरू पनि हराइसके । तिनीहरूलाई देख्न एक गतिलो मनसुनी वर्षा कुर्नुपर्छ । या त हुरीबतास आएर कुचोले घुर बढारे जस्तै यस शहरमाथिको प्रदूषित वायुमण्डललाई बढारेर लगिदिनु पर्छ । अनि मात्रै देख्न पाइन्छ खुल्ला आकाश ।
तर यो सुन्दर प्राकृतिक पेन्टिङमा किन हामीले धुँवाधुलो र तुवाँलोका प्रदूषित रङहरू छ्यापेर कुरूप पार्दै छौं, हँ ?
धुम्म लागेको तुवाँलोले जहिले पनि उपत्यका ढाकेको देख्दा, घरभित्र होस् या बाहिर, मलाई निसास्सिएको महसूस हुन्छ । रेडियोमा वायु प्रदूषणको मात्रा प्रसारण गरिएको सुन्दा सुर्ताउँछु कतै सबै म जस्तै अस्थमाको रोगी बनेर मर्छन् कि भनेर । हिजआज यस शहरको वायुमण्डलमा पिएम २/५ को मात्रा तीस-पैंतिस माइक्रोग्रामा हुनु साधारण जस्तै भएको छ । मानिसहरू भने यो हिंड्ने टोक्सिसिटी प्रति त्यति चाँसो देखाएको पाइँदैन । तर यसले लुकीलुकी नानी, केटाकेटी, बुढापाका, र गर्भवती महिलालाई निक्कै असर पारेको हुनसक्छ । शायद मेरो प्रेग्नेन्सीको अवधिमा, जति बेला मेरो प्रतिरोगात्मक शक्ति क्षीण हुन्छन्, यस्ता विषालु धुलाका कणले मलाई समाएको हुनुपर्छ । जसको प्रतिफल रोहित जन्मेको तीन महिना पछि पहिलोपल्ट म अस्थमाको शिकार भैसकेकी थिएँ ।
एक दिन हामी बागमती सरसफाइ अभियानमा कुपोनडोल पुग्यौं । त्यो दिन क्या सर्प्राइज परेकी थिएँ । मलाई विश्वास नै लागेन । सोचेकी थिइनँ, मेरो टोयलेट र किचनमा उत्पन्न फोहोरपानी ढल-सञ्जालद्वारा प्रशोधन केन्द्रमा जान्छ । अनि प्रशोधित भएर मात्रै बागमतीमा मिसाइन्छ । तर त्यसो रहेनछ ।
त्यही दिन हो प्रथमपल्ट बागमतीलाई नजिकबाट छुने, सुँघ्ने, बोल्ने र देख्ने मौका मिलेको । यो भन्दा अघि पुलमाथि बसमा सफर गर्दा झ्यालबाट चियाएर हात हल्लाउँदै हेल्लो मात्रै गर्थें । झ्याल खोल्दा सुत्केरी महिला जस्तै ठुस्स गनाउँथी ।
सैनिक र प्रहरी जवान, स्कूले विद्यार्थी, क्लब र संघसंस्थाका सयौं मानिस मानव साङ्लो बनाएर बागमतीको गर्भबाट टनका टन मैला तानेर पाखामा निकाले । अन्य भोलान्टियर लगायत हामी किनारै किनार फोहोर टिप्दै तलतिर झर्यौं । हाम्रो किनारमा अधा मिटर जति व्यास भएको एक नालाले फोहरपानी छ्वाङछ्वाङ बागमतीमा खसाल्दै थियो प्लास्टिक, टिशुपेपर, प्याड, कन्डम वर्षाउँदै, हावामा दुर्गन्ध उत्सर्जित पार्दै । मेरा आँखाले विश्वास गर्नै सकेन त्यो ताण्डव दृश्य । अझै तल झर्यौं ।
रोहित छोराले खोलापारी देखाएर भन्यो, “हेर्नुस् त, पारि किनारमा पनि ठूलो नालाबाट फोहर पानी नदीमा मिसिंदै छ ।”
रोहितको ड्याडीले मुखको मास्क मिलाउँदै भने, “कहाँ हुनु नाला ? त्यो त इच्छु नदी पो त । माथि बुढानीलकण्ठको भेगबाट यसको जीवन शुरूवात हुन्छ र यहाँ आएर अन्त्य । तर विषालु ढलको मिसावटले बालुवाटार, बागबजार, थापाथली तिरै यसको मृत्यु भइसकेको हुन्छ ।”
पारि किनारमा दश तल्ले हाउजिङ स्टेट देखिन्थ्यो । तिनै गगनचुम्बी भवनको तल लहरै बसालिएका छाप्रा पनि । बहत्तर सालको भुँइचालोले विस्थापित सुकुम्बासीद्वारा ती छाप्राहरू निर्माण गरिएका हुन् भन्ने मैले अड्कल काटें ।
तिनै संरचनाको कोखबाट पनि एक बडेमानको ढल नदीतिर तेर्सिएको थियो । युद्धभूमिको एक गढीबाट तोपका नाल दुश्मनको सम्भावित आगमनको दिशातिर तेर्सिए जस्तै । ती ढलहरूले दिनरात बागमतीलाई गन्धे पानीका फोहरारूपी तोपहरूले बम्बार्डमेन्ट गाह्रो रहेको भान हुन्थ्यो ।
ती विषालु तोपहरू बागमतीको कोमल छातीमा पड्किंदा नाइट्रेट, अमोनिया, फोस्फेट जस्ता केमिकलको उच्च तरङ्ग पैदा भएको कसको आँखाले देखोस् !
अनि अक्सिजनमा गिरावट, घातक इकोलाई जस्ता ब्याक्टेरियामा वृद्धि, ठोस फोहरमैलाको बिकबिकीले बिचरा बागमतीको घाँटी निमोठिरहेको वेदना कसले बुझोस् !
त्यो नदीलाई आफ्नो वासस्थान रोजेर हजारौं हजार वर्षदेखि बस्दै आएका माछा, भ्यागुता जस्ता जलचरहरू र अन्य जलवनस्पतिको कारुणिक मृत्युप्रति कसलाई होला सहानुभूतिका पुष्प अर्पण गर्ने फुर्सद !
बागमतीको त्यो लाश देखेर, त्यो दिन, आफूलाई एक मलामी बनेर आए जस्तै लाग्यो । र जलाइदिन मन थियो बागमतीको लाशलाई, त्यही किनारमा सुकिसकेको इकोसिस्टमको दाउरालाई जलवायु परिवर्तनको लाइटरले सल्काएर । अनि आखिरमा सेलाइदिने मन थियो खरानीलाई भित्र बागमतीमै ।
सुनेकी थिएँ, बाग्मती पशुपतिनाथ मन्दिर भएर बग्छ । मानिसका लाशलाई पोलेपछि नदीमै बगाइन्छ प्रदूषित नदीलाई अझै प्रदूषित पार्दै । घाउमा नून छर्किने काम हुन्छ । अनि स्वर्ग गइन्छ भन्ने विश्वासले तीर्थालु त्यहीं डुबुल्की मार्छन् र जल पिउँछन् । “यस्तो संस्कार हानिकारक भएन र ?” भनेर मैले रोहितको ड्याडीलाई जिज्ञासा राख्ने प्रयत्न गरेकी थिएँ ।
“यो हिन्दू धर्मको संस्कार हो प्रिय ! तिम्रो क्रिश्च्यानिटी जस्तो होइन । भो त्यसप्रति त्यति चिन्ता नलेऊ । बरु तिम्रो आफ्नै स्वास्थ्यको ख्याल राख ।” भन्ने उसको सङ्केत थियो ।
मेरा आँखाले लजाई लजाई बागमतीमा स्वच्छ पानी होइन विषालु लेदो बग्दै गरेको दृश्य देख्दै थिएँ । त्यसरी नै मास्कको अनचाह घुम्टो ओढेको मेरो चुच्चो नाकले मरेको सिनोको गन्ध सुँघ्न बाध्य थियो ।
“तिम्रो मास्कले राम्रै काम गरेको छ ? नत्र फेरि तिमीलाई अस्थमाले समाउला !” उसको सद्भावपूर्ण वाणी मलाई प्यारो लागेको थियो ।
ठीकै छु भन्ने टाउकोले सङ्केत गर्दै उसको नजिकै टाँसिन पुगेछु ।
भुइँका फोहोरमैला बोरामा कोचार्दै धेरै तल आइपुगेका रहेछौं ।
माथि फर्किने क्रममा त्यो नदीको स्मरण आयो जसको तीरमा मेरो सुखमय बाल्यकाल बितेको थियो । त्यो पनि बागमती जस्तै शहर भएर बग्थ्यो । तर मैले त्यसलाई बागमती जस्तो हेलित कहिल्यै देखिनँ । निर्जीव कहिल्यै अनुभव गरिनँ । के वर्षा के हिउँद उसको बहाव जहिले पनि निर्मल रहन्थ्यो एक अधबैंसे युवती झैं । हामी कलेजमा पढ्दा उक्त नदीको उपल्लो जलधरमा इकोलोजिकल सर्भे गरेका थियौं । पानीको स्वच्छन्दता वैज्ञानिक मापदण्डभित्रै भएको पाइएको थियो । ट्राउट माछा र हाँसहरू पौडी खेलिरहेका हुन्थे । फिशरमन बल्छी खेल्थे । पर्यटक कनुइङ गर्थे । नदीकिनार पैदलमार्ग भएर हामी दिनभर हिंडथ्यौं । हरिया पिकनिक स्पटमा बसेर पिकनिक खान्थ्यौं । कोसौंकोस साइक्लिङ गर्थ्यौं ।
चाह्यो भने यो शहरबासीले बागमतीलाई पनि त्यो नदी जस्तै बनाउन सक्दैनन् र ?
हामी माथि लाग्दैगर्दा ऊसँग यो मेरो स्यानोको मीठो सम्झना शेयर गरेकी थिएँ । पर्यावरणीय संरक्षण र यसको स्तरोन्नतिको महत्व खासै नबुझ्ने अन्य औसत नेपालीहरूसरह उसको पनि मेरो कुरामा त्यति ध्यान जान सकेन ।
‘ए हो र !’ भनेर मात्रै टारिदियो ।
एक महिला र नदीको प्रकृति उस्तैउस्तै हुन्छ । दुवै कोमल अनि जोखिमपूर्ण । प्रदूषित हावाले मेरो नारी शरीर कमजोर भएकै कारणले मलाई अस्थमाको रोगी बनाएको हो । बिचरा बागमती पनि म जस्तै रोगग्रसित छे । सागरतिर बग्न उन्मुख उसको घाँटीमै समातेर निमोठिंदै छ । मलाई अस्थमाले थला पारेको छ त उसलाई ढलले । चाहे भने म यो ठाउँ छोडेर भाग्नसक्छु र जोगाउन सक्छु आफ्नो ज्यान । तर बागमतीले म जस्तो गर्न सक्दिनँ ।
म जस्तो पीडाबाट मुक्त हुन कि त आफ्नो मुहानलाई थुनेर बग्नै छोडिदिन पर्छ, कि त धार परिवर्तन गरी अन्तैबाट बग्नुपर्छ ।
जसरी नारी आमा भएर जिउनु उनको धर्म हो त्यसरी नै बागमती एक नदी भएर बग्नु उसको धर्म हो । तर विडम्बना ! उसलाई मानवसिर्जित पीडाहरूको पहाड बोकेर बस्नु बाहेक अरू के नै विकल्प छ र !
वातावरणको अवस्था यस्तो नाजुक भएपछि मेट्रोपोलिटन सिटीमा बस्छु भनेर के गौरव गर्नु आफूलाई । यस मेट्रोपोलिटन सिटिमा न ढल सन्जाल छ न प्रशोधन केन्द्र नै । न व्यवस्थित फोहर व्यवस्थापन न गतिलो ल्यान्डफिल साइट नै ।
एक्काइसौं शताब्दीमा यो शहर कसरी एक राष्ट्रको राजधानी हुनसक्छ ?
न त यस शहरमा सयर गर्ने हरिया पार्क छन् न कतै फूलका बगान ।
छन् त बस सडकलाई अतिक्रमण गरेर बनाएका कङ्क्रिटका मुर्दा घरहरू । सिगरेटका ठुटा र प्लास्टिक फोहोरले ढाकिएका, उद्रिएका पेटीहरू र धुलाम्य सडकहरू । कान फुट्नेगरी हर्न बजाउँदै दौडिरहेका थोत्रा गाडीहरू । फोहोर थुप्रिएका र माखा भन्किएका गल्ली र चोकहरू । अनि यस्ता समस्याप्रति जुध्दै हस्याङफस्याङ कुद्दै गरेका म जस्ता हजारौं रोगी शहरवासीहरू ।
बस ! यिनै थिए मेरा गुनासाहरू तिम्रो शहरप्रति ।
यस्तो दुखित तन र दुखित मन बोकेर म यस शहरमा कति बसूँ ?
फर्केर अघि जम्मा भएको स्थान आयौं । जम्मा गरेको मैलाको झोला एक खुल्ला ट्रकमा लोड गर्यौं । यसलाई कहाँ लगेर डम्प गरिन्छ थाहा भएन । तर एउटा घरको आँगन बढार्दा अर्काको आँगनमा घुर जम्मा नहोस् ।
सरसफाइ कार्यक्रम समापन गर्दै एकजनाले भीडलाई सम्बोधन गर्दै थिए, “यो बागमती सरसफाइको पचासौं हप्ता हो । सहभागिताको लागि सबैलाई धन्यवाद ! यो परियोजना हाम्रा मुख्य सचिवको नेतृत्वमा द्रुत गतिमा अगाडि बढ्दै छ । हामीले आजसम्म आइपुग्दा हजारौं टन मैला बागमतीबाट उठाउन सफल भएका छौं । तपाईंहरू घर फर्केर फोहरमैला जता पाई त्यतै नफाल्नु होला र आफ्ना टोलवासीलाई पनि भन्नु होला । आउने दिनहरूमा हामी हजुरहरूको यस्तै सहभागिताको निरन्तरताको अपेक्षा राख्दछौं ।”
यस अभियानले चेतनामूलक सन्देश अवश्य दिएकै छ । तर समस्याको दीर्घकालीन समाधान भने यसले दिन नसक्ने मलाई लाग्यो र मैले रोहितको ड्याडीलाई सुनाएँ, “जनतालाई फोहर नफाल्नु मात्रै भनेर हुन्छ र ? फोहोरमैलाको उचित व्यवस्थापन र संरचना निर्माण गर्ने सरकारको दायित्व हो । के अब म घर गएर, मेरो टोइलेट र किचनको फोहोरपानी बागमतीमा बग्छ भनेर, टोइलेट किचन प्रयोग नगर्ने ! सरकारले फोहरमैला न गर भनेर जनतालाई भन्नु भन्दा पनि ढल सञ्जाल निर्माण गरेर घरमा सिर्जित फोहोरपानी ढलमा जोडेर प्रशोधन गर्ने प्रविधिको निर्माण गर्नतिर लाग्नुपर्छ ! किन यसलाई खाने पानी, बिजुली, बाटोघाटो जस्तो एक आधारभूत आवश्यकताको रूपमा लिएर प्राथमिकता नदिएको होला !”
किन हो कुन्नि ? नेपालीको मेन्टालिटी म बुझ्न सक्दिनँ । म र मेरो सोचको लागि यो वासस्थान पटक्कै अनुकूल नभएको मैले महसूस गर्दै आइरहेको छु । मेरा छोराछोरीको भविष्यको लागि पनि यहाँको वातावरण सुगम छैन । अब म मेरो सोचाइसँग मेल खानेको संसारमा फर्कनुपर्छ । म यस धर्तीमा लामो बाँचेर अरूको भलो हुने केही गर्नु छ भने मैले यो प्रदूषित भूभागलाई तुरुन्तै बाइबाइ गरिहाल्नुपर्छ । अलिकति स्वार्थी भइएन भने यो संसारमा काम छैन । यसर्थ अब म मेरो जीवनको सबैभन्दा कठोर निर्णय लिनैपर्छ ।
यति निष्कर्षमा पुग्ने पाठ सिकायो मलाई त्यस सरसफाइ कार्यक्रमले ।
तर रोहितको ड्याडीलाई यो कुरा भन्दा ऊ सुनेको नसुनै गर्छ । आफ्नो व्यवसायमा पैसा कमाउन मग्न छ । यही वातावरण उसलाई रमाइलो छ झिँगालाई फोहोरको डङ्गुर रमाइलो लागे जस्तै ।
पैसा मात्रै होइन जिन्दगी, बाँच्नलाई परिवेश पनि रमणीय र स्वच्छ होस् न । घरबाट बाहिर निस्कँदा बाटो धुलोरहित होस्, हावा दुर्गन्धरहित । अनावश्यक ध्वनि प्रदूषण नहोस् । पानी पर्दा हिलाम्मे, घामा लाग्दा धुलाम्मे नहोस् ।
खै मैले कल्पना गरेको यस्तो सुन्दर परिवेश म यस शहरामा पाउने कैले ?
विगत दश वर्षमा त पाउन सकिन भने निकट भविष्यमा पाउने सम्भावना म देख्दै देख्दिनँ ?
नदीको आँगनमा खेल्नपाउनु पर्ने जलचरप्रति मेरो अति सहानुभूति जागेर आयो । हो, मेरा नाक र आँखाको लागि यो रमिता रमाइलो लागिरहेको थिएन । कमसेकम म त बाँचिरहेकी छु । मेरो ओत लाग्ने घरबार थियो ।
तर नदीमा न कुनै जलचर हुँदा हुन्, न तिनका सुरक्षित वासस्थान । मानिसका घरबार भुँइचालोले भत्काउँछ, वन्यजन्तुको मानिसले । मेरो घरको ढल पनि त यहीं आएर मिसिंदोरहेछ । त्यसर्थ यस नदीमा हुनुपर्ने माछा भ्यागुताका घर भत्काउन म पनि दोषी छु, रोहित अनि रोहितको ड्याडी दोषी छन् । भनौं हामी सब दोषी छौं ।
तर मानिस आफूलाई दोषी स्वीकार गर्दैन, न त यस शहरले नै गर्छ ।
तर म स्वीकार गर्छु । प्रकृतिलाई हेर्ने मेरा आँखा फरक छन् ।
त्यसैले म महापापी हुँ । म कसैको ज्यान लिइरहेको छु । म सजायको भागीदार हुनुपर्छ ।
होला, त्यसैले भगवानले मलाई सजाय दिइरहेका छन्, खोकीको साङ्लाले बाँधेर मेरै घरमा नजरबन्द पार्दैछन् ।
भगवानको अदालतले शायद मलाई अन्तकतै सुपर्दगी गरिंदैछ । हो, कसैको ज्यान लिंदालिंदै मलाई यहाँ बस्ने अधिकार छैन र म यहाँ बस्न पनि चाहन्न ।
रोहितको बाबालाई कसरी सम्झाऊँ, प्रकृतिलाई पाप गरेर र पापको प्रतिफलबाट पीडित हुँदै यहाँ म जिउन चाहन्न । तर ऊ कत्ति पनि मान्ने होइन ।
ए, मेरा विफल प्रयासहरू, मलाई फर्काएर मेरै बस्तीमा लग !
उसका पो सबै यतै छन् । उसको व्यवसाय यहीं छ । उसको माटै यहीं हो । ऊ यही गुणस्तरको हावा फेरेर हुर्केको हो । ऊ हात्ती, पाटेबाघ, गैंडा, घरियाल, रातेपान्डा जस्ता वन्यजन्तु झैं यहींको रैथाने हो । उसलाई प्रकृतिप्रति गरेको कुकर्म पाप जस्तो लाग्दैन । त्यसो गर्नु उसको रगतमा लेखिएको छ ।
चेतनाको स्तर पनि माथि छैन । उसको चेतनाको दायरा मानवीय हकधिकार, पहिचान, समावेशीयता माझ मात्रै सीमित छ । पृथ्वीको हावा, नदीनाला, सागर, वन्यजन्तु, माटो इत्यादिलाई पनि प्रदूषणरहित बाँच्ने अधिकार छ भनी चेतना आउन यो शहरका मानिसलाई अझै सयौं वर्ष लाग्ला । हो म मान्दछु, उसको मप्रति जति अघात प्रेम छ उत्तिकै छोरोप्रति पनि । त्यसैले त हामीलाई सुख प्रदान गर्न बिचरा दिनरात खटिएको छ गिट्टीबालुवाको ठेक्कापट्टा काममा ।
ऊ भन्छ, “खोलानाला भनेको नै त्यहाँबाट प्राप्त हुने गिट्टीबालुवा, माछा, पानी जस्ता स्रोतलाई झिकेर मानिस बाँच्न र विकास निर्माणका कार्यहरू गर्नका लागि हुन् ।”
मैले कहाँ भनेको छु र प्राकृतिक स्रोतलाई छुँदै नछुने । मेरो भनाइ हो सस्टेनेबल डेभलपमेन्टको । सर्प पनि मरोस् लट्ठी पनि नभाँचियोस् । माछाका वासस्थान र पानीको क्वालिटी नमेटिने गरी गिट्टीबालुवा नदीबाट निकालिनु पर्यो ।
ऊ भन्ने गर्छ, “तिम्रो अर्ती मान्यो भने त नाफै हुन्न । सिन्डिकेटका मान्छेलाई के बुझाउने, केले तिरो तिर्ने ?”
महिना दिनहरू बित्दै गए । न त बागमतीको पानी सङ्लो भयो न आकाशलाई तुवाँलोले लपेट्न छोड्यो । मेरो स्वास्थ्यमा सुधार आएन । हामी यसरी यहीं बस्यौं भने हाम्रा छोराको स्वास्थ्य पनि झनै नाजुक बन्दै जाला । डक्टरले वायु प्रदूषण अत्यधिक भएको दिन छोरालाई घरभित्र राख्न, बाहिर निस्कन नदिन सल्लाह दिन्छन् ।
आजकाल रेडियो र टिभीमा मौसमको जानकारी दिइँदा हावामा पिएम २/५ को मात्रा कति छ भनेर पनि सुनाइन थालिएको छ । वातावरण मन्त्रालयको वेभसाइटमा पनि यसबारे विस्तृत जानकारी पाइन्छ र म बेलाबेलामा सर्च गर्छु ।
यी सूक्ष्म धुलाका कण वायुमण्डलमा के कति छ र त्यही अनुसार आफ्नो दैनिकीमा फेरबदल गर्नसके केही हदसम्म अस्थमाबाट जोगिन सकिन्छ भनेर डाक्टरको सल्लाह छ ।
मलाई कस्तो लाग्छ भने, यसरी बन्धनमा बाँधिएर बस्नु भन्दा परिवेश नै परिवर्तन गरियो भने कसैको कैदी बनिरहन पर्दैन । घर चुहिन्छ र रुझेर बस्नु भन्दा कि त घरको छानो छाउनु पर्यो । होइन भने नयाँ घरमा सर्नु पर्यो ।
घरभित्र र मास्क लगाएर पफ तान्दै कति बस्ने ? जसरी साइबेरियाको जाडोबाट जोगिन आगन्तुक पाहुना चरा शिवपुरीमा बसाइँ सराइ गर्छ त्यसरी नै म पनि बसाइँ सराइ गरेर अन्तै गइनँ भने यस शहरले मार्छ । चराका जस्तै उपाय अपनाइनँ र आफ्नो श्रीमानलाई माया लाग्छ भन्दै यहीं बस्यो भने मेरो मृत्युको दिन गन्दै बस्न शुरू गरे भयो ।
म ट्रेन्डी फेसन गर्ने महिला । टिनेज छँदा कलेजमा ब्युटी कम्पिटिशन जितेकी । मेकअप र फेशन गर्न रुचाउँछु । आउटगोइङ साथी बनाउन मन पराउँछु । सुन्दर बनेर हिंड्नु महिलाको स्वभाव र प्राकृतिक गुण हो । बेलाबेला ब्युटीपार्लर धाउँछु बाल बनाउन र फेसियल गर्न । कुर्ता सुरुवाल र सारीहरूले मेरो कपबोर्ड भरिएको छ । नेपाली पहिरनले मलाई मोहनी लगाएको छ भन्दा पनि हुन्छ ।
तर के गर्ने ? बाहिरको धुलाम्य वातावरणले रुवाइरहेको छ । हजारौं खर्च गरेर फेसियल र बाल बनाउँछु आखिरमा मास्क लगाएर सौन्दर्यलाई लुकाएर हिंड्नुपर्छ । कस्तो नमज्जा !
यो बन्धनभित्र फसेको मेरो दैनिकी ! मेरो अस्वास्थ्य शरीर ! यो नर्क जस्तो शहर ! यीबाट मैले मुक्ति पाउने कहिले !
यति भइसक्यो कि मैले रोहितको ड्याडीलाई अन्तिम चेतावनी दिइसकेकी छु । ऊसँग सिरियस भएर कुरा राखिसकेकी छु । चिनी पनि धेरै खाइयो भने तीतो हुन्छ ।
तर उसका जवाफहरू एउटै हुन्छन्, “तिमी छोरालाई हेर्दै घरमै बस । म कमाएर ल्याइहाल्छु । तिमी काम गर्न पर्दैन । भित्र बसे भने तिमी बाहिरको दूषित हावाको चिन्ता लिनुपर्दैन । रानी बनाएर राख्न खोज्दा पनि तिमी त ! इत्यादि इत्यादि… ।”
प्रतिउत्तरमा म भन्ने गर्छु, “म गाउँको गाउँले केटी होइन । के गर्छौ, म एक प्रोफेशनल महिला परें । मलाई आफ्नै कमाइ चाहिन्छ । पतिको आर्जनमा आसित भएर बाँच्ने पनि २१ औं शताब्दीकी कुनै महिला हुन् र ? म आर्थिक अनि अन्य धेरै पक्षमा स्वतन्त्र हुन चाहन्छु । म बिनाकसुर तिमीले रचेको कारागारमा बस्ने वाला छैन । स्वतन्त्र हाँस बनेर सङ्लो बाग्मतीमा पौडी खेलिरहन चाहन्छु ।”
सदा झैं दशैं आयो । उसले गाउँ जानुपर्छ भन्यो ।
यस पालि जान असमर्थ छु भन्दै अरू कुरा राखें, “देखिसकेकी छु तिम्रो गाउँ एकपल्ट । मार हानेर पशुबली दिएको फेरि हेर्न म सक्दिनँ । यो पशु अधिकारकर्मीहरूको विचारमा जायज पनि होइन । पशुलाई यातना दिएर भगवानबाट आशीर्वाद माग्ने कुसंस्कार अब बन्द हुनुपर्छ ।”
ऊ मेरो बिचारमा असहमति जनाउँदै उही कुरा दोहर्याउँछ, “यो हाम्रो हिन्दू धर्मको संस्कार हो प्रिया ! तिम्रो जस्तो क्रिश्चियन धर्म होइन ।“
अन्त्यमा ऊ एक्लै गयो गाउँ, उसको पुर्ख्यौली घर बुङ्कोट, दशपन्ध्र दिनको लागि दशैं मनाउन ।
म र रोहित ऊसँग नगएकोमा अवश्यै नियाँस्रो मानेको हुनुपर्छ । शायद सासूससुरालाई छोरा देखाउने पनि मनसाय हुँदो हो बिचराको ।
मेरो जानसक्ने अवस्था पनि त थिएन । बिसन्चो ज्यान लिएर कसरी उसको पछि लागूँ ? उकालो हिंड्न पनि सक्दिनँ, श्वास बढेर आउँछ । फेरि सडक पनि पहाड र पहरा कोपरेर निर्माण गरिएको हुन्छ । गाडीले बुङ्बुङ्ती धुलो उडाउँछ । म यस पालि गाउँ गएँ भने उतै मार्छु जस्तो लाग्यो । उसले बुझ्नुपर्छ म पहिला जस्तो कहाँ फिट छु र !
सोचेको थियो होला उसले नेपालीको महापर्व सपरिवार सँगै मनाउने । जान नमानेपछि रिसाउनु स्वाभाविक पिन हो । बिहान कतिबेला बिस्ताराबाट उठेर मलाई जान्छु पनि नभनी हिंडेछ ।
ऊ दशैं मन्न हिंडेको दिन मलाई खोकीले झनै च्याप्यो । पफ फुसफुस घाँटीमा छर्किरहँदा पनि भएन । अनि डक्टरलाई देखाउन गएन ।
डक्टरले सल्लाह दिए, “तिमीलाई अस्थमा भएको लामो भयो । दबाइले सन्चो नहोला जस्तो छ । प्रदूषित हावाले जितेपछि दबाइको केही नलागे जस्तो देखिन्छ । निकट भविष्यमा हावाको गुणस्तरमा सुधार आउने देखिंदैन । सरकारले वायु प्रदूषणलाई न्यून गर्ने कुनै बलियो नीति ल्याएकै छैन । यो समस्या अझै विकराल भएर जाला बरु सुध्रिने वाला देख्दिनँ । त्यसैले तपाईं जस्ता मेरा बिरामीहरूलाई म स्थानान्तरण हुन सल्लाह दिन्छु । सक्नुहुन्छ भने वायु प्रदूषण नभएको स्थानमा सर्नुस् ।
मलाई डक्टरको सल्लाह सही लाग्यो । सोचेकी त म पनि त्यही थिएँ पहिल्यैदेखि, तर डक्टरको सुझावले ऊर्जा मिल्यो ।
ऊसँगको बिछोडको पीडालाई लुकाउँदै गहिरिएर सोचें – स्वास्थ्यकर जीवन बिताउन छ भने मैले अब कठोर निर्णय लिनैपर्छ । भनिन्छ निरोगी शरीर नै धनसम्पत्ति हो । आफू निरोगी भए पो आफ्नो लोग्ने, छोराछोरी, र परिवार भएको अर्थ रहन्छ ।
उसले घर छोडेको हप्तादिन पछि एउटा पत्र कोरेर टेबलमा छोडें । म र रोहित त्यो घर, त्यो शहर, छोडेर भारी मन बनाउँदै अन्तिम पटक एक फ्वाँक त्यो दूषित हावा लिएर निक्कै टाढाको गन्तव्य स्थान तिर उड्यौं ।
मेरो प्रिय विजय,
हो मलाई तिमी धेरै माया गर्छौ । तर म बुझ्न सकिन किन तिमीले मेरो स्वास्थ्यप्रति ख्यालठट्टा मात्रै गर्यौ । यो प्रदूषित शहरबाट मलाई छिट्टै अलग्गाएर लग भनेर मैले कति बिन्ती गर्दा तिमीले एक कानले सुनेर अर्को कानले उडाइदियौ ।
यहाँ मेरो मात्रै होइन हाम्रो छोराको पनि जीवन र मृत्युको सवाल थियो । तर तिमीले मेरो अनुनयविनयलाई सुन्ने प्रयास गरेनौ ।
तिमी गाउँ लागेपछि मलाई अझै च्याप्यो । एक मुट्ठी श्वास फेर्न पनि धौधौ पर्यो । म हस्पिटलाइज्ड भएँ । डक्टरले मेरो अस्थमा निको नहुने देखे । कारण यस शहरको वायुप्रदूषण दिनानुदिन बसिनसक्नु बन्दै गएको छ । तसर्थ मेरो स्वास्थ्यमा सुधार ल्याउन कुनै स्वच्छ स्थानमा गएर जीवनयापन गर्न सल्लाह दिए ।
मलाई पनि त्यस्तै लाग्यो ।
मैले दश वर्षअगाडि मेरो मातृभूमि तिम्रै लागि त्याग्दा एक कठोर निर्णय लिएकी थिएँ । आज फेरि तिम्रो मातृभूमि मैले त्याग्न पर्दा त्यस्तै कठोर हुन वाद्य भएकी छु मनले नचाहँदा नचाहँदै पनि ।
त्यसैले म फर्केर जाँदै छु मेरै जन्मभूमि, मेरै बाल्यावस्था बिताएको माटो खोज्दै । अनि युनिभरसिटिमा तीन वर्ष सँगै प्रेमका गीत गुनगुनाएको सुन्दर ठाउँ । हामीले प्रेमविवाह गरेर मेरा आमाबुवाले मलाई तिम्रो हातमा सुम्पिंदै आशीर्वाद दिएको स्थान । अनि स्वच्छ नोरस्ट्रोम नदी बगेरे जाने मेत्रोपोलिटन सिटी ।
स्टकहोम ।
मलाई विश्वास छ, म र छोरालाई तिमी औधी माया गर्छौ । त्यसो हो भने आऊ उतै । जीवन जहाँ पनि कठिन छ । स्ट्रगल नगरी कतै बाँच्न सकिन्न ।
मेरो स्वास्थ्यमा अवश्य सुधार आउनेछ । सानोतिनो काम गरेर नयाँ जीवन शुरू गरौंला । जसरी मलाई तिम्रो देशमा एडपल्ट गर्न गाह्रो परेको थियो त्यसरी नै तिमीलाई त्यस्तै अनुभव यहाँ हुन सक्छ ।
तर याद गर, मैले तिमीलाई तिम्रो देश मिस गरेको फिल हुन पटक्कै दिनेछैन ।
स्वास्थ्य नै धन हो । एट लिस्ट त्यहाँ स्वच्छ हावा फेर्दै मास्क बिनाको अनुहार लिएर डुल्न त पाइन्छ ।
ख्याल गर, स्वच्छ वातावरण मात्रै होइन, मान्छेलाई जिउन कसैको आत्मीय सहारा पनि चाहिन्छ । त्यसैले प्लिज कत्ति पनि ढिला नगर्नु मसँगको पुनर्मिलनको लागि ।
नत्र भने मेरो लाश मात्रै भेटौंला ।
मेरो स्वास्थ्यमा सुधार आउन स्वच्छ वातावरण साथै तिम्रो न्यानो साथ पनि अपरिहार्य छ भनेर नभुले ।
तिम्रै प्रतीक्षामा उही तिम्रो ममतामयी अर्धाङ्गिनी
ग्रेथा थुनबर्ग मगर
(शीर्षक परिवर्तन गरी पर्या-कथासंग्रह ‘ब्लु प्लानेट’बाट साभार)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

