
नजिक आइपुगेपछि बैदाङ्गेले रुन्चे स्वरमा भन्यो, “आखिर मैले बोलेकै सदर भो । त्यस बेला रिसको झ्वाँकमा बोलेथें, आज श्रद्धाले सरदार बाको नाउँमा यसलाई मैले साँढ छोडे । पण्डितजीले विधिसित पूजा गरेर, डामेर छोडिदिउन् यसलाई ।”
००००
सरदार बूढा तल होलानिरको दहखेतबाट फर्कंदै छन् । मंसीर बितिसक्दा पनि तल दहमाटाको बाहु धान काटिसकिएको छैन । खेताला लाएर धान काट्न धमाधम छ । धान हौसिएर ढलेकाले खेतालाहरूको मेलो उति सर्न सकेको छैन । काम गर्ने जन हेरी धान काटिएको मेलो ठ्याम्मै देखिंदैन । बूढा निकै राँकिन्छन् ।
“खालि आलेटाले गरेर दिन गाल्छौ । दिन ढलिसक्यो, यसो एक छेउ पनि धानकटाइ भएको छैन । भरे हाजिरा लिने बेलामा भने एक कन्चो थोर हुनु हुँदैन । कराएकाकरायै गर्छौ । यस्ता चालले कहिले काटिसक्ने, कहिले ओसारेर खलामा पुऱ्याउने ? मानिस पनि के सारो ठग भए के सारो ?” भन्दै बूढा जनलाई कराउँछन् ।
“होइन, धान ढलेर सोत्तर छ, यसो सिला खोजेर छरिएका बालाहरू काट्नुपर्छ ।
कसरी सर्छ मेलो अनि ? भरे बाला छोडिए भने पनि उत्तिकै कराउनुहुन्छ ।” जनमध्येको नाइके स्पष्टीकरण दिन्छ ।
“अँ, एउटा निहुँ त चाहियो नि तिमीहरूलाई ! दहमाटाको बाहु धान ढलेकै त हुन्छ । हात छिटो चलाए पो सर्छ मेलो । भरे धान काटिसकेर जाने बेलामा एक-एक भार धान ल्याउनू है सबैले !” भनेर फर्कन्छन् सरदार बूढा ।
घरतिर फर्कंदै गर्दा उनको मनमा कुरा खेल्दै जान्छ- ‘धान यस पाला राम्रै फलेको भन्नुपर्छ, तर यी जन मोरा काट्नै ढिलो गर्ने परे । एकचौथाइ त यिनले काटेको हाजिरा तिर्दै ठिक्क हुने भो । यता काटेको धान रातरातभरि खेतैमा रहन्छ । पल्ला गाउँका मानिस राम्रै चोरका घर छन्; रातारात ओसार्न बेर छैन । नकाटेकै धान त राति काटेर लान्छन्, झन् काटेर थुपारेको त बोक्न सजिलै भइहाल्यो नि ! रातभरि रुँगेर पनि साध्य छैन… ।’
विचारैविचारमा घरको आँगनमा आइपुगेको उनलाई पत्तै हुँदैन । आँगनबाटै उनको दृष्टि घरपछाडिको खेतमा पर्छ जहाँ लहलह भएका धानका बालामा एउटा बहर आनन्दले चरिरहेको छ । बहरले धानका बालाहरूको बुजो हाल्दै बोटहरू पनि कुँदेर सोत्तर पारिरहेको छ । उनको यस खेतमा धान साह्रै राम्रो फलेको थियो । धानको भारले बालाहरू नुहे पनि होलानिरको खेतझैं बोटहरू ढलेका थिएनन् । घरछेउ त्यति राम्रो धान फलेको खेतमा कसैको बहर यसरी छाडा छाडेको देख्दा सरदारलाई हुनसम्मको औडाहा भयो । एक त होलाको खेतमा जनहरूको ढिलाइले उनकी कन्सिरी तातेकै थियो, त्यसमाथि यता यो चर्तिकला । आँगनछेउको बारदेखि एउटा लामो भाटो तानेर उनी खेततिर दगुरे र बहरको डँडाल्नोमा दुई हातले मच्चाएर चार-पाँच भाटा सुम्ल्याए । बहर बैदागे सुतारको घरतिर कुद्यो ।
बैदाङ्गे सुतार आफ्नो घरको आँगनबाट सबै कुरा हेरिरहेको छ । बहर उसैको हो । आँगनवर बाटामा आएर सरदारलाई कराउँछ, “होइन, एक बुजो धान खायो भन्दैमा त्यो दामडा (बहर) लाई त्यसरी मर्ने गरी कुट्नु ? बाटाको छेउको खेत छ, दुनियाँका बस्तु आएर धान खाँदा आँखा फुट्दैन । यही लुते दामडामाथि नै आँखा पर्यो । त्यो पशु के बुझ्दछ र त्यसरी कुट्नु ?”
“दामडो साँढे छोडेझैं छोडेर काट्ने बेलाको धान चराएर अझ उल्टै ध्वाँसो देखाउँछस् ? मेरो खेत गौचरन देखिस् र लाइदिइस् दामडो ? कि कसको नाउँमा साँढे छोडिस् ?” सरदार झन् राँकिन्छन् ।
“भैगो, यो दामडो तलमाथि होस् मात्रै साँढे तपाईंकै नाउँमा छोड्नुपर्नेछ । म पनि त्यसै त कहाँ छोडुँला र !” भन्दै बैदाङ्गे आँगनमा आइपुगेको बहरलाई सुमसुम्याउन थाल्छ ।
सरदार पनि “जे-जे लछारपाटो लाउने होस् लाउनू” भनेर घर फर्कन्छन् ।
सरदार्नी बूढी बाहिर कतै गएकी थिइन्, बेलुकी मात्र फर्किन् । दिउँसो आफ्ना स्वामी र बैदाङ्गेको माझ भएको झैंझगडा थाहा पाएपछि उनको मनमा चिसो पस्छ । सरदारलाई भन्छिन्, “त्यो बैदाङ्गे सुतार त राम्रैको बोक्सो छ भन्छन् । बान (बाण) हान्यो भने बाखापाठा, गाईबस्तु, मान्छे जसलाई पनि ठहरै पार्छ रे । बिगार गर्नु गरिहालेको थियो; त्यसरी त्यो बाछोलाई नपिट्नुपर्ने । भित्रभित्रै भेट्न कत्ति बेर छैन त्यस शेषान्तरले ।”
“काल नआएसम्म कसैले केही नाप्दैन, काल आएछ भने कसैले राख्न सक्दैन” भनेर सरदारले आफ्नी जहानलाई ढाडस दिन खोजे पनि मनमनै उनी डराउँछन् । बैदाङ्गेले त्यसै त कहाँ छोडुँला र भनेर दागा धरेको कुरा उनी सम्झन्छन् ।
एउटा काकताली परेकै भनौं, यस घटनाको तीन दिनपछि सरदार बूढालाई जरो आउँछ; दिसा-पिसाब पनि पोल्न थाल्छ । बूढा हल न चल भएर ओछ्यान लाग्छन् । उनलाई शङ्का हुन्छ, ‘यो पक्कै पनि बैदाङ्गेले भेदेको हो । उसले बाण हानेको हुनुपर्छ । मुटुमै ताकेर हानेजस्तो छ ।’ उनलाई मुटु पनि च्वास्स दुखेको अनुभव हुन्छ ।
बूढी घोषण गर्छिन्, “पक्का पनि त्यसै बोक्साको काम हो ।”
“होइन, आज सरदार बा घरै हुनुहुन्छ कि कसो ?” भन्दै पल्लो घरका पुरोहित बाजे आइपुग्छन् । बूढीले भित्रै डाकेपछि सरदारलाई हैं-हैं गर्दै पल्टिरहेको देखेर एउटा मुढा तानेर बस्दै सोध्छन्, “होइन, सन्चो भएन कि कसो बालाई ?”
“खइ, म त लडे है पुरोहित नानी के गर्नु, धान काट्न लठपत्रै छ कहिले काट्नु, कहिले थन्क्याउनु । गर्ने भन्ने कोही छैन । आफू चाहिं ओछ्यान लागिहालियो ।” सरदार आफ्नो गुनासो पोख्छन् ।
“होइन के भो, जरो आउँछ ?
“के हुन्थ्यो अरू अस्ति, झन् अस्ति हो क्यार, कुन चाहिंको बहरले धान खाँदै रछ र धपाउने भाको, बाटापारि बैदाङ्गे राम्रै दागा धरेर कराउन थाल्यो । बाछो उसैको रछ । यताबाट पनि कराइदिनुभो । अनि त हिजो रातिदेखि आफू पनि लडिहाल्नुभो नि !” बूढीले बेलीबिस्तार लाउँछिन् ।
“लौ बित्यास परेछ त्यसो भने । राम्रै मान्छेको फेला पर्नुभएछ बा पनि । त्यो त राम्रैको मसानसाधक पो छ त । रिस उठ्यो भने मसानै उठाएर खन्याइदिन्छ अर्काको शरीरमा ।”
“त्यही त अब त्यसैसित गएर जम्लाहात गर्नुपर्छ कि क्या हो ?” बूढी आफ्नो विचार राख्छिन् ।
“जम्लाहात गरेर काँ भो र । उसले ‘मैले भेदेको हो, म निको पार्छु भनेर कबोल गरे पो ? त्यसरी लुरुक्क पर्न जाँदा ‘बल्ल स्वाद पायौ भनेर झन् खुच्चिङ मच्चाउँछ ऊ ।” पुरोहितले भने ।
“साह्रो पर्यो है पुरोहित नानी । घरकै आडमा छिमेकी भएर यस्तो मान्छे बसेको छ । यसलाई गाउँदेखि खेद्न पनि सक्दैनन् कोही ।” सरदार बिस्मात पोख्छन् ।
“अब लोहालाई लोहैले काट्नुपर्छ नाइँ । पर पश्चिमटोलका पौडेल धामीलाई बोलाउनुपर्छ । उनी यस्ता बोक्सी, डायनी, भूत, प्रेत, मसान जे भए पनि पन्छाउन सिपालु छन् । बानै हानेको रहेछ भने पनि त्यसको जवाफ बानैले दिन्छन् । मन्त्रतन्त्र पनि निकै जानेका छन् ।”
“लौ, अब धामी डाक्न पो कसलाई पठाउनु । जोकोही गएर पनि आउँदैनन् होला । बरु पुरोहित बाजेले नै कष्ट गरिदिनुपर्छ क्यार !” बूढीले आग्रह गरिन् ।
“हुन्छ, मै गइदिउँला नि । कति पो टाढा हो र पश्चिमटोल ।”
एकछिनपछि भरेसम्ममा धामीलाई खबर गर्ने कुरा गरेर पुरोहित बिदा हुन्छन् ।
सरदार बूढाको शङ्काले क्रमशः विश्वासको रूप लिन्छ । पक्कै पनि मलाई बैदाङ्गेले नै बिगारेको हो, अब त्यसले जीवन लिएरै छोड्छ’ भन्ने उनको मनले ठान्छ ।
भोलिपल्ट बेलुकी पौडेल धामीलाई लिएर पुरोहित आउँछन् । पौडेल धामी थालमा चामल लिएर जोखाना हेर्न थाल्छन् । जोखाना केलाउँदा कसो भएर हो दुईवटा चामलका गेडा एक ठाउँ खप्टिएको देखिन्छ । धामीले सबैलाई देखाउँदै भन्छन्, “लौ, बिगार त साह्रै परेको छ है ! लौ हेर चामलका गेडा टाँसिएका । कसैले नराम्रैसित भेदेको छ है !”
पुरोहितले सबै वृत्तान्त सुनाएकै थिए । बूढाबूढीलाई विश्वास पर्ने गरी जोखाना खुट्टयाउन धामीलाई सजिलै पर्यो ।
धामीको निर्देशअनुसार एक जोर परेवा, कालो लुगा एक हात, अक्षता, फूलपाती सबै ठीक पारियो । दोबाटोमा लगेर परेवाको भोग दिइयो । टपरामा अक्षता-फूलपाती राखेर भूत, प्रेत, मसान आदि पन्छाइयो । राति धामी चिन्ता बस्छन्, तर सरदारको रोग बीसको उन्नाइस होला भन्दा एक्काइसतिर लाग्छ । उनी बेला-बेला जरोमा धताउन पनि थाल्छन्
सरदारका दुई छोराहरू छन् । जेठो नजिकैको शहरमा किरानी काम गर्छ । कान्छो सानै छ र पल्लो गाउँको हाइस्कूलमा पढ्दै छ । दुईवटी छोरीहरू बिहे भएर आफ्नै घर-घर छन् ।
बाबुको बिरामी थाहा पाएर जेठो छोरो राजेन शहरबाट घर आएको छ । उसले बाबुलाई हेर्यो, जरो हनहनी आएको छ । जीउ दुख्ने, भित्र सबैतिर जल्ने, छाती दुख्ने गर्छ भन्छन् । पिसाप पनि रातो पहेलो जान्छ । ऊ विचार गर्छ- ‘यो औले जरो पनि हुन सक्छ, पहेलो बिमारी जन्डिस पनि हुन सक्छ, लिभरकै कमजोरी पो हो कि ? उसले बुबालाई भोलि शहर पुर्याएर डाक्टरलाई देखाउने विचार गर्छ । आवश्यक परे अस्पतालमा पनि बस्नुपर्छ भन्छ ।
“अरू बिमारी भा पो डाक्टरले निको पार्छ, भेदेको पनि दबाईपानीले निको हुन्छ काही ? पौडेल धामीको चिन्तालाई त टेरेन ।” आमाचाहिंले भनिन् ।
“भेदेकोसेदेको केही होइन । मान्छेले भेद्ने, बाण हान्ने कुरामा मलाई कत्ति विश्वास छैन । बिमारी के हो, डाक्टरले जाँचेर औषधी दिएपछि निको भइहाल्छ । अब ढिलो गर्नुहुँदैन । रोग बिग्र्यो भने पछि साह्रो पर्छ । छोरो युक्ति दर्शाउँछ ।
सकी नसकी सरदार बोल्छन्, “यो डाक्टरले निको पार्ने रोग होइन बाबू ! मलाई बैदाङ्गेकै बाण लागेको छ । ‘तिम्रो नाउँमा साँढे छोड्नुपर्छ’ भनेर भनेकै छ उसले । अब कोही बाण छुटाउन सक्ने, जान्ने मान्छे भए हुन्छ, नत्र त्यसले खायो मलाई ।”
छोराले अनेक सम्झाइबुझाइ गर्दा पनि सरदार अस्पताल जाने कुरामा राजी हुँदैनन् ।
अर्को दिन गाउँको एक जनाले खबर दिन्छ, “लौ, त्यहाँदेखि बसमा छ घण्टाको बाटो हुलुका गाउँमा एक जना जान्ने ओझा छ रे । ऊ तन्त्रमन्त्र पनि गर्छ रे । यस्तो लागोभागो, भेदेको, बिगारेको एक चोटि फुकेपछि च्वाट्ट हुन्छ रे ।”
खबर ल्याउने राते घर्तीलाई खर्च दिएर हुलुका गाउँ पठाइन्छ । ओझाले पानी फुकेर दिएछ र एउटा ताबिज पनि पठाएछ । मधौरुलाई फुकेको पानी खुवाइन्छ ताबिज बाँधिदिन्छन् । अब निको हुन्छ भन्ने सबै आशा गर्छन्, तर रोगले अझ च्याप्दै लान्छ । रोगी यसो उठ्न, राम्ररी बोल्न पनि छोड्छन् ।
लोग्नेको त्यो अवस्था देखेर बूढी अतालिन्छिन् । मनमनै बिचार्छिन्- समयमा कोरीको पनि पाउ मोल्नु भन्छन् । एक चोटि त्यही कोर्याहा बैदाङ्गेकाँ गएर बिन्ती गर्नुपर्यो । तै कतै मन पग्लन्छ कि ?
बूढी कसैलाई नभनी भोलिपल्ट बिहानै बैदाङ्गेको आँगनमा पुग्छिन् र बैदाङ्गेलाई आफ्नो व्यथा पोख्छिन् “हेर बैदाङ्गे नानी ! म बूढीको त जहाजै डुब्ने पर्यो । सरदार ओछ्यान लागेको आज दुई साता हुन आँट्यो । घिटीघिटी हुनुभइरछ । उहाँलाई बिगारै परेको देखिन्छ । अब अघिपछिको झैंझगडा बिर्सेर नानीले नै उबार गरिदिनुपर्छ ।”
बैदाङ्गेलाई यो कुरा थाहा भइसकेको छ कि सरदारलाई उसैले बाण हानेको भनेर गाउँमा हल्ला छ । सरदारका जहानले पनि उसैमाथि शङ्का गरेका छन् ।
ऊ बूढीलाई भन्छ, “हेर्नुहोस् आमै ! सरदार बासित जुन दिन भनाबैरी भो त्यसै दिन एकछिनपछि मैले त सबै कुरा बिर्से पनि । रिसमा केही अवाच्य पनि बोलियो होला; तर मैले न कसैलाई भेदेको छु न म त्यस्ता मन्त्रतन्त्र गर्न जान्दछु । साँझ-बिहान आफ्ना कुलदेवताको पूजा गर्छु; तर कसैलाई बिगार पार्ने काम म जान्दिनँ पनि, गर्दिनँ पनि । बरु हिंड्नुहोस्, सरदार बाजेलाई हेर्न म पनि जान्छु ।”
सरदारको घर पुगेर उनको अवस्था देख्दा बैदागे छक्क पर्छ । आँखा धसिइसकेका छन्, चेहरामा रगत छैन, बोली भासिइसकेको छ । शरीर कङ्गाल बनेको छ; ओछ्यानबाट उठ्ने शक्ति छैन ।
“सरदार बा, के भो तपाईंलाई ?” ऊ सोध्छ ।
सरदार साउती गर्दै भन्छन्, “के हुने अब ? तिमीले भनेकै पुर्यायौ । मेरो नाउँमा साँढे छोड्ने भयौ अब ।”
“होइन, रिसमा कसैले वेद पढ्दैन । तपाईं राँकिंदा मैले पनि रिस थाम्न सकिनँ । त्यति भनिहालें । तपाईंलाई मैले केही बिगार गरेको छैन । तपाईं अस्पताल जानुहोस्, दबाईपानी गर्नोस् । निको भइहाल्नुहुन्छ ।”
बैदाङ्गेका कुरा सरदार पत्याउँदैनन्, भासिएकै स्वरमा भन्छन्, “तिमीले हानेको काँड तिमीले नै झिके त भैगो नि ! अस्पताल गएर के हुन्छ र ?”
बैदाङ्गेले बूढाको हात समाउँदै भन्छ, “सरदार बा । यी गाउँलेका कुरा सुनेर तपाईंलाई त्यस्तो शङ्का परेको छ र मलाई बोक्सी देख्छन् । म यिनका आँखामा जालो परेको छ र मलाई देख्छन् । म यिनको लहैलहैमा हिँड्दिनँ; यिनको दलबन्दीमा लाग्दिनँ । त्यसैले मलाई अर्घेलो देख्छन्, बोक्सो पार्छन् अनि मनले जे कथ्यो त्यही भन्छन् । तर तपाईंलाई मैले बिगारेको भए मेरा कुलदेवता साक्षी छन्, तिनैले मलाई सखाप पार्लान् ।”
बैदाङ्गेप्रतिको सरदारको शङ्का केही हट्यो, केही रह्यो । भोलिपल्ट उनलाई जसोतसो अस्पताल पुर्याएको कुरा पनि उनले केही थाहा पाए, केही पाएनन् ।
उनलाई अस्पताल पुर्याएपछि मात्र यो कुरा सबैलाई थाहा भो कि उनको चिकित्साको निम्ति धेरै ढिलो भइसकेछ । अझ ढिलो भयो अस्पतालको अव्यवस्थाले गर्दा रोग खुट्टयाउनमा । जीवनले मृत्युको घेरी समातेपछि मात्र डाक्टरलाई थाहा हुन्छ- औषधी टाइफाइडको मात्र होइन, मेनेन्जाइटिसको पनि गर्नुपर्ने रहेछ ।
* * *
मलामी चोख्याउने दिन, तेह्रौंको कार्य सकेर दानदक्षिणाको कार्य चलिरहेको थियो । सरदार गाउँका एक जना प्रतिष्ठित, हुनेखाने नै मानिस हुन् । छोराहरूले पनि मन फुकाएरै दान गरे । गाईदान, पददान, हाँडाभाँडा, खाट डसना आदि दानको क्रम चलिरहेको छ ।
परबाट बैदाङ्गे एउटा बहर घिस्याउँदै आइरहेको छ । यो त्यही बहर हो जसले गर्दा शङ्काको यत्रो बीजारोपण भयो ।
नजिक आइपुगेपछि बैदाङ्गेले रुन्चे स्वरमा भन्यो, “आखिर मैले बोलेकै सदर भो । त्यस बेला रिसको झ्वाँकमा बोलेथें, आज श्रद्धाले सरदार बाको नाउँमा यसलाई मैले साँढ छोडे । पण्डितजीले विधिसित पूजा गरेर, डामेर छोडिदिऊन् यसलाई ।” यति भनिसकेर ऊ लगत्तै फर्कन्छ ।
सबैले ऊ गएको हेरिरहे । कतिले यो रहस्य बुझे, अनि कतिले बुझेनन् तर बैदाङ्गेप्रति गाउँलेको धारणा भने बिस्तारै बदलिंदै जान्छ ।
(‘लीलबहादुर क्षेत्रीका कथाहरू’बाट)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

लीलबहादुर क्षत्रीका नाटकहरू : सुदूर–धरातलमा अस्तित्वको शंखनाद
