
कलाकार कुँद्न खोज्छ दिव्य मूर्ति, व्यक्त्याउन खोज्छ एउटा सुन्दर स्वप्न अनि सुनौलो कथा । तर छिनो, कुची, कलम बराबर अल्झन्छन्, अल्झिरहन्छन् आफ्नै व्यथाहरूभित्र । नेपाली कलाकारहरूको आर्थिक दृष्टिले दयनीय जीवन : यो देखिएकै व्यथा हो, नलेख्दा नलेख्दै पनि लेखिएको कथा हो ।
०००
आज मलाई चटपट कथा नलेखी नहुने भइरहेछ । तर के गर्नु र गिदीमा भने हिजोआज के भइरहेछ के, कति सोच्दा पनि अहिलेसम्म छेउपुच्छरै समात्न सकेको छैन । एउटा कथाको एक सय रुपियाँ पारिश्रमिक । मजस्तो कायमी बेकारको कमी छैन ।
प्रकाशकले हिजो पठाएको चिठी फेरि एकपटक शिरदेखि पुछारसम्म पढेँ । हो, पारिश्रमिक एक सय नै, कथा पठाइसक्ने आखिरी दिन पनि भोलि नै छ । संग्र्रह आगामी महिनाको पहिलो हप्तामा निस्कन्छ ।
म के गरूँ ? प्रकाशकज्यूले सोचेका होलान् कि लेखकहरूसँग आफ्ना रचना सदा नै ‘स्टक’ मा रहेका हुन्छन्, मानौँ रचना पनि आलु, प्याज वा भन्टा हुन्, एक हातले दियो एक हातले लियो । यहाँ दालभातका भुमरीमा परेर डुबियो डुबियो भइरहेको कसलाई थाहा ! स्पष्ट भनिदिन्छु, मेरो लेखनशक्तिमा खिया लागिसकेको छ ।
यो पनि भएन । यहाँ प्रश्न त पैसाको पो आइरहेछ । कहिले सकिन्थ्यो यो सय रुपियाँ माया मार्न ! चुटेर, पिटेर, ठोकेर कथा त लेख्छु लेख्छु रे तर तर… यसरी झारा तिरी पठाएको खस्याङखुसुङ कथाले पनि पारिश्रमिक पाउला र ! नामलाई पैसा दिने त हैन होला !
आज पूरा सय रुपियाँ घर हुल्न पाए यस अभावमा मेरा कति गर्ज टर्ने थिए । आमाको दमको औषधि र गौरीको छातीको एक्सरे गर्ने थिएँ । सुशी, टाँकु, कमली, बिने, इन्दी, शौरी, लच्छु, नत्थु, भन्तु सबैलाई एक–एकओटा फ्रक पनि आउँथ्यो, बिचराहरू नांगै भइसकेका छन् । आफ्नै पनि जुत्ताको तलवाले मुख बाएर फट्याक–फट्याक पारी हिँड्न थालेको कैयन् दिन भइसके ।
अतः आज सबैतिरबाट मनलाई खिचेर दिमागलाई स्वच्छ बनाएर एउटा राम्रो कथा लेख्नुपर्छ, यसरी ढोकासम्म आफै चियाउन आएको एकमुष्ट रुपियाँलाई कहिले हुन्थ्यो फर्कन दिन !
लौ भयो, कथा त अब लेख्ने लेख्ने, तर विषय के लिने ? नौ–नौ सन्तानको बाबु भइसकेको मान्छेले प्रेमलाई के लिऊँ ? गरिबीलाई लिन पनि यस विषयमा प्रगतिशील लेखकहरूले यति लेखिसके कि अब लेख्न पर्ने नै केही छैन जस्तो छ । अतः मेरो यसपालिको नयाँ कथाका पात्रहरू माथिल्लो समाजका हुने छैनन् ।
ठीक, बिलकुल ठीक । अब कथाको शीर्षक के राख्ने ? कथा लेख्नुभन्दा पहिले नै शीर्षक लेख्नुपर्छ, तब मात्र कथामा क्रम र गति बस्न सक्छ । तन्मय भई मन्टो ठाडो पारेर दलिनतिर आँखा पल्टाएर म सोच्न थालेँ, मरÞ्याक–मरÞ्याक् चोटामा कोही हिँडिरहेको थियो । दलिन र चिर्पटका अन्तरबाट बर्र धुलो झरेर आँखामा पर्यो । आँखा पिरा र रसिला भए । केही बेरसम्म झिमझिम पारेर कमिजको फेरले पुछेँ, पीडा केही कम भयो । मलाई झोक चलेर आयो, मनमनै भनेँ– म भुत्रो पनि लेख्तिनँ पहिले शीर्षक । प्लट सोचिसकूँ, देखाजाला अनि शीर्षक सोचेर राखौँला । जे होस्, मेरो यस कथाका पात्रहरूलाई यस्तै धुलो झर्ने घरमा बस्ने त म बनाउन्नँ बनाउन्नँ । आफूलाई माथिल्लो श्रेणीको बुलन्दको कथा लेख्नु छ, यो माटो, गोबर, धुलो, चिर्पटतिर लागेर कथाको स्तर त कहीँ नबिग्रोस् । रेनफोस्र्ड कंक्रिटको हुनुपर्छ घर ।
मानिस जतिसुकै सम्पन्न होस् परिवार ठूलो छ भने त्यसलाई पनि आन्तरिक सुख–शान्ति हुँदैन । अतः मेरो यो नयाँ कथामा केवल पति, पत्नी दुई व्यक्ति मात्र हुनेछन् । सन्तान यिनलाई चालीस उता मात्र हुनेछ, त्यो पनि बेहदसँग हैन । मेरोजस्तो चालीस पार गर्न नपाउँदै बेपर्वाहसँगको यस्तो छुछुन्द्रे ताँती निश्चय पनि हुँदैन ।
‘हुन्छ हुन्छ, कसरी हुँदैन ?’
मैले झस्केर यसो कान थापेँ, माथि चोटामा गौरी कसैसँग भनिरहेकी थिइन् । मेरो सोचाइको जवाफ त यो अवश्य पनि होइन होला ! तब यो हुन्छ हुन्छ केही ? …जेसुकै होस् यो १२, १३ जनाको बगुन्द्रे जहानमा को के भन्छ, को के भन्छ । कथा लेख्न बसेको बेलामा यसरी कान खियाउन थालियो भने अनि लेखिन्छ कथा ? भित्रिन्छ पनि एक सय रुपियाँ ?
अब मेरो कथाका यी जोईपोइ अति आधुनिक शिक्षित र प्रेमका अवतार हुनेछन् । दुवैमा औधी मेलमिलाप रहनेछ, एकले अर्काको कदर गर्नेछन् । यिनलाई जीवनमा अभाव भन्ने कुरो थाहासम्म पनि हुनेछैन…।
‘किन हुँदैन ? तैँले भन्दैमा हुँदैन,’ यसो मन्टो उठाएर हेरेँ, गौरी ढोकामा उभिएर टाँकुसँग भनिरहेकी थिइन्, ‘खुरुक्क नि गएर भनेको कुरा लिएर आ, यहाँ वकालत नछाँट ।’
गौरी मतिर फर्किन् र फेरि भन्न थालिन्, ‘हेर्नोस् न, छ भन्ने नाममा एउटा गेडा केही छैन, इन्जेक्सन किन्ने भनेको त्यो दस रुपियाँ झिकेर दिई मालताल किनेर ले भनेकी, हुँदैन भनी तपाईंले भन्दा बढी मात्रामा वकालत छाँट्न थालिरहेछ । पोइ, छोराछोरी, सासू– सारालाई भोको राखी मलाई औषधि चाहिएको छैन ।’
गौरी स्वर झन्–झन् तिखो तुल्याउँदै भन्न लागिन् । ‘क्षयजस्तो रोग निको हुनलाई त हुनुपर्छ औलादौला । हामीजस्ता छाक नुजुट्नेलाई यसले पक्डन्छ भने यसमा कुनै पनि उपाय लाग्न सक्दैन । उल्टै यस चिन्तामा यसले घरका अरू सदस्यहरूलाई दाब्दछ, मेरा दिन अब धेरै छैनन्, निको अवश्य हुँदैन, अतः औषधिमुलोमा एक पैसा खर्च गर्न पनि म तयार छैन । मर्ने बेलासम्ममा यिनले पेटभरि ढुटो, पीठो जे हुन्छ खाएको देख्न पाए मलाई सन्तोष यसैमा हुनेछ ।’
गौरीले एक सासमा भनिन् र ख्वाइँख्वाइँ लामालामा सास चढाउँदै निसास्सिएर खोक्न थालिन् । मैले हातको कलम त्यहीँ राखेँ, टाँकुलाई आँखा सन्काएँ । गौरीको त्यस कष्टप्रद खोक्ने क्रियालाई विवश भएर हेर्न थालेँ ।
बडो कष्टका साथ अन्दाजी लगातार तीन मिनेटजति खोकेपछि गौरीले भरिलो र रसिलो आँखाले मतिर हेरिन् । मैले देखेँ, मेरी सुखदुःखकी जीवनसंगिनीको अनुहार आज धेरै म्लान छ । मृग–नयनीको आँखाको चारैतिर ध्वाँसो पोतिएको जस्तो भइसकेको थियो । उनका ताजा गुलाफजस्ता गाला अब चायाले भरिएर कन्चटभन्दा तल धसिन पुगेका थिए । उनी अब केवल हाडकी ढाँचा मात्र थिइन् ।
गौरी हिजोआज धेरै बोल्दिनन् पनि । बोल्न थाल्यो कि उनलाई खोकीले धड्छ, कफ निस्कन थाल्छ, रगत पनि आउँछ । जुन दिन मसँग गठबन्धन भएथ्यो कुन्दनजस्ती थिइन् । उनी, अब गरिबीको मारमा पर्दापर्दा अहिले…।
के गरूँ ? गौरीको जीवन र आफ्नै जीवनमा पनि मेरो वश चलेन, विवश छु उनको बिरामी उनैको रह्यो । यस अभावपूर्ण जिन्दगीमा गौरीलाई बचाउने अंश अब हताश र निराश भइसकेको छ । लाग्छ, गौरीको जीवनप्रदीप अब यसै नै निभेर जान्छ, विवश पति हेरिरहेछ टुलुटुलु एक छेउमा बसेर यो सब । साँच्चै नै गौरीले मलाई छाडी जान लागिछन् । टपटप मेरो आँखाका कुनाबाट विवशताका दुई थोपा झरे ।
म जुरुक्क उठेँ, मेरा अभ्यस्त हात गौरीको ढाड सुमसुम्याउन पुगे । शरीर उनको तातो थियो, विस्तारै लगी भित्रपट्टिको कोठाको ओछ्यानमा उनलाई पल्टाइदिएँ । हृदयदेखि मेरो भक्कानो फुटेर आइरहेको थियो ।
‘गौरी, मलाई नरुवाऊ,’ अड्की–अड्की मेरो गलाबाट यी तीन शब्द निस्के । आफूलाई केही संयत पारिसकेपछि मैले फेरि भनेँ, ‘तिमी यस अवस्थामा भर्याङमा तलमाथि नै किन गर्छ्यौ ? चल्न पर्दैन यहाँबाट ।’
मेरो हत्केला उनको ढाडमा रगरगाइरहेको थियो । यसो हेरेँ, उनले आँखा चिम्लेकी थिइन्, कोस चिसा थिए, उनैको धोतीको सप्कोले पुछिदिएँ । उनले पुलुक्क मतिर हेरिन् र घुम्लुंग टाउकोसम्म ओढ्नेले ढाकिन् । म भन्न सक्दिनँ उनले यस्तो गरेको निदाउन हो वा कसैलाई नदेखाई निर्घात रुनको निमित्त हो ।
म फेरि आफ्नो थलामा बसेँ । कथाबाट आएको एक सय रुपियाँ जम्मै नै गौरीका एक्सरे, औषधि र खुराकमा खर्च गर्नुपर्छ । छुन पाउने हैन कसैले यसबाट एक कौडी पनि…।
मेरो यस कथामा पतिपत्नीको स्वास्थ्य खुब राम्रो हुनेछ, यी कहिल्यै बिरामी पर्ने छैनन् । ‘हो बाबु, हो राजा ! नरोऊ, अहिले के चिची, सबै थोक मगाइदिउँला,’ भित्र कोठाबाट फेरि गौरीको सुस्त आवाज आयो, ‘चुपचुप… बाबा लेख्न बस्नुभएको छ र पो त, सारा कुरो अहिल्यै आउँथ्यो ।’
पिरोल्नाको पनि हद हुन्छ । एउटा कथा लेखूँ भनेको किन चाहियो र… तर, तर ती अबोध केटाकेटीहरूलाई के हकि ? तिनीहरूलाई के पत्ता यसै पापा र चिचीको भुमरीमा परेको तिनीहरूको बाबा स्वयम् नै खेलौना बनिसकेको छ ।
मैले कागजलाई पर सारेँ, हातको कलम फ्यात्त त्यसैमाथि राखेँ र धेरै बेरसम्म यसै बसिरहेँ । तर के गरूँ ? रिस खा आफै त हो नि । समातेँ फेरि कलम र सोच्न थालेँ– मेरो यस कथाको निम्ति त एउटा बुबू, दुइटी सुसारे, दुईजना ददा गरी जम्मा पाँचजना राखिदिनुपर्छ ।
नत्थुले आमाचाहिँलाई यसरी पिरोलेझैँ कहिले हुन्थ्यो यसरी पिरोल्न दिन । त्यस ठिटोलाई त खेलौना, चकलेट, बिस्कुट पनि प्रशस्त दिनुपर्छ ।
‘हे राम ! यो कस्तो दिन देखायौ आज,’ पल्लो कोठामा बाथ भएर डल्लिएकी मेरी जननीको कण्ठबाट निस्क्यो । मनले मानेन, फ्यात्त कलम राखेँ र गएँ कोठामा, सँगै टाँसिएर बसेँ । दुईचार कुरा गरेँ । एक हप्ताभित्रैमा मेरो एक सय रुपियाँ हात पर्ने समाचार पनि सुनाएँ । आमाका पाँच औँला स्नेहले मेरो कपालमा रगरगाए, ‘हेर नि बाबु, पैसा आएपछि सबैथोक छाडी पहिले गौरीको औषधि हुनुपर्छ । मेरो चिन्ता तँ नगरेस्, म त अस्ताउन लागेको घाम हुँ…,’ आमाले भन्नुभयो । मेरो मन केही हलुको भएर आयो, दोब्बर उत्साहका साथ डटेँ, फेरि आएर कथामा ।
‘६ माना चामलको ६ मोहर, चौरासी पैसाको घिउ, सन्ताउन्न पैसाको तेल, बाईस पैसाको प्याज, बीस पैसाको गान्टे, दुई पैसाको जिम्बु, जम्मा भयो पाँच रुपियाँ एकचालीस पैसा, फिर्ता दियो साढे चार रुपियाँ । पार्यो क्यारे मोराले नौ पैसा हजम ! गरिदिनोस् न त त्यो कागजमा हिसाब,’ कथा लेख्न तयार पारेको कागजतिर चोरऔँला तेर्स्याउँदै टाँकुले भन्यो । यसो हेरेँ, झोला, पोका, पन्तरा, ठेकी अनगिन्ती चीजहरू अगल र बगलमा लिएर ऊ खडा थियो । झन्झट पन्छाई हालको निम्ति मैले त्यसै कागजमा चटपट अंक टिपेँ र जोड्न थालेँ । हिसाब निस्केपछि भनेँ, ‘नौ मात्र हैन, नपुग तेह्र पैसा हुन्छ ।’
‘मोराको टुप्पीको रौँ गन्दिनँ र,’ सारा सामान, हातको बाँकी पैसा सबै थपथप त्यहीँ राखेर कस्यो टाँकुले छाड्तोस् पसलतिर । मैले यसो हेरेँ केटाकेटी सबै त्यहीँ जम्मा भएका थिए ।
‘बाबा, मलाई हिसाब गर्न कागजै छैन त्यसैबाट म एक मोहर लिऊँ है ?,’ कमलीले बडो दीन स्वरमा भनी ।
‘मेरो पनि माने लेख्ने कापी,’ इन्दी बीचैमा बोली ।
‘बाबा, मेरो सिसाकलम खल्तीको प्वालबाट कहाँ खस्यो कहाँ, मलाई चाहिँ सिसाकलम । हेर्नोस् न, जे पनि यही प्वालबाट खस्छ,’ कमिजको खल्तीको प्वालबाट औँला बाहिर निकाल्दै बिनेले भन्यो ।
‘मलाई बिक्कु, निम्की है ?,’ तीन वर्षको नत्थुले काखमा आएर बसी मेरो चिउँडो हल्लाउँदै भन्यो ।
‘सुशी ! म उठ्नै सकिनँ । जाऊ बा, माथि सबै मालताल लिएर र भात बसाल्दै गर, भाइबैनी भोकाए,’ गौरीले भित्रबाट जेठी छोरीलाई अह्राइन् । सुशी सबै मालताल लिएर माथि हिँडी, केटाकेटी सबै उसैका पछि लागे । यस अगाडि मैले कहानीको प्लट सोच्न नै सकिनँ । म त्यसै टोलाएर बसिरहेँ ।
‘लौन, मलाई त भन्तुले मार्यो, पेट खाली भयो क्यारे, लाम्टै खोज्छ । खोइ ! दूध पनि ल्याएन, यस बेलासम्म । पैसा नभई भएन भन्थ्यो हिजो, गएको महिनाको सिंगै र यो महिनाको पनि आज यतिका दिन भइसक्यो,’ भन्तुको स्तनपानले आजित भएकी गौरीले भनिन् ।
म जुरुक्क उठेँ, आमाचाहिँको छातीमा मडारिरहेको भन्तुलाई थपक्क उचालेर लिएँ र बाहिर आएँ । ऊ मडारिन थाल्यो, म पहलकदमी गर्न थालेँ । केही बेरपछि ऊ रूँदारूँदा थाकेर मेरा काखमा टाउको अड्याएर निदायो पनि । विस्तारै लगेर आफ्नो थलानिर पल्टाइदिएँ र ओढनी ओढाएँ ।
ऊ निद्रित अवस्थामै केही चुसिरहेको थियो । मैले सोचेँ– विपनामा आमाको पुष्ट र भरिलो छातीबाट शायद ऊ पनि अहिले दूध अघाउञ्जेल खाएको सपना देखिरहेको होला । मानव स्वभाव कति विचित्र छ, जन्मेदेखि नै ऊ यसरी सपना देख्न जान्दछ र विपनाका अनेक अभाव र अतृप्तिलाई ऊ सँगालेर उसरी सपनामा पूरा गर्दछ । सपना देख्न नसके सायद मान्छेलाई बाँच्नै पनि मुस्किल पर्थ्यो होला !
म फेरि अब कथापट्टि सोच्न थालें, अँ, मेरो कथाका पात्रहरूलाई साहित्यिक बनाउने कि नबनाउने ? भो, नबनाउने । साहित्य र साहित्यकारको इज्जत हाम्रो देशमा कति पो भएको छ र ! कथाका पात्रलाई साहित्यिक बनाएर किन बेफ्वाँकमा फेरि कथाको इज्जत पनि घटाऊँ ।
यत्तिकैमा फेरि मेरी ठूली छोरी सूशी फुत्त कोठाभित्र आई । हेरेँ, कपालभरि सेतै खरानीका सेता कण छापिएका थिए । गाला, निधार सबै रागे र पाटे भएका थिए र आँखा दुवै राता र टलपल–टलपल ।
‘के भयो लाटी ?,’ मैले प्रश्न गरेँ ।
‘दाउरै बल्दैन । हामीहरूलाई स्कुल जान पनि बेर हुन्छ कि क्या ?,’ उसको स्वर रुन्चे थियो ।
‘अघि नै मलाई भन्न आउन पर्दैन त !,’ मैले भनेँ ।
‘ल, यहाँ भाइलाई हेरेर बसिरहू, मुखमा झिँगा बस्न नदिनू, भर्खर सुतेको छ, म जान्छु माथि,’ गौरीले भनिन् ।
‘तिमी बसिरहू आफ्नो ठाउँमा,’ मैले गौरीलाई आदेशको स्वरमा भनेँ ।
कलम, कागज थन्क्याएँ र पुगें हान्निदै चोटामा । चूह्लोबाट धुवाँ पत–पत उडिरहेकै थियो । दाउरा ठोसठास र झारझुर पारेँ र थालेँ फुक्न ढुंग्रीले । आगो बलेन, झन् फुकेँ, धुवाँ र खरानीले आँखा पिरा भए । धेरै बेरसम्म म त्यसै बसेँ । सोचेँ, नोकरीको सिलसिलामा आज फेरि मन्त्रालयमा सचिवसँग भेट्नु छ, कथा लेख्नु अब कुन बेला ? अनि फेरि सम्झेँ, गौरीको एक्सरे गर्नु छ, आमालाई बाथको औषधि चाहिएको छ, केटाकेटी सबै नांगे छन् । आफ्नै पनि जुत्ता छैन, भन्तुको दूध ल्याएन, पैसा तिर्नु छ, भोलिदेखि रासन छैन ।
फेरि झल्याँस्स सम्झेँ, म त भात पकाउन पो बसेको छु । चूह्लोतिर हेरेँ, ठीक मेरो मन उडेझैँ उडिरहेको थियो । म एकटङ्कारसँग हेरिरहेँ, हेरि नै रहें । तल कोठामा भन्तु उठेर फेरि रुन थालेको थियो । गौरीको खोकी पनि बढिरहेको थियो । सुशी भाइ फुल्याउने प्रयास कराई–कराई गरिरहेकी थिई । आमाको वेदनाको अस्पष्ट हुँक्का पनि सुनिँदो थियो ।
टाँकु पनि सायद तेह्र पैसाको निम्ति पसलेसँग जुझिरहेकै होला । झिम्म नगरीकन सायद एक टक हेरिहेकोबाट हो क्यारे आँखा पिरा र रसिला भएजस्तो लाग्यो । झिम्म गरेँ, आँखाबाट ‘तप्प’ दुई थोपा खसे । मैले ढुंग्री समाते र चूह्लोमा एउटा लामो सास हालेँ । आगो हुर्र बल्यो । फर्केर यसो हेरेँ, मेरो परिवारका अरू ६ सदस्यहरू भात पाक्ने प्रतीक्षामा शान्त भएर सुकुलमा टक्र्याक् टुक्रुक्क बसेका थिए ।
चूह्लोतिर हेरेँ, आगो दन्किरहेको थियो । अनि मैले दाल र भात बसालेँ । नयाँ कथाको प्लट मनैमा रह्यो, लेखिएन ।
(‘प्रज्ञा आधुनिक नेपाली कथा’ बाट ।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
