तिनको नाउँ थियो पवित्रा । आँखा तानिएका, घाँटी गाँडले विकृत भएको, देब्रे गोडा दाहिनेभन्दा सानो भएकोले हिँड्दा खोच्याएर हिँड्नुपर्ने । ईश्वरको यो राम्रो सृष्टिमा पवित्रा यस्ती एउटी प्राणी थिइन्, तिनलाई बाहुनी भनीकन भात पकाउने ठाउँ पस्न दिनु हिन्दु धर्मको खिसी गर्नुजस्तो थियो, तर तिनी केशवदेवकी भान्छे बाहुनी थिइन् । र पालैसँग तिनकी सुसारे, भाँडा माझ्ने, कुचो लाउने नोकर्नी र भान्छे बाहुनी हुन्थिन् ।

केशवदेवले तिनलाई बुइँगलमा एउटा कोठा दिएका थिए । एकदुई चोटि त्यो कोठामा चियाउने मौका पर्दा एउटा गुन्द्री, त्यसमा बिछ्‌याउने र ओढ्ने दुवै काम चल्ने एउटा ठूलो पाखी र ननिसास्सिऊन् भन्ने उद्देश्यले भित्तामा प्वाल पारी बनाएको हावा जाने दुलोमा एउटा केशवदेवको थोत्रो काइँयो र एउटा मालीमा तेल भएको तिनले देखेका हुन् ।

तिनी एक्लै थिए र कसरी पवित्रा तिनको गृहस्थीको अङ्ग हुन आइन्, उनीले आफै बिर्सिसके तर अब तिनको सट्टा अर्की सुग्घर बाहुनी राखूँ भन्ने विचार हुँदा पवित्रामाथि करुणा लाग्थ्यो र केशवदेवले तिनलाई निकाल्न सक्तैनथे ।

केशवदेव जागीरे थिए, दिनभरि अड्डामा हुन्थे । बाहुनी तिनको सारा काम गर्थिन् । बिहान झिसमिसमा उठी सडकको धारोमा नुहाई केशवदेवलाई नुहाउन पानी भरेर कौसीमा राख्थिन्, फेरि पूजाकोठाको सामग्री ठिक्क पार्थिन् । अनि कोठामा कुचो लाएर भात पकाउने तर्खरमा लाग्थिन् । खाटबाट उभिँदा कोठा मचक्क थर्कन्थ्यो कि केशवदेव उठेको उनलाई थाहा भैहाल्थ्यो ।

केशवदेव बडो नियमित रूपसँग सधैं एउटै समयमा उठ्थे र पवित्रालाई तिनको उठ्ने समय थाहा थियो । पवित्रा हतपताएर दिसा जाने लोटामा पानी राखिदिन्थिन् र कौसीमा आएर साबुन, माटो, धोती, रूमाल राखिदिन्थिन् । हात धुवाउँदा सोद्धथिन्- “राति निद्रा राम्ररी पर्यो, बाबु ? राति किन त्यतिबेर पढिरहेको, दिनभरि काम गर्यो र राति पनि धेरै जाग्राम बस्यो भने त आँत टुट्छ,” चिन्तित भएर तिनी भन्दै जान्थिन् । केशवदेव उत्तर दिन्थे – “राति गर्मी थियो, निद्रा चाँडै परेन ।”

“गर्मी त के भन्नु, नेपालमा हिजोको जस्तो गर्मी भएको कहिले थाहा थिएन,’ पवित्राले भनिन् र करुवाको टुटीबाट पानी खसाल्दै विचार गर्न थालिन् राति उनको कोठाका झ्यालहरू खुला राख्न बिर्सिन्, गर्मी पनि कति परेको, बिस्तारबिस्तार नेपाल त मधेसजस्तो हुन थाल्यो । भन्छन्, कलिमा सारा दुनियाँमा गर्मी बढ्छ रे ।

भात खाने बेलामा केशवदेवले भने- “दालमा नून पुगेको छैन ।”

पवित्राले घाँटीबाट ऊँटले कराएको जस्तो ध्वनि निकालिन् र जिब्रो काटिन् । तिनको आँखा सिलौटामा पिँधेको नूनमा पर्यो । कामको अलमलले नून हाल्न बिर्सिछन् । हतपताएर सिलौटामा नून ल्याएर केशवदेवले थालको कुनामा हालिदिइन् । “आज बाबुले खानै सक्नु भएन । म पनि कस्तो हुस्सु, सबै काम यसै गरेर बिगार्छु ।”

जब केशवदेव अड्डा जान भनेर लुगा लाउन थालेका थिए, पवित्राले एक कचौरा ढकनी बनाएर ल्याइन् । “बाबुले जिउनार भएन, भोकै कसरी अड्डा जाने भनेर यति पकाएर ल्याएकी,” कचौरालाई लुगा लाइरहेका केशवदेवको गोडानेर राखेर आफू ढोकाको कुनामा उभिएर पवित्राले भनिन् ।

बाबु अड्डा जानेबित्तिकै तिनी तलको ढोका लाएर कौसीमा भाँडा माझ्न थाल्छिन् । रछानका भातका सिता टिप्न भनेर कौवाहरू झुम्मिन्थे । कौवा जब तिनको हातैबाट सिता टिपुँलाजस्तो गर्थे, तब मात्र तिनी कौवाहरू धपाउन तत्पर हुन्थिन् । जति चोटि धपायो उति चोटि त कौवाहरू टाढाटाढा जान्छे तर फेरि पछि नजिकै आई सिता टिप्न थाल्थे । अनि पवित्राको क्रोधको सीमा रहँदैनथ्यो । धपाउन छाडेर गाली गर्न थाल्छिन्- “मोरा कीरा परेका…।”

छिमेकको घरको कौसीमा एउटी नेवारकी स्वास्नी पनि भाँडा माझिरहेकी हुन्थी । त्यो भन्न थाल्थी, “हेर कस्तो नकच्चरो कौवा रहेछ । एक्लै भएकी पवित्रा बज्यैलाई दुःख दिँदोरहेछ । बाजे पनि हुनुहुन्न ।”

पवित्रा त्यो सहानुभूतिको शब्द सुनेर भन्न थाल्छिन्, ‘बाबु त अड्डा जानुभएको छ । दिनभरि अड्डामा काम गर्दागर्दा थाकेर पाल्नुहुन्छ । राति गर्मीले निद्रा पर्दैन । अड्डाको सारा काम उहाँले नै गर्नुपर्छ । अरू सब कारिन्दा बगमफुसे छन् । उहाँ नभए त कामै थामिन्छ । नेपाल राज्यभरिको सबभन्दा गाह्रो काम गर्नुपर्छ । भन्सार अड्डाले नेपालबाट जाने, नेपालभित्र पस्ने मालको हिसाब राख्नुपर्छ । केही बिराउनुभयो भने आफ्नो टाउकोमा । आरा फेरि कति थोरै छ नि ! अलिकति केही चुक भयो भने भातै रुच्दैन । हाम्रो बाबुले धेरै पढ्‌नुभएको छ । सब पास सिध्याउनुभएको छ । अङ्ग्रेजी पढ्न साह्रै गाहारो हुन्छ । भित्र शरीर तोडिदिन्छ ।”

बेलुकाको भात पकाउन चाहिने पानी लिन धारामा जाँदा छिमेकका अरू नोकर्नीचाकर्नीहरू पानी भरिरहेका थिए । पवित्राले पर्खनुपर्यो । नजिकैको ठूलो ढु‌ङ्गोमाथि बसेर भन्न थालिन्, “अचेल नेपालमा मधेसकै जस्तो गर्मी पर्न थालिरहेछ । रातभरि उकुसमुकुस हुन्छ ।”

पानीको गाग्री कम्मरमा राखेर सिँढी उक्लनै आँटेकी थिइन्, दुईतीन वटा मानिसले ‘केशवजी हुनुहुन्छ ?’ भनेर सोधे । यिनीहरू एउटै अड्डामा काम गर्ने मानिसजस्ता थिए । पवित्राले झोंकले हेरेर उत्तर दिइन्, “हुनुहुन्न हुनुहुन्न ।”

भुतभुताउँदै माथि उक्लिन्, “यी कहाँका नाठाहरू आएर बाबुको समय नष्ट गर्छन् ।” केशवदेव माथि नै थिए, अड्डाबाट आएर तमाखु खाइरहेका थिए । पवित्रालाई कोही आएको मन पर्दैनथ्यो । गाग्रीलाई भान्सामा राखेर केशवदेव भएनेर गएर भनिन्, “अहिले दुईतीन मानिस आएका थिए । मैले हुनुहुन्न भनेर पठाइदिएँ । एकछिन पनि बाबुलाई फुर्सत दिँदैनन् ।”

केशवदेव एकछिन नबोली बसे, फेरि बिस्तारै भने, “आएका मानिसहरूलाई त्यसरी फर्काउनु हुन्न । यो बानी बडो नजाती हो ।”

पवित्रा आफूलाई धिक्कार्दै फर्किन् । घरमा आएका अतिथिलाई फर्काउनु हुँदैन । यो त साह्रै नराम्रो बानी हो, अलच्छिन लाग्छ । भोलिदेखि कसैले तल ढोका ढ्याकढ्याक गर्यो भने निर्धा गोडाले सकेसम्म दगुरेर स्वाँस्वाँ फ्वाँफ्वाँ गर्दै तल ओर्लेर भन्थिन्, “बाबु त अहिले घरमा हुनुहुन्न । माथि पाल्नुहोस् न, एकछिन बस्नुहोस् । अब बाबुको अड्‌डाबाट आउने बेला भो ।”

जब तिनले सुनिन्, बाबुले एउटी केटीको तस्वीर हेरेर उनीसँग बिहा गर्ने निश्चय गरे, उनलाई भयानक दुःख भयो । दिनभरि कसैसँग नबोली आफ्नो काम गरिरहिन् र राति सारा शरीरमा दर्द भयो । ज्वरांश पनि थियो । तर भोलि बिहान सधैंको जस्तो झिसमिसेमा उठेर धारोमा पानी भर्न पुगिन् ।

भन्न थालिन्, “अब हाम्रो बाबुको चाँडै बिहा हुन्छ ।

धेरै तस्वीरमा छानिएकी केटी छन् । ठीक गुलाफजस्तो अनुहार छ ।”

भाँडा मस्काइरहेको बेलामा छिमेकको कौसीमा भाँडा माझ्न लागेकी नेवार्नीलाई सम्बोधन गरेर पवित्राले भनिन्, ‘सुन्यौ, हाम्रो बाबुको बिहा हुन्छ । केटी आँखामा राखूँजस्ती छन् ।”

नेवार्नीले जिस्क्याएर भनिन्, “ए, अब तिम्री सीता आउने भइन् ?”

पवित्राको कण्ठबाट अत्याहटको एउटा ध्वनि मात्र निस्क्यो । फेरि ह्याह्या गरेर हाँसेर भनिन्, “धत् !”

र, धेरैबेरसम्म अनौठा ढङ्गसँग हाँसी मात्र रहिन्- ह्या…. ह्या… ।

मालिक जब घरमा आए, पवित्राले बिस्तारै भनिन्, “यतिका वर्ष भो, मैले तलब पाएकी छैन ।”

केशवदेवले भने, “सारा तलब मैले ब्याङ्कमा राखिदिएको छु, तिमीलाई चाहियो र अहिले ? किन ?”

पवित्राले अर्कैतिर मुख फर्काएर उत्तर दिइन्, “हामी खर्च गर्छौं ।”

हामीको, हा सोझै कण्ठबाट आएको थियो । मुख अर्कातिर फर्काएकी हुनाले केशवदेवले केवल गलगण्ड मात्र देख्न पाउँथे ।

भोलिपल्ट पोल्टोमा आफ्नो जीवनको सारा कमाइ लिएर पहिले वाँडाकहाँ गइन् । “दाइ, मलाई सुनका चारवटा चुरा बनाइदेऊ । अचेलका मानिसले लाउनेजस्तो हुनुपर्छ । खूब राम्रो बनाउनू है !”

यति भनेर पोल्टोबाट रुपियाँ खन्याइन् । बाँकी रहेको रुपियाँ लिएर लुगाको पसलमा पुगिन् । “मलाई एउटा राम्रो फरिया देऊ सिलिकको र एउटा राम्रो चोलो ढाकाको । तिम्रो पसलको सबभन्दा राम्रो लुगा दिनू ।”

पोल्टोमा बाँकी रहेका सारा रुपियाँ पसलेको अगाडि खन्याइदिइन् ।

बिहाको दिन तिनको फुर्ती हेर्न लायकको थियो । यताउति गरिरहन्थिन् । एकछिन स्थिर बस्न सक्तिन थिइन् । कोठालाई लिपिन्, पोतिन्, राति छिमेकका नोकर्नीहरूलाई बोलाइन्, भोज खुवाइन् र रत्यौली खेल्न थालिन् । एउटी मयलपोश सुरुवाल लाएर दुलहा बनी, जुँघा नभएको ओठ मुसार्दै भन्न थाली, “म दुलहा हुँ, मसँग को बिहा गर्छ ?”

त्यहाँ बसेका नोकर्नीहरूलाई यो बडो हँस्यौली थियो । सबै हाँसे । पवित्राको ह्याह्या पछिसम्म सुनिन्थ्यो । पवित्रा जरुक्क उठेर आफ्नो कोठाभित्र पसिन् र ढाकाको चोलो र रेशमी फरिया लाएर आइन् र भनिन्, ‘म तिमीसँग बिहा गर्छु ।‘

फेरि सबै कोलाहल मच्चाउँदै हाँस्न थाले । दुलहा हुने मायाको भाव देखाउँदै दुलही भएकी पवित्रालाई आलिङ्गन गर्न अगाडि बढी । पवित्रा लाज मान्ने भाव देखाउँदा देखाउँदै दुलहा बन्नेको गोडामा परेर रुन पो थालिन् । सबै जना छक्क परे ।

पवित्रा हुँक्कहुँक्क गरेर खूब रोइन् । एकछिनपछि बिस्तारबिस्तार उठेर आफ्नो कोठाभित्र पसिन् र भित्रबाट ढोका लाइन् ।

भोलिपल्ट दुलही ल्याउने दिन पवित्रा सधैंकी जस्ती प्रसन्न थिइन् । आफ्नो सबभन्दा राम्रो लुगा लाएर, कपाल कोरेर, ढोकामा दुइटा गाग्रोमा पानी राखेर दुलहा र दुलहीलाई स्वागत गर्न ढोकामा आइन् र उभिइन् । केशव पहिले तामदानबाट ओर्ले । पछि उनकी पत्नी ओर्लिन् । दुलहा अघिअघि, दुलही पछिपछि आफ्नो घरभित्र पसे । पवित्रा ढोकाको एउटा कुनामा उभिएर ह्याह्या हाँसिरहिन् ।

कोठामा केशवदेव उभिरहेका थिए । उनैनेर लाजले एउटा पोको जस्तो भएर बिहाको लुगा लाएकी तिनकी पत्नी थिइन् । पवित्राले बिस्तारै कोठाभित्र पसेर केशवदेवलाई सम्बोधन गरेर भनिन्, “यो उहाँलाई मैले टक्र्याएको ।”

यति भनेर पवित्रा खोच्याउँदै कोठाबाट निस्किन् । दुलहीले निहुरेर पवित्राले छाडेर गएको चुरालाई हेरिरहिन् । केशवदेव चुरालाई उठाएर औंलामा नचाउन थाले र घोरिए ।

बिहाको रमझम सिद्धिएपछि पत्नीले गृहस्थीमा आफ्नो स्थान लिइन् । भान्सामा तिनी आफै बस्न थालिन् । पवित्राले बाहुनीको काम गर्नु परेन । कोठामा कुचो लाउनु, पानी भर्नु र भाँडा माझ्ने काम मात्र बाँकी रह्यो । तर उनी भान्सामा आएर दुलहीले पकाएको हेर्थिन् र भन्थिन्, “बाबुलाई त्यसरी पकाएको मन पर्दैन, तेलमसला धेरै हाल्नु हुँदैन । रामतोरियामा पानी हालेको उहाँलाई घिन लाग्छ । त्यसलाई भुट्नु पो त पर्छ । तिहुनमा नून धेरै नहाल्नुहोस्, बरु बिलिनै असल मान्नुहुन्छ । दूध एक भल्को मात्र उम्लेको, चिनी थोरै परेको ।”

नयाँ दुलहीले काम बिगार्दा फरियाको फुर्को मुखमा बुजो हालेर उता फर्केर हाँस्थिन् ।

दिउँसो भाँडा माझ्दा छिमेककी नेवार्नीलाई भन्थिन्, “बूढी हुन थालिछु । चाँडै थाक्छु । पानी ओसार्दा स्वाँस्वाँ हुन्छ । राति जीउ कट्‌कटी खान्छ । अब कक्रक्क परेर गुँडुलिएर बस्नुपर्ने भएछ ।”