बिहेको कुरो हुँदाहुँदै पनि भोकहरूसित सम्झौता गरेकी थिइन देविकाले । उसलाई ज्ञात थियो सपना जति सजिलै देखिन्छ विपना त्यति नै गाह्रो भोगिन्छ । बिहे हुनुअघि सपना नदेखेकी पनि होइन उसले ।  धेरै सपना बुनेकी थिई । तर यथार्थसित उसले सपनाको सम्झौता गरिन् । यसरी वर्तमानमा उसले दाम्पत्य जीवनमा सुरजलाई भने सम्मको साथ दिन्छे ।

एकपटक त्यस्तै कुरामा बिहेअघि आमासित चित्त दुखाई प्याच्चै भनेकी थिई, ‘बिहे गरेर गएपछि तिमीहरूको आँगनमा टेक्दा पनि टेक्दिनँ ।’

देविकाको यस वाक्यले उसलाई मुखाली पुष्टि गर्‍यो । एसो बुझ्दा ऊ मुखाली कहिल्यै थिइन र आज पनि छैन । उसको यो भनाइमा त उसले आफ्नो सपना दर्शाएकी थिई । एउटी अविवाहित नारीले दाम्पत्य जीवनको मीठो सपना  देखे सरी उसले पनि देखेकी थिई सपना… ।

सुरजसित उसको बिहे भयो । बिहेपछि उसको सपना,

सपना नै  रह्यो वा विपना, त्यो त देविका बाहेक उसको पति सुरजलाई पनि थाहा नहोला ।

सुरज राम्रो लेखक, कहलिएको कवि, समाजमा नाम भएको मान्छे ! तर यो समाजमा कवि पेशा होइन रहेछ । पेशाले सुरज बेरोजगार । जिन्दगीको विविध रङसँग सम्झौता गरेर सुरजलाई अपनाए पनि देविकाले भोकहरूसित सम्झौता कहिल्यै गरेकी थिइन । यद्यपि उसको दाम्पत्य जीवनको कतिपय दिन भोकभोकै बिते ।

विभिन्न पत्र पत्रिकाको नियमित नाम सुरजको कविताले यो समाजमा निकै भाउ पाए पनि आजसम्म व्यावसायिक रूपले उसको कविताले भाउ पाएको छैन । ऊ आफै पनि आफ्नो साहित्यलाई व्यावसायिक बनाउन चाहँदैन । उसको साहित्यप्रतिको लगन र मायाले सफल लेखक भए पनि दाम्पत्य जीवन ओभानै छ उसको ।

यस्तो स्थितिमा देविकाले भोकहरू कति सहिन् कति । भोकै सुत्थी देविका तर पतिलाई विरोध गर्दिन थिई । पतिको विरोध नगर्नु उनको बाध्यता हो वा पतिव्रता, या त माया, यो उसैले मात्र जान्दछे ।

आज पनि देविका चिसो चूह्लोअघि बसेकी छे । भाँडाहरू रित्ता छन् । उसका आँखा भने अविरल बगिरहेछ मेची महाकाली सरह । सुरज घर आइपुगेको छैन । निकै बेरपछि कोठामा चुरोटको गन्ध पस्छ । चुरोट गनाउनु सुरजको आगमनको सूचना हो । पछि फर्केर हेर्छे सुरजलाई । पलङमा बसी सरसर  फुक्दैछ चुरोट । यतिका दिनसम्म ठूलो स्वरमा नबोलेकी देविकाले अचानक भयानक रूपमा बोल्छे, “कति दिन चल्छ यसरी ?”

चूपचाप टोलाइदिन्छ सुरज, जवाफ दिन उचित नठाने जस्तो गरी । अझ कर्कश स्वरमा थप्छे देविका, “खै के गर्‍यो तपाईंको कविताले ? सुतिरहेकालाई जगायो, अनि कतिको भोक मेटायो तपाईंको कविताले ?”

“तिमीलाई बोल्न सिकायो मेरो कविताले,” गम्भीर उत्तर दिन्छ  पत्नीलाई सुरज ।”तपाईंका यो दार्शनिक अनि भावनात्मक जवाफले मेरो भोक मेट्दैन । शायद तपाईंलाई थाहा छैन तपाईं जति नै जगाउन खोज्नुहोस्, सुतेकाहरू उठ्दैनन् । उनीहरूलाई सपनासित खेल्ने बानी परिसकेको छ अनि जसले झकझकाए पनि सपना देख्नहरू सुती नै बस्छन् । तपाईं जति नै लड्नुहोस्, भोकहरू विद्रोह बोल्दैनन् । विद्रोह गर्ने आँट उसैले मात्रै  गर्छ जसको भकारी सुरक्षित छ, जसको पेटमा टन्न छ अन्न ।”

पतिको छोटो जवाफलाई आज जीवनमा पहिलो पटक जमेर विरोध गर्छे देविका । तर पत्नीको विरोधात्मक स्वरहरू सुरजको कानबाट छिरेपछि उल्टै समर्थनमा बोलिदिन्छ सुरज, “यही त म बुझाउन चाहन्छु देविका ! तर तिमीले बुझेको कुरा अरूले किन बुझ्दैनन् ? भोकहरूले पनि क्रान्ति गर्नुपर्छ, विद्रोहात्मक शब्दहरू ओकल्नुपर्छ । कसैको पेटमा मात्र होइन भकारीभरि नै अन्न हुन्छ भने कसैलाई एक पेट समेत अन्न हुन्न । भोकहरू भकारी विरुद्ध उठ्नुपर्छ, देविका ! उठ्नुपर्छ ।”

“शब्द पोख्न जति सजिलो छ जीवनमा त्यसलाई उतार्न त्यति नै गाह्रो छ । तपाईंका शब्दहरू सोह्रै आना सत्य भए पनि आज तपाईंको घरमा दुई भोक छन् जुन भोकमा अन्न भर्ने जिम्मा तपाईंले लिनुभएको छ,”  देविका अझ आगो बन्छे ।

“तिमी र म ?”

“तपाईं भोकै हुनुहुन्छ भन्ने म पत्याउँदिनँ । यदि भोको हुनुहुँदो हो त भोकको मर्म बुझ्नुपर्ने ।”

“त्यसो भए तिमी बाहेक को भोकै छ यस घरमा ?”

“यदि भोक तपाईंको घरको यथार्थ हो भने म हुँ तपाईंको घर । तर तपाईंको घर मात्र होइन तपाईंको भविष्य पनि भोकै छ आज ।”

“तिमीले भन्न खोजेको मैले केही बुझिनँ प्रष्ट भन ।”

“तपाईंले भन्न खोजेको पनि त यो समाजले बुझ्दैन । हुन सक्छ बुझेर पनि अबुझ बन्छ । तर यो प्रष्ट बताइदिएकी छु तपाईंको भविष्य भोकै छ आज मभित्र ।”

“किन तिमी कुरा घुमाउँदैछौ ? स्पष्ट बोल ।”

“म बाहेक मेरो पेटमा हुर्किरहेको तपाईंको बच्चा भोकै छ आज । अब कविता कोरेर भोकहरूलाई भकारी विरुद्ध आवाज उठाउन लाउने हो कि आफ्नो भविष्यको पेट भर्ने हो तपाईं नै जान्नुहोस् ।”

देविका आफ्नो तर्कको निष्कर्ष नलिई अर्को कोठातिर लाग्छे । आफ्नो सन्तान देविकाको पेटमा हुर्कंदै गरेको चाल पाएर आनन्दमय बन्छ सुरज र पत्नीको पेट छाम्न लाग्छ । तर पत्नीको पेटमा आफ्नो सन्तान मात्र होइन भोक पनि छ भन्ने आभास गरेर फुत्त बाहिरिन्छ अनि केही क्षणमा खानेकुरा लिएर आइपुग्छ सुरज ।

अचेल सुरजले कविता लेखनीबाट टाढिएकोछ । गुमनाम छ कविताको संसारबाट सुरज । उसलाई आफ्नो भविष्य बनाउने प्रखर भोक छ साथै कविता लेख्ने भोक पनि उत्तिकै दबिएर रहेको छ । देविकाको पेटको भोक मेटिए पनि छोरालाई डाक्टर बनाउने भोकको लागि निरन्तर तल्लीन नै भइरहन्छ ।

दिपेन्द्र आचार्य “सुमी”

इलाम