पिँजडालाई नै आकाश सम्झिने चराले उड्ने सपना देख्न थाले के हुन्छ ? दुनियाँको नजरमा पागल हुन्छ । शिवराज त्यस्तै पागल थिए, जो चियाबारीको पिँजडामा बस्थे । तैपनि उड्ने सपना देखिरहन्थे ।

हो, चिया बगान पिँजडा नै त हो, जहाँ खुशीका पखेटाधरि मालिकको इसारामा फर्फराइन्छ । जीवनको गीतधरि कम्पनीको इसारामा गाइन्छ । यस्तो कमानमा पनि कसैलाई हाइसोक हुन सक्थ्यो र ? सक्थ्यो भने त्यो केवल शिवराजलाई मात्रै हुन सक्थ्यो । किनकि उनी जहिले आफ्नै दुनियाँमा बिन्दास हुन्थे ।

शिवराजलाई बिहान पाँच बजे नै उठ्नुपर्छ भन्ने थिएन । सात बजे कमान पुग्नुपर्छ भन्ने थिएन । हाजिराका निम्ति महिनौं पर्खिनुपर्छ भन्ने थिएन । साहेबले कराउँछ कि भन्ने डर बोकेर हिँड्नु थिएन । कामदारले थर्काउँछ कि भन्ने चिन्ता पनि थिएन । किनकि शिवराजलाई जिन्दगीकै सरोकार थिएन ।

एउटा खुइलिएको पाइन्ट लगाएर शिवराज हप्तौं बिताइदिन सक्थे । च्यातिएको कमिज लगाएरै जहाँ पनि पुगिदिन सक्थे । एक जोडी पुराना चप्पलमा उभिएको उनको जिन्दगीको मक्सद भनेकै अरुको दुःखको दरखास्त लेखिदिनु मात्रै थियो ।

शिवराजको अनुहार बेहद सुन्दर थिएन ।

उनी गोरो थिएनन् । तर कालो पनि थिएनन् । उनका आँखा ठूला–ठूला थिए । नाक थोरै अग्लो थियो । दाह्रीजुँगा हमेसा काटेर हिँड्थे । तर केश अलि लामो राखेका थिए । बीचमा छुट्याएर सपक्क कोरेर हिँड्थे । पैंसट्ठी वर्षको उमेरमा पनि उनको कपाल हेरिरहूँ जस्तो थियो । कानतिरको कपाल बलिउड हिरो देवानन्दको जस्तो हल्का घुमेको थियो ।

एक समय शिवराजको कपाल झर्न थालेको थियो । त्यही बेला उनले मेथी पिसेर नरिवलको तेलसँग टाउकोमा धस्न थालेका थिए । कपाल फेरि हर्लक्क बढेर आएको थियो । त्यही भएर त साठी नाघिसक्दा पनि शिवराजको कपाल हेरिरहूँ जस्तै देखिन्थ्यो । उनी त्यही कपाल हल्लाउँदै एक्लै हिँडिरहन्थे ।

अँ, शिवराजसँग जहिल्यै एउटा पुरानो झोला हुन्थ्यो, जहाँ केही न केही हुन्थ्यो । झोलामा नअटेको कागज डल्लो पारेर कमेजको गोजीमा खाँद्थे । अनि चप्पल पड्काउँदै उनी चिया कमान पसेर कविता लेख्न थाल्थे ।

शिवराज कविता लेख्थे । किताब पढ्थे । जब पढेको कुरा उनको सोचसँग मिल्दैनथ्यो, चिया बगानमा पसेर एक्लै बरबराउन थाल्थे । किनकि त्यहाँ उनको कुरा बुझ्न सक्ने अर्को कोही थिएन । कमिजको गोजीमा किताब खाँदेर जब शिवराज बरबराउँदै हिँड्न थाल्थे, तब कमानेहरू कानेखुशी गर्थे, “शिवराज पागल भएकै हो ।” तर शिवराजलाई त्यसको सरोकार थिएन । किनकि साह्रोगाह्रो पर्दा तिनै पागल भन्नेहरू नै सबैभन्दा पहिले दरखास्त लेखाउन शिवराजकहाँ आइपुग्थे ।

कमानकाहरूलाई दुःख पर्दा सरकारी अफिस पुग्नुपरोस्, शिवराज नै अघि हुन्थे । केस परेर कोर्ट धाउनुपरोस्, वकिलसँग गफ गर्ने शिवराज नै हुन्थे । रासन कार्डका निम्ति दरखास्त लेख्नुपरोस्, ग्राम पञ्चायत दगुर्ने शिवराज नै हुन्थे ।

यति गरेर उनले पाउँछन् चैं के ? अहँ केही पाउँदैनथे । र उनलाई केही पाउनु पनि थिएन । उनी कसैबाट काम गरेको एक रूपैयाँ पनि लिँदैनथे । कसैले पैसा दिन खोजे उल्टै हपार्थे,  “मभन्दा गरीबको पैसा मैले कसरी लिनु ? मलाई पैसाको जरूरत नै छैन । त्यो कागजको थुप्रो राखेर मैले के चैं गर्नु । लु भन् ता ?”

शिवराजको जिन्दगी खोलाको माछाको जस्तै थियो । कहिले कहाँ, कहिले कहाँ दगुरिरहन्थे । उनीसँग छटपटी थियो । अभाव थियो । बेचेनी थियो । त्यसैले पैंसट्ठी वर्ष पुगिसक्दा पनि घण्टौं नयाँ कुरा सोचिरहन्थे । यो उनको पुरानो रोग थियो, जसले उनलाई कहिल्यै सन्चोले निदाउनै दिँदैनथ्यो ।

माचिसका सय ओटा सिन्का एक–एक गर्दै कसरी सबैभन्दा छिटो जलाउन सकिन्छ ? सय ओटा ममबत्ती कसरी एकैसाथ दुई मिनेटमा निभाउन सकिन्छ ? उनको दिमागमा हरसमय यस्तै कुरा घुमिरहन्थे । किनकि मर्नुअघि उनलाई विश्व रेकर्डहरू आफ्नो नाममा दर्ता गराउनु थियो ।

कविता लेख्यो । अर्काको दुःखको दरखास्त लेख्यो । अनि विश्व रेकर्डबारे सोच्यो, बस्यो । चियाको तलतल लागे नुनचिया पियो । शिवराजको दिन यसरी नै बित्ने गर्थ्यो ।

शिवराजको जीवन पहिल्यैदेखि यति फुस्रो थियो र ?

होइन नि । एउटा समय थियो, जतिखेर उनको जीवन रङ्गीन थियो । उनी रक्सी पिउँथे । प्रेम गर्थे । पार्टी गर्थे । मन परेको गीत रातभरि गुनगुनाउँथे ।

तर अचेल उनी रक्सी छुँदैनथे । उनले रक्सी छाडेको तीस वर्ष भइसकेको थियो । “प्रेम गर्नेहरूले त मलाई छाडेर गए, यो रक्सीलाई चैं मैले किन प्रेम गरिरहने ?” शिवराज जहिले भन्थे र हाँसिरहन्थे ।

बैंस छँदैको कुरा हो । पढाइ सकेर शिवराज कालेबुङबाट डुवर्स फर्किएका थिए । उनले केही दिन दुई ओटा अङ्ग्रेजी स्कुलमा पढाए । फेरि के मन लाग्यो कुन्नि, सब छाडेर रामझोडा हाइस्कुल आइपुगे । त्यहाँ उनको भेट भोटेनी गुरूमासँग भयो, जसले हिसाब पढाउँथिन् ।

गाह्रो विषय पढाउने भोटेनी गुरूमा खुब सरल थिइन् । जति सरल थिइन्, त्यति नै राम्री पनि थिइन् । कति राम्री भने नि, हेर्दा–हेर्दै उनको नाममा शिवराज दर्जनौं कविता लेख्न तयार भए ।

अङ्ग्रेजी पढाउने शिवराज बिस्तारै भोटेनी गुरूमाको नजिक, अझै नजिक पुगे । त्यो उमेर नै त्यस्तो थियो— न शिवराजको भूल थियो, न गुरूमाको दोष थियो । दुवै प्रेममा परे । पागल भए । समाजको पर्वाह गर्न छाडिदिए । दिनहुँ चिठी लेख्न थाले । हप्तैपिच्छे भागेर बिरपाडाको ओम सिनेमा हल पुग्न थाले ।

हो, मैले अघि नै भनें नि, शिवराज कहीँ अल्झिने किसिमको मान्छे हुँदै होइनन् । उनी त एक ठाउँदेखि अर्को ठाउँ दगुरिरहने मान्छे हुन् । त्यही भएर उनले कहिल्यै जीवनमा केही स्थायी काम गर्नै सकेनन् । स्कुल चार ठाउँ पढेर सके । त्यसपछि काम गर्न पनि चारतिर दगुरिरहे । यो स्कुलदेखि त्यो स्कुल गरिरहे ।

त्यसो भए शिवराजको जीवनमा स्थायी कुरा के थियो त ? त्यो त केवल त्यही भोटेनी गुरूमाको प्रेम थियो । शिवराज जीवनमा कहीँ सबैभन्दा धेर अल्झिएका थिए भने त्यो त्यही प्रेमको बाटोमै अल्झिएका थिए ।

जब भोटेनी गुरूमाको नजिक, अझै नजिक शिवराज पुगे, उनले जीवनको हरथोक भुले । कविताका हरफ भुले । चियाको मुना पलाएर आए झैं उनका सपना ह्वारह्वारती पलाएर आउन थाले ।

तर वर्ष दिन पुग्नै लाग्दा उनीहरूबीच नयाँ उल्झन आइदियो । भोटेनी गुरूमाको परिवारले नेवार सरसँग बिहे नगर्ने दबाब बनाउन थाल्यो । त्यहाँ जातको प्रश्न थियो । शिवराजको घरको हालतको प्रश्न थियो । बेरोजगारीको प्रश्न थियो । अनि सबैभन्दा धेर त शिवराजकै जिन्दगी जिउने तरिकाको प्रश्न थियो । किनकि उनलाई कसैको सरोकार थिएन । आफ्नै जीवनको पनि सरोकार थिएन ।

प्रेमको सबैभन्दा ठूलो तागत यही त हो नि । आफ्नै जीवनसँग सरोकार नराख्नेहरू पनि जब प्रेममा पर्छन्, अरुको जीवनको सरोकार राख्न थाल्छन् ।

शिवराज प्रेममा त्यस्तै भइसकेका थिए ।

तर शिवराजको भाग्यलाई यी सब कुराको कुनै सरोकार नै थिएन ।

अनि ?

शिवराजको जिन्दगीमा त्यही भयो, जो कहिले नहुनु थियो । भोटेनी गुरूमासँगका भेटघाट बिस्तारै पातलिँदै गए । चिठीहरू हराउँदै गए । जीवनमा सुस्केराहरूको ओइरो लाग्दै आए । उनीहरूबीच पारि खोलाको बाढी जस्तो समस्या बग्दै–बग्दै आइदियो, जहाँबाट तरेर शिवराजले अघि जानै सकेनन् । अचानक भोटेनी गुरूमाले अन्तै बिहे गरिदिइन् ।

शिवराजले जीवनको बाटो हराए । मक्सद गुमाए । उद्देश्य हराए । उनलाई सब थोकसँग दिक्क लाग्न थाल्यो । चियाका कलकलाउँदा बुट्टाधरि नीरस लाग्न थाले । त्यही भएर उनले दुम्सीपाडा छाडे । केही समयका निम्ति नेपालको इटहरी पुगे । त्यहीँको अङ्ग्रेजी स्कुलमा काम गर्न थाले ।

तर शिवराज त्यहाँ पनि त अल्झिने मान्छे थिएनन् । उनी छातीमा भोटेनी गुरूमाले छाडिराखेको यादको डाम बोकेरै फेरि डुवर्स फर्किए । त्यो घाउ यति गाढा थियो, जसको दुखाइमै उनले जहिल्यै जिन्दगीको गीत गाइरहे । तर फेरि जीवनमा अर्को चोटि कसैलाई प्रेम गरेनन् । कहिल्यै बिहे गरेनन् । यसैले अहिले पनि उनी एक्लै छन् । त्यही भएर बिन्दास छन् ।

तर छातीमा गाडिएका चिहानका हड्डी जस्ता यादहरूलाई खोतल्दै शिवराज कति दिन पो घरमा बस्न सक्थे र ? उनले अचानक मुम्बई जाने सपना देख्न थाले । खासमा त्यो सपना निकै पुरानो थियो ।

शिवराजका बाउ कमानका मुन्सी थिए । बाउको सपना थियो, छोरा कमानको म्यानेजर बनोस् । त्यसैले उनले शिवराजलाई एसयुएमआई, कालेबुङ पठाएका थिए, पढ्नलाई । तर शिवराज त जिन्दगीलाई आफ्नै लयमा बाँच्ने मान्छे थिए । अरुको सपना बोकेर किन पो हिँड्थे र ? त्यसैले एसयुएमआई पुगेपछि उनले आफ्नै नयाँ सपना सजाउन थालिसकेका थिए— फिल्म लेख्ने ।

तर उनलाई कालेबुङले रोकिराख्न सकेन । उनी फेरि डुवर्स फर्किए, सिनेमा लेख्ने सपनालाई टिस्टामाथिको हाइवेतिरै कतै छाडिराखेर ।

खासमा जब एउटा सपनालाई बलजफ्ती भुल्नुपर्ने हुन्छ, तब मान्छेले अर्को सपनाको सहारा लिने रहेछ । शिवराजले प्रेमको पीडा भुल्नुपर्ने थियो । त्यही भएर आफ्नै पुराना सपना फेरि सम्झिन थाले ।

प्रेम छुटेपछि उनले फेरि पुराना दिन सम्झिए । पुराना सपना सुमसुम्याए । उनलाई दोस्रो चोटि रामझोडा स्कुल जानै थिएन । त्यही भएर शिक्षकको अस्थायी काम उनले स्थायी रूपमै छाड्ने घोषणा गरे । र मनमनै नयाँ अठोट गरे, अब सकुन्जेल कमानमा बाउकै बदलीको काम गर्छु ।

अनि ?

फ्याक्ट्रीमा उनले बाउकै बदलीको काम शुरू गरे । तर शिवराजले मुन्सीकै पद चाहिँ पाएनन् । उनी अफिस स्टाफ बने । जेहोस्, उनको जीवनको नयाँ यात्रा शुरू भयो । काम नयाँ भएर के हुन्थ्यो र ? शिवराजको गलत समय त अझै चलिरहेकै थियो । कामसँगै उनका समस्या फेरि शुरू भइहाले ।

कमानमा हरथोक साइरनसँग चल्थ्यो । बिहान उठ्ने समय, कमानमा पुग्ने समय, खाजा खाने समय, उठेर फेरि काममा लाग्ने समय हरथोक मालिकले नै निश्चित गरिदिएको हुन्थ्यो ।

तर शिवराज त आफ्नै दुनियाँमा बाँच्ने मान्छे थिए । उनी साइकलमा हल्लिएर आउँदा–आउँदै के–के सोच्न थाल्थे । सोच्दा–सोच्दै फ्याक्ट्रीको समय बिर्सिदिन्थे । त्यसैले जहिल्यै ढिलो भइहाल्थ्यो ।

उनलाई खाजा खान एक घण्टाको समय दिइएको थियो । एक बजे अफिसबाट निस्किए, दुई बजे फेरि पुगिसकेको हुनुपर्थ्यो । तर जब उनी नयाँ कुरा सोच्दै साइकल लिएर घुम्न थाल्थे, दुई बजेको पत्तै पाउँदैनथे । तीन बज्न लाग्दा खाना खाएर बल्ल काममा फर्किन्थे । त्यही भएर उनी जहिल्यै छुट्टी हुन लाग्दा मात्रै काममा पुग्थे ।

कम्पनीका निम्ति यो त नयाँ समस्या भएन र ? बिस्तारै शिवराजविरूद्ध आरोपहरूको रास थुप्रिन लाग्यो । कामदारसँग झगडा नै हुन थाल्यो ।

तब के चाहिन्थ्यो र ? शिवराजले एक दिन अफिसभित्रकै काम पनि छाडिदिए ।

आफूभन्दा माथि कसैको आदेश सुन्नुपरोस्, त्यो त शिवराजलाई किन पो मन्जुर हुन्थ्यो र ! उनले म्यानेजरलाई मुखैमा भनिदिए,  “अह्राएको कुरा चैं म देशको राष्ट्रपतिको पनि सुन्नेवाला छैन । किनकि मसँग दास मानसिकता अलिकति छैन । तिमी त को हो र मेरा लागि ?”

म्यानेजर छक्क परे । शिवराज खुला आकाशमुनि साइकल हुइँक्याउँदै आफ्नै दुनियाँमा फर्किए ।

फ्याक्ट्रीबाट सोझै निस्किएका शिवराज पगडन्डी हुँदै थोरै अघि आए । आकाशमा घाम निकै चर्किएको थियो । कमानको देब्रेतिर आएर केही क्षण शीतल तापे । त्यसपछि आठ नम्बर कमान हुँदै घरतिर फर्किए ।

कमानको एउटा खासियत हुन्छ । त्यहाँ मजदुरको मात्रै नम्बर हुँदैन, टोलको नाम पनि नम्बरमै हुन्छ । त्यही नम्बर दिमागमा घुमाउँदै बाह्र नम्बरतिर लाग्दै थिए, अर्कोतिरबाट आइरहेका थापा सरसँग ठ्याक्क उनको भेट भयो ।

“कामबाट यति चाँडो फर्किएको ?” थापा सरले शिवराजलाई सोधिहाले ।

शिवराज एकक्षण मौन भए । त्यसपछि साइकल रोकेर उनले भने, “आफूभित्रको स्वतन्त्रतालाई मान्छेले बचाइराख्न जरूरी छ । यसलाई बचाउन सकेन भने त्यही जीवनको नियम बन्नेछ । र एक दिन त्यसैमा घाँटी निमोठिएर मान्छे मर्नेछ । म बाँधिएर होइन, उडेर बाँच्न चाहन्छु ।”

थापा सर तीनछक परे । उनले मनमनै भने, यो त मान्छे अलिक सनकी नै हो ।

“तपाईं दश रात अलार्म लगाएर सुत्नुहोस्,” थापा सरको अनुहारमा हेर्दै शिवराजले भने,  “हरेक दिन अलार्म लगाएर चार बजे उठ्न थाल्नुस् । केही दिनपछि अलार्म अफ गरेरै सुत्नुस् । तपाईं निश्चित रूपले बिहान चार बजे नै उठ्नुहुनेछ । मान्छेका निम्ति स्वतन्त्रता पनि यस्तै थोक हो । अलार्मसँग हिँडे बिस्तारै उनका निम्ति त्यही आदत बन्नेछ । र मान्छेले सन्चोले बाँच्न त के, सुत्न पनि बिर्सिनेछ । कुरा बुझ्नुभो नि ?”

थापा सरले कुरा बुझेनन् । चुपचाप आफ्नो बाटो लागे ।

शिवराजको साइकल बाह्र नम्बरको मन्दिर लाइनतिरै हुइँकियो, जहाँ पुगेर उनले फेरि वल्र्ड रेकर्डबारे सोच्नु थियो ।

यस्ता मान्छेले चिया कमानमा कसरी काम गर्न सक्थे र ? दुई महिनामै उनको काम छुट्यो । त्यसपछि फेरि शिक्षक बनेर बिन्नागडी पुगे । त्यहीँ पुगेपछि उनको मुम्बई जाने पुरानो सपनाले फेरि एक चोटि पखेटा हाल्यो ।

उनलाई फ्लिमको स्क्रिप्ट लेख्नु थियो । गीत लेख्नु थियो । त्यो अपरिचित दुनियाँमा आफैंलाई चिनाउनु थियो । त्यही भएर उनले मुम्बई पुग्ने ट्रेन पक्रिए ।

शिवराजसँग पैसा थिएन । तर उनलाई धेरै पैसाको आवश्यकता पनि त थिएन । साथीले रेलको टिकट गोजीमा हाल्दिएकै थिए । कङ्ग्रेसका लोकल नेताले एउटा चिठी लेखिदिएकै थिए । त्यो चिठी देखाएपछि मुम्बईको कङ्ग्रेसकर्मी भवनमा बस्न पाउने निश्चित थियो ।

मुम्बईमा कोही आफ्नो हुँदैन । त्यो एक्लोहरूको भीडले भरिएको शहर हो— शिवराजलाई यति कुरा थाहा थियो । तर उनलाई साथी नै किन चाहिन्थ्यो र ? उनलाई त जहिल्यै एक्लै हिँड्न खुब रमाइलो लाग्थ्यो ।

त्यही रमाइलोसँग उनले मुम्बईको धरती टेके । अनि एक्लै अलग–अलग स्टुडियो धाइरहे । कहिले एक्लै बाटो भुलेर आफैंदेखि हराइरहे । कहिले अग्ला–अग्ला भवन गन्दै दगुरिरहे । कहिले ठूला–ठूला गेटअघि घण्टांै उभिइरहे । तैपनि हातमा केही आएन ।

दश ठाउँ दगुर्यो । दुःख गर्यो । गाली खायो । थकित भएर बेलुकी कोठा फर्कियो । भोलि त केही होला नि भन्ने आशासहित रात बितायो ।

महिना दिन यसरी नै बिते । तैपनि उनी कहिल्यै निराश बनेनन् । दुःख आओस् वा जाओस्, उनलाई केही फरक पर्दैनथ्यो । उनी त जहिले आफ्नै दुनियाँमा बिन्दास हुन्थे ।

तर कोशिश गरे, नहुने के पो रहेछ र ? मुम्बई बसेको महिना दिनपछिको कुरा हो । हठात् उनले फिल्मका निम्ति एउटा गीत लेख्नुपर्ने अफर पाए ।

“लामो समय छुटेका हिरो र हिरोइन सपनामा भेट्नेछन्,” निर्देशकले उनलाई भने,  “त्यही सपनाको रोमान्सलाई तिमीले गीतमा लेख्नुपर्छ । सक्छौ नि ?”

आफ्नै हिरोइन छुटेर शिवराज मुम्बई पुगेका थिए, अर्काकी हिरोइन छुटेको कल्पना कसरी पो गर्न सक्थे र ?

उनले कोशिशसम्म चैं गरे । तर गीत लेख्न सकेनन् ।

उसै पनि खुला चिया कमानमा मनमर्जी लेख्ने शिवराजलाई यो काम निकै गाह्रो थियो । किनकि उनी अरुले अह्राएको काम गर्नै सक्दैनथे, चाहे त्यो गीत लेख्नै किन नहोस् वा सपना देख्नै किन नहोस् ।

केही दिन उनी यत्तिकै भौंतारिइरहे । त्यही बेला घुम्दै एक दिन गान्धी आश्रम पुगे । अनि त उनलाई आश्रममोहले ह्वात्तै तान्यो । उनलाई संसारको सबैभन्दा प्रिय थोक संन्यासीहरूको जीवन लाग्न थाल्यो ।

फकिरमोह बोकेरै शिवराज फेरि डुवर्स आइपुगे ।

उनी फेरि त्यही चिया बगानमा फर्किएका थिए, जहाँ उनले चियाको बुटामुनि बसेर कविता लेख्न सक्थे । मन्दिरअघिको खाली जग्गामा बसेर विश्व रेकर्डबारे सोच्न सक्थे । चिया श्रमिकको दुःखको दरखास्त लेखिदिन सक्थे ।

अनि ?

शिवराजले नयाँ काम शुरू गरे ।

चिया बगानका नयाँ पिँढीलाई पढाइबारे बुझाउने हरदम कोशिश गरिरहे । नानीहरूलाई सरकारी कामबारे जानकारी दिइरहे । दर्जनौं मान्छेको भोटर कार्ड बनाइदिन चिठी लेखिरहे । तैपनि कमानेले उनको विचार बुझ्दै बुझेनन् । बरू शिवराजलाई देख्नासाथ कानेखुशी गरिरहे,  “बेसी पढ्यो भने मान्छे पागल हुँदो रहेछ । शिवराज पढेरै पागल भएको हो ।”

शिवराज कमानेका कानेखुशी इसारैमा बुझ्थे । फेरि पनि चुपचाप आफ्नो काम गरिरहन्थे । लगभग दश वर्ष यसरी नै उकाली–ओराली गरेपछि हो, उनले बल्ल बुझे— चिया कमानका मान्छेलाई ट्रेड युनियनका नेताहरूको मात्रै खाँचो छ । लेख्ने, पढ्ने वा सोच्नेहरूको खासै खाँचो छैन ।

त्यसपछि त उनले कसैलाई पनि केही भन्नै छाडिदिए । गुनासो गर्नै छाडिदिए ।

कमानका मान्छेहरूसँग गफ गर्न पनि बिस्तारै छाडिदिए । दरखास्त लेख्ने काम पनि एकदम कम मात्रै गर्न थाले । उनले अन्तिम चिठी पनि महिना दिनअघि नै राज्यपाललाई लेखेका थिए— “दुम्सीकमान छिट्टो खोलिनुपर्यो । नत्र श्रमिकहरू भोकै मर्नेछन् ।” राज्यपाललाई चिठी लेखेको महिना दिनपछि त हो, कमानमा ऐतवालाई चितुवाले मारिदिएको थियो, जसका निम्ति उनले फेरि नयाँ दरखास्त लेख्नुपरेको थियो ।

त्यसैले शिवराज सधैंभन्दा दुःखी थिए । तर उनले पनि गर्न के नै पो सक्थे र ? चुपचाप सोमारीका आँखाको भेल हेरे । बुधुवाको दुःखको बगरमा केही क्षण उभिए । र पीडाको दरखास्त लेखेको कागज पट्याएर गोजीमा राख्दै मनमनै भने, यो कमानेहरूको आङमा कहिले चैं घाम लाग्ने होला नि ?