
अगाडिअगाडि मगन हिँडिरहेको छ । म पछिपछि छु । ऊ मानौँ रक्सीले मातेसरह छ तर आफूलाई नियन्त्रणमा राख्दाराख्दै पनि धङधङाउँदै हिँडिरहेछ । म उसलाई देखेर पनि नदेखेझैँ गर्न बाध्य छु । उसलाई हामीले घरबाट निकालेका छौँ । त्यसैले उसको पछिपछि छु म नत्र भन्ने थिएँ – ए मगन घर हिँड् ! यो के यता र उता आवारझैँ डुलिरहेछस् ।
तर मगन आवारा बनेर डुल्ने केटो होइन, केटो भनिनलाई ऊ अठार नाघेको तन्नेरी हो । पढाइ अलि पछि शुरू गरेको हुनाले अहिले ऊ ९ मा पढ्छ । उसलाई मैले पहाडबाट साथमा ल्याउँदा ऊ १४ को थियो र ६ कक्षामा पढ्दै थियो । अहिले नौमा छ । पढ्नमा मेहनती छ । ल्याएको केही महीनापछि उसलाई स्कूलमा भर्ना गरिदिएका थियौँ । पढ्नमा मेहनती छ यद्यपि औसत दर्जाको पढाकु छ ।
उसका बारे यी कुरा बोर लाग्न सक्छन् । तर यी कुरा थाहा नपाई उसको र हाम्रो गाढा सम्बन्धबारे थाहा पाउन सकिँदैन । उसका लागि हामी बाहेक यो शहरमा अरू कोही छैन । यसो भनेपछि उसलाई घरबाट निकालिनु उचित नलाग्न सक्छ र हामी क्रूर मानिन सक्छौँ । तर हामीले कठोर निर्णय लिन निकै कठिनाइ परेको थियो तापनि यो नै सही निर्णय हो भनेर हामी उसलाई निकाल्न बाध्य थियौँ ।
मेरी पत्नी मगनलाई स्नेह गर्थी । त्यो स्नेह यसरी बिलायो मानौँ तातो बालुवामा पानी खन्याइएको छ । म पनि ऊबाट धेरै रिसाउँदैनथेँ । काम बिराए पनि म उसलाई माफ गर्ने पक्षमा हुन्थेँ । अर्काको छोरो, घर छाडेर मसँग आएको छ । यहाँ कोही छैन भनेपछि मैले हप्कीदप्की गर्दा उसको मन कति दुख्ला ? कति एक्लो अनुभव गर्ला भनेर सोच्थेँ ।
तर त्यस्तो भइदिएन । भन्नै कर लाग्यो – तँ हाम्रो घरमा एक मिनेट बस्न पाउँदैनस् ! निक्लिहाल् !
पहिले त उसले त्यो भनाइ पत्याएन । कुनै नाटकको रिहर्सल भइरहेको मान्यो । स्कूलमा नाटकमा भाग लिन्थ्यो । नाट्यकलामा कति पारङ्गत भयो भन्ने परीक्षा लिइरहेका छन् भन्ने मान्यो होला । केही नभए ठट्टा होला ! तर हामीले जब रीसले मुर्मुरिएको स्वरमा दारा किट्दै उसलाई दोहोर्याएर घरबाट निस्कन भन्यौँ तब ऊ त्रस्त भयो । मानौँ उसलाई हामी छाँगोबाट खसाल्न सकनारमा लगेर घचेट्दै छौँ । उसले तत्कालै बलिन्द्रधारा खसाल्न शुरू गरिहाल्यो ।
मेरो एक मनले भनिरहेथ्यो अलि राम्ररी इन्क्वायरी गर् बाबु, पछि पछुताउनु पर्ला । तर पछुताउनु यसमा के नै छ बरु यसको बानी बिग्रिसकेको हुनाले पछि हामीलाई नै मारेर धनपैसा लुटेर भाग्ने हो कि भन्ने आशङ्कापट्टि लागेँ म । सोचेँ, घरमा बढ्दै गरेकी छोरी छ । टोलभरिमा त गुण्डा केटाहरूको हूल छ र त्यो हूल बढिरहेछ । राजनीतिक संरक्षण छ पनि भन्छन् । तिनकै लहैलहैमा लागेर कतै बलात्कार गरिहाल्ने हो कि ? छोरी नभएर छोरै भए पनि यसको सङ्गतले उसलाई ड्रगको लत लाग्ने पो हो कि ?
धेरै किसिमका भयले मेरो मनलाई तर्साइरहे । म पनि बडो कातर तरिकाले तर्सिरहेँ । यो जाँच्न पट्टि लागिनँ, मगन वास्तवमा बिग्रिसकेकै छ त ? छेउका बालुराम साहेबले भनेपछि नपत्याउने कुरो पनि भएन । उनले नै ठोकुवा गरेर भनेका थिए, यो मगनले यसो गर्यो । मलाई पहिले विश्वास लागेन तर अविश्वास गरिहाल्न पनि सकिनँ । घर आएर पत्नीलाई त्यो कुरा सुटुक्क भनेँ, एउटा जासूसले अर्को जासूसलाई खासखुसमा गोप्य कुरा सुनाएझैँ ।
पत्नी आगो भई । आगो हुन लायकको कुरै थियो । मानौँ पेट्रोल पम्पमा आगो झोसियो । परालको जस्तो आगो थिएन । लोग्नेस्वास्नीको झगडा भए पनि आगो परालको जस्तो झासझुस निभाउन सकिन्थ्यो, तर यसमा पनि अचेल त सम्बन्ध विच्छेदको अर्जी परिहाल्छ । वकिलहरू त्यस्ता केस सजिलो मान्छन् । छुट्टिने नै भनेपछि अदालतले पनि के गर्ने ? अध्येताहरूले समाजमा सम्बन्धविच्छेदका घटना बढिरहेछ भन्छन् । त्यस्तै बलात्कारका अपराधहरू पनि त बढिरहेछन् ।
त पत्नी आगो भई, भनी, ‘अहिले नै उसलाई घरबाट निस्किहाल् भन्नोस् ।’ अलि अप्ठेरो यसमा थियो, मैले कसरी भन्ने उसलाई निक्लिहाल् ? पहाडबाट उसकी एकल आमालाई सम्झाईबुझाई घरका सानातिना काम पनि गराउने र पढाइ पनि दिने अनि ठूलो मान्छे बनाइदिने प्रलोभनमा ल्याएको थिएँ ।
यति अवधि त राम्रै चलिरहेको थियो । बीचमा बालुराम साहेब आए । उनले भनेको कुरा नपत्याऊँ भने कसरी नपत्याउने ? तर मगनलाई घरबाट निस्किहाल् भन्न म सक्दिनँ । पत्नीलाई यो कुरो भनूँ भने उसले हप्काउने छे । यति एउटा सानो काम पनि तपाईंको हातबाट हुँदैन भने..। त्यो कटाक्षपछि उसले कुरा बढाउने गर्दिन । नबढाए पनि काण्ड पुग्थ्यो ।
कटाक्ष गर्नु पत्नीको बानी थियो । मसँग प्रेम गर्थी । मागी बिहे थियो र उसको माइतबाट मनग्गे दाइजो आएको थियो, मैले नमागी । मागे पनि नमागे पनि दाइजोले सुखी तुल्याएको थियो । दाइजोले जितेको भए पनि ऊ मलाई बेसी हप्काउँदैनथी । यत्ति मात्र भन्थी – त्यत्ति एउटा सानो काम पनि तपाईंंका हातबाट हुँदैन भनेपछि…।
मगनको मामिलामा पनि त्यही भयो । तर पत्नी रणचण्डी भइसकेकी थिई यद्यपि त्यतिविधि रीसको आगो ओकल्न मानिरहेकी थिइन । यतिका वर्ष मगनलाई राम्रो र असल बनाउने काममा उसको पनि सहकार्य थियो । उसलाई स्नेह पनि गर्थी । भन्थी – छोरै सरह छ ।
स्नेह पनि थियो पत्नीको मगनप्रति । अनि स्नेह र हितकारी मन सबैलाई रीसको आगोमा झोसेर दनदनाउँदै मगनलाई घरबाट यसै क्षण निस्केर जा भन्न मानिरहेकी थिइन । म त त्यसो भन्ने पक्षमा नै थिइनँ तर अन्ततः यस्तो अप्रिय काम मेरै भागमा पर्ने भएको हुनाले मैले भनेँ, ‘मगन, तँ अब यो घरमा बस्न पाउँदैनस् ।’ अनि बल्ल पत्नीको वाक्य फुट्यो र भनी, ‘एक मिनेट पनि बस्न पाउँदैनस्, निस्किहाल् ।’
छोरीले मगनलाई दादा भन्थी । ऊ पनि आई । कुरा बुझिसकेकी थिइनँ । हामीले हप्कीदप्की गर्दै उसलाई घरबाट गलहत्याउन लागेको देखर क्वाँक्वाँती रुन लागी । उसको रुवाइ सुनेर छरछिमेकमा हाम्रो घरमा कुनै अनिष्ट घटना भएछ भनेर हेर्न आउने त होइनन् भन्ने अर्को डर मेरो मनमा थपियो । रमिता हुने भो ।
मैले छोरीलाई अलि सारो स्वरमा भनेँ, ‘कुरासुरा बुझ्नु छैन, क्वाँकवाँ । आफ्नो कोठामा गएर चूपचाप रुनू ।’ छोरी मैले पुलपुल्याउने हदसम्म माया गर्थें । पत्नी छोरीलाई बिगार्नमा मेरो हात छ भन्थी । तर छोरी केमा बिग्रेकी थिई त्यसको थाहापत्तो थिएन । मेरो मायाको असर यो भयो, ऊ अर्को कोठामा सुरूक्क गई । मलाई छोरीको आज्ञाकारितामा गर्व पनि लाग्यो ।
तर यता कुरा टुङ्गिएको थिएन । पत्नी मगनलाई भन्दै थिई, ‘गइहाल् भनेको अझ कुनामा उभिएर हामीतिर पो हेरिरहेछ । भन्नोस् त यसलाई गइहाल्न । ऊ जाने सुरसारमा देखिएन ।’
मगनले टीठलाग्दो अनुहार बनाएर सोध्यो, ‘कता जाऊँ म । मेरा आमाबाबा तपाईंहरू नै हो । म जाऊँ कता ?’
उता कोठामा छोरी मगनको दया याचनाको स्वर सुनेर झन् रुन थाली । तिहारको भाइटीकामा उसले दादा मगनलाई टीका लाइदिन्थी र मखमली फूलको माला पहिराइदिन्थी, मीठामीठा खानेकुरा खान दिन्थिी । अहिले तिहार छैन नत्र अर्को ससमस्या थपिने थियो । माने छोरीको हात खाली हुने थियो ।
पत्नीले छोरीका तर्फबाट सेलरोटी—फिनी बनाएर दिन्थी र मैले पसलबाट राम्रा महँगा मिठाइ ल्याइदिन्थेँ । तिहार रमाइलै हुन्थ्यो । अबदेखि त्यो रमाइलो हुने छैन । मेरा पनि दिदीबहिनी छैनन् । पत्नीका दाइभाइ टीका लगाउन आउँछन् । पत्नीले दाइभाइलाई र छोरीले मामाहरूसँगै राखेर दादालाई टीका लगाइदिने गर्छे । त्यो अब रहेन ।
तर यी सबको सांस्कृतिक वजन मगनकै पक्षमा थियो । छोरी र मगनको प्रगाढ सांस्कृतिक ऐक्यबद्धता थियो ।
मगन जान मानिरहेको थिएन । पत्नी रीसले झन्झन् चूर हुँदै थिई । आजसम्म उसको अरोट मगनले भुइँमा खस्न दिएको थिएन । आज्ञाकारी थियो । तर अहिले ऊ पत्नीको आज्ञा नसुनेझैँ गरिरहेथ्यो । ऊ जान नमान्नुको कारण घरमा भात पाकिसकेको थियो । पाकेको भात छाडेर कता जाने भन्ने भाव थियो उसको मौनमा ।
बाहिर कसले खान दिन्छ ? घर त उसको यही हो । तर मुखले भन्न सकिरहेको थिएन । आज उसले भात खान पाउने भएन । भोकभोकै कता जाने ? यो सोचमा ऊ रुमल्लिरहेको थियो ।
यसको मतलब यो निस्कन्थ्यो, मगनले दोष स्वीकार गर्यो । दोषी हुँदाहुँदै घरबाट निस्कन मानिरहेको थिएन । पत्नी एकै रटमा थिई, ‘गइहाल् ! गइहाल् !’
तर कता जाने भनिरहेकी थिइन । घरबाट निकालेकालाई यो ठाम जा भनेर भन्ने कुरो पनि भएन । अन्ततः मगन यस ठाउँमा केही गरे पनि बस्न पाइने होइन भन्ने यथार्थबोध भएझैँ मन दुखाएर बलिन्द्रधारा झार्दै बाहिरियो ।
तैपनि सोधिहाल्यो, ‘कता जाऊँ ?’
मलाई ऊ बाबा र पत्नीलाई ममी भन्थ्यो । ती सम्बोधनका शब्द उसले डरले उच्चारण गरेन । उसै पनि उसको मुख सुकेको थियो ।
छोरीले कोठाबाट ममी भनेर क्रन्दन गरेको सुनियो । कतै ऊ बहोस त भइन भनेर कोठाको ढोका धकेलेर हेरेको ऊ ओछ्यानको तकियामाथि घोप्टो परेर रोइरहेकी देखियो । मैले छोरी नरोऊ, रुनु बेकार छ, अब मगन कहिल्यै आउँदैन, ऊ गइसक्यो भनेँ र म बाहिर आएँ ।
मगन बाहिर कतै गएको रहेनछ । बरन्डासम्म आएर एक कुनोमा उभिएको रहेछ । मैले ऊ फर्केर आउन नपाओस् भनेर जालीवाल ढोका भित्रबाट चुकुल लगाएँ र उसलाई बिदा दिएँ । उसले आफ्ना किताब र लत्ताकपडा ओढ्ने–ओछ्याउने लगेको छैन भन्ने हेक्का पनि भएन मलाई । मरो पनि मन दुखिराखेको थियो । संसारको चलन यस्तै रहेछ भनेर यद्यपि घर छाडेर मगन गइरहेको थियो म हैन ।
खानाखाइवरि म चुरोट किन्न बाहिर निस्केँ । खाना खानु के थियो ? माटो खाइयो कि अन्न भन्ने छुट्टिएन । चुरोट त तान्नै पर्यो । घरमा चुरोटको बट्टा हुल्न अनुमति थिएन । चुरोटको लत छुटाउन पत्नी र छोरी लागिपरेका थिए । त्यसमाथि मगनले पनि भन्थ्यो, ‘चुरोट नखानु बेस । रातभरि खोक्नुहुन्छ बाबा ।’ एक खिल्ली चुरोट पनि मगनलाई जा लेरा भन्थेँ । अहिले आफैँ जानु परिरहेछ ।
बाहिर निस्कँदा मगन अगाडिअगाडि गइरहेको थियो, सुस्तसुस्त । तन्नेरी केटो खाना खान नपाएर भोकभोकै कता जाओस् । मेरो मनमा माया जाग्यो, दया होइन माया । यतिविधि गरेर पढाइयो–लेखाइयो आज यसरी निष्कासन गर्न परिरहेछ । धिक्कार छ भनेर मनमनै आफैँलाई सरापेँ । र ठ्याक्कै मगनको अगाडि गएर उभिएँ र सोधेँ, ‘तैँले त्यस्तो अपराध गरेको होस् ?’
मगन आकाश उसैमाथि खसेझैँ चकित देखियो । ‘के बाबा ?’ उसले आँसु पुछ्दै सोध्यो । ऊ मसँग झ्याम्मिएको थियो । आखिर उसकी आमाको साथबाट भरोसा दिलाएर ल्याउने म नै थिएँ । मसँग बोल्न ऊ डराउँदैनथ्यो । बाबा अर्थात् मेरो भर मान्थ्यो ।
‘त्यही के ? अझ सोध्छस् के भनेर ?’ मैले चुरोट किन्न जान बिर्सेर उसलाई केरकार गर्न लागेँ । मिस्टेक त भएको थियो नै । घरभित्रै यस्तो केरकार गर्ने काम गरेको भए हुने । ‘त्यही बालुराम साहेबको नोकर्नीलाई हातपात गरेको ?’
मगन एकछिन विचारमग्न भयो । मानौँ परीक्षाको पेपरको कठिन प्रश्नको उत्तर गमिरहेछ । ‘त्यो हुँदै होइन । म उसकै सामुन्ने यो भन्न सक्छु । बालुराम साहेबको यो कपट चाल हो । बुझ्नु नि बाबा । बाबा पनि अरूको लहैलहैमा लाग्नुहुन्छ ? बाबाले पालेको केटो हुँ नि म त, अरू हुँ र ?’
‘किन ?’ बालुराम साहेबले किन त्यस्तो अभियोग लगाए त ?
‘उनले त्यो केटीको बिहे मसित गर्न चाहेका छन् । मलाई भिराउन । भित्री कुरा अर्कै छ । उनको मजत्रो नाति छ । केटीले त त्यै नातिसँग बिहे गरिदिने भए मात्र हुन्छ भन्छे नत्र असली कुरा बाहिर ल्याउँछु भन्छे रे । कति सम्पत्ति, जग्गाजमीन, धनपैसा दिएर फकाउन खोज्दा पनि केटीले मानिन रे । मलाई पनि त्यसरी नै फकाएका थिए तर म मान्ने परिनँ । केटीका आमाबाबु त मान्न लागेका थिए रे तर केटीले मलाई न्याय चाहियो भनेर भन्छे रे ।’
मगनले मेरो काननिर मुख ल्याएर सुटुक्क भन्यो, ‘दुई जीउकी भएकी छे रे ।’
अनि प्रकटमा भन्यो, ‘अर्काकी छोरी बिगार्ने नीच काम मबाट हुनै सक्दैन । मलाई बीचमा पार्न खोजिँदै छ । त्यो केटीसँग बिहे नगरे म तेरो बदनाम गराउँछु भन्थे उनी । यो भित्री कुराको जालो हो बाबा । मलाई सोधेको भए म पहिले नै यो कुरा स्पष्ट पारिदिन्थेँ । त्यसै टुहुरोलाई घरबाट खेदाउनुभो ।’ मगन रुँदै भन्दै थियो ।
भित्री कुरा के हो ? बालुराम साहेबले के केटीलाई बिगारेका छन् ? होइन होला, उनी असी वर्षका भए । अब केहीपछि चौरासी गर्ने भन्थे । लौरो टेकेर हिँड्ने भएका छन् । त्यस्तो नहोला तर केटीलाई बिहे गरिनस् भने तँलाई कामबाट निकाल्ने गराउँछु त भनेका रहेछन् । रकमी छन्, पुराना मालका हाकिम हुन् । यस्तो सुनिन्छ ।
मलाई, ‘तिम्रो मगनले मेरी घरकी केटीलाई एकान्तमा हातपात गरेकै हो’ भनेर टिकाएरै भने । लौरो टेकेर हिँड्ने वृद्धले भनेको कसरी नपत्याउनु ? मान्छे बूढो हुँदैमा मति सप्रिएको हुन्छ भन्न मिल्दैन ।
थुक्क मेरो बुद्धि ! मैले मेरै बुद्धिलाई थुक्नु उपयुक्त थियो । पत्नीले यो थाहा पाउनु जरूरी छ तर उसले भन्नेछे – ‘पहिले यही कुराको छानबिछ्यान गर्नु पर्दैनथ्यो । हरे, तपाईंबाट कुनै काम पनि ढङ्गले हुँदैन ।’ उल्टै मलाई दोष लगाउने थिई ।
तर मगनलाई घर फर्काएर खाना खुवाउनु पनि त छ । भोकै छ बिचरा । भोकले धङधङिदै हिँडेको छ । उसको भागको भात उसले सधैँ खाने थालमा आँसु झार्दै पस्केर राखेकी छ पत्नीले । नारीहरूको मन कमलो त भइहाल्ने भो ।
पत्नीलाई सबै वृत्तान्त सुनाएर घरको एकता पनि कायम राख्नु छ । अहिले राजनीतिमा त्यही एकताको बढी कुरा छ र मौकामा मेरो दिमागमा पनि एकता शब्द फुरेको हुनुपर्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

