आज पनि म त्यो मैलो ममचा-पसलभित्र पस्छु, बैशाखी ठकठक्याउँदै । भएभरका सुकिला टेबिलहरूलाई आज पनि तथाकथित अस्तित्वहरूले ओगटिसकेका छन् मभन्दा पहिले नै । हिजोअस्ति पनि म पछि परेको थिएँ । आज पनि पछि परेको छु र मलाई हेक्का छ व्यापारिक सभ्यताको यस किसिमको होडबाजीमा म आजसम्म नै पछि पर्दै आइरहेको छु ।

यो शहर छाडेर जानुभन्दा पहिले ती अस्तित्वहरू जहिले पनि ममाथि हुन्थे, जुन कुरालाई मेरो अहं स्वीकार गर्ने पक्षमा थिएन । सम्भवतः पछि पर्नुको कारण मेरो बुद्धिसम्मत चेतना पत्रकारिताको ज्ञानबाट टाढिनु होला । अझ भनूँ कला, साहित्य र राजनैतिक ज्ञानबाट टाढिनु । हिजोअस्ति झैं म पुग्नुभन्दा पहिलेदेखि नै आज पनि उनीहरू भीषण अग्निको बारेका चर्चा गरिरहेका थिए र त्यो भीषण अग्निलाई निभाउने सम्बन्धमा बेस्करी कराइरहेका थिए, आगो निभाउन त्यसै त्यसै हाम्फाल्दै कुदिहाल्छन् कि भनेझैं ।

एउटा कुना ताकेर म आफ्नो बैशाखी ठड्याइदिन्छु । उनीहरूको जोशले मेरो सम्भावनाको स्थितिलाई फराकिलो झैं पार्न थाल्छ । मेरा जस्ता आँखाहरूमा म केही त्यस्तै किसिमको छनकलाई अनुभव गर्न थाल्छु । नजीकैको एउटा मयलको पत्रौँ जमेको मेचमा थच्चिन्छु र अगाडिको टेबिलमाथि आफ्नो काँधको झोला राखिदिन्छु । तर म झुक्किने पक्षमा छैन, साँच्चै नै छैन । यस्तो अवस्थामा चनाखाहरूका आँखाले आफ्नै-आफ्नै किसिमको रङ्गलाई टिप्न थालेको दृश्य मैले आफ्नो शहरमा पनि अनुभव गरेको छु र पराईको शहरमा पनि । फेरि पनि मेरा आँखा उपलब्धिको खोजीमा ती अस्तित्वलाई ताकेर बरालिन्छन् र बरालिंदै जान्छन् । साँच्ची कसरी रम्न सकिरहेछन् उनीहरू कुन्नि मैलो मेचमा । इनामेल उप्किएको तानसिनको रिकापीमा राखिएको ममचा र मैलो टाँसिएको काँचको गिलासभरि राखिएको चोरीको ठर्रा रक्सीमा । सम्भवतः न यो पनि भीषण आगो जस्तै कुरो हो कि !

भीषण आगोसम्बन्धी चर्चा अझै निभेको छैन । त्यस सम्बन्धमा उत्सुकता त मेरो पनि छ । इजरायली र प्यालेस्टाइनीहरूको युद्धको मोर्चाबाट फर्किएदेखि आगो नै आगो देख्न थालेको थिएँ। घरभित्र पनि आगो, घरबाहिर पनि आगो, आकाशमा पनि आगो र जमिनमा पनि आगो । इजरायली आँखा र अनुहारहरू पनि आगोले भतभतिएको तथ्य मैले अनुभव गरेको छु । अरेबियन आँखा र अनुहारहरू पनि आगोले छटपटिएको मैले देखेको छु । तर फेरि पनि आगो निभेको छैन । मैलो टेबिलवरिपरि छरिएका अस्तित्वहरूले साँच्चै नै आगो निभाउने जमर्को लिने नै भए अहिलेसम्ममा त उनीहरूको चिच्च्याइ तुरिइसक्नुपर्ने थियो, चिनेको नाताले होइन, आगो निभाउन चाहने नाताले । किनभने मेरो काटिएको खुट्टा र बारूदको छिटाले खुलाएको अनुहारमा भीषण आगोको एउटा सिङ्गो कथा छ । कथा एकदम खुलस्त छ । कथा पढ्न चाख राख्ने जोकोहीले पनि त्यसलाई छर्लङ्ग पढ्न सक्तछन् ।

यस कुरालाई खेलाएपछि हाँसिदिनुपर्छ मैले । यस्तरी हाँस्न सक्नुपर्छ कि ती अस्तित्वहरूको जोश त्यसैमा भासिन सकोस् । तर म हाँस्दिनँ । के ठेगान मैले हाँसे भने उनीहरू चर्किहाल्न के पो बेर । तर म आज पछि पर्ने पक्षमा छैन ।

साँच्चो कुरो त के भने मेरो अहं त्यस कुरालाई स्वीकार गर्न चाहँदैन । अहंलाई बिर्सिहालूँ भने पनि ममचा-पसलको भोटेकान्छो मेरो अगाडि ठिङ्ग उभिएको छ । उसको आँखा मेरो झोलामा टाँसिएको छ । सम्भवतः म सभ्य छु भन्ने कुरालाई ऊ पत्याउन चाहँदैन सभ्यताकै बारूदले सोहरेको मेरो छालाको कसीमा । हुन सक्तछ टेबिलमाथि मेरो झोलालाई अनुभव गरेर ऊ विरक्तिएको होस् । हुन सक्तछ उसको मालिकको आवाजले उसलाई लखेटेर त्यस किसिमको स्वाङ गर्न बाध्य तुल्याइएको होस् । धेरै-धेरै कुरा हुन सक्तछ । सम्भावनाको फाँटमा धेरै-धेरै कुरा आउन सक्तछन् । तर जे होस्, यो नाङ्गो सत्यलाई पनि कसरी पो अस्वीकार गर्ने । व्यापारी सभ्यताले त्यस किसिमको दृश्यलाई फुटेको आँखाले पनि हेर्न चाहँदैन । उससँग उसको मालिकबाट सापटीमा फेला पारेको आँखा छ । उसको आँखाको कुण्डलमा मेरो झोला राखिएको मैलो टेबिलवरिपरि अरू तीनवटा मेच छन् । त्यस टेबिलमा अर्को तीनवटा काँचको गिलासमा नवसादर र खुर्सानी मिसाएको रक्सी भर्न सकिन्छ । अर्को तीनवटा इनामेल उप्किएका तानसिनका रिकापीभरी-भरी ममचा सजाउन सकिन्छ ।

हुनी मज्जा आउँदैनथ्यो त्यो पिरो रक्सीले रातिएका ती अस्तित्वका गालालाई एक्कासि चिसो तुल्याइदिन सके । तर असम्भव छैन । असम्भव भन्ने कुरै छैन । मेरो स्मृति एउटा उपध्य्रा खालको झझल्कोले रमाउन थाल्छ । साँच्ची त्यो झोलालाई हीरा, मोती बनाइदिए ती अस्तित्वहरूको अनुहारको रङ्ग कस्तो पो होला ?

हा… हा… हाँसी पो दिइहालूँ कि तर हाँस्दिनँ । म भित्रभित्रै अब पछि नपर्ने सम्भावनाको अनुभूतिले त्यसै त्यसै छचल्किन थाल्छु । तर मेरो बुद्धिसम्मत चेतनालाई यस किसिमको सम्भावनामा हाँस्ने कुरो सह्य छैन । म मात्र चोरआँखाले ती अस्तित्वको सम्भावित रङ्गलाई टिप्न झैं थाल्छु चूपचाप, मौन । उनीहरूको आगो निभाउने जोश पहिलेको भन्दा पनि दन्किरहेको छ । तर मेरो अगाडि उभिएको भोटेकान्छालाई मेरो झोलाले दिएको पीर खपिसक्नु भा छैन । मलाई उसको त्यो पीर मज्जै लाग्छ । तर म भोटेकान्छातिर होइन आगो निभाउन जमर्कने अस्तित्वतिर छु । भोटेकान्छा एकाएक आफ्नो हात मेरो फोलातिर लम्काउँछ । तर उसको हात मेरो झोलासम्म पुग्न पनि पाएको हुँदैन म त्यसै त्यसै आत्तिएको स्वाङले आफ्नो स्वरभरि चिच्च्याउँछु- “ल ल, मेरो झोला नछो ।”

भोटेकान्छा तर्सिएर आफ्नो हात फेरि जहाँको तहीं फर्काइहाल्छ । म भित्रभित्रै मज्जा लिन्छु । तर मलाई भोटेकान्छाको तर्साइले भन्दा एकाएक भाँचिन पुगेका ती अस्तित्वहरूको हेराइले मज्जा दिन्छ । ती अस्तित्व निमेषमै चिसा भइसकेका हुन्छन् । ती अस्तित्वका आँखामा अब आगो निभाउने चाहनाको सट्टा झोला हुन्छ । तर म उनीहरूलाई पढेर पनि एक्दमै नपढेकै स्वाङलाई खेलाइरहन्छु उनीहरूतिर प्रयोजनहीन भएझैं रङ्ग लिएर । यस किसिमले बस्दा आफू चुकेको छैन भन्ने भावना खेलाउनुमा पनि आफ्नै किसिमको रमाइलो छ र आफ्नै किसिमको स्वाद ।

तर भोटेकान्छा लस्किएको छैन बरु ऊ झन् साँढे बनेको छ । तर सोच्नुपर्ने कुरा के छ भने अहिले उसका आँखामा उसको मालिकको अस्तित्वको छाया छैन । उसको आफ्नै अस्तित्व छ । उसले तल काउन्टरमा बसेको मालिकको अनुहारलाई ठ्याम्मै बिर्सन सकेको छ । बिर्सन नसकेको भए पनि उसको मालिकले उसलाई केही व्यापारी-सभ्यताको बारेमा उपदेश दिएको थियो भन्ने कुरामा यतिखेर विश्वासै लिन सकेको छैन ।

किनभने यतिखेर त्यो झोलातिर बिस्तारै-बिस्तारै हात लम्काउने कुरामा उसलाई ज्यादा आनन्दको अनुभव भइरहेको छ । यस नाङ्गो सत्यलाई उद्घाटन गरेर कमसेकम एउटा मुस्कानै भए पनि मैले आफूभित्रको खुशीलाई अभिव्यक्त गर्नुपर्ने हो । तर म त्यसो गर्दिनँ बरु त झन् गम्भीर हुन्छु । गम्भीर भएर कर्के आँखाले अस्तित्वहरूलाई छाम्छु र छामिरहन्छु । यतिखेर उनीहरूलाई आफू कतै न कतै चर्किएको कुरा अनुभव भइरहेको होला । उनीहरू एकदम मौन छन् । मतिर एकोहोरिएको मुद्रामा केही नाटकीय छनक बिजिसकेको छ । स्वाभाविकतालाई कायम राख्न उनीहरूले यस अवस्थामा केही खासखुस त गर्नैपर्छ ।

भोटेकान्छोको धैर्य समाप्त भइसकेको छ । मैले फेरि आफ्नो स्वरमा नाटकीय सन्त्रास भरेर ‘लौलौ यो झोला नछो’ भनेर कराइदिनुपर्ने हो । तर म अहिले आफ्नो पहिलेको क्रियाकलापलाई पुनरावृत्ति गर्ने पक्षमा छैन । बरु त अनुहारमा के-के न बित्यास पर्न आँटे झैं स्वाङ खेलाएर त्यो झोलालाई थुत्त थुत्छु । फेरि हत्त न पत्त अँगालोभित्र लुकाउँछु । अस्तित्वहरूका आँखाको रङ्ग ऱ्याल उम्रिएझैं अनुभव हुन थाल्छ मलाई ।

भोटेकान्छो आफैंसँग झोक्किन्छ । फेरि बडबडाउँदै ऊ आफ्नो मालिकको मान्छे हुने दावा गर्न थाल्छ- “कति न हीरा-मोती भरिए जस्तो !”

तर म उसलाई सुन्दिनँ । सुने पनि नसुनेकै छल उडाइदिन्छु । अस्तित्वका अनुहारमध्ये एउटाले भाषा बनाउन थाल्छ, “यो मान्छेलाई मैला नसम्झी, मोर्चाबाट फर्किएको मान्छे हो यो, अरेबियन र इजरायलीहरूको बीचबाट ।”

“त्यसो भए यसले मोर्चामा अवश्यै मणिमाणिक्य फेला पारेको हुनुपर्छ ।” अर्को अस्तित्वको भाषाले पहिलो अस्तित्वको भाषालाई पुष्टि दिन्छ ।

अब अर्को अस्तित्व आफ्नो जानिफकारिता प्रदर्शन गर्छ, “असम्भव छैन । सम्पत्तिले भरिभराउ सब घर खाली हुन्छन् । के ठेगान न उसको भाग्य बल्यो कि ।”

म अब आफ्नो झोलाप्रति सतर्क नभएझैं छनक उडाइदिन्छु । मेचनिरको छेउमा राखेर भोटेकान्छाको ध्यान आफूतिर आकर्षित गर्ने चेष्टा गर्छु । तर त्यो बदमाश मसँग साह्रै रिसाइरहेको छ क्यारे । उसले अहिलेसम्म पनि मेरो अगाडि ममचाको रिकापी राखेको छैन । सम्भवतः मैले त्यस सम्बन्धमा अहिलेसम्म केही नभनेकोले होला ऊ मप्रति लापरवाह भएको । उसले सभ्यताको धर्मको करलाई त बुझनुपर्ने हो ।

तर ऊ मेरो टेबिलनिर आउँदैन । आउँछन् त बरु अस्तित्वधारी अनुहारहरू एकपछि अर्को, अर्कोपछि फेरि अर्को । म हडबडाए झैं स्वाङ खेलाउँदै आफ्नो झोलालाई फेरि समाउँछु । अस्तित्व आँखामध्ये एउटा सभ्य हुन्छ- “मैले त चिन्नै नसेकेको पहिले । यसो घोरिएपछि त झसङ्ग भएँ ।”

बोल्दाबोल्दै यो अस्तित्व आँखा अर्को अस्तित्व आँखालाई घुच्याउँछ । अर्को अस्तित्व आँखा सम्भवतः यो स्थितिलाई पर्खि नै राखेको थियो क्यारे । मौका पाएपछि ऊ फुट्छ, “यहाँ नै होइन शान्तिसेनाबाट फर्किनुभएको ?”

“पराइको निम्ति बाँच्नेहरूको ज्वलन्त उदाहरण उहाँ । बरु किन लिन्नस् यहाँको इन्टरभ्यू । अखबारमा यस्ता यस्ता व्यक्तित्वको बारेमा छापे पो त अखबारको महत्त्व बढ्छ ।”

त्यो अस्तित्वको आँखाको भाषाले अहिले मोड लिन पाएको पनि हुँदैन फेरि अर्को अस्तित्वको आँखा आफ्नो अस्तित्वको बारेमा व्याख्यानझैं थोपर्न थाल्छ । उसले आजसम्म कतिलाई चुनावमा सहयोग गरेको छ कतिलाई । यो शहरमा उसको एकाधिपत्य छ । उसको प्रयासले कति-कति मन्त्री पनि भएका छन् रे । तर उसलाई गुनासो छ, साह्रै गुनासो छ । उसले चुनाव जिताएको मान्छे बेठीक पर्यो रे । चुनाव जितेकाहरूसँग पनि ऊ सन्तुष्ट छैन र आफ्ना पछिल्ला हरफहरूसँग पनि सन्तुष्ट छैन । अब ऊ मजस्तै अरूको निम्ति बाँच्ने व्यक्तिको खोजीमा छ ।

आफ्नो भाषा तुऱ्याउँदातुऱ्याउँदै ऊ जोशिन्छ, “बुझ्नुभो, तपाईंले यसपालि चुनाव लड्नैपर्छ । पराईको हितको निम्ति बाँच्ने तपाईं जस्तो मान्छेले चुनाव नलडे अरू कसले लड्ने ?”

म हडबडाउँदै उसको जोशलाई भाँच्ने प्रयत्न गर्छु, “क्षमा चाहन्छु महाशय ! तपाईंले गलत मान्छे छान्नुभो । म त आफ्नै निम्ति पो बाँचेको मान्छे । तपाईंलाई थाहा छ आफ्नो निम्ति बाँच्न पनि मुश्किल छ ? कति चपाउनुपर्छ आफूले आफैलाई ।”

तर त्यो अस्तित्व मलाई सुन्दैसुन्दैन । सुनेर पनि सम्भवतः नसुनेको छल उडाइदिन्छ । चुनावमा मलाई उभ्याउन कम्मर कसिरहेको छ ऊ । आफ्नो विचारबाट टसमस हुन चाहँदैन ऊ । ऊसँगका अरू अस्तित्वहरू उसको होस्टेमा हैंसे थप्छन् । त्यसमध्ये एउटा अस्तित्वले मेरो जीवनको आधारमा एउटा उपन्यास नै लेख्ने प्रतिज्ञा गर्छ। अर्कोचाहिँ प्रबन्ध लेख्ने, फेरि अर्को चाहिंले कलाकृति सृजना गर्ने रे ।

तर भोटेकान्छाले अहिलेसम्म पनि मेरो अगाडि ममचाको रिकापी राखेको छैन । नराखेकोमा मलाई गुनासो पनि छैन । गुनासो भए तापनि त्यो निस्सार छ । तर ती अस्तित्वहरूलाई सम्भवतः मेरो अगाडि ममचा र रक्सी नहुनु ज्यादै खट्किन्छ क्यारे । त्यसैले उनीहरू मसँग अल्झँदाअल्झँदै पनि भोटेकान्छातिर आँखा चिप्लाइदिन्छन् । आफू अघि परेको बोधलाई ध्यानमा राखेर निश्चय पनि मैले मुस्कुराउनुपर्ने हो । नमुस्कुराए पनि उनीहरूको पिठ्यूँमा धाप मार्नुपर्ने हो ।

तर म ती दुवै थोक गर्दिनँ । गरूँ भने पनि यौटा अस्तित्व भाषा भोटेकान्छालाई त्यसै त्यसै झपारेर आफ्नो खल्तीबाट पचास रुपियाँको नोट हुर्याइदिन्छ । अब भोटेकान्छा एकदमै हडबडाएर मालिकको पालुवा कुकुरमा अनुवाद हुन्छ । यस सम्बन्धमा आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्न पाएको पनि हुन्न भोटेकान्छो हाम्रो अगाडि तातो-तातो ममचा र ठर्रा रक्सी राखिदिन्छ ।

म आफूमाथि हरेक अस्तित्वको मुस्कान चिप्ले झैं अनुभव गर्छु । व्यापारी सभ्यतानुसार निश्चय पनि मैले त्यस मुस्कानलाई अस्वीकार गर्नु हुँदैनथ्यो तर म अस्वीकार गर्दिन्छु । तर रक्सी र ममचालाई होइन मुस्कानलाई मात्र ।

मुस्कुराउँदा मुस्कुराउँदै उनीहरू मेरो स्वास्थ्यको निम्ति भन्दै रक्सीले घाँटी पोत्छन् । मुस्कुराउँदा मुस्कुराउँदै उनीहरू खित्का छाड्न थाल्छन् । फेरि खित्का छाड्दाछाड्दै क्रमशः मेरो अगाडिको मेचबाट उनीहरू क्रमशः गायब हुँदै जान्छन् ।

त्यसरी गायब हुँदै गएकोमा मलाई बिस्मात छैन किनभने मलाई लागिरहेछ- आज म निश्चय नै अघि परेको छु, निश्चय नै। मेरो गिलासको रक्सी भने रित्तिएको छैन । गिलासको रक्सी र रिकापीको ममचा अझै हाँसिरहेछ ।

अस्तित्वका आँखाहरू र मेरो बीचमा पर्दा झरिसकेपछि मलाई साँच्चै नै हाँस्न मन लाग्छ । अहिलेसम्म अटेसमटेस मभित्रको हाँसो त्यसै त्यसै फुट्ला जस्तो भइरहेको छ तर म हाँस्दिनँ । बरु मेचमुनि राखेको झोलातिर हेर्छु र हेरिदिन्छु । तर त्यहाँ झोला छैन । म फेरि हेर्छ; त्यहाँ झोला छँदैछैन । कुनाकाप्चामा पनि छैन र टेबिलमाथि पनि छैन । त्यो झोलामा पखेटा लागिसकेछ मैले थाहा नपाउँदै । तर पखेटा भए पनि केही छैन । मेरो झोला रित्तो छ, एकदमै रित्तो । त्यसमा छ खालि रित्तोपनको अन्तरकथा । अब त सत्ते भए नहोला मभित्र भीषण आगो भए पनि त्यसै त्यसै हाँसिदिन्छु ।

(दौलतविक्रम विष्टको कथासंग्रह ‘आँसु त्यसै त्यसै छचल्किन्छ’बाट)