मन्दमन्द हावामा फुर्फुर्र गर्दै हूल बाँध्ने पुतली भदौको चर्को घामलाई फिक्का बनाउँछन् । नीला, पहेंला बुट्टा तिनका पखेटामा कसले कुँदिदियो होला ! प्रकृतिका सबैभन्दा मोहक रङ तिनले बोकेका छन् । तिनीहरूको खुट्टा हेर्दा देखिने नीलो रङ कुनै कुचीकारले मिहिन ढङ्गले क्यानभासमा पोते झैं लाग्छ । प्रकृति आफैं खनिएर रित्तिए जस्तो त लाग्छ तर पृष्ठभूमिको निष्कलङ्क आकाश बादलका टुक्राहरू सिनित्त पारेर कता लुकाउँछ, लुकाउँछ – अनि भन्न मन लाग्छ, त्यो नीलो रङ कहाँ सकिन्थ्यो ! हो, त्यो अनन्त शान्तिमा कयौं मसिना जीवनहरू सुझपूर्ण विवेकले भरे जस्तो लाग्छ ।  सिर्रसिर्र हावाले केही कुरा त बोकेर ल्याउँछ तर मनले भन्दैन, के हो त्यो ? शायद मन बुझ्छ, बक्न सक्दैन । बोल्न मन गर्छ – कताकता झसङ्ग हुन्छ, कताकता काउकुती लाग्छ । अलिकति ओठका कुनाबाट पोखिन्छ ।

घामको पहिलो किरण पहेंलो धानबारीको शीतमा लतपतिएको छ । पातहरू, डाँठहरू र धानका बाला पूरै सुनौला बनेका छन् । बिहानैदेखि हल्ला गर्दै हिंड्ने केटाकेटीहरू जस्तै बादल कतैकतै कुनै वेला छरिएर बस्छ, अटेरी गर्छ, कुस्ती खेल्छ, अनि पूर्वी हावाको धक्कासँगै हराउँछ । यो लुकामारीको कतै जीवन सक्रिय हुन्छ, कतै निष्प्राण रहन्छ । धानका फूलहरूले पहेंला बाला बन्ने यात्रा शुरू गरिसकेका छन् । मानिसलाई नै लट्ठ्याउने सुनको रङमा उन्मादयुक्त गन्ध मिसिएको छ । माटोको हो या हावाले बोकेर ल्याएको परागको हो, छुट्ट्याउन मुश्किल छ । सम्भवतः धानको पराग मिल्यो होला हावामा । फाँटैफाँट हावाको वेगले माटोको गन्ध पनि मिसाइदियो होला । हो, यस्तै वेला नीलो र पहेंलोको बीचमा मात्र ती पुतली र गाइनेकीरा हावामा पौडिंदै तैरिरहेको देखिन्छ ।

बिहानदेखि नै सेता बादलका केही धब्बाहरू भकअमिलोको बोटको पूर्वतिर सानेले देखेको थियो । उसलाई बादलमा चित्र खोज्न खूबै मन पर्छ, खोज्छ पनि । तर अलमलिन्छ, त्यो चित्र कता देख्छ । एक दिन उत्तरतिरबाट उडेर आउने एक जोडी बकुल्लाले बादलमा प्वाँख छोडेर गए । साने पूर्वी पहाडको पल्लो बिन्दुदेखि नै तिनीहरूलाई पछ्याइरहेको थियो । उसका आँखा बादलमा छोडिएको त्यही प्वाँखामा रोकिए । चराहरू निकै पर पुगिसक्दा पनि ऊ चाहिं त्यही नै रोकिएको थियो, मानौं उसले त्यसको रङको अर्थ पत्ता लगाउन खोजिरहेको थियो । वा हुनसक्छ, उसलाई ती प्वाँखहरूसँगै रङको भित्री दुनियाँमा पुग्नु थियो ।

अलि पर उसकी आमा उसलाई हेरेर बसेकी थिई । “के हेरेको बाबु, आकाशमा ?”, आमाले सोधिन् ।

साने झस्क्यो । उसले नबताउने विचार गऱ्यो । उसले भन्यो, “केही होइन ।”

कहिलेकाहीं सानेलाई उसकी आमालाई देख्दा लाग्छ, आमा पनि बकुल्ला नै हुन् । अग्लो कदकी, दुब्ली उसकी आमाले चालीस टेकिसकेकी थिइन् । आँखाका कोशबाट समानान्तर रेखाहरू कन्सिरीका रौंतिर फिंजारिए गाएको देख्न सकिन्थ्यो । सिउँदोका केही कपाल फुलेको पहिलो पटक सानेले देख्यो । पहिलापहिला सिन्दूरले छोपिने सिउँदोमा अहिले सेतो चायाँको पाप्रो बसेको थियो । दुःखले थिच्दा आमाको निधारमा उत्तरदक्षिण धर्का कोरिदिएको थियो । मानौं ती समयका देशान्तर नै आमाको जीवनका आत्मवृत्तान्तका प्राचीन अवशेष थिए । यी रेखा आँखीभौंको बीचमा अझै नजीकै आएका थिए र अर्कोलाई हप्काए झैं गरेर आफूमै लडाइँ गर्न खोजेको जस्तो गरी उभिएका थिए ।

खै, सानेले के बुझेको थियो तर उसलाई बुझे झैं लाग्थ्यो । त्यसैले त आमाको अनुहारको रङ उडेको देख्दा उसलाई भित्रभित्रै दुख्थ्यो । तथापि, कसैलाई उसले त्यो कुरा भन्ने गरेको छैन । बाको पैंतालीस दिनको जलदान सकेर स्कूल जाँदा उसमा एउटा त्रास उत्पन्न भयो । श्वास ढक्क फुले जस्तो भयो । शुरूमा त उसलाई रिंगटा लागे जस्तो लाग्यो । बाटोको छेवैको चिप्लेटी खेल्ने ढुङ्गामा शरीरलाई आड लगायो । बिस्तारै छाती दुवै हातले थिच्यो र हलुवा किसिमले श्वास तान्यो । पारि क्षितिजमा हेर्दा उसले एक बाज पखेटा नहल्लाएर पनि हावामा तैरिरहेको देख्यो । हो, सजिलो त छैन नि, उसले आफैलाई अस्वस्थ पार्ने कोशिश गऱ्यो, तर पनि मैले त्यो गह्रौं भारी बोक्नु छ ।

दोस्रो विचार तुरुन्तै कतै देखा परिहाल्यो । आमा पनि कतै बोझिली हुन्छिन् त ? तर सानै उमेरमा आमा र दिदीलाई आफैंले हेर्न पर्ने अवस्था आइलाग्नु नै पनि उसका लागि धेरै चुनौतीपूर्ण नै थियो । उसले आफैंलाई सम्झायो, संसारमा सबै हल त कसले बोकेर आएको हुन्छ र ? समस्या जसरी यहीं आउँछन्, तिनका समाधान पनि सहज निस्कनु पर्छ । समाधान नै छैन भने त्यो समस्या पनि होइन । हलुका श्वास फेऱ्यो र स्कूलतिर अगाडि बढ्यो ।

कक्षामा शिक्षकले मोहनलाई सोध्नुभयो, “पृथ्वीको परिधि कति छ ?”

“४०,००० किलोमिटर छ, सर ।” मोहनले तुरुन्तै जवाफ दियो । उसको आत्मविश्वास नै अनुहारमा उज्यालो बनेर झल्झलाइरहेको थियो । सानेको अनुहारमा त्यस्तो दिव्य आभा पूरै अनुपस्थित थियो: आँखा मौन थिए, प्रकाशहीन । तर पनि ओठमा यथेष्ट, अटूट मुस्कान थियो । मानिसहरू संसारको चक्रको अंक किन बनाउँछन् होला ? उसले मनमनै सोच्यो । यी महत्त्वहीन सवाल जवाफमा अनुहारमा देखिने उज्यालोले नै गिज्याइरहेको जस्तो उसलाई लाग्यो । वास्तवमा उसलाई यस्तो प्रश्नको उत्तर दिनु नपरे कति सुख हुन्थ्यो भन्ने लाग्यो ।

एकाएक सानेका आँखाको आकार बढ्यो । उसको साथी मोहन फुच्चे बनेर उसको अगाडि उभियो । “केटा, राम्ररी पढ नि । जीवन कठिन छ । यात्रा अलि सहज पनि छ, असहज पनि छ । जान्नु पर्छ । राम्ररी मेहनत गरिस् भने सफलता तेरो पछिपछि ।” ऊ त मोहनलाई कुरा बुझाइरहेको पो थियो । जीवन पढाइरहेको थियो । सबैभन्दा जटिल सूत्रहरू घोकाउने यत्नमा व्यस्त थियो । आज्ञाकारी बालक मोहनले बाचा नै गऱ्यो, “हुन्छ, हजुर ! म त्यसै गर्छु । म हजुरको कुरा सबै मान्छु ।” स्याबास ! भन्ने भाव आँखा, नाक र ओठबाट अभिव्यक्त गर्दै साने मुस्कुरायो ।

केही बेरमा उसका शिक्षक विनोद त्यही ठाउँमा आए । उसलाई नमस्कार गरे र भने, “सानुजी, यो विद्यालयका विद्यार्थी र शिक्षक सबै केटाकेटी छन् । कोही पनि परिपक्व छैन – कुरै बुझ्दैनन् । हामी सबै मिलेर समाजको सेवा गर्ने हो । यसमा तपाईंको सहयोग हामीलाई सधैं चाहिन्छ । तपाईंले यिनीहरूलाई सम्झाइदिनु भयो भने हामीलाई सजिलो हुन्छ । समाज भनेको तपाईं हामी सबै मिलेर बनाउने त हो नि ।”

सानेले एक हातले रवाफिलो नमस्कार फर्कायो र कुरा सुनी सकेपछि हुन्छ भन्ने इशारासम्म गऱ्यो ।

सानेको कल्पना धेरै पर पुगिसकेको थियो ।

साँझ घर फर्केपछि अबेरसम्म साने बारीको पाटामा बसेर आकाशतिर हेरिरहेको थियो । कतै बादलका थुप्राहरू त कतै साँझको रङ्गिन क्षितिज । ओहो ! यो केटालाई रङ र छाया पाएपछि के नै पो चाहिन्थ्यो, र ! उसलाई व्यस्त राख्न पर महाभारत पर्वतमा केही न केही त हुने नै गर्दथ्यो । एउटा चरा सूर्यलाई आफ्नो पछाडि पारेर छाया जस्तो उडेर मात्र आउँदा पनि उसलाई केही न केही त मिलिहाल्थ्यो । त्यही तरङ्ग नै उसलाई रोक्न पर्याप्त हुन्थ्यो । उसकी आमा आँगनको डीलमा बसेर साँझको भान्साको लागि हरियो सिमी केलाउँदै थिइन् । “साने, ए साने ! खाजा खायौ, छोरा ?”

सानेले ‘खाएँ’ भन्ने इशाराको टाउको हल्लायो । बादल उसको संसार नै त थियो । त्यहाँ ठूला दरबार, रङ्गशाला र सैन्य परेड उसले देखिरहेको थियो । शायद, बादल र क्षितिजले नै उसको खोजको बाटो बनाउँदै थिए । हुनसक्छ तिनीहरू नै उसको पथ प्रदर्शक भएर निस्कन लागेका थिए ।

तीन वर्षअगाडि सानेले आमालाई सोधेको प्रश्नले आमालाई झस्काएको थियो । “आमा, बादलमा किन त्यो सेतो मान्छे सेतो कटन क्यान्डी बोकेर हिंड्छ ?” सानेले सोध्यो ।

आमा हाँसिन् । “ती बादलका आकृतिहरूमा हाम्रा कल्पना मात्र देखिन्छन् ।” आमालाई थप्न मन लाग्यो, “कति प्रश्न त आफैं हल हुन्छ पछि ।”

उनले सानेको कपाल मुसारिन् र भनिन्, “धेरै कुरा त आफैं बुझिन्छ नि पछि ।”

तीन वर्षका तीन हिउँद र तीन वर्षाले धूप र पानी धेरै फेरिसकेका थिए । हिमालले अग्लिएको थियो, अनि पग्लिएको थियो । हिमरेखा तल सरेको थियो, माथि चढेको थियो । ती कठोर भदौमा डाङ्ग्रे चरा खुइलिएका थिए । गर्मी छल्न मज्जाले धेरै पटक नुहाएका थिए । हो नि, अझै हुर्कंदो उमेरका शरीरका लागि ठूलो पहाड हो, तीन वर्ष । हजार पन्चानब्बे दिन र त्यति नै रात पो हुन्छ त । मनको चौडाइ र हाडको अग्लाइ दुवैमा राम्रै परिवर्तन हुन्छ, तीन वर्षमा । आँखाले नयाँ भाव सिक्दछन्, ओठमा नयाँ शब्द झुन्डिन्छन्, अनि हेराइमा नयाँ गहिराइ । बस्, यिनै तीन वर्षमा सानेले भोग्नु पर्ने भन्दा निकै बढी भोग्यो, देख्नु पर्नेभन्दा निकै बढी देख्यो र उमेरभन्दा अगाडि परिस्थितिले नै घचेट्यो ।

पक्का पनि साने आज बाबालाई खोजिरहेछ, आमाले अन्दाज लगाइन् । हुन त आमाको मन आफ्नै तालमा उड्छ । उनको मनको चाहना पनि त्यस्तो निष्कर्ष बन्ने गर्दछ । उनका बाल्यकालका कथा र उपदेश उनलाई कहिलेकाहीं क्षितिजमा सानेका बालाई खोज्न हुत्त्याउन थालेका थिए । सानो उमेरमा अभिभावक गुमाउनेलाई ठूलो चोट पर्छ, पर्नेले मात्रै बुझ्ने कुरा भयो । जो त्यस्तो धारले रेटिएको छैन, उसलाई त्यति धेरै रूचि हुने कुरा त भएन । नियतिको बज्रले ठटायो भन्दैमा त्यसरी आकाशतिर फर्केर टोलाउँदैमा खाटा बस्ने पनि त होइन नि ! उसो भए किन टोलाउँछ, साने ? आमाले आफैंसित तर्क गर्न खोजिन् ।

आमा चिन्तित हुनु स्वाभाविक पनि थियो । हुर्केकी छोरीले त कुनै दिन छिट्टै आफ्नो बाटो समातिहाल्छे, उनलाई लाग्यो । समाज चल्ने पनि यसरी नै त हो । हामी पनि त्यसैगरी आइयो । हरेकले आफ्नो बाटो समात्नुपर्छ । उनले आफ्नो बाटो समातेर त्यहाँ आएको पनि सत्र वर्ष बितिसकेछ । ओहो !

बाह्र वर्षलाई एउटा जुग मान्छन् मान्छेहरू । यो त डेढ जुग पो भएछ । यसैबीच एउटी छोरी भई । एउटा छोरो जन्म्यो । खुल्नुपर्ने ढोका सबै खुले । हेर्नुपर्ने धेरथोर देखियो । अनि गर्नुपर्ने चाहिं सबै बाँकी रह्यो । खासमा जीवन नै पूरै अधुरो पो देखिन्छ त अगाडि । त्यसलाई पूर्ण गर्ने आशा, भरोसा त्यही सानेमा त छ । हो, उनको संसारको धुरी खाँबो नै अब त्यही साने नै थियो ।

यही साने नै यसरी बादलमा हराउँदा उनलाई कतै न कतै पोल्थ्यो । मुटुमा कुटुकुटु खान्थ्यो । उनको अगाडिको बाटो नै हराउने पो होओइन भन्ने पनि लाग्थ्यो । आधा जीवनमा धेरै घामपानीले चुटिसके पछि उनलाई यस्ता विचारलाई कसरी तह लगाउनु पर्छ भन्ने थाहा थियो । तर मन झस्केपछि निकै बेर अमिलो ओठको छेवैमा, दाँतको फेदतिर बसिनै रहन्छ, नि । त्यसले चाहिं उनलाई निकै बेरसम्म बिथोलिराख्थ्यो ।

खरानी रङको झोला बोकेर रञ्जु आई । झोलाको मुखबाट फर्सीका मुन्टाले बाहिर चिहाइरहेका थिए । केलाएको सिमी नजीकैको मुढामा स्टीलको प्लेटमा राखेर आमा अब बत्ती कात्न लागेकी थिइन् ।

“सानीआमाको घरमा सन्चोबिसन्चो के रहेछ ? सबै ठीक छ नि ?” आमाले बिस्तारै सोधिन् ।

“सन्चै रहेछ ।” रञ्जुले झोला आमाछेउ राखी । “रातो गाई ब्याएको रहेछ । बाच्छो पाएछ, कालो । आँखा त खुबै डर लाग्दा । अँध्यारोमा झल्झल्ती बल्ने । जुरो पनि अहिले नै टाउको माथिसम्म उठेको ।” उसका आँखामा डर देखिन्थ्यो । उसले थपी, “त्यो बाछो त बेलामै सुमरेन भने गाह्रो हुन्छ रे, हजुरबाले भनेको । भन्नुभयो, त्यस्तो बाछो त मनमौजी साढे बन्छ । हामी त कति डरायौं ।”

आमाले उसको कुरामा खासै रुचि देखाइनन् । उनलाई थाहा थियो, रञ्जुको ससाना कुरामा कति धेर ध्यान जान्छ । उनी कुरा सुन्दै बत्ती काती नै रहिन् । छोरीले सोधी, “भाइ, खोइ त ?”

“साने । ऊ त्यही बारीको डीलमा त छ नि । बोला न । निकै बेर भयो बादल हेरेर बसेको । खै, के देख्छ ?”

रञ्जुले पोको खोल्न हतार गरी । “सानीआमाले मुन्टा पठाइदिनु भएको । नास्पाती पनि छ । कति गुलियो नास्पाती फल्छ उता ! यो अलि रातो छ । पाकेको जस्तो छ, यो सानेलाई ।”

“सप्रेका मुन्टा रहेछन् । दुई छाक पुग्ला ।” आमाले भनिन् ।

“सानु, ए भाइ ! नास्पाती खान आऊ । किन त्यहाँ बसेको ?” रञ्जुले बोलाई ।

साने बिस्तारै उठ्यो । वयस्क अन्दाजमा घरतिर फर्क्यो । उसको पछाडि डुब्न लागेको घामको रक्तिम किरणले बादल कलेजो फाटेर क्षितिजमा टुक्राटुक्रा भए झैं देखिएको थियो । सुन्तलाभन्दा अलि गाढा रङमा आकाश र जमिनको सङ्गम नयाँ लाली खोज्दै थियो ।

हिजो सानीआमाको घरमा रञ्जुलाई सपनाले नराम्ररी तर्साएको थियो । अर्काको घरमा आफ्ना मान्छेसँग सम्बन्धित सपना के भन्नु ? कसलाई भन्नु ? उसले कसैलाई मन खोलिन् । घरमा राति खाना खाने वेलामा पनि त्यही सपना आँखा अगाडि मात्र आइरह्यो । उसलाई अर्काले सहानुभूति देखाएको पनि मन पर्दैन । भन्छे, अरूले त दुःख देखे चोसो पार्छन् । चेपारे ओठले कठै! कठै! भन्छन् । अनि मौका पाउने बित्तिकै मुसुक्क हाँस्छन् । हाम्रो पीडा त दिन काट्ने मेसो पो बन्छ त । जति बलियो मन भए पनि दुख्न त दुख्छ, नि । तर किन भन्नु दुख्यो भनेर ? किन हाँस्ने बाटो दिनु अरूहरूलाई ? हामी मसला त होइनौं नि ।

सपना साँच्चै भयानक थियो । पीङ खेल्न साने पीपलबोट पुगेको थियो । लठारो पीपलको हाँगोमा बाँधिएको थियो । साने पीङमा चढ्यो र रञ्जुले डोरी आफूतिर तानेर उसलाई त्यसमा राखेर धकेलिदिई । “चचहुईं” साने पल्लो सीमामा पुग्नुअगाडि नै ह्वात्तै बढेर ठूलो मानिस भइसकेको थियो । गएर फर्कंदा नै यस्तो हुन्छ ? उसले आफैलाई सोध्न भ्याइसकेकी थिई । पछाडि बसेकी हुनाले उसको  अनुहार चाहिं देखिन तर उसको शरीर झन्डै बाको जत्रै भइसकेको थियो । जसै पीङ रञ्जुतिर हुत्तिंदै थियो, पीङ बाँधेको पीपलको हाँगो लाछियो । साने भुइँमा बजारियो । खाना खानै लाग्दा उसको छाती ढक्क गऱ्यो । गाँस नै रोकियो । अनुहारको ज्योति विलीन भयो ।

“दिदे, के भयो ?” सँगै पिर्कामा बसेर खाना खाँदै गरेको सानेले केही चाल पाए झैं गऱ्यो । केही कुरा बुझे झैं दिदीलाई हेऱ्यो । जवाफ फर्काउनु अगाडि नै थप्यो, “खाना अड्क्यो ? पानी पिऊ त ।”

यति सानो छ, भाइ । उसलाई के भन्ने ? रञ्जुको मनमनै कुरा खेल्यो । आमालाई भनेर के हुन्छ ? अनेक अर्थ निकालेर अझ रुन पो थाल्नु हुन्छ । रञ्जुलाई के भन्ने, के नभन्ने भयो । उसले भाइको हातबाट पानीको गिलास लिई र दुई घुट्को पानीले सबै डरलाई पेटसम्म पुऱ्याई । अब उसको सपना पेटको तल्लो भागमा सिमीको तरकारीसँगै थिचिएर बसे झैं उसलाई लाग्यो ।

कुनै कुनै प्रश्न नै जटिल हुन्छन् । केहीको जवाफ त हुन्छ तर परिस्थिति यति प्रतिकूल बनिदिन्छ कि यस्तो प्रयास गर्नु मात्र पनि अहितकर हुन्छ । बरु सबैभन्दा राम्रो त त्यस्तो प्रश्नलाई बेवास्ता गर्नु हुन्छ । अथवा जताबाट प्रश्न निस्कन्छ त्यतै दबाउनु नै सबैभन्दा उत्तम हुन्छ । त्यस्तै कहिलेकाहीं प्रश्न धारिला पत्ती बन्छन्, आफ्नो अगाडि उभिन्छन् र रूद्रघण्टीको अचानो माग्छन् । त्यो बेला के गर्ने भनेर तुरुन्त निर्णय लिन सकिएन भने जे पनि हुनसक्छ । सबैभन्दा कठिन चाहिं के हुन्छ भने स्वीकार गर्दा पनि ज्यान माग्छ, अस्वीकार गर्दा पनि ज्यान लिन्छ ।

जे भए तापनि आमालाई पनि तर भरोसा दिनु पर्ने थियो, रञ्जुलाई । राति सुत्ने बेलामा भनी, “बाबा गएपछि कति सुनसान भयो हगि हाम्रो घर ? खै, जतैबाट पनि अलि छोटो जस्तो । कता के नपुगेको, के नपुगेको ।”

आमा नबोली पातलो कम्बलभित्र गुटुमुटु परेकी रञ्जुलाई एकोहोरो हेरिरहिन् । “भाइ सानो छ ।” उनले आमालाई भर दिन बोलिन्, “त्यसको चिन्ता लाग्छ नि आमा तर हजुरले पीर मान्नु पर्दैन – म छु ।” रञ्जुलाई अझै धेरै बोल्न मन लागेको थियो । यसो हेर्दा त आमा निदाइसकेकी थिइन् ।

सबै भनिसक्नु पनि पर्दैन । उसले मन बुझाउने तर्क आफैसँग गरी । धेरै चलाख बनेर सबै जिज्ञासाको उत्तर आजै पाउनु पनि जरूरी त्यसरी नै छैन जसरी सबै मनमा लाग्ने प्रश्न सोध्नु जरूरी हुन्न, उसलाई लाग्यो । यी मनमा लाग्ने हजार प्रश्न हजार तरङ्ग हुन् । ती छाल झैं उठ्छन् र बस्दछन् । यिनको धारले हानी गर्छ भन्ने थाहा हुँदाहुँदै किन धार लगाउनु ? कहिले ती प्रश्नहरू उठेर चुलीसम्म पुग्छन् तर कहिले बीचबाटै हराउँदछन् । खासमा ती सबै तरङ्गको उचित जवाफ हामीले चाहने बित्तिकै मिल्यो भने जीवनको सुन्दरता पनि निमेष भरमै हराउला नि ! तर त्यस्तो त हुन्न ।

उसको सपना पनि यस्तै अनुत्तरित प्रश्न बन्दै थियो । उसले यो कुरालाई राम्ररी बुझेकी थिई । उसले सोची, हो, यस्तै अनुत्तरित प्रश्नले नै त जीवनमा रङ थप्छन् । भविष्यमा भन्ने कथा, कहानी पनि यिनै प्रश्न त हुन् । अहिले पो गाह्रो पार्छन् त ! पछि त सुन्दा नि रमाइलो, सुनाउँदा नि रमाइलो । अगाडिको बाटोमा मजा लिनु छ भने केही प्रश्नको जवाफ नपाए पनि राम्रै हुन्छ । उसको मनमा अझै परिपक्व विचार जन्म्यो ।

* * *

“रञ्जु, एउटा कुरा भन्छु, नरिसा है ?” मन्जिताले स्कूल जाँदाजाँदै बाटोमा धानको बाला हातमा खेलाउँदै भनी ।

“के कुरा ? उही लज्जावती झारको कथा त होला नि ! आमाले लज्जावती झारमा हुने लाज छोरीको गहना हो । आफैं जोगिनुपर्छ भन्न छोड्नुभएन होइन । त्यो संरक्षणवृत्ति हो, लाटी । प्रकृतिले निहित रूपमा नै केही दिएको हुन्छ । तर हामी त्यसलाई मानवीकरण गर्छौं । अनि झार पनि लज्जावती हुन्छ ।” रञ्जुले हतारमा नै फर्काई ।

“त्यो कुरा होइन के ! तिम्रो भाइ सानेको कुरा । हिजो साँझ म माथिल्लो घरबाट दही लिएर आउँदै थिएँ । उसलाई खुर्पानीको घारीमुनि भेटें ।”

“ए, होला । साँझ हिंडिरहन्छ, साने । के भयो त ?” रञ्जुले स्वाभाविक रूपमा थप विवरण मागी ।

“उसले मलाई तिखो नजरले हेरेर भन्यो, ‘मन्जे, कता पुगेर आएकी नि ?’ मैले भनेँ, ‘देखिनस्, दही लिएर आएकी नि ।’ उसले टाउको हल्लाएर भन्यो, ‘दहीभन्दा त दूध पो मीठो हुन्छ नि ।’ मलाई त कस्तो अप्ठेरो लाग्यो ।” मन्जिताको अनुहार रातो भयो ।

रञ्जुलाई मन्जिताको कुराप्रति कुनै प्रतिक्रिया दिन मन लागेन । भनी, “छिटो जाम । फेरि विनोद सरले गाली गर्नुहुन्छ । धेरै माया गर्नुहुन्छ, अनि सम्झाउनु पनि हुन्छ ।”

दिउँसोको खाजाको समयमा विनोद सरले रञ्जुलाई बोलाउन पठाउनु भयो । रञ्जुको मनमा केही डर जस्तो लाग्यो । केही काम बिगारें कि भन्ने भयो ।

“सर, नमस्कार । भित्र आऊँ ?” उसले अनुमति मागी ।

“नमस्कार । आऊ, आऊ ।” विनोद सरले हातले इशारा गर्नुभयो । जाँच्दै गरेका कापीहरू टेबलमा पर सार्दै रञ्जुलाई बस्न हातले कुर्सी देखाउनु भयो । थप्नुभयो, “सानेको बारेमा केही कुरा गर्नु छ । कता हराउँछ, हराउँछ । कक्षामा खासै ध्यान छैन, उसको । आफ्नै दुनियाँमा हराउँछ । तिमी त घरकी ठूली सन्तान । बाबा पछि घर हेर्ने भनेको तिमीले नै हो । के गर्छौ, नियतिले कहिलेकाहीं सानैमा पनि ठूलो जिम्मेवारी सम्हाल्न बाध्य बनाउँछ । आमा र भाइ तिम्रो जिम्मेदारी हो । सानेलाई सम्झाऊ, है रञ्जु । बेलामा नै होस पुऱ्याए बेस हुन्छ । बार बारे तिल जोगिन्छ भन्ने त सुनेकै हौला ।”

“हुन्छ, सर । म भाइलाई सम्झाउँछु । सरको चित्त दुखाएको त होइन नि ?” रञ्जुको आवाज मलिनो, अनुनयको थियो ।

“त्यस्तो त होइन । तर ऊ आफैं बिग्रिने मेसोमा छ । ध्यान नै छैन । कता पुग्छ, पुग्छ । के गर्छौ, ध्यान नै नदिएपछि ? कसरी कुरो बुझिन्छ ? अलि सम्झाऊ न । आत्तिन पर्ने त केही छैन । तर समयमा ध्यान पुऱ्याउनु पर्छ भनेको हो । दुई महिनादेखि धेरै परिवर्तन आएको उसमा ।” विनोद सरले अझ प्रष्ट पार्न खोज्नुभयो ।

“हुन्छ, सर । हामी सम्झाउँछौं ।” रञ्जुले विनोद सरलाई आश्वस्त पार्ने यत्न गरी ।

साँझ फर्किंदा रञ्जुको अनुहारमा त्यस्तो चमक थिएन । मन्जिताले उसलाई सोधी, “के भयो ? किन अँधेरो मुख लगाएको ?” रञ्जुलाई खासै उत्तर दिन मन लागेन । उसले पहेंलो फाँट देखाउँदै भनी, “आकाशबाट हेर्दा कति मोहक देखिन्छ होला हाम्रो गाउँ ?”

मन्जिताले रञ्जुसँग जति संगत गरी उति नै रञ्जु जटिल बनेकी देखेकी थिई । उसले आफ्नी प्यारी साथीको मूड बदल्ने कोशिशमा भनी, “म भोलि नयाँ रबरको चुङ्गी लिएर आउँछु । तिम्रो घरमा नै खेलौं है ?”

रञ्जुले सहमतिको टाउको हल्लाई ।

गाइनेकीराको हूल पूर्वी हावासँगै उड्दै खोल्यान गाउँसम्म आइपुग्यो । हावाको गति र पखेटाको चालसँगै उनीहरूको आदिम नृत्य उस्तै देखिन्थ्यो । सृष्टिको पहिलो स्पर्शको रोमाञ्चक नाटक उस्तै मञ्चन हुँदै थियो । पेटमा सुनौलो रङ भरिएको एउटी भदौरे रानीबाट गोठालो बगरमा नै दुई राजकुमार तृप्त भएर हूलको अग्र भागमा पुगिसकेका थिए । उसको हरियो टाउकोमा नीलो आभा थपिएको थियो । उसका अरू पखेटाहरूलाई पनि उही लोभले उक्साइसकेको थियो ।

बिछट्टै राम्री रानीको शरीरबाट माधुर्यको वर्षा भइरहेको थियो । खेतबाट आकाशतिर उठ्ने सुवास उसको शरीरको वासनासँग मिसिंदा समूहका अन्य राजकुमारहरूको मन थामिन सकिरहेको थिएन । भदौरेको हूलमा नैतिक बन्धन त थिएन तर जैविक सामर्थ्यको माथिल्लो सीमामा रानी पुगिसकेकी थिई – रानी धेरै नै भरिइसकेकी थिई । उसको अण्डालाई चाहिनेभन्दा बढी नै रस उसको शरीरमा जम्मा भइसकेको थियो । खुला खेतमाथि पाक्न लागेको धानको रङले त्यसै त्यसै मोहित भएकी थिई । आकाशतिर पनि हेर्थी, जमीनतिर पनि उस्तै दृष्टि दिन्थी । तृप्त थिई ।

हूलमा उत्ताउला राजकुमारहरू रानीको पिछा गरिरहेका थिए । उनको सुनौलो पेट पुटुस्स उठेको थियो । पखेटाको फेदमा हरियो र नीलो चमकको आभा थियो । सम्पूर्ण प्रकृति नै रानीमार्फत अभिव्यक्त भए झैं गरी सबै राजकुमार एकआपसमा रानीको नजीक पर्नका लागि लड्न तयार देखिएका थिए ।

ओहो ! भदौको गर्मी अनि आकाशको चर्को ताप । रानीलाई दबाब थेग्न मुश्किल भइरहेको थियो । कुनै राजकुमार सबैलाई पराजित गर्दै लक्ष्य भेदनमा पुग्नै लाग्दा रानीले मृत्यु वरण गरिन् । निलम्बित जीवन हावामा तैरिन थाल्यो । जीवनलाई निलम्बन गरिदिई । जमिनतिर तैरिंदै बिस्तारै सुस्ताउँदो हावाको गतिमा भुइँतिर खस्न लागी । जीवनको रापले राँक्किएका भदौरे राजकुमार आफ्नो भिडमा अरू रानीहरूको खोजी गर्न थाले ।

घर अगाडिको बारीको पाटामा भटमासका बोटमा कोसा लागेका थिए । पुष्ट कोसा हरियो भटमास रुचाउनेका लागि उसिनेर खान तयार जस्ता देखिन्थे । चौरमा रञ्जु र मन्जिता रबरको चुङ्गी खेल्दै थिए । रञ्जुले भनी, “मन्जे, आज त मैले नटुटाई एक सय पुऱ्याउँछु । हेर्लिस् नि !”

मन्जिता पनि किन आफूलाई कम देखाउँथी, “हेरुँला, कसको एक सय पुग्छ नटुटाई ?”

एउटै बयका केटीहरूको बीचमा तीव्र प्रतिस्पर्धा त स्वाभाविक नै थियो । घरदेखि स्कूल र स्कूलदेखि खेलको मैदानसम्म त्यस्तो भाव तन्किन्थ्यो, अनि दुवैलाई सक्रिय राखिरहन्थ्यो ।

रञ्जुले हावामा तैरिंदै आएको गाइनेकीरालाई देखी । उसलाई सानैदेखि गाइनेकीराको पखेंटामा समातेर बिस्तारै कुद्न र त्यसलाई हावामा उडाउन मन पर्थ्यो । यसरी खस्दै गरेको भदौरेको टाउको र पखेटाको रङ संयोजन उसलाई औधी मन पर्थ्यो । उसले त्यसरी कयौं कीरालाई बिस्तारै हावामा उठाएर कुद्दाकुद्दै बचाएकी थिई ।

“तेत्तीस, चौतीस, पैँतीस ।” मन्जिताको खुट्टाबाट चुङ्गी खस्यो । अबको पालो रञ्जुको थियो । तर चम्किलो, रबरको झुप्पाले उसको ध्यान तानेन । उसले नटुटाई सय पुऱ्याउने आफ्नो अभिमानी स्वर भुली । अघिदेखि नै ऊ हावामा भदैरे कीराको उडान पछ्याइरहेकी थिई । नजीकै हावामा तल झरिरहेको पुष्ट पेट भएको भदौरेलाई समात्न ऊ दगुरी । हावामा आफ्नो कोमल अन्दाजमा बिस्तारै तैरिंदै भदौरे जमिनतिर आउँदै थियो ।

रञ्जुले हात थापी । गाइनेकीरा बिस्तारै झर्दै रञ्जुको दायाँ हत्केलामा आएर बस्यो । उसका दुवै आँखा चौडा खुले । अनुहारमा आभा थपियो । उसले गाइनेकीराको पेट छामी । सम्झी, उसकी आमाले उसलाई उहिले गाएको गीत । मन्त्र थियो भदौरेमा प्राण भर्ने त्यो गीत । गाउन थालीः

भदौरेको पेटभरि फूलैफूलको खानी

हावभरि दिन्छ होस क्षणभरमै रानी ।

पख, पख एकै क्षणमा म उडाई दिन्छु

भदौरेकी रानीलाई आकाशमा छोड्छु । ।

“आमा, भदौरेलाई उडाएपछि बाँच्छ त ?” उसले आमालाई भनेको सम्झी । आमा दुवै आँखा झिम्काएर मुस्काएको रञ्जुको आँखा अगाडि आयो । रञ्जु गाइनेकीराको पखेटालाई चोरी औंला र बुढी औंलाको बीचमा च्यापेर बिस्तारै नाच्न थाली । ओठमा उनै पुराना शब्दहरू खेलिरहेका थिए ।

मन्जिता चुङ्गी गन्नमा नै व्यस्त थिई, “सन्ताउन्न, अन्ठाउन्न, उनान्साठी, साठी…. ।” अविच्छिन्न गिन्ती बढिरहेको थियो ।

काँधमा ठूलो मुला बोकेर साने घर आउँदै थियो । रञ्जुले आफ्नो हातमा भएको गाइनेकीरा लिएर सानेतिर दगुरी । शायद, ऊ भाइलाई कीरालाई कसरी पुनर्जीवित गर्न सकिन्छ भनेर देखाउन चाहिरहेकी थिई । दिदीले खेलेको देखेर मक्ख परेर घरतिर जानलागेको भाइलाई जिस्काउन रञ्जुलाई मन लाग्यो । सानेको गर्दनमा उसले गाइनेकीराको खुट्टाले काउकुती लगाइदिई ।

सानेलाई यस्तो चकचक मन परेन । ऊ रिसायो । ‘के गर्छे, यो रञ्जु ?’ यतिसम्म उसको मुखबाट निस्क्यो । तर उसको कानको लोती रीसले रन्किसकेको थियो । नाकका प्वाल पनि ठूला भइसकेका थिए । आफ्नो दायाँ कुममा उसले भदौरेको चिहान बनायो – गाइनेकीरो त्यही लिपियो । उसले रञ्जुको हातल झड्कालेर हुत्याइदियो ।

नजीकै भएकी उसकी आमालाई आफ्नो झोला समाउन दियो र भन्यो, “बारीमा राम्रै मुला फलेको रहेछ । तीन छाक तरकारी पुग्छ ।”

सानेका आँखा अनायासै मन्जिताको चुङ्गीतिर पुगे । उसका ओठबाट बिस्तारै गिन्ती मिठासयुक्त फुस्किंदै थियो, “सतहत्तर, अठहत्तर, उनान्असी, असी… ।” सानेले मन्जिताको हल्लिरहेको छाती देख्यो । मन्जिताको दायाँ खुट्टाले चुङ्गीलाई हानिरहँदा उसको नितम्बसम्म सानेले देख्यो ।

अलि परबाट रञ्जुले सानेका आँखाको निशाना चाल पाई । दौडेर सानेतिर आएर विरोध जनाई, “साने, मन्जिता मेरो साथी हो । तेरो दिदीको साथी । साने …!”

सानेलाई सहिनसक्नु भयो । उसले एक थप्पड रञ्जुलाई हान्यो र भन्यो, “छाडा केटीहरू । अलिकति लाज त झारलाई पनि हुन्छ । थाहा छ नि, लज्जावती झारको नाम ?”

मन्जिताको गिन्ती अगाडि बढिरहेको थियो, “तिरानब्बे, चौरानब्बे, पन्चानब्बे, छयानब्बे, सन्तानब्बे, अन्ठानब्बे … ।”

सानेले उसको चुङ्गी समात्नुअगाडि गढेर उसको गोलीगाँठोदेखि माथि पूरै हेऱ्यो र हावाबाटै चुङ्गीलाई समात्यो । रिसाउदैँ  भन्यो, “फुत्रुक, फुत्रुक तेरो आफ्नै आँगन छैन, मन्जिता । उतै गएर उफ्रे हुन्न ? हाम्रो घरमा केको रगरगी हो, यो ?”

मन्जिताले रुँदै रञ्जुलाई हेरी । रञ्जुका आँखा अघिबाटै बग्न शुरू गरिसकेका थिए । केही बोल्न सकिन । रञ्जुका पाखुरामा समाती । उसले आँसु रोक्न सकिन । तर हात टोक्दै मुखबाट आवाज रोकी र त्यहाँबाट झरी । केही क्षणमा नै ऊ पँधेरोपारि पुगिसकेकी थिई ।

रञ्जुको अनुहार रातो भइसकेको थियो । उसले आफूलाई सम्हाल्न खोजी तर छातीबाट तातो मुस्लो घाँटीबाट निस्कँदा उसको आवाज चिरिर फाटे झैं भयो । धुजाधुजा आवाज महसूस गरी । ऊ त घनघोर कालो बादलको छायामा कतै हराउन पुगी । उसलाई कुनै मोहले बादलतिरै ताने झैं भयो । कतै बादलबाट आएको आवाज ऊ सुनिरहेकी थिई:

भदौरेको छायाभित्र जीवन लुक्ने ठाउँ छ

उसकी रानी रोक्छिन हेर अलगै त्यो नाउँ छ ।

भदौरेको आनीबानी काटिकुटी मिल्छ

छोड जीवन केही बेर, नत्र काँचै निल्छ । ।

भदौरेको पेटभरि फूलैफूलको खानी

हावभरि दिन्छ होस क्षणभरमै रानी ।

पख, पख एकै क्षणमा म उडाई दिन्छु

भदौरेकी रानीलाई आकाशमा छोड्छु । ।

‘कसैले किन आत्तिएकी, रञ्जु ?’ भनेर सोधिदिए हुन्थ्यो भन्ने उनलाई लाग्यो । आमाले उनीतिर हेरेर ‘के भयो, नानी ?’ भनेको सुन्ने उसलाई रहर जाग्यो ।

ऊ भन्न चाहन्थी, ‘त्यो भदौरेकी रानी थिई । मैले त्यसलाई बचाउँथें । सानेले मारिदियो ।’

ऊ भन्न चाहन्थी, ‘मन्जे मेरी साथी हो । सानेकी दिदीको साथी । सानेले जे गऱ्यो त्यो ठीक थिएन ।’

उसलाई थाहा थियो, लाज झारलाई हुन्न । त्यहाँ त विज्ञान न हुन्छ । मान्छेले छोरी बनाउँछ झारलाई र झार बनाउँछ छोरीलाई । अनि लजाइदिए हुन्थ्यो भन्छ । लज्जावती झारले लजाएको होइन, आफूलाई संरक्षण गरेको हो । तर उसलाई थाहा थियो, त्यो कुरा कसैले स्वीकार गर्दैनन् । सुन्नसम्म पनि चाहँदैनन् ।

रानी भदौरे बाँच्न सक्थी तर बाँचिन । राजकुमारहरू युवराज हुँदा यस्तै दुर्घटना हुन्छ । भदौरेले मर्नु पर्छ । रञ्जुलाई लाग्यो, मैले त्यो भदौरेलाई फेरि जीवन दिन सक्थें । तर उसको हत्या भयो ।

साने आमालाई बायाँ हातले तान्दै घरतिर जाँदै थियो । रञ्जुले सपनामा पीङबाट झटारिएको सानेको पिठ्यूँलाई तुरुन्त ठम्याई । “ओहो ! साने त त्यो मान्छे पो भइसकेछ..!” उसको चिरिएको स्वर धमिलो गरी बाहिर निस्क्यो ।

सानेले रञ्जुतिर आफ्नो अनुहार फर्कायो । उसको अनुहार रौंले ढाकेको थियो । नली हाड बढेर ऊ आमाभन्दा अग्लो भएको थियो । साने, साने थिएन । नयाँ मान्छे बनेको थियो । त्यही अफसोसको भाव गीत बनेर उसको मनमा कतै बजिरहेको थियो – शायद, बादलबीच नै हुनुपर्छ, ऊ अविच्छिन्न सुनिरहेकी थिई, उसकी आमाले बाल्यकालमा गाएकी त्यही भदौरेको भाका, उही भदौरेको गीत ।

* * *