
पुस महिनालाई फासफुस पनि भनिन्छ । पुस महीनाकै पहिलो दिन थियो । रातको करीब नौ बजेको हुँदो हो । बाहिर चूक घोप्टाएको जस्तै अँध्यारो थियो । चिसो बतास जोडसॅंग हुँइकिरहेको हुनाले कठ्यांग्रिने जाडो नै थियो ।
हिमाल जस्तै सेतै कपाल फुलेका चेतनाथ र चम्सुरी घरमा थिए । उमेरले सत्तरी कटेको यो जोडी खाना खाईवरी सुत्ने तरखरमा थिए । बूढामान्छे जाडोले होला सिरकभित्र डल्लो परेर बसेका थिए । बूढी भने छेवैमा बसेर हात-खुट्टामा तेल घसेर आगो ताप्दै ढाड सेकाउॅंदै थिइन् ।
दुवैजनाले सोच्न सकेका थिएनन् – माघ महिना त झन् के कसरी गुजार्ने होला ?
दशैं तिहार घरमै मानेर सबै जना गएका थिए । माघेसक्रान्तिमा छोरो मात्रै भए पनि आउला भनेर दुई बीच कुराकानी भएको थियो ।
छोरा, बुहारी, नाति र नातिनी सॅंगै बस्दारहेछन् तराई मधेसको नजीकै पर्ने एक शहरी क्षेत्रमा ।
ढुकुर जस्तो यो जोडी घर कुरेरै बसेका थिए । पुर्खाले जोडेको यो संसार औधी प्यारो थियो । उनीहरू गफिएरै समय काट्ने खेलो गर्दै थिए । त्यसै बखत बाहिर गडप् गडप् जुत्ता बजेझैं सुने । रातको समय कतै चोर पो आयो कि भनेर चेतनाथ चिच्याए जोडसॅंग ।
“बाहिर को हो हॅं ?”
आमाले झ्यालबाट पुर्लुक्क हेर्नखोज्दै थिइन् । छोरा रामेश्वरको आवाज पो सुनियो । पहाडको ठाउँमा अँध्यारोमा डरडरै हुन्छ हिंड्नडुल्न पनि । एक त जङ्गलको बाटो अर्को रातको समय । मुटु छेड्ने जाडो उस्तै । रामेश्वरले भुइँमा झोला घद्रक्क राखेर बाआमा दुवैलाई ढोग गरे ।
“माघेसङ्क्रान्तिमा आउँछस् कि भनेर कुरा गर्दै थिइम् । आजै पो आयो । मेरो बाबु ! लामो आयु छ मेरो छोराको ।” आमाको वचन थियो ।
सन्चो-बिसन्चो सोधपुछ भयो । रामेश्वरले बचेको भात खाए अनि सबै जना सुते । एकै छिनमा रामेश्वर भुसुक्कै निदाएछन् ।
“थाकेर आएको छिट्टै निदायो मेरो बाबु ।” आमाको माया न हो ।
+ + + +
भोलि बिहानै भालेको डाको सँगै ब्युँझे सबै जना ।
“म त थाकेर लद्दु भएको थिएँ । मीठो निदाएछु साँच्चै ।” उनले बाआमालाई सुनाए । गाउँ, टोल र छरछिमेक सबैको बारेमा सोधपुछ पनि भयो । उठेर बाले तम्बाखु तान्न थाले । आमाले मीठो चिया पकाइन् । सबैले पेट तातो गराए एक एक कप चिया खाएर । आमाले आँटो र रायोको साग पकाइन् सबैले तात्तातै खाए ।
बसेर आगोको राप लिंदै गफिंदै थिए ।
रामेश्वरले बूढासँग कुरा गरे, “एउटा सल्लाह गर्न छ है बा ।”
“केको सल्लाह हो र हॅं ?” बूढा बोले ।
“अब बा आमाको गुँड सारेर उतै लान पर्यो । उतै हामी भएकै ठाउँमा ।”
यो कुरा सुनेर बा धेरै बेर मौन व्रत बसे । अलिबेरमा बल्ल बोली फुट्यो, “किन जाने हो र ? मर्ने बेलामा यतै जाती छ मलाई त ।” बूढी भने मात्र बाबुछोराको कुरा सुनिरहेकी थिइन् ।
“हजुरहरू अब बुढेसकालमा हुनुहुन्छ । यो गाउँमा अरू को नै छ र ? मर्दापर्दा । के होला कसो होला । हामी उता हजुरहरू यता किन गर्नि हो ? बरु सँगै बसम् अब । हजुरकी बुहारी रमिता पनि बडो जोडजुलुम गरेकी छन् । बाबु-नानी पनि कति रमाउँदा हुन् । हजुर बाआमा सँगै बस्न पाउॅंदा ।”
छोराको कुरा सुनेर बाआमा नै अलि इन्तु न चिन्तु परे झैं भए । बाबा आमालाई लिन जाने बेला सरसल्लाह गरेका थिए रमितासँग । यसै कुराले जोईपोइको बीचमा झगडा परेको रहेछ । तर पछि सहमति मै घरमा गएका रहेछन् रामेश्वर । सबै कुरा त खुलेर बाआमासँग किन भन्थे र । जाम कि जाम मात्र भनिरहे उनले खालि । छोरोको रटान सुनेर बाले पनि मन पगालेछन् ।
“बरु आमालाई सोध्नू, के विचार छ उनको ?”
बूढी बोलिहालिन्, “म कुवाको भ्यागुतो जस्तीलाई के थाहा छ र ?”
एक दुई दिन बितिहाल्यो कुरैकुरामा । अनि बल्लबल्ल सबैको राय सल्लाह मिल्यो ।
“जाने त हो तर यो घरबारी कहाँ फालेर जानी ? पुर्खाको नासो ।”
बाको कुरा सुनेर रामेश्वर रनभुल्ल परे एक छिन । र बोले, “सकेसम्म बेचौं नसकेमा गरिखालान् नि कसैले, सित्तैमा भए पनि ।” छोराको कुरा सुनेर बाले टाउकोमा हात राखेर झोक्रिन थाले ।
गाउॅंभरि चहार्दा पनि कोही निस्केनन् जग्गा खाने मान्छे । को सँग हुनु त्यत्रो धेरै दाम ।
“तर बेचेरै छाड्छु, बाआमा लगेरै जान्छु । मेरै कर्तव्य हो ।” रामेश्वर भनिरहे । शायद एक कर्तव्यनिष्ठ छोरोको मन नै होला कति धेरै कोमल हो । सबै जना हात धोएरै लागिपरे तर जग्गा बिकेन ।
“बरु बन्जर बनाइदिम् न यो पहाडको रुखो जमीन किन धेरै मरिमेट्नि हो ?” भन्दै थिए रामेश्वर तर बा आमाले मानेनन् । अन्तमा एकजना पारी गैरी धाराकै चिनेजानेका व्यक्ति आँटेरै आए । उनी भन्दै थिए, “म किन्छु यो पूरै जग्गा तर भाउ ताउ अलि सस्तोमै मिलाउन पर्छ ।”
जतिसक्दो छिटै कुरा टुङ्गो लाउन चाहन्थे उनी । बेलुकाको दश बजेसम्म सबैजना सँगै बसेर दामकाम गरे । कुरा पनि टुङ्ग्याएर छोडे ।आफू बस्ने बास र भएको त्यही बारीको टुक्रा पनि एकाएक बेच्दा बा आमाको मन अलि अँधेरै भएको थियो । तर अलि चेपुवा मै परेछन् बरा । छोरोको मन अलि कुँडिएला भनेरै होला ।
हप्ता दिन भित्र जग्गा पास पनि गरिदिए । परेको जति दाम सबै छोराले नै बुझे । दाम त के परेको हो गोरुमोलाइ नै हो । तर गाउँभरि डङ्का पिटे सबैले । बसाइँ सर्ने हुन् बाआमा नै भनेर । गर्दागर्दा जाने दिन पनि आयो । शुरूमा आनाकानी गरे पनि मन बुझाएर हिंड्ने भए सबै । आफू चर्चेको विरासत गुमाएर ।
बाआमाले कुरा गर्थे, “अलि अक्कर मै परियो । जे त गर्ला , जसो त पर्ला । मारे पाप पाले पुण्य । एउटा छोरोको कसरी चित्त दुखाउनु ।”
जग्गा बेच्न सफल भएसँगै रामेश्वरका हड्डी हाँसे झैं भए । बसाइँ सर्नेगरी जाने दिन पनि निकाले पण्डितको सल्लाहले नै । बाआमा अलि लगन साइतमै भरोसा गर्थे । मुटुकै टुक्रा सम्झेर माया गर्थे त्यो सम्पत्ति । तर आज चटक्क छोडेर हिंड्दा कस्तो भए हो त्यो मन, भएको झिटीगुन्टा कसेर डाँडो काटिहिंड्दा ।
भोलि हिंड्ने भनेपछि रातभरि निदाएनन् दुवैजना । हिंड्दाको दिन पनि धेरै नै रोएका हुन् बाआमा । घरको पिँढीमा बसेर निकै बेर घोरिए । बर्रर अश्रुधाराले गह भिजाउँदै विदा भएका हुन् । त्यो दृश्य हेरेर बिदाइ गर्न आउनेहरू समेत मन थाम्न सकेनन् ।
जीवनमै गाडी चढेको पहिलो पटक रहेछ बूढीको । रिङटा आएर होला दुवै जना मुखमा पानी पनि हालेनन् । राति अबेर मात्र पुगे घरमा । बचेर आइयो भन्दै थिए बाआमा । हुन पनि हो गाडीको चक्काले बाटो नै छोडेको रहेछ, थोरैले मात्र बचेका थिए । बाआमाले भगवान् पुकारेरै ढोग गरे पुग्ने बित्तिकै, “बचायौ भगवान्, धन्य छौं हामी ।”
घरमा बुहारी रमिता र नाति नातिनीले खुशी मनाएर स्वागत गरे बाआमालाई ।
खाना खाएर सुते सबै । तर बाआमालाई पटक्कै निद्रा लागेन । पहिलो रात भएरै होला । भैंसी पनि भकारो फेर्दाको दिन दाम्लो किलो गर्छ भन्छन् । दशकौं गढेर बसेको बास छोड्दा के सजिलै निद्रा पर्नु, परेन । झलझली घरबारी नाचिरह्यो उनीहरूको मन-मस्तिष्कमा । भोलिपल्ट बाआमाले सुनाइहाले छोरालाई ।
तर उनी सुनेको नसुन्यै गरेर पसलतिर लागे । उनले किराना पसल गर्थे । रमिताको स्कूलमा पढाउने जागीर थियो । यही सहाराले नै छ जनाको जम्बो टोली पाल्ने साहस बटुलेका हुन् । हुन त बूढबूढीको भत्ता पनि आउने गर्थ्यो ।त्यतैतिर सोझाएका रहेछन् ।
समय बित्दै गयो सँगै बाआमा पनि रमाउँदै गए । छोरा पसलमा व्यस्त, बुहारी स्कूलमा । बाआमाले घर मात्र हेरेनन् । बालबच्चाको खूबै ख्याल पनि राख्थे । नानीबाबु पनि हिरिक्क हुने हजुर बाआमासँग बस्दा । बुहारी रमिता पनि सारै ख्याल राख्थिन् सासू-ससुराको । एक दिन पनि साह्रो वचन बोलिनन् । बाआमाले कुरा गर्दा रहेछन् आउने जाने मान्छे सँग । सबै जना दङ्ग नै पर्ने कति मिलेको परिवार हो भनेर । संसारकै नमूना परिवार जस्तै ।
भाडाको घरमा कोठाहरू साँगुरै थिए । एउटामा बाआमा सुत्थे । अर्कोमा छोराछोरी सँगै रमिता र रामेश्वर । सम्झौता मै चलेको जीवन । दुवैको घरको पूरै रहर थियो । एक दिन त घर हुने नै छ, सपना बुनेर बसेका थिए दुवैले । घरभेटी पनि भगवान् नै रहेछन् । एकदिन पनि रुखो वचन बोलेनन् । बरु दशैंमा टीका थाप्न पनि आउँथे । आफ्नै बाआमा झैं गरेर । त्यति मात्र हैन । मीठो चोखो पाक्दा बाँडेरै खाने गरेका थिए । कति धेरै आत्मीयता हो हुन पनि ।
करीब दुई वर्ष बितेको हुँदो हो । अलि अलि बचेको पैसाले एउटा थोरै जमीन किन्न सफल भए । यो खबर सुनेर बाआमा नाच्नै खोजेका थिए । बुढेसकालमा घरमै मर्न पाइने भयो भनेर । हुन पनि जन्मघर छोडेर आएपछि दुब्लाउँदै गएका थिए दुवै जना । बाको त हड्डी मात्रै देखिन्थे गालामा । मनमा ठूलो घाउ नै रहेछ बरा ।
तर सन्तानको माया न हो कसरी छोडेर बसुन् । त्यो विकट बस्तीमा । गर्न पनि छोरोलाई मुटुकै टुक्रा झैं माया गर्थे । उनकै पछि लागेर आए ।
एक दिन सबै जना बसेर घर बनाउने बारेमा गफगाफ हुँदै थियो । सासूआमाले चिया खाएका कपहरू धुँदैगर्दा साबुनको चिप्लोमा हातबाट खसेर भुइँमा परेछ । फुट्यो चिया खाने कप झरम्झुरुम । तर मान्छेको मन न हो । बुहारीलाई रीस उठेछ ।
यही विषयलाई लिएर सासूबुहारीमा ठूलो भनाभन परेछ ।
“सम्पत्तिको माया नगर्नेहरू जुन बाटो आएको हो उतै गए हुन्छ ।” रमिताले भनिछन् ।
अनजान आमा रुनै थालिछन् । सासूबुहारी बीच युद्ध चर्केको घरभेटीले सम्म चाल पाएछन् । तर हप्ता दिन पछि पुनः मेलमिलाप भयो । सामान्य अवस्थामै फर्किए दुवै जना ।
+ + + +
दिन बित्दै गए । सबै रमाइलै गरी बस्थे । तितोपिरो बिर्सिएर । बालबच्चा हुर्केर बढ्दै गए । बाआमाले घरको रेखदेख गर्ने । दुई दम्पती कामतिर व्यस्त । अब त आफ्नै घरमा बस्ने सुरसार कस्न थाले सबै जना ।
रामेश्वरले ऋण धन गरेरै पनि घर बनाउने बाचा गरे । बाआमाको मनै उज्यालो भयो, छोरोको कुरा सुनेर । ढिलो चाँडो घर बन्ने टुङ्गो लाग्यो । करीब छ महीनाको समय सीमा तोकेर घर ठेक्का दिए । बाआमा बारम्बार खटेरै लाग्थे घरको काममा ।मध्यान्नको चर्को घाममा पनि ।
करीब तोकेकै समयमै बस्नयोग्य घर तयार नै भयो । तीन कोठा एक किचन सहित चिटिक्क नै पर्यो । सबै भन्दा धेरै बाआमा नै हर्षित भए । पुर्ख्यौली घर छोडेको घाउ निको नहुँदै यो घर बन्दा मनै रमायो । घर पूजा लगाउँदा त खुसीले नाचेकै हुन् दुवै जना । साइत हेरेरै सबै सरसमान सारेका हुन् ।
तर सोचे झैं भएन जिन्दगी । किन हो किन मनमा कहीं न कहीं चोट परे झैं भयो । एक एक कोठा बाबु नानीले पाइहाले । ठूलो कोठा रामेश्वर र रमिताले लिने नै भए । अनि बाआमा त्यसै बिलखबन्द परेझैं भए । सरसमान त बोकेर आए तर कोठा विहीन । सबैको लागि घर बने पनि उनीहरूको लागि कोठा भने बनेन । अन्तमा किचन मै बस्नुपर्ने भयो । सानो खाट राखेर । दुवैको अलि मन नै कुँढिएछ ।
“के सोचियो पहिले । के भयो अहिले ।” दुवै जना धर्म सङ्कटमा परेझैं भए । जसोतसो दुईचार महीना बितेर गए । तर वर्षौंवर्षं काटे कै जस्तो भएछ बाआमालाई । जब गर्मी दिन आयो उनीहरूको मन धेरै नै कमजोर भयो ।
“जीवन कसरी गुजार्ने होला ?“ खूबै मन खिन्न झैं देखिन्थे दुवै जना । साँगुरो कोठा अनि त्यो गर्मी समय ।रातमा न निद्रा न दिनमा भोक । गर्मी र पसिना कति हो कति । कहिले बरन्डामा सुत्थे। कहिले घरको छतमा गएर पल्टिन्थे । चरक्क घमौराले पोल्दा बाटोमा हावा खाँदै हिंड्थे । मन त्यति नै पुरानै दिनको यादमा उतै भीर र पाखातिरै डुलिरह्यो सधैं ।
सहनुको पनि सीमा हुँदो रहेछ । बाआमाले मुखै फोरेर कुरा राखेछन् एकदिन छोरासॅंग, ”अब हामी अन्तै सर्नुपर्यो बाबु यसरी कति दिन बस्नि हो खै ? खुला आकाशमा उडेको पक्षीलाई पिँजडामै थुने झैं भयौं हामी ।”
बाआमाले दुःख पोखे । रामेश्वर मुखमा पानी राखे झैं गरेर पसलतिर लागेछन् । दिनभरि संसार डुलेर बा घरमा आए तर कोठा भेटिएन । भोलि बिहान यो कुरा सुनेर रामेश्वर आगो भएछन्, “खोज्नै परे मै खोज्छु कोठा । तपाईं बुढो मान्छे किन जान्ने भएर दुःख पाउनुहुन्छ ?”
कुरा ठीक लागेरै होला टाउको मात्रै हल्लाए बाले । खोज्दै जाँदा कोठा भेटियो पसलतिर आउने चिनेजानेकै व्यक्ति कै सहाराले । अन्ततः सरेरै गए बाआमा । छोरा बुहारीले नै लगेर सरसमान छोडेका रहेछन् । आफ्नै ज्यान स्याहार्न पनि नसक्ने थिए बाआमा समानको त के कुरा । तर अन्तै सर्नुको विकल्प देखेनन् उनीहरूले ।
कोठा सानै भए पनि दुई चार महीना शान्तिले श्वास फेरे । दिन काट्ने र काल पर्खने काम त भयो नै । नातिनातिना आउँथे कहिलेकाहीं बा आमा सम्झेर । तर छोरा बुहारी घुमेर पनि आएनन् एक दिन पनि ।
घरभेटी पनि सारै भद्र मानिस रहेछन् । आफ्नै बाउआमा सम्झेर माया गर्थे । बुढ्यौली भत्ताले लत्ता कपडा र दानापानी चलेको रहेछ । तर मन खुम्चाएर बस्नुको कुनै विकल्प रहेन । बहालको डेरा मै बसी नै रहे । चेतनाथ र चम्सुरीले चेत्नुसम्म चेते ।
+ + + +
एक पटक दुवै जना नराम्ररी बिरामी परे । जेठको गर्मीमा धन्न लगेन झाडा पखलाले । सबै जनाले माया मारेकै हुन् । तर भगवान् दाहिना हुनाले बचेका रहेछन् दुवै जना । बल्ल बल्ल तंग्रेर उठे । पैसाकै अभावमा के खानु केलाउनु ? घरभाडा कसरी तिर्नु हम्मे नै पर्यो ।
“सक्नुहुन्न भने एक महीनाको भाडा छोडिदिउॅंला नि ।” घरबेटीले भने ।
दयालु घरबेटीले यो पनि थपे, “बरु म कुरा गरुँला आश्रमतिर बसोबासको लागि । अब उमेर अवस्था पनि कहाँ छ र हजुरहरूको । जिन्दगी धानेर बस्नको लागि ।”
उता छोरा रामेश्वर र बुहारी रमिताले मात्र रमितै हेरे तर नजीक परेनन् कुनै दिन पनि ।
घरभेटीको यो कुरा सुनेर दुवै जना दम्पतीको एकाएक प्राण बौरे झैं भयो । लामो सास तानेर थचक्क भुइँमा बसे । मुहारमा बिहानीको घाम झैं उज्यालो मुस्कान भरिएर आयो । शान्तिले सास फेर्ने मन यो संसारमा कसको हुँदैन होला ? एक मुठी रगत नशामा रहेसम्म धर्तीमा बाँच्ने रहर कसको हुँदैन होला ?
उनीहरू बारम्बार सोधिरहन्थे, “बाबु ..! कहिले आउँछ होला हामी दुवै ढुकुर आश्रमतिर गुँडै सारेर जाने दिन ?”
तर किन हो किन ? दुवैको मन उही पुर्ख्यौली घर सम्झेर धर्किन छोडेन । रातमा सुत्दा पनि सपनामै देख्थे झलझली उतै घुमेको उतै डुलेको । शायद बूढो शरीर भाडाको कोठामा थुनिए पनि मन भने कदापि थुनिएन । दुवैजनाको हंस उतै उडिरहन्थ्यो बारम्बार । सधैं जसो एका बिहानै उठेर एकले अर्कोलाई नियाल्दै हेर्थे र गहहरू आँसुले बिझेका हुन्थे ।
तर ती आँसुको मूल्य बुझिदिने एउटा मान्छे यो संसारमा कोही पनि थिएन । केवल भड्किएका तिनै दुई आत्मा बाहेक..।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

