काठमाडौंस्थित लाजिम्पाटमा रहेको त्यो पहेंलो घर । फागुन महिनाको शुष्क हावा । अनि बिहान–बेलुका चिसो भए पनि दिउँसो न्यानो थियो ।
सदाको शनिवारको साँझ जस्तै आजको शनिवारको साँझ पनि त्यो घरबाट मान्छेहरू बाहिर निस्कने क्रम शुरू भयो । उनीहरू हतारहतार गर्दै आफ्ना आफ्ना जुत्ता र चप्पल लगाए अनि एक–एक गर्दै फलामे ढोकाको चुकुल खोलेर बाहिर निस्किए । पाँच–सात मिनेटको अन्तरालमा सबै निख्रिए । परिवार मात्र बाँकी रहे ।
सधैं शान्त रहने त्यो परिवारमा केही दिनदेखि विवाद शुरू हुन थालेको थियो । त्यो घरबाट अरू मान्छे निस्किएपछि खैलाबैला चल्थ्यो । उनीहरूको चर्कोचर्को आवाज छिमेकीहरूले समेत सुन्न थालेका थिए । चर्को स्वरले बोल्नेहरू मध्ये एक थिए– त्यो घरका घरमुली थीरमणि पराजुली, अनि अर्की थिइन्– उनकी श्रीमती विमला पराजुली ।
“शहरका सबै जुवाडे बटुलेर तपाईंले यो के गर्न खोजेको हो ?” तास खेलाएर को ठूलो मान्छे भएको छ ? पर्दैन यो तास–सास खेल्न ! अरू कसैको घर नै नभएको जस्तो ! हाम्रै घरमा खेल्न पर्छ भन्ने छ ?”
“किन चर्को स्वरले बोल्या ।” थीरमणिले झ्यालबाट पुलुक्क बाहिर हेरे अनि बोल्दै गए, “सानो स्वरले बोल् छिमेकीले सुन्लान् ।”
“हेर ! इज्जतको त डर रहेछ त ! गर्दिनँ सानो स्वर ! मैले के गल्ती गरेको छु र सानो स्वर गर्ने ? यो तास खेल्ने काम यो घरबाट हटेन भने झन् टोल नै थर्कनेगरी कराउँछु । चिच्याउँछु ।”
“सधैं हो र ? आज मात्र त हो नि ! हप्ताको एक दिन ! शनिवार ! बिदाको दिन यसो बसिबियाँलो गरेको । भोलि तेरो घरमा कोही पनि आउँदैन । आइज भनेर बोलाए पनि कसैको फुर्सद छैन । सबैलाई आफ्नो–आफ्नो काममा जानै हतार हुन्छ । हप्ताको एक दिन शनिवार यसो रमाइलो गरौं भनेको ! मैले रमाइलो गरेको त कहाँ सह्य हुन्छ र यसलाई ? कस्तो डाइलो बानी ।”
“जे कुराको पनि समय हुन्छ । दशैं–तिहार र यसो चाडपर्वमा खेल्दा को कराउँछ र ? शनिवार त आउनै नहुने ! भो पर्दैन, त्यो शनिवार पनि । अन्तै कतै गएर खेल्नु । आजबाट जुवाडे मेरो घरमा देखें भने लट्ठी नै लिएर लखेट्छु ।”
श्रीमान् श्रीमतीको संवाद मत्थर हुने पक्षमा गएन । दुवैतर्फबाट आफूहरू जोडका तोड ठसमस गर्दै गए । बरु विषयवस्तु नै परिवर्तन हुन गयो ।
“लट्ठी ? हेरुँला लट्ठी लिएको ! तेरो लट्ठीले भाग्नेवाला कोही पनि छैन । म सानोतिनो व्यक्तिसँग तास खेल्छु भन्ने ठानेकी तैंले ? मेरो खेलाडी कम स्तरका छन् भन्ने सोचेकी होलिस् ।” थीरमणि केही उच्च स्वरमा बोल्दै गए, “मेरो जागीर पो सानो भयो । संगत ठूलैसँग छ । बुझिस् ! यस्ता खेलाडीलाई घरमा ल्याउनु हाम्रो अहोभाग्य हो । बरु आफूलाई गौरव गर त !”
“जुवाडेको के नै ठूलो संगत होला र ? तासको खालमा बस्न थालेपछि सोचाइ नै कस्तो हुन्छ र, हामीले पनि जानेका छौं । सबैको हैसियत…।”
थीरमणिले श्रीमतीको वाक्य पूरा हुन दिएनन् । बोलिहाले, “त्यो पातलो दाह्री भएको खाइलाग्दो केटो को हो, तैंले चिनेकी छस् ? शंकर होटेलको मालिकको छोरो विनोद शंकर हो । अस्ति गाडीमा आउने ढाकाटोपी लगाएका व्यक्ति राजाका भाइ धिरेन्द्र हुन् । उनी धेरै बेर बसेनन् । हिंडिहाले । म सानोतिनो व्यक्तिसँग संगत गर्छु भन्ने लागेको होला ?”
केहीबेर अगिसम्म कठोर बनेकी विमला अहिले मन्द देखिइन् । धिरेन्द्रको नाम सुन्नासाथ उनलाई कमजोर बनायो ।
यता थीरमणिको साहस बढ्न थाल्यो । उनी अनुहार उज्यालो बनाउँदै बोल्न थाले, “तेरो त अनुहार मात्र सेतो हो । नाम पनि त्यही अनुहारले सेती रहन गएको होला । बुवाले अनुहारको रंग देखेर सेती राखेका होलान् तर आत्मा भने कालो । आफ्नो हैसियत ठम्याउनै नसक्ने ।”
“कहाँ मेरो नाम सेती हो ? यो त मलाई मेरो बुवाले माया गर्नुभएको पो हो ।”
लमजुङ्ग चिसंखुका श्रीप्रसाद घिमिरे राणाकालीन डिट्ठा थिए । त्यतिवेला उनलाई आधा लमजुङ्गमा नचिन्ने कोही थिएन । तिनै डिट्ठा श्रीप्रसाद घिमिरेका पाँच जना छोराछोरी मध्ये एउटी छोरी थिइन् विमला । आफ्ना छोरा–छोरीलाई विभिन्न उपनाम दिने क्रममा डिट्ठा श्रीप्रसादले आफ्नी जेठी छोरी विमला अरूभन्दा गोरी भएकोले सेती नाम दिएका थिए । तर पोखराका थीरमणि पराजुलीसँग विवाह गरेपछि त्यो नाम जीवन्त रहन सकेन । थीरमणिले विमला नै भन्न थाले । तर यदाकदा उनको मुखबाट फुत्किहाल्थ्यो । माया गरेको वेला होस् वा रिसाएको वेला थीरमणिले त्यो फुत्काइहाल्थे – सेती ।
अहिले परिस्थिति अलिक भिन्न थियो । परिवारको झमेला बढेसँगै नाम र जिस्किने परिपाटी बदलियो । रहनसहन परिवर्तन भयो । विमला गम्भीर विषयवस्तुमा थिइन् भने थीरमणि सकभर श्रीमतीको कुरालाई न्यून स्तरमा झार्ने प्रयत्न गर्दै थिए । त्यसैले थीरमणि आफ्नो अनुहार अमिलो बनाउँदै बोले, “आफ्नो हैसियत चिन्न सक्नुपर्यो नि ! मेरो जुवाको हैसियतको हिसाब गर्न आउँछ ?”
“हैसियतको कुरा गर्ने हो भने म पनि कम हैसियतकी छोरी हुँ र ? डिट्ठा श्रीप्रसादकी छोरी हुँ । तर घरमा बिनासित्तिका जुवाडे थुपारेर मलाई मेरो हैसियत बढाउनु छैन ।” उनी फेरि केही भावुक हुँदै बोलिन्– “यिनै छोरा–छोरीको लागि पोखरादेखि काठमाडौंसम्म आइयो । पढ्लान्, राम्रो जागीर खालान् । गतिलो घरमा विवाहदान होला भनेको त बाबु नै जुवाडे भएपछि के लाग्छ र ! छोराछोरीले के सिक्लान् ।”
केही दिनदेखि विमलाको मानसिक असह्य बाक्लिएको थियो । उनी उकुसमुकुसिएकी थिइन् । त्यति मात्र होइन आफ्ना श्रीमानसँग ठाकठुक पर्नासाथ छोरी निराको अनुहार अगाडि आइहाल्थ्यो ।
अहिले थीरमणि आफ्ना श्रीमतीको त्यो भाव बुझ्न समक्ष भए र गम्भीर हुँदै श्रीमतीतिर हेरेर बोले, “खराब संगतले कोही बिग्रन्छ ? बिग्रने भनेको खराब दिमागले हो ! मलाई विश्वास छ, मेरा छोरा–छोरीमा खराब दिमाग छैन ।”
आफ्नो घरमा जुवाडेहरू आएकोमा मन नपराउनुको मुख्य उद्देश्य आफ्ना छोरीलाई सुरक्षित राख्न थियो । छोरीको अन्धो उमेरको संकेत विमलाले पाइसकेकी थिइन् । जवानी उमेरमा छोरी मात्र होइन छोरो पनि बहकिन सक्छ । जवानीको संकेत बाहिर निस्किन थालेपछि स्वतः अन्धो हुन्छ । सकभर त्यो अन्धो उमेरलाई विमला नियन्त्रण गर्न चाहन्थिन् । थीरमणितिर हेर्दै बोलिन्, “तपाईं आफूले विश्वास गरेर मात्र हुन्छ ? छोरीको कुरा बाबुले बुझ्दैनन् । आमाले बुझ्ने हो, मैले बुझिसकें ।”
“मतलब ?”
“घरमा बढेकी छोरी छ । भोलि अर्काका घर पठाउनुपर्छ । तपाईंका जुवाडेहरू कस्ता छन् कस्ता ! कस्को आत्मा भित्रको कुरा कसले बुझ्न सक्छ ? अगाडिको जीउडाल र नाम हेरेर मात्र हुन्छ ?”
श्रीमतीको अभिव्यक्ति गहिरो लागेर होला, थीरमणि गम्भीर देखिए । उभिएको उभियै भए । वास्तवमा विमलाले आफ्नी छोरीको मात्र नभई सम्पूर्ण छोरी जातिको चरित्रचित्रण गरेकी थिइन् । ‘सर्पको खुट्टा सर्पले देख्छ’ भनेको जस्तो छोरीको जवानीको संकेत दिएकी थिइन् । तर थीरमणिले त्यो बुझ्न चाहेनन् ।
कडा नजरले बोले, “जब घरमा केही कुरो पर्छ तब छोरीलाई अगाडि सार्ने यो बानी मलाई पटक्क मन पर्दैन । छोरी कसका छैनन् ? यो संसारमा छोरी हाम्रो मात्र हो र ? आधा संसार त छोरीको नै छ ! सबैभन्दा ठूलो कुरा धैर्यता हो । आफू दह्रो हुनु हो ।”
“आफू दह्रो ? घरमा जुवाडे भित्र–बाहिर गरेपछि कसरी आफू दह्रो भइन्छ ? एक दिन हो र ? सोधेपछि जवाफ दिनैपर्यो । फेरि मातेकी भन्लान् । बोली मिसाउनै पर्यो ।”
थीरमणि श्रीमतीको नजिकै आए अनि व्यंग्यात्मक हाँसोले फिस्स हाँसे अनि बिस्तारै बोले, “हाम्रो घर अगाडि पोखरा पारीपट्टि काहुँ भन्ने जंगल छ । त्यो जंगलमा बस्यो भने कोही आउँदैन । त्यहाँ गएर बस्ने त ?”
फेरि गम्भीर भएर बोले– “शहरमा बसेपछि साथीभाइको आवतजावत हुन्छ । सरसापट चल्छ । कहिलेकाहीं हाँस–ठट्टा हुन्छ । खेल पनि हुन्छ । यी सब सहन पर्यो नि ! सबै कुरो आफूले चाहे अनुसार कसरी हुन्छ ?”
हुन त थीरमणि फिस्स हाँसेका थिए । उनको ओठ खुलेको थियो । तर विमलाको आँखा क्रोधले राता भए । उनलाई के गरौं कसो गरौं भयो । श्रीमान्ले जिस्काएको मन परेन ।
“कसले भनेको छ जंगलमा गएर बस्ने भनेर ?” एक्कासि विमलाको स्वरमा क्रोध देखिन गयो अनि नचाहिंदो किसिमले निधार खुम्चियो । उनी बोल्दै गइन्, “बस्ने त शहरमा नै हो नि यो हाँसो, ठट्टा र खेल एक दिनको हो र ? हाँस–ठट्टा र खेलको पनि समय हुन्छ, ठाम चाहिन्छ । अहिले हाँस–ठट्टा र रमाइलो भन्ने, पछि यही ठट्टाले पुर्पुरोमा हात राखेर आँसु झारेको हेर्न नपरोस् ।”
जति थीरमणि व्यंग्यात्मक बोलीमा बोलेका हुन्थे उति–उति विमला क्रोधित हुँदै जान्थिन् । तर थीरमणिको बोलीमा जति व्यंग्य थियो त्यति नै विवशता पनि । त्यो विवशता सितिमिति भत्किने अवस्थामा थिएन र भत्काउन रुचाउँदैन थिए । अहिले त्यो विवशता भत्काउन करै लाग्यो त्यो भत्काउन भन्दा उनले विमलाको रोषलाई शान्त पार्नु थियो ।
उनले श्रीमतीको नजीक गएर बोले,
“मलाई पनि कहाँ आफ्ना घरलाई तासको अखडा बनाउन मन छ र ? तर साना ओहदाका कर्मचारीसँग ठूला–वडाको संगत हुन गयो भने परेको वेला काम लागिहाल्छ कि भनेर पो ! ओत लाग्न ठूलै वृक्षको भन्छन् ।”
“के अरे ?” विमलाले पुलुक्क श्रीमान्तिर हेरिन् र बोल्न थालिन्, “त्यस्तो स्वार्थी कुराले बाबुको नातामा बस्न पाइन्छ ? छोराछोरीको भविष्यलाई तासको पत्तिसँग फेड्न तपाईंलाई लाज लाग्दैन ?” फेरि प्रसङ्ग बदल्दै बोल्न थालिन्, “छोरी मान्छेको बोलीमा अलिकति नरमता देखियो भने केटा मान्छेको अन्दाज परिवर्तन भइहाल्छ । नीरा साह्रै कमजोर छ । उसलाई विरोध गर्न आउँदैन । आफ्नो मन–पेट दिइहाल्छे । तपाईंलाई त्यो कुराको ज्ञान छ ?”
घरीघरी छोरी र यौवनको कुरा सुनेपछि थीरमणि झस्याङ्ग झस्केको जस्तो देखिए । आफूले आफैँलाई कमजोर भएको महसूस गरे । एक प्रकारले आफूलाई शरम लागेको जस्तो भयो । अनि अँध्यारो मुख लगाउँदै बोले, “तत्कालै कसरी ढोकै बन्द गर्न सकिएला र ! मान्छेले के के नै भयो भनेर कुरा काट्न थाल्छन् । म केही निउ बनाएर बन्द गराउँछु । आउन दिन्न । यो घरलाई तासको अखडा बनाउन्न । तँ ढुक्क हो । केही दिन त पर्खन पर्यो ।”
(लेखकको प्रकाशोन्मुख उपन्यास ‘नमीता, सुनीता, नीरा र चुडामणि’ को अंश)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।