“पर्दैन  क्या बर्त सर्त बस्न, मनमा माया भएपछि म त्यसै लामो आयु बाँच्छु, बेकारमा ग्यास्ट्रिक मात्र हुन्छ ।” तीजको दिन बिहानै फोन गरेर सम्झाएको थिएँ मैले उनलाई ।

“म मान्छु कि क्या हो, पछि म व्रत नबसेकै कारण तिमीलाई  केही भैहाल्यो भने ?” एकाबिहानै झर्किएकी थिई, “बरु बुढीको लागि तिमी पनि व्रत बस ।”

यसरी झांगिंदै गएको थियो ऊ सँगको प्रेम कहानी । प्रेम बल्ल प्रेमिल लाग्न थालेको थियो । ‘नमरी स्वर्ग  देखिँदैन’  भनेझैं  जब आफूलाई पर्छ तब मात्र थाहा हुने रैछ चाहे प्रेम होस् या बिछोड ।

म अनुभव मात्र गर्न सक्थें उनका ती नयनको माधुर्य, प्रेमिल बोलीवचन, मिलेको जीउडाल, कोमल मन्द स्वर अनि सबैभन्दा  ठूलो कुरा त उसले मसँग गर्ने व्यवहार अनि मीठो माया ।

फस्टाउँदै थियो प्रेमको बिरुवा, एक अर्काको साथ अब आदत बनिसकेको थियो । बिहानको सूर्योदय देखि रातको निदरीसम्म उनकै यादमा घुमिरहन्थें म ।

ऊ भन्थी, “अब हामी छुट्टिएर बस्नुपर्ने छैन, छिट्टै सँगै हुने दिन आउँदैछ ।”

म बच्चा भएर प्रश्न गरिदिन्थें, “त्यो छिट्टै कहिले आउला है सानी ?”

“तिमी मेरै भैरहे आउला नि, प्रतीक्षा गर्नुपर्छ ।”

“जिन्दगीभरको प्रतीक्षा मृत्युमा गएर अन्त्य हुन्छ, तिमीसँगको प्रतीक्षा खराब बिन्दुमा  गएर अन्त्य नहोस्, बस यत्ति चाहन्छु म ।” अलि भावुक भैदिएँ ।

“ओहो साहित्यकार ज्यू, कसो कसो रे ? मैले अलि बुझिन नि ।”  कहिलेकाहीं मेरो भावुकतालाई साहित्यकार भनेर उडाइहाल्थी । दुई शब्द तलमाथि गरेर लेख्न जानेको थिएँ, साहित्यकार थिएँ कि थिइनँ थाहा छैन ।

तिहार सक्किएर एकादशी मेला भर्न मानिसहरू एकदम उत्साहित थिए । म पनि बिहानै उठेर नुहाइधुवाइ गरेर मेलामा जान तयार भएको थिएँ । बिहान अलि व्यस्त भएर फोन हेर्न पाएको थिइनँ । हिंड्ने बेलामा फोन लिन जाँदा घण्टी बजिरहेको देखें । छेउमा पुग्दा काट्टियो ।

हेर्छु त ४५ मिस्ड कल फ्रम सानी । अनि सानीको पछाडि रातो हार्ट इमोजी ।

ओहो, म त झसङ्ग भएँ ! के भएछ भनेर भयमिश्रित अवस्थामा कल ब्याक गरें । फोन उठेन । लाग्यो यत्रो कल गर्दा नि नउठेकोले मसँग बदला लिएकी होली । छोरी मान्छेको रीस  त हो, सम्झें । फेरि थिचें कल । उठेन । फेरि गरें । आठ रिङ गएपछि फोन उठ्यो तर आवाज आएन ।

म चिच्याएँ, “हेल्लो, हेल्लो सानी ।”

फोन काट्टियो तर आवाज आएन । आत्तिएर फेरि गरें । उठ्यो ।

“के भयो भन त, किन नबोलेको ? ”

उताबाट सुँक्कसुँक्क रोएको मसिनो आवाज आयो ।

म अत्ताल्लिएँ । अत्तालिएको आवाजमा भनें, “सानी भन न, के भयो किन रोको ?”

रुवाइको आवाज बढ्दै गयो तर बोली आएन । म आफै पागल हुन लागेको थिएँ । मान्छे प्रेममा पागल हुन्छन् भन्ने कुराको उदाहरण यस्तै त होला नि । लगातार १५ मिनेटको रुवाइपछि बल्ल बोली निस्कियो, “बाबाले मेरो बिहे फिक्स गरिदिनुभयो, यही मंसीरमा बिहे गरिदिने रे ।” यत्ति भनेर फोन काट्टियो ।

उता फोन काट्टियो यता मेरो घाँटी नै काट्टिएको जस्तो भएको थियो । केही सोच्न सकिनँ, सम्झन पनि सकिनँ । हातखुट्टाले काम गर्न छोडेको जस्तो भयो । फेरि फोन गर्न हात नै लागेन । खै के भएको थियो, के हुँदै छ अनि पछि के हुनेछ, सबै शून्य मात्र देख्न थालें । मैले यतिञ्जेल कुरेको यही देख्नलाई रहेछ ।

झसङ्ग भएँ । के गरूँ के नगरूँ भयो । मेला हिंड्न लागेको मान्छे घरमै बिताएँ । समस्या कसरी सुल्झाऊँ ? केही विचार फुटेन । हृदयलाई छाम्छु । दुखाइको सीमा नाघिसकेको हुन्छ । उसको रुवाइले पनि झन् दुखाएको महसूस हुन्छ ।

त्यही औडाहाले दिउँसो चार बजेको समय हान्निएर भट्टीछेउ पुगें । मान्छेले दुई ओटा कुरा हुँदा मदिराको सहारा लिन चाहन्छ रे, एउटा एकदमै खुशी हुँदा रमाइलो गर्न, अर्को मनमा पीडा हुँदा दुःख भुलाउन । हो, मनको पीडा भुलाउन भट्टीछेउ पुगेको थिएँ, फोन बज्यो, उसैको रहेछ ।

आवाजमा निराशापन पक्कै झल्किन्थ्यो, “आजसम्म मात्र रैछ हाम्रो सम्बन्ध, म बा आमालाई धोका दिन सक्दिनँ ।”

“अनि हाम्रो प्रेम ?…” प्रश्न गर्दैगर्दा कति वेला आँखा रसाइसकेका छन्, थाहा नै भएन । आँसु पुछ्दै चूपचाप बसिरहें ।

उताबाट आवाज आयो । शायद उसको कुरामा थोरै पीडा थोरै छोरी हुनुको जिम्मेवारी पाइन्थ्यो, “मैले तिम्रो बारेमा पनि नभनेको हैन, तिमीसँग जात मिलेन भनेर घरमा मान्नु भएन ।”

“के जात हुनेले मात्र प्रेम गर्छन् ? उसो भए यो प्रेमको जात कुन हो भनेर सोधिदेऊ तिम्रा बा आमालाई,” भनेर चिच्याउन मन लागेको थियो, तर केले हो थाहा भएन । मलाई, मेरो बोलीलाई छेकिरह्यो । कुरा निस्किन दिएन ।

“अब व्यर्थ कुरा गरेर काम छैन, मिल्छ भने बिहेमा आउनु यही मंसीर ८ गते ।”

“कहाँको केटा हो ?

कस्तो छ ?

कति पढेको ?

म भन्दा राम्रो छ कि छैन ?

ऊ सँग बिहे गरेपछि मेरो याद आउला कि न आउला ?”

यस्तै यस्तै सोध्न मन लागेको थियो तर सकिनँ । अडिग भएर घाँटीमै अड्केर बसे ।

चार वर्षको प्रेम चार घण्टामै अन्त्य भएको थियो । मदिराको सहारा लिन बाध्य भएँ ।

० ० ० ० ०

मदिया साथी भएर उभियो मेरो लागि । योजनाबद्ध गरिएका कुराहरू एकाएक तुहिन थालेपछि मान्छे मदिराको सहारा खोज्ने रहेछ । यही कुरा मैले अर्जुनलाई भन्न सकेको थिइनँ । अर्जुन, मेरो बाल्यकालदेखिको मिल्ने साथी ।

एकदिन म टोलाएर एकान्तमा बसिरहेको थिएँ, अर्जुन आइपुग्यो । मनभरी कुराहरूको भीड भएपछि बाहिरी दुनियाँमा मान्छेले एकान्त रोज्ने रहेछ । एक्लोपन नै प्यारो लागिरहेको थियो ।

“यस पालि दशैंतिहार रमाइलो भयो यार ।” पछाडि धाप मार्दै बोलेको थियो ऊ ।

म ‘हो’ को भावमा मुन्टो मात्र हल्लाएँ, केही बोलिनँ या जरूरी ठानिनँ । अनुहार मलिन देखेर उसले सोध्यो, “के भयो, किन नून खाएको कुखुरा जस्तो झोक्राएर बसेको छस् ।”

म ‘केही भएको छैन’ भन्ने भावमा फेरि मुन्टो मात्र हल्लाएँ, बोल्न मन लागेन ।

ऊ कहिले मजाक गर्न खोज्थ्यो त कहिले जिस्किन । कहिले रमाइलो गफ गर्न खोज्थ्यो त कहिले ठट्टा गर्न । तर म भने शब्दहरूको वास्तै नगरी झोक्राएर बसिरहें । थाहा छैन मलाई भएको के थियो तर नभएको चाहिं केही बाँकी छैन जस्तै भएको थियो ।

अर्जुन बच्चादेखि नै मिल्ने साथी भएकोले ऊसँग लुकाउनुपर्ने केही छैन जस्तै लाग्थ्यो र लुकाएको पनि थिइनँ । उसले पनि दैनिकीदेखि घरपरिवार, क्याम्पस सबै बेलिबिस्तार लगाउन भ्याएको थियो । तर आजको अवस्था न म कसैलाई भन्न सक्छु न त लुकाउन नै । के भनेर साझा गरूँ त्यसको अर्थमा लुकिएको थियो कुरा ।

“ल के भयो तँलाई, झन् खुशीको खबर सुनाउन तँलाई खोज्दै आएको त !”

खुशीको खबर भनेपछि अलिकति मुस्कुराउन खोजें तर चाहे जति सकिनँ ।

मनमा तरङ्गहरू गुम्स्याएर बाहिर देखावटी हाँसो हाँस्न साँच्चै कठिन रहेछ । आफ्नै अनुभवले यो कुरा बताइरहेको थियो ।

‘ल सुना खुशीको कुरा’ भन्ने भावमा म ऊतिर फर्किएँ ।

मेरो आँखामा आँखा जुधाउँदै एकै सासमा भन्यो, “सुन न, मेरो त बिहे हुने भयो यार, तँलाई त आजदेखि नै मेरो घरतिरै राख्छु । तेरो बुबा आमासँग मैले कुरा गरिसकें । मेरो बिहेको दिनसम्म अब तँ मेरै घरमा बस्छस् । लिन आएको तँलाई ।”

म बिहेको कुराले अलि झस्किएँ । तर देखाउन मन लागेन । अनुहार कति पढ्यो उसैलाई थाहा होला । तर मैले भने उसलाई नियालिरहें । अर्जुनको आँखा खुशीले बलेको थियो । उसको हाउभाउले नै भनिराथ्यो ऊ कत्तिको खुशी छ भनेर ।

त्यसपछि उसको पछि नलागी साध्य भएन । सँगै अर्जुनको घर पुग्यौं । भित्र छिर्यौं । सोफाभरी बिहेको कार्ड छरिएको थियो । निम्तो पठाउनुपर्ने आफन्तहरूको नाम लेखेका एकातिर अनि खाली अर्कोतिर छरिएका थिए । उसको बुबाआमा किनमेलको लागि बजार जानुभएको रहेछ । उसले चिया खाने कुरा गर्यो । मैले सहमत जनाएपछि ऊ चिया पकाउन भान्सातिर गयो । म त्यहीं सोफाको छेउमा बसेर उसको बिहेको एउटा कार्ड पढ्न खोजें ।

‘ड्याम्म’ केही पड्कियो ।

‘मिलिक्क’ केही चम्कियो ।

‘घरर्र’ केही दर्कियो ।

‘झर्याम्म’ केही टुक्राटुक्रा भयो ।

 चि.                                           आ.       

 अर्जुन दाहाल                           प्रिती चौलागाईं

 

‘प्रिती चौलागाईं’ अर्थात् मेरी सानी, जोसँग कुरा हुन छोडेको ठ्याक्कै १ महीना भएको थियो ।