चारैतिर पहाडै पहाडको सुन्दर मनोहर दृश्य देखिने सानो चिटिक्क परेको घर लिएकी थिइन् अलकाले । हरियो गाढा रङ्गको घाँस जसको चारैतिर विभिन्न रङ्गको फूलहरू फुलेका हेर्दैमा मन शान्त हुने । यही मनोहर दृश्यले शान्तिको लागि नै यो घर रोजेकी हुन् उनले । बगैंचामा आराम कुर्सीमा बसी विभिन्न फूलहरू फक्रिएको, फुल्न लागेको, कोपिला भएका र झर्न लागेका आदिको लेखा-जोखा गरिरहन्थिन् अलका । अनि कुन बोटलाई कति स्याहार, कस्तो मल र स्याहारको आवश्यकता छ, तुरुन्त व्यवस्था गरिहाल्थिन् । फूलका बाटोहरूसँग अलकाको कुरो मिल्दथ्यो । मायाले मुसार्दै कोपिला गुलाफलाई धेरै बेरसम्म गालामा लगाइरहन्छिन् । यसो गर्दा उनलाई आफ्नी प्यारी छोरीको सम्झना सलबलाइरहन्छ । एकै छिन उनको मायाको आँसुले रसाउँछ गुलाफको कोपिला । गुलाफभित्रै हराउन चाहिन्छिन् अलका ।

उनले त्यो गुलाफको बोटको नाम राखेकी थिइन् सृष्टि । हो, उनकी छोरी सृष्टि । छोरीको आगमनको खुशीपूर्ण रूपले मनाउन नपाउँदै सृष्टिलाई निमोनिया भयो र जीवनको चौथो दिन नै आमाबाबु भन्न नपाउँदै आफ्नो प्यारो गुलाफको फूलजस्तो नरम, रातो-रातो प्यारो गाला, सानो नाक र चिमचिम गरिरहेको हँसिलो सा-साना आँखाको स्मृति छाडेर गई सृष्टिले । यही अतीत अलकाको आँखासामु आइरहन्छ र त्यसैलाई आत्मसात् गर्न उनी साँझपख यिनै गुलाफको बोटमा आइबस्छिन् । र, यो गुलाफी रङ्गको प्यारो गुलाफलाई सृष्टिलाई प्रेम गरेझैं गर्दछिन् जसबाट उनलाई अपार शान्ति हुन्छ सन्तानप्रतिको चाहनाको वात्सल्यको सुखद अनुभूति हुन्छ अलकालाई ।

तर आज अलकालाई यो गुलाफलाई माया गर्दा पनि शान्ति प्राप्त भएन । उनी बगैंचाको चारैतिर घुम्दै आफ्ना सबै प्याराप्यारा फूलहरूलाई मुसार्दछिन् । तर पनि मन चञ्चल भइरहेछ । विगतका पानाहरू पल्टाउन मन लागिरहेछ । उनी त्यो बगैंचामा भएको आराम कुर्सीमा पल्टिन्छिन् । आकाशमा टुक्रा-टुक्रा बादलहरू छरिएका छन् । ती टुक्राहरू कहिले बिस्तारै जोडिएजस्तै, कहिले फेरि परपर गए झैं । अलकालाई यस्तै आफ्ना जिन्दगीका घटनाहरू पनि बिस्तारै परपर गए झैं लागिरहेको थियो ।

त्यो दिन कस्तो अनौठो घटना भयो ! सृष्टिको मृत्युको कुरा सुनेपछि उनको श्रीमान्लाई उनले कहिले पनि साथमा पाइनन् । हुनसक्छ, यसमा उनकै कमजोरी पनि थियो होला । अलकालाई अकस्मात् आमा भएर पनि शून्य कोख भएकामा ठूलो चोट पुगेको थियो । उनी न रुनु न हाँस्नु भन्ने स्थितिमा थिइन् ।

अस्पतालबाट घर आएपछि उनी एकान्तप्रेमी भइन् । छोरीको सम्झना र आकस्मिक शून्यताले अलकाको हृदयले सामान्य रूपले लिनै सकेको थिएन । उनी र उनको श्रीमान् सज्जनबाहेक घरमा कोही पनि थिएनन् । उनलाई पतिबाट कुनै ढाडस वा सान्त्वना र मायाका शब्दहरू आएनन् । उनी एकदमै मौन भइन् । दैनिक घरधन्दापछि कोठामा नै एक्लै बस्ने भइन् । सज्जनले कुनै प्रतिक्रिया देखाएनन् बरू उनी राती राती आउन थाले ।

एक दिन अलकाको साथीले आएर अलकालाई सम्झाई, ‘यसरी मृत छोरीको सम्झनामा आफूलाई हराएर बस्दा आफ्नो घर-गृहस्थी नै तैंले बिगार्न लागिस् अलका ! तेरो सज्जनलाई म अर्कै केटीसँग हिंडेको देख्छु । के गरेकी यो आफ्नो घर ? लोग्नेलाई हेर, र आफ्नो जिन्दगी कसरी सफल बनाउनेतर्फ ध्यान दे अलका ।’

अलकालाई मित्रले आफ्नो कर्तव्यतर्फ सजग गराइन् । अलकाको मनमा पनि लाग्यो – हो त नि, आजकल सज्जन राती राती आउँछन् । हाम्रो बीच केही कुराकानी पनि छैन । मलाई यस्तो दुखद अवस्थामा पनि हेर विचार, माया केही गरेका छैनन् । के हो यस्ता ? किन यस्तो परिवर्तन ?

त्यस दिन धेरैपछि अलकालाई होश आयो । तर ढीलो भइसकेको थियो । त्यस दिन राती अलकाले सज्जनसँग कुरा गरिन्, राती राती आउनका कारण सोधिन् र आफूलाई यस्तो सन्तानको दुःख परेको बेलामा एक शब्द पनि मायाको सान्त्वना नदिएकोमा दुःख प्रकट गरिन् । तर सज्जनलाई केही असर भएन । ऊ सधैं झैं खाना खाएर ओछ्यानमा पल्टिहाले । अलकालाई आज उनीसँग खोजीनीति गर्न मन लाग्यो ।

उनले पुनः बिस्तारै सज्जनसँग कुरो कोट्याउन थालिन् र अन्तमा कुरो टुङ्गोमा पुग्यो । केटीको बारेको कुरो उठ्ने बितिकै सज्जन एकदमै उत्तेजित भएर आवेशमा चिच्यायो – ‘हो, हो मेरो सम्बन्ध छ केटीसँग, के गर्छौ तिमी ? मलाई रोक्छौ ?’

अलका एक छिन अवाक भइन, तर आफूलाई सम्हाल्दै सोधिन्, ‘किन, किन सज्जन ! तिमीलाई के नपुगेको छ र तिमी बाहिर केटीहरूसँग घुम्ने गर्छौ ?’

अलकाको प्रश्न र भावनाले सज्जनलाई कुनै असर भएन ऊ एकनासले भन्दै गयो, ‘म तिमीसँग वाक्क भैसकें । म एउटा खुला दिलको मानिस हुँ जसलाई चाह्यो मन पराउँछु, घुम्छु । कसैले मलाई रोक्न सक्दैन, बुझ्यौ ? तिमीलाई घर छ, बस ! नत्र जहाँ जान मन छ जाऊ, मलाई केही वास्ता छैन !’

सज्जन अर्को कोठामा गएर सुत्यो । एकै छिनमा कोठामा भयङ्कर तुफान आए झैं भयो अलकालाई । आफूले नसोचेको कुराहरू सुन्नुपर्‍यो । तर यसमा आफ्नो त केही गल्ती नै भेट्टाउन सकिनन् अलकाले । सम्पूर्ण घरको रेखदेख गरी कति राम्ररी जीवनयापन भइरहेकोमा आफूलाई दुःखको पहाड आएको बेला झन् यत्रो निर्णय । ‘बस्न मन भए बस नत्र जहाँ गए पनि वास्ता छैन ।’ यो वाक्यले आफूलाई त एउटा फाल्तु वस्तु जस्तो लाग्यो । अलकाको मन विचलित भयो, नारी एक फाल्तु वस्तु त होइन पहिले चाहियो भित्र्यायो, मन परेन लत्त्यायो । यो के हो ? नारीको अस्तित्वसँग खेलबाड गर्ने अधिकार कसले दियो पुरुष जातिलाई ? दुःख-सुखको साथी भनी विवाह गरेपछि कति सजिलै आफूखुशी पन्छाउन सक्ने र एकाधिकार निर्णय सुनाउन सक्ने कस्तो अहम् पुरुष जातिमा ? उनलाई सज्जनको यो रूप अति नै घृणित लाग्यो । मन खिन्न त छँदै थियो, अब एकछिन पनि यस घरमा बस्न मनले साथ दिएन ।

त्यसै रात सुटकेसमा आफ्ना जरूरी सामान लिएर अलका निस्किन् स्वछन्द जीवनको खोजीमा । आदिकाल देखि शोषण भइरहेकी नारीजस्तो भएर बाँच्न ऊ चाहन्न । दुई आत्माको मिलन र प्रेमबाट नै जिन्दगीको रथ दौडिन्छ । तर घृणा र अवहेलनाबाट बाँच्नुभन्दा आफ्नै एउटा स्वच्छन्द जीवनयापन गर्नुमा अलकाले गौरव ठानिन् । उनले त्यस रात उनको साथीकहाँ आश्रय लिइन् र भोलिपल्टदेखि एउटा डेराको खोजी गरिन् ।

अलकालाई यस शहरबाट टाढा बस्न मन लागेकाले पहाडै पहाडको मनोहर दृश्यमा एउटा सानो घर लिइन् । जहाँ उनी छिन् पहाडका उदय हुने दृश्यहरू छन् र निश्चल माया गर्ने एउटी त्यसै गाउँकी सानी छ । बिस्तारै अलकाले आर्थिक आर्जन गर्न घर कम्पाउन्डमा फूलहरू रोपिन्- जसले गर्दा घरको सुन्दरताको साथै आर्थिकोपार्जन गर्ने बाटो पनि भयो । उनलाई सानैदेखि फूलको शौख थियो ।

जीवनका शून्यता र कटुता यिनै फूलहरूसँग साटासाट गर्दै जीवन लम्केको पत्तै भएनछ अलकालाई । शान्त जीवन, कसैको कटु-शब्दका जन्जालभित्र कुँडिन

नपर्ने भएकोले अलका आफ्‌नो बाटोमा धेरै नै खुशी छिन् । आत्मबल बढाई आज उनी उन्नतिको बाटामा अघि बढ्दै छिन् । उनलाई फूलको अर्डर ठाउँ-ठाउँबाट आउँछ । कतिपय फूलहरूको सुन्दरता विदेशमा पनि चर्चा भइसक्यो । समयसमयको चाडपर्वमा अलका अति नै बेफुर्सदी हुन्छिन् । आज आफ्नो मात्रै हैन उनले दश-बाह्र जना गाउँकी केटीहरूलाई आर्थिक टेवा दिन सफल भएकी छन् । हिजोआज उनको ‘सृष्टि फूल’ उद्योगको निकै चर्चा छ ।

यस्तै चर्चाको फलस्वरूप पाँच वर्षपछि एकदिन उनको बगैँचामा बिहानीपख सज्जन अलकाको खोजी गर्दै त्यहाँ आइपुगे । उसलाई देख्दैमा अलकाको मन मैलो भयो । आँखामा घृणा उत्पन्न भयो । उसलाई बसाउने पनि मन भएन । यति टाढा आएर बस्दा पनि कसरी पछि लाग्न सकेको । एकैछिन त अलका तस्वीर भई ठिङ्ग उभिइरहिन् ।

– ‘किन ! किन मलाई चिनिनौ अलका ?’ कोठाभित्र सरासर पस्दै सज्जनले भन्यो ।

– ‘चिनें, किन नचिन्नु !’ उत्साहविहीन स्वरमा उनले प्रत्युत्तर दिइन् ।

– ‘कति राम्रो, कस्तो रमाइलो ठाउँ रोजिछौ अलका तिमीले ! मलाई त अति नै मन पर्‍यो ।’

– ‘किन मन पर्‍यो तिमीलाई सज्जन ?’

सज्जन नाजवाफ भए ।

– ‘त्यस रात त तिमी मसँग वाक्क भैसकेका थियौ । जहाँ गए पनि जाऊ भन्दै थियौ, आज अचानक किन सम्झना भयो तिमीलाई मेरो ?’ आवेशमा अलकाका आँखा रसाए, गाला राताराता भए, ओठ थरथर भयो ।

– ‘हैन, हैन हेर अलका ! तिमी यसै रिसाएर गयौ । मलाई कति पछुतो भयो । मैले तिमीलाई कति खोजें । आखिर जीवन नै त हो कि त दिन तिमीबेगर बस्न सक्छु र म ? तिमीलाई खोज्दै खोज्दै आएँ । अब हाम्रो मिलन पुनः हुनेछ आऊ अलका आऊ ।’ अलकाछेउ सज्जन आफ्नो पुरुषत्व देखाउँदै निर्लज्ज भएर अँगालोमा भित्र्याउन अघि बढ्यो ।

– ‘तिमी ! तुरुन्त निस्किहाल सज्जन यहाँबाट ! निस्किहाल, म तिमीजस्तो छेपारोले रङ्ग फेरेझैं फेर्ने मानिस हैन । म एउटी स्वाभिमानी नारी हुँ । मेरो पनि एउटा अस्तित्व छ । जैले मन लाग्यो अँगाल्यो र जैले मन लाग्यो निस्की जा भन्ने अस्तित्वहीन मानिससँग बाँच्न म कदापि सक्तिनँ । पति पत्नी भनेको दुःख, सुखको  साथी हो । एउटी आमालाई सन्तानको बिछोडको असह्य पीडामा सान्त्वना दिई उसको आत्मबल बढाउन नसक्ने उल्टो अपशब्दको व्यवहार गर्ने मेरो पति कदापि हुन सक्दैन र त्यस्तो मानिससँग म जीवन सुखी भई बाँच्न सक्तिनँ । त्यसकारण तिमी जाऊ, मलाई मेरो शान्तिमय चौतारीमा बाँच्न देऊ !’

अलकाले सज्जनलाई घरको ढोका सदैवको लागि बन्द गरिदिइन् ।

नजानी वा जानेर आफूले खनेको खाडलमा सज्जनलाई आफैं धसिंदै पाएको महसूस भयो ।

(‘नेपाली नारी कथाकार : प्रवृत्ति र प्रतिनिधि कथा’बाट)