सुरम्य प्राकृतिक दृश्यले वेष्ठित सिक्किमका कुनै भागमा जहाँ रम्फू र रंगेली नदीले दुवैपट्टि घेरी, ती नदीका कलकल ध्वनिले अझ आनन्द दिइरहेको छ, त्यसै ठाउँमा एक साधारण परिवारमा उनको जन्म भएको हो । माता-पिताका लालन-पालनमा हुर्की दिनहुँ बढ्दै गई अब सोह्रको लाग्न लागिन्, प्राचीन परम्परा अनुसार अब दिनदिनै घरमा पाहुना आउने समय भयो ।
गाउँमा कसैका विवाह हुँदैछ भन्दा कुदेर वहाँ पुग्ने उनमा उत्सुकता जागेर आउँथ्यो । कुनै नव दम्पती जोरै जाँदै गरेको देख्दा उनको मन उकुसमुकुस भएर आउँथ्यो, कता कता आफूलाई अपूर्ण भए जस्तो अनुभव गर्थिन् । तर यो के भएको भन्ने कुरा ऊ आफैलाई पनि थाहा थिएन ।
उनले संसार देख्न लागेकी ऐले सोह्र वर्ष भैसकेको थियो तर दुई वर्ष अघिको कुरा सम्झँदा उनी ऐले अर्कै संसारमा पुगेकी अनुभव गर्छिन् । यस्तो सोच अघि कहिल्यै भएको थिएन । केही वर्ष अगाडिको कुरा हो उनी थाङनाका पुतली बनाई ती दुई पुतलीको आपसमा बिहे गर्दिन्थिन् । त्यस समय उनलाई एक प्रकारको आनन्द लाग्थ्यो औ कहिले त्यसै पुतलीको नानी बनाई काखमा लिएर खेलाउँथिन् पनि ।
उनले गोजीबाट ऐना झिकेर आफ्नो अनुहार राम्ररी हेरिन् । भित्तामा टाँगेको तस्वीर हेरिन् । त्यहाँ आमाका काखमा उनी सानी छँदा बसेर दूध खाँदै गर्दा खिचेको फोटो देखी आफ्नो छातीमा पुलुक्क हेरिन् । भित्र कताकता कुत्कुती लागेर आयो ।
ऐना फ्यात्त भुइँमा राखेर थचक्क पिरामा बसिन्, उनको लामो केशको, चुल्ठी हातमा लिएर खेलाउन लागिन् कालो केश, यति लामो-लामो कहाँबाट आयो ? मनमनै प्रश्न उठ्यो । हात एक्कासि छातीमा पुग्यो, त्यहाँ केही नौलो अनुभव गरिन् ।
यो के ? किन ? कसरी ? मुन्टो निहुराइन् र गौड गरी हेरेर फेरि विचार गर्न लागिन् – बीच छाती केही होचो छ दुई पट्टि यसरी अप्राकृतिक, चोलीसँग इन्द्र पर्ला झैं, निस्केर भाग्न छटपटाए झैं ।
फेरि उनको दृष्टि भित्तामा टाँगेका तस्वीरमा पर्यो आमाका छाती मै मुख लाएर गाला पकलक्क पारिराखेकी आफ्नो बाल्यचित्र त्यही शंका समाधान गर्ला झैं देखिन्थ्यो । छेउमा उभिएको भाइ ऐले पनि उस्तै छरितो छ । ऊ छाती फुकाए र ‘हवाई सट’ लगाई खेल्दै थियो । ऊ ऐले पनि जस्तै छ जस्तो सानोमा थियो । दाजु पनि खुला छातीमा हिंड्दा ने रवाफिलो देखिन्छ तर उनलाई भने चोलीमाथि पनि मजेत्राले छोपे मात्र इज्जत ढाकिने । दाजु ‘हाफ-पैन्ट’ लाएर फूटबल ग्राउन्डमा निस्कँदा कति गजब सुहाउँछ तर उनको भने कुर्कुच्चा छोप्ने गरी लगाएको साडी दर्के पानीमा अलिक उँभो सारेर हिंड्दा पनि आङ जिरिङ्ग हुन्छ ।
उनलाई एक तमासको लागेर आयो, आफूमा भएको त्यो अप्राकृतिक (उनलाई लागेनुसार) परिवर्तनमा उनी क्रोधित भइन् अनि आफ्नो अयोग्य लागेको अङ्ग फूटबलभित्र ब्लाडर लुकाए झैं लुकाउने असफल प्रयास गर्न लागिन् । यो असफल प्रयासमा उनी असफल मात्र भइनन् तर झन् के के थपियो थपियो आन्तरिक हृदयमा । आफ्ना शारीरिक प्रत्येक अङ्ग-प्रत्यङ्ग आफ्ना विरुद्धमा भएको अनुभव गरिन् । उनको दृष्टि आफ्नै नारीमा पर्यो, अघि कहिल्यै नपरे झैं । हात उचालिन् त्यहाँ ‘छन्द्रङ्ग’ को आवाज आयो त्यो झन् नौलो लाग्यो उनलाई । यो के ? किन ? के काम ? खोइ दाजुले लगाएका ? खोइ भाइका ? उनले चोली खोलिन् । तर भएन फेरि हतार हतार लगाइन् ।
===
हाटको दिन, सबै बजार जान तम्सिए, उनी पनि जाने निश्चय गरिन् । सबै नयाँ नयाँ सुकिला छरिता वस्त्रमा छाँटिए सम वयस्क साथीहरू । उनलाई पनि कर लाग्यो । कसैको भर्खर बिहे भएको, माथमा तीन टीका सिन्दूर टक्क सुहाएको कोही गह्रुँगो जीउ लिएर धेरै दिनसम्मका लागि आजै मात्र बजार हेर्न जाने भएका कोही आ-आफ्ना जीवन घन-जीवन साथीसँग जोरै हिंड्ने उत्सुकतामा प्रफुल्लित मधुर हाँसोको खिरिलो जवाफ दिंदै अव्यक्त भाव आँखा र हाँसो अनि लजालु अनुहारको हाव-भावमा व्यक्त गर्दै आनन्द लुट्न दौडेका, यस्तै थिए उनका साथीहरू ।
त्यस समुदायमा उनले आफूलाई एक्ली अनुभव गरिन् त्यत्रा साथीहरूका बीच । कहिले बजार पुगेर फर्कन र कोठामा गएर एक्लै बेस्सरी रुनु यही मात्र सोच्न थालिन् । बजार पुगेर पनि सबै आ-आफ्नै धुनमा छन् । कोही मुखभरि
पानको बुजो हाली जोडीजोडी मधुर मुस्कानसाथ बात मार्दै बजार घुम्छन् कोही अरूका आँखा छलीछली कड्के आँखामा परस्पर कुरा गर्छन् । कतै कतै कुनै जवान चिटिक्क परेर एक्लै घुम्दै गरेका देखेर उनलाई अनौठो लाग्थ्यो । अनि त्यो बेजोडीमा आफ्नो जोडा मिलाऊँ मिलाऊँ लागेर आउँथ्यो । आफ्ना छातीभित्रको तिर्खा मेट्ने दवाई अन्तै लडिरहेको देखेर अझ मन पोलेर आउँथ्यो । उनले पनि एक विडापान किनिन कागजमा बेह्रिन र अरू झैं मुखमा पान हाली मुस्कुराउने प्रयत्न गर्दै आफूसँग पनि कुरा गर्ने कोही छन् कि भनी प्रतीक्षा गर्न लागिन्, एकजना अलि चिनेका युवकलाई त लगेर पान दिइन् पनि । उसले ससम्मान दिएको पान मुखमा हालेर किचिक्क हाँसिदियो ।
===
फूल फुलिरहेका ठाउँमा कहीं न कहींबाट भँवरो आउने नै हो । उनको पनि भाग्य खुल्यो । एक रूपवान युवक एकदिन कन्यार्थी हुन आइपुग्यो । आ ! धन भनेको आज छ भोलि छैन, मान्छेको हेर्नुपर्ने रूप र गुण हो, भनी बाबु आमाले कुरा छिने । उनले सही थाप्ने र नथाप्ने त प्रश्नै थिएन, हुन पनि मनमनै खुशी नै थिइन् यद्यपि देखोटी मुहारमा खिन्नता झल्कन्थ्यो । यो त नारी स्वभावनै भनौं ।
धूमधामसँग बिहे भयो । भए भरका साथीसंगी भेला भै आ-आफ्ना बुद्धिले भ्याएसम्म सिँगारे, पुरोहितले रातभर ‘विवाह पद्धति’ पढी सिद्ध्याए । परस्पर बाचा बँधाए मन्त्रद्वारा । उनले नयाँ सँघार कुल्चिन् नयाँ नाम पाएर । दुवै खुशी थिए । पुरोहितको पढाइमा मात्र हैन, दुवैले आ-आफ्ना हृदयमा पनि दृढ प्रतिज्ञा गरिसकेका थिए ।
===
बिहे भएका चार वर्षपछि उनको आत्मा चुँडियो । त्यो सोह्र वर्षकै उमेरमा बस्दा भुइँमा लत्रिने केश आज मुट्ठीमा पनि नआउने रहेछ, निधार खाली छ त्यहाँ सिन्दूर छैन, बरु फुस्रिएको छ । ती झरिझुट्ट गहना छैनन् । हातका नाडीमा हतकडी लाएझैँ दुइटा गिल्टीका चुरा मात्र छन् । उनको जिन्दगी गलेर आयो । मुखबाट लामो सुस्केरा झिकिन् । आकाशमा जून टहटह लागिरहेको थियो । उनको विचार बदलिएर भर्खरै घटेका घटनाको चिन्ता गर्न लागिन् ।
यस्तै रात एकजना परदेशीले उनको जल्दै गरेका हृदयमा पानी छर्किदिने प्रतिज्ञा गरी उनका स्व० पतिलाई धोखा दिएको थियो औ उनको मृत्युपछि आफ्ना स्वर्गीय पतिलाई भेट्ने बाटो बन्द गरिदिएको थियो । यो घटनाले आठौं महीनामा प्रवेश गर्न लागेको थियो, तर फेरि त्यो परदेशीको नाकमुख देखिएको छैन । उनको आन्तरिक हृदय क्षोभ ग्लानि र भयले थरथराउन थाल्यो । सारा सृष्टिले नै उसलाई उपहास गरे झैं लाग्यो । बिर्सिने प्रयास गरिन् तर सम्झनाले झन्झन् गहन रूप लिई लम्बिंदै गयो । रात कहिले बित्ला भन्ने सम्झना मात्र गरेकी थिइन् । कहिल्यै रात नजावस् भन्ने आकाङ्क्षा झट्टै उत्पन्न भयो । नजीकै कलकल ध्वनि निकाली बहिरहेकी नदीले स्वागत गीत गाएझैं उनका मनमा लाग्यो ।
===
उज्यालो भयो । घरमा खैलाबैला चल्यो । सबका सब सशंकित भावमा आ-आफ्ना विचार पोख्छन्— कोही भन्छन्, ‘कोसँग सल्लाह थियो हिंडिन्’, कोही नुहाउन गएकी शंका गर्छन् औ कोही के ! के !! गाउँभरि हल्ला चल्यो ।
धूमधाम खोजाइ भयो तर कोही टुङ्गो छैन । आखिरमा खोलो खोज्ने सल्लाह भयो । तीन दिनपछि नदीका किनारामा एउटा चिथरा परेको सारी भेटियो । सबैको शंका त्यही सारीले समाधान गर्यो । कुनै कुनै जलाहारीको भनाइअनुसार अझै पनि पूर्णिमाका रातमा त्यस ठाउँमा एउटी नारी रुँदै भन्छिन् अरे- ‘यो के ? किन ? कसरी ? अनि अस्पष्ट स्वरमा परदेशी ! मलाई धोखा ?’
सिक्किम
(भारतीय नेपाली कथाबाट)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।