मेरो झ्यालको ऐनामा देखा पर्छ – एउटा साधारण रङको पुतली । त्यो कालो पनि होइन, नीलो पनि होइन । तर त्यसमा निहित आफ्नै किसिमको आकर्षणलाई म मन पराउँछु । ऐनाका टकहरूसँग त्यो खेलिरहन्छ, कहिले माथि, कहिले तल र कहिले बीचमा ।
नीलो आकाश धेरै दिन भयो हेर्न पाएको छैन । एकनास पानी परिरहेको छ, छ । पुतलीका थुप्रै रङ, थुप्रै रूप र विविधताहरू अनायास मेरा आँखामा पछारिन आइपुग्छन् । म त्यसलाई हेर्छु त्यो एकछिन उड्छ । त्यो झ्यालको डन्डीमा बस्छ । त्यो ऐनामा टाँसिएर धेरैबेर बसिरहन सक्छ । यस वेला लाग्छ यो पुतली मरेको हो कि ?
दिनदिनै यसै कोठामा आउनु । झ्यालहरू बन्द गर्नु र त्यस पुतलीलाई हेरिरहनु मेरो दिनचर्या भइसक्छ । कुनै साँझ त्यस्तै पुतलीको मृत्युमा धेरै अगाडि म रोएको थिएँ । त्यसका निदाएका आँखाहरूलाई म्वाइँ खाएर भनेको थिएँ, “मेरी नानी ! मैले धेरै माया गर्दागर्दै तिमी मृत्यु स्वीकार्न सक्छ्यौ भन्ने मलाई के थाहा ? म अपराधी हुँ ।”
तर ती आँखाहरू बोलेका थिएनन् । ती सपनाहरू लहराएका थिएनन् र मैले हताश भएर सोचेको थिएँ- यसरी नै आँखा बन्द गर्नसक्छु… यसरी नै त्यसकी आमाले टाढा कतै आँखा बन्द गरेकी थिई ! अनि मैले आफूलाई नितान्त एक्लो स्वीकारेको थिएँ ।
एकैछिनमा साथीले झ्याल खोलेको थियो । त्यो पुतली उडेन । एउटा पातलो कागज लिएर त्यसलाई उसले छोप्यो । अनि त्यसका चारैतिर टेपले टाँसिदियो । सेतो कागजभित्र त्यसको रङ पनि अहिले सेतो जस्तो नै देखिएको थियो। साथीले भन्यो, “तिम्रो पुतली अहिले जेलमा छ ।”
“त्यो जेल तिमीले बनायौ । त्यस्तो गर्नु तिम्रो अधिकार थिएन ।” मैले भनें ।
“तिमीलाई माया लाग्यो ?” ऊ हाँस्यो, “म यस पुतलीलाई टेक्सिडरमाइज गर्न चाहन्छु । कसो ?”
उसले मेरो स्वीकृति पर्खेको थिएन । एउटा तीखो पिन लिएर त्यसका पखेटामा घोच्यो । त्यो फटफटायो । त्यो उड्न खोज्यो । पिनले पखेटालाई राम्ररी समातेको छ भन्ने थाहा पाएपछि साथीले कागज झिकिदियो । मैले मौका पाइहालें, “त्यसलाई शूलीमा चढाउन लागेका छौ । त्यसले के अपराध गर्यो ?”
यसको केही उत्तर साथीसँग थिएन । आफ्नै किसिमले ऊ हाँस्यो । युग यसरी डिमोरलाइज भएर गइरहेछ – मेरो साथीको हाँसो जस्तै, मलाई नमीठो लाग्यो । तर अहिले अलिकति पखेटा टुक्राएर भए पनि पुतली भागेर अर्कै कुनामा बस्न पुगिसकेको थियो ।
तर मेरो साथीको अर्को तीखो पिन त्यसको कलिलो ढाडलाई घोच्न पुनः सक्षम भइसकेको थियो । पहिलेको भन्दा पुतलीलाई सकस परेको कुरा स्पष्ट थियो । एउटा सग्लो र अर्को ठुटे पखेटा उचालेर ऊ फटफटाइरहेको थियो । मैले त्यस स्थितिलाई धेरैबेर स्वीकारेर रहन सकिनँ । साथीलाई मैले अनुरोध गरेँ- “त्यो पिन झिकिदिइहाल… म भन्छु… त्यसलाई मार्न सक्तैनौ… ।”
मेरो अनुरोध पूरा नहुँदै साथीको अर्को पिन पुतलीको घाँटीमा थियो । अब त्यसको स्थिति मरणासन्न नै थियो । म उठें र त्यसमा दुवै पिन झिकिदिएँ । अहिले ज्यानको थोरै अंश मात्र बाँकी थियो ।
यस बीचमा साथीले हाम्रो सम्बन्धको बारेमा कुरा उठाएको थियो र हामीले सारा पुराना पृष्ठहरू पल्टाएका थियौं । ऊ उमेरमा मभन्दा बूढो थियो, तर अविवाहित । म विवाहित, तर मेरी स्वास्नी मसँग थिइन । बिहेका बारेमा, छोराछोरी जन्माउने बारेमा हाम्रा आ-आफ्ना धारणा र विश्वास थिए । ऊ अनास्थाको कुरा गर्थ्यो, अविश्वासको समयमा बाँच्ने मूर्खताको कुरा गर्थ्यो र सधैं निरास हुन्थ्यो । ऊ बाँझो जग्गाहरूको कुरा गरेर दिनहरू काट्न सजिलो ठान्थ्यो । मलाई पुराना दिनहरूले यसरी डुबाइसकेका थिए कि त्यो पोखरीबाट बाहिर निस्कनु मेरा लागि असम्भव नै थियो । मैले उत्सुकता प्रकट गरेको थिएँ, “बिहे नगरी जिन्दगी काट्न सकिएला भन्ने तिमीलाई लागेको छ कि छैन ..?”
“अहिलेसम्म काटिएकै छ । भोलिका बारेमा सोच्नु म ठीक ठान्दिनँ ।” स्पष्ट जवाफ दिएर ऊ चूप लागेको थियो । पुतलीको मृत्यु सोचेर म दिनभरि टोलाएको थिएँ र रातभरि त्यसका आँखाहरूले निदाउन दिएका थिएनन् ।
भोलिपल्ट साथी चूप थियो । म चूप थिएँ । हामीहरूले एकापसमा नबोलेरै दिन काट्यौं जो सोचिएको थिएन । साथीले चिया, चुरोट केही खाने कुरा उठाएन । न उसले प्रेमकै कुरा उठायो । न उसको रुचि भएको फोटोग्राफीको कुरा । न उसका सङ्कलित टिकटहरूको दिनानुदिन वृद्धि भइरहेको मूल्यको कुरा ।
मैले उसलाई डिस्टर्ब गर्न चाहिनँ । झ्यालमुन्तिर पुतलीको लाश थियो – चूपचाप पल्टिरहको । मैले त्यसैलाई हेरिरहें । केही समय पुराना फाइलहरूमा अल्झें । समय यसरी नै जान्छ भन्ने मलाई थाहा थियो ।
दुई-चार दिन समय यसरी नै गयो । साथीको अनुहारमा कुनै नवीनताको आभास मैले पाइनँ । मेरो अनुहारमा यसबीच केके प्रश्नचिह्नहरू देखा परे मलाई राम्रो थाहा भएन । अर्को दिन एउटा सामूहिक विषयमाथि हामी दुवैले आफ्नो प्रतिक्रिया पेस गर्नुपर्ने थियो । त्यो विषयलाई सम्पूर्ण रूपले अध्ययन गरेपछि उसले सोधेको थियो, “यसमा तिम्रो के विचार छ ?”
“मैले केही विचार गर्न सकेको छैन ।”
“यसमाथि विचारै नदिए कसो होला ? यस्ता विषयमाथि विचार गरेर टाउको दुखाइरहनु कमसेकम मलाई त ठीक लागेन ।”
“त्यस्तो के हो र ! केही त भन्नैपर्ला ।” भनेर मैले निष्कर्ष दिने कोशिश गरेको थिएँ ।
सामूहिक छलफलका दिन साथी आएन । ऊ क्याजुयल बिदामा थियो । मैले आफ्ना केही विचारहरू दिएँ । अर्को दिन आएर हामीले फेरि त्यही मृतपुतलीका कुरा गर्यौं । त्यसका बाँच्ने इच्छा र मृत्युका कुराहरू गर्यौं ।
ऊ आज अलिकति ‘फ्रेश’ थियो । पुतलीका कुरालाई लिएर म दुखित भएको छु भन्ने कुरा उसलाई थाहा थियो, व्यावहारिकता घर र संसारका कुराले म बढी व्यथित छु भन्ने कुरा पनि उसलाई थाहा थियो । तर यी सारा कुराहरूलाई यत्ति हलुकोसँग ऊ सोच्थ्यो कि कुनै पनि ठूला कुरा पनि उसका लागि साधारण भइसकेका थिए । ऊ हाँस्यो । अनि एउटा कागज झिकेर मलाई देखायो, “आज म राजीनामा दिन चाहन्छु ।”
साँच्चै नै आफ्नो पदबाट उसले राजीनामा लेखेको थियो, कुनै सामाजिक व्यवहारको अनुसन्धानमा ऊ आफूलाई समर्पित गर्न चाहन्थ्यो ।
मैले भनें, “म तिम्रो कोठामा बसें भनेर राजीनामा दिन लाग्या त होइन !”
उसले जवाफ दिएन । एकै क्षणमा उसको राजीनामा दर्ता भइसकेको थियो र अर्को सूचना प्राप्त नहुन्जेल कुनै पनि काम नगर्ने जनाउ उसको हातमा परिसकेको थियो ।
बेलुका छुट्टिने वेलामा उसले भन्यो, “भोलिदेखि म अफिस हाजिर हुन्नँ होला । मैले तिम्रो पुतलीलाई अनाहकमा मारें, माफ देऊ… तिमीलाई चित्त दुख्यो होला ।”
मैले केही जवाफ दिन नपाउँदै ऊ कोठाबाहिर निस्किसकेको थियो र उसको आँखामा कुनै भाव थिएन, कुनै आशंका थिएन, कुनै विश्वास-अविश्वास केही थिएन ।
त्यस पुतलीको लाशलाई उठाएर झ्यालबाट मैले बाहिर फ्याँकिदिएँ
र सोचें- त्यो मेरी छोरी होइन खालि पुतली मात्र हो, बगैंचाहरूमा उडिरहने पुतली मात्र हो ।
राति सजिलै निदाउन सकिन्छ कि ! कुनै भ्रमहरूले, अर्थहरूले, भ्रान्तिहरूले आँखा बिझाउँदैनन् कि ! तर त्यो साथीको राजीनामाले मलाई कत्ति दिन फेरि कोपरिरहने हो ? म भन्न सक्तिनँ ।
(परशु प्रधानका ‘प्रतिनिधि कथाहरू’बाट)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 










