मैले आमालाई सोधें, “आमा विवाह किन जरूरी छ ?”
आमा बत्ती कातिरहनुभएको थियो । हजुरबुबाको नाममा पशुपतिमा बत्ती बाल्ने आमाको चाहाना भएकाले केही दिनदेखि आमा त्यसैमा व्यस्त हुनुहुन्थ्यो ।
“बुठेकालको सहाराको लागि ! सुखदुःख बाँड्ने साथी, परिवार निर्धारण गर्न अरू के को लागि हुनु र ?” आमाले आफ्नो कामलाई निरन्तरता दिंदै भन्नुभयो ।
आमाको मन राख्न मैले मुसुक्क हाँसिदिएँ । अरूको लागि झूटो मुस्कान दिनुपर्दाको पिडा साँच्चिकै यति दर्दनाक बनिदिंदो रहेछ कि आफ्नै मुस्कान आफैलाई कताकता असहज र बोझिलो बनेको थियो ।
हिजोसम्म म विवाह शब्दसँग निकै उत्साहित थिएँ । मसँग केवल एउटा सुन्दर परिवार निर्धारण गर्ने सपना थियो । तर आजको समय त्यो छैन । सब उथलपुथल भइसकेको छ जीवनयात्रा अब गन्तव्यहीन भइसकेका छन् । नियतिले जता बगाउँछ त्यतै बग्नुको विकल्पै छैन मेरा लागि ।
वेलावेला आफैसँग संवाद चल्थ्यो मनमा – जीवनदेखि यति किन बिरक्तिन्छन् मान्छे ? यो प्रश्नको जवाफ मैले आज बल्ल बुझ्दैछु ।
अक्सर म दुखी भएको वेला आफ्नो कोठाको दाहिने कुनाको झ्यालबाट बाहिर नजर टहलाउँछु । जहाँबाट केही पर सानो मैदान देखिन्छ । हजुरआमाले हजरुबुवाको देहावसान भएपछि उहाँको सम्झनामा प्राथमिक विद्यालय बनाउन दान गरेको जग्गा हो रे त्यो । हजुरबुवाको साँझमा पूजापाठ सकेर यसो भुलिने ठाउँ रे ।
बुवा कयौंपटक यही झ्यालको पछाडिबाट एकोहोरिएको देख्थें म । सोध्दा बुवा भन्ने गर्नुहुन्थ्यो, “अहिले पनि उस्तै छ यो मैदान छ, म मेरो बालाई अझै पनि त्यहीं डुलिरहेको देख्छु ।”
मैले थाहा पाउँदादेखि अहिलेसम्म त्यो मैदान जस्तो थियो अहिले पनि त्यस्तै नै छ । हजुरआमाले जग्गा दान गर्ने समयमा त्यो जग्गा केवल बच्चाहरू खेल्ने मैदानको रूपमा मात्र प्रयोग गर्ने शर्त राखेर नै दान गर्नुभएको थियो रे ।
झ्यालबाट बाहिर टहलाउँदा बगैंचाको पल्लोपट्टि केवल एउटा सुकेको रूख बाँचेको देखिन्थ्यो । ठिङ्ग एक्लो निर्भीक रूख । आफूलाई एकपटक त्यहाँ उभ्याएर महसूस गर्छु, “म कत्ति रित्तो भएछु हगि ! एकदम एक्ली ।”
मलाई लाग्यो म भित्रको मले मलाई नै जिस्काउँदै छ । त्यो रूख र ममा एउटै फरक थियो । ऊ खडेरीको पीडा सहेर वसन्त ऋतुको पर्खाइमा छ, आफूमा पालुवा आउनेमा ऊ विश्वस्त छ । तर म पूरै टुटिसकेकी थिएँ । अब कहींकतै केही बाँकी छैन ।
आमाले खाना पकाइसक्नु भएछ । रात परिसकेको पत्तै भएन मलाई । २ घण्टासम्म मेरो मानसपटलमा प्रतिक सँगको दिनभरको संवादले द्वन्द्व चलाइरहे । मेरो मन मेरो बसमा थिएन ।
“कटु सत्य यही नै हो पल्लवी । हामीले एक अर्कालाई अथाह प्रेम गर्यौं । यही प्रेम नै तिमीप्रतिको विश्वास थियो । सही भन्थ्यौ तिमी, सम्बन्ध सहजताको लागि थियो । त्यसैले त मैले तिमीलाई निरन्तर प्रेम गरिरहें । मनमा राखिरहें । जुन सम्बन्धमा अहिले तिमी र म दुवै असन्तुष्टि भएर बाँचिरहेका छौं, अब त्यो दिन आइसक्यो मैले म भित्रको मलाई सम्हाल्नुपर्छ अनि तिमीले पनि ।”
प्रतिक नजर झुकाएर एकतमासले बोलिरह्यो मानौं ऊ कुनै फिल्मको डाइलग बोलिरहेको छ जुन उसले कण्ठ गरेको छ ।
“उसो भए म के ठानौं ? हाम्रो सम्बन्धले सहजताको बाटो रोज्न सक्दैन ?” हाम्रो सम्बन्ध बारे पुनः स्पष्ट पार्न खोजें ।
“तिमी जे ठान्छौ ठान । म तिमीलाई भ्रममा राख्न सक्दिनँ ।”
प्रतीकका ती तीता शब्द मेरा लागि शब्द मात्र थिएनन् जिन्दगीको महत्त्वपूर्ण निर्णय सुनाए झैं लाग्यो, आशा र विश्वास जोडिएको डोरी एकाएक चुडिए झैं लाग्यो , अनि भरोसाको गाँठो एकाएक फुकेजस्तो लाग्यो ।
म निःशब्द भएँ उसवेला । म उभिएको धर्ती एकाएक फाटेजस्तो भयो । चैतको खडेरीमा एक्कासि उठाएर ल्याएको पतिङ्गर जस्तो जिन्दगी देखें आफ्नो । अनिश्चित । कतिवेला अब कहाँ पुर्याउँछ, कहाँ जान्छ केही पत्तो नभएको ।
प्रतिकसँग भेट ५ वर्ष पहिले भएको थियो । सामान्य चिनजानबाट आत्मीयता साटासाट भएको र जीवनको एउटै लक्ष्य बनाएको पनि ३ वर्ष पूरा भइसकेको थियो । एउटै संसार बनाउने सपना सजाएको मान्छे आज आएर एक्कासि उसले भ्रममा राख्न चाहन्न भन्नुको औचित्य कहाँ थियो र ?
तिम्रो अन्तिम निर्णय यही हो ? भनेर सोध्न मन थियो एकपटक । तर खै के ले रोक्यो, सकिनँ सोध्न ।
ऊ निरन्तर बोलिरह्यो, “पल्लवी हो, मैले बाटो बिराएँ । म माफीको लायक छैन मान्छु । अरूले अनजानमा बाटो बिराउँछन्, पश्चात्ताप गर्छन् अनि माफीको अपेक्षा गर्छन् । तर मैले के गरें ? जानीजानी गल्ती गरें । यतिको वर्षको सम्बन्धमा पनि मैले तिमीलाई तिम्रो विवाहको सपना पूरा गर्न सकिनँ । यसको मतलब यो होइन मैले तिमीलाई गर्ने प्रेम झूटो हो । पल्लवी कुन मुखले म माफीको अपेक्षा गरूँ ?” तर मलाई विश्वास छ तिमीसँग त्यो विशाल मन छ । मलाई माफ गर्नेछौ ।
“प्रतिक तिमी यहाँबाट गइहाल प्लिज, मसँग यहाँभन्दा बढी सुन्ने सामर्थ्य छैन,” मेरो मुखबाट त्यति निस्कियो ।
धेरै पटक सोचें, हैन अब हामी दुवैले निर्णय लिनैपर्छ । यही उसले हाम्रो सम्बन्धलाई कुनै नाम दिन चाहँदैन भने हमी दुई अलग भएकै राम्रो त्यसैले आज प्रतिकसँग यसै विषयमा कुरा गर्न बोलाएकी थिएँ ।
आँखाबाट आँसुले सीमा पार गरिसकेका थिए । एक्कासि वेटरले फिर्ता गरेको पैसा सहितको बिल टेवलमा ल्याएर बोलाउँदा पो थाहा भयो प्रतिक कतिवेला बाहिरिसकेको रहेछ ।
घर आइपुग्न लाग्ने २० मिनेटको समय मैले कसरी पार गरें, आफैंलाई थाहा भएन ।
‘के गर्छे यो केटी ? फोनको घण्टी आधा घण्टादेखि बजेको बजै छ ?’ आमाले बाहिरबाटै ठूलो आवाज दिनुभयो । मोबाइलको स्क्रीनमा २६ मिसकल स्पष्टै देखिएको थियो । कसले गर्यो त्यति धेरै कल । मलाई रत्तीभर चासो भएन । अरूवेला १ सेकेन्ड पनि आफूबाट टाढा नराख्ने फोन पनि मेरा लगि बिरानो लाग्न थालिसकेको थियो ।
विगतले ढोका ढकढकायो । त्यो प्रेम थियो अनि प्रेमको समर्पण थियो । ऊ मसँगको प्रेम-सम्बन्ध सधैं यस्तै चाहन्थ्यो, ऊ सही थियो । म विवाह चाहन्थें, म पनि गलत थिइनँ । आखिर के थियो र गलत ? यदि उसले मलाई अथाह प्रेम गर्छ, जीवन बिताउन चाहन्छ भने विवाहप्रति वितृष्णा किन ? म यही समाजको सृष्टि, अनि ऊ पनि । तर हाम्रो सम्बन्धको बारेमा समाजले बनाउने धारणामा चाहिं यति धेरै फरक किन ? यस्तै प्रश्नले पटक पटक चिथोर्थ्यो मनलाई ।
उसलाई बारम्बार भनेकी थिएँ, अब हामी विवाह गरौं । मलाई विश्वास थियो । ऊ मलाई अथाह प्रेम गर्छ । मेरो लागि उसले धेरै गरेको छ । मैले के दिएँ उसलाई ? एउटी साथीले दिने माया अनि अपनत्व । जिन्दगी काट्न केवल यति काफी हुन्छ र ? एउटा सुन्दर संसार निर्धारण गर्न परिवार आवश्यक छ । परिवार निर्धारण गर्न विवाह ।
सम्बन्धमा रहेको ३ वर्ष बितिसक्दा पनि उसले विवाहप्रति रुचि नराख्नु कहिलेकाहीं अजीव लाग्थ्यो । तर मेरो परिवारले पटकपटक विवाह गर्न कर गर्दा उसले मेरो लागि जसरी आवाज उठाउँथ्यो, ऊप्रतिको विश्वासको आधार त्यति नै काफी थियो मेरो लागि ।
‘तिमी बाहेक को छ र मेरो भन्नु ? मैले के गरें सिर्फ माया दिएँ, माया मागें । किन यसरी विवाहमै कुरा अड्याउँछौं ?’ जब विवाहको कुरा आउँछ उसले दिने जवाफ सिर्फ यही नै हुन्थ्यो ।
थाहा हुन्थ्यो कि ऊ विवाहप्रति त्यति सकारात्मक छैन, हुन सकेन । जागीरको शुरूवातदेखि जतिवेला मैले प्रतिकलाई चिनें त्यही वेलादेखि नै मैले ख्याल गरेको कुरा हो विवाहप्रति उसको नकारात्मक धारणा । सोच्थें- एकदिन उसको सोच परिवर्तन ल्याएरै छाड्छु ।
तर म आज हारें ।
मलाई रातभरी निद्रा परेन, अहँ निदाउनै सकिनँ । मानिसहरू रातभर निद्रा परेन भन्दा अचम्म मान्ने मान्छे म आज पहिलो पटक आँखा झिमिक्क नगरी रात बित्यो ।
रातभर जागराम रहँदा मैले धेरै विषयमा निर्णय लिइसकेकी थिएँ । जागीर छोड्ने, सामाजिक सञ्जालबाट केही समय टाढा रहने । अन्य केही सामान्य पारिवारिक जिम्मेवारी र दायित्वलाई प्राथमिकता दिंदै जीवनलाई अगाडी बढाउने ।
आमाको तीर्थयात्रा गर्ने रहर बुवा हुँदा पूरा भएन । यही समय थियो मैले सन्तान हुनुको कर्तव्य पूरा गर्ने । आफ्नो मन पनि बहलिन्छ, अनि आमाको चाहना पनि पूरा हुन्छ ।
यस्तै यस्तै सोचले बिहान भयो । राजीनामा पत्र टाइप गरें । सामाजिक सञ्जाल फेसबुक डिएक्टिभ गरिहाल्न भने सकिनँ ।
“फेसबुक डिएक्टीभ गरूँ ?” अर्को मनले भन्छ, “होइन, पहिले राजीनामा दे,” यसरी अन्तर्संवाद चलिरह्यो ।
भनिन्छ- भित्ताको पनि कान हुन्छ, हो त्यही भित्ता अर्थात् प्रतिक प्रतिको प्रेमले चियाइरहेको थियो ।
“कतै तेरो राजीनामाले प्रतिकको सोच परिवर्तन गर्छ कि ? आखिर माया त गर्छ उसले तँलाई, एक पटक उसको रियाक्शन हेर ।” मनको अन्तर कुनाबाट आएको प्रतिक्रियाले कताकता झिनो आशा पनि जगाइदिएको थियो ।
झ्यालमा झुन्ड्याइएका पातला पर्दाबाट छिरेका प्रकाशले बिहान भइसकेको संकेत दिइसकेको थियो ।
अरू दिन १० बजे कार्यालय पुग्ने मान्छे, आज ९ : ३५ मै पुगिसक्छु । प्रशासन प्रमुख लिला सरलाई १० मिनेट पर्खनुपर्दा पनि बहुत पीडा महसूस भइरहेको थियो ।
‘प्रतिक सरले त राजीनामा दिइसक्नुभयो त, तपाईंलाई जानकारी छैन ?’ लिला सरको क्याबिनमा पुग्दा थाहा भयो- प्रतिकले हिजै राजीनामा दिइसकेको रहेछ ।
म छाँगाबाट खसेझैं भए ।
‘ए हो र…ओके… ए ए…!’ मेरो मुखबाट यस्तै शब्द मात्र निस्किरहेका थिए ।
मलाई एक पटक पनि नसोधी प्रतिकले राजीनामा दियो । यो मेरो कल्पना बाहिरको कुरा थियो । एकाएक ग्लानि महसूस भयो, कतै मैले उसलाई विवाहको प्रेशर दिएर गलत त गरिनँ ?
प्लिज उसको राजीनामा स्वीकार नगर्नुस् – मलाई अनुरोध गर्न मन थियो । तर सकिनँ । त्यसको सट्टा सोध्न पुगेछु, ‘स्वीकृत भयो ?’
‘त्यहीं त उहाँको श्रीमतीको अस्ट्रेलियाको भिसा लागिसकेको रहेछ, अब शायद चाँडै उड्दै हुनुहुन्छ, स्वीकृत नगरेर के गर्ने ?’
लिला सरको जवाफले मलाई पूरै रन्थनायो, आफू टेकेको धर्ती एकाएक फाटे जस्तो लाग्यो । आफैप्रति एकाएक घृणा लागेर आयो ।
‘श्रीमत… ?’ मैले प्रश्न गर्न नपाउँदै उनले भने, ‘प्रतिक सरले डिपेन्डेन्टमा अस्ट्रेलिया ट्राई गरेको धेरै भइसकेको रहेछ । बल्ल सक्सेस भएछ ।’
त्यहाँ मेरो उपस्थिति अति नै बोझिलो लाग्यो । एक्कासि बाहिर निस्किएँ । आफ्नो क्याबिनमा आएँ, म्यासेन्जर खोलें ।
“यु चीटर” टाइप गरें । तर म्यासेज सेन्ट भएन । पटक पटक ट्राई गरें, अहँ भएन । प्रतिकले म्यासेज सेन्ट नहुने बनाइसकेको रहेछ ।
रीसको सीमा रहेन । उसलाई ब्लक गर्नु मेरो पहिलो प्राथमिकता बन्यो । उसको प्रोफाइल सर्च गरें । स्ट्याटस थियो – फिलिङ ह्याप्पी विथ स्वाती दाहाल…
मेरा औंला एकाएक स्वाती दाहालको प्रोफाइलतर्फ लम्किए । लिभ इन अस्ट्रेलिया…फिलिङ मिसिङ विथ प्रतिक शर्मा…प्रोफाइलभरि प्रतिकसँग जोडिएका फोटाहरू पोस्टिएका थिए ।
‘अँ, मिस ! उहाँको बिदाइ कार्यक्रम कहिले राख्ने हो, यसो प्लान गर्नुस् है, तपाईंको जिम्मा ।’ लिला सर मेरो क्याबिनमा आएर के के बोलिरहेका थिए । म सुन्न नसक्ने अवस्थामा पुगिसकेको थिएँ, मेरो शरीर पूरै तातिसकेको थियो । रीस हो या आवेग, खै पत्तो भएन ।
हातको राजीनामा पत्र कतिवेला भुइँमा झरिसकेको रहेछ । राजीनामा पत्र उठाउने सामर्थ्य थिएन । लिला सरले टिपेर मेरो हातमा मेरै राजीनामा पत्र थमाउँदा पो दोधारमा परें । भन्ने कि नभन्ने – सर त्यो तपाईंलाई दिन ल्याएको ।
लिला सर बाहिरिए, तर मेरो राजीनामा पत्रसँगै तेर्सिएको हात तेर्सिइरह्यो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।