पल्लो चिया बगानमा एक जना साथीसँग भेट्नु परेको थियो र म दिउँसो मध्याह्नमा भात खाने बित्तिकै हिंडें । घामको पोलाइबाट जोगिन म चियाबगानको माझबाट हिंड्दै थिएँ अमिलीका रूख मुनि-मुनि । अकस्मात् मेरा खुट्टा ठक्क रोकिए । दुइटा रहरलाग्दा पिडौंलाहरू चियाको झाँगबाट बाहिर चियाइरहेका थिए । नजीक गएर हेरें । एउटी आदिवासी कन्ने घाम छल्न भनी चियाको बोटहरू माझ अलिकति खाली ठाउँमा खुट्टा फिंजाएर बसेकी थिई । उसको काखमा एउटा पोल्टो थियो र ऊ त्यसैबाट केही झिकेर फाको मार्दै चुरुम- चुरुम गरी खाँदै थिई । सानो टम्म परेको चोलो र कम्मर देखि मन्तिर छोटो घाघरामा उसको किशोरावस्था लोभलाग्दो देखिन्थ्यो ।
“तोर नाउँ का हैके ?” मैले उनीहरूको सादरी भाषामा सोधें ।
ऊ एकछिन निर्निमेष मतिर हेरिरही ।
“संचरिया” उसले आफ्नो नाउ बताई ।
अनि मैले उसलाई भनें, “मैले तिमीलाई चिनिन । उसले मलाई फेरि बताई, ऊ यस गाउँमा दुई चार दिनदेखि मात्र छे, उसको घर कालचीनीतिर पर्दछ, तर यहाँ ऊ आफ्नी सानीमा कहाँ आएकी छे; यही चियाबगानमा पत्ती टिप्ने काम गर्दै छे ।
ए, मैले सोचें, त्यसैले होला चियाको बोट बीच बसेर खाजा खान थालेकी । दिउँसो साढे बाह्र बजे खाजा खाने छुट्टी हुन्छ गाउँमा नयाँ भएकीले अरू अरू पत्ती टिप्नेहरूसँग नबसेर अलग्गै बसेकी होली तर मैले ऊसँग ‘झोली’ देखिनँ मैले सोध्दा उसले बताई, उसको झोली उसकी सानीमासँगै छ । सानीमासँग किन नि भनेर सोध्दा उसले बताई, सानीमासँगै हुन्छ । सानीमाले नै पत्ती टिपे बापत दिनभरिको ज्याला पनि लिने गर्दछे ।
“तँलाई केही दिंदैन पैसा ?” भनेर सोध्दा उसले हाँस्दै भनी, “पैसा लिएर के गर्ने” उसको सानीमाले दिनको दुई ट्याम खान दिइहाल्छे अरू के चाहिन्छ उसलाई ।
उसको कुरा सुनी मलाई अचम्म लाग्यो । कस्ती तरुनी ? दुई ट्याम खानबाहेक केही पनि नचाहिने ! हठात् मेरो ध्यान उसको कलिलो छातीमा उब्सेका दुइटा गोला गोला यौवन-चिन्ह तिर गयो । उसका टम्म मिलेका तिघ्रातिर गएर मेरो ध्यानले झन्नै मलाई एउटा बूढो अडवाङे रूखसँग ठोकाइदिएको ! मैले झल्याँस्स बिउँझेर आफूलाई सम्झाएँ, धत्, के सोचेको यस्तो ! गाउँको प्राइमरी पाठशालाको गुरुले सोच्ने यस्तै हो ?
त्यसपछि कैयौं दिन म त्यो बाटो जाँदै गइनँ । त्यै दिन साथीकहाँ बाट बेलुका फर्किंदा पनि ट्रक हिंड्ने बाटोबाट आएँ । संचरियाले आएर अल्मलाईदेली भन्ने ठूलो त्रास उत्पन्न भयो मनमा ।
बिस्तार-बिस्तार मैले संचरियालाई बिर्संदै पनि ल्याएँ । उसको कलिलो यौवनको सम्झना मनमा आयो-गयो, भयो । म शुरूशुरू आफ्नो पढाउने काम गर्दै रहें ।
म तपाईंहरूलाई बताउन चाहन्छु, म कस्तो ठाउँमा आफ्नो गुजारा गरिरहेको भनेर सुन्नोस् ।
मेरा वरिपरि चिया बगानै चियाबगान छ । आसाम जाने ‘राजमार्ग ३१’ को नाउँ सुन्नुभएकै होला ! यस राजमार्गबाट करीब दुई कोस टाढा एउटा सानो बजार छ । यै बजार हाम्रो कैयौं बगानहरूको हुलाक थलो पनि हो । हाम्रो चियाबगानबाट त्यो हुलाक थलो जान एक घण्टा हिंड्नुपर्छ । त्यसो त चिया ओसार्ने ट्रकमा बसेर गए पनि हुन्छ, तर सित्तै आठ आना पैसा किन खेरो फाल्नु ! टाइम धेरै छ हातमा हाम्रो ! त्यसै त हो नि, टायम धेरै भए पैसा फाल्नु हुँदैन, टायम बहुमूल्य भए पो पैसाको माया लाग्दैन ! हामी यहाँ टायमको सट्टा पैसा नै बचाउँछौं ! यहाँ पैसा कमाउनु गाहारो छ, चियाबगानमा दिनभरि टन्टलापुर घाममा सकी नसकी टिप्यो पैसा मुठी भरि पनि आउँदैन ! जाबो सैंत्तीस पैसा किलोले पाउने ज्याला कति नै हुन्छ र ?
त्यसैले हामीकहाँ पैसाको ठूलो महत्त्व छ ।
सके यै कारणले हो संचरियाकी सानीमाले संचरियालाई आफ्नो घरमा ल्याएर पालेकी ! बैनीको मायाले होइन रहेछ, पैसाको मायाले पो रहेछ ! जे होस्, हामीलाई के वास्ता ? होइन ? अर्काको घरेलु कुरामा !
दिन बित्दै बित्दै गयो र दशैं-तिहार नजीक आउनथाल्यो । मलाई दशैं-तिहार आयो कि उदेक लागेर आउँछ । किन आउँछ यो जस्तो लाग्छ । मन लागे पनि नलागे पनि मनाउनै पर्ने ! मलाई सम्झना आउँछ, केटाकेटीमा म खूब रमाउँथें । नयाँ लुगा लाउन पाइन्छ, सेल खान पाइन्छ भनेर ! तर, अब न नयाँ लुगा सिलाइदिने कोही छन्, न सेल पकाएर खान दिने नै कोही छन् । टाढा माइती भएकी चेली-बेटी झैं म डेराको एक कुनामा बसेर गमिरहन्छु, हेरिरहन्छु, सबैले चाड मनाएको । रक्सी खाएर मातेको, मासु खाएर अघाएको । जुआ खेलेर जीतेको । हारेको !
यस पाली ज्यादै नियास्रो लागेर मैले घरमा (डेरामा) एउटा पनि मैनबत्ती बालिनँ । दालभात पकाएर गम्म ओछ्यानमा पल्टिरहें । त्यै मैलले कालो न कालो भएको सिरकले । जसका रूआहरू पुरानो भएर एक अर्कासँग गुजुल्टिन थालिसकेका थिए । नयाँ सिरक एउटा तग्न पनि मसँग पैसा थिएन । यस अवस्थामा चाड मान्ने कसरी, तपाईं नै भन्नोस् त, महाशय ?
एकाएक कानमा ढोल-नगराको आवाज पर्यो । भैलो माग्न हिंडेछन् आदिवासीहरू वर्षैपिच्छे निस्कन्छन् । डफ्फा बनाएर । आदिवासी लोकनाच र लोकगीत गाउँदै मलाई यो सब हेर्न सुन्न खूबै रहर लाग्यो । बिस्तारै ओछेनबाट उठेर भैयाल खोलेर हेरें । पल्लो घरको आँगनमा आदिवासीहरू गाउँदै नाचिरहेका रहेछन्
“ए…एसोका दसई
डाँडे हरिए दिया बारे
छौंडा-छौंडी खेले के सभा
तुल भेलए…
ए बत्ती बराए निभ गेल
दिया बारल निभ गेल
म अर्थ बताइदिन्छु । यस पालाको दसई (तिहार) मा डाँडाहरू बत्तीले धपक्क बले । केटाकेटीहरू हूल बनाई बनाई खेल्न निस्के । बत्ती बाल्यो निभिहाल्छ; दियो बाल्यो निभिहाल्छ ।
हो त, जति सुकै राम्रो बत्ती बाले पनि निभिहाल्छ ! मैले ठीकै गरेछु बत्ती नबालेर भन्ठानें ! बत्ती नबालेकोले यिनीहरू मेरो डेरामा भैलो माग्न पनि आउँदैनन् । पैसा पनि जोगियो । मैले सोचें – सोच्दै पल्लो घरैमा भएको नाचगान हेरिरहें ।
एकै छिनमा त्यहाँको नाचगान सकियो र आदिवासी तरुनी तरुनाहरू भैलो लिएर आँगनबाट बाहिर निस्कन लागिसके । अब कता जान्छन् भन्ने जिज्ञासाले म झ्यालमै उभिरहें ।
त्यसै वेला मैले देखें, अगि अगि लाग्ने संचरिया रहिछ । आज उसले सधैंको भन्दा राम्रो लुगा लगाएकी रहिछ । उसको आँखा मेरो डेरातिर पर्यो । त्यहाँ बत्ती नबलेको देखेर उसले निस्कन लागेको घरको आँगनमा बालिराखेको एउटा दियो टिपी । त्यसपछि सरासर मेरो डेरातिर लागी । अनि सरासर मेरो डेराको आँगनभित्र पसी । आँगनभित्र पसेर उसले घरको दैलोमा दियो थपक्क राखी म जिल्ल परें ।
उसको पछि-पछि अरूहरू पनि मेरो आँगनमा पसिसकेका थिए । एउटा अधबैंसेलाई मैले चिनें । उसको नाउँ सोमारू थियो । उसले मलाई राम्ररी चिन्दथ्यो म बगानको स्कूलको मास्टरजी हूँ, भनेर । उसले ठूलो सोरले मलाई डाक्यो । मलाई ढोका खोलेर बाहिर आउन कर लाग्यो । केही त उनीहरूको मन राख्न, केही संचरियालाई नजीकबाट हेर्न ।
म बाहिर आएपछि उनीहरू गाउँदै नाच्न थाले । नाच सकेपछि उनीहरू ‘आशिष्’ दिएर मलाई ढोगे । मैले दुई रुपियाँ ‘भैलो’ दिएँ । जाने बेलामा सन्चरिया मुसुक्क हाँसेर गई ।
आज उसको रूप झन् मादक देखिन्थ्यो । म रातभरि छटपटाइरहें उसलाई सम्झी सम्झी ।
भोलिपल्ट कुन्नि कसरी ऊ मेरो डेरामा आउन तयार भई । मैले उसलाई खान निम्ता गरेको थिएँ । आदिवासी खाना खान असाध्यै रहर छ, पकाएर ख्वाऊ भन्ने मेरो निवेदन उसले स्वीकार गरेकी थिई । र, आश्चर्यलाग्दो किसिमले उसले एक चियाको केतली ‘गोदो’ (छानेको जाँड) पनि ल्याएकी थिई । उसकी सानीमाले मलाई दिनू भनेर पठाएकी भन्थी । ‘गोदो’ ल्याएको सट्टा मैले उसको हातमा दुई रुपियाँ राखिदिएँ । “आम्मै यत्ति धेरै किन, यसको त एक अठन्नी पनि पर्दैन” भन्दा मैले “राख, सानीमालाई दिनू” भनें । ऊ दङ्ग परी ।
म ‘गोदो’ सँग उसले पाएको ‘फाक्सा’ (सुँगुर) को मासु खान थालें उसले पनि आफूलाई अलग्ग छुट्याएकी थिई । अलिकता ‘गोदो’ पनि खाई ।
‘गोदो’ खाएर उसका आँखा झन् रसिला भए जस्तो लाग्यो मलाई । साँझको सिरसिर बतास चल्न थालेपछि जाडो जाडो लाग्न थाल्यो मैले झ्यालढोका टम्म लाइदिएँ ।
अनि मैले ऊसँग सोधें, “भैलो खेलेर अस्ति कति पैसा जम्मा भो ? र, उसले कति पाई ?”
उसले थकित स्वरमा भनी, “घाँटी दुखाई दुखाई गायो, खुट्टा दुखाई दुखाई नाच्यो, पायौं तीन रुपैयाँ दस आना !”
अनि मैले उसलाई लोभ्याउन खल्तीबाट पाँचको एउटा नोट झिकेर उसको हातमा हालिदिएँ । उसले आलटाल गर्दै पैसा खोकिलामा राखी । ऊ एकदमै खुशी जस्तो देखिनथाली ।
‘गोदो सक्दा नसक्दा मेरो जीउ तातिएर आयो । उसलाई पनि ‘गोदो’ लागिसकेको जस्तो देखिन्थ्यो । मैले उसलाई बिस्तारै समाएर आफ्नो काखमा राख्न खोजें । उसले लजाए जस्तो गरेर “नाइँ नाइँ” भनी । “पाँच रुपियाँ अरू दिन्छु, बिन्ती” मैले बिस्तारै उनको कानमा भन्ने निहुँले उसको गालामा म्वाइँ खाएँ । उसको गालामा, घाँटीमा लागेका मैलले मेरो मुख नुनिलो भयो । तैपनि मैले छोडिन । बिस्तारै उसको प्रतिवाद कम्ती हुँदै गयो । ऊ मेरो काखैमा घोप्टिई…..
दुई तीन दिन ग्लानिले गर्दा म डेराबाट निस्किनँ । आफ्नो वासना पूर्ति गर्न एउटी अबोधलाई शिकार बनाएकोमा मलाई आफैं लाज लागिरहेको थियो । ऊसँग माफी माग्न चाहन्थें, तर साहस हुँदैनथ्यो ।
चियाबगानतिर जाँदा बाटो छलेर हिंड्थें । एकदिन साहस गरेर ऊ चियापत्ती टिप्ने ठाउँतिर गएँ, तर उसलाई भेटिनँ । एक-दुई दिन फेरि धाएँ, तर उसलाई देखिनँ । अचम्म मानें । अनि मलाई लाग्यो, अस्तिको घटनाले उसलाई चोट पुर्यायो होला, र ऊ आफ्नो घर गई ।
तर, अचानक एक दिन साँझ पाठशालाबाट हुलाक थलोतिर घुम्दै जान लाग्दा एउटा बगाने ट्रकको आवाज सुनेर बाटो छाड्न छेउमा लागें । ट्रक पास हुने बेलामा मैले छर्लङ्ग देखें – पन्जाबी ट्रक ड्राइभर र क्लिन्डर बीचमा एउटी केटी बसेकी थिई – संचरिया ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२३ कार्तिक २०८२, आईतवार 










