बारमा तेस्रो पटक भेट भएपछि उसले मलाई आफ्नो घर विशालनगरमा निम्त्यायो । उसको घर शिरीषका रूखहरूले घेरेको क्याम्पभित्र रहेछ । हामी त्यहाँ पुग्दा मध्याह्न भएको थियो र ठीक त्यही याम जहिले यी रूखहरूले आफूलाई नीलै बनाएर फुलाउँदछन् । घरको दायाँपट्टि ग्यारेजजस्तोमा एउटा पुरानो मोडेलको निजी मोटर राखिएको थियो । अलिक पर धेरै पञ्चरङ्गी फूलहरु बगल लगाएर फुलाइएका, बीचमा एक चोक्टा हरियो चौर नीला शिरीषका फूलहरूले झन्डै छोपिएको, ठीक त्यसै बीचमा मैले एउटी स्वास्नीमान्छे देखें छब्बीस वर्षकी ।

मेरो साथीले थाहा नपाउँदै मैले उसको रूपरङ्ग, लुगा लगाइ, उँचाइ, मोटाइ, हेराइ, हिंडाइ सबै पत्तो लगाएँ । सेतो सारी, सेतो ठुटे चोलो, लामो खुला केश, नराम्री भन्न नसकिने थिई ऊ । उसले हामीलाई हेरी, त्यही निधार खुम्च्याएर, त्यसपछि उत्सुकता नदेखाएरै ऊ इनारतिर लागी । म पनि उत्सुकतावश हेरिरहने मान्छे होइन । ममा केही विशेषता छैन ।

मेरो साथी भन्दै गइरहेको थियो “घर त अनकन्टारमा छ, तर असुविस्ता केही छैन… हो” । भन्दाभन्दै हामी मूल ढोकामा आइपुग्यौं । नीलो फूल र एउटी स्वास्नीमान्छे मेरो आँखाबाट ओझेल भइसकेका थिए ।

ऊ भन्दै थियो “यो तल्लो तला पनि बस्न लायकको छ, तर यहाँ कोही बस्दैन, खाली छ ।”

हामी भर्याङ उक्लन लागिसकेका थियौं । दोस्रो तल्लाको मटानको झ्यालनेर मैले अर्की स्वास्नीमान्छे देखें सोह्र वर्षकी । स्वास्नीमान्छेको उमेर पत्तो लगाउनु मेरो निम्ति कुनै समस्या होइन । ऊ केही अँध्यारो रोगनको तर आकर्षक टाइट कुर्तासुरुवालमा थिई । केही हतारिंदै ओर्लेर गई । मैले आँखा मात्र घुमाएर उसको आकर्षक नितम्बलाई हेरिरहें । यस स्थितिलाई आँखाभरि टिप्न नपाउँदै हामी दोस्रो तलाको मटान पार गरेर तेस्रो तलामा आइपुग्यौं । मेरो आँखाबाट एउटा झ्याल र एउटा आकर्षक नितम्ब ओझेल भइसकेको थियो । हामी छेउको ढोका खोलेर एउटा सुसज्जित ठूलो कोठाभित्र पस्यौं । केही ठूलठूला कोचहरू, केही ठूलठूला तस्वीरहरू, बीचमा सिङ्गमर्मरको गोलो टेबुलमाथि झ्याम्म पारेर शिरीषको फूल एउटा फूलदानमा सजाइएको थियो ।

फूलदान देख्नासाथ मैले झट्टे चौरको एक टुक्रामाथि हिंडिरहेको दुईवटा खुट्टाको सम्झना गरें, यो फूलदान अवश्य तिनै हातहरूले भरिएको हुनुपर्छ । कोठामा एक प्रकारको रमाइलो व्याप्त थियो । ऊ आफ्नै सिलसिलामा भन्दै गइरहेको थियो “हामी जाहान थोरै छौं, चुरुट लिनुस् । मेरो मुआ हुनुहुन्छ, बुबाको स्वर्गे भएको धेरै भइसक्यो । मुआ पनि मधेस जानुभएको छ, घरमा अहिले हामी चार जना मात्र छौं नोकरचाकरबाहेक ।”

मैले अड्कल लगाएँ । एउटा शिरीषको फूल, एउटा मटानको झ्याल, एउटा यिनै आफैं र अर्को ? अर्को को यिनी त अविवाहित हुन् । चुरुटको धूवाँमा उत्सुकता रिंगिंदै मेरो वरिपरि तथा उसको वरिपरि घुमिरहेको थियो । झ्यालबाट उसको पर्खालको छेउछेउमा लगाइएका शिरीषका नीला नीला फूलहरू हावामा हल्लिरहेका थिए र यिनैको फेद-फेदमा अरू कोही शायद ।

ऊ भन्दै थियो “मुआबाहेक मेरा तीन जना बहिनी छन् ।” उत्सुकताको एउटा लहर समाप्त भयो, मैले कानको नसालाई केही टड्कारो राखें ।

‘अघि फूलबारीमा उता गइरहेकी थिई, ऊ मेरी बहिनी, उसको नाउँ ‘मुजुरा’ हो ।”

‘मुजुरा’ मैले मनमनमा दोहोऱ्याएँ, मान्छेअनुसारको नाउँ पनि मीठो ।

“उसलाई अक्षर-ज्ञान दिइएको छ, घरमै बस्छे, विवाह भएको छैन ।”

मैले एउटा सुखको अनुभव गरें ।

ऊ भन्दै थियो “मेरी माहिली बहिनी !”

“मेरो नाउँ सकमबरी ।” बुलेट पड्केको जस्तो आवाजसाथ ढोकामा अर्की स्वास्नीमान्छे देखापरी चौबीस वर्षकी, मैले तर्सेर ढोकामा हेरें । पाँच फूट तीन इन्च जति अग्ली, सेती, बेपत्ताको दुब्लो शरीरमा अस्वाभाविक उठेको छाती, कोप्चो तर कालो र चम्किलो आँखामा रोल्डगोल्डको फ्रेम भएको चश्मा लगाएकी, पुरानो हिब्रू सिपाहीहरूको जस्तो एक इन्च डेढ इन्चको हिसाबले छाँटेर मुडुल्याएको बालभित्र सानू सेतो कानमा कालो ढुङ्गाको टप लगाएकी, भित्र पसी स्थिति जाम पर्यो । नाउँमा, व्यवहारमा, रूप-रङ्गमा पालैपिच्छे हाँस्न पर्ने मेरो खित्कामा पनि जाम पर्यो । जम्मा मिलाएर म हाँस्न पनि सकिनँ । केही पनि गर्न सकिनँ । मेरो साथीले लाज अनुभव गरेको मैले प्रस्ट देखिसकेको थिएँ ।

केही रातो भएर लाज पचाउँदै उसले भन्यो “यो मेरी बहिनी आई. ए. मा फस्ट डिभिजनमा आई र यता शारीरिक कमजोरीले गर्दा घरमा बसेकी छ ।” उसले नाउँ बताइदिएन र मैले लगत्तै बिर्सि पनि हालें । ‘नमस्ते’ मैले टाउको उठाएर हेर्दा ऊ आफ्ना झीना सेता औंलाहरूले अभिवादन बनाएर मलाई ठीक चुल्बुले बिरालीका जस्ता जिस्क्याउने आँखाहरूले हेरिरहेकी थिई । सिङ्गमर्मरको टेबुलमाथि राखिएको क्याप्सटन चुरुटको बट्टाबाट दुईवटा चुरुट झिकेर ऊ लमकलमक ढोकातिर गई । स्थिति अझ ठेकानमा आइपुगेको थिएन । मेरो साथीले शायद सबै आकस्मिकताहरूलाई ढाकछोप गर्नेको उद्देश्यले ऊ ढोकामा पुग्दा पछिबाट बोलायो “बरी ! चिया लिएर आउनू ।”

कुन्नि के बरी, कस्तो बरी, परिचयको क्रमशः आइरहेको सिलसिलामा एउटा पहिरो भत्काएर गई बरी, उसलाई सम्झिन अब छुट्टै समय चाहिन्छ, यहाँ साथीसँग बिताइरहेको समयले पुग्दैन । उसलाई सम्झिन अब एउटा कोठा चाहिन्छ, एउटा एकान्त चाहिन्छ । शिरीषको फूल स्मृतिमा त्यसै पुष्टिएर गयो, मटानको झ्याल अब उसको परिचय सोध्नु या भन्नुको कुनै तात्पर्य देखिएन । ऊ अवश्य यिनकी कान्छी बहिनी हुनुपर्छ र त्यस्तै कुनै बेपत्ताको नाउँ राखेकी होली । उसको परिचय पनि त्यो दिन अँध्यारैमा पर्यो ठीक उसको रोगनजस्तै अँध्यारो रङ्गमा ।

मेरो साथी अझ के-के भन्थ्यो कुन्नि, तर अलमलिरहेको जस्तो देखिन्थ्यो । स्थितिलाई पचाएर पनि शायद उसलाई पचाएजस्तो लागेन होला । ऊ छिटो-छिटो चुरुट तान्दथ्यो, घरी-घरी ढोकातर्फ हेर्थ्यो । म खोक्ने बहानाले उठेर झ्यालसम्म गएँ । त्यसपछि त्यहाँ न बरी नै आई न अरू कोही । नोकरको हात चिया आयो । हामी धेरै बेरसम्म घरको विषयमा, नोकरीको विषयमा कुरा गरिरह्यौं । बिदा भएर फर्कंदा बैठक कोठादेखि लिएर क्याम्पाको निस्कने ढोकासम्म कोही थिएन, एकदम चकमन्न थियो ।

० ० ० ०

जीन खुकुरी रमको पेगसँग साटासाट भएको हाम्रो परिचय र हाम्रो घनिष्टतासाथै मैले उसलाई शिवराजजी नाउँले बोलाउन थालिसकेको थिएँ । शिवराज उसको नाउँ । बाजेको पालादेखि आमापट्टिबाट बिग्रँदै आएको ऊ क्षेत्री र गुरुङसेनीको ठिम्बर छोरो थियो । ऊ मभन्दा उमेरले कान्छो, अनुभवले कान्छो, हाम्रो सन्तुलन खाली पेगको भराइ र रित्याइमा मात्र मिलेको थियो । ऊ मजति नै पिउन सक्थ्यो । मेरो कुरा ऊ धेरै चाख लिएर सुन्थ्यो । मप्रति ऊ सधैं उत्सुक रहन्थ्यो । मप्रति धेरै माया गरेजस्तो देखाउँथ्यो र यसो भनूँ मप्रति उसको फर्साइलो र सत्य हुनुमा कुनै शङ्का थिएन ।

तर मैले आफ्नो विषयमा उसलाई सम्पूर्ण केही बताएको थिइन र मेरो चाहिने उसप्रति सत्य हुनुमा धेरै ठूलो प्रश्नचिह्न उठ्छ । सत्य र सोझो त म मेरा कुनै नातेदारप्रति पनि छैन र वास्तवमा म आफैंप्रति पनि सोझो र सत्य छैन, यद्यपि उसले जानेको थियो, म एउटा चालीस उँभोको बूढो कुमार, भूतपूर्व सैनिक, दोस्रो महायुद्धको एउटा चोट, घर पहाडमा र यहाँ इच्छा लागे अस्थायी जागिर खान र लगत्तै फेरि ढाक्रेगिरीमा रमाउनु मेरो जीवनको नियमबद्धता ।

म पैंतालीस टुङ्ग्याउन आँटेको बूढो, तर यो पनि उसलाई थाहा थिएन, कारण म आफ्नो उमेरभन्दा अलिक तन्देरी नै देखिन्छु । एकपल्ट बारमा कतिसम्म मैले उसलाई भनेको हुँ भने केही त आफ्नै रहर, केही त बाबु-आमाको करले र केही लडाकू जातिको रगतको उम्लाइले म पल्टनमा भर्ना भएको थिएँ र पछि एक प्रकारको छालाको रोग अर्थात् स्क्याबिसको शिकार हुनुपरेकोले पेन्सन खाने हिसाबले लडाइँबाट छुट्कारा पाएको थिएँ । मेरो अझसम्म विवाह भएको छैन । यसो भन्दा मैले आफ्नो अनुहार बिगारेको थिएँ तर रक्सीको आवेगमा उसले थाहा पाएन । यति थियो मेरो तर्फबाट उसले थाहा पाउन सकेको मेरो परिचय, प्रायजसो हामी आफ्नो विषयमा भन्दा अरूको विषयमा धेरै गफ गर्थ्यौं ।

उसले आफ्नो घरमा निम्त्याएपछि हामी घनिष्टताको एउटा पर्दा छिचोलेर निकै नजिक आयौं । यसैको आधारमा मैले धेरै उसको घर-विषयमा अड्कल काटिसकेको थिएँ । उसले बताएका सामग्रीहरूले नपुगेर पनि म उसको विषयमा धेरै बढाई चढाई सोच्थें, कारण यो एउटा मेरो धेरै छोटो बानी छ । त्यो रात मलाई निकै तातिएर बोल्न मन लाग्यो । धेरै गफ सिद्धिएपछि उसले मलाई सोध्यो “यहाँ त लडाइँमा खप्पिस भएर आउनुभएको मान्छे, यहाँ यसै घुमिरहँदा पनि अल्छी लाग्दो हो ?”

मैले आफ्नो गिलास स्वाट्टै पारेर भनें “विशेष पल्टनमा मेरो जीवनको कुनै खास रेकर्ड छैन । सुबेदारसम्म भएको हुँ त्यो पनि भाग्यले घचेटेर, आफ्नू अफिसको काम अलिक छरितो हुन्थ्यो र मात्र । मान्छे एउटा पनि मारेको छैन ।”

फेरि पनि मेरो अनुहार बेस्कन बिग्रियो र फेरि पनि उसले याद गरेन । म भन्दै गएँ “लडाई त गरेको हुँ तर मान्छे मार्ने मौका पाइनँ । जापानीहरूसँग हाताहात हुँदा हाम्रो बटालियनबाट एक जनाले भिक्टोरिया क्रस पाएको थियो र खुट्टाहात हराएर कतिले ग्यालेन्ट्री थापेका थिए तर मेरो भाग्यमा त्यो थिएन । मेरो शरीरमा विश्वयुद्धको छाप छैन । त्यो छालाको रोग त एउटी जङ्गली केटी…।”

मैले कुरालाई फनक्कै घुमाएर भनें “डेथ भ्यालीबाट भागेर आउँदा भोग्नु भोगेको हुँ दुःख पनि, कहिले त लेख्न मन लाग्छ तर लेख्न आउँदैन । जीवनलाई दुःखित भोग्नु मात्र जीवनको सार्थकता होइन शिवराजजी ! सब सारहीन छन् । अहिले जो जीवन बाँचिरहेको छ त्यो मेरो भोगाइको प्रतिक्रिया होइन, हो त ? भोग्दाभोग्दै जीवन सिद्धिन्छ ।”

म हाँसें र फेरि भन्न थालें “केही हराएर केही पाउनलाई मैले लडिन, पाउनलाई केही पाइनँ तर हराएको त अवश्य हो । मैले जानेर हराएको होइन आफैँ हरायो, मेरो के लाग्छ ? जम्मामा रित्तिएको छ । सुन्नुभो, मलाई जीवनसँग किन अल्छी लाग्दैन भने, म यहाँ बाँकी जीवन आफ्नो ढङ्गले जसरी बित्छ त्यसरी बिताउन आएको, म रित्तिएर आएको ।” क्रमशः मेरो अनुहार बिग्रँदै गयो, यो बिग्रनुमा उप्रान्त मेरो केही नियन्त्रण चलेन, मैले सक्दो बिग्रन दिएँ र भन्दै गएँ, “अब मलाई जीवनदेखि भाग्न पर्दैन ।”

बीचैमा उसले कुरा काटेर सोध्यो, “भागि त रहनुभएको छ नि बोतलमा, गिलासमा ।”

“यो भगाइ होइन” मैले भनें, “लडाइँमा जहिले पनि रम खान पाइन्छ र यो मेरो छुट्न नसक्ने लत मात्र हो । तपाईंहरू भन्नुहुन्छ लडाइँमा खूब रमाइलो गर्न पाइन्छ । रमाइलोको साधन त उहाँ झ्याउरे गीत र रम मात्र हो अरू केही छैन । अँ, ठूलठूला अफिसरहरू भने खूब मोज गर्छन् । रात-रातभर क्यान्टिनमा रक्सी खाए, नाचे । बिचरा सिपाहीहरूको कसले बुझिदेओस् । विशेष हाम्रा सिपाहीहरू, बाबुबाजेको नाममा खुकुरी चलाउनु छ, उफ्रिनु छ । घरको सम्झना नआइदिए त हुने, त्यसो पनि हुँदैन । मलाई युद्धको विषयमा केही बोल्न मन लाग्दैन शिवराजजी । युद्ध भनेको हामी आफूजस्तै मानिसहरू आपसमा काटाकाट गर्नु त हो नि, बढी के हो र !”

उसले हरेस खाएर सोध्यो, “बढी के हो र भन्नुहुन्छ तपाईं पनि काटाकाट गरिसकेपछि ।”

मैले भनें, “सत्ते, मैले काटेको छैन । काटे होलान् अरूले शायद, काट्नै परेर होला कतिले बमले मारिसकेका दुश्मनका टाउका पनि काट्दै हिंडे । कति रूखपात काट्दै हिंडे, लेखाजोखा किन गरिरहने, विशेषतः यो लडाइँको गफ नै गरिरहने सित्तैं !”

उसले झन् उत्सुक भएर सोध्यो, “तपाईं विशेष सधैं यस्तो गफ चल्यो कि मलाई पन्छाउन खोज्नुहुन्छ किन ? भन्नुहोस् न, हामीलाई सुन्न कस्तो इच्छा लाग्छ ।”

बोतलमा बाँकी रहेको रक्सी दुवैलाई बराबर भाग लगाएपछि मैले भनें, “भनिहालें नि, मेरो कुनै खास इतिहास बाँधिएको छैन लडाइँसँग, साधारण बिताएर आएको छु । लडाइँमा जानुअघि आफैँलाई एउटा मेसिनमा परिणत गर्नुपर्छ, कसैको माया गर्नु हुँदैन, त्यति भए पुग्छ ।”

उसले गिलास रित्त्याउँदै हाँसेर भन्यो, “त्यो त मलाई पनि थाहा छ, मलाई त्यत्ति केटाकेटी नसम्झनुस् न ।”

“सिपाहीहरूले भनेका” मैले केही गम्भीर भएर भनें, “मायालु हुनेलाई मायालुको र स्वास्नीको धेरै सम्झना आउँछ रे । अमेरिकन र गोरा सिपाहीहरू तकिया अँगालेर सुत्छन् रे । हाम्रा लाहुरेहरू रङ्ग उडिसकेको मायालुको तस्वीर हेरेर चित्त बुझाउँछन् । झोलामा प्रेमलहरी सबैसँग हुन्छ । अकबर-बीरबल, तोता-मैना र कोकशास्त्रको किताब सर्कुलर गरेर पढ्छन्, भन्नुहोस् त युद्धले मानिसलाई कतिसम्म बोका बनाउँदो रहेछ ! गोरा सिपाहीहरू त स्वास्नीमान्छेको छायासम्म देख्न हुँदैन, त्यसै मात्तिन्छन् । तर मेरी मायालु थिइन ।” मैले जोडसँग आफ्नो गिलास अँठ्याएँ, सिलावरको भए कुच्चिइसक्थ्यो तर काँचले आफ्नो धर्म छोडेन ।

उसले चित्त नबुझाएर भन्यो, “यो त लडाइँको साधारण कुरो, सिपाहीहरूको साधारण मनोवृत्ति । चाहनुभयो भने त तपाईंको आफ्नो युद्धदर्शन भन्न सक्नुहुन्छ, दुश्मनहरूसँग जम्काभेट भएका गफहरू हाँक्न सक्नुहुन्छ ।”

मलाई लाज लाग्यो आफ्नो कुराले स्तर नपाएकोमा । तै लाज पचाउँदै भनें, “तपाईं साधारण तर कुरा त प्रमुख नै हो । एउटा सिपाहीबाट तपाईं कस्तो गफको आशा राख्नुहुन्छ शिवराजजी ! सिपाही जहिले पनि उत्ताउलो हुन्छ, अब खाने काम गरौं ।”

मैले पन्छाउँदैछु, यो उसले राम्रैसँग बुझ्यो । हामी भान्छाघरतिर गयौं । भात खाइसकेर आउँदासम्म हाम्रो केही खास कुरा भएन । चुरुट तान्दातान्दै उसले घडी हेरेर तर्संदै भन्यो, “लौ बित्यो, अब जानुपर्छ, बरी सुतेकी हुन्न, थाहा पाई कि ठाडै कराउँदै आउँछे, बिताउँछे ।”

“मुजुरा नि ?” नभनौं भन्दाभन्दै मेरो मुखबाट अकस्मात् फुस्क्यो । अप्ठ्यारो लागेर म एकछिन घोप्टिएँ ।

उसले स्वाभाविक स्वरमा भन्यो, “ऊ त सुतिसक्छे । बरी मध्यरातितिर मात्र सुत्छे । विशेष मुजुरामा अरूको विरोध गर्ने स्वभाव छैन । मैले रक्सी खाएकोमा उसलाई गुनासो छैन । बरी मान्दिन, रिसाउँछे । फेरि मलाई त्यसैको बढी माया लाग्छ ।”

किन ? एउटा प्रश्नचिह्न मेरो आँखाअघि देखापऱ्या, लगत्तै हरायो । मुजुरामा विरोध छैन, मलाई रमाइलो लाग्यो । उसलाई मैले रोक्न सकिनँ । ढोकासम्म पुऱ्याएर फर्कें । रक्स्याहाहरू भेटघाट भएको कोठा, जथाभाबी भइरहेको थियो । वास्ता नगरी म खाटतिर जाँदै थिएँ, ठीक शिवराज बसेको कुर्सीमुनि एउटा कागजको टुक्रा खसेको रहेछ । जिज्ञासावश उठाएर हेरें ।

त्यो एउटा तस्वीर थियो, उल्टो फर्केर खसेको, छर्लङ्ग अक्षरमा लेखिएको थियो ‘सकमबरी’ । साँच्चै रक्स्याहाहरू यस्तै हुन्छन्, कहाँ के खस्यो पत्तो पाउँदैनन् । शिवराजले यहीं झारेर गएछ क्यार । अरूको घरमा अथवा बारमा छुटेको भए कत्रो गाईजात्रा हुन्थ्यो, धन्न मकहाँ छुट्यो । तस्वीर पल्टाएर हेर्ने आँट मैले गरिनँ । नहेरे पनि हुन्छ, देखेकै हो सकमबरी, मैले हिफाजतसँग आफ्नो कोटको खल्तीमा राखें, भोलि गएर बुझाउनु थियो ।

दश बजेर नाघिसकेको थियो । म झ्यालमा बसेर शिवराजसँग भएका कुराहरू दोहोऱ्याएर सम्झिन थालें । मेरो अरू काम थिएन र केलाउनुपर्ने कुनै समस्या पनि थिएन । रित्तो मान्छे, तकियामा टाउको राख्यो कि बिहान नहुन्ज्यालसम्म बोल्नै पर्दैन । सोच्नलाई पनि मसँग कुनै सामग्रीहरू रहँदैनथ्यो । एक किसिमले सलल बगेको सजिलो मेरो जीवन, छुट्कारा पाइसकेको ।

० ० ० ०

‘यो घरका केटीहरू अनौठा अनौठा छन्’ यही विचार गर्दै म सामुन्नेको चोकमा आइपुगिसकेको थिएँ । पहिलो पटक आएपछि पन्ध्र दिनको एउटा लामो पर्खाइ भनूँ, म्याद सिध्याउँदै दोस्रो पटक आएको थिएँ तर त्यो आउनुमा मेरो कुनै खास रुचि थिएन । रुचि हुनु अथवा रुचि देखाउने उमेर मेरो छैन, यो मलाई राम्रैसँग थाहा छ । एउटा नहेरेको तस्वीर फर्काउनु थियो शिवराजजीलाई, बढी केही थिएन । घरको वातावरण उस्तै थियो, मोटर त्यहीं थियो, त्यो एक चोक्टो चौरमा नीलो फूलको केही पातलिंदै गएको रङ्ग, केवल मुजुराको खुट्टा देखिएन ।

म केही खोज्दै गइरहेको थिएँ होला त्यसैले अनायास त्यो कलिलो घाममा झण्डै आङसम्म आएको जाईको झ्याङउता एउटा सुनौलो मुडुलो टाउको उठाएर पर्खालमा केही हेर्न लागेकी सकमबरीलाई देखें । धूवाँको एउटा खिरिलो घाममा टल्कँदै हराइरहेको देख्दा मैले थाहा पाएँ ऊ चुरुट तानिरहेकी छ । जाईको झ्याङमाथि टाँगिएको एउटा सुनौलो खप्पर, एक रेखा धूवाँ र अलिक माथि पर्खालमा झुण्ड्याएर फुलाइएका शायद सुनगाभाका केही बोटहरू आँखालाई केन्द्रीभूत पारेर खालि त्यही दृश्य मात्र हेर्दा त्यो साँच्चै एउटा अनौठो चित्रकलाको नमूना भइरहेको थियो । तर त्यो दृश्य मैले धेरैबेर हेरिन । आफू एक्लै पछिबाट आइरहेकोमा अलिक अप्ठ्यारो लाग्यो । बोलाऊँ भने नाउँ लिन असजिलो, खोकूँ अलिक अशिष्ट भइने । तर त्यस स्थितिमा उसले मलाई धेरै बेर राखिन । एकाग्र भएर बसेको बिरालोले कोही आएको थाहा पाउनासाथ लगत्तै टाउको घुमाएजस्तै फनक्क फर्केर हेरी । गला धेरै खुला भएको चोलोबाट देखिने गर्धनमुनिको हाड र बेस्कन उँभो उठेको छाती देख्दा हाँसो र वितृष्णाले एकसाथ मलाई छोप्यो । हो, मैले त्यतिमात्र हेरेछु, त्यति मात्र देखेछु ।

ऊ चाँडै विवशता अनुभव गर्ने खालकी स्वास्नीमान्छे थिइन, यो मलाई पनि पहिले ज्ञात भइसकेको थियो । त्यसैले उसले कुनै पनि बाधा अनुभव नगरी सजिलैसँग भनी, “दाइलाई भेट्न आउनुभएको होला, उहाँ बाहिरतिर जानुभएको छ, एकछिन पर्खनुहोस् ।”

“कति बेरमा आउनुहोला ?”

“अब आइहाल्नुहुन्छ” भन्दै जाईको झ्याङबाट लम्केर यता नछेलिने ठाउँमा आई । चुरुटको ठुटो उसका झिना औंलाहरूमा सतर्क अड्किएको थियो । एक अन्तिम सर्को तानेर उसले ठुटो भुइँमा फाली । म प्यान्टको खल्तीमा हात हालेर भूइँतिर हेरेर उभिएको थिएँ, उससँग बोल्ने मैले आवश्यकता देखिनँ ।

एकछिनको चकमन्नलाई चिर्दै उसले भनी “यहाँको डेरा शहरमा होइन ? मलाई शिवले भन्नुभएको ।”

प्रशस्त धृष्टता भएकी स्वास्नीमान्छे हुनुपर्छ यो, आफ्नो दाइलाई शिव नाउँले बोलाउँदी रहिछ । मैले उसको कुरा नसुनेकोमा उसले फेरि भनी, “कुरा सुन्नुभएन कि क्या ?”

त्यसपछि झसङ्ग भएको एउटा बहानाजस्तो गरेर मैले भनें, “होइन, यी पर्खालमा झुण्डयाएका सुनगाभाहरू कहाँबाट जम्मा गर्नुभएछ भनी विचार गर्दै थिएँ । यहाँ त अरू ठाउँमा मैले देखिनँ ।”

घामको उज्यालोमा मुखै उज्यालो पार्दै उसले भनी, “फूलको मलाई सोख छ ।”

शायद हाँस्नु र खुशी हुनुको उसको सीमा यति नै होला । ऊ भन्दै थिई, “यो विशेष ठाउँबाट मगाएको, यी फूलहरूको आफ्नो विशेषता छ, यता हेर्नुहोस्, यो हाँगामा कोपिलाजस्तो पलाएको छ, देख्नुभो, यो यही फूलको प्रमुख अङ्ग हो, यसले कीरा मार्छ । यसलाई जीवघातक सुनगाभा पनि भन्छन् । भँवरा, मौरी, अरिंगाल यहाँ आउनै हुँदैन ।”

उत्सुकतावश म पनि उसैको बगलमा उभिन पुगेछु, हावाको एउटा पातलो नदेखिने धर्सोले मात्र हामी दुईलाई अलग राखेको थियो त्यस बेला । ऊ प्रशस्त रमाउँदै भनिरहेकी थिई, उसको पातलो औंला फूलको छेउछेउमा हल्लिरहेको थियो, “भंवरा अथवा मौरीको स्वरको चेतना पाएपछि यी कोपिलाजस्ता थैलाहरूले आफ्नो मुख बाउँछन् । यहाँ के छ कुन्नि कीराहरू फूल छोडेर यसभित्र पस्छन् । एउटा थैलामा एउटा भँवरा पसिसकेपछि यसले आफ्नो मुख बन्द गर्छ । कीरा भित्र निसास्सिएर मर्छ, असाध्य रमाइलो हुन्छ । अहिले कीरा आएको छैन नत्र तपाईंले पनि देख्नुहुन्थ्यो सुयोगजी !”

मैले तर्सेर उसलाई हेरें, तर उसले मलाई हेरेकी थिइन, सम्झें स्वास्नीमान्छे साँच्चैकी धृष्ट हो, ऊ थिई धृष्ट मेरो के लाग्छ ! मलाई उसको अनुहार हेर्दा एउटा अर्कै भावनाले कुतकुत्यायो, यो सुनगाभाको फूलले कीरा मार्छ त ऊ यो विधि रमाउनुपर्ने किन ? अहिले त बोल्ने आवश्यकता मात्र हैन उससँग कुरा गरिरहन रहर लाग्यो । मैले खल्तीबाट चुरुटको बट्टा झिकेर उसलाई दिएँ, उसले निःसङ्कोच एउटा झिकी ।

सल्काइसकेपछि मैले सोधें, “भँवरा बस्नै नपाएपछि यो फूलको के अर्थ ?” पछिबाट लाज लाग्यो, कस्तो सस्तो कुरा सोधेछु, त्यसै त सिपाही, तर उसले मेरा कुरालाई त्यति सस्तोसँग लिइन । चुरुटको धूवाँ फुरुरु छोड्दै उसले भनी “फूल बिग्रँदैन, सुरक्षा पाउँछ ।”

उसप्रतिको मेरो रहर अझ बढ्दै गयो, मैले उसलाई नहेरी भनें, “त्यसो भए निरुद्देश्य यसलाई नफुलाउनुहोस्, फूलको कुनै न कुनै सार्थकता हुनैपर्छ । जुन फूलको फुल्नुमा र आफूलाई लुटाउनुमा केही विशेषता छैन, त्यसले जीवघाती तन्तु आफूसँग राख्छ भने त्यस विशेषतालाई के विशेषता मान्ने ? ओइलाउनु र झर्न त यसले पर्छ-पर्छ भने एउटा विद्रोहसँग खेलेर सिद्धिन किन नसक्ने !” मैले आफ्नो भनाइको प्रभाव उसको अनुहारमा हेर्न खोजें; तर ऊ जस्ताको तस्तै थिई, न मलाई नै हेरेकी थिई ।

त्यसपछि फूलबाट आँखा हटाएर मलाई हेर्दै भनी “फूलबाट तपाईं कति चाँडै जीवनको थोत्रो दर्शनतिर भाग्नुभयो !” मैले निधार गाँठो पारें, ऊ भन्दै गई, “आफ्नो निम्ति फुल्नु, आफ्नै निम्ति फक्रिनु, झर्नु जस्तो एउटा बाध्यतालाई स्वीकार गर्नको निम्ति भँवरासँग लाप्पा खेल्नैपर्छ, झर्न त पर्छ-पर्छ भने भँवराको चोट सहेरै किन झर्ने ! आफू मात्र झर्ने, आफ्नू इच्छाले झर्ने ।”

कति निस्सार थियो उसको जीवनप्रतिको भावना र कति निष्ठुर पनि । ऊ मदेखि एक हातजति टाढा थिई । एक धर्सो हावाको भरमा मैले उसलाई छोएको छ भन्ने विश्वास पनि अब त अल्मलिइसकेको थियो ।

शिवराज आइपुगेको थिएन, मेरो रहर मेटिएको थिएन, मैले भनें, “त्यो त फूलको कुरा भयो ।”

“हो, जीवनलाई फूल सम्झनेहरूका कुरा ।”

मेरो अनुहारमा एउटा विकृत भाव क्रमशः आउन लागेको थियो । सारा स्थितिलाई लत्त्याएर भए पनि मैले उसको दुब्लो शरीरभित्र चलेको सास छातीको उठाइ र बसाइमा प्रस्ट हेरिरहेको थिएँ, मलाई रमाइलो अनुभव भइरहेको थियो । तर मलाई यस्तो हुन दिनु थिएन, मैले भनें, “भँवरासँग जुन लाप्पा खेलिन्छ त्यो लाप्पा कहाँ हो र ?”

उसले बीचमै कुरा काटी, “सोझो भन्नुस् न त्यो त प्रेम हो प्रेम । प्रेम पनि त कुनै बाध्यता होइन । प्रेममा गएर पिल्सिनैपर्छ, यो पनि कुनै अनिवार्य छैन । एक्लो बाँच्न सकिन्छ एक्लो ।”

“तपाईंको फूलले त्यो कहाँ सिकाएको थियो त ? आफू एक्लो बाँच्ने र भेटेकालाई मार्ने पो भनेको होइन ?”

उसले त्यही बुलेट पड्केको जस्तो आवाजमा भनी, “हो, त्यो फूलको कुरा भयो, तर मर्न आउने मर्छन्, मेरो भन्नु केही छैन । गर्मी भयो, भित्र हिंड्नुस् ।”

दोस्रोपल्ट सर्लक्क उभिएको शरीरमाथि राखिएको एउटा सुनौलो टाउको पछि लागेर म त्यस घरको मूलढोकाबाट फेरि त्यही बैठकमा गएँ । ऊ मलाई त्यहीं पर्खाएर गइहाली । आफैं सम्झन थालें कस्ती निस्सार स्वास्नीमान्छे छ यो । यसको रगतमा मानवविरोधी तत्त्व बहन्छ क्यार, तर होइन उसको दाइलाई ऊ माया गर्छे, त्यसैले शिवराज उसलाई अरूलाई हेरी बढ्ता माया गर्छ । सकमबरी के जीवनहीन प्रेमहीन होली त ? ऊ जस्ती होस् मेरो के लाग्छ ? मैले पनि पैंतालीस वर्षको उमेरसम्म कुन स्वास्नीमान्छेलाई प्रेम गरें र ? म प्रशस्त बूढो भइसकें, मलाई प्रेम र स्वास्नीमान्छेसँग के चासो, के स्वार्थ ?

एकछिनपछि ऊ ढोकाबाट कराउँदै आई, “तपाईंलाई शायद फूलको सोख छैन ।” उसले हातमा अर्को चुरुट लिएकी थिई ।

“एउटा सिपाही र फूल कस्तो अमिल्दो कुरा !” आफ्नो हाँसोको सीमा मोहडा उज्यालो पार्दै ऊ लगत्तै गई । मैले थाहा पाएँ ऊ हाँसेर गई, तर कस्ती रहिछ प्याच्चै सिपाही भनिदिई । शिवराजले मेरो सबै कुरा यसलाई भन्दो रहेछ,

गजबको मान्छे ! मैले पहिलो दिनै सम्झेको थिएँ यसलाई सम्झन एउटा छुट्टै कोठा चाहिन्छ, छुट्टै एकान्त चाहिन्छ, अवश्य चाहिन्छ । तर जे होस्, यसको धारणा स्वास्नीमान्छेमा लागू हुन सक्तैन, ऊ आफैँले पनि हुन सक्तैन । स्वास्नीमान्छे स्वास्नीमान्छे नै हो, फूल फूलै हो । म बूढो सिपाही मलाई… मलाई फूलको सौख छैन तथापि स्वास्नीमान्छे मेरो मस्तिष्क दुखेर आयो, मैले फूलदानमा भरिएका ताजा नीला फूलहरू खेलाएर आफैलाई बिर्सन खोजें । तर यहाँ पनि स्वास्नीमान्छे- यहाँ त झन् मुजुरा भन्ने स्वास्नीमान्छे छ, एउटी राम्री स्वास्नीमान्छे । भाग्यवश छिंडीबाटै बरीको नाउँ लिंदै शिवराजजी पस्यो, मैले केही छुटकारा अनुभव गरें ।

मलाई देख्नासाथ उसले भन्यो, “बरीले तलै भनी धन्दा नमान्नुहोस्, यसलाई आफ्नै घर सम्झनुभए हुन्छ ।”

मैले खल्तीबाट एउटी स्वास्नीमान्छेको नहेरिएको तस्वीर झिक्तै भनें ” तपाईंले यो तस्वीर हिजो मेरो डेरामा छोड्नुभएछ, म त्यही दिन भनी आएको, लिनुस् ।”

उसले तर्संदै भन्यो, “हरे ! म कस्तो लबस्तरो, अरू ठाउँमा छुटेको भए !” सकमबरीको तस्वीरलाई मायालु आँखाले हेर्दै उसले आफ्नो वालेट अघिल्तिर राख्यो । मेरो खल्तीबाट एउटा समस्या भाग्यो, एउटा मानवविरोधी तत्त्व भाग्यो, धृष्टता भाग्यो ।

बाहिरबाट आएको कचिङ्गलले हामी दुवै जना एकाग्र हुन सकेका थिएनौं । ऊ त सधैंको अभ्यस्त मान्छे, मलाईचाहिं अनौठो लागिरहेको थियो ।

“तिमी अलिक मधुरो स्वरले बोल्न सक्तिनौ बरी ?” एउटा बुढौली लागेको आवाज आउँछ ।

“कति चुरुट खानुपर्छ बरी, तिमीलाई ?” अर्को मसिनो लज्जालु आवाज आउँछ ।

“बरी दिज्यू ! लाहुरेहरूले गाउने गीत गाउनोस् न ।”

अनि एउटा फुक्का खित्का छुट्छ । मैले कुरा टाल्नलाई साथीसँग सोधें, “यहां सधैं तपाईं ताजा फूल राख्नुहुन्छ नि शिवराजजी ?” तर मैले कुरा थुत्ने उद्देश्यले भनेको होइन ।

उसले हाँस्दै उत्तर दियो, “बरीले भरिदिन्छे सधैं । मुजुरालाई यी सबको चाख छैन । मेरी कान्छी बहिनीसँग मेरो भेट नै हुँदैन । म उठ्दा ऊ पढ्न गइसकेकी हुन्छे, म फर्कंदा ऊ खाएर सुतिसकेकी हुन्छे ।” कुरा टुङ्गिन पाउँदैन, ढोकामा चिच्च्याएर देखा परी उही बरी ।

“शिव ! तपाईंलाई भान्सा गर्नु पर्दैन आज, आज हिंड्नुस् सुयोगजी, तपाईं पनि भान्सामा ।”

मैले लाज मान्दै भनें, “होइन, म डेरामा खाइहाल्छु नि ।”

“डेरामा कसले पकाइदिन्छ तपाईंलाई ? भान्से राख्नुभएको होला, मीठो लाग्छ के ? बिहा गर्नुस्, अब बूढो भइसक्नुभयो ।”

बरीका यी वाक्यहरूले एकक्षण त मलाई व्याकुल बनायो । सम्झें जथाभावी बोल्छे, कत्ति पनि लाज मान्दिन; साँच्चै कस्ती मापाकी छे यो स्वास्नीमान्छे !

कति सहजैसँग घरी सिपाही भन्छे, घरी बूढो भन्छे, यसलाई आफ्नो दाइको अलिक लाज पनि लाग्दैन क्यार । म बिदा लिएर छिटो-छिटो डेरातर्फ आएँ । बाटामा मलाई एउटै घाउले पिरोलिरह्यो । म बूढो भएछु, बूढो भएछु मात्र होइन, बूढो देखिएछु । तर टाउकोले टेकेर स्वीकार गर्नुपरेको थियो त्यस सत्यलाई । बूढो त म निश्चय नै भएको हो, कसो गर्ने ? तन्देरी देखिनलाई र केही पाउनलाई मेरो जीवनले पनि लोभ गर्ने हो र ? मसँग छ नै के र ? म त रित्तिसकेको एउटा भाँडो, एउटा निस्सारता हुँ । आफैंले आफैंलाई सान्त्वना दिएर पनि मैले कत्ति चित्त बुझाउन सकिनँ । दिनभरि मनमा अशान्ति भइरह्यो ।