नेपाली साहित्यको सम्पूर्ण पत्रिका

अफ् द रेकर्ड !

म व्यक्तिको पक्ष वा विपक्षमा छैन ।

धर्मको पक्ष र अधर्मको विपक्षमा छु । आफ्नो जीवनकालमै नेपाल फेरि हिन्दू–राष्ट्र भएको हेर्न चाहने इच्छा छ । यसका लागि तत्काल जनमत सङ्ग्रह घोषणा गराउन, राज्यलाई दबाब दिन सकेको सहयोग गरिरहेको छु ।

२०७५ चैत २५ गते विराटनगर जतुवामा श्रीनिवासमाथि भएको, गराइएको गोली–काण्डको घटनाअघि प्रायः सुशुप्त अवस्थामा रहेको अथवा धर्म–निरपेक्षता शीर्षकमा मञ्चित नाटक हेरिरहेको रमिते हिन्दू समाज थोरै भए पनि जुर्मुराएको थियो । पृष्ठभूमिबाट तर्क–वितर्कहरू अग्रभागमा आउन थालेको थिए । तर यसमा सकारात्मकताको मात्रा बढाउँदै लैजानुपर्नेमा वर्ष बित्दा नबित्दै हिन्दु सनातनी समाज पुनः मुसिको भवः भयो । लाग्छ जे आइलागे पनि सहनशीलता नेपाली हिन्दुहरूको सनातन कपिराइट हो ।

त्योभन्दा दुई वर्षअघि जतिबेला उनी इटहरीमा हिन्दू धर्मका पक्षमा जागरण ल्याउन सडक सङ्घर्ष गर्दै थिए, त्यो बेलादेखि म उनको प्रस्तुति र विपक्षीहरूको व्यवहार अवलोकन गर्दै आएको छु । उनी ईश्वरबाहेक अरू कोहीसँग डराउँदैनन् । मनमा लागेको कुरा ठाडै बोल्छन् । अन्य धर्मगुरुहरूले बाटो बिराइरहेका छन् भनेर खुला आलोचना गर्छन् ।

पछिल्ला दिनमा श्रीनिवास जगत्गुरु मोहनशरण र गुरु कमल नयनाचार्यबीच विद्यमान ‘म ठुलो हुँ,’ भन्ने असमझदारीले हिन्दु धर्मका पक्षमा काठमाडौँ केन्द्रित आन्दोलन र अनसनको परिणाम सोचेअनुरूप हुन नसकेको निष्कर्ष सुनाउँदै हिँड्दै थिए । धार्मिक अगुवाहरूले नै ठिक नेतृत्व दिन नसकेकाले संविधानमा ‘हिन्दू धर्म सापेक्ष राष्ट्र’ लेखाउन नसकिएको उनको भनाइ छ । उनकै शब्दमा भन्दा, ‘यदि हामीले हिन्दू राष्ट्र साँच्चै मनले चाहेको हो भने बालसन्त, कमलनयनाचार्य, कृष्णदास, दीनबन्धु पोखरेललगायत अगुवाहरू एक भएर नेतृत्व लिँदै अघि बढ्न दबाब दिनुपर्छ । अन्यथा हिन्दू धर्मसापेक्ष राष्ट्र प्राप्तिको अभियान धेरै पछाडि धकेलिनेछ ।’

श्रीनिवास धर्म–निरपेक्षताको चर्का विरोधी हुन् । संविधानबाट धर्म निरपेक्षता शब्द हटाउन सम्पूर्ण धार्मिक–शक्ति केन्द्रित गर्ने दिशामा उनको ध्यान र अभियान लक्षित थियो ।ं ‘धर्मविरोधी अन्धो सरकारलाई हामी एक आँखाले पनि हेर्न चाहँदैनौँ,’ भन्दै उनी आँखामा कालोपट्टि बाँधी सडकमा पनि उभिए ।

यसरी जो सत्यको पक्षपाती हुन्छ, जो समाजमा धर्म, न्याय र विधिको शासन स्थापित हुनुपर्छ भनेर निरन्तर दबाब दिन्छ, त्यस्तो मान्छेको हविगत के हुन्छ यो समाजमा ?

तपाईंलाई राम्ररी थाहा छ । लुम्बिनी बगैँचामा जापानी भिक्षुलाई गोली हानेर मारिएको घटना तपाईंले बिर्सनुभएको छैन ।

इतिहासमा पृथ्वी गोलो छ भन्नेले विष पिउन बाध्य हुनुपर्‍यो । त्यसैका नयाँ–नयाँ संस्करण बजारमा देखापरिरहन्छन् । त्यसो त सत्यको पक्षमा उभिने एउटा मान्छे पनि एक प्रकारको बहुमत हो भनिन्छ । तपाईं स्वयम् सार्वजनिक रूपमा सत्य बोल्न सक्नुहन्छ वा सक्नुहुन्न, बोल्नुभएको छ वा छैन त्यो तपाईंलाई थाहा छ ।

मेरो बुझाइमा, भ्रष्टाचारले तलदेखि माथिसम्म गाँजेको, आगन्तुक धर्म प्रसारकहरूको प्रलोभनमा भुइँ तहसम्म जकडिएको यो समाजमा सत्य बोल्नेहरूलाई दिग्भ्रमित गर्न वा आफ्नो बाटोबाट हटाउन भ्रष्ट व्यक्ति, समाज र राष्ट्रले जे पनि गर्नसक्छ । यो जे पनि भनेको अन्ततः हत्या नै हो ।

वीरेन्द्रको वंशनास, मदन भण्डारीलगायत हत्याकाण्डको सत्य–तथ्य पर्दाफास हाम्रो जीवनकालमै होला भन्नेमा कम से कम मलाई विश्वास छैन । एक न एक दिन मान्छेले कुरा बुझ्नेछन्, सत्यको अवश्य जित हुनेछ भनेर पर्खिबस्दा, आत्मरतिमा रमाइबस्दा आउने आनन्दको पनि आफ्नै ठाउँ छ । तर कति दिन कन्याइबस्न सकिन्छ जाँघको लुतो ?

त्यसो त समयको कालखण्डमा सयौँ व्यक्तिहरू बेपत्ता परिएका छन्, जसको खोजी भ्रष्ट समाजले गर्दै–गर्दैन । सान्त्वनामा गोहीको आँसु खसाएर चित्त बुझाउँछ वर्षौँसम्म । हुँदै यही आएको छ ।

कीर्तिपुरमा अमर लामालाई लखेटी–लखेटी कसैले र लाजिम्पाटतिर २०५७ साउन २२ गते पारसले चलाएको कारले किचेर गायक तथा सङ्गीतकार प्रवीण गुरुङ मारेको घटनामा आजसम्म के भयो खोइ ? माछा–माछा भ्यागुतो ! नमिता–सुनिता, सीता सदा, निर्मला पन्तहरूका बलात्कारी, हत्यारा कहाँ छन् ? सोध्दा सरकार रिसाउँछ … संसद् चित्त दुखाउँछ ।

हेर्दाहेर्दै फ्याट्ट घटना हुन्छ, छँदाखाँदाको मान्छे मारिन्छ । अध्ययन–अनुसन्धान हुँदै गर्छ । अनुसन्धान अधिकृतहरू आउँछन्, फाइल टक्टक्याउँछन्, फेरिन्छन् । समाचार लेख्ने–लेखाउने सिलसिला चल्दै गर्छ । अड्डा–अदालत, मुद्दा–तारेख, बकपत्र–सनाखत कथाले मागे अनुसार हुन्छन् । कुनै–कुनैमा कथाले मागेन भने माग्न लगाइन्छ । मानवअधिकार, कारवाही, परिपुरण आदि–इत्यादि तर्क–वितर्क चल्छन् । खण्डन–मण्डन हुन्छ । काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ । हरेक बिहान सूर्य उदाउँछ । बाँकी जीवन चलिरहन्छ । सरकार चलिरहन्छ । नियमित आकस्मिकता दोहोरिरहन्छ ।

अरूको के कुरा गर्नु, मेरो दाइ–साथी शम्भु घिमिरेलाई २०५१ माघ १९ गते राति आततायी, तस्करहरूले नहरको डिलमा मारेर बकाइनोको रूखमा झुन्ड्याइदिए । तर, अहँ ! ती सामूहिक हत्याराहरू आजसम्म पत्ता लागेका छैनन् । पत्ता लगाउन मनैदेखि खोजिएको छैन ।

२६ वर्षसम्म पनि शम्भु घिमिरे हत्याकाण्डको रहस्य रहस्यकै गर्भमा राखिएको छ । प्रहरीलाई कारण थाहा छ तर बताउन चाहँदैन । २०६१ कात्तिक १७ गते मङ्गलबार करनाल दैनिकमा शरीरभरि चोटैचोट लागेको, गोलीगाँठोनेर खुट्टा भाँचिएको लास झुन्ड्याइएको घटनास्थलको फोटोसहित सुविद गुरागाई बाइलाइन छापिएको थियो ।

न्यायको आस गरेको तीन दसक हुनलाग्यो । प्रहरीले सुरु–सुरुमा फाइल बनायो, खोजेजस्तो गर्‍यो । त्यो क्रममा जो अनुसन्धान अधिकृत सत्यको नजिक पुग्न खोज्थे, उनको सरुवा भइहाल्थ्यो । मैले घटनालाई सेलाउन नदिन पटक–पटक समाचार लेखेको छु । लेखहरूमा प्रसङ्ग उठाएको छु । तर अझ पनि तैँ चुप मैँ चुप छ समाज । १५ वर्षअघिसम्म त घटनाको फाइल अपडेट हुँदै थियो । तर अचेल सरोकारवालाहरूको ध्यानबाट धेरै टाढा पुगिसकेको छ यो विषय । यसरी जबरजस्ती मुल्तवी बनाइएको छ एउटा सत्य ।

खोज्दै जाँदा यस्ता घटना कति छन् कति !

पचासको दशकमा म नेपाल समाचारपत्रको जल्दोबल्दो रिपोर्टर थिएँ ।

कोसी ब्यारेज निर्माण क्रममा भारतीय पक्षबाट सात हजार बिघा नेपाली भू–भाग मिचिएको र रानीगञ्ज भन्सार बेपत्ता पारिएको तथ्य थाहा पाएर लगातार समाचार लेख्न थालेँ ।

हराएको सात हजार बिघा जमिन भारतको कब्जामा । नयाँ सीमा स्तम्भले नेपालीलाई विदेशी बनाए । रानीगञ्ज भन्सार र शून्य आरडीको खोजी । भारतीय नागरिकद्वारा दसगजामा घर निर्माण । मिचिएका हजारौँ बिघा जमिनबारे जनस्तरमा चासो । सिमाना व्यवस्थित गर्ने दिशामा प्रशासन निस्क्रिय । नेपालबाहिर छ बृहत् नेपाल । ग्रेटर नेपालका पक्षधर खोज्न ‘र’का एजेन्टहरू सक्रिय । भारतलाई सुम्पिएको भूमिबारे नेपाल अनभिज्ञ । भारतले नेपालको चतरा छाड्ने तयारी गरेन ।

यी हुन्, नेपाल समाचारपत्रमा छापिएका एकपछि अर्को बाइलाइन । सबै कटिङ सुरक्षित छन् । फलोअप गर्ने क्रममा एकदिन ‘अन्तिम सीमा–स्तम्भको जीवन खतरामा’ शीर्षक राखेर समाचार पठाएको थिएँ, तर छापिएन ।

‘दाइ, किन छापिएन त्यो समाचार ?’

यो मामलामा कपिल काफ्ले दाइलाई एक इमानदार पत्रकार मान्छु म । नेपाल समाचारपत्र दैनिकका सम्पादक । उहाँले जे हो, त्यो कारण प्रष्ट भन्नुभयो ।

‘समाचार राम्रो छ सुविदजी ! तर मेनेजमेन्टले हाललाई यो मामला स्थगित गरौँ भनेको छ । मेनेजमेन्टलाई फेयर एन्ड लवली, लिरिललगायत पाँचवटा विज्ञापन रोकिदिन्छु भन्ने दबाब आयो भन्ने सुनेको छु ।’

उहाँको सङ्केत प्रकाशक/प्रधान सम्पादक पुस्करलाल श्रेष्ठतर्फ थियो ।

यो एउटा पुस्करलाल श्रेष्ठ वा नेपाल समाचारपत्रको मात्र सन्दर्भ होइन । नेपाली पत्रकारिता र समाजको अधिकांश भाग अझै पनि भारतीयहरूको पैसा, युरोपियन युनियनको सहयोग आदि–इत्यादि भारले किचिएको छ । भ्रष्टाचारी र कथित निरपेक्षतावादीहरूको सञ्जालमा परेको छ । सेल्फ–सेन्सरसिपको लिसोपासोमा अल्झेको छ ।

पत्रकारिता वा आमसञ्चारको कुरा गर्दा हामी कान्तिपुर प्रकाशन–गृहलाई आइडल संस्था मान्ने गर्छौँ । तर कान्तिपुरको लोगो तल सधैँ जनपक्षीय (पब्लिक) सञ्चार हुन्छ भन्ने प्रत्याभूति के छ ? त्यसका संस्थापक, लगानीकर्तालाई के रुचिकर लाग्छ त्यही–त्यही छाप्छन्, त्यही देखाउँछन्, त्यही सुनाउँछन् । हान्न मन लागेकालाई हान्छन्, उचाल्न मन लागेकालाई उचाल्छन् । भुइँ तहमा कुनै इश्यु छुटोस्, सीमान्तमा परोस्, मरोस् केही चासो हुन्न ।

श्रमजीवी पत्रकारहरूले पारिश्रमिक माग्दै सत्याग्रहमा बसेको, सडकमा ओर्लेको, बलुवाटारअघि उभिएर थाल ठटाएको, लालटिन जुलुस गरेको, माइतीघरमा रिले–अनसन बसेको आदि–इत्यादि समाचार हो जस्तै लाग्दैन, कथित मूलधारका मिडियालाई ।

मलाई लाग्छ, म जसरी कुराहरू उठाइरहेको हुन्छु, सचेतना अभियान चलाइरहेको हुन्छु, यसबाट दिक्दार भएर आततायीहरूले मलाई पनि मेरा कामहरूबाट बेदखलीको प्रयास गर्नसक्छन् । मलाई र मेरा शुभेच्छुहरूलाई मनग्गे दुःख दिन सक्छन् । अनेक आरोप लगाएर ‘यो मान्छे पतीत हो,’ भनेर बहुदा मान्छेलाई भ्रमित पार्ने हर्कत गर्नसक्छन् । मलाई मार्न पनि सक्छन् ।

त्यस्तो नहोस् । तर, कथम्कदाचित मलाई मारे भने त्यसको निस्पक्ष छानबिन होला, कुनै मिडियाले त्यसका लागि निरन्तर, निष्कर्ष–उन्मुख फलोअप गर्ला भन्ने मलाई लाग्दैन । हुन त म आफैँ मिडियामा काम गर्ने मान्छे हुँ । मैले सार्वजनिक रूपमा यस्तो कुरा नभन्नुपर्ने हो । तर मैले भने पनि नभने पनि यतिबेला परिस्थितिसापेक्ष मेरो मनमा उम्लिरहेको कुरा यही हो ।

यहाँ आततायीहरूले बुझ्नुपर्ने कुरा के छ भने केहीलाई सधैँ, सबैलाई केही दिन भ्रमित पार्न सकिएला तर सबैलाई सधैँ भ्रमित पार्न सकिन्न ।

यस्तो पृष्ठभूमिमा फेरि श्रीनिवासको कुरा गरौँ ।

इटहरीमा हिन्दू धर्मका नाममा आन्दोलन गर्दैगर्दा जब प्रहरी हस्तक्षेप चरम हुन थाल्यो त्यसबाट आक्रोशित बनेका श्रीनिवासले एकदिन घटनास्थल गोल–चोकमै तत्कालीन प्रहरी प्रमुख विनोद शर्मालाई लक्षित गरेर त्रिशूल उज्याएका थिए ।

विनोद शर्मा ती दिनहरूमा इटहरीलाई राम राज्य बनाउँछु भन्ने ढ्याङ्ग्रो ठोकिरहेका थिए । तर यथार्थमा उनी व्यापारीहरूसँग राति–राति रक्सी खाने र दिउँसो–दिउँसो सुरक्षाका नाममा हिन्दूवादीहरूको आन्दोलनमा हस्तक्षेप गर्दै अलमलिने कामका व्यस्त थिए ।

श्रीनिवासले सार्वजनिक ठाउँमा आफूलाई त्रिशुल उज्याएपछि चिढिँदै उनले भनेका थिए, ‘बडो, हिन्दू–धर्म जागरणको सारा ठेक्का आफूले नै पाएको छु जस्तो गर्छ । मलाई त्रिशूल देखाएर तर्साउन खोज्छ । ताल पर्यो भने समातेर यस्ता–यस्ता मुद्दा लगाउँछु कि जिन्दगीभर जेलमै सडिरहन्छ ।’

देख्ने, सुन्ने हामी साक्षी छौँ । त्यो घटनाको दुई दिनपछि विनोद शर्माको व्यवहारमा नाटकीय परिवर्तन आयो । उनले श्रीनिवासलाई भेटेर, खुट्टा ढोगेरै माफी मागे ।

प्रसङ्ग यतिमै टुङ्गिँदैन । विनोद शर्मा एउटा पात्रमात्र होइन, एउटा प्रवृत्ति हो यो समाजको । संयोग उनै श्रीनिवास केही समयपछि शरीरमा गोली लागेर, आफूले आफूलाई नै गोली हान्न लगाएको आरोपमा प्रहरीद्वारा पक्राउ गरिए ।

पुलिस से ना दोस्ती अच्छी होती है ना दुस्मनी । प्रहरी व्यवहारका सन्दर्भमा मधेसमा यो भनाइ निकै लोकप्रिय छ ।

संयोगले म प्रहरी कार्यालय परिसरमा हुर्किएँ । प्रहरीहरूले चाहेमा के–के गर्न सक्छन्, मलाई धेरै कुरा थाहा छ । प्रहरीलाई कुनै मान्छे (डाँका, आतङ्ककारी भनिएका वा जोसुकै) मार्न मन लागेको छ भने थपक्क समाउँछन्, गाडीमा राखेर दुई–चार चक्कर घुमाउँछन् र एकान्त ठाउँमा लगेर ड्याम्म गोली हानिदिन्छन् । एक–दुई वटा कट्टा वा बेवारिसे चाइनिज पिस्तोल उनीहरूसँग हुन्छन् नै । त्यही मरेको मान्छेको गोजीमा हालिदिन्छन् । फोटो खिच्छन् र पत्रकार सम्मेलन गर्छन् ।

गोजीमा गाँजा, ट्याब्लेट, फेन्सिडल आदि बोकेर ‘हामीलाई गोप्य सूचना आएको छ, त्यसैले हामी छापा मार्छौँ,’ भन्दै कुनै पान पसल वा किराना पसलमा छिर्न, नजानिँदो पाराले र्‍याकको कुनामा ती सामग्री राखेर फोटो खिच्न र फसाउन सक्छन् प्रहरीहरूले । प्रहरीको मात्र के कुरा गर्ने । यहाँ पत्रकारहरू पनि चोखा छैनन् । न्याय सम्पादनकर्मी पनि चोखा छैनन् । यसका दर्जनौँ उदाहरण छन् मसँग ।

बाबुद्वारा बलात्कृत किशोरीको उद्दार भएन । आफ्नै बाबुसँगको सहबासका कारण गर्भ बोकेकी यहाँकी एक किशोरीलाई यतिबेला त्यो अवैध गर्भ निल्नु न ओकल्नु भएको छ । २०६० असोज २५ गते इनरुवा डेटलाइनमा मैले लेखेको समाचारको लिड हो यो । आफ्नै बाबु बलात्कारी हुने समाजमा कसको विश्वास गर्ने ? कसको विश्वास नगर्ने ?

प्रायः पत्रकारले त्यही लेख्छन्, जुन प्रायोजित हुन्छ । कुनै गम्भीर प्रकृतिको घटनाको गहिरिएर अध्ययन–अनुसन्धान गर्ने र सत्य–तथ्य सार्वजनिक गर्न आवश्यक लगानी, समय र साहसको निकै अभाव छ नेपाली पत्रकारितामा । छैन भने भनिदेओस् कसैले !

सँगै एउटा अर्को तीतो यथार्थ पनि छ । अधिकतर पत्रकारहरू कथित निरपेक्षता पक्षधर पार्टीका अन्ध–साक्षी छन् । धर्म जागरणका पक्षमा लेख्न यिनको नौनाडी गल्छ । यस्तो धरातलीय यथार्थबीच श्रीनिवास गोली कान्ड प्रकरणको ग्राइन्ड डिजाइन के थियो ? उनको शरीरमा लागेको गोलीको गुञ्जन कहाँसम्म पुग्यो, त्यसले हिन्दु सनातनी समाजमा, मुलुकमा कति जागरण उत्पन्न गर्‍यो … कसले खोज्ने, कहिले खोज्ने ?

प्रतिक्रिया
Loading...