नेपाली साहित्यको सम्पूर्ण पत्रिका

कथाः खुसी भर्सेस खुसी

 

त्यो दिन ऊ अर्थात् परितोष खुसी थियो । घरमा नयाँ सदस्यको आगमन भएको थियो । आज छोरीको भविष्य सम्झँदै परितोष अनेक सपना बुन्दै बसेको थियो । किन नहोस् त ? सन्तान देख्नेबित्तिकै अनुहारमा आफैँ दीप जो बल्छ ! जतिसुकै थकान र तनाव किन नहोस्, सन्तानको अनुहार हेर्नेबित्तिकै मुस्कान जरुर आउँछ, मन आफैँ प्रफुल्लित हुन्छ ।

तीन दिन हस्पिटल बसेर फर्किएपछि अफिसको बिदा नसकिन्जेल परितोषको दिनचर्या उसको छोरी मात्र भई । ऊ साँच्चै परितोष भएको थियो । बस यही हो अन्तिम सुख, यसको स्वाद उसलाई अनुपम लागेको थियो ।

परितोष सफ्टवेर आउटसोर्सिङ कम्पनीमा काम गर्थ्यो । ऊ प्रोजेक्ट म्यानेजर थियो । कम्पनीले त्यो बेला एउटा ठूलो प्रोजेक्ट हात पारेको थियो र परितोषलाई उक्त प्रोजेक्ट समयमा गर्न सके अमेरिकाको प्यारेन्ट कम्पनीमा ट्रान्सफर गर्ने कुरा थियो ।

‘परितोष, यो हाम्रो लागि एकदमै महत्त्वपूर्ण प्रोजेक्ट हो । र, तिम्रा लागि पनि यो प्रोजेक्ट महत्त्वपूर्ण छ । समयमै सफल गर्न सक्यौ भने तिमीलाई प्यारेन्ट कम्पनीले ट्रान्सफर गर्नेछ । आई बिलिभ, यु क्यान डु इट !’

बोसको कुरा सुनेर परितोष एकदम खुसी थियो तर उसले टाउको मात्र हलायो ।

घर पुग्नेबित्तिकै उसले सबै कुरा सबिनालाई सुनायो । ऊ पनि खुसी नहुने कुरा नै भएन । परितोष सपना देख्न थालिसकेको थियो । ऊ मनको लड्डु घ्युसँग खाँदै थियो । मन सपना बुन्न खप्पिस हुन्छ रे ! एकपछि अर्को कुराको पहाड बनाएर राखेको थियो उसले । सानोमा ज्योतिषले विदेश यात्राको योग छ भनेको कुरा अहिले उसको कानमा गुन्जिरहेको थियो ।

परितोषले आफ्नो प्रोजेक्टको काम सुरु गर्यो । ऊ घर जान पनि छाडिसकेको थियो । ऊ काममा यति व्यस्त भयो कि उसले सबै कुरा बिर्सियो । केवल ट्रान्सफरको कुरा मात्र उसले दिमागमा राखेको थियो । घर आउँदा पनि ऊ काममा नै व्यस्त हुन्थ्यो । उसले न सबिनालाई न नै छोरीलाई ध्यान दिन सकेको थियो ।

‘म केही दिन अफिसमै बस्नुपर्ने छ है सबिना ! घर आउन भ्याउँदिनँ । अब डेडलाइन पनि नजिक आइसक्यो । प्रोजेक्ट अझै क्लियर गर्न सकेको छैन ।’ परितोषको कुरा सबिनाले नकार्न सकिन । उसलाई त परितोषको परिवर्तन भएको व्यवहारको डर लाग्दै थियो । ‘परितोष महत्त्वाकांक्षी हुनु भएको हो ?’ उसले आफैँलाई प्रश्न गर्थी ।

एक हफ्ता दिन रात नभनी परितोषले अफिसमा बसेर प्रोजेक्ट क्लियर गर्यो । प्रोजेक्टमा कुनै समस्या आएन ।

‘वेल डन परितोष, तिमीले गर्न सक्छौँ भन्नेमा म पूर्ण विश्वस्त थिएँ । अब तिमीले अर्को हफ्ताभित्र उता जानुपर्ने हुन्छ । भोलि एक चोटी अफिस चाँडै आएर ट्रान्सफरको कुरा फाइनल गर्नुपर्ने हुन्छ ।’ बोसले यति भनिरहँदा पनि परितोषले कुनै कुरा बुझ्न र सुन्न भ्याएको थिएन । उसको मुटुको धड्कन तेज थियो । मन बेचैन थियो । मस्तिस्कमा सबिना थिई र उसलाई यो कुरा कति चाँडो पुर्याउँ भन्ने हुटहुटी थियो । खुसी यही थियो उसको लागि । ‘यो भन्दा अरु खुसी नै छैन यो संसारमा, बस यही हो अन्तिम सत्य,’ यस्तै कुराले उसको मन विचलित थियो ।

घर पुग्नेबित्तिकै उसले सबिनालाई खोज्यो ।

‘सबिना, सबिना, आई ह्याभ डन इट !!’ ऊ प्रफुल्ल मनले चिच्याउँदै थियो तर त्यहाँ सुन्ने भित्ताहरु मात्र थिए । सबिनालाई उसले घरमा भेटेन । फोन गर्यो, सम्पर्क हुन सकेन । उसको प्रफुल्लित चिच्याहट अझै गुन्जिरहेको थियो कोठाहरुमा तर सविनाले भने त्यो सुन्न पाइन । घरका सबै सदस्यलाई फोन गर्यो, कसैको पनि नम्बर लागेन । अन्तिममा घरको ल्याण्डलाइनमा फोन गर्दा उसकी सानो बहिनीले उठाई ।

‘हेलो !’ परितोषको आवाज सुन्नेबित्तिकै बहिनीले आत्तिएको स्वरमा भनी, ‘दादा कता हुनुहुन्छ ? किन फोन नउठाउनु भएको ? हामीले हजुरलाई कत्ति पटक सम्पर्क गर्ने प्रयास गर्यौं । भाउजू र घरका सबै जना हस्पिटलमा हुनुहुन्छ ।’

मन न हो, यस्तो कुरा सुन्नेबित्तिकै परितोष छाँगाबाट खसेजस्तो भयो । भित्ताहरु अझै उसको प्रफुल्लित चिच्याहटको प्रतिध्वनि निकाल्न व्यस्त थिए । उसलाई यो ध्वनि सुन्नु थिएन । ऊ बहिरो हुन चाहन्थ्यो । उसको महिनौँको मिहेनत, त्यसको प्रतिफल र उसको अन्तिम सत्य केवल मिथ्या हुन पुगे ।

परितोष हतार-हतार हस्पिटलतिर लाग्यो । सडकमा ट्राफिक जाम त्यत्तिकै थियो । उसलाई हरेक मिनेट पनि वर्षौंजस्तो लागिरहेको थियो । हतारमा भएको बेला सानो समयको टुक्रा पनि म्यग्निफाइड भएर आउँछ ।
ऊ दौडेर रिसेप्सनमा गयो ।

‘सबिना नामको बिरामी कति नम्बर कोठामा छिन् ?’ उसको आवाजमा सास मात्र थियो ।

‘सबिना नाम को कुनै पनि बिरामी हाम्रो हस्पिटलमा छैन सर,’ रिसप्सनिस्टले उत्तर दिइन् । परितोषले बहिनीलाई फोन गर्यो र आइसियुतिर दगुर्यो ।

परितोष आइसियुबाहिर पुग्नेबित्तिकै घरका सबै सदस्य त्यहीँ थिए । सबिना पनि त्यहीँ थिई | परितोषलाई देख्नेबित्तिकै सविनाका आँखाभरि आँशु भए । अनुहारमा उसको रिस पनि थियो, पीडा पनि थियो, परितोष आएको प्रशन्नता पनि थियो, भय केही कम भएको थियो ।

‘छोरी ?!’ परितोषले योभन्दा बढी केही बोल्न सकेन । घाँटीमा केही अड्केको जस्तो भयो । आँशु लुकाउन बाथरुमतिर गयो । ऊ आफैँलाई धिक्कार्न थाल्यो । जीवनको सर्वोत्तम खुसी पनि क्षणिक नहुँदो हो त अहंकारको स्थायी घर हुने थियो मानव जीवन । अघिसम्म उसको मनमा रहेको खुसी अहिले ग्लानिमा परिणत भएको थियो ।

परितोषले छोरी जन्मेको दिन सम्झियो । त्यो दिनको खुसी त आजको खुसीभन्दा फरक थियो । त्यो खुसीमा जिम्मेवारीबोध थियो । त्यो खुसीमा आत्मियता थियो । त्यो खुसीमा सबैको खुसी थियो । त्यो खुसीमा सबिना, बा, आमा, बहिनी र अरु सबै खुसी थिए । त्यो खुसी स्थायी थियो । त्यो खुसी परितोषले अनन्तसम्म पाउँथ्यो । सायद सर्वोत्तम र अनुपम त त्यही खुसी थियो ।

आजको खुसीमा महत्त्वाकांक्षा थियो । त्यसैले उन्माद थियो र यो खुसी आज हारेको थियो । हिजो जस्तोसुकै तनावमा पनि छोरीसँग हुँदा मन खुसी हुन्थ्यो भने आजको यो खुसी मनभित्र पस्नसम्म सकेको थिएन ।
परितोष बाको छेउमा गयो ।

‘निमोनिया भएको छ । तीन दिनदेखि भेन्टिलेटरमा राखेको छ । तँलाईं सम्पर्क गर्ने धेरै कोसिस गर्यौं तर भएन,’ बाले परितोषको निन्याउरो अनुहार हेरेर ढाडस दिँदै थपे, ‘आज जेनेरल वार्डमा सार्छ, चिन्ता लिनुपर्दैन ।’

परितोष आत्मग्लानिमा डुबेको थियो । उसले खुसी खोज्न खुसी नै त्याग गरेको थियो । सबिनालाई हेर्दै परितोषले आँखैआँखामा याचना गर्यो । श्रीमती न थिइन् ! अनुराग सविनाको आँखामा थियो ।

प्रतिक्रिया
Loading...