नेपाली साहित्यको सम्पूर्ण पत्रिका

आकाशमा खुलेका खुल्दुलीहरु


पाँच महिनाको झरी र बादलपछि आकाश खुलेकाे थियाे । आकाश खुला र कञ्चन नभए पनि शिवपुरी र चन्द्रागिरीले घुम्टाे फालिसकेकाे थियाे । असाेजकाे महिना भएकाेले भक्तपुरका खेतका धानका बालाहरुमा शीतका थाेपाहरु टलपलाइरहेका थिए । विहानीकाे पहिलाे पहरमै हामीहरु सल्लाघारी चाैरमा तैनाथ थियौं ।

याे  सिजनकै पहिलाे उडान भएकाेले हामी सबैमा विशेष उत्साह थियाे । चाैरमा जम्मा भएकाे  मानव भीडले हामीलाई घेराबन्दीमा पारी जिज्ञासापूर्वक हेरिरहेकाे थियाे । मानाैं, हामी कुनै  जादूगर नै हाैं वा विवाहमण्डमा सिङ्गारिएका दुलाहा दुलही हाैँ ।

करिब पन्ध्र मिनेटकाे उडानकाे पूर्वतयारीपछि दुलही मण्डपमा उभिए झैं गरी  चाैरमा  ठिङ्ग उभियाे  । चार जना विदेशी पर्यटक र नेपालकाे पहिलाे बेलुन पाइलट क्याप्टेन श्री सुनिल नारायण सिंह थापाका साथ म पनि त्यस ऐतिहासिक उडानकाे लागि तयार भएँ ।

उपस्थित दर्शकबाट गड्गडाहट ताली बज्याे, हात हल्लाउँदै हामी पनि आकाश विचरणकाे लागि बिदा भयाैं । मानाैं, हामी अन्तरिक्ष यात्रामा निस्किएका पहिलाे यात्रुहरू नै थियौँ । हाम्रो क्षितिजकाे दायरा बढ्दै गयाे ।

डाेर बहादुर केसी

हावाको स्वभाविक गतिसँगै हामी आकाशतर्फ हेलियाैं । करिब पाँच हजार फिटकाे उचाई कायम गर्दै त्यस स्थानबाट देखिने दृश्य अवलोकन गर्न लाग्यौं ।

आहा ! कति सुन्दर  काठमाडौं । आहा ! कति सुन्दर नेपाल । स्वर्गकाे एक टुक्रा धर्तीकाे एक कुनामा लुकेर बसेकाेजस्तो । सृष्टिकर्ता बह्माको आफ्नाे सृष्टिकाे सबैभन्दा उत्तम थलाे यही हाे कि जस्ताे लाग्याे ।

उत्तरतर्फ लामबद्वरुपमा पहरा दिएर मुस्कुराइरहेका चाँदनी हिमालमा भर्खर सूर्यका किरणहरु पर्दै रहेछन्, स्वर्गका अप्सराहरु सुनाैलाे श्रपेचमा हाम्राे स्वागतमा तम्तयार भएजस्ताे लाग्याे । हिमालय पर्वतमालाकाे सामुन्ने, ठीक काखमा पर्नेगरी उच्च पर्वतीय तथा महाभारत पर्वतश्रेणीकाे हरियाली नागबेली पहाडकाे दृश्य कम मनमाेहक थिएन ।

त्यसपछि मेराे नजर उपत्यकामा केन्द्रित भयाे ।  खेतका गह्राहरुमा धानका बालाहरु पहेँलै झुलेका थिए । अग्ला बारीहरुमा ताेरी फूलेका थिए । उपत्यकालाई चिर्नेगरी नागबेलीरुपमा बगेका खाेलाहरुले यसकाे साैन्दर्य अझ बढाइरहेका थिए । उपत्यकामा पाटे र  बुट्टेदार गलैँचा बिच्छ्याइएजस्तै लाग्थ्याे । हिमाल, पहाड र उपत्यकाको दृश्य एकै नजरमा हेर्दा स्वर्गीय अनुभूति हुन्थ्यो । कता कता मलाई स्वर्गकी एक अप्सरा  शिरमा श्रीपेच, शरीरमा हरियो वस्त्र र अञ्जुलीभरि फूल लिएर हाम्राे स्वागतकाे लागि खडा भएकी हुन कि कतै भन्ने भान हुन्थ्यो ।

हामीलाई अझ उचाईबाट दृश्यावलाेकन गर्ने इच्छा भयाे । वर्नरकाे साहयताले बेलुनभित्र ग्यासकाे लप्का बढाएपछि बेलुनले स्वभाविक रुपमा अझ उचाई लिँदै गयाे । हामी बादलकाे एक तह छिचोल्दै आठ हजार फिटकाे उचाईमा पुग्यौं । बादलकाे तह पार गर्नसाथ पूर्वकाे एक क्षितिजमा भर्खर सूर्यनारायण उदाउदै गरेकाे दृश्यले विदेशी पर्यटकहरु खुसीले कराउन थाले । यस राेमाञ्चकारी क्षणलाई क्यामरामा कैद गर्न थाले । हाम्रो आकाशमाथिकाे याे प्रभातीय बाल सूर्यकाे दर्शन साँच्चीकै राेमाञ्चकारी थियो ।

सूर्यनारायण जतिमाथि बढ्दै थिए उनकाे न्यानाेपनले हामीलाई थप उर्जा दिइरहेकाे थियाे । हाम्रो सामुन्ने, हातले न‌ै कतै छाेइन्छ कि जस्तै देखिने हिमाल, तल तछाड मछाड गर्दै जुर्मुराउदै गरेका बादलका विविध आकारहरु जाेडिदै, टुट्दै, बन्दै, भत्किदै गरेकाे दृश्य थियाे । बादलकाे सतहमा हामी पाैडिरहेका थियौं ।हामीमाथि नीलाे निराकार खुला आकाश थियाे । हाम्राे प्रतिबिम्ब बादलमाथि दाैडिरहेकाे थियाे । यही प्रतिबिम्बकाे  दाैडाइले मात्र हामी पनि आकाशमा दाैडिरहेका छाैँ भन्ने हुन्थ्यो, नभए हावाकाे गतिसँगै बेलुन पनि बहने भएकाेले उडेको अनुभूति नै हुँदैनथ्यो । यस्तो स्वर्गीय वातावरणमा हावासँगै बहेलिँदा मलाई पुष्पक विमानकाे याद भयाे ।

सुनेकाे थिएँ, स्वर्गका देवताहरु पुष्पक विमानबाट यात्रा गर्छन् । पुष्पक विमानकाे  बारेमा मेराे बाल्यकालमा आफ्नै खालकाे कल्पना थियाे जुन आज वास्तविक रुपमा नै आफूले  भाेग गर्न पाएकाे जस्ताे लाग्याे ।

करिब चालीस मिनटकाे याे स्वर्गीय आनन्द लुटेपछि बेलुनमा तातो हावा कम गर्दै हामी विस्तारै जमिनमा अवतरण भयौं । त्यहाँ पनि हाम्राे प्रतीक्षामा थुप्रै दर्शकहरु थिए । केही मिनट अगाडि स्वर्गीय आनन्द लुटिरहेका मेरा आँखा नजिकैकाे फाेहरकाे डङ्गुर, इँटाभट्टाबाट निस्किरहेकाे कालाे धुवाँकाे मुस्लाे, यत्रतत्र तानिएका बिजुली र टेलिफोनका तारहरुमा पर्न गयाे । म सपनाबाट भर्खर ब्यूझिएजस्तै भएँ ।

सुन्दर प्राकृतिक छटा उपहार पाएकाेमा सृष्टिकर्ता बह्मालाई धन्यवाद दिँदै र यसकाे उचित संरक्षण र सदुपयोग गर्न नसकेकोमा आफूलाई धिकार्दै त्यहाँबाट बिदा भएँ ।

प्रतिक्रिया
Loading...