नेपाली साहित्यको सम्पूर्ण पत्रिका

नेपाली साहित्यमा अङ्ग्रेजी शब्दको बढ्दो प्रयोगः बाध्यता कि विकृति ?

हाम्रो लागि अङ्ग्रेजी भाषा समुद्र हो भने उसको सामु नेपाली भाषा तलाउ जस्तै हो । हामीले अहिले नै सजग भएर हाम्रो भाषाको तलाउमा अङ्ग्रेजी समुद्र पस्नबाट रोकेनौँ भने सधैंको लागि पछुतो गरेर बस्ने बाध्यता नआउला भन्न सकिन्न ।

साहित्यका मूल रुपमा दुई उद्देश्य हुन्छन्- पहिलो भाषाको उत्थान र विकास, दोश्रो समाजमा रहेका विकृतिहरूलाई लेखनको माध्यमले सुधार्ने प्रयास । त्यसका अलवा पाठकलाई मनोन्जन र लेखकलाई आत्मसन्तुष्टि पनि साहित्यले प्रदान गर्छ । यहाँ साहित्य भन्नाले कविता, निबन्ध, कथा, जीवनी, नाटकहरूजस्ता विधामा लेखिने कृतिहरूलाई भन्न खोजिएको हो । अन्य विषयगत पुस्तकहरूलाई साहित्यको टोकरीमा हालिएको छैन ।

सबभन्दा पहिले साहित्यले भाषाको विकासमा गर्ने योगदानको बारेमा चर्चा गरौं । विकास भनेको आजभन्दा भोलि झन् राम्रो हुनु हो । भाषाको विकासको कुरा गर्दा त्यो भाषा दिन प्रतिदिन फैलदै जानु, त्यसमा बढीभन्दा बढी पुस्तक लेखिनु र त्यसका वक्ता, श्रोता र पाठक बढ्दै जानु हो । नेपाली साहित्यको कुरा गर्दा यसको इतिहास धेरै पुरानो छैन । साहित्यकारहरूले पाठकले रुचाउने कृति लेख्न, त्यसैको माध्यमबाट आफ्नो भाषाको फैलावट गर्न र समाजको विकासमा सहयोग पुर्‍याउन सके भने त्यो भाषाको साहित्य लोकप्रिय हुन्छ, साथै भाषा पनि तीव्र गतिमा फैलिँदै जान्छ ।

२०० वर्ष जति अघिमात्र साहित्यमा आफ्नो उपस्थिति जनाएको यो भाषाले अहिले आर्जन गरेको साहित्यिक उचाइ राम्रै मान्नु पर्छ । नेपाली भाषा र साहित्यले अहिलेको यो उचाइ हासिल गर्नुमा विभिन्न कालखण्डमा यो भाषाका साहित्यकारहरूले गरेको योगदान नै प्रमुख कारण हो ।

सान्दर्भिक पोस्ट

साहित्यमा योगदान गर्नको लागि सबभन्दा महत्वपूर्ण पक्ष भनेको लेखन नै हो । त्यसैले कस्तो साहित्य लेख्ने भन्ने कुराले त्यो भाषाको विकासमा योगदान दिने हुनाले लेखन निकै नै महत्वपूर्ण छ । साहित्य लेख्दा विषयको छनोट, लेखन शैली र भाषाको शुद्धता सबै कुरा निकै महत्वपूर्ण हुन्छ । पाठकले रुचाउने विषय मात्र छानी छानी लेखेर नाम र दाम मात्र कमाउने ध्यये छ भने त्यो साहित्यको नाममा व्यापार गरेको ठहर्छ । साहित्यको विकासमा पैसा चाहिन्छ नै तर पैसा र लोकप्रियतालाई मात्र ध्यानमा राखेर आफ्नो भाषालाई र समाजलाई नै अहित हुनेगरी सहित्यको व्यापारीकरण गर्नु भाषा र साहित्यमाथिको घात हो ।

डा. राजु अधिकारी

भुमण्डलीकरण र प्रविधिको विकासले गर्दा नेपालीमा लेख्ने लेखकहरू दिन प्रतिदिन बढ्दै छन् र विश्वभरि नै फैलन पुगेका छन् । त्यो हामी नेपालीभाषीको लागि नितान्त गौरवको कुरा हो । यसले नेपाली भाषा र साहित्यको विकासमा निकै नै योगदान पुर्‍याएको छ र पुर्‍याउने पनि छ । यसले गर्दा संसारभरि नै नेपाली पुस्तकहरू पनि विभिन्न माध्यमहरूबाट पाठकहरू समक्ष सजिलै पुग्न सकेका छन् । तर यही सहजता र व्यापकतालाई उपयोग गरेर केही नेपाली लेखकहरू साहित्यभन्दा पनि पैसा र लोकप्रियताको लागि लेख्न लागेका छन् । भाषाको शुद्धतालाई ख्याल नगरी जथाभावी लेख्दा राम्रो उद्देश्यले लेखेको भए पनि त्यसले कालान्तरमा नराम्रो नतिजा निकाल्न सक्छ ।

यहाँ कुरा गर्न खोजिएको कुरा हो- नेपाली साहित्य लेखनमा अङ्ग्रेजी शब्दहरूको बढ्दो प्रयोग ।

“पोलिटिकल्ली इनकरेक्ट, प्रोटागोनिस्ट, रेगुलर रिडर, फिक्सनल टेक्स्ट, म्युजिकल मूड, फुल भोल्युम”

माथि उल्लेखित अङ्ग्रेजी शब्दहरू चर्चित लेखक कुमार नगरकोटीको हिमाल खबर पत्रिकामा प्राकाशित ‘शुट आउट @झम्सिखेल’ भन्ने कथाबाट साभार गरिएका हुन् । तर नगरकोटी मात्र हैनन् आजभोलि अन्य नाम चलेका र नवलेखकहरूले पनि आफ्ना रचानहरूमा अत्यधिक मात्रामा अङ्ग्रेजी शब्दहरू प्रयोग गर्ने गरेका छन् । विशेषगरी विदेशमा बस्ने नेपाली लेखकहरू जस्तै राजव पुडासैनी र निरु त्रिपाठीहरूले पनि अधिक मात्रामा अङ्ग्रेजी शब्द प्रयोग गर्ने गरेका छन् ।

तर यसरी नेपाली रचनाकारहरूले आफ्ना रचनाहरूमा अङ्ग्रेजी शब्द प्रयोग गर्नु कति ठीक हो ? चर्चा गर्न आवश्यक भैसकेको छ ।

नेपाली भाषा तुलनात्मक रुपमा नयाँ भाषा पनि भएकोले यसको शब्दकोष त्यति धेरै धनी छैन । अझ प्रविधिको विकाससँगै नयाँ नयाँ शब्दहरू निस्कदै जाने क्रममा अङ्ग्रेजीका ती नयाँ शब्दहरूलाई नेपालीकरण गर्ने समय नहुँदै ती शब्दहरू नेपाली जनजिब्रोमा बसिसकेका हुन्छन् र तिनलाई नेपालीमा उल्था गरे पनि ती शब्दहरू चलनचल्तीमा आउन पाउँदैनन् । जस्तो कि, रेडियो, टेलिभिजन, फोन शब्दहरूलाई नेपालीकरण गर्नुभन्दा तिनलाई अङ्ग्रेजीमै रहनदिनु र हामीले पनि तिनै अङ्ग्रेजी शब्दहरू प्रयोग गर्नु सजिलो र सान्दर्भिक पनि हुन जान्छ । अधिकांश यस्ता शब्दहरूलाई साहित्यमा प्रयोग गर्दा हामीले बाध्यतापूर्वक अङ्ग्रेजी शब्द नै प्रयोग गर्नुपर्ने हुन्छ, त्यसको लागि अर्को उपाय पनि छैन । केही समयपछि ती शब्दहरू पनि नेपाली शब्दकोशमा राखिन्छन् र नेपाली शब्द नै हुन्छन् । त्यो चक्र भाषा विकासको एउटा प्रकृया पनि हो जसलाई हामीले चाहे पनि नचाहे पनि स्वीकार्नै पर्छ।

नेपाली साहित्यमा अङ्ग्रेजी शब्द प्रयोग हुने अर्को परिस्थिति भनेको आधुनिकताको नाममा अङ्ग्रेजीप्रतिको मोह र अङ्ग्रेजी शब्दहरू प्रयोग गरेर आफूलाई अरुभन्दा विद्वान् देखाउन चाहने लहड हो, जुन निकै चिन्ताजनक छ । संसारमा अहिले अङ्ग्रेजी भाषाको वर्चश्व छ र धेरै देशहरूमा अङ्ग्रेजी बोल्नुलाई विद्वताको परिचायक मानिन्छ । नेपाल पनि तिनैमध्ये एक देश हो । त्यसैले नेपाली लेखकहरूले आफ्नो बौद्धिकता प्रदर्शन गर्न अन्धाधुन्ध अङ्ग्रेजी शब्दहरू प्रयोग गरेको देखिन्छ ।

नगरकोटीको कथामा प्रयोग भएका केही अङ्ग्रेजी शब्दलाई उदाहरणको रुपमा लिँदा पोलिटिकल्ली इनकरेक्ट (राजनीतिकरूपमा गलत), प्रोटागोनिस्ट (नयाक), रेगुलर रिडर (नियमित पाठक), फिक्सनल टेक्स्ट (काल्पनिक विषय), म्युजिकल मूड (सांगितिक मनस्थिति), फुल भोल्युम (पुरा आवाज) सबै शब्दहरू नेपाली लेख्दा पाठकले पनि बुझ्ने र अनौठो सुनिने स्थिति थिएन । तर लेखकले आफूलाई अरु लेखकभन्दा भिन्न र विद्वान् देखाउन ती शब्दहरूलाई अङ्ग्रेजीमै लेख्ने आवश्यकता ठाने । अर्को एउटा उदाहरण- धेरै रचनामा सम्बन्ध विच्छेदलाई डिभोर्स लेखेको पाइन्छ । डिभोर्स लेख्नुको उदेश्य के हो ? यो नेपाली जनजिब्रोमा निकै चलेको शब्द पनि हैन र सम्बन्ध विच्छेद लेख्दा नेपाली पाठकले नबुझ्ने पनि हैन । त्यसैले लेखकले आफ्नो विद्वता प्रटक गर्न यो शब्द प्रयोग गरेको बाहेक अरु कारण देखिदैन ।

यस्ता उहाहरणहरू सयौं होलान्, तर यसरी जानी जानी नेपाली भाषाका शब्दहरूलाई तिरस्कार गर्नु भनेको अङ्ग्रेजीलाई बढावा दिनुबाहेक अरु केही हैन । कुनै विशेष परिस्थितिमा अङ्ग्रेजी शब्द प्रयोग गर्नु मनासिब हुन जान्छ । जस्तो कि, आफ्नो रचनामा कुनै पात्रलाई अङ्ग्रेजीमै बोल्न लगाउनु पर्‍यो भने त्योबेला अङग्रेजी शब्द प्रयोग गर्नै पर्छ । लक्ष्मी प्रसाद देवकोटादेखि शंकर लामिछानेजस्ता साहित्यकारहरूले पनि त्यसको प्रयोग गरेका छन्, त्यसमा कुनै आपत्ति देखिदैन । तर नेपाली लेखनमा कुनै आवश्यकताविना नै अङ्ग्रेजी शब्द प्रयोग गर्नु सरासर नेपाली भाषामाथि अत्याचार गर्नु र नेपाली भाषालाई झन् गरिब बनाउन खोज्नु नै हो ।

त्यसो त नेपाली भाषा त्यति गरिब पनि छैन । संस्कृतमा नेपाली भाषाको ‘पैतृक संपत्ति’ जस्तै हक छ । हामीले संस्कृतबाट कुनै रुकावट र सन्देहविना चाहे जति शब्दहरू लिन सक्छौं, पैंचो हैन, सधैंको लागि । अनि नेपालका स्थानीय भाषाबाट पनि शब्दहरू लिँदा अङ्ग्रेजीभन्दा उत्तम हुन्छ।

त्यसो भनेर यहाँ अङ्ग्रेजी भाषालाई घृणा गर्न खोजिइको हैन, यदि कसैले अङग्रेजीमा लेख्न चाहन्छ भने ऊ अङ्ग्रेजीमा लेख्न स्वतन्त्र छ । अङ्ग्रेजीमा लेख्ने नेपाली लेखकहरूको कमी छैन तर जानी जानी नेपाली भाषामा अनावश्यकरुपमा अङ्ग्रेजी शब्द प्रयोग गर्नु अनुचित हो।

भाषा भनेको निरन्तर परिवर्तन भैरहने कुरा हो । २०० वर्ष पहिलेको नेपाली भाषा र अहिलेको भाषामा धेरै फरक छ तर त्यसको मतलब त्यसलाई जानी जानी विकृत गर्ने भन्ने होइन । सकभर त्यसको शुद्धतालाई कायम राख्न कोसिस गर्नु पर्छ । जुनसुकै कुरामा शुद्धता भनेको महत्वपूर्ण कुरा हो । केही अववादहरूबाहेक मिसावटलाई नराम्रै रुपमा हेरिन्छ । भाषामा पनि त्यही कुरा लागू हुन्छ ।

सबैलाई याद रहोस्- समुद्रमा तलाउ पस्यो भने पनि समुद्रको पानी नुनिलो नै भैरहन्छ, केही असर गर्दैन । तर यदि तलाउमा समुद्र पस्यो भने तलाउको अस्तित्व समाप्त हुन्छ, उसको आफ्नो गुण हराउँछ । हाम्रो लागि अङ्ग्रेजी भाषा समुद्र हो भने उसको सामु नेपाली भाषा तलाउ जस्तै हो । हामीले अहिले नै सजग भएर हाम्रो भाषाको तलाउमा अङ्ग्रेजी समुद्र पस्नबाट रोकेनौँ भने सधैंको लागि पछुतो गरेर बस्ने बाध्यता नआउला भन्न सकिन्न ।

प्रतिक्रिया
Loading...