नेपाली साहित्यको सम्पूर्ण पत्रिका

पार्टी फुटिरहन्छ ….

हामी हाम्रो सन्दर्भमा आफ्नो मात्र स्वार्थ हेर्छौं भने हामीले भोट दिएर जिताएको, हामीले नेता बनाएको मान्छे हाम्रो जस्तै गुण लिएर न जान्छ । त्यसो हो भने राजनैतिक व्यक्तिहरुबाट सबै राम्रो कुराको मात्र अपेक्षा कसरी गर्ने ?

नेपालमा राजनैतिक पार्टीहरु बन्छन् फेरि विभाजित हुन्छन् । किन बन्छन् ? किन विभाजित हुन्छन् ? किन फेरि एकीकरण हुन्छन् ? किन फेरि विभाजित हुन्छन् ? सर्वसाधारणलाई भित्री कुरा थाहा हुन कठिन छ । मिडियाले प्रचार गरेजस्तो सहज छैन । तर जेसुकै कारणले भए पनि राजनैतिक पार्टीहरु बन्छन्, टुक्रिन्छन्, फेरि टुक्रिएका पार्टीहरु मिलेर एकत्रित् हुन्छन् । जब जब पार्टीहरु एकताबद्ध भएका छन् तब तब सोचेको भन्दा बढी भोट ल्याएका छन् । जब टुक्रिछन्, तब सोचेको भन्दा कम भोट ल्याएका छन् । यो कुरा पार्टीका शीर्ष नेताहरुलाई थाहा छ । थाहा मात्र होइन, पटकपटक चुनाव हारेको पनि अनुभव छ, जितेको पनि अनुभव छ । न जनताले भोट दिए भनेर अर्को चुनावमा फेरि जिताउँछन भन्ने ग्यारेण्टी छ, न चुनावमा हराए भनेर निराश हुनुपर्ने कारण छ । त्यही क्षेत्रका त्यही जनताले बेलाबेलामा आफ्नो मतबाट नेता र पार्टीहरुलाई मौन सन्देश दिइरहन्छन् । तर पनि पार्टी फुटिरहन्छ, अनि फेरि एकताबद्ध पनि भइरहन्छ ।

मानिस सामाजिक प्राणी हो, गाई घरेलु जनावर हो । यस्तै पढेर आएको न हो हामीले । मानिस सामाजिक प्राणी भएको हुनाले उसलाई समाज चाहिन्छ । कस्तो समाज भन्ने कुरा उसको चाहना र उसलाई उपलब्ध समाजमा भर पर्छ । गाई घरेलु जनावर हो, त्यसैले गाईलाई घर\गोठ चाहिन्छ ।

स्नेह सायमिस्नेह सायमि

मानिसलाई समाज यस कारण पनि चाहिन्छ कि उसलाई झगडा गरिरहन पर्छ । झगडा गर्न कोही न कोही उसलाई चाहिन्छ नै । भन्न त मानिसलाई मिलेर बस्ने प्राणी भनिन्छ, तर त्यो होइन । मानिस झगडा गरिरहने प्राणी पनि हो । मिल्नका लागि एक व्यक्ति वा समूह र झगडा गर्नका लागि अर्को व्यक्ति वा समूह चाहिन्छ । यो सायद मानिसहरुको जन्मजात स्वभाव हो । एक जना मान्छेले कुनै अर्कोलाई भेटेपछि उनीहरु दुई जनाबीच दोस्ती हुन तेस्रो व्यक्तिको आलोचना गर्छन् । त्यो तेस्रो व्यक्ति दुवै जनाको मित्र नभए पनि परिचित त हुनै पर्यो, ताकि उसको अनुपस्थितिमा खुलेर आलोचना गर्न सकियोस् । ती आलोचित तेस्रो व्यक्ति भेट भयो भने फेरि अर्को चौंथो पात्र चाहिन्छ, आलोचनाको निम्ति ।

मानिस–मानिस मिल्नलाई त त्याग चाहिन्छ, समर्पण चाहिन्छ । निःशर्त त्याग भनेको प्राकृतिक रुपमा आमा बाले छोराछोरीको लागि गर्ने त्याग मात्र हो । नयाँ फूल फुलाउन पुरानो फूलले आफूलाई जसरी सुकाउँछन्, अधिकांश बाआमाले आफ्ना छोराछोरीको लागि आफ्ना सबै इच्छाहरुको बलिदान गर्छन् । त्यो बलिदान मानिसले अर्को व्यक्तिलाई गर्दैनन् । अरु त अरु, आफूलाई जन्मदिने, हुर्काउने आमाबालाई आफ्नै छोराछोरीहरुले थोरै समय छुट्याउन सक्दैनन् । अनि हुन्छ झगडा ।

मानिसको जीवनमा झगडा अत्यावश्यक कुरा हो । अरुको अहित चिताएर, अरुको कुरा काटेर, अरुलाई इष्र्या गरेर, कतिपय बेला अरुलाई मारेरसमेत आफू खुसी हुने प्रयत्न गर्छ । मानिस त्यसैले सारो असल प्राणी होइन । मानिसलाई विज्ञानमा सफल बनाएको त उसको स्वार्थले हो । त्यसैकारण हुन्छ व्यक्ति व्यक्तिमा, समूह समूहमा, देश देशमा झगडा ।

अनि यति कुरा बुझिसकेपछि पार्टीहरु जुटे या छुटे भनेर किन चिन्ता गर्नु ? चिन्ता गर्नुपर्ने निर्णायक मानिसहरुले चिन्ता गरे त ठीकै हो, केही गर्न नसक्नेले चिन्ता गरेर के गर्नु ? चिन्ता गर्नुपर्ने विषयलाई पन्छाएर चिन्ता गर्न नपर्ने विषयमा चिन्ता गरेपछि त्यसको फल पनि चिन्ताजनक नै हुने भयो ।

कम्युनिष्ट विचारधारा त्यागको विचारधारा हुनुपर्ने हाे । समानताको सोच, अनुशासन र सम्मानको संगठन हुनुपर्ने हाे । पद्धती र पार्टीमा समर्पित हुनुपर्ने । व्यवहारमा त्यसो नभएपछि कम्युनिष्टहरु टुक्रिन्छन् । जसरी अरु पार्टीहरु पनि टुक्रिन्छन् । त्यसरी नै सजिलै जोडिन्छन्, जसरी अरु पार्टीहरु जोडिन्छन् । अर्थात् टुक्रिनु र जोडिनुको कारकतत्त्व समाज हुनुको सट्टा स्वार्थ र लेनदेन भएपछि आजको साथी भोलि शत्रु । आजको शत्रु भोलि साथी भइहाल्छ ।

कम्युनिष्ट पार्टीहरु टुक्रिसकेपछि बाहिर छताछुल्ल हुने गाली पनि अनौठो छ । नेपाली कम्युनिष्ट पार्टीको इतिहासमा त आजसँगै बसेको साथी अर्को पार्टीमा गएपछि गद्दार, विदेशी दलाल भन्दिनु साधारण जस्तो भएको छ । अवश्य पनि, कुनै पनि व्यक्तिको सबल र कमजोरीको कुरा सबैभन्दा नजिकको मित्रले नै थाहा पाउने हो । आफू नजिक हुँदा गुणैगुणका कुरा गर्यो । अरुतिर जाँदा दोषैदोषमात्र देख्यो । यो सम्भवतः मानवीय समाजको कटुसत्य हो । हामी हाम्रो सन्दर्भमा आफ्नो मात्र स्वार्थ हेर्छौं भने हामीले भोट दिएर जिताएको, हामीले नेता बनाएको मान्छे हाम्रो जस्तै गुण लिएर न जान्छ । त्यसो हो भने राजनैतिक व्यक्तिहरुबाट सबै राम्रो कुराको मात्र अपेक्षा कसरी गर्ने ?

प्रतिक्रिया
Loading...