नेपाली साहित्यको सम्पूर्ण पत्रिका

बेलायतमा उत्सवमय एक दिन

भोलि त बिहानै जानु छ— विश्व साहित्यकै एक प्रसिद्ध तीर्थस्थलः शेक्सपियर जन्मभूमितिर… 

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले आफ्नो स्थापनाको दशौँ वार्षिक उत्सव भव्य समारोहको आयोजना गरी मनाउँदैछ । कार्यक्रममा सहभागिताका लागि निम्त्याइएको छु म पनि । नेपाली डायास्पोराकै एक प्रसिद्ध एवम् प्रतिष्ठित नेपाली डायास्पोरिक वाङ्मयिक संस्थाको दशौँ वर्षगाँठ समारोहमा एक सौभाग्यले उपस्थित हुँदैछु म । एउटा गरिमामय क्षणको साक्षी हुँदैछु म । गर्वले ढक्क छाती फुल्छ । संस्थाप्रति गौरवबोध हुन्छ । मातृभूमिबाट कहाँ हो कहाँ यति टाढाको विरानो मुलुकमा आएर पनि नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिप्रतिको अगाध प्रेम र सम्मोहलाई यसरी संस्थागत रूपमै जीवन्त राखिराख्न सक्नु कम्ता गाह्रो कुरा होइन । तर साथीहरूले त्यो गाह्रो कुरालाई कति सजिलै सहज बनाइरहनुभएको छ । म मनमनै गम्छु ।

“अब विस्तारै बाटो लागौँ है दाइ, बाटोमा ट्राफिक हुन्छ फेरि, ट्राफिक भयो भने ढिला हुनसक्छ । रोयल हाईवेकम यहाँबाट टाढै पो छ ।”

मिजासजी सामानतामन बोक्दै तयार हुनुभयो । देवेन्द्र खेरेसले पनि झोला उठाउनुभयो । हामी मेडिस्टोनस्थित कवि खेरेसको शान्त निवासबाट खाजा खाईवरी बिहानै निस्किन्छौँ— कार्यक्रमस्थल हाईवेकमतिर ।

“कति टाढा पर्छ यहाँबाट हाईवेकम ?” म सोध्छु ।

“दुई अढाई घन्टामा पुगिएला ।” खेरेस जवाफ दिनुुहुन्छ ।

“चिन्ता गर्नु पर्दैन दाइ, विस्तारै आरामसँग जाने हो । बेलैमा पुगिन्छ ।” मिजासजीको मिजासिलो बोलीले मन शान्त हुन्छ ।

चिल्ला, फराकिला र सफा सडक । चिटिक्क परेका, दन्तलहर झैँ मिलेका एकैनासका झिँगटीका छाना भएका दुई तले सुन्दर घरहरू । सडकका दुवै किनारा रङ्गीविरङ्गी रूखविरुवाले भरिपूर्ण । सबैतिर हरियाली । आहा ! कति व्यवस्थित सहर । कति सुन्दर सहर । उता आफ्नो देश, त्यसमा पनि काठमाडौँ उपत्यकाका सहर सम्झेर मन त्यसै त्यसै विरक्तिन्छ । एकखालको हिनताबोध हुन्छ मनमा । तैपनि आफ्नो देश भनेको आफ्नै देश हुने रहेछ, जस्तोसुकै भए पनि, प्रिय । देश छोडर बेलायत आएको भर्खर तीन दिनमात्रै हुँदैछ तर ‘होमसिक’ हुन थालिसक्यो । भावुकिन खोजिसकेको मनलाई नियन्त्रणमा लिएर म सडक वारिपारिका मनमोहक दृश्यहरूमा आँखा डुलाउँन थाल्छु । यतिञ्जेल हामी हाईवेमा निस्किसकेका छौँ ।

शशी लुमुम्बू

“हामी सर्भिस सेन्टरमा रोकिन्छौँ है खेरेस दाइ । यसो कफी पिएर जानु पर्छ ।” मिजासजी बोल्नुहुन्छ ।

“हुन्छ नि, थकाइ पनि लागेको छ र यसो फ्रेस पनि हुनु छ ।” ड्राइभ गरिरहनुभएका खेरेसको सहमति ।

केही समयपछि गाडी हाईवे छाडेर बायाँ साइड लाग्छ । सर्भिस सेन्टर । अहो ! कति भव्य सर्भिस सेन्टर । एकैपटकमा सयौँ गाडी पार्किङ गर्न मिल्ने । चिया, कफी, खाजा आदि खाना र आराम गर्नका लागि हाईवेमा यस्ता सर्भिस सेन्टरहरू निश्चित दूरीमा खुलेका हुँदा रहेछन् । हाईवेका उपभोक्ताहरूका लागि कस्तो राम्रो सुविधा । फ्रेस भईवरी हामी अम्रिकानो कफी र म्याक डोनाल्ड खान्छौँ । र, एकछिन थकाइ मारेर फेरि हाईवेका हात समात्छौँ । बितेका दश वर्षमा संस्थाबाट भए गरेका कार्यको समीक्षा गर्दै, भावी दिनमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने बारे अनेकन् योजनाहरू बुन्दै, बेलायत र नेपालका साहित्यिक गतिविधि र विविध सन्दर्भहरूको चर्चा गर्दै थाहा नै नपाई पुगिसकेछौँ हामी— हाईवेकम ।

“हाईवेकममा स्वागत छ ।” चोक गुरुङको न्यानो स्वागत अभिवादनलाई स्वीकार्दै हामी उहाँको सरकारी निवासमा एकैछिन थकाइ मार्छौं । हाम्रो आजको बास यहीँ हुनेछ । झोलीतुम्बी बिसाइराखेर हामी कार्यक्रमस्थलतिर लाग्छौँ । कार्यक्रमस्थल रोयल एअर फोर्स परिसरभित्रको कम्युनिटी हल । चोक गुरुङ सोही फोर्समा कार्यरत भएका कारण यहाँको हलमा कार्यक्रमको चाँजोपाँजो मिलाइएको रहेछ । कार्यक्रमस्थल लन्डननजिकै र सबैतिरको पायक पर्ने भएका कारण पनि यो स्थान छानिएको रे ।

कार्यक्रमस्थलमा विस्तारै संस्थाका पदाधिकारीहरूको आगमन सुरु भएको छ । लन्डननजिकै साउथ हाम्टनबाट संस्थाका उपाध्यक्ष गणेश राई र उहाँकी जीवनसङ्गिनी अम्बिका राई आइपुग्नुभयो । पिटरबोरोबाट अध्यक्ष दयाकृष्ण राई, उता टिडवर्थबाट सदस्य अञ्जु अञ्जली, निकै टाढा करिब चार घन्टाभन्दा बढी समय सडक यात्रा तय गरेर वेल्सबाट संस्थापक अध्यक्ष रक्ष राई र जीवनसङ्गिनी सरिता चाम्लिङ नाना आइपुग्नुभयो । बर्मिङहममा बस्नुहुने संस्थाका अर्का उपाध्यक्ष टङ्क वनेमचाहिँ कार्य व्यस्तताका कारण नआउने रे । वरिष्ठ उपाध्यक्ष दीपा लिम्बू राई जर्मनीमा र सहसचिव नरेश नाति बु्रनाईमा हुनुभएको कारण कार्यक्रममा आउन असमर्थ भएको कुरा महासचिव मिजास तेम्बेबाट अवगत भइसकेको छ ।

यता साथी (मिजास, खेरेस र चोक)हरू कार्यक्रमस्थलमा तुल ब्यानर टाङ्न र साउन्ड सिष्टम मिलाउनमा व्यस्त । मचाहिँ संस्थाका पूर्वपरिचित पदाधिकारी र पूर्वपरिचित आगन्तुकहरूसँग भेट अभिवादन साटासाटका साथै नयाँ साथीहरूसँग परिचय आदान प्रदानमै व्यस्त छु । केही समयपछि कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली महामहिम राजदूत डा. दुर्गाबहादुर सुवेदी अर्थात् सुप्रसिद्ध कवि डा. दुबसु क्षेत्रीको आगमन भयो । नेपाल र नेपालीका शुचचिन्तक बेलायतका प्रसिद्ध व्यक्तित्व युनिभर्सिटी अफ लन्डनका प्राध्यापक डा. माइकल हटको उपस्थिति समारोहमा थप आकर्षण भएको लाग्दैछ ।

अरे ! वासुदेव दाइ ? अचानक कवि वासुदेव अधिकारीलाई बेलायतमा भेटेर म बढो हर्षित भएँ । दाइ कार्यालीय कामको सिलसिलामा बेलायत आउनुभएको रहेछ । अक्सफोर्ड बस्नुहुने स्रष्टा जानु काम्बाङ लिम्बू, सुमलकुमार गुरुङ, डा. रूपक श्रेष्ठ, कथाकार भावान परिष्कृत सुनुवार लगायत आमन्त्रित पाहुनाहरू प्रायः उपस्थित भइसक्नुभएको छ ।

०००

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायत । दशौँ वार्षिक उत्सव–२०१७ । २६ अगष्ट २०१७। आरएफ कम्युनिटी हल ।

HP14 4UE, Buckinghamshire, London

कार्यक्रमका प्रमुख अतिथि महामहिम राजदूत डा. सुवेदीले जोर पानसमा दीप प्रज्वलन गरेपछि बहुप्रतिक्षित उत्सवको औपचारिक समुद्घाटन हुन्छ । हलमा सहभागीजनबाट तालीको गडगडाहट ध्वनिका साथ हर्षोल्लास प्रकट भयो । कार्यक्रम सञ्चालन महासचिव मिजास तेम्बे, कोषाध्यक्ष देवेन्द्र खेरेस र सदस्य अञ्जु अञ्जलीबाट हुँदैछ । सञ्चालकत्रयको उद्घोषण शैली निकै रोचक छ । दुई चरणमा सञ्चालित कार्यक्रम । संस्था दश वर्ष पुगेको अवसरमा प्रकाशित स्मारिक ‘एक दशक’को विमोचन, चर्चा परिर्चा, शुभकामना मन्तव्य आदि । राजदूूतको सारगर्भित मन्तव्य, प्रा.डा. हटको नेपाली भाषामै नेपाल र नेपालीप्रतिको सद्भाव र स्नेह, अध्यक्ष दयाकृष्णको गहनतम् अभिव्यक्ति— वास्तवमै मनन्योग्य छ ।

कार्यक्रमको अर्को सत्र ‘अभिव्यक्ति शृङ्खला–१०’ । कवि तथा मुक्तकार डा. रूपक श्रेष्ठले आफ्ना दर्जनबढी रचनाहरू सुनाएर मन्त्रमुग्ध बनाउनुभयो । कविताभन्दा मुक्तकले बढी समारोहको माहौल तताएको भान हुन्छ । समारोहमा वासुदेव अधिकारी, सुमलकुमार गुरुङ, जानु काम्बाङ लिम्बू र भावना परिष्कृत सुनुवारका कविताले अझ झुम्म पार्छ । चोक गुरुङका पुत्र पियुसका सुन्दर चित्रकला र रोचक नृत्यले दर्शक–श्रोताको ध्यान तानिरहेको छ ।

सन् २००८ मा स्थापित नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले स्थापनाको दशौँ वर्ष पूरा गर्ने वास्तवमै गौरवमय ऐतिहासिक घटना हो । संस्था स्थापना हुनु ठूलो कुरा होइन, संस्थाले निरन्तरता पाइरहनु र अटुट रुपमा प्रभावकारी ढङ्गले आफ्ना गतिविधिहरूलाई अगाडि बढाइरहनु निश्चय नै ठूलो कुरा हो । त्यो पनि बेलायतजस्तो सासै फेर्न फुर्सद नपाइने ठाउँमा । यो सानोतिनो आँट, सपना र त्यागबाट सम्भव हुने कुरै होइन । नेपाली प्रतिभा प्रतिष्ठानलाई जन्माएर, स्याहार गरेर, हुर्काएर यहाँसम्म ल्याई पुर्याउने संस्थाका परिकल्पनाकार मन–मष्तिष्कहरूलाई सलाम गर्न मन लाग्छ ।

यता परदेशमा (डायास्पोरामा) यत्रो दुःखले आफ्नो देश भनेर, आफ्नो भाषा, साहित्य, कला तथा संस्कृति र परम्परा भनेर हुरुक्कै हुने र दिनरात यसैमा चिन्तन गरिरहने स्रष्टा–सर्जकहरू छन् । आफ्नो दैनिकीमा केही कटौती गरेर खर्चको जोहो गरी अक्षयकोष खडा गर्दछन् र उता नेपालमा बसेर वाङ्मयको सेवा गर्ने वाङ्मयसेवीहरूलाई छानी छानी पुरस्कार सम्मान अर्पण गर्दछन् । उता देशमा बस्नेहरू भने विदेशमा बसेर, डलर–पाउन्डको खेती गरेको ठान्छन् । वाङ्मयप्रतिको यस्तो लगानीलाई सोख भनिदिन्छन् तर पुरस्कार र सम्मान प्राप्तिका लागि भने कहाँ के गर्नुपर्छ कुनै कसर बाँकी राख्दैनन् । तिनीहरूलाई के थाहा कि यता दिनरात पसिना बगाउँदै गरिएका सृजनाहरू उता चिया पसलहरूमा ठूला ठूला गफ गफिँदै लेखिएका आत्मरतिका रागभन्दा कयौँ गुणा अब्बल छन् भनेर । किनकि तिनीहरू डायास्पोराका सृजना भन्नासाथ ओठ लेप्राउँछन् । कत्ति पनि गम्भीर हुँदैनन् । पढ्दैनन् । सत्य त अब यो हो कि— डायास्पोराविनाको नेपाली साहित्य, कला तथा संस्कृति अब पूर्ण हुन सक्दैन ।

०००

‘बेलायतमा बसोबास गरिरहेको नेपाली समुदायको नयाँ पुस्ताले विस्तारै नेपाली भाषा, संस्कार तथा संस्कृति भुलिरहेको अवस्थामा बेलायतमा नेपाली भाषाको पठनपाठनका लागि पहल गर्ने, बेलायत नेपाली डायास्पोरा सम्बन्धी अध्ययन, अनुसन्धान गर्ने, बेलायतमा नेपाली भाषा, साहित्य, संस्कार तथा संस्कृति सम्बन्धी पत्रपत्रिका, कृति प्रकाशन र अनलाइन सञ्चालन गर्ने, श्रव्यदृश्य सामाग्रीको उत्पादन गर्ने, सम्बन्धित विषयको वृत्तचित्र निर्माण गर्ने, नेपाली जनघनत्व रहेका ठाउँहरूमा गोष्ठी, सेमिनार तथा जनचेतनामूलक अन्तक्र्रियात्मक कार्यक्रमहरूको आयोजना गर्ने ।

यसैगरी भाषा रहेमात्र आफ्नो पहिचान रहने भएकोले प्रतिष्ठानले भाषा संरक्षणको अभियान दीर्घकालीन रुपमा सञ्चालन गर्ने, नेपाली भाषा, साहित्य, सङ्गीत र कला क्षेत्रमा उल्लेख्य योगदान पुर्याउँदै आइरहेका स्रष्टाहरूलाई प्रतिभा सम्मान तथा प्रतीभा पुरस्कारद्वारा प्रत्येक सम्मानित गर्ने, बेलायत तथा अन्य देशमा रहेका स्रष्टाका कृति प्रकाशन गर्ने तथा प्रकाशन सहकार्य गर्ने र स्रष्टा–सर्जकहरूलाई प्रोत्साहन हेतु वार्षिक रूपमा एक जना स्रष्टालाई एकल प्रस्तुतिका लागि ‘अभिव्यक्ति शृङ्खला’मा प्रस्तुत गर्ने, गराउने’ आदि उद्देश्य लिएको संस्थाले विस्तारै आफ्नो यात्रा अगाडि बढाइरहेको छ ।

यसरी नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको विकास सर्वाङ्गीण विकास गर्ने उद्देश्यले सन् २००८ मा स्थापित नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले हाल (२०१७) सम्म १० जना अग्रज स्रष्टालाई बीस हजार नगद थैलीसहित ‘प्रतिभा सम्मान’ र १० जना नै युवा स्रष्टालाई (सुरुका दुई वर्ष सम्मानमा रु १०/१० हजार र पुरस्कारमा रु. ३०/३० हजार) पुरस्कार एक लाख रुपियाँ नगद राशिसहितको ‘प्रतिभा पुरस्कार’द्वारा सम्मानित तथा पुरस्कृत गरिसकेको छ । यसैगरी ‘अभिव्यक्ति शृङ्खला’मार्फत् १० जना स्रष्टालाई प्रस्तुत गरिसकेको छ । नेपालमै, नेपालमै बसरेर लेख्ने, साधना गर्ने स्रष्टा–सर्जकलाई अर्पण गरिने सम्मान तथा पुरस्कारमा यो संस्थाले हालसम्म रु. १२ लाख बीस हजार नगद खर्च गरिसकेको छ । समारोहका लागि हुने विविध खर्चको त यहाँ हिसाब नै गरिएको छैन । यो खर्च नेपाली वाङ्मयको समग्र विकास र उन्नयनकै खातिर हो । डायास्पोराबाट आफ्नो मातृभूमि, सिङ्गो वाङ्मय र तमाम स्रष्टा–सर्जकप्रति गरिएको असीम श्रद्धा हो– हामीले यो कुरा गम्भीरतापूर्वक बुझ्नै पर्छ ।

०००

बेलायती नेपाली डायस्पोराकै एउटा गर्विलो इतिहास बोकेको प्राज्ञिक संस्था– नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले आफ्नो गौरवमय पहिलो दशक पूरा गरेको पावन अवसरमा आयोजित उत्सव भव्यताका साथ समापन हुन्छ । उत्सव समारोह समापनपश्चात् आगन्तुकहरू आ–आफ्ना गन्तव्यतिर फर्किन हतारिन्छन् । अध्यक्ष, महासचिव, कोषाध्यक्ष र मचाहिँ सचिव चोक गुरुङकहाँ पाहुना लाग्छौँ । भोलि हामी यतैबाट स्टार्डफोर्ड अपन हेभन विश्व प्रसिद्ध साहित्यकार विलियम सेक्सपियरको जन्मथलो अवलोकन भ्रमणमा जानु छ । सल्लाह छ, जानुजी पनि अक्सफोर्डबाट हामीसँगै यात्रामा सहभागी हुने । हिजै मात्र नोर्देन आयरल्यान्डबाट उत्सवका लागि आउनुभएको मिजासजी भोलि बेलुकी उतै (गेटविक एअरपोर्ट) बाट नोर्देन आयरल्यान्ड लाग्नुहुनेछ । हामी चोक गुरुङको न्यानो आतिथ्य ग्रहण गर्दै राति अवेरसम्म बात मारिबस्छौँ ।

भोलि त बिहानै जानु छ— विश्व साहित्यकै एक प्रसिद्ध तीर्थस्थलः शेक्सपियर जन्मभूमितिर…

प्रतिक्रिया
Loading...