नेपाली साहित्यको सम्पूर्ण पत्रिका

नेपालमा सबैभन्दा बढी पढिएको उपन्यास ‘आमा’ अब साहित्यपोस्टमा

साहित्यपोस्टले नेपालमा धेरै जनाले पढेको ‘आमा’ उपन्यासलाई नियमित रूपमा प्रकाशन गर्ने भएको छ । यसको अनुवाद राजेन्द्र मास्केले गर्नु भएको थियो ।

प्राक्कथन
प्रत्येक साहित्यमा त्यस्ता कृतिहरू हुन्छन्, जुन त्यसको विकासक्रमसँग घनिष्ट रूपमा सम्बन्धित हुन्छन् । हामी रूसीहरूका लागि माक्सिम गोर्कीको ‘आमा’ उपन्यास यस्तै पुस्तक हो । लेखक स्वयम्ले यस कृतिलाई लघुउपन्यासको संज्ञा दिनुभएको थियो, तर अचेल मान्छेहरू यसलाई उपन्यास नै भन्न रुचाउँछन् । हुन पनि गद्यसाहित्यमा उपन्यास नै सबैभन्दा महत्त्वपूर्ण मानिन्छ ।

रूसमा आमा उपन्यास सन् १९०७ मा प्रकाशित भएको थियो । त्यसबेला यसका लेखक करिब चालीस वर्षका हुनुहुन्थ्यो । विगत पन्ध्र वर्षको अवधिमा उहाँले साहित्यिक एवम् सामाजिक क्रियाकलापको लामो बाटो पार गरिसक्नुभएको थियो । सन् १९९८ मा प्रकाशित गोर्कीको पहिलो रचनासङ्ग्रह निबन्ध र कथाहरू पाठकहरूले धेरै रुचाए । एक वर्षपछि गोर्कीको लघुउपन्यास ‘फोमा गोर्देएभ’ प्रकाशनमा आयो र यस उपन्यासले पाठकदलको ध्यान त्यत्तिकै आकर्षित गर्‍यो, जति त्यसैताका प्रकाशित भएको लेभतोल्सतोइको “पुनर्जन्म” उपन्यासले गरेको थियो । त्यसपछि गोर्कीको अर्को लघु्उपन्यास तीन व्यक्तित्व प्रकाशित भयो । अझ नाटकहरू लेख्न थालेपछि त गोर्कीको ख्यातिले राष्ट्रिय सीमा नाघेर वास्तविक विश्वव्यापी रुप लिन पुग्यो ।

गोर्कीका प्रारम्भिक कृतिहरूमै महान् कलात्मक उपलब्धिहरूका पूर्वाधारहरू देखा परिसकेका थिए । स्वयम् उपन्यासकारले अत्यन्त कठोर जीवन बिताउनुपरेको थियो तापनि यी कृतिहरू यथार्थवादी र असाधारण जोसिला गुञ्जनले भरिपूर्ण थिए, ‘साहसी पागलपन’ को वीरतापूर्ण स्तुतिगान थिए । तर गोर्कीमा अझै समाजवादी चेतना आइसकेको थिएन, उहाँद्वारा सर्वहारावर्गलाई शोषित, उत्पीडित र दलितवर्गका रुपमा मात्र चित्रित गरिएको थियो । मजदुरवर्गलाई उहाँले अझै त्यस्तो महान् शक्तिका रुपमा प्रस्तुत गरिसक्नुभएको थिएन, जो आफूलाई र समस्त श्रमिक जनतालाई दासताको बन्धनबाट मुक्त गर्न समर्थ छ । गोर्कीको चेतनामा परिवर्तन ल्याउनका लागि मात्र एउटा ठक्करको आवश्यकता थियो र सन् १९०५ को प्रबल क्रान्तिकारी आन्दोलन यस्तै ठक्कर साबित भयो । यस क्रान्तिबाट तीव्र प्रेरणा पाएका गोर्कीले ‘हुरी चराको गीत’ लेख्नुभयो । के कुरा पनि कम महत्वपूर्ण थिएन भने लेनिनको बाटो नै गोर्कीको पनि बाटो बन्न गयो । सुरुमा गोर्कीले लेलिनका कार्य तथा विचारहरु स्वीकार गर्नुभयो र पछि गएर स्वयमे् लेनिन उहाँका घनिष्ट मित्र र नेता बन्नुभयो ।

म्याक्सिम गोर्की

लेनिनवादको अनुयायी पनि गोर्की आफ्नै तरिकाले भन्नुभयो । एक साहित्यकारका रुपमा मानवतावादी समस्याहरुले गोर्कीलाई अति चिन्तित तुल्याउँथे । सन् १९०१ मा नै आफ्नो ‘टक्कर’ नाटकमा गोर्कीले समाजवादी चेतनासम्म पुगिसकेका मजदुर एवम् सर्वहारा क्रान्तिकारी नीलको चित्रण गरिसक्नुभएको थियो । ‘नरकको पिँध’ नाटकमा गोर्कीले साँचो र झूटो मानतावादीसम्बन्धी समस्याहरुलाई अझ बढी विस्तारपूर्वक र गहिरो तरिकाले प्रस्तुत गर्नुभयो । लुकाको सम्पूर्ण दर्शन एउटै सूक्तिमा निहित थियो, हुनेहार, दैव नटार ।’ जीवनसँग सम्झौता गर्ने यस्तो निश्चेष्ट मानवतावादको विरुद्ध गोर्कीले क्रान्तिकारी सङ्घर्षका मानवतावाद प्रस्तुत गर्नुभयो, जसले जीवनको सम्पूर्ण सत्यलाई निर्भीकतापूर्वक सामना गर्ने) आह्वान गर्दछ, जसद्वारा जीवन र स्वयम् मानवलाई नै बदल्न सकियो.स्, उसलाई आन्तरिक एवम् बाह्य बन्देजहरुबाट मुक्त गर्न सकियोस् । आज विश्वभरिका भाषाहरुमा करोडौंकरोड मानिसहरु ‘नरकको पिँध’ नाटकका यी प्रेरणादायक शब्दहरु दोहोन्याउँछन् – मानव – कति गौरवपूर्ण शब्द छ ।’ , सबै कुरा मानवमै निहित छ, सबै कुरा मानवकै लागि ।’

सन् १९०७ मा प्रकाशित गोर्कीको ‘आमा’ उपन्यासमा पनि क्रान्तिकारी मानवतावादीको यही समस्या अगाडि राखिएको छ । के कुरा किटेर भन्न सकिन्छ भने विश्वसाहित्यको सम्पूर्ण इतिहासमा सायद नै कुनै त्यस्तो साहित्यिक रचना भेट्टाइएला, जसले गोर्कीको यस उपन्यासले जति धेरै पाठकहरुलाई आकर्षित गरेको होस् र जसले करोडौं मानिसहरुको भाग्यमाथि प्रबल र प्रत्यक्ष प्रभाव पारेको होस् ।

गोर्कीले नयाँ बीसौं शताब्दीको प्रमुख स्वर तुरुन्तै टिपिहाल्नुभयो । विश्व इतिहासको रङ्गमञ्चमा पूर्णधिकारसम्पन्न सक्रिय पात्रका रुपमा, प्रमुख नायकका रुपमा मजदुर पात्र देखा पर्‍यो । गोर्की नयाँ युगका यस नयाँ नायकका गायक, कलात्मक जीवनी–लेखक र प्रतिनिधिका रुपमा देखा पर्नुभयो । ‘आमा’ उपन्यासमा आएर नयाँ युगको यस नयाँ नायकले पूर्ण साहित्यिक अभिव्यक्ति तथा विकास प्राप्त गर्‍यो ।

सर्वविदित कुरा हो, मई दिवसको उपलक्ष्यमा सोरमोभो फ्याक्ट्रीका मजदुरहरुमाथि आयोजित जुलुस तितरवितर पारिएपछि यसका आयोजकहरुमाथि चलाइएको मुद्दा नै त्यो वास्तविक ऐतिहासक घटना थियो, जसमा उपन्यासको विषयवस्तु आधारित छ । स्वयम् गोर्कीले पछि गएर आफ्नो संस्मरणमा लेख्नुभएको छ – ‘सोरमोभो जुलुसपछि अझ निभनी नोभ्गोरोदमा हुँदै मजदुरहरुबारे मैले एउटा किताब लेख्ने विचार गरिसकेको थिएँ । त्यसैबेला मैले सामग्रीहरु बटुल्न थालेँ र आफ्ना विचारहरु टिप्न सुरु गरेँ ।’ यस प्रकारले गोर्कीको यो कृति आफ्नै किसिमको एक ऐतिहासिक दस्तावेज पनि हो । निःसन्देह उपन्यासको विषयवस्तु बनेका यी घटनाहरुमा लेखकले धेरै हेरफेर गर्नुभयो, जसले गर्दा तिनले साहित्यिक रुप लिन पुगे । उपन्यासकारको कलमले वास्तविक नायकहरुलाई (अंशतः सोरमोभो मजदुर प्योत्र जालोमोभ र उसको आमालाई) नयाँ रुप प्रदान गर्‍यो । यसको साथै नयाँ नयाँ पात्रहरु र परिस्थितिहरु देखा परे । यी सबै कुराको फलस्वरुप त्यो कृति तयार भयो, जुन सन् १९०५ को क्रान्तिपूर्वका रुसी मजदुरवर्गको जीवन र सङ्घर्षको विस्तृत एवम् सामान्य चित्रण बन्न गयो । यस्तो लाग्छ, लेखक आफ्नो पुस्तकको माध्यमद्वारा भन्नुहुन्छ – रुसको क्रान्तिकारी मार्ग कठिन र जटिल छ तर यो एक मात्र सही बाटो हो । यो भविष्यतिर उन्मुख मार्ग थियो । ‘आमा’ उपन्यासले नै यस भविष्यका लागि जनव्यापी सङ्घर्षमा नेताका रुपमा मजदुरवर्गलाई अगाडि सार्‍यो । यो पुस्तक त्यस्तो मजदुरवर्गका बारेमा छ, जो आफ्ना महान् आदर्शहरुलाई साकार तुल्याउन तम्सिएर अगाडि बढ्दै थियो । यो त्यस्तो पुस्तक हो जसमा मजदुरवर्गले आफ्ना समस्त गुणहरु र अझ अपर्याप्त आफ्नो राजनैतिक एवम् वैचारिक परिपक्वतालाई प्रतिबिम्बका रुपमा देख्न सक्छ । यो पुस्तक मजदुरवर्गका लागि, समस्त रसियाली जनताका लागि नितान्त आवश्यक थियो । गोकीसँग भएको एक वार्तालापको शिलशिलामा लेनिनले ‘आमा’ उपन्यासबारे भन्नुभएको थियो – ‘जरुरी पुस्तक हो, धेरै मजदुरहरु क्रान्तिकारी आन्दोलनमा सजग रुपमा नभएर स्वतःस्फूर्त भाग लिँदै थिए । अब ‘आमा’ उपन्यास पढेर उनीहरुले निकै फाइदा उठाउनेछन्, अति समयानुकुल पुस्तक हो यो ।’

लियो तोल्सतोइले एकपल्ट भन्नुभएको थियो – कुनै पनि साहित्यिक रचनाको एकरुपताको आधार त त्यसका पात्रहरु, न त वातावरण नै हुन्छ, अपितु लेखकको नैतिक दृष्टिकोण नै यस्तो एकरुपताको आधार हुन्छ । गोर्कीको यो नैतिक दृष्टिकोण ‘आमा’ उपन्यासको मुख्य पात्र पेलागेया निलोभ्नाको चरित्रमा अभिव्यक्त भएको छ । उपन्यासकी नायिका, यी साधारण मजदुर नारीको आधारमा नै पुस्तकको नाम ‘आमा’ राखिएको हो । उपन्यासको सुरुमा पेलागेया निलोभ्ना पनि अरु ती सयौं मजदुर नारीहरुभन्दा केही फरक देखिन्नन्, जो कारखानाहरुमा कठोर परिश्रम गर्छन् र घरमा रक्सीले मात्तिएका लोग्नेहरुको गालीगलौज र मारपिट सहन्छन् तर जब पेलागेयाका छोरा पाभेल भ्लासोभ मजदुर बस्तीका बहुसङ्ख्यक मानिसहरुका लागि अभ्यस्त जीवनपद्धति छाडेर क्रान्तिकारी बन्न पुग्छन्, आमा पनि छोराछोरीसँगै काँधमा काँध मिलाएर उभिन्छिन् । उपन्यासमा पेलागेया निलोभ्नाले जुन बाटो समाइन्, त्यो प्रत्येक मजदुरको क्रन्तिमार्ग हो । पेलागेया निलोभ्नाको दयालु र न्याययिक हृदय, तिनको सदृविवेक अनि उपकार भनेको के हो र मान्छेले कसरी बाँच्नुपर्छ भन्नेबारे तिनका धारणाहरु नै यस पुस्तकमा गोर्कीका लागि नैतिक आचरणको आधारभूत मापदण्ड बन्न जान्छन् । हामी पाठकहरु पनि आफ्ना वरिपरि हरेक कुरालाई पेलागेया निलोभ्नाकै दृष्टिले र तिनैको कसौटीमा राखेर हेर्न थाल्छौं । पाभेल भ्लासोनका साथीहरु पनि पेलागेया निलोभ्नालाई आमै भनेर डाक्ने गर्छन् । यसैमा गोर्कीको यस कृतिको विशिष्ट एवम् मुख्य भाव निहित छ । कुरा के हो भने पेलागेया निलोभ्ना अर्थात् पाभेलकी आमाप्रतिको आफ्नो सम्बन्धमा नै पाभेलका क्रान्तिकारी साथीहरु आफ्नो आत्मिक मातृत्व अनुभव गर्छन् । अझ यसो भन्दा वेश हुनेछ – पेलागेया निलोभ्नाकै माध्यमबाट उनीहरु पृथ्वीका सम्पूर्ण मानिसहरुसँगको आफ्नो मातृत्वभावको अनुभूति पाउँछन् । पाभेलका घनिष्ट मित्र आन्देह नाखोद्का भन्छन् – “हामी सबै एउटै आमाका सन्तान हौं – संसारभरिका मजदुरहरुको भातृत्वको अजेय विचारका सन्तान हौं ।” किसान रीबिन, जसलाई जीवनले स्वतन्त्रतासङ्ग्रामको यस आम उद्देश्यतिर तानेर ल्याएको छ, पनि यो कुरा राम्ररी बुझ्छन् । उनी भन्छन् – “मानिसहरुबीच भातृत्वको भावना पैदा गर्नु धेरै ठूलो कुरा हो । जब मान्छेले अरु लाखौं मान्छेहरु पनि त्यसै कुराका लागि सङ्घर्ष गर्दैछन् भन्ने कुरा बुझ्न थाल्छ, उसको हृदयमा प्रेमको बाढी उर्लन थाल्छ ।”

‘आमा उपन्यासमा क्रान्तिकारी सङ्घर्षबारे मात्र वर्णन गरिएको छैन, बरु कसरी यस सङ्घर्षको पवित्र ज्वालामा एक सामान्य व्यक्तिको कायापलट हुन्छ र कसरी उसको आत्माले पुनर्जन्म लिन्छ भन्ने पनि देखाइएको छ ।

क्रान्तिकारी सङ्घर्षको बाटामा अग्रसर भएर नै ‘आमा’ उपन्यासकी नायिकाले निम्न कुरा गर्ने अधिकार पाउँछिन्, पुनर्जीवित आत्माको हत्या गर्न सकिन्न .. ! रगतको खोलाले पनि सत्यलाई डुबाउन सक्दैन ..!

‘आमा’ जस्तो उपन्यास माक्सिस गोर्कीले नै लेख्नु कुनै संयोको कुरा होइन । मात्र सङ्घर्षकर्ताले सङ्घर्षकारीहरुबारे यति भरपर्दो पुस्तक लेख्न सक्छ । किशोरावस्थादेखि नै आफ्नो वरिपरिको वातावरणविरुद्धको सङ्घर्षले मात्र मान्छेलाई मान्छे बनाउँछ भन्ने कुरा बुझ्न थालेको साहित्यकार मात्र जीवनको रुप परिवर्तनमार्गमा अग्रसर मान्छेको प्रबल मानसिक उत्थानको चित्रण गर्न समर्थ हुन्छ ।

यो उपन्यास सात दशकभन्दा अगाडि नै प्रकाशित भइसकेको थियो । यस अवधिभित्र यो पुस्तक विश्वभरिका मजदुरहरुको सबैभन्दा प्रिय पुस्तक बन्न गएको छ । विदेशमा यो पुस्तक ४५ भाषामा तीन सयपल्ट छापिइसकेको छ । सोभियत सङ्घमा यस पुस्तकका दुई सयभन्दा बढी संस्करणहरु निस्किसकेका छन् र जम्मा गरेर ८० लाखभन्दा बढी प्रतिहरु छापिइसकेका छन् ।

२८ मार्च १९६८ मा गोर्कीको जन्मशताब्दी मनाइएको थियो । अब त उहाँको देहावसान भएको पनि ४० वर्षभन्दा बढी भैसकेको छ । तर उहाँ विश्वसाहित्यको केन्द्रबिन्दु र समस्त राष्ट्रहरु तथा महाद्वीपका पाठकहरुको प्रिय लेखक बन्न छाड्नुभएको छैन ।

(आमा उपन्यासको प्राक्कथनबाट)

प्रतिक्रिया
Loading...