नेपाली साहित्यको सम्पूर्ण पत्रिका

द ह्वाइट टाइगर (सेतो बाघ) / अरबिन्द अडिगा: भाग ३

दिउँसो म स्कुलबाट उहाँलाई भेट्न चिया पसल जान्थेँ । त्यो चियापसल हाम्रो गाउँको केन्द्रबिन्दु थियो । सधैँ एक दुई घन्टा ढिलो गरी गयादेखि आउने बसहरु दिउँसोभरि त्यहीँ रोकिन्थे । गाउँका कसैलाई सिकार बनाउन आउने पुलिसहरुको जिप पनि त्यहीँ रोकिन्थ्यो । सूर्यास्त अलि अघि एकजना मानिस जोडले साइकलको घन्टी बजाउँदै त्यसको तीन फन्को लाउँथ्यो । उसको साइकलको पछाडि कार्डबोर्डमा अश्लील सिनेमाको पोस्टर टाँसिएको हुन्थ्यो । श्रीमान् अश्लील चलचित्र हेर्ने ठाउँ नहुने हो भने त परम्परावादी भारतीय गाउँको के महत्त्व छ र ? नदिपारिको चलचित्र घरमा प्रत्येक साँझ साढे २ घन्टाको ‘ऊ सत्य मान्छे थियो’, ‘हामीले उहाँको डायरी खोल्यौँ’, ‘काकाले यो गर्नुभो’ आदि जस्ता अश्लील चलचित्र देखाइन्थे, जसका पात्रहरु सुनौला कपाल भएका अमेरिकी महिला वा हङकङका महिला हुन्थे । महामहिम, यो मेरो अनुमान मात्र हो, किनकि अरु युवाहरुसँग नारिएर म कैले पनि यस्ता चलचित्र हेर्न गइनँ ।

रिक्सावालाहरुले त्यही चियापसलबाहिर आफ्ना रिक्सा लाइनमा राखेर बसका यात्रुहरु कुरिबस्थे । ग्राहकहरुका लागि राखिएको प्लास्टिकको कुर्चीमा बस्न उनीहरुलाई मनाही थियो । उनीहरु पसलको पछि कुनामा टस्याकटुसुक बस्थे जसरी भारतभरि दासहरु बस्छन् । मलाई याद छ मेरो बुबा कहिल्यै पनि त्यसरी बस्नुभएन । जति लामो पर्खन परे पनि, जति अप्ठ्यारो भए पनि बरु वहाँ उठनुहुन्थ्यो÷उभिरहनुहुन्थ्यो । कहिलेकाहीँ म उहाँलाई नाङगै बसेर सोचमग्न मुद्रामा चिया पिइरहेको देख्थेँ ।

अनि कारको हर्न सुनिन्थ्यो ।

चियापसल छेउमा घुमिरहेका भुस्याहा कुकर र सुँगुरहरु यताउति छरिन्थे र चियापसलभित्र धुँवा, धुलो र सुँगुरको लादी मिश्रित गन्ध ह्वास्स छिथ्र्यो । एउटा सेतो एम्बेसडर कार बाहिर रोकिन्थ्यो । मेरो बुबा चियाको कप राखेर बाहिर जानुहुन्थ्यो ।

एम्बेसडर कारको ढोका खुलेलगत्तै एउटा मान्छे हातमा डायरी लिएर बाहिर निस्किन्थ्यो । नियमित ग्राहकहरु खाइरहन पाउँथे तर मेरो बुबा र अरु मानिसहरु पङ्क्तिबद्ध भएर उभिन्थे ।

डायरी हातमा लिने मान्छे भैंसी थिएन, ऊ त उसको सहायक थियो ।

कारभित्र अर्को एक जना गहुँगोरो, टाउकोमा खत भएको तालुखुइले काखमा सटगन राखेर गम्भीर मुद्रामा बसेको थियो ।

भैंसी त्यहीँ थियो ।

भैँसी लक्ष्मणगढको एकजना जमिनदार थियो । तीनजना अरु पनि थिए । उनीहरुको नाम उनीहरुका अनौठो भोक र रुचिका कारण राखिएको थियो ।

भुँडिफोर मोटो र टुप्पामा तिखो तर माथि फर्केको जुँगा भएको भुँडे थियो । हाम्रो गाउँबाहिर बग्ने नदी उसैको थियो । उसले प्रत्येक माझीसँग प्रत्येक माछाको र हाम्रो गाउँ आउन खोला तार्ने प्रत्येक बोटेसँग नजराना लिन्थ्यो ।

उसको भाइलाई जङ्गली सुँगुर (बनेल) भनिन्थ्यो । लक्ष्मणगढ वरिपरिको खेतीयोग्य जमिन जति सबै थियो । यदि तपाईं उसको खेतमा मजदुरी गर्ने हो भने तपाईंले उसको खुट्टा टाउको टेकाएर, चप्पलको धुलो छोएर उसले दिने ज्यालामा मन्जुरी दिनुपथ्र्यो । बाटोमा कुनै आइमाई देखेमा उसको कार ठयाक्क रोकिन्थ्यो, बन्द सिसा खुल्थ्यो र ऊ सानो दाह्राजस्तो देखिने दुईतिरका दुईवटा बाङ्गा दाँत देखाएर ङिच्च हाँस्थ्यो ।

Raven (काैवा) को भागमा कालो किल्ला वरिपरिको सुख्खा चट्टानी र काम नलाग्ने जमिन थियो र हरेका बाख्रा गोठालोसँग त्यहाँ बाख्रा चराएबापत उसले नजराना लिन्थ्यो । पैसा नदिए ऊ गोठालाहरुसँग गुदा मैथुन गर्न मन पराउँथ्यो । त्यसैले उसको नाम Raven (काैवा) राखिएको थियो ।

तर सबैभन्दा लोभी भने भैँसी नै थियो । उसले रिक्सा र बाटो पनि बाँकी छोड्या थिएन । कसैले रिक्सा चलाएर बाटो प्रयोग गरेमा कमाइको एक तिहाइमा एक पैसा पनि नघटाई उसलाई बुझाउनै पर्थ्यो ।

सबै चारवटै जनावर लक्ष्मणगढको छेउमा अवस्थित अग्ला पर्खालले घरिएको जमिन्दारको हवेलीमा बस्थे । चारदिवारभित्रै उनीहरुको आफ्नै मन्दिर, इनार, तलाउ थियो । त्यसैले चर्नभन्दा बाहेक बाहिर आउन जरुरी पनि थिएन । कुसुमले पुरानो कुरा सम्झँदै भनिन्– ‘एक दिन चारवटै जनावरका छोराछोरी कार चढेर बजार घुमेका थिए ।’

श्रीमान् जियाबाओ, तपाईँ पनि कम्युनिस्ट भएकोले यो त पक्कै थाहा होला कि तपाईंजस्तै कम्युनिस्ट नक्सलवादीहरुले भैंसीको छोरालाई अपहरण गरेपश्चात चारै जनावरहरुले आफ्ना सन्तानलाई धनवाद वा दिल्ली पठाएका थिए । धनिलाई सिध्याउने त तपाईंहरुको त सिद्धान्त नै हो ।

बच्चाहरु त गए तर ती जनावरहरु गाउँ नै नरित्तिएसम्म खाएरै बसिरहे र सबै गाउँले खानाको खोजीमा गाउँ छोडेर गए । प्रत्येक वर्ष गाउँका मान्छे ठूलो समूहमा चियापसल बाहिर बस कुरेर बस्थे । जब बस आउँथ्यो कोचाकोच गरी भित्र, छतभरि र नअटाएका जति छतको रेलिङ्मा झुन्डेर गया जान्थे । गयाबाट यसैगरी तँछाडमछाड गर्दै रेल चढेर कामको खोजीमा दिल्ली, कलकत्ता र धनवाद हानिन्थे । वर्षा सुरु हुनु एक महिना पहिले ती सबै दुब्लो, मैलोधैलो र रिसाहा अनुहार लिएर घर फिर्ता आउँथे तर खल्तीमा चैँ अलिअलि पैसा हुन्थ्यो । महिलाहरु उनीहरुलाई पर्खिरहन्थे । ढोकाछेउ लुकेर बस्थे तर जब श्रीमान्हरु भित्र छिर्थे उनीहरु बिरालोले मासुको टुक्रा झम्टेजस्तो गरी श्रीमान्लाई झम्टिन्थे । रुवाबासी र लडाइँ हुन्थ्यो । मेरा अङ्कलहरु प्रतिवाद गर्नुहुन्थ्यो र अलिकति पैसा छुट्यार राख्नुहुन्थ्यो, तर मेरो बुबाको प्रत्येक पटक छाला काडेर नङ्ग्याइन्थ्यो । कुनामा लुत्रुक्क बसेर भन्नुहुन्थ्यो, ‘मैले सारा सहर पालेँ तर यो घरका आइमाई पाल्न कहिल्यै सकिनँ ।’ भैँसीलाई ख्वाइसकेपछि मात्रै मेरो बुबाको खाने पालो आउँथ्यो ।

म उहाँ भएको ठाउँमा आउँथे र वरिपरि खेल्थे । कहिले ढाडमा चढ्थेँ । निधार, कान, नाक, आँखा र काँधको खोपिल्टो सहलाउँथे । धेरै बेरसम्म म त्यो खोपिल्टो सहलाउँथे । त्यो अझै पनि मलाई मानव शरीरको मनपर्ने भाग हो ।

धनी मान्छेको शरीर कपासको तकिया जस्तै नरम र खाली हुन्छ । हाम्रो फरक छ । मेरो बुबाको ढाड इनारबाट पानी झिक्न बनाएको गाँठैगाँठा भएको डोरीजस्तो थियो । घाँटीको वरिपरि ठूलो खाडल, काटेका, लडेका, पोलेका दागहरु जुन हेर्दा कोर्राको चोट जस्ता लाग्थे । यस्ता दाग छातीदेखि नितम्बसम्म जताततै थिए । एउटा गरिब मान्छेको कथा उसको शरीरैभरि कहिल्यै नमेटिने धारिलो कलमले लेखिएको हुन्छ ।

मेरा काकाहरुले पनि ढाडै भाँच्चिने दुःख गर्नुभो तर उहाँहरुले अरुले जे गरे त्यही गर्नुभो । प्रत्येक वर्ष जब मनसुन सुरु हुन्थ्यो, उहाँहरु खिया लागेको कालो हँसिया लिएर जमिन्दारकहाँ कामको खोजीमा भिख माग्न जानुहुन्थ्यो । अनि उहाँहरु बिउ छर्ने, उखेल्ने रोप्ने गरेर धान र मकै भित्र्याउनु हुन्थ्यो । मेरो बुबा पनि जमिनदारकै हिलोमा काकाहरुसँग काम गर्न सक्नुहुन्थ्यो तर उहाँले त्यो बाटो रोज्नुभएन । उहाँले सङ्घर्षको बाटो रोज्नुभयो ।

यो पृथ्वीमा चाइना र अरु सभ्य मुलुकमा रिक्सावाला हुन्छन् भन्नेमा मलाई शङ्कै छ । त्यसैले एउटा रिक्सावाला तपाईं आफैँ हेर्नुहोला । दिल्लीको धनी क्षेत्रमा रिक्सा लान पाइँदैन जहाँ विदेशीहरुले दङ्ग परेर उनीहरुलाई हेरुन् । पुरानो दिल्ली अथवा निजामुद्दिन जानुस् त अनि तपाईँले बाटोभरि देख्नुहुन्छ कसरी ती दुब्ला लौरीजस्ता चालकले सकीनसकी मध्यम वर्गीयहरुको पिरामिड– श्रीमती, श्रीमान्, तीनका झोलाझाम्टा र अन्य सामानलाई बोकिरहेका हुन्छन् ।

र, जब तपाई ती सुईँखुट्टेलाई देख्नुहुन्छ अनि सोच्नुस् मेरा बुबालाई, उहाँ कस्तो हुनुहुन्थ्यो होला ।

मान्छेको भारी बोकेर हिँडने रिक्सावाला उहाँ पक्कै हो, तर उहाँसँग योजना थियो ।

म नै उहाँको योजना हुँ ।

एकदिन उहाँ घरमा बेस्सरी रिसाउनुभो र महिलाहरुलाई गाली गर्न थाल्नुभो । त्यो दिन घरका महिलाहरुले म स्कुल नगएको कुरा उहाँलाई सुनाइदिएछन् । उहाँले त्यो दिन कुसुमलाई पनि झपार्नु भयो, जुन साहस उहाँमा कहिले पनि थिएन ।

‘मुन्नाले पढ्नु लेख्नु पर्छ भनेर मैले तपाईंंलाई कति पालि भन्या छ ?’

कुसुम एकछिन अलमल्ल परिन् र भनिन्, ‘मलाई के दोष लाउँछस् ? यो आफैँ भागेर आएको हो । यो डरपोक खन्चुवा छ । चियापसलमा काम लगाइदिए बरु २–४ पैसा कमाउँछ ।’ मेरा काकीहरु र भतिजी दिदीहरु हजुरआमाको वरिपरि जम्मा भए । जब उनीहरुले मेरो छेरुवापनको कुरा लाउनुसम्म लाए, म बुबाको पछि लुकेँ ।

अब एउटा गाउँले केटो छेपारोदेखि डराउँछ भन्ने सायद तपाईं पत्याउनुहुन्न होला । मलाई न्याउरी, सर्प, बाँदर, मुसो क्यै जस्तो लाग्दैन । बरु म जनावरहरुलाई माया गर्छु । तर प्रत्येक पटक जति सानो छेपारो देखे पनि म यसरी झस्किन्छु मानौँ म कुनै केटीसँग अचानक ठोक्किएँ । मेरो आङ सिरिङ्ग हुन्छ ।

हाम्रो स्कुलको कोठामा एउटा ठूलो दराज थियो जसको ढोका सधैँ अकिति खुल्ला हुन्थ्यो । यो त्यहाँ किन राखेको हो कसैलाई थाहा थिएन । एक बिहान चर्‍याक्क ढोका खुल्यो र यौटा छेपारो फुत्त बाहिर हाम फाल्यो । यो आधा पाकेको अम्बा जस्तै हल्का हरियो थियो । यसको लामो जिब्रो फुत्तफुत्त भित्रबाहिर ल्यापल्याप गरिरह्यो । कम्तीमा यो २ फुट लामो थियो ।

अरु केटाहरुले सायदै थाहा पाए होलान् । जब एक जनाले मेरो अनुहार देख्यो अनि सबैले मलाई घेरे । दुईजनाले मेरो हात पछि लगेर अँठ्याए । अर्कोले टाउको चलाउन दिएन । अर्कोले छेपारो हातले समातेर मतिर बिस्तारै जिस्काउँदै (नाटकीय पारामा) आयो । आवाज ननिकालेर, तर रातो जिब्रो फुत्तफुत्त भित्रबाहिर गर्दै छेपारो मेरो नजिक–नजिक आयो । हाँसोको फोहोरा छुट्यो । मेरो हंसले ठाउँ छोड्यो । शिक्षक मेरो पछिल्तिर आफ्नो टेबलमा मस्त घुरिरहेका थिए । छेपारो मेरो अनुहारछेउ आयो र हल्का हरियो मुख खोल्यो र म जीवनमा दोस्रोपटक बेहोस भएँ ।

त्यो दिनदेखि म फर्केर स्कुल गएको छैन ।

यो कथा सुनेर बुबा हाँस्नुभएन, तर लामो सास फेर्नुभो जुन मैले सहजै महसुस गरेँ । ‘किसनले छोडे पनि ठिकै छ, तर यो स्कुल जानै पर्छ,’ यसकी आमा पनि भन्थी कि यसले पढ्न पर्छ । उसले भन्थी, ‘– – – ’

‘यसकी आमाको के कुरा गर्नु ?’ कुसुम चिच्याइन् । ‘त्यो आइमाई त पागलै हो, धन्न मरी । मेरो कुरा सुन । यसलाई पनि किसनलाई जस्तै चिया पसलमा काम गर्न पठाइदे ।’

भोलिपल्ट मेरो बुबा मसँगै पहिलो र अन्तिम पटक स्कुल आउनुभो । बिहान सबेरै थियो । ठाउँ खाली थियो । हामीले कक्षाकोठाको ढोका खोल्यौँ । कोठामा मधुरो निलो बत्ति छरियो । हाम्रो मास्टर पानका पारखी थिए । उनको थुकाइले तीनतिरै रातो वालपेपर बनेको थियो । मध्यान्हमा सुत्ने उनको बानी नै थियो । जब उनी निदाउँथे, हामी उनको खल्तीबाट पान चोथ्र्याैँ, बाँड्थ्यौँ, चबाउँथ्यौँ र उनको सिको गर्दै हात नितम्बमा राखी ढाड निहुर्‍याएर पालैपालो त्यो फोहोर भित्तामा थुक्थ्यौँ ।

चौथो भित्तामा हरिण र लोखर्केहरुले घेरिएको बुद्धको रङ उडेको भित्तेचित्र सजिएको थियो । मास्टरले नथुकेको मात्र भित्तो यही एउटा थियो । त्यो आधा पाकेको अम्बाको रङको ठूलो छेपारो यही भित्ताको अघि बसिरहेको थियो मानौँ उसले भगवान् बुद्धको चरण स्पर्श गर्दैछ ।

छेपारोले यसो हामीतिर टाउको घुमायो, मैले चम्किला आँखा देखेँ ।

‘राक्षस यही हो ?’

छेपारोले बाहिर जाने बाटो खोज्दै यताउता टाउको हल्लायो । अनि भित्तामै डयाङग डयाङग बजारिन थाल्यो । यो त्रसित थियो मजस्तै डरछेरुवा रैछ ।

‘बा कृपया यसलाई नमार्नुस्, मात्र बाहिर फ्यालिदिनुस् ।’

ठर्राले मातेको हाम्रो मास्टर ठसठस गन्हाउँदै एउटा कुनामा मजाले घुरिरहेका थिए । बाले उनकै छेउबाट हिजो राति उनले सकाएको ठर्राको रित्तो भाँडो उठाउनुभो ।

छेपारो दौड्यो र बा पनि पछिपछि त्यसलाई भाँडोले ताक्दै दौडनु भो ।

‘बुबा कृपया यसलाई नमार्नुस् ।’

तर उहाँले ठ्याक्कै सुन्नुभएन । दराजमा डयाम्म हानेपछि छेपारो फुत्त निक्लेर भाग्यो । अगाडिका सरसामान डङग्य्राङ डुङगरुङग लडाउँदै ‘हैया’ ‘हैया’ भन्दै बुबाले छेपारो लखेटनु भो । ठर्राको भाँडोले बजाउनुभो, भाँडो झर्‍यामझुरुम भो । छेपारोको घाँटीमा मु्डकी बजारेर टाउकोमा किच्नुभो ।
हावामा छेपारोको थिलथिलिएको मासु डुङ्ग गन्हायो । मृत छेपारो उठाएर बाहिर मिल्काउनुभो ।

बुबा सौम्य जनावरले घेरिएका बुद्ध अङ्कित भित्तामा अडेस लाग्नुभो ।

जब रिस उत्र्यो अनि भन्नु भो, ‘जीवनभरि मलाई गधाको व्यवहार गरिएको छ । मेरो चाहना मात्र के छ भने कम्तीमा मेरो एउटा छोरो मान्छे बनेर बाँचोस् ।’

मान्छे बनेर जिउने भनेको के हो मेरा लागि रहस्यमय थियो । मैले सोचेँ, विजय भन्ने बसको कन्डक्टर जस्तै बन्ने पो हो कि ? बस आएर लक्ष्मणगढमा आधा घन्टा टक्क अडियो । सबै यात्री झरे र कन्डक्टर पनि चिया खान झर्‍यो । हामी सबै चियापसलमा काम गर्नेको आँखा ऊमाथि पर्‍यो । उसको बस कम्पनीले दिएको खाकीको ड्रेस, सेतो सिठ्ठी अनि खल्तीबाहिर झुन्डिने रातो डोरीको हामी प्रशंसा गर्थ्यौं । उसका सबै चिज देख्दा लाग्थ्यो, उसले जीवनमा केही गरेको छ ।

विजयको परिवार दुसाद थिए, सबैभन्दा तल्लो जात, तर पनि ऊ जीवनमा त्यहाँसम्म पुगेको थियो । जसोतसो उसले Pउटा राजनीतिज्ञलाई साथी बनाएको थियो । मान्छे भन्थे कि उसले त्यो राजनीतिज्ञलाई गुदा मैथुन पनि गर्न दिएको थियो ।

(उसले त्यो राजनीतिज्ञलाई शरीरै बेचेको थियो) ऊ मैले चिनेको एउटा सफल उद्यमी थियो, किनकि जे गर्नुपर्ने हो उसले गरेकै थियो । उसको जागिर थियो र सेतो सिठ्ठी पनि । जब उसले सिठ्ठी फुकेपछि बस छुट्थ्यो सारा गाउँका बच्चाहरु ‘हामीलाई पनि चढाऊ’ भन्दै ड्यामड्याम बसमा ठोक्दै पछिपछि दगुर्थे । म पनि विजय जस्तै बर्दीमा टिर्र बज्ने सिठ्ठी भएको तलबको चेकवाला व्यक्ति बन्न चाहन्थेँ ताकि मलाई पनि सबैले ट्वाँ परेर हेरुन् र भनुन्, ‘यो त ठूलो मान्छे जस्तै देखिन्छ ।’
महामहिम,
अहिले बिहानको २ बजिसक्यो । आजलाई अब बन्द गर्ने बेला भो । अरु केही महत्त्वपूर्ण सूचना छन् कि म ल्यापटपमा हेर्छु ।
काम नलाग्ने केही कुराहरु छोडिदिन्छु –––
…….दिल्लीको धौला कुवा क्षेत्रमा २ सेप्टेम्बरको राति आइ.टी.सी. मौर्य सेराटन होटलको नजिकै ………।

(क्रमशः)

प्रतिक्रिया
Loading...