नेपाली साहित्यको सम्पूर्ण पत्रिका

संसार प्रख्यात उपन्यासः युद्ध र शान्तिःः लियो टोल्सटोयः शृंखला ३

परिच्छेद ३

कपडा मिलका कलपुर्जाहरु शत प्रतिशत क्षमतामा चलिरहेका थिए । अर्को शब्दमा भनौं भने अन्ना पाभ्लोभ्नाको प्रीतिभोज उत्कर्षमा पुगेको थियो । बूढी फुपूबाहेक अन्य सबै पाहुनाहरु तीन समूहमा बाँडिएका थिए । पुरुषहरुको एउटा समूह आवेको वरिपरि झुम्मिएको थियो । युवक–युवतीहरु राजकुमार भासिलीकी छोरी राजकुमारी हेलेन तथा सानी सुन्दरी राजकुमारी बोल्कोन्स्कायाको समूहमा मस्त थिए भने बाँकी रहेका जति मोर्टमार्ट र अन्ना पाभ्लोभ्नाको वरिपरि जम्मा भएर तेस्रो समूह निर्माण भएको थियो ।

स्वयंलाई एउटा कीर्तिमानी पुरूष विकोम्प्टे आफ्नो सौम्य र सुसंस्कृत आचरणका कारण सबैको प्रशंसाको पात्र भएको थियो । जसलाई अन्ना पाभ्लोभ्ना सबै पाहुनाहरुको अगाडि ज्यान फालेर सेवा गर्दै थिई । होटलको कुनै बेयराले आफ्नो मन परेको ग्राहकलाई विशेष प्रकारको सेवा प्रदान गरेजस्तै अन्ना पाभ्लोभ्नाले सबभन्दा पहिले विकोम्प्टे र त्यसपछि आवेलाई सेवा गरिरहेकी थिई । यता मोर्टमार्टको समूहमा ड्युक ड एनगाइनको हत्याबारे चर्चा चल्दै थियो । विकोम्प्टेले भन्यो – ‘डयुक एनगाइनले आफ्नै घमण्डले गर्दा त्यो गति भोग्नु परेको हो र बोनार्पाटले उसलाई नरुचाउनुको खास कारण पनि त्यही नै हो ।’

‘खुब मजा आयो । लौन विकोम्प्टे, यस विषयमा अरु प्रकाश पार्नु पर्‍यो,’ अन्ना पाभ्लोभ्नाले प्रफुल्लित मुद्रामा भनी । उसको यस भनाइमा लुई पन्ध्रौँको जस्तो गन्ध आउँथ्यो ।

विकोम्प्टेले उसको आग्रह सहर्ष स्वीकार गर्दै शिर निहुरायो । अन्ना पाभ्लोभ्नाले पनि उसको समूहलाई ध्यानपूर्वक त्यो कथा सुन्न आग्रह गरी ।

‘विकोम्प्टेले ड्युकलाई व्यक्तिगत रुपमा चिन्थ्यो,’ अन्ना पाभ्लोभ्नाले पाहुनाहरुमध्ये एक जनासँग कानेखुसी गरी । विकोम्प्टे मजा–मजाका कथा भन्ने उटुङग्याहा व्यक्ति हुन्,’ उसले अर्को पाहुनालाई भनी र तेस्रोलाई भनी, ‘उनी यसै उच्च वर्गमा पहुँच पुर्‍याएका व्यक्ति होइनन् ।’ त्यसपछि विकोम्प्टेलाई झानेको तातो–तातो (मासुको) सेकुवा ल्याएर टकारी ।

विकोम्प्टेले पनि कथा वाचन गर्ने सुरमा एउटा रहस्यमय मुस्कान छोड्यो ।

‘यहाँ आऊ, प्रिय हेलेन, ’ अलि पर अर्को समूहको केन्द्रविन्दु भएर कसेकी सुन्दरी राजकुमारीलाई अन्ना पाभ्लोभ्नाले भनी । रामकुमारी उठी । उसका मुहारमा पुरानै मुस्कुराहट (उपस्थिति हुने बखतको ) यथावत् थियो । उसले पहिरेको जलकोश र तरुरोहिणी फूलले सुशोभित चिट्ट परेको सेतो पोशाकबाट पाइला सार्दा स्वारस्वार गर्ने एक प्रकारको ध्वनि सुनिन्थ्यो । जगमगाउँदो स्कन्ध, टलकदार केशराशि र झलझलाकार हीरा–मोतीसहित ऊ हिँड्दा सबैले बाटो छोडिदिए । उसले कसैसँग आँखा नजुधाएर मात्र मुस्कुराइरहँदा यस्तो लाग्थ्यो मानौँ उसले कृपापूर्वक सबैलाई आफ्नो सुन्दर स्वरुप, सुलुक्क परेका काँध, फुकेका नितम्ब र उठेका स्तनको दर्शन गर्ने र प्रशंसा गर्ने सुअवसर प्रदान गरेकी होस् (तर उसको पहिरन त्यस बखतको समाजमा निकै छाडाजस्तो मानिन्थ्यो । ) ऊ अन्ना पाभ्लोभ्ना भएको ठाउँसम्म पुग्दा यस्तो लाग्थ्यो मानौँ उसले एउटा नृत्यशाला नै आफूसँगै लिएर आएकी होस् । असाधरण रुपकी स्वामिनी हेलेनले त्यहाँ हाउभाउ र कटाक्ष मात्र प्रदर्शन गरिन तर दिग्विजयी रुपका मदले लेस मात्र लज्जाबोध पनि गरिन्।

‘धन्यकी सुन्दरी,’ उसलाई देख्ने जति सबैले एउटै प्रतिक्रिया जनाए । विकोम्प्टेले उही पुरानै मुस्कानका साथ उसको सम्मुख आएर बस्दा र आफुमाथि नजर लगाउँदा आफ्ना काँध यसरी उचाल्यो र उसलाई यसरी हेरेको हेर्‍यै भयो मानौँ कुनै, अपूर्व घटना घटेका कारण ऊ कहालिएर तर्सिएको होस् ।

‘राजकुमारी हजुर, म आफूलाई यति ठूलो सभामा उपस्थित हुन लायक छैन जस्तो लाग्छ,’ उसले हाँसेर शिर निहुराउँदै भन्यो ।

राजकुमारीले आफ्ना खुला बाहुली टेबुलमाथि पसारी । विकोम्प्टेको उद्गारप्रति कुनै प्रतिक्रिया जनाउन आवश्यक ठानिन । कथा सुनुन्जेल ऊ टेबलमाथि अड्याउँदा परेको दवावका कारण परिवर्तित भएको आफ्नो सुन्दर बाहुलीको आकारका साथै झन् सुन्दर वक्षयस्थलमा, जसमाथि हीराको हार समायोजन गरेकी थिई, दृष्टिपात गर्दै निश्चल भएर बसिरही । पटक-पटक ऊ आफ्नो परिधान सुम्सुम्याउँथी । जब जब कथाले गहिरो प्रभाव पार्थ्यो, ऊ अन्ना पाभ्लोभ्नाको अनुहारतिर हेर्थी र उसले जस्तै भावभङ्गिमा प्रकट गर्थी अनि पुनः आफ्नो मुस्कानमय अवस्थामा फर्किन्थी ।

सानी राजकुमारी पनि हेलेनको पछि लागेर आएकी थिई ।

‘एकैछिन पर्खिनु है, मलाई आफ्नो काम पनि गर्नु छ । (राजकुमार हिप्पोलाइततिर फर्केर ) के सोचिरहनु भएको ? मेरो झोला ल्याइदिनु होस्,’ उसले भनी ।

त्यहाँनिर समूहका सबैको गति एकछिन चलाएमान भयो । प्रशन्न मुद्रामा सबैसँग कुरा गर्दै राजकुमारीले आफ्नो आसन ग्रहण गरी ।

‘ठीक छ अब,’ उसले भनी । र, विकोम्प्टेलाई कथा आरम्भ गर्न अनुरोध गर्दै आफ्नो काम सुरु गरी ।

झोला लिएर आएको राजकुमार हिप्पोलाइत पनि त्यहीँ समुहमा मिस्सियो र एउटा कुर्सी तानेर उसको नजिक गएर बस्यो ।

राजकुमार हिप्पालाइतको आकृति आफ्नी बहिनीसँग हुबहु मिले तापनि ऊ कुरुप थियो । बहिनी हँसमुख, भरिलो बदन, भर्भराउँदो अनुहार र शास्त्रीय सौन्दर्यकी स्वामिनी थिई भने ऊ दुर्बल र मुढ थियो । उसको नाक, आँखा र मुख लाटोका जस्ता थिए र हातगोडा पनि बाङ्गा–टिङ्गा थिए ।

‘भूतप्रेतको कथा त होइन होला क्यारे ?’ राजकुमारीको बगलमा बसेर हत्तपत्त हातको दुरबीन मिलाउँदै उसले भन्यो मानौँ त्यो दुरबीन नभए उसको मुखबाट बोली नै फुट्दैन। ‘किन हुन्थ्यो प्रिय मित्र,’ छक्क परेको कथावाचकले कुम हल्लाउँदै भन्यो, ‘किनभने नि, म भूतसम्बन्धी कथाहरूलाई घृणा गर्छु ।’ उसले आफ्ना शब्दहरुको अर्थ आफूले मात्र बुझेजस्तो भाषामा भन्यो ।

उसलाई आफ्ना शब्दहरुमा पूरा आत्मविश्वास थियो तर सुन्नेहरुले भने त्यो कुरा सरस थियो वा वाहियात थियो यकिन गर्न सकेनन् । उसले गाढा हरियो रङको कोट र घुडाँसम्म आउने बहुरङ्गी ब्रिचिस लगाएको थियो ।

विकोम्प्टेले कथा खुब मज्जासँग अर्थ लगाई लगाई सुनायो । त्यो कथा त्यसताकाको निकै प्रचलित एउटा प्रसिद्ध आख्यान थियो । एक दिन डयुक–डे–एनगाइन’ प्रसिद्ध अभिनेत्री कुमारी जर्जलाई भेट्न गोप्यरुपमा उसको घर पेरिस गएको रहेछ । त्यहाँ आफ्ना कट्टर प्रतिद्वन्द्वी बोनापाटसँग उसको जम्को भेट भयो । बोनापार्ट बेहोस भयो । उसको ज्यान ड्युकको हातमा थियो तर ड्युकले उसलाई छोडिदियो । कृतघ्न नेपोलियनले भने पछि गएर उसको हत्या गरेर गुनको बदला लियो । कथा खास गरेर त्यहाँनिर असाध्य रोचक थियो, जहाँनिर दुवै प्रतिद्वन्द्वीले आपसमा अचानक भेट हुँदा पनि एउटाले अर्कोलाई चिन्न सफल भए । तर महिलाहरु भने कथा सुनेर क्षुब्ध देखिन्थे ।

‘मन छुने कथा,’ अन्ना पाभ्लोभ्नाले सानी राजकुमरीतिर हेर्दै भनी ।

‘हो, मन छुने कथा,’ बुट्टा भर्ने कपडामा सियो घुसार्दै कथाको आनन्द लिँदा आफूले कामै समेत रोकेको प्रमाणित गर्न सानी राजकुमारीले अन्ना पाभ्लोभ्नाको कानमा खासखुस गरी ।

विकोम्प्टे यो मौन प्रशंसा सुन्दा उत्साहित भएर मुस्कुराउँदै कथा चालु राख्न तयार भयो तर त्यही बेला अन्ना पाभ्लोभ्ना आफूलाई डर लाग्ने त्यो जवान मानिस, जसमाथि उसले चियो गरिरहेकी थिई, आवेसँग ठूल्ठूलो स्वरमा बोलिरहेको देखेर बचाउका लागि ऊतर्फ हुर्रिदै गई । पियेर्रे ‘शक्तिसन्तुलन’का विषयमा आवेसँग छलफल गर्दै थियो । र, आवे पनि पियेरेको सरल उत्सुकताबाट प्रभावित भएर यस विषयमा आफ्नो व्यक्तिगत सिद्धान्तको व्याख्या गर्दै थियो । दुवै जना एक–आपसको तर्कपूर्ण कुरा सुन्दै छलफल गर्दै थिए तर अन्ना पाभ्लोभ्नालाई उनीहरुको कुरा मन परेन ।

‘तर त्यस्तो सन्तुलन कसरी सम्भव हुन्छ जस्तो लाग्छ तिमीलाई ? ’ पियेरेको प्रश्न थियो ।

‘त्यसको उपाय पनि सजिलो छ… युरोपमा शक्तिसन्तुलन र जनताको अधिकार,’ आवे भन्दै थियो। ‘रसियाजस्तो शक्तिशाली राष्ट्र, जसलाई एउटा बर्बर राष्ट्र पनि भनिन्छ, ले युरोपमा शक्तिसन्तुलनको लक्ष्य लिएका राष्ट्रहरुको नेतृत्व गरोस् । यस्तो राष्ट्रले नै संसारलाई विनास हुनबाट बचाउन सक्छ ।’ तर त्यस्तो सन्तुलन कसरी हुन्छ जस्तो लाग्छ तिमीलाई ? पियेरे प्रश्न गर्दै थियो ।

त्यही क्षण अन्ना पाभ्लोभ्ना आइपुगी र पियेरेतर्फ कडा नजरले हेर्दै उक्त इटालियालीलाई– रसियाली वातावरण र हावापानी कस्तो लाग्यो भनेर सोधी । इटालियालीको अनुहारले तत्काल परिवर्तित भएर एउटा आक्रमक रुप धारण गर्‍यो । महिलाहरुसँग विवाद भयो भने उसलाई यस्तै हुन्थ्यो ।

‘यहाँको समाजको प्रज्ञानता र संस्कृतिदेखि म मोहित भएको छु, खास गरेर महिला समाजको, जहाँबाट मलाई यस बिशाल समारोहमा निम्तो पाउने सौभाग्य प्राप्त भयो तर मलाई हावापानी र वातावरणबारे चिन्तन गर्ने अवसर भने अझ मिलेको छैन ।’

आवे र पियेरेलाई उम्कन नदिएर अवलोकन गर्न प्रयोगशालामा राख्ने हेतुले अन्ना पाभ्लोभ्नाले उनीहरुलाई ठूलो भीडमा लगेर मिसाई ।

(क्रमशः)

प्रतिक्रिया
Loading...