नेपाली साहित्यको सम्पूर्ण पत्रिका

अल्बेयर कामुको चर्चित उपन्यास ‘आउटसाइडर’को नेपाली अनुवाद ६

अल्बेयर कामुको प्रख्यात उपन्यास ‘आउटसाइडर’ (कतिपयले ‘द स्ट्रेन्जर’ नाममा पनि अंग्रेजीमा छापेका छन्) यो नेपाली अनुवाद ‘आगन्तुक’ हामीलाई प्रख्यात अनुवादक हरिहर खनालले उपलब्ध गराउनु भएको हो । उहाँका धेरै अनुदित कृति बजारमा आएका छन् ।

अल्बेयर कामुको परिचय

अल्बेयर कामु १९१३ मा अल्जेरियामा जन्मिएका थिए । उनको बाल्यकाल गरिबीमा बितेको थियो तथापि बेखुस जीवन थिएन । उनले अल्जियर्स विश्वविद्यालयमा दर्शनशास्त्र अध्ययन गरे र एउटा पत्रकारका साथै Théâtre de l’équipe नाम भएको नयाँ एवम् प्रगतिशील विचारको नाटक मण्डलीको गठन गरेर त्यसको अगुवा बने ।

उनका सुरुका निबन्धहरू L’Envers et l’endroit (The Wrong Side and the Right Side) र Noces (Nuptials) मा सङ्ग्रहित छन् । उनी प्यारिस गए जहाँ उनले अल्जेरिया फर्कनुभन्दा अघिसम्म Paris Soir भन्ने अखबारमा काम गरे । उनको नाटक Caligula १९३९ मा प्रकाशनमा आयो ।

उनका पहिला दुई महत्त्वपूर्ण पुस्तकहरू L’Etranger (The Outsider) र लामो निबन्ध Le Mythe de Sisyphe (The Myth of Sisyphus) उनी प्यारिस फर्केपछि प्रकाशित भएका थिए । १९४१ मा जर्मनहरूले फ्रान्सलाई नियन्त्रणमा लिएपछि कामु प्रतिरोध अभियानका बुद्धिजीवी नेताहरूमध्ये एक भए । उनले Combat नामक भूमिगत अखबार सम्पादन गरे र त्यसका लागि लेखहरू लेखे, जुन पत्रिकाको स्थापनामा उनले सहयोग गरेका थिए । युद्ध समाप्त भएपछि उनले आफूलाई लेखनमा समर्पण गरे र La Peste (The Plague, 1947), Les Justes (The Just, 1949), र La Chute (The Fall, 1956) जस्ता पुस्तकहरूबाट अन्तर्राष्ट्रिय ख्याति प्राप्त गरे । १९५० को दशकको अन्त्यतिरको समयावधिमा लेखेर र William Faulkner को Requiem for a Nun र Dostoyevsky को The Possessed को निर्देशन गरेर कामुले थिएटरप्रतिको उनको चाखलाई पुनर्जागृत गरे ।

१९५७ मा उनलाई साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरियो । १९६० मा उनी एउटा सडक दुर्घटनामा मारिएका थिए । उनको अन्तिम उपन्यास Le Premier Homme (The First Man) उनको मृत्युको समयमा अपुरो थियो र त्यो १९९४ मा पहिलोपल्ट प्रकाशित भयो । तत्कालै त्यो अत्यधिक बिक्री हुने पुस्तकहरूको सूचीमा पर्‍यो, व्यापक रूपमा बहुचर्चित भयो र तीसभन्दा बढी देशमा अनूदित र प्रकाशित भयो ।

सात्रले उनको समवेदना सन्देशमा कामुप्रति यसरी श्रद्धा अर्पण गरेका छन्ः
‘कामु हाम्रो सांस्कृतिक विचार पद्धतिका प्रधान शक्तिहरूमध्ये एक हुन कहिल्यै पनि छाड्ने छैनन्, न त उनले आफ्नै तरिकाले फ्रान्सको इतिहास र यो समाजको प्रतिनिधित्व गर्न नै छाड्ने छन् ।’

 

 

०००

०००

त्यो आइतबार मलाई हिँडडुल गर्न कठिन भैरहेको थियो र मेरीले मलाई चिच्च्याएर बोलाउनु परेको र मलाई घचेट्नु परेको थियो । हामीहरूले केही पनि खाएनौँ किनभने हामी सबेरै पौडी खेख्न जान खोज्यौँ । मैले बिलकुलै रित्तो भएको अनुभूति गरेँ र मलाई अलिकति टाउको पनि दुखिरहेको थियो । मेरो चुरोटको स्वाद तीतो लाग्यो । मेरीले मेरो मजाक उडाई किनभने मेरो अनुहार ‘अन्त्येष्टि गर्दाजस्तो’ देखिएको थियो भनेर उसले भनी । उसले सेतो लिनेन कपडा लगाएकी थिई र कपाल छोडेकी थिई । मैले उसलाई ऊ राम्री छ भनेँ र ऊ खुसी भएर हाँसी ।

हामीहरू तल झर्दै गर्दा हामीले रेमन्डको ढोका ढकढक्यायौँ । उसले हामीलाई आइहालेँ भन्यो । म थकित भएको हुलाने र हामीले झ्यालको काठको पर्दा पनि नखोलेको हुनाले, बाहिर सडकमा, बिहानको चर्को घामले मलाई अनुहारमा थप्पड हानेझैँ चसक्क पोल्यो । मेरी रमाएर उफ्रँदै थिई र आहा कति सुन्दर दिन हो यो भनिरहेकी थिई । मैले अलिकति राहत पाएको महसुस गर्न थालेँ र मैले के थाहा पाएँ भने मलाई भोक लागेछ । मैले मेरीलाई भनेँ र उसले उसको पानी नछिर्ने झोलातिर देखाई जहाँ उसले पौडी खेल्दा लगाउने हाम्रा कपडा र तौलिया राखेकी थिई । हामीहरूले पर्खनुपर्‍यो र हामीले रेमन्डले उसको ढोका बन्द गर्दै गरेको सुन्यौँ । उसले निलो पाइन्ट र आधा बाहुला भएको सेतो कमिज लगाएको थियो । तर उसले छ्वालीबाट बनेको टोप लगाएको थियो जसले म्यारीलाई हँसायो, र उसका अगाडिका पूरै पाखुरा कालो कपालमुनि सेता देखिएका थिए । मलाई अलिकति रिस उठेको थियो । तल आउँदै गर्दा ऊ सुसेली हालिरहेको थियो र ऊ वास्तवमै खुसी देखिन्थ्यो । उसले मलाई ‘ओ मान्छे,’ भन्यो र मेरीलाई ‘सुश्री’ भनेर सम्बोधन गर्‍यो ।

अघिल्लो दिन हामी पुलिस चौकी गएका थियौँ र केटीले रेमन्डलाई ‘छलकपट’ गरेकी थिई भनेर मैले गवाही दिएको थिएँ । चेतावनी सहित ऊ हिँड्यो । उनीहरूले मेरो भनाइलाई परीक्षण गरेनन् । ढोकाको सिँढीमा हामीले यसबारे रेमन्डसित कुरा गर्‍यौँ र त्यसपछि हामीले एउटा बस समात्ने निधो गर्‍यौँ । समुद्र किनार धेरै टाढा थिएन, तर त्यसरी जाँदा हामी त्यहाँ छिटो पुग्थ्यौँ । हामीहरू चाँडै त्यहाँ पुगेको देख्ता उसको साथी खुसी हुनेछ भन्ने उसलाई लागेको थियो भनेर रेमन्डले भन्यो । हामीहरू हिँड्नै थाल्दा रेमन्डले एक्कासि सडकतिर औँल्यायो । मैले हेरेँ र अरबहरूको एक समूह सुर्तीवालाको पसल अगाडिको भागमा आड लागेर बसिरहेको देखेँ । तिनीहरू हामीलाई चुपचाप, तर तिनीहरूको आफ्नै विशेष शैलीमा, मानौँ कि हामीहरू ढुङ्गाका मूर्ति वा निर्जीव रूख सिवाय केही होइनाँैझैँ गरी हेरिरहेका थिए । रेमन्डले मलाई के भन्यो भने देब्रेबाट दोस्रो चाहिँ उसले भनेको मान्छे हो, र ऊ चिन्तित देखियो । उसले के थप्यो भने कुनै किसिमले अहिले यो सबै समाधान भैसकेको छ । मेरीले वास्तवमा यो बुझिन र के भएको हो भनेर सोधी । मैले उसलाई के भनेँ भने यी अरबहरूको रेमन्डका विरुद्ध केही छ । रेमन्ड सिधा उभियो, र हामी हिँडीहाल्न ठीक होला भनेर हाँस्यो ।

हामीहरू बस स्टपतिर गयौँ जुन अलिकति परतिर थियो, र रेमन्डले मलाई के भन्यो भने अरबहरूले हामीहरूलाई पछ्याइरहेका छैनन् । मैले फर्केर हेरेँ । तिनीहरू पहिलेकै स्थानमा थिए र हामीहरू भर्खर गएको ठाउँलाई उस्तै किसिमको उदासिनतापूर्वक हेरिरहेका थिए । हामीले बस समात्यौँ । रेमन्ड, जो चिन्तामुक्त भएजस्तो देखिन्थ्यो, मेरीका निम्ति दिल्लगी गरिरहेको थियो । म के भन्न सक्थेँ भने उसले मेरीलाई मन पराएको थियो, तर उसले उसलाई मुस्किलैले एक शब्द भनी । जति बेला पनि उसले उसलाई हेरिरहेकी र हाँसिरहेकी थिई ।

हामीहरू अल्जियर्सको बाहिरी भागतिर झर्‍यौँ । समुद्र किनार बस स्टपबाट टाढा छैन । तर हामीले एउटा सानो टारी छिचोल्नुपर्ने थियो जहाँबाट समुद्र देखिन्थ्यो र त्यसपछि भिरालोे हुँदै समुद्र किनारसम्म पुग्थ्यो । यो पहिले नै कडा निलो आकाशमा आड लागेका पहेँला र चम्किला सेता चट्टानले भरिएको थियो । मेरी टेबलपोस राखेको झोला हल्लाउँदै र जताततै पूmलको थुँगाका पत्ता छर्दै मन बहलाइरहेकी थिई । कुनै बरन्डासम्म बेगनबेली पूmलले आधा ढाकिएका र कुनै चट्टान बिचमा यत्तिकै ठिङ्ग ठडिएका ससाना घरहरूका लहर बीचबाट हामीहरू अगाडि बढ्यौँ । टारको किनारमा पुग्नुभन्दा पहिले हामीले समुद्रको गतिहीन सतह र त्यसभन्दा पर सफा निर्मल पानीमा भित्रसम्म फैलिएको एउटा निकै ठूलो अन्तरिप देख्यौँ । एउटा इन्जिनको मधुरो आवाज हावामा तैरिँदै हामीतिर आयो । र अलिकति पर माछा मार्ने एउटा जाल चम्किइरहेको समुद्रमा नजानिँदो किसिमले तैरिरहेको हामीले देख्यौँ । मेरीले केही सामुद्रिक फूल टिपी । भिरालोबाट तल समुद्र किनारतिर जाँदा, हामीले के दख्यौँ भने त्यहाँ पहिलेदेखि नै केही मानिसहरू पौडी खेलिरहेका थिए ।

बिचको पल्लो छेउमा रेमन्डको साथीको छुट्टी मनाउने एउटा सानो काठैकाठले बनेको घर थियो । घरको पछिल्लो खण्ड चट्टानमा अडिएको थियो, अगाडिको भागलाई थामेका खम्बाहरू भने पानीभित्रै गाडिएका थिए । रेमन्डले हाम्रो परिचय गरायो । उसको साथीलाई म्यासन भनिन्थ्यो । ऊ चौडा काँधवाला अग्लो मान्छे थियो । त्यसकी जहान सानो गाँठीकी टुमुक्क परेकी, प्यारिसेली उच्चारण भएकी मित्रवत् महिला थिई । उसले हामीलाई तत्कालै घर लिएर गयो र उसले त्यही बिहान समातेका अलिकति माछा तिनीहरूले हाम्रा लागि तारेका छन् भन्यो । मैले उसलाई उसको घर मलाई खुबै मन पर्‍यो भनेँ । उसका सबै शनिबार, आइतबार र बिदाका दिनहरू त्यहीँ बिताउने कुरा उसले मलाई जानकारी गरायो । ‘म मेरी पत्नीसित बस्न यहीँ रमाउँछु’ उसले थप्यो । र त्यति नै बेला उसकी दुलही मेरीसितै हाँसिरहेकी थिई । सायद पहिलोपल्ट, मैले वास्तवमा नै मेरो विवाह गर्ने बारे सोचेँ ।

म्यासन पौडी खेल्न जान चाहन्थ्यो, तर रेमन्ड र उसकी दुलही आउन चाहेनन् । हामी तीनजना तल झर्‍यौँ । म्यारी सोझै पानीमा हामफाली । म्यासन र मैले एकछिन पर्खियौँ । ऊ बिस्तारै बोल्थ्यो र मैले के थाहा पाएँ भने उसले बोलेको हरेक कुरा टुङ्ग्याउँदा, पछि उसको भनाइको अर्थमा कुनै कुरा थप्नुपर्ने अर्थमा समेत ‘र, के भने’ भन्ने उसको थेगो बसेको थियो । मेरीको सन्दर्भ दिएर उसले के भन्यो भने ‘त्यो पौडी खेलिरहेकी छे र त्यो राम्री पनि छे ।’ त्यसपछि मैले उसको यो बानीप्रति कुनै ध्यान दिइन किनभने मलाई न्यानो लागिरहेको घाम ताप्न म एकाग्र हुन थालेको थिएँ । पाइतालामुनिको बालुवा तात्न थालेको थियो । मैले केही बेरसम्म पानीमा जान अस्वीकार गरेँ, तर पछि मैले म्यासनलाई ‘जाऊँ !’ भन्दै पानीमा छलाङ लगाएँ । ऊ बिस्तारै पानीमा गयो र आपूm नडुब्ने पानीसम्म पुग्यो र डुबुल्की मार्‍यो । उसले भ्यागुते खियायो र त्यो निकै खराब पनि थियो, त्यसैले मैले उसलाई छोडेँ र मेरीसित मिसिन गएँ । पानी चिसो थियो र मलाई पौडी खेलिरहँदा खुसी लागेको थियो । मेरी र म सँगसँगै पौडँदै, सँगसँगै बहँदै सँगसँगै सन्तुष्ट भएको अनुभूति गर्‍यौँ ।

बाहिर हामी उत्तानो परेर सुत्यौँ र आकाशतिर फर्किएको मेरो अनुहारमा मेरो मुखतिर तप्किएका पानीका थोपाहरू घामले सोसिरहेको मैले अनुभव गरेँ । हामीले म्यासनलाई बिचमा घाममा उत्तानो परेर सुत्नका लागि फर्केर गैरहेको देख्यौँ । टाढाबाट ऊ भयङ्कर देखियो । मेरी हामीहरू सँगै पौडी खेलौँ भन्ने चाहन्थी । म उसको कम्मर समात्न त्यसको पछिल्तिर गएँ । मैले खुट्टाले धकेलेर सघाएपछि ऊ पाखुरा चलाएर खियाउन थाली । मैले थकाइ अनुभव गर्न नथालेसम्म नै बिहानको हावाका सहाराले सानु छप्लाङछप्लाङ आवाजले हामीहरूलाई पछ्याइरह्यो । त्यसैले त्यसपछि मैले बिस्तारै पौडँदै र नियमित रूपमा सास लिँदै मेरीलाई छाडेँ र अगाडितिर लागेँ । बिचमा म्यासनसँगै म घोप्टो परेर लमतन्न मुद्रामा सुतेँ र मेरो अनुहार बालुवामा टेकाएँ । मैले रमाइलो भयो भनेँ र उसले मेरो भनाइप्रति समर्थन जनायो । त्यसपछि तुरुन्तै मेरी आई । ऊ आएको हेर्न म त्यता फर्किएँ । त्यो नुनिलो पानीले लच्याप्पै भिजेर टल्किइरहेकी थिई र त्यसको कपाल अनुहारबाट पछाडितिर फ्याँकिरहेकी थिई । ऊ मेरै आडमा पल्टिई र उसको शरीरलाई न्यानो पारी र घामको न्यानो तापले मलाई अलिकति झप्प छोप्यो ।

मेरीले मलाई झकझक्याई र म्यासन फर्केर घर गइसक्यो, खाना खाने बेला भइसक्यो भनी । म जुरुक्क उठेँ किनभने मलाई भोक लागेको थियो, तर मेरीले मलाई के भनी भने मैले उसलाई बिहानैदेखि चुम्बन गरेको थिइन । कुरो साँचो थियो र मलाई त्यसो गर्न मन लाग्यो । ‘पानीमा आऊ ।’ उसले भनी । हामी दौडियौँ र किनाराका ससाना छालहरूमा हातगोडा फिँजाएर पसारियौँ । हामीले एकाध क्षण पौडी खेल्यौँ र ऊ मसित टाँसिन पुगी । मैले मेरा गोडाहरू उसका गोडासित जोल्टिएको अनुभव गरेँ र मैले उसलाई चाहेँ ।

हामी फर्केर आउँदा, म्यासनले हामीलाई पहिले नै बोलाइरहेको थियो । मैले ‘मलाई धेरै भोक लागिरहेको छ’ भनेँ र उसले तत्कालै उसकी दुलहीसित के भन्यो भने उसले मलाई मन परायो । ब्रेड राम्रो थियो, र मैले मेरो भाग माछा पनि सिध्याएँ । त्यसपछि त्यहाँ अलिकति मासु र आलु थियो । हामीहरू सबैले चुपचाप खायौँ । म्यासनले बेस्सरी वाइन पियो र मेरो गिलास पनि लगातार भर्दै रह्यो । जब कफी खाने बेला भयो, मलाई निकै गर्मी भैसकेको थियो र मैले धेरै धुमपान गरेँ । म्यासन, रेमन्ड र मैले खर्च बाँडेर पूरै अगस्त महिना सँगसँगै बिताउने विचार गर्‍यौँ । एक्कासि मेरीले भनी, ‘कति बज्यो तिमीलाई थाहा छ ? साढे ११ बजिसक्यो ।’ हामी दङ्ङ परेका थियौँ, तर म्यासनले भन्यो, हामीले खाना चाँडै खाएका थियौँ र त्यो बिलकुल स्वाभाविक थियो, किनभने तिमीलाई जति बेला भोक लाग्छ, खाना खाने त्यही समयमा नै हो । कुनै कारणले त्यसले म्यारीलाई हाँसो लाग्यो । मलाई लाग्छ उसले अलिकति धेरै पिएकी थिई । त्यसपछि म्यासनले मलाई ऊसित बिचतिर घुम्न जान मन लागेको छ कि भनेर सोध्यो । ‘खाना खाएपछि मेरी पत्नी सधैँ आराम गर्छे । तर मलाई त्यसो गर्न मन लाग्दैन । मलाई हिँड्नुपर्छ । मैले उसलाई सधैँ के भनिरहन्छु भने यसो गर्नु स्वास्थका लागि राम्रो हुन्छ । तर यो त खासमा उसैमा भर पर्छ ।’ मेरीले के भनी भने ऊ त्यहीँ बसेर श्रीमती म्यासनलाई भाँडा माझ्ने काममा सघाउने छ । त्यो सानी प्यारिसेली महिलाले के भनी भने त्यसका निम्ति तिनीहरूले लोग्नेमान्छेहरूमाथि विजय हासिल गर्नुपर्छ । हामी तीनैजना बाहिर गयौँ ।

घाम बालुवामा लगभग ठाडो किसिमले चम्किइरहेको थियो र समुद्रबाट आएको टलक असह्य किसिमको थियो । समुद्र किनारमा कोही पनि बाँकी थिएन । समुद्र देखिने उच्च भूभागको किनारामा अवस्थित काठका आरामगृहहरूबाट चक्कु र कप–प्लेट बजेको आवाज आएको थियो । जमिनबाट निस्केको सुखा तापमा सास फेर्न मुस्किल थियो । सुरुमा रेमन्ड र म्यासनले मलाई कत्ति पनि थाहा नभएका कुराहरू र मानिसहरूका विषयमा कुराकानी गरे । मैले के बुझेँ भने तिनीहरू केही समयअघिदेखि एकअर्कालाई जान्दा रहेछन् र एक पटक सँगै बसेका समेत रहेछन् । हामीहरू तल पानीतिर झर्‍यौँ र समुद्रको किनारैकिनार हिँड्यौँ । सानु छाल घरीघरी अरूहरूभन्दा अग्लो भएर उठ्थ्यो र हाम्रा क्यानभास जुत्ता भिजाउँथ्यो । मैले कुनै विषयमा पनि सोचिरहेको थिइन किनभने सोझै मेरो टाउकोमाथि लागिरहेको घामले मलाई लट्ठ पारिरहेको थियो ।
त्यती नै बेला रेमन्डले म्यासनलाई केही भन्यो जुन मैले बिल्कुलै सुनिन । तर त्यही समयमा, समुद्र किनारको पल्लो छेउमा र हामी भएको ठाउँबाट निकै पर माथिदेखि तलसम्म ढाकिएको बोइलर कोटमा मैले दुई जना अरबहरू हामीतिर आइरहेको देखेँ । मैले रेमन्डतिर हेरेँ र उसले भन्यो, ‘यो त्यही मान्छे हो ।’ हामी हिँड्यौँ । तिनीहरूले हामीलाई यहाँसम्म पछ्याउन कसरी सके भनेर म्यासन दङ पर्‍यो । मलाई लाग्यो, सम्भवतः तिनीहरूले हामीलाई समुद्र किनार जाने ब्याग लिएर बस चढ्दै गरेको देखेका थिए, तर मैले केही पनि भनिन ।

अरबहरू बिस्तारै अघि बढिरहेका थिए र तिनीहरू यसअघि नै निकै नजिक आइपुगेका थिए । हामीले हिँडाइको गति फेरेनौँ, तर रेमन्डले भन्यो, ’यदि लडार्इँ भयो भने, म्यासन, तिमीले दाहिनेतिरकोलाई समाल । मैले मेरो मान्छेलाई हेर्ने छु । मरसोल्ट, यदि अर्को फर्कियो भने त्यसको जिम्मा तिम्रो ।’ मैले ‘हुन्छ’ भनेँ र म्यासनले उसका हात गोजीमा घुसार्‍यो । बालुवा यति तातो थियो कि त्यो रातो भएजस्तो लाग्थ्यो । हामीहरू बिस्तारै अरबहरूतिर बढिरहेका थियौँ । हामीबीचको दूरी लगातार कम हुँदै गइरहेको थियो । जब हामी एकअर्काबाट केही कदममात्र फरकमा थियौँ, अरबहरू रोकिए । म्यासन र मैले गति घटायौँ । रेमन्ड सोझै उसको मान्छे भएको ठाउँमा गयो । उसले उसलाई के भन्यो मैले बिलकुलै सुनिन, तर अरबले उसलाई टाउकाले उधिनौँलाझैँ गर्‍यो । रेमन्डले त्यसपछि पहिलो मुक्का हान्यो र तत्कालै म्यासनलाई चिच्यायो । म्यासन उसलाई जिम्मा लगाइएको मान्छेतिर गयो र उसको भए भरको बलले दुई पटक हान्यो । अरब ढुनमुनिँदै पानीमा मुख जोतेर घोप्टो परेर त्यहीँ पछारियो र धेरै सेकेन्डसम्म ढलिरह्यो जहाँ उसको गोलो टाउको पानीमुनि जमिनमा जोतिएको थियो र त्यसको मुखबाट निस्केको श्वासले पानीका फोकाहरू सतहमा उठिरहेका थिए । त्यसैबीच रेमन्डले त्यसरी नै अर्कोचाहिँलाई गोदेको थियो र उसको अनुहार रगतपच्छे भएको थियो । रेमन्ड मतिर फर्कियो र भन्यो, ‘मैले यसलाई नसिध्याएसम्म तिमी पर्ख ।’ म चिच्याएँ, ‘होसियार, उसले चक्कु लिएको छ !’ तर त्यसअघि नै रेमन्डको पाखुरा आँ परेर काटिइसकेको थियो र उसको मुखमा गहिरो घाउ लागेको थियो ।

म्यासन उफ्रेर अगाडि गयो । तर अर्को अरब फेरि उठेको थियो र ऊ चक्कुवाला अरबतिर गयो । हामीहरू हिँड्ने हिम्मत गर्न सकेनौँ । तिनीहरू बिस्तारै, हामीहरूबाट आँखा नहटाइकन र हामीलाई चक्कुले आक्रमण गर्न सक्ने सम्भावनाबीच पछाडितिर गए । जब तिनीहरूले एउटा सुरक्षित दूरीमा पुगेको ठाने, तिनीहरू सके जति छिटो दौडिए र हामीहरू घाममुनि, जमिनमा टाँसिएको अवस्थामा रगत बगिरहेको पाखुरा अँठ्याउँदै गरेको रेमन्डसँगै छाडियौँ ।

म्यासनले तत्कालै के भन्यो भने आइतबार पठारमा बिताउने गरेको एक जना चिकित्सक थियो । रेमन्ड सरासर उसैकहाँ जान चाह्यो । तर ऊ हरेक पटक बोल्दा उसको मुखभित्रको घाउबाट रगतका फोका निस्कन्थे । हामीले उसलाई आरामगृहसम्म जति सक्यो त्यति चाँडो लान मदत गर्‍यौँ । हामी त्यहाँ पुगेपछि रेमन्डले हामीलाई के भन्यो भने उसको घाउ मामुली छ र डाक्टरकहाँ हिँडेरै जान सक्छ । ऊ र म्यासन गए, म के भएको थियो भन्ने कुरा महिलाहरूलाई सम्झाउन बसेँ । श्रीमती म्यासनका आँसु खसे र मेरीको अनुहारको रङ उड्यो । तिनीहरूसित त्यो घटनाको वर्णन गरेकोमा मलाई नमजा लाग्यो । मैले केही पनि नभनी कुरो टुङ्ग्याएँ र चुरोट तान्दै समुद्र हेरेँ ।

साढे एक बजेतिर रेमन्ड म्यासनसित फर्कियो । उसको हातमा माथिसम्म पट्टी बाँधिएको थियो र उसको मुखको कुनामा अलिकति च्यापच्याप लाग्ने प्लास्टर थियो । डाक्टरले उसलाई यो खासै केही होइन भनेको थियो तर रेमन्ड धेरै अँध्यारो देखिन्थ्यो । म्यासनले उसलाई हँसाउन खोज्यो । तर ऊ अझै बोलेन । जब उसले ऊ तल समुद्र किनारमा जाँदैछ भन्यो, मैले उसलाई कहाँ जाँदैछ भनेर सोधेँ । उसले मलाई के भन्यो भने ऊ हावा खान चाहन्छ । म्यासन र मैले हामी पनि ऊसित जान्छौँ भन्यौँ । त्यसमा ऊ रिसायो र हामीलाई गाली गर्‍यो । म्यासनले हामीले ऊसित तर्क गर्ने हुँदैन भन्यो । तर मैले उसलाई उसरी नै पछ्याए ।
हामीहरू धेरै बेरसम्म समुद्र किनारमा हिँड्यौँ । समुद्र र बालुवामा घाम बाणझैँ खनिएको थियो र ससाना टुक्राहरूमा छिरलिएको थियो । मलाई कस्तो छाप परेको थियो भने रेमन्ड कहाँ जाँदैछ भन्ने उसलाई थाहा थियो, तर मेरो सोचाइ सायद गलत थियो । अन्त्यमा हामी समुद्र किनारको पल्लो छेउमा, चट्टानबाट निस्केर बालुवामा बगिरहेको एउटा सानो झरनामा पुग्यौँ । त्यहाँ हामीले हाम्रा दुई जना अरबलाई भेट्यौँ । तिनीहरू त्यहाँ तिनीहरूका माथिदेखि तलसम्म ढाकिने चिप्ला बोइलर सुटमा पल्टिइरहेका थिए । तिनीहरू बिलकुलै शान्त र सन्तुष्ट देखिन्थे । हाम्रो पहुँचले तिनीहरूमाथि कुनै असर परेन । रेमन्डलाई आक्रमण गर्नेचाहिँ चुपचाप उसलाई हेरिरहेको थियो । अर्कोचाहिँ, छड्के आँखाले हामीलाई हेर्दै नर्कटको सानो बाँसुरी बजाइरहेको थियो । ऊ बाँसुरीबाट निस्कने तीनवटा धुन घरीघरी दोहोर्‍याइरहेको थियो ।

त्यो समयमा सानो झरनाको आवाजसँगै तीनवटा धुनबाहेक त्यहाँ केवल घाम र निःशब्दता थियो । त्यसपछि रेमन्डले उसको पछाडिको खल्तीमा हात घुसार्‍यो, तर अरबहरू हलचल भएनन्, तिनीहरू केवल एकअर्कालाई हेरेर बसिरहे । मैले के देखेँ भने बाँसुरी बजाउनेचाहिँका खुट्टाका बूढी औँला अगाडितिर फैलिएका थिए । तर उसका विरोधीहरूतिरबाट आँखा नहटाइकन रेमन्डले मलाई सोध्यो, ‘मैले त्यसलाई यो पिलाइदिऊँ ?’ मैले सोचेँ, यदि मैले हुँदैन भनेँ भने पनि ऊ आपैmँले उसको काम तमाम गर्नेछ र गोली दाग्न तयार हुनेछ । मैले सामान्य किसिमले उसलाई भनेँ, ‘उसले अहिलेसम्म तिमीलाई केही भनेको छैन । त्यस किसिमले गोली चलाउनु अनुचित हुन सक्छ ।’ फेरि त्यहाँ निःशब्दता र तापका बीच पानी र बाँसुरीको आवाज थियो । त्यसपछि रेमन्डले भन्यो, ‘त्यसो भए म उसलाई अपमान गर्छु र जब उसले जवाफ दिन्छ, मैले उसलाई त्यसो गर्न दिने छु ।’ मैले उत्तर दिएँ । ‘ठीक छ । तर यदि उसले चक्कु निकालेन भने, तिमी उसलाई गोली हान्न सक्तैनौ ।’ रेमन्ड अलिकति उत्तेजित हुन थाल्यो । अर्को अरब अहिलेसम्म बाँसुरी बजाइरहेको थियो र ती दुवैले रेमन्डका हरेक गतिविधि हेरिरहेका थिए । ‘होइन,’ मैले रेमन्डलाई भनेँ, ऊसित बाहुबलले नै लड र तिम्रो बन्दुक मलाई देऊ । यदि अर्कोले हस्तक्षेप गर्‍यो भने वा चक्कु झिक्यो भने मैले त्यसलाई गोली पिलाइदिने छु ।

जब रेमन्डले मलाई उसको बन्दुक दियो, घामका किरण त्यसमा परे र त्यो टलक्क टल्कियो । र त्यति बेलासम्म पनि मानौँ कि हरेक वस्तु हामीहरूको नजिकै थियोझैँ गरी हामीहरू हलचल नगरी बस्यौँ । हामीहरू केवल एकअर्कालाई आँखा तरेर बस्यौँ र त्यहाँ बालुवा, सूर्य र समुद्रबीच, बाँसुरी र पानीको दोहोरो नीरवतामा, हरेक चिज रोकिएको थियो । मैले त्यो बेला के अनुभव गरेँ भने कसैले गोली हान्न सक्छ वा नहान्न सक्छ । तर अकस्मात् अरबहरू पछि हटे र चट्टानपछि घुस्रिए । त्यसैले रेमन्ड र म फर्कियौँ । उसले अलिकति राहत महसुस गरेजस्तो देखियो र घर फर्कने बसका विषयमा कुरा गर्‍यो ।

म ऊसित आरामगृहसम्म गएँ तर, जब ऊ काठका सिँडी चढ्यो, म, काठको भर्‍याङ चढ्ने प्रयत्न गर्न असमर्थ भएर, फेरि महिलाहरूलाई आराम दिलाउन, घामले जलिरहेको टाउको लिएर तलै बसेँ । तर यति गर्मी थियो कि आकाशबाट खसेको मुसलधारे वर्षामा उभिइरहन गाह्रो भइझैँ खपी नसक्नु थियो । म त्यहाँ बस्नु र नबस्नुको एउटै अर्थ हुन्थ्यो । एकदुई मिनेटपछि म समुद्र किनारतिर फर्किएँ र हिँड्न थालेँ ।

बाहिर अझैसम्म पनि उही तिरमिर पार्ने रातो चमक थियो । ससाना छालहरू निरन्तर बालुवामा छल्किइरहेका थिए र निसासिँदो समुद्र श्वास लिनका लागि स्वाँस्वाँ गर्दै थियो । म बिस्तारै चट्टानतिर गैरहेको थिएँ र मैले मेरो निधार सूर्यमुनि चड्किइरहेको महसुस गर्न सक्थेँ । म हिँड्ने प्रयत्न गर्दै रहँदा ताप ममाथि पूरै खनिएको थियो । र हर क्षण मैले मेरो अनुहारमा यसको तातो लप्काले हानिरहेको अनुभूत गरेँ, मैले दाँत किटेँ, मेरो पाइन्टको गोजीमा मुट्ठी घुसारेँ र घाम र ममाथि खनिइरहेको मदमत्त तुवाँलोको प्रतिरोधमा पूरै शरीर कडा पारेँ । बालुवाबाट निस्केको, सेतो खबटाबाट आएको वा फुटेको सिसाबाट निस्केको प्रकाशको हरेक धारले मेरा बङ्गारालाई कसिरहेको थियो । म धेरै बेरसम्म हिँडेँ ।

अलिकति टाढाबाट मैले आँखै तिर्मिर्‍याउने खाले प्रभामण्डलको प्रकाश र छिर्काले घेरिएको चट्टानको सानोसानो कालो डल्लो देख्न सक्थेँ । म चट्टान पछाडिको चिसो झरनाका विषयमा सोचिरहेको थिएँ । मैले घामबाट र महिलाहरूका आँसुबाट उम्केर फेरि छायामा आराम गर्न र त्यसको पानीको कलकल ध्वनि पुनः सुन्न चाहेको थिएँ । तर जब म नजिकै पुगेँ, मैले रेमन्डको अरब फर्केर आएको देखेँ ।

ऊ एक्लै थियो । ऊ पूरै शरीर घाममा र निधार चट्टानको सियाँलमा पारेर टाउको पछाडि हात राखेर पिठ्युँको आड लागेर पल्टिइरहेको थियो । उसको बोइलर सुट गर्मीले तातेर पसिना आइरहेको थियो । जहाँसम्म मेरो सवाल थियो, सबै ठीकठाक थियो र मैले यसबारे कुनै विचार नगरी त्यहाँ गएको थिएँ ।

उसले मलाई देख्नेबित्तिकै ऊ हल्का किसिमले बस्यो र उसको हात गोजीमा घुसार्‍यो । स्वाभाविक रूपमा, मैले मेरो ज्याकेटभित्रको रेमन्डको बन्दुक दरो किसिमले समातेँ । त्यसपछि ऊ फेरि पल्टियो, तर हात गोजीबाट नझिकीकन । म उसबाट अलिकति, यस्तै १० गजजति टाढा थिएँ । मैले त्यसलाई जति बेला पनि, आँखा चिम्लिएझैँ गरी मलाई हेरिरहेको देख्थेँ । तर अधिकांश समय ऊ मेरो अगाडि तातो हावामा नाचिरहेको एउटा आकारझैँ देखिन्थ्यो । लहरहरू मध्यदिनका भन्दा लामा र सुस्त देखिन्थे । हिजो–अस्तिकै झैँ यो उही सूर्य, उही प्रकाश र उही बालुवा थियो । दुई घण्टादेखि दिन स्थिर रहेको थियो, दुई घण्टादेखि यो पग्लिरहेको धातुको समुद्रमा झुन्डिइरहेको थियो । एउटा सानु डुङ्गा क्षितिज बाहिर गयो र मैले यसलाई आँखाको कुनाबाट एउटा कालो कणजस्तो देख्थेँ किनभने मैले अरबलाई हेर्न छोडेको थिइन ।

मैले के महसुस गरेँ भने म पछाडि फर्केको खण्डमा सबै काम समाप्त हुन सक्छ । तर पूरै समुद्र किनार घरीघरी घाममा प्रतिध्वनित भइरहेको थियो र पछाडिबाट मलाई धकेलिरहेको थियो । म केही कदम झरनातिर बढेँ । अरब हलचल गरेन । अहिले पनि ऊ केही दूरीमा मात्र थियो । सायद उसको अनुहारको छायाले गर्दा होला, ऊ हाँसिरहेको जस्तो देखिन्थ्यो । मैले पर्खिएँ । घामले मेरो गाला पोल्न थालेको थियो र मैले मेरा आँखीभौँमा पसिनाका थोपा जम्मा हुन थालेको महसुस गरेँ । आमाको शवयात्राको दिनमा जस्तै यो उही सूर्य थियो र मलाई सबभन्दा बढ्ता मेरो निधार दुखेर सताइरहेको थियो र सबै नशाहरू छालामुनि एकै पटक टनटन टन्किइरहेका थिए । र यो ताप सहेर यसभन्दा धेरै म अडिन नसक्ने भएको हुनाले म अगाडि बढेँ । त्यसो गर्नु मूर्खता हुनेछ भन्ने कुरा म जान्दथेँ र म एक कदम अगाडि जाँदैमा घामबाट मुक्त हुने थिइन । तर मैले एक कदम बढाएँ, केवल एक पाइला मात्र अगाडि । र यस पटक अरबले उसको चक्कु झिक्यो र घाममा मतिर तेस्र्यायो । स्टिलबाट प्रकाश चम्कियो र त्यो मेरो निधार ताकेर झम्टँदै आइरहेको लामो चमचमाउँदो तरबारजस्तै थियो । त्यति नै बेला मेरा आँखीभौँमा जम्मा भैरहेको जम्मै पसिना तातो बाफले ढाक्तै एक्कासि मेरा परेलामाथि खस्यो । यो नुनिलो आँसुको जालोले मेरा आँखा छोपिए । मैले अनुभव गर्न सक्ने जे जति थियो त्यो मेरो निधारमा ठोकिएको सूर्य मात्र र मेरो सामनेबाट चम्कँदो भालासरि अगाडि आइरहेको चक्कु थियो । त्यो मेरा आँखाका कोस टोक्न लगातार मेरा आँखा छेड्न आइरहेको रातो तातो छुराजस्तो थियो । यो त्यही बेला थियो जब प्रत्येक चिज हल्लियो । समुद्रले किनारामा एउटा ठूलो आगाको श्वास फेर्‍यो । आकाश धुजाधुजा भएर चिरिन थालेजस्तो र अनगिन्ती ज्वालाहरू वर्षिइरहेजस्तो देखियो । मेरो पूरै शरीर कठोर भयो र मैले बन्दुकमा मेरो पकडलाई मजबुत पारेँ । टुची फेला पर्‍यो, मैले चिल्लो बट अनुभव गरेँ र त्यो त्यही थियो । त्यो चर्को तर प्रतिरक्षात्मक कोलाहलमा, यो सबै सुरु भयो । मैले घामबाट पसिना पुछेँ । मैले के महसुस गरेँ भने दिनको सन्तुलन र यो समुद्र किनारको शान्ति, जहाँ म खुसी भएको थिएँ, लाई नष्ट गरेको छु । र मैले निर्जीव शरीरमा अरू चार गोली दागेँ र गोली कुनै दाग नछोडी भित्र घुसे र यो बेखुसीको ढोकामा चार पटक जोडले हान्नुजस्तै थियो ।

(बाँकी अर्को सोमबार)

प्रतिक्रिया
Loading...