नेपाली साहित्यको सम्पूर्ण पत्रिका

यसपल्टलाई त काल झुक्कियो …

म कहिल्यै पनि मेरो पिताजीको श्राद्ध गर्दिनँ । पिण्ड बनाउने, दुना टपरीको काम गर्दिनँ । पिताजीको अन्तिम अवस्थामा एउटा एसप्रीनको चक्की दिन नसक्नेले केको पिण्ड बटार्नु ? एक घुड्की पानी दिन नसक्ने केका लागि दुना टपरी बटुल्नु ?

सन् २०२० डिसेम्बर । सितकालीन अमेरिकाको चिसो महिना अनि कठाङ्ग्रिने जाडो । तर अमेरिकाको व्यस्त जनजीवन शुरु भइसकेको थियो । चहलपहल बढिसकेको थियो । म पनि त्यही व्यस्ततामा सामेल हुनको लागि घरबाट बाहिर निस्किएँ । घरको वाथरुमको ह्याण्डलले दुःख दिन थालेको धेरै दिन नै भएको थियो । त्यही किन्नको लागि । शुरुमा घरबाट गाडी भित्र पस्दैमा कहाँ असजिलो नभएको हो र ? कहाँ छातीमा चस्का नपसेको हो र ? तर त्यसलाई मैले वास्ता गरिनँ । दश मिनेट जति मैले यसलाई सामान्य रूपमा नै खपेर बसें ।

तर म जति अगाडि बढ्छु, दुखाइको मात्रा झन् बढ्दै जान थाल्यो । दुखाइ यतिसम्म बढ्न थाल्यो कि, गाडीलाई कतै किनारा लगाएर बसौंजस्तो पनि नदागेकाे हाेइन ! तर सम्भव थिएन । म बलै अगाडि बढें र Lowes (हार्डवायरको दोकान) को अगाडि गाडी रोकिहालें । तर मलाई पत्तै भएन म त गाडीबाट निस्किनासाथ दौडिन पो थालेछु । कहिले दौडिने, कहिले उफ्रने । मेरो होशले काम गरेन छ । मेरो दुखाइ यतिसम्म भयो कि ! लगाएका लुगाहरू पसिनाले निथ्रुक्क भिजे । टाउको, निधार, हात–पाखुरामा चिट–चिट पसिना उम्रिन थाले । केहीबेरपछि म फेरि तुरुन्त आफ्नो गाडीको आड लागेर लम्पसार परें तर पीडा कम भएन । परबाट मेरो हालत हेरिरहेका एक जना व्यक्ति मेरो नजिकै आएर सोधे–

“के भयो सर ! तपाईंलाई ?”

मैले तुरुन्त उत्तर दिएँ– “मेरो छाती दुख्यो । ९११ (अमेरिकाको आपतकालीन फोन नम्बर) मा फोन गरेर एम्बुलेन्स बोलाई दिनुहोस् न !” फेरि यसैमा थपेंँ– “तपाईंसँग पानी छ ? पानी छ भने दिनुहोस् न !”

नगेन्द्र न्यौपाने (बर्मा)

ती व्यक्तिले तुरुन्त ९११ मा फोन गरेर एम्बुलेन्स बोलाइहाले, अनि पानी लिन आफ्नो गाडीतिर गए । त्यतिबेला मैले श्रीमती (भगवती) लाई फोन गरें तर उनको फोन उठेन । भगवतीको फोन नउठेपछि तुरुन्त भान्जा– सुरोजलाई फोन गरें र सबै कुरा अवगत गराउँदै थिएँ, त्यतिबेला एम्बुलेन्स पनि आइहाल्यो । सम्भवतः फोन गर्ने व्यक्तिले मेरो बारेमा सबै जानकारी गराएका थिए होलान्, त्यसैले प्यारामेडिकलहरू एम्बुलेन्सबाट तुरुन्त बाहिर निस्किए अनि मलाई स्टेचरमा राखेर भित्र हालिहालें ।

एकातिर कोरोनाको महामारी, अर्कोतिर शंका नै शंका वातावरण । कसलाई विश्वास गर्ने, कसलाई नगर्ने । मलाई कोरोनाले समातेको छैन भन्ने विश्वास गराउनु पनि थियो । त्यसैले उनीहरूले एम्बुलेन्सभित्र मेरो ज्वरो नापे । त्यो सामान्य नै थियो । ज्वरो नापेपछि पालो आयो नाडीको धड्कनको । रिपोर्ट हेर्दैगर्दा प्यारामेडिकलहरु झस्केको देख्दा मलाई लागेको थियो– मेरो मुटुको समस्या गम्भीर छ । म खतरामा छु । एम्बुलेन्सले निकालेको डरलाग्दो साइरन अनि बेतोडको दौडाइ । लाग्थ्यो ठूलै दुर्घटना भएको छ तर म भने एम्बुलेन्समा इन्तु न चिन्तु थिएँ ।

अस्पतालभित्र पुर्याएपछि पनि कहाँ उनीहरूले फेरि अर्को इ.सी.जी. गरेनन् र ! तर इ.सि.जि. गर्ने नर्स मेरो रिपोर्ट हेरेर झस्किइनन् मात्र, उनले मलाई हुत्याउँदै डाक्टरको कोठामा दौडाइहालिन् । तत्काल डाक्टरहरूको जमात जम्मा भइहाल्यो । अनि उनीहरू मलाई अपरेशन कोठामा हड्बडाउँदै घचेटी हालें । सबै कामहरू यसरी भए कि ! NASCAR दौडमा गाडीको टायर फेरेको जस्तो द्रुतगतिमा भयो । कताको रगत परीक्षण, कताको सहिछाप, कताको अस्पतालमा बुझाउनुपर्ने दस्तुर । उनीहरूले मलाई स्टेचरमा सुताइहालें । स्टेचरमा सुताएपछि मेरो नाकमा चिसो–चिसो हावाको पाइप घुसारेको याद छ । त्यसपछि म कता गएँ, के गरेँ केही थाहा पाउनै सकिनँ । सायद त्यो चिसो हावाले नै मलाई बेहोस पारिएको थियो होला ।

हुन त डाक्टरहरूले मेरो शरीर चिरफार गरिरहेका थिए । मेरै आँखा सामुन्ने मेरो रगत निस्किरहेको थियो । मैले त्यो देख्न सक्नुपथ्र्यो तर मैले देखिन । किन भने मेरो होश थिएन । तर मैले थाहा पाए अनुसार यसको उपचारका लागि पाखुरा वा तिघ्राको ठूलो नसाबाट एक प्रकारको ट्यूब मुटुसम्म पसाइन्छ । त्यो ट्यूबले मुटुमा अवरोध ल्याउने नसालाई पत्ता लगाउँछ, अनि त्यसको लगत्तै अर्को ठूलो ट्यूबले त्यो अवरोधलाई खुलाउन काम गर्छ । यतिले मात्र कहाँ यो प्रक्रिया पूरा हुन्छ र ! अवरोध खुलाउन अर्को कृतिम नसा पनि राख्नुपर्ने हुन्छ ।

विहान साँढे एघार बजे एम्बुलेन्सभित्र पसेको व्यक्ति म दिउँसो तीन बजे अस्पतालको आइ.सि.यु.मा भेटिएँ । मेरो होश खुल्यो । सुरुमा कहाँ छु भन्ने बारे थाहै भएन । तर कुनाको एउटा सोफामा बसेर नर्ससँग गफ गरिरहेकी श्रीमतीलाई देखेपछि पो थाहा भयो म अस्पतालमा रहेछु ।

हात–पाखुरा र पेटमा घोचिएका सुइका दागहरू, शरीरभरि जेलिएका स–साना नलीहरू अनि मुटुबाट आएको धमनी नसामा छिराइएको नली देख्दा लाग्थ्यो मेरो शरीर हो वा भलिबलको नेट । मानव शरीर त बाहिरबाट हेर्दा मात्र सिङ्गो आकृति रहेछ । कहाँ यो त एउटा नसै–नसाको भद्रगोल जालो पो रहेछ । जे होस् ! म बाँचें । सामान्य दुखाइ साथै केही असजिलो महसुस भए पनि म मरिन । मैले काललाई झुक्याएरै छाडें । मेरो जित भयो ।

तर यतिले मात्र कहाँ काल भागेको रहेछ र ! उसले कहाँ मलाई पछ्याउन छोडेको रहेछ र ? साँझतिर खाना खाने बेला हुँदै थियो । नर्सले हामीहरूलाई जानकारी गराइन्– “तपाईंहरू खाना खान सक्नुहुन्छ । क्याफटेरियाबाट खानेकुरा मगाएर खानुहोस् । मुटुको रोगीले खान हुने खानेकुरा मगाउनु होला ।”

नर्सले भने अनुसार नै क्याफटेरियाबाट खानेकुरा मगाएर खायौं । तर मैले खानेकुरा खाएर पनि सक्नु त्यतिबेला मलाई उल्टी हुन सुरु गर्नु एकैचोटि भयो । मेरो उल्टी यस्तो गतिमा हुन गयो कि मेरो होश नै हरायो भने टाउको लत्रियो । म ढलें । एकातिर केहीबेर अगाडि मात्र मुटुको अपरेसन हुनु अर्कोतिर अहिले बान्ताले बेहोसले ढल्नु । सँगै बसेकी श्रीमती चिच्याउन थालेपछि नर्सहरूको ओइरो लागिहाल्यो । बान्ताले भिजेको ओछ्यान र मुडोसमान लडेको मेरो शरीर देखेपछि अस्पतालको इमरजेन्सी घण्टी बजिहाल्यो । रातो बत्ती झल्याक–झुलुक गरिहाल्यो । हाहाकार भयो । तर म बचें । तिनै नर्सहरूले ऋएच् गरेर मलाई बचाए । कसैले मेरो छाती ढकढक्याउन थाले, कसैले टाउकोमा पानी राखे । अन्त्यमा एउटी नर्सले मलाई सोधिन्– “तपाईंको नाम के हो ?”

मैले उत्तर दिए– “नगेन्द्र न्यौपाने ।”

“ल ! अब तपाईंको होश खुल्यो । तपाईं आराम गर्नुहोस् ।”

यसपल्ट पनि काललाई मैले भगाई छाडें । मेरो जित भयो ।

भोलिपल्ट बिहान राउण्ड लगाउँदै आठ बजेतिर डाक्टर जब (Dr. Jobe) फुत्त देखा परें । अग्लो कद, आधा झरेको कपाल अनि नरम स्वभावका देखिने । हिजो उनैले मेरो अपरेसन गरेको हुनाले उनले मलाई चिनिहालें तर मैले चिन्न सकिनँ । उनी मेरो नजिकै आएर सोधे–
“मिष्टर न्यौपाने ! तपाईं मुस्किलले बच्नुभयो । तपाईंलाई के भएको हो थाहा छ ?”

तर म केही बोलिन् । फेरि उनैले बोले– “हर्ट अटेक  ! तपाईं अस्पताल पुग्न केही ढिलो भएको भए तपाईंलाई हामी बचाउन सक्ने थिएनौँ । तपाईंको धमनी पूरै बन्द हुन लागेको थियो । हामीले खोलेका छौं । तपाईं चुरोट लिनुहुन्छ ?”

मैले उत्तर दिए– “लिन्नँ ।”

“राम्रो । अब तपाईं मासु पनि नलिनुहोस् । चिल्लो पदार्थ नखानुहोस् । दूधको मात्रा घटाउनु होस् ।”

“हुन्छ ! अब म मासु खान्न ।” मैले उत्तर दिए ।

“मैले तपाईंको रिपोर्ट हेरें । तपाईंको पिताजी पनि यही समस्याबाट बित्नुभएको रहेछ । त्यसकारण तपाईं निकै होशियार हुनुपर्छ । सावधान बन्नुपर्छ ।” भन्दै डाक्टर अर्को कोठातिर गए ।

म तीन दिनको अस्पतालको बसाइपछि घर फर्किएँ ।

हर्ट अटेकबाट बच्न थुप्रै उपायहरू छन् । चिल्लो पदार्थबाट टाढा रहनु । मासु नखानु, व्यायाम गर्नु आदि–आदि । यस्ता विभिन्न सावधानबाट रोक्न सकिन्छ तर म कुनै पनि सावधानबाट बच्न सक्दिनँ । कुनै होशियार पनि मलाई काम लाग्दैन । मैले यो रोग पिताजीबाट ल्याएको हुँ । यो वंशाणु रोग हो । मेरो पिताजी पनि हर्ट अटेकबाट नै आजभन्दा ३५ वर्षअगाडि २०४२ सालमा बित्नुभएको हो ।

मेरो पिताजीको छातीमा दुखाइ सुरु हुनु थालेपछि दुई जना भरियाले डोकोमा बोकेर नजिकको आँप–पीपल अस्पताल (गोरखा जिल्ला) लगेछन् । साथमा मेरी भाउजू पनि जानुभएछ । चार घण्टाको डोको यात्रापछि मेरो पिताजीले डाक्टरलाई देख्न सक्नुभएछ । म अहिले सम्झन्छु– मलाई एक घण्टाको दुखाइ खप्न कति गाह्रो भयो । म धेरैबेर छट्पटिएँ । एम्बुलेन्सले मेरो शरीरमा धक्का नलागोस् भनेर प्यारामेडिकलहरुले चारैतिरबाट मलाई अँठ्याए । तर कठैबरा ! मेरो पिताजी ! त्यो चार घण्टाको दुखाइ । अनि डोकोको मर्याक–मुरुक ! कसरी सहन गर्नुभयो होला । कसरी भरियाले बोके होलान् ! मुस्किलले उहाँ अस्पताल त पुग्नुभयो । डाक्टरले उहाँको रोगको निदान गरे । दुईवटा एसप्रीनको चक्की र दुखाइ कम हुने औषधी दिए । तर मेरो पिताजी घर फर्किनु भएन । उहाँलाई बोकेर लैजाने भरियाले मेरो पितालाई पुनः बोक्न परेन । उनीहरू रित्तै घर फर्किए । उहाँको अस्पतालको बेडमा नै स्वर्गवास भयो ।

पूर्वीय शास्त्रअनुसार कुनै पनि व्यक्तिले आफ्नो अन्तिम अवस्थामा आफ्नो सन्तान देख्न पाएन भने ऊ भाग्यमानी होइन । अन्तिम अवस्थामा आफ्नो वरिपरि आफ्ना सन्तान छन् भने उसको सास सजिलैसँग जान्छ । यो अवसर भाग्यमानी व्यक्तिलाई प्राप्त हुन्छ । यो अर्थमा मेरो पिताजी भाग्यमानी हुनुभएन । उहाँको गन्ती अभागीमा गयो, किनभने मेरो पिताजीका हामीहरू पाँच जना सन्तान छौं । तर पिताजीको अन्तिम अवस्थामा पाँचै जनाको उपस्थिति हुन सकेनाैँ । घरपायकको जागिर खाएर शिक्षक हुनुभएका मेरो ठूलो दाइ पनि त्यतिबेला तालिमका लागि पोखरा जानुभएको थियो । माइलो दाज्यू डाक्टर पढ्नका लागि बंगलादेश हुनुहुन्थ्यो । म इन्जिनियर बन्ने धुनमा रुड्की विश्वविद्यालयको प्रवेश परीक्षाको तयारीमा थिएँ । दुईवटी दिदीहरूलाई पनि घर व्यवहारले कहाँ फुर्सद भयो र ! तर म न इन्जिनियर बन्न सकें न पिताजीको अन्तिम अवस्थामा पुगें । त्यसकारण म कहिल्यै पनि मेरो पिताजीको श्राद्ध गर्दिनँ । पिण्ड बनाउने, दुना टपरीको काम गर्दिनँ । पिताजीको अन्तिम अवस्थामा एउटा एसप्रीनको चक्की दिन नसक्नेले केको पिण्ड बटार्नु ? एक घुड्की पानी दिन नसक्ने केका लागि दुना टपरी बटुल्नु ?

हुन त पूर्वीय शास्त्रअनुसार मेरो पिताजी अभागी ठहरिए पनि व्यवहारमा मेरो पिताजी सबैभन्दा भाग्यमानी हुनुभयो । आफू बित्नुभन्दा अघिल्लो दिनसम्म उहाँ आफ्नै कमाईमा हुनुहुन्थ्यो । राणा प्रधानमन्त्री भीमशमशेरको छोरा रामशमशेरले मेरो पिताजीको अक्षर राम्रो भएर नै “राइटर” पद दिनुभएको थियो अरे । त्यो राइटर पदले नै उहाँको अन्तिम अवस्थासम्म कमाइ गर्यो । आफू बित्नुभन्दा अघिल्लो दिन मात्र एउटा मुद्दाको प्रतिवादी उहाँले लेखिदिनु भएको थियो । त्यही कमाईको रुपियाँ उहाँले आफ्नो कोटको गोजीमा राख्नुभएको रहेछ । बाटोमा भरियालाई त्यही पैसाले खाजा खुवाउनु भएछ । पछि एक जना भरियाले मलाई सुनाएका थिए– “राइटर बाजेले आफूले पानी मात्र पिउनुभयो तर हाम्रो खाजाको पैसा भने आफ्नै कोटको खल्तीबाट निकालेर दिनुभयो ।

हुन त मैले यसपटक मृत्युलाई पराजय गरें । मुटुमा कृतिम नसा राखेर भए पनि म बचें । मसँग काल डराएर भाग्यो । केही समयको लागि म पुरुषार्थी भएँ । तर मलाई कायरताले भने छोडेन । म झन् डराउन थालें । आजकल मेरो मानसिकता अनेकौं प्रश्नहरूले गुट्मुटिन थालेको छ । म जिज्ञासा नै जिज्ञासाले भरिएको छु । जिन्दगी के यस्तै खिचातानीमा नै बित्ने हो त ! कालसँग भाग्दै–लुक्दै हिंड्नुपर्ने हो त ! जीवनको उत्तराद्र्ध त भागदौड प्रतियोगिता पो रहेछ । कहिले काल अगाडि परिरहेको छ त कहिले म ।

तर भागदौड प्रतियोगिताबाट डराएर जाने ठाउँ पनि कहाँ छ र ? यो परिस्थितिबाट सजिलैसँग बाहिरिन पनि कहाँ सकिन्छ र ? त्यसकारण आजकल मेरो दैनिकीमा अर्को एउटा नयाँ बोझ थपिएको छ । हिजोको मेरा दिनहरू र आजका दिनमा एक्कासी परिवर्तन आएको छ । म दिनको चारपटक सेता–पहेँला चक्की मुखमा हाल्ने गर्छु । कुनै चक्की निल्न मलाई पानीको आवश्यक पर्छ भने कुनै चक्की मुखमा हाल्नेबित्तिकै बिलाउँछन् । ती चक्कीहरू मलाई डाक्टरले दिएका हुन्– मलाई कालसँग मुकावला गर्नका लागि । आजकल म त्यही मुकावलतामा व्यस्त छु । तर डर भने हराउन सकेको छैन । यो डरैडरको जिन्दगी बाँचिरहेको छु ।

प्रतिक्रिया
Loading...