नेपाली साहित्यको सम्पूर्ण पत्रिका

घोपामा फोका

लौ, अब फेरि छाती नाप्ने रछन् जस्तो लाग्यो । ‘आएर केही खान पाएको हैन, के खोप्का फुक्थ्यो हाउ जेठा’, एक जना मित्र सटको टाँक खोल्दै बोले । मैले उनले बोलेको आधा मात्र बुझेँ ।

एक महिनापछि मिति तोकिएको पत्र आयो । म धरान हानिएँ ।

धरानको यात्रा मेरो त्यो दोस्रोपटक थियो । त्योभन्दा पहिले रात्रिबसबाट धरानको भानुचोकमा मामाको दोकानको कामले एक सय थान सारी पुर्याउन पहिलोपटक पुगेको थिएँ । विहान पुगेर सामान दिई फेरि दिनको बसमा फर्किएको थिएँ । त्यसैले ‘धरान गइस् ? गएँ ।’ भन्ने मात्र थियो ।

तर दोस्रोपटक भने म एक रणमैदानमा उत्रिनुछ जसरी एक हप्ताका लागि आफ्नो बुताले भ्याएसम्म हजारौँको संख्यामा आफ्नो पराक्रम, साहस, बुद्धि/विवेक र बल देखाउन धरानको तातो मैदानमा पुगेको थिएँ ।

मलाई पुर्याउन मित्रद्वय पुष्प केसी र सुनिल हमाल काडमाडौँबाट धरानसम्मै आएका थिए । बाटामा आउँदा धेरै रमाइलो गर्दै आइयो । बाटो लामो भएकाले केही घन्टा बसमा नै सुतिएछ ।

त्यो रात सनराइज होटलमा बसेका थियौं । हल्का रमझम गरियो । उनीहरू भोलिपल्ट नै काठमाडौं फर्किए । म भने घोपा क्याम्प प्रवेश गरेँ ।

घोपा क्याम्पमा पस्नेबित्तिकै अर्कै वातावरणले घ्वाप्लक्क छोप्यो । विहान चल्ने धरानको मन्द हावाले हामीलाई स्वागत गरेको अनुभव भयो ।
एक जना अधबैँसे चिरिट्ट परेर बर्दी लगाएका लाहुरेले यता बस यता, बाटामा नउभिओ भने । बीस जना केटाहरू गेटबाट भित्र पसेपछि उनले मेरो नाम फलाना हो, म यो पल्टनको हो, मलाई तिमीहरूले भन्नुअघि नै कुन मान्छे कस्त खालको हो ठ्याक्कै थाहा हुन्छ, त्यसैले यो सोह्र दिनको अवधिमा कसैले ढाँट्ने हैन, आदि इत्यादि कुरा भनेर उनकै पछि पछि एक लाइनमा हिँड्ने आदेश भयो । हामीले पनि त्यसै गर्यौँ ।

केदार सङ्केत (बेलायत)

अलिक परको हटमा लगेर माथि लगाएको लुगा फुकालेर छाती उत्तानो पार भन्ने अर्को आदेश आयो । लौ, अब फेरि छाती नाप्ने रछन् जस्तो लाग्यो । ‘आएर केही खान पाएको हैन, के खोप्का फुक्थ्यो हाउ जेठा’, एक जना मित्र सटको टाँक खोल्दै बोले । मैले उनले बोलेको आधा मात्र बुझेँ । एक जना अर्का सेतो टिसर्ट र हाफ प्यान्ट लाएका लाहुरे गुरुजीले हामीले घर सिङ्गार्दा पुरेनी बुट्टा हाने जसरी काठको टुप्पामा लुगा बेरेर टिनको बट्टाको प्याजी रङ च्वाप्प चोप्दै, ‘छाती उत्तानो पारेर बस केटा हो’ भने ।

हामीले पनि हाँस्दै कलिला करङ् आकाशतिर फर्कायौँ । मानौँ हाम्रो घरमा ब्याड राखेको भालेले डुँडको पानी खाँदा घाँटी तानेर छाती प्रदर्शन गरिरहेछ ।

नम्बर दिन रहेछ । नाप्नका लागि हैन रहेछ । सुरुमै हुँडलेको मन अलिक शान्त भयो । तेरो १०१, तेरो परो १०२ भन्दै दशैँमा कलंकीमा बेच्न राखेका खसीबोका जस्तै नम्बर हानियो छातीमा झ्याप्प झ्याप्प । मेरो छातीमा २२३ को छाप परेछ । सक्नेले छाप लाउँदै रूखको सियालमा गएर बसियो । मौसम गर्मी नै थियो । मलाई भने तीर्खा लाग्यो । नजिकैको धारामा गएर पानी पिएँ । धारामा एक जना पहेँलो सल ओडेकी क्याप्पभित्रै कतै काम गर्ने पनि जगमा पानी भर्दै थिइन् । मैले पानी पिएको देखेर “अम्बो, धेरै पानी नपिउ है भाइ, क्या दौडन पर्छ नि अहिले” । मैले पिउँदा पिउँदै पिउन रोकेँ । प्यास अलिक मन्द भयो । दाैडने कुराले मुटु अचानक उफ्रन थाल्यो । ‘हस् दिदी’ भनेर म धाराबाट फर्किएँ । एक मुस्कान छरेर गइन् उनी ।

छातीमा नम्बर हानेपछि हामीलाई सुत्ने ठाउँ देखाउन लगियो । बोकेको झोला एउटा ठूलो घरमा लगेर राखियो । सामानभित्र राखेर ठूलो परेड खेल्ने पटाङ्गिनीमा बोलाइयो । परिचयको क्रम सुरु गरियो । सबैले आ–आफ्नो परिचय दिएपछि आँपको बोटको घरछेउको सियाल (छहारी) मा लगेर राखियो फेरि ।

मैले नजिकैको साथीलाई भने “आज त दौड हुन्छ रे हो ?” ।

– भरे गुरुजीले भनिजान्छन् नि । आज हैन भोलि होला । कस्ले भन्यो ?

– धारामा भेटेको एक जना दिादीले ।

– धत्, यहाँका दिदीबहिनीले बेच्छन् तिमीलाई ।

उनीसँग चिनजान थिएन त्योबेला । म चुप लागेँ । दाैडभन्दा फुलेको छातीको आकार अलिक घटे झैँ लाग्यो ।

त्यो सुलुत्त परेको घर नभएर लाहुरे आउँदा जाँदा सामान दिने स्टोर रहेछ । स्टोर मेनले एउटा गुन्द्री, कालो कम्बल, सिल्भरे थाल, एक लिटरे चिया पिउने सिल्भरे लाहुरे कप दिए । उनी भन्दै पनि थिए– ‘यो कपमा विहान चिया थाप्ने र धारामा पानी थाप्दा चलाउने, तर ट्वाइलेटमा भने लाने हैन केटा हो ।’

केटाहरू फेरि गलल् हाँसे । थालमा विहान ब्रेकफास्ट खान, लन्च र बेलुकाको डिनर खान जाँदा साथमा लाने । हामीले ‘हो मा हो’ भनेर टाउको हल्लाउँदै सियालमा गएर बस्यौँ । अंग्रेजले बनाएको क्याम्पमा छिरेपछि त कलेजमा यादव सरले अंग्रेजी बोलेभन्दा पनि बढी जस्तो लाग्यो । परेड स्क्वायर, मेस हल, स्टोर किपर, क्लर्क, ब्रेकफास्ट, लन्च, डिनर.. आदि इत्यादि ।

“तिमीहरूले अब आफ्नो खुशी गर्न पाउन्नौँ यहाँ । जे जे तिम्रो गुरुजीले भन्छ त्यहीँ गर्ने हो केटा हो ।”

“यो आँपको रूख हो, तर मैले यसलाई केराको हो भनेँ भने त्यहीँ भन्ने हो ।” फेरि पनि सबै गलल् हाँसे ।

“ए नहाँस । चुप लाग सबै । तिमीहरूको हरियो दाँत नदेखा, भोलि डेन्टिस्टले जाँची हाल्छ ।”

त्यो विहान एकैछिनमा सकियो । विभिन्न ठाउँबाट आएका अल्लरेबल्लरे ठिटाहरू सबै सिकुटे लाग्थ्यो मलाई । हुन त म पनि बल्ल बल्ल पचास किलोग्राम पुगेको बिर्सेको थिइनँ गल्लामा नाप्न जाँदा । फेरि मैले आइतु र अर्जुनलाई सझेँ । आइतु होटल सम्हाल्दै होलिन् । आलु रोप्दै होलिन् । अनि अर्जुन काठमाडौँको कुनै चोकमा जोखाना हेर्दै होलान् ।

हामीलाई खाना खानका लागि लाइनमा लगाइयो । दायाँ बायाँ हरिया आँपका बोटका पातहरू हावाले हल्लाइरहेका थिए । बाटामा हिँडेका सबैले एकसरो हेर्न भ्याउथे हामीलाई । सायद हेर्ने, जिस्काउने यो उनीहरूको नियत नै हो । उनीहरूको बोल्ने भाका पनि अर्कै । शब्द पनि अर्कै लाग्यो मलाई त ।

सेता लुगा लगाएका सेफहरूले खाना बाँडे । घरभित्र नभएर सडक छेउको खुल्ला घरको आधा खोलेको झ्याँलबाट खाना बाडिँदो रहेछ । एक जनाले भात अनि अर्का अग्ले गुरुजीले अण्डाको तरकारी बाँडे । बाँड्नुभन्दा अगाडि भान्से गुरुजीहरूले घर सोध्दै खाना बाँड्थे । आफ्ना गाउँका भाइहरू पनि आए कि भन्ने खातिरले रहेछ । हामी टेबल कुर्सीमा बसेर चम्चाले खान थाल्यो । त्यो खाना मलाई खैः किन यति मीठो लाग्यो कि अझै पनि बिर्सन सक्दिनँ । पछि थाहा भयो, सबैलाई त्यस्तै लाग्थ्यो रे ।

मासुमा खसीको खास्सा लाग्थ्यो अनि माछाको । तर माछाको तरकारीमा कि त टाउको कि त पुच्छर मात्र हुन्थ्यो हाम्रो भागमा । बीचको भाग कसैलाई परेछ कि भनेर हामी अरूका भागमा हेथ्र्यौँ । सोह्र दिनसम्म बस्दा कहिले पनि माछाको बीच भागको छाती देख्न पाइएन । पछि धरानकै रैथाने सचिन हाङ, मणि राई मित्रहरूले भर्ती हुँदाको कुरामा यिनै कुरा दोहोरिन्थे । बीचको भाग भने कि त त्यहाँका स्टाफ, बडा हाकिमको भाग वा सचिन हाङकोमा हुन्थ्यो रे, किनकि उहाँको बाबा त्यहीँका स्वास्थ्य जाँच गर्ने भुपू भएकाले त्यहाँका भान्सेसँग मजाको चिनजान रहेछ । पछि उहाँको बाबा बेलायत घुम्न आउँदा भेटमा पनि यस्तै कुरामा ठट्टा गरियो ।

सुन्छु, आजकल त यहाँ वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान केन्द्र बनेको छ रे ! जान मन छ एक दिन घुम्न, तर समय निकाल्न हम्मे छ यो बखत ।

क्याम्प छिरेको दिनदेखि नै नाडी छाम्न थालियो हाम्रो । खाना खानुपूर्व नै भोलि हुने कार्यक्रमको हुकुम सुनाइन्थ्यो । आज सम्झना धेर छैन । मेरो रातो नोटबुकमा लेखेको मधुरा अक्षर पढेर यो लेख तयार पार्दैछु ।

गर्मीका कारण दिनमा हुने कार्यक्रहरू प्रायः विहानै हुने गर्थे ।

हामी दिनको काम सकेर ‘पल्टने बजार’ घुम्न जान्थ्यौँ । जहाँ सुन पसल, खुकुरी पसल, लुगा सिउने दोकान, समोसा, तातो तातो जिलेबी, मासुका प्रकार र बियरको पनि दोकान थियो । अलिक पर घ्याङघरमा (ठूलो जस्ताले छापेको घर) जहाँ पहाडबाट पेन्सन थाप्न, दबाइपानी लिन आउँदा बस्थे रे त्यहाँ ।

लुगा सिउने पसल छेवैमा पुग्दा ‘अब को को पर्ने भयौ त नि लाउरे भएर जाने, भएर गएमा सेभेन जिआर जानु क्यारे । त्यहाँ मेरो पनि छोरा छन्, मनोज जर्दी हो नाम’ । हामीले टाउको हल्लाएरै उत्तर दियौँ । आफूलाई भर्ती हुने या नहुने ठेगान छैन, समाचार पुर्याउने कुरो आयो ।

चौरवरिपरि र सडकका दायाँ बायाँ पारिजातका सुशोेभित फूलका रूखहरू थिए । दिनहुँ हामी एकै प्रकारका कसरत गर्दै बस्थ्यौँ । विहानैपिच्छे कम्तिमा तीन माइल दौड । दिनमा दश किलोको मेडिसिना बल (बाहिर छाला र भित्र गह्रौँ तौल भएको बल) बोकेर पच्चीस मीटरसम्म छोडेर रिले दौड गर्नुपथ्र्यो । पहिलो आउने टीमबाहेक अरूले पुस अप कि त गीत गाउँदै नाच्न पथ्र्याे ।

कुस्ती पनि दिनहुँ खेल्न लगाइन्थ्यो । जुत्ता लाउन पाइन्नथ्यो । कुस्ती खेल्दा तातो घामले चौरका सुकेका झ्यास तातिएर खुट्टामा पानीफोका उम्रन्थे । गाउँका खुट्टा बटारेर लडाइने तरिका यहाँ मजाले प्रयोग भयो । सुरु सुरुमा त बेहद बल लगाइएर भीडन्त गरियो एकअर्कामा तर त्यो तरिका हैन रहेछ । पछि थाहा भयो कि अलिक बाठा साथीहरूले त सल्लाह गरेर पो लड्दा रहेछन् । हामी पनि सल्लाह गरेर पालैपालो दुई दुई पटक लडाउने जुक्ति गरेर खेल्यौँ । जसले गर्दा ज्यान अलिक जोगियो अनि खुट्टाका पानीफोका पनि बिस्तार मर्दै गए । थप उम्रन पाएनन् ।
गएको भोलिपल्टबाटै गीत पनि बेसरी गाउन लगाइयो । नाचियो ।

त्योबेलाको गीतः

चलेछ बतास सुस्तरी मनै सरर,
चौबन्दी चोलीले झुक्कायो मलाई,
वीरका सन्तान लाहुरेको निशानी,

चुइँ चुइँ चुइँकने जुत्ताजस्ता उठ्यो बस्यो खालका गीत गाइन्थ्योे । सबैलाई कण्ठै आउने पनि त्यही थियो । मादल बजाउनेमा मणि राई, सचिन हाङ सुरिन्थे । कताबाट हो मणि नामक दुई जना राई भाइहरूसँग अलिक सामीप्य बढेको थियो मेरो । गाउनेमा म र दिनेश राई थियौँ । नाच्नमा त खाँचो थिएन । जो कोहीले पनि मादलुको तालमा नाचिहाल्थे ।

‘भर्ती हुन गएको जे भन्यो गुरुजीले त्यही गर्नुपर्छ है भान्जा’ भन्नुहुथ्यो भुपू लाहुरे आर.एस.एम. (रेजिमेन्ट सार्जेन्ट मेजर) बल बहादुर सुनुवार मामाले । म कलेजमा उहाँकै घर ललितपुरको महालक्षीस्थानमा बसेर पढेकाले निक्कै कुरा थाहा थियो । विहान कलेज अनि दिनमा म पसलमा बस्थे । अग्ला, खदिलो ज्यानका धनी, बोलीमा मिजासिला हुनुहुन्थ्यो । हरेकपटक बोल्दा देब्रे कुम हल्का माथि लानु हुन्थ्यो । सानोतिनो आफ्नै व्यापार भएकाले बेलाबेला बाहिर देशमा गइरहनु हुन्थ्यो । उहाँको घरमा लाहुरे परिवारकै साथीभाइहरू आउने जाने गर्दथे । गफ पनि प्रायः व्यापार र पल्टनतिरकै गर्थे । गाउँघरमा धारा पानी लाने कुरा, स्कूललाई सहयोग गर्ने कुरा । ती गफका सारबाट मैले धेरथोर कुराहरू सिकेँ । छुट्टीमा आएका नयाँ लाहुरेले मलाई दौडने कुरामा जोड दिन्थे । मैले पनि त्यसै गर्दै गएँ । मलाई तिनीहरूले लगाएको घडी र जुत्ता धेरै मन पर्थ्यो । एक जना हावा गाउँका लाहुरे छुट्टीमा आउँदा नाइकको नीलो प्याटन भएको जुत्ता मन परेर माग्दा मलाई दिएनन् । यस्तो कुरा भने धेरै साल बितेर जाँदा पनि बिर्सन सकिँदो रहेनछ ।

विहान विहान दौडन धरानको तीनकुनेभन्दा तल चारकोसे झाडीमा लगिन्थ्यो जुन क्याम्पभन्दा बाहिर थियो । त्यस्तो तातो सडकमा पनि केही साथीहरू तीन माइल खाली खुट्टै दौडन्थे । आज सम्झन्छु जुत्ता नभएर हैन, जेहन्दार अनि दुःख पाएको देखिन हल्का बठ्याइँ पो रहेछ त्यो त ।

प्रतिक्रिया
Loading...