नेपाली साहित्यको सम्पूर्ण पत्रिका

सम्झनामा कुटनीतिज्ञ तथा कथाकार मुरारी अधिकारी

विमोचन कार्यक्रम सकिएपछि उनले वान की मुनसँग परिचय पनि गराए । संयुक्त राष्ट्र संघका महासचिवसित हात मिलाउने अवसर पाइयो । परिचय गर्ने अवसर पाइयो । उनले संयुक्त राष्ट्र संघका केही कक्षको भ्रमण पनि गराए ।

मैले मधुपर्कमा “मौसम” कथा पढ्नेबित्तिकै त्यस कथाका कथाकार मुरारि अधिकारीको प्रशंसक बनें । त्यो मेरो साहित्यमा पदार्पण गरेको सुरुवातको कालखण्ड थियो । निकै मन परेको त्यो कथाका कथाकारसँग त्यस बखतका मेरा “घनिष्ठतम् मित्र” लव गाउँलेले चिनाइदिए ।

खासमा लव गाउँले र म नेपाल कमर्स क्यामपस मीन भवनमा साथै पढ्थ्यौं । लव गाउँलेमार्फत् बद्री चापागाईं हिमालीसँग पनि मित्रता भयो । पछि ठगेन्द्र त्रिपाठी पनि जोडिए । तर अन्तरङ्ग भने मेरो लवसँग बढी भयो, त्यो अन्तरङ्गकै कारण लवको तर्फबाट अविश्वसनीय चोट पाएँ, त्यसको पाटो बेग्लै छ ।

एक दिन लवले मलाई क्षेत्रपाटीको बद्रीको डेरामा जाउँ भनेर लिएर गए । खासमा त्यहाँ मुरारी अधिकारी, बद्री हिमालीलगायत केही मिलेर सँगै बस्दा रहेछन् । मुरारी अधिकारीसँग त्यहाँ राम्रो भेटघाट र भलाकुसारी भयो । सायद चिनाजानी पहिला नै भैसकेको थियो कि, तर जे होस् त्यो दिन विहान गएका थियौं हामी र त्यहाँ पाकिरहेको भात सँगै सबैले खायौं ।

लव र म केही दिनयता मेरो कालीमाटीको डेरामा बस्दै आएका थियौं । उनको घर बालाजुबाट अलि उत्तरतिरको मनमैजु भन्ने ठाउँमा थियो । उनले आफ्नो घर पनि लगेका थिए । तर त्यहाँबाट उनलाई नेपाल कमर्स क्याम्पस मीन भवन पुग्न निकै कष्ट हुन्थ्यो । उनी कोही साथीसँग त्रिपुरेश्वर दशरथ रङ्गशालाको दक्षिणपूर्वको यौटा घरमा बस्थे । उनी त्यहाँबाट निस्केपछि मेरो कोठामा बस्दै आएका थिए । उनी मसँग अति मिल्थे । हामी दुवै मिल्थ्यौं । तर म एक्लै रमाउन थालेकोले म साथीसँग मिलेर लामो समय बस्ने मुडमा थिइनँ । उनले सँगै बसौं भनेर त्यसैले मुख फोर्न सकेका थिएनन् । यहाँ मुरारी अधिकारीलाई त्यो भनाउन क्षेत्रपाटी लगेका रहेछन् ।

मुरारिले भने, “गोविन्दजी ! तपाईं दुई जना यस्तो मिल्नुहुन्छ, दुई जना मिलेर सँगै बसे हुन्छ नि !”

मैले भनें, ” सँगै नै छौं नि !”

उनले के बुझे, कुरा त्यत्तिकैमा टुङ्गियो ।

लवले मेरो कोठाको साँचो एकाधपल्ट मागेका थिए । तर मैले टारेको थिएँ, मैले उनको “स्त्री प्रियता बानी” पत्तो पाइसकेको थिएँ, त्यसैले मैले साँचो दिइनँ । तर मुरारी अधिकारीसँग मेरो भेट भने बेलाबेलामा भइरहन्थ्यो ।   उनका कथाहरु पाएसम्म पढ्ने गर्थें । सम्भवत: उनले विधान आचार्यको सम्पादनमा प्रकाशित अनावरण साहित्यिक पत्रिकामा “हिउँका फाँटहरु” कथा लेखेपछि नेपाली भाषामा कथाहरु लेखेनन् ।

तर म जहिले भेट्दा पनि उनका कथाहरुको बारेमा चर्चा गरिरहन्थें र ती फूटकर छरिएका कथाहरुलाई किताबको रुप दिनुपर्यो भन्ने गर्थें । उनी हाँसेर, ” भैहाल्छ नि ! निकाल्नुपर्छ ।” भन्थे ।

मेरो परिचय हुँदा र क्षेत्रपाटीको डेरामा भेट्दा उनी श्री ५ को सरकारको शाखा अधिकृत थिए अर्थ मन्त्रालयमा । उनी त्यहीँबाट उच्च अध्ययनका लागि अमेरिका गएको थाहा भो । त्यताबाट फर्केको थाहा भयो । प्रमोसन भएको थाहा भयो । तर भेटघाट र सम्पर्क भने हुन सकिरहेको थिएन । त्यसैबीच श्री ५ को सरकारको यौटा विशेष निर्णय अनुसार उनको पद परराष्ट्र  मन्त्रालयमा स्थानान्तरण भएको खबर आयो । यो सहज निर्णय थिएन । जुनसुकै मन्त्रालयबाट पनि अन्तर मन्त्रालय सरुवा हुन सक्थ्यो, तर परराष्ट्रमा जान सकिँदैनथ्यो । त्यतिबेलाका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको विशेष रुचिमा यो सम्भव भएको भनिन्थ्यो ।

जे होस्, उनी परराष्ट्र सेवामा पुगेका थिए । यसैबीच एक दिन फेरि मैले उनीसँग भेट्ने मौका पाएँ र प्रस्ताव गरें, “तपाईंसँग तपाईंका प्रकाशित कथाहरुको प्रति छैनन् भने कुन कुन पत्रिकामा प्रकाशित भएका र सम्भावित मिति वा साल उपलब्ध गराउनूस्, म खोजेर कम्पाइल गर्छु । ”

उनले मेरो प्रस्ताव स्वीकार गरे । अनि मलाई उपलब्ध गराए । केही कथा त मेरो सङ्कलनमा रहेका पत्रपत्रिकामा थिए भने अरु मैले त्रिवि केन्द्रीय पुस्तकालयमा गएर खोजें । पुस्तकालयमा जमेका धूलो खाँदै गोरखापत्रका पुराना फाइल पल्टाएर मैले आफ्नो मिसन पूरा गरें र सबै कथाहरुको फोटोकपी बनाएर पाण्डुलिपि तयार गरें । तर प्रकाशक पाइएको थिएन ।

यसैबीच उनी परराष्ट्र मन्त्रालयका सचिव पदमा पुगिसकेका थिए र उनी संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी प्रतिनिधिका रुपमा नियक्त हुन लागेका खबरहरु आइरहेका थिए । मेरा घनिष्ठ मित्र कवि दुवसु क्षेत्रीले एक दिन सोध्नु भयो, “गोविन्दजी, तपाईंले मुरारी अधिकारीका कथाहरुको सङ्ग्रह सम्पादन गरेर पाण्डुलिपि तयार गरिराख्नु भएको छ होइन ?”

मैले भनें, “हो नि ।  तर प्रकाशक नपाएर फाइलमा थन्केको छ ।”

“त्यो पाण्डुलिपि ल्याउनुहोस्, हामी बसुन्धरामान प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित गर्छौं ।” उनले भने ।

यो त बडो खुशीको कुरा थियो । मैले सहर्ष स्वीकारें । पाण्डुलिपि हस्तान्तरण गरें । मेरो सम्पादकीय भूमिका र मोहनराज शर्माको भूमिकासहित “मुरारि अधिकारीका कथाहरु” प्रकाशन भयो । त्यही कथा सङ्ग्रह प्रकाशनको कारण उनलाई साहित्यिक पत्रकार संघले प्रदान गर्दै आइरहेको “मैनाली कथा पुरस्कार” पनि प्राप्त भयो ।

त्यसपछि उनी अमेरिका आए । म पनि अमेरिका नै आएँ, सन् २००४ देखि यतै बस्ने अभिप्रायका साथ ।

एक दिन उनले खबर गरे, उनको गीति एल्बमको सिडी न्यूयोर्कमा विमोचन हुँदैछ । म त्यो कार्यक्रममा पुगें । सो अवसरमा मैले सम्पादन गरेको “मुरारी अधिकारीका कथाहरु” को पनि पुन: विमोचन भयो । रमाइलो साहित्यिक र सांस्कृतिक वातावरणमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

यो किताब प्रकाशन भएपछि ममाथि केही आरोप र आक्षेपहरु पनि लागेका थिए । कारण के थियो भने, नेपाली साहित्यमा एउटै नामधारी मुरारी अधिकारी दुई जना थिए, एक जना तराई मूलका र यीचाहिँ पहाडी मूलका । दुवैको लेखनको भाषा फरक थियो, शैली फरक थियो र विषय वस्तुलाई प्रस्तुत गर्ने तरिका पनि पूरै फरक थियो । म दुवै मुरारी अधिकारीलाई चिन्दथें । तर कहिल्यै दुवैसँग यो नाम जुधेको बारेको प्रसङ्ग भने निस्केन । तराई मूलका मुरारी अधिकारीको रत्न पुस्तक भण्डारबाट “बग्दो खोला थिर बगर” उपन्यास र “अस्वीकृत” कथासङ्ग्रह प्रकाशित छन् भने यी मुरारी अधिकारीको मेरो सम्पादनमा “मुरारी अधिकारीका कथाहरु” मात्र साहित्यिक कृतिका रुपमा प्रकाशित छ । मलाई तराईवाला मुरारी अधिकारीका कथा परराष्ट्र सचिवको नाममा पुस्तक छपाएको आरोप लागेको थियो जुन पूर्णत असत्य थियो । साहित्यिक पत्रकार संघले दुवै मुरारी अधिकारीलाई “मैनाली कथा पुरस्कार” प्रदान गर्नु पनि यो आरोप मिथ्या हुनुको थप बलियो प्रमाण थियो ।

यौटा कार्यक्रमको सिलसिलामा सन् २००६ मा उनी वाशिंटन डिसी आएका थिए र नर्दर्न भर्जिनियाको सुन्दर सहर आर्लिङ्टनको केन्द्रीय पुस्तकालयमा यौटा कार्यक्रममा उनी सामेल भएका थिए । म त्यस बखत यस क्षेत्रबाट निस्केको पहिलो नेपाली अखबार “विश्व सन्देश” को तीन संस्थापक सम्पादकमध्ये एक थिएँ र मैले सो अखबारका लागि उनीसँग सो कार्यक्रमपश्चात् त्यहीँ नै यौटा अन्तरवार्ता लिएको थिएँ र प्रकाशित भएको थियो ।

त्यसपछि उनले फेरि एकपल्ट न्यूयोर्क आउन निम्ता गरे । यो पल्टचाहिँ उनी र अर्का भारतीय लेखक मिलेर संयुक्त राष्ट्र संघको बारेमा लेखिएको पुस्तक विमोचन समारोहका लागि । यतिन्जेल उनी राजदूत पदबाट मुक्त भएर न्यूयोर्कमै संयुक्त राष्ट्र संघसँग सम्बन्धित कुनै एजेन्सीमा काम गर्थे । त्यो कार्यक्रम संयुक्त राष्ट्र संघको मुख्य कार्यालय रहेको भवनमै हुने भएको थियो तत्कालीन महासचिव वान की मुनको हातबाट । यो गज्जबको राम्रो मौका थियो संयुक्त राष्ट्र संघको मुख्य कार्यालयमा जान पाइने ।

म गएँ । विमोचन कार्यक्रम सकिएपछि उनले वान की मुनसँग परिचय पनि गराए । संयुक्त राष्ट्र संघका महासचिवसित हात मिलाउने अवसर पाइयो । परिचय गर्ने अवसर पाइयो । उनले संयुक्त राष्ट्र संघका केही कक्षको भ्रमण पनि गराए । उनकै कारण मैले यो अवसर पाएको थिएँ ।

उनको राजनैतिक आस्था नेपाली काँग्रेससँग थियो र उनी प्रोकाँग्रेस राजनैतिक लेखहरु लेख्ने गर्दथे । उनले नेपाललगायतका पत्रिकामा ती लेखहरु लेख्थे ।

तीन जना संस्थापक सम्पादक भएको “विश्व सन्देश” सँग तीन जनाको सहयात्रा लामो हुन सकेन । मैले सन् २००७ को जनवरीदेखि “विश्वपरिक्रमा” को प्रकाशन सुरु गरें । मुरारी अधिकारीले “विश्वपरिक्रमा” पत्रिकाको लागि लामो समयसम्म नियमित रुपमा अङ्ग्रेजी लेखहरु लेखेर सहयोग पुर्याएका थिए ।

पछि उनी बेलायतका लागि नेपाली राजदूतको पदमा नियुक्त भए । उनीसँग मेरो सम्पर्कमा निरन्तरता नै थियो । म साहित्यिक रचना लेख्न र प्रकाशन गर्न प्रेरित गरिरहन्थें र उनी लेख्छु त भन्थे तर लेखिरहेका थिएनन् । तर उनले एकपल्ट भने, ” गोविन्दजी, मैले अङ्ग्रेजीमा कथाहरु लेखेको छु, यता बेलायतबाटै प्रकाशित गर्ने चाँजोपाँजो हुँदैछ । तपाईंले पढेर रिभ्यू गर्नूस् न !”

करिब २०० पृष्ठको उनले ईमेलमा पठाएका ती ८।१० कथाहरु लामा लामा नै थिए । त्यसमा समाविष्ट कथाहरुमध्ये “ग्रीनकार्ड” शीर्षकको कथाचाहिँ अहिले पनि म सम्झन्छु । तर त्यो कथा सङ्ग्रह प्रकाशित भएन । विदेशमा राम्रै रचना भए पनि विदेशी प्रकाशन गृहबाट प्रकाशित हुन त्यति सहज नहुनु स्वाभाविक नै थियो ।

मान्छेलाई परिस्थितिले कहाँबाट कहाँ पुर्याउँछ, त्यसको पत्तै हुन्न । मुरारी अधिकारीले राजदूत पद ग्रहण गरेकै देश नछाड्ने निर्णय गरे र बेलायतमै स्थायी रुपले बसे । यस विषयमा अखबारमा धेरै कुरा आए । तर मैले कहिल्यै यो विषयमा सोधिनँ वा सोध्न चाहिनँ । तर कुनै दिन प्रत्यक्ष भेट भएको बेला भने सोधूँला भन्ने लागेको थियो । लण्डनमा पनि बेला बेलामा म फेसबुक मेसेन्जरमार्फत् कुरा गर्ने गर्थें ।

सन् २०१९ को डिसेम्वर २२ का दिन मुरारी अधिकारीकी श्रीमतीको फेसबुक वालमा मुरारी अधिकारीको जन्मदिनको शुभकामना लेखेको पोष्ट देखेपछि मैले भाउजू नीलाको मेसेन्जरमा फोन गरें, तर फोन मुरारीले उठाए । पहिला पनि यसरी नै कुरा हुने गर्थ्यो । हामीले त्यसदिन १३ मिनेट कुरा गरेछौं । घर व्यवहार, पारिवारिक र साहित्यिकलगायत धेरै विषयमा कुरा गर्यौं । उनले दुवै छोराहरुको बिहा भैसकेको र अब अवकाशको जीवन नेपालमै बिताउनका लागि सदाको लागि बेलायतबाट प्रस्थान गर्न तयारी थालेको र घर बिक्री भएपछि जाने कुरा बताए । अनि हामीले नेपालमै भेटेर भलाकुसारी गर्ने सल्लाह पनि गर्यौं ।

तर उनको नेपाल फर्केर जाने सपना पूरा भएन । १५ जनवरी २०२० का दिन उनको हृदयाघातका कारण बेलायतमै निधन भयो ।

प्रतिक्रिया
Loading...