नेपाली साहित्यको सम्पूर्ण पत्रिका

शान्ति थापाको निधनबाट उब्जेका श्रद्धाञ्जलीका छालहरू

साहित्यकार शान्ति थापाको निधन भएको खबर आयो। उहाँसितका सम्पर्क आत्मीयतामा आघात लाग्यो। उहाँसित पहिलो भेट २००६ मा भएको थियो। त्यसपछि एकचोटि बनारसमा सम्पन्न सेमिनारमा पनि भेट भएको थियो। उहाँले गौहाटी विश्वविद्यालयबाट सञ्चालित आइडोलमा नेपाली विषयमा स्नातकोत्तरका लागि धेरै काम गर्नुभएको थियो। त्यहाँ पनि दुईचार चोटी भेट भएको थियो। उनी उज्याली, सुन्दरी र सौन्दर्यप्रेमी थिइन्। उनी सचेत थिइन्, जातिप्रेमी भाषाप्रेमी, साहित्यप्रेमी, थिइन्। नेपाली साहित्यकी एकजनना आशालाग्दी थिइन्। जाँगरिली लेखक थिइन्। हिन्दी साहित्यमा पनि निकै काम गरेकी थिइन्।

गौहाटी विश्वविद्यालयको मुक्त र दुरशिक्षा केन्द्र, आइडोलमा नेपाली विषय खोल्नु, पूर्व तयारी गर्नु, पाठ्यसामग्री तयार गर्न तारतम्य मिलाउनु, पाठदानको योगदान दिने शिक्षकहरूको व्यवस्था गर्नु, सरकारी र विश्वविद्यालय पक्षसित सर-सल्लाह गर्नु, विद्रायर्थीहरूमा यसको प्रचार प्रसार र विज्ञापन आदि धेरै काम गर्नुभएको थियो। दिलोज्यानले ख़टिनुभएको थियो। चुपचाप काम गरिरहने, विज्ञापनदेखि टाडा बस्ने थिइन्।

शान्ति थापा अविवाहित थिइन्। उहाँ केही महिनादेखि बिमारले थलिएकी थिइन्। उनको ढाड़को व्यथले पीडित थिइन्। उनको ढाको बिमारका साझै नयाँ विमार पनि थपिए। आज हृदयाघात भएर निधन भएको रहेछ। उहाँसित मेरो पहिलो फोनमा गफ हुपुनथ्यो। उहाँसित फोन गर्दा आधा घन्टा बढी समय बित्थ्यो। उहाँले सबैभन्दा पछिल्लो समयमा विचन्द्र प्रधानको अभिनन्दन ग्रन्थको तयारीमा थिइन्। विभिन्न लेखकहरूका लेखका निम्ति आह्वान गरेकी थिइन्। यसमा उहाँ धेरै सफल हुनुभएको थियो। अब त लेख आइसके, प्रेसमा दिन तयारी गर्दैछु भन्नेसम्म सूचना दिनुभएको थियो। २०२० मा कोरोनाको महामारी समयमा शान्ति दिदीसित मेरो फोन सम्पर्क हुनपाएको थिएन। फोन गर्दै बन्दको अवस्था हुन्थियो।

नवीन पौड्याल (सिक्किम)

उहाँ एक कुशल उपन्यासकार, कथाकार, गीतकार समालोचक हुन्। यिनको जन्म ९ जनवरी, १९६१ मा माधवदेव पथ, दुर्गा सरोवर, गौहाटीमा भएको हो। यिनका बाबुआमाको नाम स्व. कालु थापा र श्रीमती यशोदादेवी हो। उहाँ राधा गोबिन्द कलेजकी हिन्दी विभागमा प्राध्यापन गर्दै डिसेम्बर, २०२० मा सेवानिवृत्त भएकी थिइन्। उनले हिन्दी साहित्यमा उच्च अध्ययन गरेकी थिइन्। उनले हिन्दी र नेपाली रोमान्टिक कविताहरूतको तुलनात्मक अध्ययनमाथि पिएचडी गरेकी थिइन्। उनी कोलाज आन्दोलनसित पनि प्रत्यक्ष रूपमा संलग्न थिइन्। यसका मूल अविनाश श्रेष्ठ, नवसापकोटासित पनि यसको विभिन्न कार्यक्रमतिर सरिक हुन्थिन्।

उनी खाँटी साहित्यकार हुन्। प्रकाशनका हकमा उनका ‘मोहनी डटकम’ (उपन्यास), ‘माया’  (२००४, गीतसङ्ग्रह), आवर्तन (कथासङ्ग्रह, २००७), ‘यो शहर ढल्दै छ’ (कथासङ्ग्रह), देखिन्छन्। उनी नेपाली समालोचनामा पनि सक्रिय देखिन्छिन्। यिनले हिन्दी साहित्यमा स्नातकोत्तर र विद्यावारिधि हासिल गरेकी हुन्। यिनीद्वारा सम्पादित ‘असमेली नेपाली कथा-यात्रा’ अत्यन्त गहकिलो सन्दर्भ-ग्रन्थ प्रकाशित छ। यिनले उक्त ग्रन्थको सम्पादन गर्दा असमेली नेपाली कथाको सर्वेक्षण र प्रवृत्तिहरू खुट्याइ प्रायः प्रमुख कथाकारको मूल्याङ्कन गरिएको छ। यसबाहेक ‘समन्वयकी साँघु : गीता उपाध्याय’ (२०१४), ‘अस्मिताका कवि नवसापकोटा’ (२०१५) जस्ता साहित्यकार मूल्याङ्कन ग्रन्थहरूको सम्पादन पनि गरेकी छन्। सर्वेक्षणात्मकता, विषयवस्तुगत सूक्ष्म निरीक्षण, तथ्यात्मकता, इतिहासपरकता आदि उनका समालोचकीय गुण हुन्। यिनी मूलतः हिन्दीमा आफ्नो उच्च अध्ययन गरेकी हुनाले हिन्दीमा पनि समालोचना लेखेकी छन्।

शान्ति थापा

उनी एक कुशल अनुवादक थिइन्। उनले केही पुस्तकलाई हिन्दी र असमीयबाट नेपालीमा अनुवाद गरेकी थिइन्। उनले अनुवाद गरेको नामघरे उपन्यासले साहित्य अकादमीको अनुवाद पुरस्कार पाएकी थिइन्। यसबाहेक उनले अस्तराग उपन्यासको पनि असमीयबाट नेपालीमा अनुवाद गरेकी थिइन्। य दुई उपन्यासमा पनि यिनको लेखन सिप झल्किन्छ। उनले हिन्दी साहित्यमा पनि  काम गरेकी हुन्। भारत के स्वाधीनता आमन्दोलन में पानवारी रेल दुर्घटना को हिन्दी अनुवाद, लोहित घाँटीकी कहानियाँ आदिको सम्पादन गरेकी छन्। उनले हिन्दी पत्रिकका अन्तरङ्ग को नेपाली कथा विशेषाङ्क, रङ्गघर हिन्दी पत्रिकाको नेपाली साहित्य संस्कृति विशेषाङ्क तथा दस्तावेजको असम विशेषाङ्कको सम्पादन र मृण्मय हिन्दी पत्रिकाको सम्पादन कार्य गरेकी हुन्। हिन्दीमा  काम गरे पनि विषय त नेपाली साहित्य हुन्थ्यो। उनी अन्य हिन्दी भाषी पाठकलाई नेपाली भाषा साहित्य र जाति चिनाउन कम्मर कसेकी थिइन्।

उनको मोहनी डट कम उपन्यासमा नयाँ शिल्प र शैली प्रयोग गरी यसलाई रोचक बनाएकी भएको थिइन्। असमको सामाजिक ऐतिहासिक, समसामयिक पक्षहरूलाई नजिकैबाट केलाएर प्रस्तुत गर्दै त्यसमा स्वैरकल्पनाको प्रयोग पनि गरेकी छन्। असमेली नेपाली उपन्यासमा यसले ठुलो नाम राखेको छ। धेरै  समीक्षित र चर्चित बनेको छ।

उनको एउटा गीत-सङ्ग्रह माया सन् २००४ मा प्रकाशित भएको देखिन्छ। यसमा जम्मा एक शय वटा गीतहरू संग्रहीत छन्. यसमा एक-दुईवटा भजन, एउटा शिशु-गीत, केही देशभक्ति गीत रहेका छन् भने अन्य प्रायः जसो गीतहरू प्रेमभावमा रहेका छन्। उनका अधिकांश गीतहरू रोमान्टिक भाव-धाराका छन्। उनका गीतमा प्रेमानुराग, प्रेमपीड़ा, देशप्रेम, जातिप्रेम, प्रकृतिको विविध अवस्थाको चित्रण इत्यादि पाइन्छ। एउटा गीतको प्रसङ्ग हेरौं, हिन्दी र नेपाली गीतमा माझीको उल्लेखनीय छ। हिन्दीमा ओ माझी रे र नेपालीमा चाँहि माझीदाइ निकै गीतमा पाइन्छन्। शान्ति थापाले पनि गीतसंख्या १३ मा माझी दाइलाई सम्झेकी छन्। यहाँ माझीले नाऊ खियाएर यात्रुहरूलाई नदी पार गरिदिन्छ। यद्यपि अधिकांश गीतमा माझीको प्रसङ्ग साधारण नदी तार्ने नभएर यो भवसागर तारिदिने कोही अदृश्य माझीको अर्थ लाग्न सक्छ। यहाँ हृदयमा उब्जिएका मिठा कल्पना, भावबिम्बहरूलाई टिपेर उतारिएको छ। यहाँ मायाका विविध रूप देखिन्छ। जातिप्रेम, जातीय अस्मिताको आह्वान, बहुसांस्कृतिक ऐक्य र विश्वप्रेम उनका गीतका विषय हुन्। शान्ति थापाका गीतमा हरिभक्त कटुवाल, ईश्वरबल्लभका गीतको प्रभाव पनि केही मात्रामा परेको पनि देखिन्छ। यसमा रहेको गीत संख्या ३२ को अन्तरामा रहेको गीतांशमा कटुवालको सम्झना आउँछ –

पोखिएर घामको झुल्कामा बिहानी हाँस्छ

मगमग फूलहरूले सुबास छरी दिन्छ

डाली डाली लुकी लुकी कोयली गाउँछ

छमछम मयुरले ताल मिलाई नाच्छ.।

उनका गीतमा कतै असम प्रेम,भानुमहिमा, देसप्रेम, जीवनका आशा र निराशा, रहरका झिल्का इत्यादि पाइन्छन्। यसमा रहेका प्रायः सबै नै गायनयोग्य छन्। शब्दशय्यामा सचेतता, संक्षिप्तता, छोटा वाक्य, विषयगत एकान्विति, कोमल वर्ण प्रयोग र गेयात्मक अनुभूतिको अभिव्यक्ति नै शान्ति थापाको गीत लेखनगत उपलब्धि हुन्।

शान्ति थापा एक कुशल सम्पादक भएर साहित्य सेवा गरिन्। उनले सम्पादन गरेको ‘असमेली नेपाली कथा यात्रा’को भूमिका लेखन अत्यन्त गहन र खोजपूर्ण रहेको पाइन्छ। अध्येता र साहित्येतिहासकारका निम्ति निकै उपयोगी सिद्ध हुन्छ। त्यसमा सङ्कलित कथाहरूको खोजी, चयन र सम्पादन कला निकै उल्लेखयोग्य देखिन्छ। शान्ति थापाले हाम्रो ध्वनि पत्रिकाको पनि निकै लामो समयसम्म सम्पादन गरिन्। यस पत्रिकालाई निरन्तरता दिन,त्रुटीविहीन निक्कै खटिन्। पत्रिकाका निम्ति रचना सङ्कलन, सम्पादकीय लेखन, स्तरीयताका लागि रचना चयन, साहित्यकारसित सम्पर्क आदिमा निकै सक्रिय थिइन्।

अब उनी कहिले नफर्किने गरी गइन्। उनले निकाल्न खोजेको विचन्द्र अभिनन्दन ग्रन्थ अब के हुन्छ, हाम्रो ध्वनि फेरि निस्केला- ननिस्केला, उनी जस्तो खटेर लेख्ने अरू आउलान् – नआउलान् शङ्का छ। उनको योगदान अविष्मरणीय छ। हाम्रो मानसपटलमा जीवित भइन्। शान्ति थापा गौहाटीकी नेपाली साहित्यकी धरोहर थिइन्। उनलाई हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै आत्म शान्तिको कामना गर्दछु।

प्रतिक्रिया
Loading...