नेपाली साहित्यको सम्पूर्ण पत्रिका

संसारका अद्भूत चित्रकला २२

संसारका अद्भूत चित्रकलाहरूमध्येमा आज हामीले छानेका छौँ- पिटर पल रूबेन्सको प्रख्यात चित्रकला ‘द जजमेन्ट अफ पेरिस’ ।

यो एउटा मिथकमा आधारित चित्रकला हो । कथाअनुसार, तीन देवीहरू भेनस, मिनर्वा र जुनो ज्यादै सुन्दर देवी थिए । सुन्दर भएकाले उनीहरूबीच एकअर्कामा ईर्ष्या र प्रतिस्पर्धा पनि उत्तिकै हुने गर्थ्यो । यसबीच देउताहरूबीच पनि यी तीनमध्ये को बढी सुन्दर भन्ने प्रश्न गहन रूपमा उठ्यो । यो प्रश्नको समाधान गर्न कसैले पनि सकेनन् । किनभने ती तीनै जना एकसे एक सुन्दर थिए । उनीहरूको सुन्दरताबाट कायल नहुने शायदै कोही थिए । यस्तो अवस्थामा कसले यीमध्ये एक जनालाई सुन्दर घोषित गर्ने त ? समस्या भयो । यसको समाधानका लागि पेरिस नामक देउतालाई छिनोफानोका लागि नियुक्त गरियो । जो तीन जनामध्ये उत्कृष्ट हुन्छ, उसैलाई सम्मानस्वरूप सुनको स्याउ उपहार वा पुरस्कारस्वरूप दिइने घोषणा गरियो ।

यसपछि यी तीन देवीहरूबीच कसले कसको मन बढी जित्ने, हाउभाउ कटाक्षले प्रभावित तुल्याउने प्रतिस्पर्धा नै चल्यो ।

सोही घटनाले पछि ट्रोजन युद्ध भएको बताइन्छ ।

अहिले जसरी विश्व सुन्दरी छानिन्छ, त्यसको आदर्श नै यही कथानक हो । यसैका आधारमा युवतीहरूबीच सौन्दर्यको प्रतिस्पर्धा गराइन्छ ।

को हुन् चित्रकार पिटर पल रूबेन्स ?
त्यो बेलाको दक्षिणी नेदरल्यान्डमा एउटा बेग्लै मुलुक थियो, जसलाई फ्लान्डर भनिन्छ । यो हालको बेल्जियमका रूपमा प्रचलित छ तर त्यो
बेला निकै ठूलो भूभाग थियो । दक्षिणी नेदरल्यान्डसम्म यसको सीमा मानिन्थ्यो ।

त्यहीँ २८ जुन १५७७ मा जन्मिएका पिटर पल रूबेन्स फ्लेमिस बारोक परम्पराका एक उम्दा र प्रभावशाली चित्रकार थिए । त्यो बेला फ्लेमिस बारोक भन्नाले स्पेनको एउटा विशिष्ट कला परम्पराको निरन्तरता बुझिन्थ्यो, जुन अझै पनि बुझिन्छ ।

मेरो कामप्रतिको बौलाहापना स्वर्गबाट आउँछ, धर्तिका उम्दापनाबाट होइन भनी घोषणा गर्ने उनी अधिकांशतः इटालेली कलाको पुनर्जागरणबाट बहुतै प्रभावित भए । यही कारण पनि उनको मूल बसाइ एन्तर्प भए पनि र त्यहीँ अधिकांश कला सिर्जना गरे पनि बरोबर रोमको भ्रमण गरी नयाँ कुरा सिकेर जान्थे ।

उनले कयौँ पटक बेलायत र स्पेनको शान्ति सम्झौताका लागि नेतृत्वसमेत गरेका कारण उनलाई बेलायतले ‘सर’द्वारा सम्मानित गरेको थियो । स्पेनले पनि उनको योगदानलाई कदर गर्दै नाइटहूड प्रदान गरेको थियो । यसरी दुवै देशको सम्मान बटुल्ने त्यसबेलाका विरलै कलाकारमध्ये उनी पर्छन् ।

दुई पटक बिहे गरेका उनका आठ सन्तान थिए ।

यो पेन्टिङमा के हेर्ने ?

Rubens_-_Judgement_of_Paris.jpg (5707×4226) (wikimedia.org)
१. पेरिस र मर्करीः
पेन्टिङको दायाँतिर पेरिस र मर्करी दुई देउता छन् । पेरिस ट्रोजन राजकुमार हुन् । उनले भेडागोठालाको पहिरन लगाएका छन् र हातमा पुरस्कारका रूपमा दिन लागेको सुनको स्याउ देखिन्छ । कथानकअनुसार, जब उनकी आमाले पेरिसलाई जन्माइन्, भविष्यवाणी गर्नेहरूले उनी हुर्किएपछि ट्रोय देशलाई नै ध्वस्त बनाउने छन् भनी बताएका थिए । यही डरले उनकी आमाले उनलाई मार्न भनी एकान्त ठाउँमा लगेकी थिइन् तर मार्न सकिनन् । पछि त्यत्तिकै छाडी उनकी आमा हिँडिन् । उनलाई पछि एक जना भेडा गोठालोले फेला पारेर हुर्काएका थिए । यस्तै उनीसँगै रहेका टोप लगाउने मर्करी देउता हुन् । उनी संदेश र सम्वादका देउता मानिन्छन् । उनले चमत्कारी छडी बोकेका छन् । यो छडीमा दुई वटा सर्प देखिन्छन् ।

२. मिनर्वाः
युद्ध र बुद्धिमताकी देवी मिनर्वा अगाडितिर सर्वाङ्ग उभिएकी छन् । उनको हात माथि टाउकोमा अड्याएकी छन् । उनले पेरिसलाई लोभ्याउँदै भनेकी थिइन्, ‘यदि तिमीले त्यो सुनको स्याउ मलाई दियौ भने प्रत्येक युद्धमा तिमीलाई नै जिताउने वरदान दिन्छु ।’
उनले भविष्यमा हुनसक्ने घटनाको पूर्वानुमान गर्ने शक्ति दिन्छु भनी बताएकी थिइन् ।

३. भेनस
कपालमा गुजुल्टो बनाएर गुलाब राखेकी, विभिन्न पत्थरजडित गहना र कानमा कुण्डल लगाएकी भेनस सुन्दरता, प्रेम र सन्तानोत्पादनकी देवी हुन् ।
को बढी सुन्दर भनी गरिएको प्रतिस्पर्धामा उनलाई पुरस्कार स्वरूप सुनको स्याउ दिइए उनले संसारकै प्रसिद्ध सुन्दरी उनीप्रति प्रेममा पर्ने वरदान दिने घोषणा गरिन् ।

४. हेल्मेट र कवच
चित्रको सबैभन्दा देब्रेतिर एक जना मानिसले मुख खोलेजस्तो देखिन्छ । ती टाउकोभरि सर्प भएकी मेडुसा नामक राक्षसी हुन् । यिनको एक नजरले मानिस वा देउता ढुंगोमा परिणत हुनसक्छन् तर ग्रिसेली नायक पर्सियसले मिनर्वाको सहयोगले ती राक्षसीलाई तह लगाएका थिए । यी छेउमा युद्ध लड्दा प्रयोग गरिने सिल्ड (कवच) छ । क्याप्टेन अमेरिका कमिक्स वा फिल्ममा बोकिने सिल्ड यस्तै सिल्ड हो । अर्को चाहिँ हेल्मेट पनि छ । जुन युद्धमा नै आफ्नो सुरक्षाका लागि लगाइन्छ ।

५. उल्लु
यहाँ उल्लुलाई बुद्धिमताको संकेतका रूपमा राखिएको छ । बुद्धिमता सधैँ अँध्यारोमा हुन्छ भन्ने संकेत जनाउन यहाँ राखिएको हो । यो उल्लु सधैँ मिनर्वाको छेउछाउमा देखिन्छ ।

६. क्युपिड
तल कुनामा एउटा बालक अर्कै दिशामा हेरिरहेको वा आफैँमा खेल्न मग्न रहेको देखिन्छ । यो बालक प्रेमको भगवान् हो । उसको हातमा सुनौलो तीर सधैँ देखिन्छ । यसले चलाएको तीरका कारण मान्छेलाई प्रेम हुने त्यो बेलाको विश्वास थियो । यो बदमास बालकले कहिलेकाहीँ नचलाउनुपर्ने ठाउँमा तीर चलाइदिएर गडबड पनि गर्छ । त्यही गडबडी यहाँ पनि भयो, जुन पेरिसको जीवनको दर्दनाक ट्रेजेडीका रूपमा प्रख्यात छ ।

७. गडबडाउँदो आकाश
यहाँ जे जति घटना भइरहेका छन्, ती घटनाले निको संकेत गरेको छैन भन्ने दर्शाउन चित्रकारले आकाश धमिलिएको देखाएका छन् ।

८. मयूर
देवी जुनोको छेउमा मयूर उभिएको छ । मयूरले पेरिसलाई झन्डैझन्डै ठुँगुँलाझैँ गरेको छ । यो मयूरको उपस्थिति चाहिँ वातावरणको भव्यता दर्शाउन राख्ने गरिन्छ, एउटा दैवीय उपस्थितिका रूपमा ।

९. जुनो
चित्रमा ढाड देखिने गरी उभिएकी स्त्री भने देवीहरूकी रानी जुनो हुन् । जुनो चाहिँ जुपिटरकी पत्नी पनि हुन् । प्रतियोगिता आफूले जिते पेरिसलाई धनधान्यले परिपूर्ण पारिदिने वचन दिएकी थिइन् ।

दुःखको कुरा पेरिसले यो प्रतियोगितामा न त मिनर्वाको बुद्धिमतालाई प्राथमिकता दियो न त जुनोले सुझाएको धनधान्य नै रूचायो । बरू उसले झट्ट हेर्दा आकर्षक लाग्ने संसारकै सुन्दरी प्राप्त गर्ने वरदान लियो र सुनको स्याउ भेनसलाई दियो ।

कथाले भन्छ, यसपछि ट्रोयमा विनाश निम्तियो ।

छैन त कथा रमाइलो ? अनि कथासँगै ती कुरा दर्शाउने चित्र झनै रोचक छैन त ?

रोचक कुरा त के छ भने यो पेन्टिङ यति रूचाइयो कि यसका अनेकन् संस्करणहरू त्यसपछि बनाइए । ती चित्रकलाको स्वाद पनि लिनु कम रोचक हुने छैन । आउनुस्, शृंखलाबद्ध रूपमा सोही विषयमा तयार पारिएका अन्य चित्रकलाको स्वाद पनि लिऔँः

Peter_Paul_Rubens_115.jpg (3051×1590) (wikimedia.org)

Peter_Paul_Rubens_-_The_Judgment_of_Paris_(1630s).jpg (4860×3670) (wikimedia.org)

Peter_Paul_Rubens_-_The_Judgement_of_Paris_-_WGA20277.jpg (1032×770) (wikimedia.org)

Peter_Paul_Rubens_-_The_Judgement_of_Paris,_c.1606_(Museo_del_Prado).jpg (3051×2435) (wikimedia.org)

Peter_Paul_Rubens_-_The_Judgment_of_Paris_-_WGA20307.jpg (5342×4226) (wikimedia.org)

प्रतिक्रिया
Loading...