नेपाली साहित्यको सम्पूर्ण पत्रिका

कविता र चित्रकला सँगसँगै

२०५३ साल तिर हो, भर्खर क्याम्पस भर्ना भएको थिए। हरेक दिन आउजाउ गर्दा पृथ्वीनारायण क्याम्पसको कल्चरल म्युजियमअगाडि एकजना अधबैंसे युवक कहिले साइनबोर्डमा अक्षरहरु कुँदिरहेका हुन्थे त कहिले क्यानभासमा हिमालका सुन्दर दृश्यचित्रहरु कोरिरहेका भेटिन्थे। धेरै समयपछि थाहा भयो उनी नाम चलेका कलाकार एवं कवि रमेश श्रेष्ठ रहेछन्। एक्यापका जागीरे पनि।

एक समय तत्कालीन महेन्द्र प्रकृति संरक्षण कोष (एक्याप) को आयोजनामा संरक्षण कविता र संरक्षण चित्रकला यात्रा निकै चर्चित बनेको थियो। सो यात्राअन्तर्गत कवि र कलाकारको समूह पोखरा र आसपासका गाउँमा गएर कविता रच्ने र स्थानीयलाई सुनाउने साथै चित्रकारको समूहले स्थानीय प्राकृतिक सुन्दर छटालाई क्यानभासमा सजाउने गर्थे। यही संरक्षण यात्रा आन्दोलनले पोखरेली साहित्य र चित्रकलालाई राष्ट्रिय स्तरमा अझ स्थापित गर्ने काम गर्यो। र, यही आन्दोलनका परिकल्पनाकार थिए रमेश श्रेष्ठ ।

त्यसैगरी एकताका बजारमा देखिने साहित्यका प्रायः नयाँ पुस्तकका कभरपेजमा एकतर्फी हस्तक्षेप देखिन्थ्यो। ती कभरपेजमा आधुनिक शैलीका कलाकृतिहरुहरुलाई विषयवस्तुसँग तादात्म्य राख्ने गरी कलात्मक रुपमा सजाइन्थ्यो। नयाँदेखि स्थापित स्रटाका रोजाई उनै रमेश श्रेष्ठ हुने गर्थ्यो।

रमेश श्रेष्ठलाई परिचित गराउन माथिका दुई दृष्टान्त काफी छन्।

२०२३ साल पोखरामा जन्मेका रमेश श्रेष्ठ विगत चार दशकदेखि चित्रकार र कविको रुपमा सुपरिचित छन्। कलाकारिता र कविताको दुई विपरीत डुंगालाई सफल रुपमा सयर गराई यो उचाईमा पुर्याउने सम्भवतः उनी नेपालका एकमात्र सर्जक हुन्।

उनले तीन पटक एकल कला प्रदर्शनी, सयौँको संख्यामा विभिन्न सामूहिक कला प्रदर्शनी र कलाका कार्यशालामा आफूलाई सहभागी गराइसकेका छन्। कलाकारिताको अलावा नेपाली साहित्यको क्षेत्रमा उनी बिम्बकविको रुपमा प्रख्यात छन्। अहिलेसम्म एक दर्जन कविता संग्रह र सयौँको संख्यामा विभिन्न पत्रपत्रिकामा फुटकर कविता उनले प्रकाशित गरिसकेका छन्। नेपाली कविताको छुट्टै मूल्य र मान्यता स्थापित गर्न टिकटमा एकल कविता सुनाउने प्रथम प्रयोक्ताको श्रेय उनै रमेशलाई जान्छ। २०६२ सालमा उनले शुरु गरेको यो प्रयोग अहिले देशैभरि फैलिएकोमा उनी दंग छन्।

रमेशका कविताले सामान्यभन्दा सामान्य मानिसका दैनिकी र तिनको मनोविज्ञान चित्रण गर्दछन्। उनका कविता पढ्दा अलिक क्लिस्ट लागे पनि तिनको विषय र अर्थ बडो सरल र सादगी लाग्ने खालका हुन्छन्। बुद्धका शान्तिका उपदेश, घाँस उखेलिरहेकी केटीको दैनिकी, रोधीका साँस्कृतिक पाटाहरु, चराहरुका दिनचर्या आदि उनका लेखनका रोजाईका विषयवस्तु हुन्।

त्यसो त चित्रकलामा रमेशले आफ्नै खालको मौलिक पहिचान स्थापित गरेका छन्। उनका रङहरुको संयोजन, चित्रकलाको विषयवस्तु र तिनले सम्बोधन गर्न खोजेको क्षेत्र आफैँमा अर्थपूर्ण छ। अर्ध अमूर्त र सेमी फिगरेटिभ उनका शैलीगत पहिचानहरु हुन्। यसको अलावा त उनका मूर्त शैलीका दृश्य चित्रहरु अत्यन्त मनमोहक र सुन्दर लाग्छन्।

उनका सेमी फिगरेटिभ चित्रहरु विषयका हिसाबले समसामयिक छन् नै। त्यसका अलवा ती चित्रमा अर्ध अवचेतन मनका आयामहरु प्रतिविम्बित भएका हुन्छन्। कतै आकास चुम्न पुगिरहेका त कतै समुद्र मन्थन गरिरहेका, कतै सारंगी रेट्न पुगिरहेका त कतै बुद्धसँग साक्षात्कार संवाद गरिरहेका दृश्यहरुले आधुनिक समयको दृश्य र मनोविज्ञानलाई सम्बोधन गरिरहेको भान हुन्छ। उनका चित्राङ्कन विधि पनि विषयवस्तुसँग मेलखाने खालका छन्। संगीतका धुन र शब्दको संयोजनहरु जस्तै लाग्ने उनका रङ र ब्रसका डोबहरु विषयवस्तु वरपर घुमिरहन्छन्।

विभिन्न मानसम्मान र पदवीद्वारा सम्मानित श्रेष्ठ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका निवर्तमान प्राज्ञ कलाकार हुन्। आज हामी उनै प्राज्ञ श्रेष्ठका केही कलाकृति अवलोकन गर्नेछौँः

प्रतिक्रिया
Loading...