नेपाली साहित्यको सम्पूर्ण पत्रिका

कविता के हो र यसभित्र के के पर्दछन् ?

सिर्जना पाठशाला २

१. विषय प्रवेश

अनुभूतिको लयात्मक अभिव्यक्ति नै कविता हो । कवि र कविता दुवै तत्सम शब्द हुन् । कवि शब्दको निर्माणमा दुईओटा मान्यताहरू पाइन्छन् । काव्यमीमांसकार राजशेखरलगायतका एक थरी वैयाकरणहरूले ‘कवृ वर्णने’ धातुबाट कवि शब्दको निर्माण भएको हो भनेका छन् भने अन्यले ‘कुङ् शब्दे’ धातुबाट ‘कवि’ शब्द निर्माण हुने विचार अगाडि सारेका छन् । यही ‘कवि’ मूल शब्दमा ‘ता’ प्रत्यय जोडिएर ‘कविता’ शब्द बन्दछ, जसको अर्थ हुन्छ– कविको गुण वा धर्म । ‘कवि’ शब्दमा नै ‘यत्’ प्रत्यय लागेर बनेको ‘काव्य’ शब्दको अर्थ हुन्छ– कविको कर्म । कविता र काव्यलाई संस्कृत लक्षणग्रन्थहरूले पर्यायवाची शब्दका रूपमा प्रयोग गरेको पाइन्छ । सूक्ष्म रूपमा हेर्दा तिनीहरूमा केही भिन्नता देखिए पनि स्थूल रूपमा ती दुवै कविता नै हुन् । सामान्यतः लघुआकारका भावनाप्रधान रचनालाई ‘कविता’ र मध्यम वा बृहत् आकारका आख्यानमिश्रित रचनालाई ‘काव्य’ भन्ने चलन छ तर कविता शब्दभित्र हाइकुदेखि लिएर बृहत्तर महाकाव्यसम्म सबै कुराहरू पर्दछन् । यस लेखमा कविता विधाअन्तर्गत पर्ने सबै उपविधाका बारेमा परिचयात्मक जानकारी प्रस्तुत गरिएको छ ।

२. कविताका विविध रूप

साहित्यका विविध विधामध्ये कविता एक छुट्टै विधा हो । परिपक्व एवं खारिएको अनुभूतिको संवेदनशील पोखाइ यसमा हुन्छ । यो श्रव्यकाव्यअन्तर्गतको पद्यविधामा पर्दछ । त्यसैले जब आँखाले देखेको, शरीरले छोएको एवं कल्पनाले भेट्टाएको जुनसुकै विषयवस्तुलाई अनुभूतिसँग घोलेर साङ्गीतिक चेतनासहित अभिव्यक्त गरिन्छ, तब त्यसले कविताको रूप ग्रहण गर्दछ । कवितामा जीवन र जगत् सूक्ष्मदेखि लिएर स्थूलसम्म र अनुभूतिप्रवाहको विकास सङ्क्षिप्तदेखि लिएर विस्तृत, विराट र गम्भीर स्तरसम्म पुगेको हुन्छ । त्यसैले कविताका लघु, मध्यम र बृहत् गरी प्रमुख तीनओटा रूप छन् । लघुका लघुतम र लघु अनि बृहत्का बृहत् र बृहत्तर गरी थप रूपहरू देखिन्छन् । यसरी हेर्दा कविताका लघुतम, लघु, मध्यम, बृहत् र बृहत्तर गरी पाँचओटा रूपहरू पाइन्छन् जसलाई सङ्क्षेपमा यसरी देखाउन सकिन्छ—

(क) कविताको लघुतम रूपः हाइकु, ताङ्का, सेदोका, छोक, एलाक, मुक्तक, रुबाई, लोकपद्य, कवित्, कूटपद्य, सायरी, दोहा, सोरठा, चौपाई, आल्हा, पूरबी, केस्रा, खिचडी, युग्मक, बाछिटा, सुसेली, साइनो, खोरिया, उदक आदि ।

(ख) कविताको लघु रूपः फुटकर कविता, गीत, गजल, फाँचल आदि ।

(ग) कविताको मध्यम रूपः खण्डकाव्य र लामो कविता ।

(घ) कविताको बृहत् रूपः ललित वा कलात्मक महाकाव्य ।

(ङ) कविताको बृहत्तर रूपः विकसनशील वा आर्ष महाकाव्य ।

कविताका उपर्युल्लिखित पाँच रूपमध्येमा सबैभन्दा सानो एकाइ लघुतम रूप हो भने सबैभन्दा ठुलो एकाइ बृहत्तर रूप हो । नेपाली साहित्यमा यिनको प्रवर्तनात्मक कालक्रमिक सर्वेक्षण गर्दा सबैभन्दा पहिले फुटकर कविताको आगमन भएको पाइन्छ । वि.सं. १८२६ को सुवानन्द दासद्वारा लिखित ‘पृथ्वीनाराण’ कविता नै नेपाली कविताको पहिलो प्राप्ति हो । यसको रचना लघुतम रूपभन्दा ठुलो र मध्यम रूपभन्दा सानो छ । यसपछि १८३७ मा शक्तिवल्लभ अर्यालद्वारा लिखित ‘तनहुँ भकुन्डो’लाई नेपाली मुक्तकीय रचनाको पहिलो स्वरूप मानिन्छ । यो कविताको लघुतम रूप हो । १८३९ तिरको मानिएको कवि दैवज्ञकेशरी अर्यालद्वारा लिखित ‘अश्वशुभाशुभ परीक्षा’लाई नेपाली खण्डकाव्यको पहिलो स्वरूप मानिन्छ । यो कविताको मध्यम रूप हो । १८४० तिरको मानिएको कवि उदयानन्द अर्यालद्वारा लिखित ‘पृथ्वीन्द्रोदय’लाई नेपाली महाकाव्यको पहिलो स्वरूप मानिन्छ । यो कविताको बृहत् रूप हो । यसरी हेर्दा नेपाली कविताको प्राथमिक कालमा नै कविताका लघुतम, लघु, मध्यम र बृहत् चारओटा रूपको प्रयोग भएको पाइन्छ । यसपछि क्रमशः यिनै रूपअन्तर्गत पर्ने अन्य उपविधाहरूको आगमन भएको देखिन्छ । नेपाली कविताको माध्यमिक काल अर्थात् मोतीराम भट्टको आगमनसँगै नेपाली गजल र गीतको प्रवर्तन भएको पाइन्छ भने २०२२ सालमा प्रकाशित उपन्यासकार पारिजातको ‘शिरीषको फूल’ उपन्यासको भूमिकामा कवि शङ्कर लामिछानेले लेखेको हाइकुबाट नेपाली कवितामा हाइकुको पनि प्रवर्तन भएको पाइन्छ । यसरी सुवानन्द दासदेखि आजसम्म आइपुग्दा नेपाली कविताका क्षेत्रमा निकै महत्त्वपूर्ण प्रयोगहरू भएका छन् । त्यसमा पनि पछिल्लो एक दशकमा भएका प्रयोग र नवीन प्रवर्तनहरू निकै उल्लेखनीय देखिन्छन् । तिनको सङ्क्षिप्त परिचय यहाँ प्रस्तुत गरिएको छ—

(क) कविताको लघुतमरूप

कविताको सबैभन्दा सानो रूप नै लघुतमरूप हो । यो दुई, तीन वा चार पाउ (चरण) हरफदेखि आठ हरफसम्ममा रचना गरिन्छ । अनुभूतिको अप्रत्यासित एक झड्का नै यसको मूलभूत चिनारी हो । यसले छरितो भनाइबाट पाठकको हृदयमा च्वास्स घोच्ने काम गर्दछ । यसको संरचना आफैँमा पूर्ण हुन्छ । बिजुली चम्किएजस्तो एकै झिल्कामा यसको रचना भइसक्छ । सर्जकले लामो समयसम्म सोचेर वा विषयवस्तु खोजेर, योजना बनाई बनाई यसको रचना गर्नु पर्दैन, यो कुनै पनि बेला सिर्जनशील मस्तिष्कमा उत्पन्न हुन सक्छ र त्यति नै बेला यसले जीवन्तता पनि पाउँछ । यो स्रष्टाको कसरतविहीन सिर्जना हो, यो तत्काल जन्मिन्छ, तत्काल विकसित हुन्छ र तत्काल अन्त्य पनि हुन्छ । पाठकले पनि यसलाई पढ्न थाल्दाथाल्दै सक्छ र अचानक भावले हृदयमा करेन्टको जस्तो झड्का दिएपछि मात्र यसको प्रभावकारिता थाहा पाउँछ । अनुभूतिको एक झिल्को, भावनाको मितव्ययी अभिव्यक्ति, संवेदनाको खिरिलो प्रस्तुति र जीवनको विशिष्ट क्षणको खारिएको अभिव्यञ्जना नै कविताको लघुतमरूप हो । आकार र संरचनात्मक आयामका दृष्टिले कविताको लघुतम रूपअन्तर्गत निम्नलिखित सिर्जनाहरू पर्दछन्—
१. हाइकु २. ताङ्का ३. सेदोका ४. छोक ५. एलाक ६. मुक्तक ७. रुबाई ८. लोकपद्य ९. कवित् १०. कूटपद्य ११. सायरी १२. दोहा १३. सोरठा १४. चौपाई १५. आल्हा १६. पूरबी १७. केस्रा १८. खिचडी १९. युग्मक २०. बाछिटा २१. सुसेली २२. साइनो २३. खोरिया २४. उदक

यिनको सैद्धान्तिक स्वरूप, प्रवर्तनको ऐतिहासिकता र उदाहरणसहित रचनाविधानका बारेमा आगामी शृङ्खलामा विस्तृत जानकारी प्रदान गरिने छ । यसका साथै सिर्जना गर्ने तरिकाका बारेमा पनि क्रमशः चर्चा गरिने छ । अहिले भने यिनको अतिसामान्य परिचय मात्र यहाँ प्रस्तुत गरिएको छ ।

१. हाइकु
हाइकु जापानी साहित्यको प्रसिद्ध विधा हो । यसका जन्मदाता बासो हुन् । उनको पूरा नाम मात्सुओ मोनेफोसा हो । हाइकुको संरचना अत्यन्त छोटो हुन्छ । जम्मा १७ अक्षरमा यो पूरै कविता समाप्त हुन्छ । पहिलो हरफ ५ अक्षरको, दोस्रो हरफ ७ अक्षरको र तेस्रो हरफ ५ अक्षरको गरी जम्मा तीन हरफमा यसको रचना गरिन्छ । ‘हाइकु’ छोटो तर खँदिलो रचना हो । यसमा शीर्षक दिइँदैन । यसमा विशाल भाव वा विषयलाई पनि अत्यन्त सङ्क्षेपमा प्रस्तुत गरिन्छ । त्यसैले ‘हाइकु’ गहन र प्रभावकारी हुन्छ । हाइकुमा राजनीतिक, सामाजिक, सांस्कृतिक, धार्मिक आदि जुनसुकै भावलाई पनि सूत्रात्मक र सूक्तिपूर्ण तरिकाले प्रस्तुत गर्न सकिन्छ ।

२. ताङ्का
ताङ्का पनि जापानी साहित्यकै अर्को प्रसिद्ध विधा हो । ताङ्का हाइकुभन्दा केही ठुलो आकारको हुन्छ । यसमा ५+७+५+७+७+ गरी जम्मा ३१ अक्षर हुन्छन् । यसमा पनि शीर्षक अनिवार्य मानिँदैन । यसमा पनि विम्ब, प्रतीक र अलङ्कार विधानको विशेष भूमिका हुने गर्छ । यो पनि सूत्रात्मक र सूक्तिपूर्ण हुन्छ ।

३. सेदोका
सेदोका पनि जापानी साहित्यकै अर्को प्रसिद्ध विधा हो । यो ताङ्काभन्दा केही ठुलो आकारको हुन्छ । यसमा ५+७+७+५+७+७ गरी जम्मा ३८ अक्षरको संरचना हुन्छ । यसमा पनि हाइकु र ताङ्कामा जस्तै विम्बात्मक एवं सूक्तिपूर्ण अभिव्यक्ति अपेक्षित छ ।

४. छोक
छोक नेपाली कविता परम्पराको सबैभन्दा छोटो आकारको कविता मानिन्छ । अर्थात् ‘छोटो कविता’लाई सङ्क्षेपमा ‘छोक’ भनिएको हो । हाइकु, ताङ्का र सेदोकाको कुनै पनि नियमभित्र नपर्ने तर छोटो आकारको कवितालाई नै ‘छोक’ भन्ने गरिएको हो । यो नेपाली कवितामा प्रशस्त प्रयोग भएको देखिन्छ । यो छोटो संरचनाको भए पनि प्रभावकारी हुन्छ । यसको प्रभावकारिता अन्तिम हरफमा वा कुनै एउटा शब्दमा हुन्छ । यो मुक्तकभन्दा पनि शक्तिशाली हुन्छ । ‘छोक’ दुई, तीन वा अधिकतम चार हरफमा सकिनै पर्छ ।

५. एलाक
‘एलाक’ भनेको ‘एक लाइने कविता’ हो । नेपाली कवितापरम्परामा २०४३ सालमा इलामबाट एकलाइने कवितालेखनको थालनी भयो । डम्बर पहाडी, होम भट्टराई र शिशिर खरेलको नेतृत्वमा सुरु भएको यो लेखन पनि कविताको लघुतम रूपको सशक्त उदाहरण हो । यसको रचना आठ शब्दमा नबढाई गरिन्छ र पूर्णविराम दिएपछि कविता पूरा हुन्छ । यो अत्यन्त खँदिलो र व्यञ्जनाप्रधान हुनुपर्छ । यसमा शीर्षक अन्त्यमा दिने चलन छ ।

६. मुक्तक
मुक्तक कविताको लघुतम रूपअन्तर्गत पर्ने सबैभन्दा लोकप्रिय र शक्तिशाली विधा हो । यो छोकभन्दा केही ठुलो भए पनि सूत्रात्मक नै हुन्छ । मुक्तक चार हरफमा लेखिन्छ । यसको संरचना ‘ए, ए, बी, ए’को हुने गर्दछ । ‘ए’ अर्थात् अनुप्रासयुक्त पहिलो हरफ जसले भावको थालनी गरी उत्सुकताको प्रारम्भ गर्छ । दोस्रो ‘ए’ अर्थात् अनुप्रासयुक्त दोस्रो हरफ जसले भावलाई गति दिई उत्सुकता बढाउँछ । ‘बी’ अर्थात् स्वतन्त्र तेस्रो हरफ जसले वैचारिक निष्कर्षका लागि परिवेश बनाउँछ । ‘ए’ अर्थात् अनुप्रासयुक्त चौथो हरफ जसमा लेखकीय अभिमत वा विचारको तर्कपूर्ण स्थापना गरिन्छ । यो ‘मुक्तक’को न्यूनतम संरचना हो । गहिरो भावको सूत्रात्मक अभिव्यक्ति छ भने अनुप्रासलाई ख्याल नगरे पनि त्यसलाई ‘मुक्तक’ मान्ने चलन छ तर चतुष्पदी संरचना नै मुक्तकको मूल चिनारी हो । थारैमा धेरै भन्न सक्नु र आनुप्रासिक झड्काले पाठकका मनमा विद्युतीय तरङ्ग उत्पन्न गराउन सक्नु मुक्तकको विशेषता हो ।

७. रुबाई
रुबाई उर्दूफारसी साहित्यको मुक्तकीय रचना हो । यो अरबी स्त्रीलिङ्गी शब्द हो । उर्दूफारसी साहित्यमा चतुष्पदी संरचनामा रुबाई लेखिन्छ । यो शास्त्रीय छन्दमा हुनै पर्दछ । चारओटा मफाइलुन् (१२१२) बाट बनेको ‘बहरे हजज मकबुझ’ बहर वा पञ्चचामर छन्दमा रुबाईको रचना भएको पाइन्छ । रुबाईको बहुवचनलाई रुबाईयात भनिन्छ । यसका जन्मदाता प्रसिद्ध फारसी कवि उमर खैय्याम हुन् । रुबाईमा चतुष्पदी संरचना, एएबीएको निरन्तरता, भावको निरन्तरता आदि अनिवार्य मानिन्छन् । नेपाली साहित्यमा मुक्तक र रुबाईलाई एउटै रूपमा बुझ्ने पनि गरिन्छ तर यी दुईमा संरचनागत भिन्नता छ । मुक्तक बद्धलय र मुक्तलय दुवैमा लेखिन्छ तर रुबाई बद्धलय मात्र हुन्छ । त्यसैले सबै रुबाई मुक्तक हुन सक्छन् तर सबै मुक्तक रुबाई हुन सक्दैनन् ।

८. लोकपद्य
नेपाली लोकजीवनमा युगौँयुगदेखि प्रयोग हुँदै आएका सिलोकहरूलाई लोकपद्य भनिन्छ । विशेष गरी बिहे, व्रतबन्ध आदिका अवसरमा र विशेष पर्वहरूमा यस्ता लोकपद्यहरू गाइने गर्दछन् । बिहेमा बेहुली पक्षकाले प्रश्न गर्ने र बेहुला पक्षकाले उत्तर दिने सन्दर्भमा लोकपद्यको प्रयोग प्रशस्त भएको पाइन्छ । लोकपद्यहरू प्रश्नोत्तरका शैलीमा मात्र नभएर विषयको वर्णन र सूचना सम्प्रेषणका लागि पनि प्रयोग गरिन्छन् ।

९. कवित्
कवित् पनि नेपाली लोकपद्य नै हो । यसमा लोकजीवनको अभिमतलाई सङ्क्षेपमा प्रस्तुत गरिन्छ । यसको संरचना कुनै शास्त्रीय छन्दको नियममा नभएर त्यसको लयमा आधारित हुन्छ तर धेरैजसो कवित्हरू गद्यमा हुने गर्दछन् । आन्तरिक लयात्मक प्रस्तुति यसको लौकिक चिनारी हो । संरचनात्मक अनुशासनको पालनाभन्दा पनि विषयवस्तुको प्रस्तुतीकरणलाई यसमा जोड दिइन्छ । स्त्री सौन्दर्यको वर्णन, संवादात्मक प्रश्नोत्तर, कुनै विषयको जानकारी आदिमा केन्द्रित हुनु कवित्को चिनारी हो तर कतिपय कवित्हरूमा अश्लीलताको मात्रा पनि बढी नै देखिन्छ । यस प्रकारका कवित्हरू शिष्ट र अशिष्ट दुवै परम्पराबाट नेपाली लोकजीवनमा प्रचलित छन् ।

१०. कूटपद्य
कूटपद्य नेपाली लोकजीवनमा प्रचलित अर्को लघुतम संरचना हो । यसको प्रयोग श्रोतालाई घुमाउरो प्रश्नका माध्यमबाट अभर पार्नका लागि गरिन्छ । यो प्रश्नकर्ता र उत्तरदाताबिचको बौद्धिकताको परीक्षणमा केन्द्रित हुने हुनाले पाठकका लागि पनि निकै आकर्षक र मनोरञ्जक रचना मानिन्छ । यसको उद्देश्य श्रोतालाई उत्तर दिन नसक्ने बनाउनु हो ।

११. सायरी
सायरी उर्दू तथा हिन्दी कविता परम्पराको अत्यन्त लोकप्रिय काव्यविधा हो । उर्दूमा कवितालाई नै सायरी भनिन्छ र कविलाई सायर भनिन्छ । त्यसैले उर्दूमा सायरीहरू लामा लामा आकारका पनि लेखिन्छन् । तर, अभिव्यक्तिको मितव्ययिताका लागि वर्तमानमा सायरीहरू छोटो संरचनामा प्रस्तुत हुन थालेका छन् । त्यसैले यो कविताको लघुतम रूपअन्तर्गत पर्दछ । यसमा पनि शक्तिशाली विद्युतीय झड्का हुन्छ । प्रायः दुई हरफमा आफ्नो चोटिलो भाव सम्प्रेषण गर्न सक्ने शक्ति सायरीमा हुन्छ । सायरीको शक्ति पछिल्लो हरफमा वा त्यस हरफको कुनै एउटा शब्दमा लुकेको हुन सक्छ । यसको रचना बद्ध र मुक्त दुवै लयमा हुन्छ । अनुप्रासमूलक झड्का भने यसमा अनिवार्य मानिन्छ । सायरीमा दुई वा चार हरफ हुन सक्छन् अर्थात् गजलको मतला, गीतको स्थायी वा एउटा मुक्तक नै एउटा सायरी हुन सक्छ । यस्तो लेखन नेपालीमा पनि पाइन्छ तर उर्दू वा हिन्दीमा जस्तो प्रशस्त पाइँदैन ।

१२. दोहा
दोहा पनि उर्दू तथा हिन्दी कविता परम्पराको एउटा प्रसिद्ध विधा हो । यो भोजपुरी काव्यजगत्मा पनि निकै लोकप्रिय मानिन्छ । यो कविताको लघुतम रूपअन्तर्गत नै पर्दछ । यसमा उर्दू, हिन्दी तथा भोजपुरीमा धेरै सिर्जनाहरू भएका छन् । नेपालभित्र यो भोजपुरी साहित्यमा अत्यन्त प्रचलित छ । गोपाल अस्कले यसको प्रयोग नेपालीमा पनि गरेका छन् । छन्दको दृष्टिले यो मात्रिक अद्र्धसम छन्द हो । प्राकृत पैँगलमअनुसार दोहाको पहिलो र दोस्रो पदमा १३–१३ मात्रा र तेस्रो र चौथो पदमा ११–११ मात्रा हुन्छन् । यति पदान्तमा हुन्छ । अन्त्यमा गुरु लघु हुनु आवश्यक छ ।

१३. सोरठा
‘सोरठा’ भोजपुरी साहित्यमा प्रचलित काव्य विधाहरूमध्येको एक हो । यो प्रायः दुई हरफमा लेखिन्छ । यसमा अभिव्यक्तिको खँदिलो प्रस्तुति हुन्छ । यसलाई नेपालीमा प्रयोग गर्ने काम गोपाल अस्कले गरेका छन् । छन्दका दृष्टिले यो अर्धसम छन्द हो । प्राकृत पैँगलममा यसलाई सोरठा अपभ्रंश र सौराष्ट्रम दोहाको उल्टो भनिएको छ । यसको बिजोर पाउमा ११–११ र जोर पाउमा १३–१३ मात्रा हुन्छ । तुक पहिलो र तेस्रो पदमा पाइन्छ । कतै कतै दोस्रो र चौथो पदमा पनि तुक पाइने गर्छ ।

१४. चौपाई
‘चौपाई’ हिन्दी साहित्यको लोकप्रिय काव्यविधा हो । यो नेपालमा भोजपुरी साहित्यमा अत्यन्त प्रचलित छ । नामले नै यसको रचना चार पाउमा हुन्छ भन्ने थाहा पाइन्छ । यसलाई पनि नेपाली भाषा साहित्यमा प्रयोग गर्ने स्रष्टा गोपाल अस्क नै हुन् । छन्दका दृष्टिले यो मात्रिक छन्द हो । प्राकृत र अपभ्रंशका १६ मात्राको वर्णनात्मक छन्दका आधारमा यसको रचना हुने गर्दछ । यसको पहिलो पाउको दोस्रो पाउसित र तेस्रो पाउको चौथो पाउसित आनुप्रासिक सम्बन्ध हुन्छ ।

१५. आल्हा
भोजपुरी साहित्यमा प्रचलित काव्यविधाहरूमध्ये ‘आल्हा’ पनि एक हो । यो घटीमा दुई र बढीमा चार हरफमा रचना हुन्छ । यसलाई पनि नेपाली भाषा साहित्यमा प्रयोग गर्ने स्रष्टा गोपाल अस्क नै हुन् । छन्दका दृष्टिले यो मात्रिक छन्दमा लेखिन्छ । यस छन्दको प्रत्येक पाउमा एकतिस मात्रा हुन्छन् र १६ तथा १५ मात्रामा विराम हुन्छ अथवा ८, ८ र १५ मा विराम रहन्छ । यसको प्रत्येक पाउको अन्त्यमा गुरुलघुचाहिँ हुनै पर्छ ।

१६. पूरबी
भोजपुरी साहित्यको निकै प्रसिद्ध र लोकप्रिय लोककाव्य विधाका रूपमा ‘पूरबी’लाई लिने गरिन्छ । यो लोकधुन हो । यसमा भोजपुरी लोकगीतहरू प्रशस्त प्रचलित छन् । यसलाई लोकप्रिय बनाउने काम महेन्द्र मिश्रले गरेका हुन् भने नेपालीमा प्रयोग गर्ने कामचाहिँ गोपाल अस्कले नै गरेका हुन् । यसको रचना वियोगको मनोदशामा आधारित हुन्छ । त्यसैले यो अत्यन्त मनमोहक र हृदयसंवेद्य हुन्छ ।

१७. केस्रा
केस्रा नेपाली काव्यविधामा जन्मिएको एउटा नयाँ प्रयोग हो । यसको प्रवर्तन २०६० को दशकको अन्त्यतिर भएको हो । मलेसियामा बस्ने मौलश्री लिम्बु यसका प्रवर्तक हुन् भने दिलीप सगर राई, जीवन देवान ‘गाउँले’ र कृष मगर यसका प्रवक्ता र प्रयोक्ता हुन् । यसको संरचना छ हरफमा हुन्छ । पहिलो हरफमा एउटा अनुप्रास प्रयोगको थालनी हुन्छ, दोस्रो हरफमा पहिलो हरफको अनुप्रासमा मिल्दो शब्दको प्रयोग अनिवार्य मानिन्छ, तेस्रो हरफ अनुप्रासरहित स्वतन्त्र हुन्छ, चौथो हरफमा पहिलो र दोस्रो हरफको अनुप्रासमा मिल्दो नयाँ शब्दको प्रयोग गरिन्छ, पाँचौँ हरफमा पहिलो हरफको अनुप्रासको पुनरावृत्ति हुन्छ र छैटौँ हरफमा मिल्दो नयाँ अनुप्रासको प्रयोगका साथ चोटिलो समापन गरिन्छ । झट्ट हेर्दा यसको थालनी गजलको जस्तै हुन्छ र चार हरफपछि मुक्तक जस्तै हुन्छ तर छ हरफपछि भने केस्राले आफ्नो स्वरूप ग्रहण गर्दछ । यसमा दुई हरफको एक समायोजन हुन्छ र तीनओटा समायोजनमा एउटा केस्राले पूर्णता पाउँछ । यसमा शब्दगत एकरूपता, लयगत एकरूपता र अनुप्रासको निरन्तरता अनिवार्य मानिन्छ । आकृति केस्रा र आवृत्ति केस्रा गरी केस्राको रचना दुई प्रकारले गरिन्छ । आकृति केस्रामा भावको रेखीय विस्तार हुन्छ भने आवृत्ति केस्रामा भावको चक्रीय विस्तार हुन्छ ।

१८. खिचडी
खिचडी कविताको विधाभन्दा पनि एउटा छन्दका रूपमा प्रयोग गरिएको रचना हो । यसलाई कवि एसबी थापा मगरले प्रयोगमा ल्याएका हुन् । यो एक अक्षरदेखि सात अक्षरसम्मका सात पाउमा लेखिन्छ । यसमा पहिलो अक्षरको अनुप्रासगत निरन्तरता अन्तिम अक्षरसम्म रहने गर्दछ । निश्चित छनोट गरिएका आधार पाउहरू र तिनको सङ्ख्यात्मक गुणनफलबाट सम्पूर्ण सङ्ख्या निर्धारण गरिन्छ । यसको सात पाउका आआफ्नै संरचनागत स्वरूपहरू देखाइएका छन् । यो एउटा प्रयोग हो जसलाई अरू कविहरूले अनुसरण गर्न सकेका छैनन् ।

१९. युग्मक
संस्कृत काव्यपरम्परामा दुई श्लोकको कवितालाई युग्मक भनेको पाइन्छ तर यहाँको युग्मक त्यो होइन । यो नेपाली कविता परम्परामा २०६० को दशकमा नै भएको नवप्रवर्तन हो । भारतको सिलिगुढीमा रहेका नेपाली स्रष्टा कालुसिंह रणपहेँलीले युग्मकलाई प्रयोगमा ल्याएको देखिन्छ । जम्मा दुई हरफमा लेखिने तर अत्यन्त खँदिलो तरिकाले भावसंयोजन गरिने रचना युग्मक हो । यसमा विम्ब छनोट यति शक्तिशाली हुन्छ जसले जीवन र जगत्को एउटा विराट् विषयको प्रतिनिधित्व गर्न सक्छ । यसको पहिलो हरफमा विषयको सामान्य उठान हुन्छ तर दोस्रो हरफले दिने विद्युतीय झड्काले पाठकलाई लामो समयसम्म तरङ्गित बनाइरहन्छ ।

२०. बाछिटा
‘बाछिटा’ नेपाली कविता परम्पराको सर्वाधिक नवीन र रोचक स्वरूपका रूपमा देखापरेको छ । आकारगत दृष्टिले हेर्दा यो सम्भवतः नेपाली लघुतम कविताअन्तर्गत पनि सबैभन्दा छोटो रचना मानिन्छ । २०७७ को सुरुमा नै स्रष्टा अमर त्यागी र खगेन्द्र बस्यालको संयुक्त प्रवर्तनमा लेखन प्रारम्भ भएको बाछिटाको संरचनामा जम्मा ११ अक्षर हुन्छन् । पहिलो पङ्क्तिको तीन अक्षरले विषयवस्तुलाई सूक्ष्म रूपमा उठान गर्ने, दोस्रो पङ्क्तिको पाँच अक्षरले विषयवस्तुलाई सहज रूपमा उत्कर्षमा पु¥याउने र तेस्रो पङ्क्तिको तीन अक्षरले विषयवस्तुलाई प्रभावकारी र अर्थपूर्ण रूपमा पुष्टि गर्ने काम यसमा हुने गर्दछ । यसको नामले नै एकातिर प्राकृतिक विम्बको अपेक्षा गर्दछ भने अर्कातिर चोटिलो व्यङ्ग्यचेतको पनि अपेक्षा गर्दछ । यसको संरचनामा ए, बी, ए को स्वरूप देखिन्छ । यहाँको एले अनुप्रासयुक्त पहिलो हरफका तीन अक्षरलाई बुझाउँछ जसले भावको थालनी गर्दछ । बीले अनुप्रासरहित दोस्रो हरफका पाँच अक्षरलाई बुझाउँछ जसले विचार सम्प्रेषणका लागि परिवेश निर्माण गर्दछ र अर्को एले अनुप्रासयुक्त तेस्रो हरफका तीन अक्षरलाई बुझाउँछ जसले विचारको तर्कपूर्ण स्थापना गर्दछ । बाछिटालाई अहिले उल्लिखित प्रवर्तकहरूका साथै विष्णु भट्टराई ‘विभु’, केशव वैरागी माइलो र अम्बिका धिताल जस्ता स्रष्टाहरूले कृति नै प्रकाशन गरेर अगाडि बढाइरहेका छन् ।

२१. सुसेली
सुसेली पनि नेपाली कविताका क्षेत्रको नयाँ प्रवर्तन हो । बाह्य रूपमा हेर्दा हाइकु जस्तो लाग्ने तर आन्तरिक सुगठनमा नेपाली माटोको सुगन्ध बोकेर आउने सुसेलीका प्रवर्तक भमरकोटे स्रष्टा दुर्गा अधिकारी हुन् । यसलाई अगाडि बढाउने कार्यमा लक्ष्मीप्रसाद मिश्र र दामोदर ढकालको विशेष भूमिका रहेको देखिन्छ । सुसेली पनि हाइकु जस्तै जम्मा १७ अक्षरमा पूरा हुन्छ । यसको पहिलो हरफको ५ अक्षरमा विषयवस्तुको उठान हुन्छ, दोस्रो हरफको ७ अक्षरमा विषयवस्तुप्रतिको कविदृष्टि हुन्छ र तेस्रो हरफको ५ अक्षरमा विषयवस्तुको तर्कपूर्ण समापन हुन्छ । ‘सुरेली’ छोटो तर खँदिलो रचना हो । त्योभन्दा पनि यसको नामले नै नेपाली लोकजीवनलाई सङ्केत गरेको छ । यसका पहिलो र तेस्रो हरफमा अनुप्रास हुनु अनिवार्य छ । तीन हरफमध्येमा कुनै न कुनै ठाउँमा हाम्रो लोकजीवनको एउटा न एउटा विम्ब आउनु अनिवार्य छ । ५, ७, ५ को खँदिलो अभिव्यक्तिभित्र पनि नेपाली लोकजीवनको सुवास आउने गरीको विम्बयोजनामा ध्यान दिनु, आनुप्रासिक अन्तर्गुञ्जनमा जोड दिनु र व्यञ्जनात्मक अर्थविन्यास अनिवार्य हुनु सुसेलीको मूलभूत विशेषता हो ।

२२. साइनो
साइनो पनि नयाँ प्रवर्तन भएको कविताको लघुतम रूप हो । नाता सम्बन्ध अर्थ दिने नेपाली पदलाई कविताको एउटा प्रकारका रूपमा प्रयोगमा ल्याउने काम स्रष्टा छायादत्त न्यौपानेले गरेका हुन् । हेर्दा हाइकुको थोरै विस्तार जस्तो लाग्ने तीनहरफको संरचनामा रहेको साइनो ७, ८ र ९ अक्षरको नियममा बाँधिएर लेखिन्छ । यसको पहिलो रहफमा ७ अक्षर, दोस्रो रहफमा ८ अक्षर र तेस्रो रहफमा ९ अक्षर हुने गर्दछन् । सकेसम्म तीन हरफले फरक फरक रूपमा विषय क्षेत्रलाई सङ्केत गर्नुपर्ने र समग्रमा ध्वन्यात्मक अर्थबाट एउटा गम्भीर भाव सिर्जना हुनुपर्ने मान्यता साइनोमा राखिन्छ । प्रवर्तनको छोटो अवधिमा नै यसलाई धेरै स्रष्टाहरूले प्रयोगमा ल्याएको देखिन्छ ।

२३. खोरिया
खोरिया नेपाली माटोमा प्रवर्तन भएको कविताको अर्को लघुतम रूप हो । नेपाली लोकजीवनसँग प्रत्यक्ष जोडिएको खोरिया शब्दलाई साहित्यिक स्वरूप प्रदान गर्ने काम पाल्पाली स्रष्टा जनार्दन धड्कन अधिकारीले गरेका हुन् । यसको संरचना जम्मा चार हरफमा हुन्छ । सुरुका तीन हरफमा ८, ८, ८ अक्षरको प्रयोग गरिन्छ भने चौथो हरफमा ५ अक्षरको प्रयोग गरिन्छ । यसरी जम्मा २९ अक्षरमा अनुभूतिको सुन्दर व्यवस्थापन खोरियामा गरिन्छ । यसको तेस्रो र चौथो हरफमा अनुप्रास मिल्नु अनिवार्य छ । पहिलो र दोस्रो हरफमा चाहिँ अनुप्रासको प्रयोग वैकल्पिक मानिएको छ । अन्त्यानुप्रास मिलेको हाइकुलाई पनि खोरिया मान्नुपर्ने एक थरी अवधारणा पनि पाइन्छ तर त्यही प्रकृतिको रचना सुसेलीमा पनि हुने हुनाले ८, ८, ८ र ५ को मौलिक संरचनाभित्रको आनुप्रासिक अन्तर्गुञ्जन र व्यञ्जनामूलक भावविन्यासको एक मात्र नियममा केन्द्रित रहनु यसका लागि श्रेयस्कर मानिन्छ ।

२४. उदक
‘उदक’ नवप्रवर्तित नेपाली कविताको लघुतम रूप हो । संस्कृत भाषामा ‘उदक’ शब्दको अर्थ जल अर्थात् पानी हो । यसबाट पनि यसको रचनाविधान पानीको एउटा थोपो जस्तै प्रभावकारी हुनुपर्छ भन्ने कुरामा अभिलक्षित छ । यसको प्रवर्तन यसै वर्ष भएको हो र यसका प्रवर्तक कैलालीका स्रष्टा आर्त अकुलीन हुन् । यो तीन हरफमा लेखिन्छ र यो जम्मा छओटा शब्दमा पूरा हुनुपर्छ । यसमा अक्षर सङ्ख्या गनिँदैन तर पहिलो हरफमा एउटा शब्द, दोस्रो हरफमा दुइटा शब्द र तेस्रो हरफमा तीनओटा शब्द हुनु अनिवार्य मानिन्छ । यसको सुरुको एक शब्दले विषयको उठान गर्छ, बिचका दुई शब्दमा विषयको विश्लेषण गरिन्छ र अन्त्यका तीनओटा शब्दमा लेखकीय विचारको स्थापना गरिन्छ । छोटो हुनु तर व्यञ्जनार्थ प्रदान हुनु उदकको संरचनागत विशेषता हो ।

यसरी कविताको लघुतम रूपमा धेरै कुराहरू नवीन प्रयोग बनेर आएका छन् । यिनको लोकप्रियता र भविष्य हेर्न बाँकी नै छ । प्रवर्तन भइसकेपछि ती नेपाली कविताका सम्पत्ति नै हुन् । यति हुँदाहुँदै पनि रहरमा प्रयोगमा ल्याउने तर त्यसलाई प्रवर्तकदेखि अर्को व्यक्ति कसैले पनि नबुझ्ने र प्रयोग नै नगर्ने अवस्था सिर्जना भयो भने त्यो प्रयोगका लागि प्रयोग मात्र बन्ने देखिन्छ । उल्लिखित नवप्रवर्तनहरूले त्यस प्रकारको नियति भोग्नु नपरोस् । सैद्धान्तिक स्पष्टता, संरचनागत पारदर्शिता, पाठकीय लोकप्रियता र सर्जकहरूबाट अनुसरण कुनै पनि विधा वा उपविधाको स्थापनाका लागि अनिवार्य मानिन्छ । उल्लिखित प्रयोगहरूले त्यही स्वरूप प्राप्त गर्न सकेमा नेपाली कविता निकै धनी हुने कुरा निर्विवाद देखिन्छ ।

(ख) कविताको लघु रूप
अनुभूति केही फराकिलो बन्दै गएपछि कविताको लघु रूप सिर्जना हुन्छ । यसमा अनुभूति लघुतम रूपमा भन्दा केही तरल र फराकिलो बन्न थाल्छ । कविताको लघुतम रूपभन्दा ठुलो र मझौला रूपभन्दा सानो संरचनालाई कविताको लघु रूप भन्ने गरिन्छ । पद्यमा भए दुई पद्यभन्दा बढी र गद्यमा भए आठ हरफभन्दा बढी संरचना भएको भावपूर्ण कवितात्मक रचनालाई नै कविताको लघु रूप भनिन्छ । कविताको लघु रूपअन्तर्गत निम्नलिखित रचनाहरू पर्दछन्—
१. फुटकर कविता २. गीत ३. गजल ४ फाँचल

आन्तरिक संरचनागत वा तत्त्वगत पृथकताका आधारमा भिन्न भए पनि आकारका दृष्टिले फुटकर कवितासँगै गीत, गजल र फाँचललाई पनि राख्ने गरिएको हो । यिनको संचनागत स्वरूपको सामान्य जानकारी यहाँ प्रस्तुत गरिएको छ ।

१. फुटकर कविता
जीवन र जगत्का विशिष्ट क्षणका विशिष्ट घटनाहरूलाई सीमित संरचनाभित्र लयात्मक र मिठासपूर्ण तरिकाले व्यक्त गरिने रचनालाई कविता भनिन्छ । जीवनका अनुभवहरूलाई संवेदनशील तरिकाले लय दिनु कविताको लघु रूप हो । यसमा भावनाको आधिक्य रहन्छ । आख्यानविहीन हुनु यसको अर्को चिनारी हो । कुनै कुनै कवितामा आख्यान आउन सक्छ तर त्यसलाई अनुभूतिको शक्तिशाली वर्षाले थिचिदिनुपर्छ । कुनै कथा सुनाउनु, घटनाको वर्णन गर्नु एवं आत्मकथनात्मक गन्थनलाई विस्तार गर्नु कविताको अभीष्ट होइन तर भावअनुकूल आख्यानतन्तुहरू वा आख्यानचूर्णहरू कवितामा कलासँग मिसिएर आउँछन् भने त्यहाँ दोष लाग्दैन । देवकोटाको ‘यात्री’ कविता आख्यानात्मक छ तर त्यो भावनाद्वारा थिचिएको छ, लेखनाथको ‘कालमहिमा’ कवितामा कुनै आख्यान छैन, केवल भावनाको गहिराइ छ । यी दुवै सफल कविता हुन् । भावनाको विस्तार गर्ने क्रममा फुटकर कविताहरू पनि केही लामा बन्न सक्छन् तर तिनीहरूलाई सर्गमा नबाँधिएसम्म र आख्यानतत्त्वको शक्ति तिनीहरूमा स्पष्ट नदेखिएसम्म मझौला रूपका नजिकमा पुगे पनि ती फुटकर कविता नै मानिन्छन् । देवकोटाको ‘पागल’, समको ‘म पनि द्यौता मान्छु’, भूपिको ‘हामी’ जस्ता कविताहरू आकारमा लामा भए पनि यिनीहरू कविताको लघु रूपमा नै पर्दछन् ।

२. गीत
अनुभूतिको गेयात्मक अभिव्यक्तिलाई गीत भनिन्छ । अनुभूतिको प्रवाह प्रबल रूपमा हुने हुनाले गीतलाई पनि काव्यविधाअन्तर्गत नै समेट्ने गरिएको हो । यसको आफ्नैखाले संरचनागत चिनारी भए पनि आकारका दृष्टिले यो कविताको लघु रूपअन्तर्गत नै पर्दछ । लयात्मक अन्तर्गुञ्जन, तीव्र काव्यिक चेतना, हृदयसंवेद्य अनुभूति प्रवाह, सरलता, कोमलता र प्रभावकारी भाव सम्प्रेषण गीतका लागि आवश्यक पक्ष मानिन्छन् । गीतको रचनामा पनि अनेकौँ प्रयोगहरू हुन थालेका छन् तर प्रयोगवादी गद्यसंरचना गीतको मूल चिनारीभित्र पर्दैन । एउटा सुन्दर गीतका लागि स्थायी र अन्तराको अन्तःसम्बन्ध आवश्यक मानिन्छ । गीतको थालनीमा आउने दुई हरफलाई स्थायी भाग भनिन्छ । यहाँ सिङ्गो गीतको प्रतिनिधित्व हुन सक्ने सूक्तिपूर्ण दुई हरफहरू हुन्छन् । यी दुई हरफहरूमध्ये कुनै एक वा दुवै हरफ पनि प्रत्येक पछिल्ला अभिव्यक्तिभन्दा पछाडि दोहोरिएर आउने हुनाले यसलाई स्थायी भाग भनिएको हो । गीतको मध्यभागमा आउने प्रायः चार हरफको संरचनालाई अन्तरा भाग भनिन्छ । यस खण्डमा अनुभूतिको विस्तार हुन्छ । स्थायी भागमा व्यक्त विचारलाई पुष्टि गर्नेखालका सन्दर्भहरूको संयोजन गरी पुनः स्थायी भागसँग जोडेर सत्यलाई सूक्तिमा रूपान्तरण गर्ने काम यस खण्डमा हुने गर्दछ । गायनको समय, भावगत प्रभाव र सूक्तिपूर्ण प्रस्तुतिका कारण एउटा स्थायी र दुइटा अन्तरा भएको संरचनालाई सुन्दर गीत मान्ने गरिन्छ । लोकगीतहरूमा जति पनि अन्तराहरू हुन सक्छन् तर दुईभन्दा बढी अन्तरा भएका अन्य गीतहरू व्याख्यात्मक हुने हुनाले त्यति सुन्दर मानिँदैनन् ।

३. गजल
अरबीमा जन्मिएर, फारसीमा हुर्किएर, उर्दू, हिन्दी, नेपाली आदि भाषाहरूमा समेत आफ्नो अस्तित्व देखाउन सफल गजल एउटा लोकप्रिय काव्यविधा हो । अरबीमा गजलको औपचारिक जन्म भएको लगभग तेह्र सय वर्ष भए पनि यसले फारसी साहित्यको निकै लामो यात्रा पार गरेर सत्रौँ शताब्दीको सुरुमा मात्र भारतीय साहित्यमा पदार्पण ग¥यो । नेपाली साहित्यमा भने बिसौँ शताब्दी अर्थात् नेपाली कविताको माध्यमिक कालमा मोतीराम भट्टका माध्यमबाट गजलले प्रवेश पाएको हो । गजल अरबी भाषाको स्त्रीलिङ्गी शब्द हो । यसको अर्थ ‘प्रेमिकासँगको वार्तालाप’ वा ‘प्रेमपूर्ण संवाद’ हो भन्ने गरिन्छ । गजलमा कवित्व शक्ति प्रबल हुने र आकारका दृष्टिले यो फुटकर कविता र गीतको समकक्षी हुने हुनाले यसलाई कविताको लघु रूपअन्तर्गत राखिएको हो तापनि गजलको आफ्नो छुट्टै र मौलिक संरचना हुन्छ । गजल अन्य विधाका तुलनामा बढी सैद्धान्तिक र प्राविधिक काव्यविधा हो । गजलको संरचना ‘ए, ए, बी, ए, सी, ए, डी, ए’को सूत्रमा हुन्छ । यसमा ‘ए’ भनेको अनुप्रासको निरन्तरता हो भने बी, सी, डी भनेका स्वतन्त्र हरफहरू हुन् । गजलमा काफिया, रदिफ, मतला, मकता, तखल्लुस, मिसरा, मिसरा–ए–उला, मिसरा–ए–सानी, सेर र बहर जस्ता कुराहरू आवश्यक मानिन्छन् ।

४. फाँचल
फाँचल नेपाली काव्यजगत्मा देखिएको नयाँ विधा हो । यसको प्रवर्तन २०६० को दशकमा सिन्धुपाल्चोकबाट भएको हो । यसका प्रवर्तक जितेन्द्र श्रेष्ठ ‘रसिक’ हुन् । यसलाई सिन्धुपाल्चोकका दीपेन्द्र श्रेष्ठ ‘उदास’, बद्रीबहादुर तामाङ ‘सङ्गम’, फहिन्द्र तामाङ ‘अखिल’, यदुनाथ वसन्तपुरे, थरेन्द्र मिश्र ‘दुःखी’ र दीपेन्द्र ‘एकल’ आचार्यजस्ता युवास्रष्टाहरूले अभियानका रूपमा निरन्तरता दिएका छन् । फाँचल आठ हरफभन्दा माथिको संरचनामा लेखिने हुनाले आकारका दृष्टिले यो कविताको लघु रूपअन्तर्गत पर्दछ । बाह्य रूपमा हेर्दा गजलका सेरहरूजस्ता देखिए पनि हरेक दुई हरफलाई फाँचलमा विथि भनिन्छ । फाँको, फेत, विथि, उँजाइ, पुच्छ, उठानचुली, जडानकुशल, पुञ्ज र महापुञ्ज यसका प्रमुख तत्त्वहरू हुन् । फाँको यसको मूल तत्त्व हो जसमा अनिवार्य अनुप्रास हुन्छ । फेत फाँचलको उठानचुली र जडानकुशललाई पूर्णता दिने तत्त्व हो । हरेक दुई हरफलाई विथि भनिन्छ । फाँचलको पहिलो विथिलाई उँजाइ भनिन्छ । पहिलो विथिपछि आउने अरू विथिहरूलाई पुच्छ भनिन्छ । विथिको पहिलो हरफलाई उठानचुली र दोस्रो हरफलाई जडानकुशल भनिन्छ । फाँचलको सिङ्गो एकाइलाई पुञ्ज भनिन्छ भने विषयवस्तुको विस्तारलाई महापुञ्ज भनिन्छ ।

(ग) कविताको मध्यम रूप वा मझौलारूप
कविताको लघु रूपभन्दा विस्तृत र बृहत् रूपभन्दा सङ्क्षिप्त जीवनको एक पक्षको प्रतिनिधित्व गर्ने विशिष्ट संरचनाबद्ध काव्य नै कविताको मझौला रूप हो । अनुभूतिको उत्तरोत्तर वृद्धि तथा विकास हुँदै जाँदा जब कविताले आख्यानतन्तुहरूलाई डो¥याउँदै संरचनात्मक सुगठनतिरको यात्रा सुरु गर्दछ तब त्यो कविताको मध्यम रूप बन्दछ । आकार–प्रकार, विषयवस्तुको आयाम, आख्यान र संरचनाले गर्दा कविताको मध्यम रूपलाई कविताको लघु रूपदेखि अलग्याउन सकिन्छ । कविताको यस मध्यम रूपमा खण्डकाव्य र लामो कविता पर्दछन् ।

१. खण्डकाव्य
खण्डकाव्य फुटकर कविताभन्दा ठुलो र महाकाव्यभन्दा सानो हुन्छ । आकार–प्रकारका दृष्टिकोणले नै यो दुवैतिरबाट भिन्न हुन सक्छ । अर्थात् यसले कविताको लघु रूप र बृहत् रूप छुट्याउनमा लक्ष्मणरेखाको काम गरेको छ । आचार्य विश्वनाथले यसलाई ‘काव्यको एक देशको अनुसरण गर्ने काव्य नै खण्डकाव्य हो’ भनी परिभाषित गरेका छन् । खण्डकाव्यमा आएको कथावस्तु वा घटना कुनैमा स्पष्ट रूपमा देखिन्छ भने कुनैमा नदेखिन पनि सक्छ । देवकोटाको ‘मुनामदन’मा पात्र र आख्यानको प्रत्यक्ष अनुभव गर्न पाइन्छ तर लेखनाथको ‘ऋतुविचार’मा पात्र र आख्यान दुवै कुराको अभाव छ । यसका आधारमा खण्डकाव्य आख्यानयुक्त पनि हुन सक्छ र आख्यानविहीन पनि हुन सक्छ भन्ने थाहा पाइन्छ तर आख्यानहीनताचाहिँ खण्डकाव्यको साँचो चिनारी होइन । प्रत्यक्ष बाहिर नदेखिए पनि आन्तरिक आख्यानविन्यास हुन सक्यो भने त्यो ‘खण्डकाव्य’ नै मानिन्छ ।

२. लामो कविता
‘लामो कविता’ कविताको मध्यम रूपमा पर्ने अर्को काव्यविधा हो । यो पाश्चात्य साहित्यमा प्रचलित कविताको मध्यम रूप हो । अर्थात् लामो कविता पाश्चात्य शैलीको खण्डकाव्य नै हो । यसमा पनि भावनाको आख्यानीकरण हुन्छ । यसको रचना प्रायः मुक्त छन्दमा हुन्छ र विषयगत रूपमा परम्पराभन्दा केही नवीन चिन्तनहरू यसमा प्रस्तुत हुन्छन् । प्रयोगवादी लेखनको काव्यात्मक संरचना कविताको लामो रूपमा फेला पर्दछ । अमूर्तता, शब्दगुम्फन, भावगुम्फन, जटिल विम्बयोजना, जटिल भाषिक प्रयोग, समग्रमा अर्थयोजना आदि लामा कविताका खास चिनारीहरू मानिन्छन् । नेपाली साहित्यमा लामो कविताको आगमन २०२० को दशकमा भएको हो । यसको प्रवर्तनमा मदन रेग्मी, रत्नशमशेर थापा, मोहन कोइरालालगायतका स्रष्टाहरूको विशेष भूमिका रहेको छ । यसलाई उत्कर्षमा पु¥याउने काममा भने कवि मोहन कोइरालाको सर्वोच्च स्थान रहेको छ । कवि मोहन कोइरालाको ‘गङ्गाप्रवास’, मदन रेग्मीको ‘आजाजुजे पहाड र घाउका आँखा’ आदि लामा कविताहरू यसका उदाहरण हुन् ।

(घ) कविताको बृहत् रूप (महाकाव्य)
खण्डकाव्यभन्दा ठुला र बृहत्तर महाकाव्यभन्दा साना ललित वा कलात्मक महाकाव्यहरूलाई कविताको बृहत् रूप भन्ने गरिन्छ । कविताले मानवजीवनको सिङ्गो अभिव्यक्ति दिन थालेपछि त्यो कविताको बृहत् रूप बन्दछ जसलाई ‘सर्गबन्ध’ पनि भन्ने गरिन्छ । कविताको बृहत् रूपमा ललित महाकाव्यहरू पर्दछन्, जसमा एउटा जीवनको सिङ्गो चित्रण हुने गर्छ । तुलनात्मक रूपमा खण्डकाव्यमा भन्दा महाकाव्यमा आख्यानको विस्तार हुन्छ तर न खण्डकाव्यलाई तन्काउँदा महाकाव्य बन्छ न महाकाव्यलाई छोट्याउँदा खण्डकाव्य बन्छ । यी दुवै आफैँमा पूर्ण र स्वतन्त्र हुन्छन् । संस्कृत साहित्यका कालिदासको ‘रघुवंश’लगायत भारवीको ‘किरातार्जुनीय’, माघको ‘शिशुपालबध’, श्रीहर्षको ‘नैषधीय चरित्र’जस्ता प्रसिद्ध महाकाव्यहरू कविताका बृहत् रूपअन्तर्गत पर्दछन् । यसरी नै नेपाली साहित्यका देवकोटाका ‘शाकुन्तल’लगायत सबै महाकाव्यहरू, सोमनाथ सिग्द्यालको ‘आदर्श राघव’, बालकृष्ण समको ‘चिसोचुल्हो’, मोदनाथ प्रश्रितको ‘मानव’, रामप्रसाद ज्ञवालीको ‘औँसीका फूलहरू’ जस्ता महाकाव्यहरू पनि कविताका बृहत् रूपमा नै पर्दछन् । यसरी अनुभूतिको महाप्रवाह, जीवनको सिङ्गो अभिव्यक्ति, विशालकाय बोकेको आख्यानात्मक कविता, विराट् संरचनाभित्रको मानवसमाज र युगको एउटा पाटाको प्रतिनिधित्व गर्ने भावनाको विस्तृत पोखाइलाई कविताको बृहत् रूप भन्न सकिन्छ ।

(ङ) कविताको बृहत्तर रूप (आर्षमहाकाव्य)
कलात्मक वा ललित महाकाव्यभन्दा ठुला विकसनशील तथा आर्षमहाकाव्यहरूलाई कविताको बृहत्तर रूपभित्र समेट्न सकिन्छ । यिनले सिङ्गो मानवसभ्यता र संस्कृतिको मात्र प्रतिनिधित्व नगरेर एउटा सिङ्गो युगलाई नै बोकेका हुन्छन् । सर्गबन्धकै अतिविकसित रूप कविताको बृहत्तर रूप हो । कविताको बृहत्तर रूपले समग्र युगको प्रतिनिधित्व गर्ने हुनाले यस्ता महाकाव्यहरू धेरै सिर्जना हुनु सम्भव छैन । अहिलेसम्ममा विश्वमा पूर्वीय साहित्यमा दुईओटा र पाश्चात्य साहित्यमा दुईओटा गरी जम्मा चारओटा मात्र महाकाव्यहरू सिर्जना भएका छन् । यी मात्र कविताको बृहत्तर रूपका उदाहरण हुन् । पूर्वीय साहित्यमा सिङ्गो त्रेतायुगको प्रतिनिधित्व गर्ने आदिकवि वाल्मीकिको ‘रामायण’ र सिङ्गो द्वापरयुगकै प्रतिनिधित्व गर्ने महाकवि व्यासको ‘महाभारत’जस्ता अमर कृतिहरूले पूर्वीय सभ्यता र संस्कृतिको मात्र नभएर त्यस युगकै प्रतिनिधित्व गरेका छन् । साथै पाश्चात्य साहित्यका धरोहर, ट्रइको राजधानी इलिअनमाथि ग्रिसेली सेनाले गरेको आक्रमण, नियन्त्रण र महान् युद्धको कथामा आधारित होमरका ‘इलियड’ र ट्रयेली लडाइँको समाप्तिपछि बाँचेका ग्रिसेली वीरहरूमध्येका अडिस्युसको जीवन र देवताहरूका विविध क्रियाकलापमा आधारित ‘ओडिसी’ दुई महाकाव्यहरूले पश्चिमी प्राचीन सभ्यता र संस्कृतिको उद्घाटनका साथै युगीन प्रतिनिधित्व गरेका छन् । प्रस्तुत चारओटा महाकाव्य सबैमा दैवीशक्तिको प्रबलता छ र यी सबैले युगीन व्यापकतालाई अँगालेका छन् । नेपालीमा कविताको बृहत्तर रूप भनेरै लेखिएका वा तिनको सैद्धान्तिक मान्यताभित्र पर्न सक्ने महाकाव्यहरू लेखिएका छैनन् । बृहत्तर रूपको समकक्षी मान्न सकिने पूर्णप्रकाश नेपाल ‘यात्री’को ‘सिजापती बाला’ (२०५७) र चन्द्रप्रसाद न्यौपानेको ‘चन्द्रयुग’ (२०६५) नेपाली काव्यपरम्पराका बृहत्तर रूपका उदाहरणहरू हुन् ।

निष्कर्षमा भन्नुपर्दा कविता अनुभूतिप्रधान विधा हो । त्यसैले अनुभूति जति पातलिँदै जान्छ, त्यति कविताको आयाम पनि फैलिँदै जान्छ भने जति साँघुरिँदै जान्छ त्यति आयाम पनि घट्दै जान्छ । अनुभूति पातलिनु भनेको भावनामा आख्यानतत्त्वले प्रवेश गर्नु हो । त्यसैले एउटा मुक्तकमा जति कवित्व खाँदिएको हुन्छ, त्यति एउटा फुटकर कवितामा हुँदैन । यसरी नै अनुभूतिको सुगठन, भावको प्रबलता र कवित्वशक्तिका दृष्टिले क्रमशः मुक्तकभन्दा फुटकर कविता, फुटकर कविताभन्दा खण्डकाव्य, खण्डकाव्यभन्दा ललित महाकाव्य र ललित महाकाव्यभन्दा आर्षमहाकाव्यहरू केही कमजोर बन्दै जान्छन् । यसरी ‘कविता’ शब्दकै विविध रूप भए पनि यिनीहरू प्रत्येकले आ–आफ्नो छुट्टै अस्तित्व बनाइसकेको यथार्थतालाई भने नकार्न सकिँदैन ।

(क्रमशः अर्को हप्ता…)

प्रतिक्रिया
Loading...