नेपाली साहित्यको सम्पूर्ण पत्रिका

दोस्राे बिहे

अन्त्यमा केही नलागेपछि अँध्यारो मुखलगाउँदै बूढाले कोटको खल्तीबाट एउटा पेपर निकाल्दै ‘यो डिभोर्स पेपरमा सही गर’ भन्दै सही गर्नलगाए । मैले पनि “कस्तो अविश्वास गरेको” भन्दै सही गरिदिएँ डिभोर्स पेपरमा ।

दुई महिनाअघि ब्लडप्रेसर हाई भएर त्यसको छड्का मुटु साथै शरीरको अरु अंगहरुमा पनि परेछ । शरीरको दाहिने भाग पूर्णरुपमा चल्दैन थियो । शरिरका अंग नचले पनि मान्छे होशमा भने हुँदो रहेछ । साथीहरुले मेरो मुख अलि बांगो हो कि भनेको सुनेकी थिएँ ।परदेश त्यसै भनेको हैन रहेछ । कोही भेट्न नआएको पनि दुई दिन भइसकेछ । सबैको कहाँ फुर्सद हुन्छ र ? हुन पनि हस्पिटल ल्याइसकेपछि उपचार भैहाल्छ भन्ने पनि परेको हुन सक्छ ।

सुनसान कोठामा कम्प्युटरको मोनिटरमा आउने टिट् टिट् आवाज पनि झर्कोलाग्दो भइसकेको छ । हिब्रु भाषा बोल्ने नर्सले बेलाबेला आएर “सलोम मास्लु मेख” (कस्तो छ तिमीलाई ?) भन्दा पनि कोही भएको आभाष हुन थालेको छ । भनौंन मेरा आफन्त नै तिनै नर्स हुन् ।जति हस्पिटलको बसाई बढ्दै गयो उति नै घरको, आफन्तको, र विगतको सम्झनाले सताउन थाल्दो रहेछ ।

कति चाँडो सात वर्ष भैसकेछ ! धेरै पैसा कमाएर, आफ्नै खुट्टामा उभिने लहडका साथ इजरायल छिरेको पनि ।घरको मुमाबुबा नभए पनि दाजुभाइमा परिवारकी कान्छी बुहारी म, बूढाले पनि असाध्यै माया गर्ने र दुई भाइ छोराकी आमा । काठमाडौँमा सानो घर, बूढा पनि सरकारी जागिरे । खान लाउनको दु:ख थिएन । यति हुँदाहुँदै पनि दुई चार वर्ष यसो दु:ख गर्दा छोराहरुले राम्रो स्कुलमा पढ्न पाउने र आफ्नो बाँकी जिन्दगी पनि अलि आरामसँग बित्ने सोच आयो ममा । बूढासँग सल्लाह गरें । सल्लाह गर्नु के थियो र ! यसअघि उनले मेरा कुनै कुरा पनि नकाट्ने भएकोले मैले मेरो निर्णय सुनाएँ । उनी पटक्कै मानेका थिएनन् । तर मैले भित्रभित्रै एजेन्ट बस्नेत सरसँग सबै कुरा मिलाइसकेकी र निकै पैसा खर्च पनि गरिसकेकी थिएँ ।

सान्दर्भिक पोस्ट
कला चुडाल (अमेरिका)

मेरो जिद्धीपना र पैसा बुझाएको थाहा पाएर सबै परिवारले मेरो र एजेन्ट बस्नेत सरबीच शंका गर्न थालेर बूढालाई उक्साउन थाले । यसले गर्दा दिनदिनै घरमा कलह र झगडा सुरु हुन थाल्यो ।अन्त्यमा मैले कि बाहिर जाने कुरा बन्द गर्नु पर्ने कि त डिभोर्स गर्नु पर्ने दुईवटा विकल्पमा एउटा रोज्नु पर्ने भयो । बूढाको असाध्यै माया हुँदाहुँदै पनि मैले निकै पैसा बुझाइसकेकी हुनाले “बूढाले कसो नबुझ्लान् !” भन्दै हिब्रु भाषा सिक्ने र बूढाबूढीको स्याहार गर्ने ( Adult care) तालिम लिएर आफू तयार हुन थालें । अन्त्यमा दुइ छोराहरुलाई आमाको जिम्मा लगाएर म इजरायल जाने कुरा पक्का भयो ।

सीमित खर्च, आफ्ना अत्यावश्यक  सामान र परिवारको एउटा फोटो बोकेर इजरायलको लागि तयार भएँ । हिँड्ने दिन बूढासँगै जेठाजु र नन्द पनि एयरपोर्टसम्म आएका थिए छोड्न ।उनीहरु मलाई के हो कुरो ? टुंगो दिनु परो । भन्दै दबाब दिइरहेका थिए । मेरो बन्दोवस्त मिलाउने बस्नेत सर पनि थिए मसँगै । बूढाले मेरो छेउमा आएर “अझै पनि केही बिग्रेको छैन, नजाऊ विदेश” भन्दै तानेर झण्डै पिटेका पनि थिए  । तर मैले मानिनँ । अन्त्यमा केही नलागेपछि अँध्यारो मुखलगाउँदै बूढाले कोटको खल्तीबाट एउटा पेपर निकाल्दै ‘यो डिभोर्स पेपरमा सही गर’ भन्दै सही गर्नलगाए । मैले पनि “कस्तो अविश्वास गरेको” भन्दै सही गरिदिएँ डिभोर्स पेपरमा ।

बस्नेत सरले “सब ठीक हुन्छ, केही चिन्ता लिनु पर्दैन, मैले सबै बन्दोवस्त मिलाएको छु” भन्दै जहाजको ढोकासम्म आएर बोडिङ पास र टिकट हातमा राखिदिँदा अझ आगोमा घिउ थपिने काम भयो । बूढाले सही गराएको डिभोर्स पेपर साँच्चैको हो कि हैन भन्ने कुरा मनमा खेलिरह्यो ।त्यति माया गर्ने बूढाले मलाई घुर्क्याएको होला भन्ने पनि लाग्यो । जहाजले नेपालको भूमी छोड्दा मन अमिलो पनि भयो ।

तर एक मनले “विदेश गएर पैसा कमाएपछि बूढा कसो खुसी नहोलान् र, मन नपरे फर्किन्छु नि !” जस्ता अनेक तर्कना खेल्न थाले मनमा । हामीलाई दुई हप्तासम्म दिल्ली र एक महिना हङ्कङ् हुँदै इजरायल पुर्याइयो र भनेबमोजिमको काम पनि सुरु भयो ।

एकातिर परिवारसँग विछोडिएर बस्नु परेको पिडा, त्यसमाथि पनि डिभोर्स पेपरको चिन्ताले अझ सताउन थाल्यो मलाई । विदेशी भूमि, भिन्न संस्कृति, अमिल्दो भाषाको समस्या अनि मायान लाग्ने बहुलट्ठी मान्छेको स्याहार जस्ता कुराहरुले सोच्दै सोचेको मोडमा जीवन मोडिइरहेको थियो । तर पनि आफ्नो कर्तव्य कहिल्यै भुलिनँ । केही पकेट खर्च राखेर प्रत्येक महिना पैसा नेपाल पठाइरहें । नियमित बूढा र छोराहरुसँग फोनमा कुराकानी भैरहेकै थियो । डिभोर्स भए पनि म अरु कसैसँग बिहे गर्ने कल्पना गर्न सक्दिनँ भन्थे बूढा बेलाबेलामा ।

उफ् .. दैव पनि कति निष्ठुरी, एक हातले धन दौलत दिने अनि अर्को हातले सबै खुसी खोस्ने !

तर केही समयपछि फोनमा कुरा गर्दा बूढा निकै निरास देखिन्थे । पछि कुरा बुझ्दा “डिभोर्स गरिसकेकी स्वास्नीलाई के पर्खेर बसेको, अब बिहे गर्नुपर्छ” भन्दै परिवारबाट दबाब आउन थालेछ । यो खबर सुनेर म असाध्यै आत्तिए र तुरुन्त नेपाल आउँछु भने । तर बूढाले रुदै “तिमी त अब मेरी भूतपूर्व भैसकेऊ रे, परिवार र समाजले कसरी स्वीकार गर्न सक्छ र !” भन्दा म छांगाबाट खसे जस्ति भएँ । दुवै जना निकैबेरसम्म रोयौं त्यो दिन । मसँग कुनै उपाय नै रहेन परिवार बचाउने । अब म विदेशी भूमिमा आफ्ना प्राणप्रिय बूढा र छोराहरूलाई सम्झेर रुनुसिवाय नेपाल फर्केर जानुको कुनै अर्थ नै रहेन । उफ् .. दैव पनि कति निष्ठुरी, एक हातले धन दौलत दिने अनि अर्को हातले सबै खुसी खोस्ने !

नेपालमा जति बूढाको बिहेको दिन नजिकिन्थ्यो हामीबीच कुराकानी पनि अझ बाक्लिदै जान थाले । नसोचेको जे थियो, अन्तत: त्यही भयो । परिस्थितिले गर्दा हामी दुईबीच अपार प्रेम हुँदाहुँदै पनि एउटा कागजको टुक्रामा भएको एक गल्तीले मेरा बूढा विवश भएर परिवारले खोजेकी केटीसँग विवाह गर्न बाध्य भए भने म विदेशी भूमिमा अन्योल भविष्यसँग लडिरहें । विवाह भएको निकै दिनपछि कान्छी नन्दको फेसबुकमा बूढाको विवाहको एउटा फोटो देखें । बूढाको अनुहार उज्यालो नदेखिएको भए पनि फोटोमा बूढाको छेउमा अर्कै आइमाई मेरो लागि खपिनसक्नु भयो । मलाई पुल्पुल्याएर राखेका मेरा बूढाले यदि मलाई एअरपोर्टमा झापड हानेर फर्काएको भए त म फर्कन्थें नि … जस्तो लगिरह्यो पछिसम्म । आखिर हुने कुरा भएरै छाड्ने रहेछ ।

बिहेपछि पनि बूढाको र मेराबीच घण्टौंसम्म कुराकानी भई नै रह्यो । कहिले हाम्रो विवाह अगाडिका प्रेमका रमाइला कुरा हुन्थे र सबैथोक बिर्सेर यसै यसै रोमान्चित पनि हुन्थें म । प्रायःजसो बूढा भर्खर बिहे गरेकी श्रीमती डल्ली छ, मोटी छ, म खुसी छुइनँ, परिवारको लागि मात्र बिहे गरेको भन्ने गर्थे । विवाहपछिका मैले कतिपटक “अब तपाईंको बिहे भैसक्यो, परिवार भएको मान्छेले यसरी लुकीछिपी कुराकानी गरेको राम्रो हुँदैन” भनेर भनिसकेकी थिएँ । तर पनि हाम्रो कुराकानीमा कुनै परिवर्तन आएको थिएन । अझ भन्नु पर्दा अझ बढी माया भए जस्तो भान हुन्थ्यो । कतिपटक त बूढाले “ तिमी नेपाल फर्क, उसलाई डिभोर्स गरेर सँगै बसौँला” पनि भनेका थिए

एकचोटि बूढा जिल्लातिर गएकाले निकै दिनसम्म कुराकानी हुन सकेन । छोराहरुसँग कुरा गरेर फोन राख्ने बेलामा ठूलो छोराले “गेस ह्वाट ममी, आन्टी ममी त प्रिग्नेन्ट रे, भाइ छ रे” भन्यो । म यसै नतमस्तक भएँ, संसारले थिचे जस्तो भयो । “ए हो ? बाबा आएपछि फोन गर्नु भन है” भनेर फोन राखें ।

बूढा घर फर्केपछि हामीबीच भएका कुराबमोजिम केही समयको लागि नेपाल फर्कने भएँ । मलाई थाहा छैन, म कसको लागि र के उदेश्यले नेपाल जाँदैछु । तर मलाई यति थाहा छ कि म त्यति स्वार्थी स्वास्नीमान्छे पक्कै होइन, र म मेरा बूढाको सुन्दर संसार भत्काउने छैन ।

सल्लाहबमोजिम तोकिएकै दिन म नेपाल पुगें । जसरी सात वर्ष अगाडि मलाई छोड्न बूढा आएका थिए ? त्यसरी नै आए मलाई लिनलाई एअरपोर्ट । तर यतिबेला उनी भावनात्मक रुपमा मात्र मेरा थिए, सामाजिक, व्यवहारिक र शारीरिक रुपमा मेरा थिएनन् । बूढाले एक महिनाको लागि अपार्टमेन्ट लिएका रहेछन् मलाई राख्न । हामी त्यो रात सँगै बस्यौं । निकैबेर सँगै रोयौं । धरै वर्षपछिको त्यो क्षणलाई हामीले शारीरिक नभै मात्र भावनात्मक अनि प्रेमिल रुपले सजायौं ।

भोलिपल्ट बूढा छोराहरुलाई लिएर फेरि आए । छोराहरुको समिपले यसै मन सम्हालिनै सकेन । ठूलो छोरो अलि बुझ्ने भैसकेको थियो । तर कान्छो “कस्तो न्यास्रो लागेको थियो ममी, अब त हामीलाई छोडेर जानु हुन्न नि !“ भन्दै बेसरी रोयो । म पनि केही नबोलेर आँखा चिम्म गरेर रोई मात्र रहें । यसबीचमा मनैदेखि माया गर्ने आमाको निधन भैसकेकोले भेटघाट गर्नैपर्ने आफन्त पनि कोही सम्झेन मेरो मनले । सबैले आगो त बलेकै ताप्ने हुन्। त्यसैले खाली मजाकको पात्र बन्न मैले चाहिनँ र कसैसँग भेट पनि गरिनँ । बरु दुई छोरालाई लिएर हामी पोखरा गयौं, दुई रातको लागि ।

कहिले एक्लै,कहिले छोराहरुसँगै र कहिले बूढासँग बस्दाबस्दै समय बितेको नि पत्तै भएन ।

मैले  त हरेक क्षण अविस्मरणीय बनाउनु थियो ।एक दिन भए पनि गोल्डेन समय पाएँ भन्ने लाग्यो, मनमनै खुसी भएँ ।

फर्कने दुई दिन अगाडि बूढाले “भोलि रेडी भएर बस है, बाबुहरुलाई लिएर आउँछु, दक्षिणकाली जानु पर्छ” भन्दै फोन गरे । मैले त हरेक क्षण अविस्मरणीय बनाउनु थियो । एक दिन भए पनि गोल्डेन समय पाएँ भन्ने लाग्यो, मनमनै खुसी भएँ । मन्दिरमा बूढाले भगवतलाई चढाउने सामाग्रीको थाली किनेर ल्याए, र मेरो हातमा राखिदिए । थालीमा एउटा लड्डु, फूल, केही सिन्का अगरबत्ती, बटारेका बाती, सानो प्लास्टिकमा पोको पारेका चारवटा चुरा, एक लुगं पोते र सानो बट्टामा सिन्दुर रहेछ । थालीका सामाग्री चढाउँदै जाँदा जब सौभाग्य चढाउने पालो आयो, मलाई थाहा छैन हामी बूढाबूढी दुवैमा के भावना आयो, दुवैले एकैपटक मुखामुख गर्यौं ।

हाम्रो भविष्य, समस्या, इच्छा र आकांक्षाजस्ता कुनै कुरा सोच्दै नसोची मैले “बूढा मलाई यो भगवतीलाई चढाएको एक लुगं पोते र सिन्दुर लगाइदेऊ न प्लिज” भनें । बूढाले अवाक् भएर हेरिरहे । मैले फेरि “म तिम्रो जिन्दगीमा कहिले आउँदिन, विश्वास गर । म यही सिन्दुर मात्र लिएर जान्छु” भनेपछि बूढाले लामो सास फेर्दै पोते लगाइदिए । मेरो सिउँदोमा सिन्दुर हाल्दा बूढा भक्कानिँदै रोए । सिन्दुरसँगै शिरमा रहेको बूढाको हात आफ्नो हातले थाम्दै डाको छोडेर रोएँ म पनि ।

…..

म रोएको बाहिर रहेका नर्सहरुले पनि सुने छन् क्यार, आएर  माकारा.. लामाबूखा ? (के भयो किन रोएको ) भनेर बोलाउँदा पो मेरो सम्झना भंग भएछ । तातो आँसु ओठसम्म आएछ, नुनिलो भयो । मुख बिगारेको देखेर एउटी नर्सले आँसु पुछिदिइन् । यतिकैमा एउटी नर्सले ई लोयखोला आर वेजमन मस्केना, ई मायर मेथ ( यो बिचरा छिट्टै मर्दैछ ) अनि अरु के के भन्दै थिइन् । यो कुरा त मलाई पहिल्यै थाहा थियो । देब्रे हातले यसो आफ्नो सिउँदो छामेँ, बूढाले लगाइदिएको सिँदुर सिउँदोमा नै थियो, मनैमनमा सम्झे, “सौभाग्य त लिएरै जान पाएँ नि….

अनि आन्नद आयो, फेरि आँखा चिम्लें ।

प्रतिक्रिया
Loading...