नेपाली साहित्यको सम्पूर्ण पत्रिका

जीवन निर्माणको गुरुयोजना

बिहे गर्नेबेलासम्म कमसेकम चार पाँच जनासँग सम्बन्ध जोडी हेर्नोस्। फाइदामा रहनु हुनेछ। त्यतिबेला असल जीवन साथी पहिचान गर्न मद्दत मिल्नेछ।

अधिकांश युवा भनौँ या व्यक्ति भनौँ या विद्यार्थीको शैक्षिक टाइमलाइन एकै प्रकृतिको हुन्छ। प्लस टु सकेपछि कतिपय विदेश जान्छन् त कतिपय स्वदेशमै संघर्षरत हुन्छन् । पढाइमा अब्बल हुनेहरुले विज्ञान संकाय लिएका हुन्छन् । र, उनीहरुले मुख्यतः दुईवटा विकल्प देखेका हुन्छन् । एक, चिकित्साशास्त्र । दुई, इन्जिनियरिङ । चिकित्साशास्त्र वा इन्जिनियरिङमा नाम निकाल्न असक्षम भएपछि मात्र अन्य बाटो रोज्छन्। अब रह्यो पढाइमा औसत लगायत अरु विषयमा रुचि राख्ने व्यक्तिहरुको कुरा। उनीहरु आफ्नो पढाइलाई निरन्तरता दिने क्रममा कुनै एक विषयमा स्नातक तह हुँदै स्नातकोत्तर तहको डिग्री हासिल गर्छन्। कोही भने पिएचडीसम्मको पढाइ पूरा गर्छन्। यसबाट शैक्षिक टाइमलाइन यस प्रकार रहने देखियो: प्लस टु, स्नातक, स्नातकोत्तर अनि पिएचडी ।

उच्च शिक्षापछिको कदम जागिर खोज्नु वा व्यवसाय गर्नु नै हुन्छ । यद्यपि सहजै जागिर पाउन मुस्किल पर्छ । पाइहाले पनि त्यो चित्तबुझ्दो नहुन सक्छ । व्यवसाय सुरुवात गरे तापनि तत्काल मुनाफा आउँदैन । उस्तै परे ठूलो धनराशी गुम्न सक्छ । समय र उर्जाको हिसाबकिताब त छुट्टै छँदै छ । त्यसैगरी कतिपय मानिसलाई डाक्टर र इन्जिनियरको जीवन सेट भएको, सफल भएको लाग्न सक्छ। यो एउटा भ्रम मात्र हो। उनीहरुलाई पेशागत सफलता प्राप्त होला तर जीवन दयनीय हुन्छ। नाम, पैसा र इज्जत कमाउनु एउटा कुरा हो तर जीवनमा सन्तुष्टि र खुसी प्राप्त गर्नु अर्को । सबै डाक्टर र इन्जिनियरले सन्तुलित एवं सन्तुष्ट जीवन जीउने ग्यारेन्टी हुँदैन। आखिर यस्तो परिस्थिति सिर्जना हुनुको मुख्य कारण के? केही कारणहरु छन्।

पहिलो, डिग्री हासिल गर्नमा दशदेखि पन्ध्र वर्ष लगाउनु तर जीवन निर्माण कार्यमा गम्भीर नहुनु । दोस्रो, परिणाम घातीय रुपमा प्राप्त हुन्छ भन्ने ज्ञान नहुनु । यसको अर्थ कुनै पनि कार्यमा संलग्न भएको पाँचदेखि दश वर्षपछि मात्र उल्लेख्य उपलब्धी हासिल गर्न सकिन्छ भन्ने हो । सुरुवाती चरणमा उन्नति प्रगतिको ग्राफ बढेको नदेखिए पनि केही समयको धैर्यतापछि ग्राफमा नसोचेको बढोत्तरी देख्न सकिन्छ भन्ने हो । अफसोच, सबैले यो बुझेको हुँदैनन् । अन्ततः ठूलो उपलब्धी देख्नु अगावै हार मान्न पुग्छन् ।

प्रकाश जंग थापा

हरेक व्यक्तिले जीवनमा सफलता-असफलता दुवै प्राप्त गर्ने उत्तिकै सम्भाव्यता बोकेको हुन्छ। डिग्री सफलता प्राप्तिको साँचो हुन सक्दैन। सफलताको लागि जीवन निर्माणको मास्टर प्लान (गुरुयोजना) हुनु आवश्यक छ। सुनिश्चित भविष्य वा जीवन निर्माणको आधार खडा गर्न निम्नानुसारको मास्टर प्लान डिजाइन गर्न सकिन्छ।

जीवनको उद्देश्य

जीवन उद्देश्य नै स्पष्ट छैन भने जीवनमा आर्थिक सफलता र सन्तुष्टि पाउन असम्भव हुन्छ। तपाईंँ के कुरामा बढी लगाव राख्नुहुन्छ?  तपाईंँको प्रमुख रुचिका विषयहरु के-के हुन् र त्यसमा कसरी आफ्नो भविष्य निर्माण गर्न चाहनुहुन्छ?  तपाईंँ कुन क्षेत्रमा महारत प्राप्त गर्न चाहनुहुन्छ? संसारमा आफ्नो प्रभाव कसरी जमाउन चाहनुहुन्छ? कस्तो योगदान दिन चाहनुहुन्छ? यदि यी यावत् कुरामा प्रष्ट हुन सकियो भने जीवन उद्देश्य प्रष्ट छ भन्ने बुझिन्छ। जसकारण जीवन अर्थपूर्ण एवं परिपूर्ण बन्न पुग्छ। त्यसैले आफ्नो जीवन उद्देश्यबारे जतिसक्दो चाँडो प्रष्ट रहनुहोस् । उच्च शिक्षा हासिल गरिसके पनि जीवन उद्देश्य बारेमा बेखबर हुने छुट कसैलाई छैन। १५/१६ वर्षकै उमेरमा आफ्नो जीवन उद्देश्य छनोट गर्नोस्। जीवनको आधा उमेर पुगिसकेको अवस्थामा  जीवन उद्देश्य खोजी हिँड्ने परिस्थिति सिर्जना नहोस्। जीवन उद्देश्य छनोट प्रक्रियामा जति धेरै ढिलासुस्ती गर्नुहुन्छ तपाईँको सफलता त्यति नै टाढा धकेलिन्छ ।

वास्तविक रुचिको खोज

बिहे भोजमा बुफे सिस्टम लागु हुन्छ नै। यस सिस्टममा विभिन्न परिकार लाइनमा राखिएको हुन्छ। जो कोहीलाई मन पर्ने परिकारको स्वाद लिने स्वतन्त्रता हुन्छ। जीवनलाई बुफे सिस्टमजस्तै ट्रिट गर्नोस्। भनाइको तात्पर्य जीवनमा जे जस्तो अवसरहरू आउँछन् आत्मसात् गर्दै जानोस् । जे गर्ने चासो हुन्छ त्यही गर्दै जानोस् । त्यस गतिविधिले तपाईंलाई कहाँसम्म पुर्याउँछ हेक्का राख्नोस्। कलाले तान्यो, कलाकारिता क्षेत्रमा लाग्नोस्। सङ्गीतले आकर्षित गर्यो, सङ्गीत कम्पोज गर्ने कोसिस गर्नोस्। व्यवसायी बन्ने इच्छा जाग्यो, नयाँ व्यवसाय सुरुवात गर्नोस्। लेखक बन्ने चाह बढ्यो, लेख्न ढिलाइ नगर्नोस्। मनमा जे काम गर्ने चाहना हुन्छ त्यो सबै परिक्षणको रुपमा गर्दै जाने क्रममा तपाईंलाई आफ्नो वास्तविक रुचिको विषय पहिल्याउन सजिलो हुन्छ। यसर्थ जीवनमा विभिन्न अनुभूति संगाल्दै जानोस्।

ब्राण्ड स्थापना

जीवन चलिरहेको छ, चलिरहन्छ भनेर मात्रै हुँदैन त्यसमा शैली पनि थप्न सक्नुपर्छ। आफ्नो जीवन शैली कस्तो बनाउन चाहनुहुन्छ त्यसमा प्रष्ट रहनुहोस्। जीवनभर कुनै ब्राण्डको पछि लाग्ने कि आफैँ खुद एउटा ब्राण्ड बन्ने? कुनै एक ठूलो कर्पोरेट हाउसको मातहतमा काम गर्ने कि आफ्नो खुसी र सन्तुष्टिको लागि काम गर्ने? ४०/५० वर्षकै उमेरमा अवकाश लिएर विश्व भ्रमण गर्ने कि ७० वर्षको उमेरसम्म हातनङ्ग्रा खियाउने? कुनै व्यक्ति वा संस्थाको लागि काम गरेर जीवन अर्थपूर्ण हुन सक्दैन। केही मानिसलाई लाग्न सक्छ ठूलठूला संस्थामा काम गर्दा जीवन सफल हुन्छ। तर यथार्थ त्यस्तो हुँदैन। जुनसुकै कर्पोरेट जागिरले तपाईंको अत्याधिक उर्जा खपत गर्छ। भित्री मनले चाहेको काम गर्ने फुर्सद हुँदैन। अझ भनौँ जुनून घट्दै जान्छ। जसकारण तपाईंले जतिनै धेरै धन जोडे पनि जीवन प्रति असन्तुष्टि बढ्दै जान्छ। त्यसैले कर्पोरेट दुनियाभन्दा बाहिरको दुनिया पनि हेर्ने गर्नोस्। यही पहल कदमीले तपाईँको ब्राण्ड स्थापित गर्छ।

मजबुत वर्क एथिक्स (कार्य नीति)

युवा अवस्थामा विकास गरेको आनीबानी दीर्घकालीन हुन्छ। तर वयस्क अवस्थामा भने सकारात्मक बानी विकास गर्न निकै कठिन हुने गर्छ। कार्य नीति निर्माण गर्ने मामिलामा तपाईंको आनीबानीले प्रभाव पार्छ। त्यसैले युवावस्थामै मजबुत कार्य नीति निर्माण गर्नोस्। कतिले भन्नुहोला अहिले केही काम गरेको छैन कसरी सशक्त कार्य नीति निर्माण गर्नु? यस्तोमा आफ्नो अध्ययन एथिक्स (नीति) कार्य नीतिमा परिणत गर्नोस्। जुन स्तरको मेहनत अध्ययनमा गर्नुहुन्छ त्यही स्तरको मेहनत कार्यमा कायम गर्नोस्। ग्रेडको लागि भन्दा पनि ज्ञानको लागि अध्ययन गर्नोस्। ज्ञान बढाउन शैक्षिक अतिरिक्त सकेसम्म धेरै ननफिक्सन पुस्तक अध्ययन गर्ने बानी बसाल्नुहोस्। सम्भव भए हप्ताको एउटा नभए महिनाको एउटा मनोविज्ञान, सेल्फ हेल्प, ध्यान र ज्ञानोद्दीप्ति, स्वस्थता र पोषण, व्यवसाय र मार्केटिङ, डेटिङ, लैंगिकता र सम्बन्ध, आत्म-कथा लगायत पैसा व्यवस्थापन विषयमा आधारित पुस्तक अध्ययन सुचिमा राख्नोस्।

सम्बन्ध डेटिङ

सर्वप्रथम त सामाजीकरण अध्ययन गर्नोस्। सामाजिक बन्ने कोसिस गर्नोस्। यसो भन्दैमा अनावश्यक गफगाफमा व्यस्त हुने, सामाजिक पद प्रतिष्ठाबारे चिन्तित रहने, सीमित सामाजिक दायराभित्र अटाउन साथै मान्छेको सामु स्मार्ट बन्ने कोसिस गर्नु भन्ने अर्थ नलागोस्। अनिमात्र डेटिङ र सम्बन्धको सिलसिला सुचारु हुन सक्छ। डेटिङमा रमाउनु, सम्बन्धमा रहनु वा शारीरिक घनिष्ठता बढाउनु नराम्रो होइन। तर कुनै महिला वा पुरुष साथीसँग डेटिङमा जानु पहिले वा सम्बन्ध जोड्नु पहिले त्यस विषयमा पर्याप्त अध्ययन गर्नोस्। अन्यथा डेटिङ फलप्रद नहुन सक्छ। पहिलो डेटिङमा के गर्ने के नगर्ने थाहै छैन भने सम्बन्ध अघि बढ्न सक्दैन। यही कारण हो कतिपय युवा जोडीको एक दुई डेटिङपश्चात् ब्रेकअप हुने। प्रायःजसो जोडी ब्रेकअप हुँदा पीडामा हुन्छन्। कतिले त केटीको कारण, केटाको कारण जीवन बर्बाद गर्न पुग्छन्। यस्तो हर्कत देखाउनु प्रेम होइन केटाकेटीपना हो। नालायकीपन हो। युवा उमेरमा सम्बन्धलाई गम्भीरतापूर्वक लिनु समयको बर्बादी हो। यसको मतलब यो होइन कि सुमधुर सम्बन्ध टुटाउने। भन्न खोजेको हरेक ब्रेकअपबाट शिक्षा लिनोस्। चिन्तित नहुनूस्। एउटै व्यक्तिसँग मात्र सम्बन्धमा रहनुपर्छ भन्ने छैन। बिहे गर्नेबेलासम्म कमसेकम चार पाँच जनासँग सम्बन्ध जोडी हेर्नोस्। फाइदामा रहनु हुनेछ। त्यतिबेला असल जीवन साथी पहिचान गर्न मद्दत मिल्नेछ।

अन्तमा,

जीवन निर्माणको मास्टर प्लान कार्यन्वयन चरणमा केही कुरामा ध्यान दिनुपर्ने हुन्छ। जस्तै भिडियो गेम, टिभी, भव्य पार्टी, मदिरापान, ड्रग्स, कुनै सामाजिक समूह तथा धर्म-संप्रादयदेखि अलग रहनुहोस्। यस्ता गतिविधिले तपाईंको हजारौं घण्टा समय र मानसिक उर्जा नाश गरिदिन्छ। त्यसैगरी आफ्नो खानामा ध्यान दिनोस्। क्षमताले नभ्याउने लोन लिने गल्ती नगर्नोस्। यत्ति गर्न सकियो भने जीवन बनाउने गुरुयोजनाको कार्यान्वयन प्रभावकारी हुन सक्छ। र, सफलताको लागि दश ठाउँमा ठोक्किनु पर्दैन।

प्रतिक्रिया
Loading...