नेपाली साहित्यको सम्पूर्ण पत्रिका

एक्लाे महारथीकाे जन्मकथा, साथमा दुई कविता

भनिन्छ — सङ्घर्ष गर्न छाडेको दिन मान्छे मरेतुल्य हुन्छ । त्यही सङ्घर्षको अर्को नाम कविता लेखन हो । पढ्नु अनि पढाउनु आफ्नै ठाउँमा छन् । तर, सिर्जना गर्नुचाहिँ झन् महत्त्वपूर्ण कुरा हो ।

२०७६ सालको चैत्रमा नै एक्लो महारथी बजारमा आउने तयारी थियो । तर, लकडाउनका कारण निर्धारित समयमा यो किताब आएन । अहिले किताब आइसकेको छ । यसको लोकापर्ण २०७७ माघ १० गते गर्ने निर्णय भएको छ । किताबमा ५२ वटा कविताहरू रहेका छन् । यहाँ कवितासंग्रह एक्लाे महारथी  र कविताका बारेमा कवि महेश कार्की क्षितिजले केही कुराहरू साझा गर्नुहुनेछ ।

कवितामा मेरो प्रेम र एक्लो महारथीको जन्मः

साहित्यको विद्यार्थी म । कविता पढ्नु र कविताको विश्लेषण गर्नु बेग्लै पाटो हो । कविता सिर्जना गर्नु मेरो रहरको क्षेत्र हो । रहर पूरा गर्न मैले स्नातक र स्नातकोत्तर तहमा पनि सिर्जनालेखनमा कविता विधा नै रोजेँ । स्नातकोत्तर तह सकेपछि कवितासङ्ग्रह प्रकाशनको तयारीमा लाग्छु भन्ने सोचेको थिएँ । तर, एमफिल अध्ययनमा लागेँ र कवितासङ्ग्रह निकाल्ने कुरा नै रोकियो ।

कविः महेश कार्की क्षितिज

एमफिल सकेपछि व्यावहारिक समालोचनाका केही आयाम शीर्षकको समालोचनाको किताब आयो मेरो । समीक्षा/समालोचनासँगै कविता लेखनलाई पनि मैले छोडेको थिइनँ । अरूका कृतिको समीक्षा गर्नु र आफूले कविता सिर्जना गर्नु फरक फरक कुरा हुन् ।

‘कविताको किताब निकाल्नु पर्यो अब त’ भनेर अग्रज अनि मेरा साथीभाइहरूले भन्दा मैले हाँसेरै टारिदिएँ केही वर्ष त । तर मेरो कविताप्रतिको रहर किन सेलाउँथ्यो र ? ल्यापटपमा एउटा फोल्डर थियो— ‘अर्को एकलव्य’ शीर्षकको । म हरेक दिन त्यो फाइल खोलेर हेर्थेँ । अर्को एकलव्य, यो नाम मलाई साँच्चै राम्रो लाग्थ्यो । यही नै किताबको नाम राख्ने मैले निर्णय गरेको थिएँ । विभिन्न अन्तर्वार्तामा पनि मेरो आउन लागेको किताबको नाम अर्को एकलव्य हो भनेको थिएँ ।

मलाई महाभारतका पात्रहरूमा धेरै मनपर्ने पात्र कर्ण र एकलव्य हुन् । कसैले मलाई एक दिन कुनै पात्रसँग बस्न पाउनु हो भने कोसँग बस्नुहुन्छ भनेर सोध्यो भने मेरो उत्तर कर्ण र एकलव्य भन्ने हुन्छ ।

कवितासङग्रह छाप्ने जिम्मा शिखा बुक्सका प्रमुख पुष्पराज पौडेल सरले लिनुभएको थियो । किताब आउने हल्ला भइसकेको थियो । म चुप लागेर बस्न पनि सकेको थिइनँ । उता समालोचक महेश पौड्यालले बेलाबेला भनिरहनुहुन्थ्यो, ‘खै त तपाईंको कविताको पाण्डुलिपि ?’ एक दिन मैले अर्को एकलव्यलाई एक्लो महारथी बनाएँ । अर्को एकलव्य नामलाई एक्लो महारथीमा बदल्न महेश पौड्यालजीको पनि महत्त्वपूर्ण हात छ ।

कवितासङ्ग्रह तयार पार्दै गर्दा आख्यान पनि नलेखेको होइन । तर, मेरो पहिलो प्रेम भनेको नै कविता हो । मेरो सर्टिफिकेटमा पनि त कविताको प्रतिबिम्ब छ । मैले लेखिसकेको उपन्यासलाई ल्यापटपको कुनै कुनामा लुकाएको छु । कविता दुई वर्ष पूरा भएपछि त्यो फोल्डर खोज्ने छु ।

कविता के हो ? भन्ने कुरा कलेज पढाउँदा विद्यार्थीहरूलाई भनेँ । यहाँ कविताको परिभाषा भन्नतिर जान्नँ म । कविता मेरो लागि जीवनको लय हो ।

जीवनलाई सधैँ क्रियाशील बनाइरहनु पर्छ । क्रियाशील जीवन भनेको हारसँग लड्न सक्नु हो । चुनौतीहरूलाई परास्त गर्नु हो । म नदी बन्न चाहेको हुँ कवितामा, पोखरी होइन । कविता लेख्दा मैले बुझेको एउटा कुरा हो— एउटा कवि इमान्दार भएन भने उसले कवितामा के के कुरा मात्रै ढाँट्ने ?

जीवनमा सबै कुरा निभे पनि आशा भन्ने कुरा निभ्न दिनु हुँदैन भन्ने मान्यता मेरो हो । कवितामा पनि आशा लेख्ने प्रयास गरेको छु । भनिन्छ — सङ्घर्ष गर्न छाडेको दिन मान्छे मरेतुल्य हुन्छ । त्यही सङ्घर्षको अर्को नाम कविता लेखन हो । पढ्नु अनि पढाउनु आफ्नै ठाउँमा छन् । तर, सिर्जना गर्नुचाहिँ झन् महत्त्वपूर्ण कुरा हो ।

कविता तत्कालै रोएर लेख्न सकिँदैन । तर, मान्छे तत्काल रुन सक्छ । रुनु कविता हुँदै होइन ।

भोजपुरमा भोगेको द्वन्द्वकालको पीडा मेरा आँखाबाट टाढा भएको छैन । सीमान्तकृत मान्छेको आँसुलाई कहाँ बिर्सेको छु र मैले ? पीडाका गीतहरू लेखेको भए डायरी भरिन्थे तर त्यसो गरिनँ । पीडा सबैका हुन्छन्, आफ्नो पीडा सबैको भन्दा ठूलो मान्ने हामीमा भ्रम हुन्छ र कवितामा लेखिदिन्छौँ तर मैले मेरो पीडालाई कविता मानिनँ र लेखिनँ । मलाई त सम्पूर्ण मान्छेको साझा पीडा र हाँसोमा कविता लेख्न मन पर्छ । त्यसरी लेखिएको कवितालाई सबैले मेरो अनुभूति भनेर महसुस गरुन् ।

एक्लो महारथी मेरो प्रतिबिम्ब हो । म जस्तो छु मैले आफूलाई त्यस्तै पस्किएको छु । तपाईंहरूको माया र प्रेरणा नै मेरो लेखनको आधार बन्ने छ ।

एक्लो महारथीमा संग्रहित दुई कविता

१. गाउँमा छन् गीतहरू

सूक्ति बनाएर संस्कृतिलाई
गाउँभरि गीत रोपेर
गीतभरि गाउँ गाइरहेका छन्— गाउँका मान्छेहरू ।

श्रुतिपरम्पराको धारमा हस्तान्तरित भइरहने
गाउँमै त छ
—पुस्तापुस्ता जीवित रहने गीतैगीतको प्रज्ञा
—विश्वासैविश्वासको दन्त्यकथा भन्ने हजुरामाको घर
—दुहुनो गाईजस्तै सङ्गीत खसाइरहने छाँगाको विरासत ।

नानीहरू
गाउदैछन् तोतेबोलीमा शिशुगीत—
‘ऐया बाबा घैया पाक्यो चिउरी कुटाइदेऊ न
नेपालबाट बेउलो आयो बेउली लुकाइदेऊ न ।’

सिमलबोटे खेतको खलेगरामा
दाइँ गर्दै गरेका दयेरेहरू
गोरु घुमाउँदै गाउदैछन् दाइँगीत—
‘मियोको टुप्पोमा बसेछ कोइली
आजका दयेरेलाई घिउको चोइली ।’

मान्छेका ओठओठमा भएपछि गीतको पाठशाला
—गाउँको माटोभरि फलेको हो गीतकै फल
—गाउँको आकाशमा लागेको हो गीतकै घाम
—तल, माथि गरेर चलेको हो गीताङ्गे हावा ।

भेटिइरहन्छ परिचय गाउँको
—सम्झनैसम्झनाको अलिखित प्रतिबिम्बमा
—ऐँचोपैँचोको अर्थशास्त्रीय परम्परामा ।

न त आउँछ
—सम्बन्धमा ह्रासको नियम
न त घट्छ
—साझेदारीको पर्म तिर्ने सिलसिला
न त हराउँछ
—रत्यौलीमा आमाहरू बुवा बन्ने मौलिकता
न त सकिन्छ
—मारुनीमा नरहरू नारी बन्ने लोकनाच ।

बारी खन्दै गरेका यी आमाहरू
—फागको लयमा मस्त छन् कोही
कोही कोदालाको नचाइमा स्वतस्फुर्त
—रोपिरहेका छन् श्रमगीतका मुरीमुरी लयहरू
कोही
—लोग्नेले गरेको अपहेलनालाई
—माइतीहरूले देखाएको बेवास्तालाई
आह्वान गर्दै देवीदेउताको
मागल र सगुनको भाकामा भन्दैछन्—
‘सिमे र भुमे तेत्तीसकोटी देउता साथैमा
कुन र धर्म देउरालीदेवी बसेको माथैमा ।’

संस्कारलाई राखेर शिरमा
चढेर गीतैगीतको सगरमाथा
छातीभरि कुँदेर आफ्नै देश
गीतभरि उज्यालो गाइरहेका छन्— गाउँका मान्छेहरू ।

२. रेगिस्तान

हरियो रङको प्रेसक्रिप्सन छ मेरो हातमा
भन, तिमी नै पढ्छ्यौ कि म सुनाऊँ
बालुवा बनेको मेरो नियति ?

आफैँ भन्छु सुन !
सपिङमलको पुरुष डमी जस्तो मात्रै रहेर
घरदेश फर्किएको छु रेगिस्तानबाट
मसँग नगर अब कोख भरिदिने माग ।

जब खुल्यो होस, म थिएँ अस्पतालको शैयामा
डाक्टरहरू भन्दै थिए—
“मरिसकेको नेपाली बाँच्यो
बाँच्नुको सार्थकता गुमाएर
जीवनको यात्रा यसको कति लामो होला ?”

मैले तिमीलाई सम्झिएँ
अस्पतालको शैयामा पल्टिएर महिना दिनसम्म ।

अस्पतालबाट डिस्चार्ज हुने बिहान
दिँदै प्रेसक्रिप्सन भने डाक्टरले—
“तिम्रो पुरुषत्व गुमेको छ दुर्घटनामा ।”

अपत्यारिलो घटना जब पत्याउनै पर्यो मैलेँ
तब आफ्नो पुरुषत्वलाई दिएर श्रद्धाञ्जली
दागबत्ती दिएर बाबुको मुखमा
घर फर्किएको किरियापुत्रीजस्तो
स्वदेश फर्केको एउटा रेगिस्तान तिमीअगाडि छ ।

तिम्रा चाहनाका सिमानासम्म पुग्न सकिनँ म
तिमी “तीनघुम्ती” की इन्द्रमाया पढेकी मान्छे
“पुतलीको घर” की नोरा बुझेकी मान्छे
गुलाबका अगाडि म उन्यूँ तगारो बन्दिनँ
कुन्ती र उनले आह्वान गरेका देवताहरूको
बाटो रोकेर पाण्डुले ?
म पाण्डुकै नियति लिएर भन्न सक्छु
तिम्रो गर्भमा आऊन् पञ्चपाण्डव ।

म त भन्छु बाटो खुला छ— मान्दिनौ तिमी
मैले कमाएको अलिकति रुपियाँ
जोगाएको थिएँ सपनाको घर बनाउन
त्यही पैसाले गराऊ कृत्रिम गर्भाधान
अनि बोध गर मातृत्वको ।

तिमी आमा बनेर एउटा कोठामा
स्तनपान गराइरहन्छ्यौ आफ्नो सन्तानलाई
त्यतिबेला अर्को कोठामा बसेर म
लेखिरहन्छु कविताका छोराछोरीहरू ।

प्रतिक्रिया
Loading...