नेपाली साहित्यको सम्पूर्ण पत्रिका

सलील ज्ञावलीको पूर्वीय सभ्यतामा डुबुल्की लाउँदा

हल्लिएकाे मनलाई स्थिरता .साँचो ज्ञान दिन यो पुस्तक सक्षम छ । म यहाँ अंग्रेजीकै एक दुई कुराहरू पुस्तकबाट उधृत गर्दैछु, ताकि हाम्रा सहृदय पाठकलाई यसबाट केही पुस्तक सम्बन्धी ज्ञान प्राप्त होस् ।

हामी विकास, शिक्षा,अर्थनीति आदिमा पश्चिमतिर हेर्छौं । पश्चिमको आधुनिक शिक्षा,जीवनशैली विज्ञानको देन, औषधि तथा अनेक नवीन उपकरण सुविधा सम्पन्न भौतिक पदार्थले हामी त्यता तानिन बाध्य छौं । सुख-सुविधा ,शान्ति, आत्मा सन्तुष्टि आदिको बाह्य भौतिक जगत हाम्रो सिधा  सम्पर्क  रहन्छ र रहिआएको छ । बाह्य जगतका सुख सपन्नतासँग हामी जति-जति नजिक हुँदै जान्छौं हामी एकपछि अर्को साधन जुटाउनका पछि दगुर्नु पर्दछ । यसो भन्न खोजिएको होइन कि हामी सुखपूर्वक जीवन  नबाचौँ । हामीसँग आज एउटा भ्रम उत्पन्न भइसकेको  , सुखी हुनु छ त  बाह्य वस्तुहरूद्वारा नै त्यो सम्भव छ । हामी आफूतिर  फर्केर हेरेका  छैनौं ।  मरुभूमिका मृगले बालुवामा परेका घामको टकमा टल्केको रुपलाई पानी सम्झी त्यसले प्यास मेटाउन खोजी दर्गुछ । जति दगुर्यो त्यो सूर्यको रोशनी टल्कने  बालुवामा अझ पर देखिन्छ । आज हाम्रो सुख, सम्पन्नता पनि त्यस्तै भएको छ । हामीले ठानेको पानी वास्तवमा पानी होइन । आज हामी पानीमा भ्रमको  मृग झैं  बालुवाका  चर्का घाममा सुख, सम्पन्नताका खोजीमा दगुरी रहेका छौं ।

         

विश्वमा कोरोनाले  हामीलाई  भित्रबाट  झक्झक्याएको  छ ।  मानव सभ्यता, विकास एकै पलमा ठप्प बिसाएर टोलाएको यो घडी छ । मेरा हातमा यस घडी “पूर्वीय सभ्यता — विश्वविख्यात विद्वानहरूको दृष्टिमा नामक  सलील ज्ञावलीको पुस्तक छ । सन् २०१२ मै म कहाँ आइपुगेको यस पुस्तकले म आश्चर्यचकित नभएको होइन । आज फेरि म यस पुस्तकलाई दोहोरयाउँदै छु । भारत आज हामीले  राजनैतिक  मानचित्रका आधारले हेर्छौं  तर त्यो होइन  प्राचीन धर्म, संस्कृति, वैदिक ज्ञान आदिमा भारत यति देखिएको चित्र मात्र होइन । यहाँको जीवन शैली, संस्कृति, संस्कार, ज्ञान केवल आज  हामीले मानचित्रमा छुट्टिएका भारतको मात्र कुरा होइन । पश्चिममा पारसी सभ्यता, उता उत्तरमा हिन्दुकुश पहाड, यता हिमालय (पूर्वमा बर्मा, हाल म्यान्मार)  तथा थाइलैण्डसम्म फैलिएको भूभाग । अनेक राजा महाराजाहरूद्वारा शासन गरिएका देशहरू । तर धर्म, संस्कृति, संस्कारले भित्रबाट एक भारतको आत्मा भनेको वेद, उपनिषद्, रामायण, गीता, महाभारत, अठार पुराण आदि हुन् । यी हाम्रा प्राण हुन् । हामी आज आफूलाई  नेपाली भनेर अलग्गै पनि राख्न खोज्छौं । हाम्रो भाषा, रीति-रिवाजले कालान्तरमा केही रुप फेर्नाले हामी आफू अलग भएको भान गर्दछौं । तर भित्र हामीसँग भारतीय ज्ञान दर्शन अवश्य छ । हामीले त्यसको  साधना गर्न सकेका छैनौं अथवा गर्न चाहेका छैनौं ।

     

भवानी अधिकारी (मणिपुर)

पूर्वीय सभ्यतामा यस पुस्तकले आँखाको नानीको काम गरेको छ । विश्वका महान् दार्शनिक, वैज्ञानिक, विद्वान्, साहित्यकार, कवि आदिले पूर्वीय भारतीय ग्रन्थहरू पढी हाम्रो सभ्यता, संस्कृतिको महानताको  वर्णन  गरेको  छ । सलील ज्ञावलीको  खोज तथा अनुसन्धान  एकाग्रता आदिले हामीलाई धन्य बनाएको छ । यो पुस्तक पुनः पढी हामी आफूले आफूलाई चिन्ने मौका फेरि पाएका छौं । आफ्नो अतीतमा गौरव नगर्ने जातिको उन्नति हुँदैन । अरु तुच्छ म महान् होइन । सबैको सम्मान गरी आफू आत्मकेन्द्रित बनी ज्ञान आर्जन गर्ने हाम्रा धर्मशास्त्रले बताउँछ ।धर्ममा हिन्दु, बौद्ध, किराँत आदिको  विभेद होइन । जरो एक हो हाम्रो, पद्धति अलग हुन सक्छ । हामीले महान् धरोहर पाएर आएका छौं । हाम्रो धरातल बलियो छ । तर मन हल्लिएको छ । यस हल्लिएका मनलाई स्थिरता साँचो ज्ञान दिन यो पुस्तक सक्षम छ । म यहाँ अंग्रेजीकै एक दुई कुराहरू पुस्तकबाट उधृत गर्दैछु, ताकि हाम्रा सहृदय पाठकलाई यसबाट केही पुस्तक सम्बन्धी ज्ञान प्राप्त होस् ।

       

जर्मनका प्रसिद्ध विद्वान् नोवल  प्राइज  प्रापक,  वैज्ञानिक, दार्शनिक अल्बर्ट आइस्टाइन यसरी भन्छन्- We owe a lot to the Indians who thought us to count, without which no worthwhile scientific discovery could have been made.”  

          

अंग्रेजी महान कवि  टि.एस. इलियटले आफूले संस्कृतद्वारा ज्ञान प्राप्त गरेको पूष्टि गरेका छन् । उनले भनेका छन् – पूर्वीय दार्शनिकहरूको विलक्षणताका तुलनामा महान युरोपेली दार्शनिकहरू पनि अभ्यासिक  विद्यार्थीजस्ता देखिन्छन् ।

      

फ्रान्सिस एम. बोल्टेयर भन्छन्    “वेद एउटा सर्वाधिक मूल्यवान् उपहार हो जसको निमित्त पाश्चात्य जगत सदैव पूर्वप्रति ऋणि रहेको छ ।“

        

यहाँ गरिएको वेदान्त, उपनिषद्का वर्णनले मलाई भित्र कता-कता हामी त कतै आफ्नो ज्ञानदेखि अन्तै भौतारिंदै छैनौँ जस्तो लाग्दछ । अमेरिकी  प्रसिद्ध  भौतिकशास्त्री जोन आर्किबाल्ड ह्विलर भन्छन्- मनमा यस्तो धारणा आउँछ, पूर्वीय विद्वानहरूले यी सबै आधुनिक विज्ञानका कुराहरू जानेका थिए । हामीले उनीहरूका शास्त्रहरू आफ्नो भाषामा अनुवाद गर्न मात्र सक्ने हो भने हाम्रो सबै जिज्ञासाका उत्तर पाउने थियौं होला आणवीक बमको सैधान्तिक विकासमा समर्पित अनेकौं विज्ञान पुस्तकका लेखकको यो भनाई हो ।”

     

सलील ज्ञावली सजग आफ्नो प्राचीन सभ्यता प्रेमी तथा जिज्ञासु व्यक्तिको यस पुस्तकले परिचय गराउँछ ।  विश्वका प्रसिद्ध दार्शनिक, लेखक, कवि, वैज्ञानिक अन्य कति-कति विश्व विख्यात् महान् यी व्यक्ति आफ्नो कार्यले विश्व प्रसिद्धि पाएका हुन् । उनीहरूलाई पूर्वीय ज्ञानको आधार चाहिन्छ भने हामी किन आफ्नो ज्ञानबाट अनभिज्ञ हुने भनी यो पुस्तक लेख्न प्रेरित भए ।  विज्ञानको अनेक शोधहरूमा पूर्वीय ज्ञानले आधार बनी चीज दिएको छ, त्यसैले पश्चिममा आज पूर्वीय ज्ञानको महत्त्व अझै बढेर गएको छ ।  यस पुस्तकलाई हामीले पढेकै हुनु पर्दछ ।

     

पुस्तकका हरेक पन्नामा हरेक महान विभूतिहरूको  उद्गार  मात्र  छ । हाम्रो पूर्वीय भारतीय  सभ्यताको महानता एक-एक पन्नामा  झल्केका छन् । आज यो मूल अंग्रेजीमा लेखिएको पुस्तक विश्वका अनेक भाषामा धमाधम अनुवाद भई आएको छ । पूर्वीय सभ्यता विश्वका हरेक सभ्यतालाई आज सान्दर्भिक बनेको छ । विकास, शान्ति प्रेम, उन्नति प्राप्त गर्न भौतिक सुख सुविधाले मात्र सम्भव छैन । आन्तरिक ज्ञान एकाग्रता आदिको अत्याधिक महत्त्व छ । ध्यान मग्न भई  लाग्न  जरुरी छ । मानिसको ज्ञानको ज्योति आफूमा फैलाएर विश्वमा शान्ति, समृद्धि प्राप्त गर्न सकिन्छ । यो त्याग तथा वैरागीको विषयमा होइन । कर्म तथा उन्नतिका  निम्ति हो ।

       

अब यता म अथवा हामी कता जाँदैछौं हाम्रो धरोहर महान् त छ । हामी यसबाट विमुख त छँदै छैनौं । हाम्रो भाषाको कुरा गर्दा हामी भानुभक्तलाई लिन्छौं । भानुभक्त महान् ज्ञाता थिए । हामी दुई सय चार सय वर्षको कुरा  गर्छौं । तर हामी सय मात्र पुराना होइनौँ । भानुले हामीलाई नेपाली सरल भाषामा रामायण दिएको मात्र हो । एउटा नयाँ संस्कृति दिएको होइन । भानुले हामीलाई आफ्ना प्राचीन धरोहरसँग जोड्नाले नै भानुभक्तीय रामायण हामीमा त्यति प्रिय भएको हो । भानुले हामीलाई सरल मान्यभाषा दिए । सभ्यताले हामीलाई राम युगौंयुग पहिले दिएको थियो । हामी राममय बन्यौं, रामायणमा रमायौं त्यहाँ हामीले आफ्नोपन पायौं । हाम्रो मुटुको धडकनमा वेद छ, उपनिषद् छ, रामायण छ, महाभारत छ । त्यो पुरानो कुरा हामीलाई सरल सहज भाषामा प्रस्तुत भएको पाउँदा अति प्रिय लाग्यो । यहाँ आजको कुरा अलिकति थपौं, हामी महान् चिन्तक, विद्वान्, जनसाधारण नर-नारी आज कुनै गहन कार्यमा संलग्न हौँ, त्यहाँ कसैले नेपाली सुरिलो लोकधुन बजावश हाम्रो मन नाच्न थाल्छ । त्यो हामीमा पचेको छ । राम त्यस्तै हामी भित्र पचेका हुन् । वेद पुराण हामीभित्र छ । हाम्रो मन छुन्छ । त्यो हाम्रो आफ्नोपनसँग आफूमा समाहित चीज हो ।

     

आधुनिकता परिवर्तनका नाममा हामीले बिर्सन चाहे पनि हाम्रो आफ्नोपन भने हाम्रो पुराना सभ्यताले दिन्छ । कहिलेकाहीँ पुरानो सभ्यतालाई बाहुनवाद भनी हामी उडाउन खोज्छौं । कर्मकाण्डीय पद्धतिलाई हामी सबै पूर्वीय सभ्यता मान्न लागेका कारण हाम्रो विचार यस्तो भएको हो । कर्मकाण्ड़ विधि एक पूजा आराधना पद्धति हो । वेद-उपनिषद् आदिका  अंग अवश्य हुन् । तर ज्ञानका भण्डार आजको विज्ञान, औषधी, ज्ञान आदि यिनैबाट हामीले पाउँछौं । यसविना हामी जरा नभएका रूख सरी हुन्छौं । बुद्ध हाम्रा हुन् । राम कृष्ण गर्दै हामी अझै पछि पुग्छौं वेद उपनिषद्मा । गहिरो ज्ञान, अजर संस्कार हामीले हाम्रा धरोहरबाट पाएर आएका छौं । भारतीय संस्कृतिभन्दा हामीलाई हामीभन्दा परको पनि लाग्छ । तर यो उप महाद्वीपको  संस्कृति हो । कुनै एक राजनीतिक सीमाको होइन ।  माथि-माथि सतहमा आफ्नो-आफ्नो हुन खोजे पनि हामी थोपा-थोपा भएर बिलाउँनै छौं । पछि विकाससँगै सामाजिक परिवर्तन अलग हो । आफ्नो प्राचीन धरोहरको गौरवता रहे मात्र जातीयताको जग दर्बिलो हुन्छ । हाम्रो जातीयताको जग फितलो छैन । महान संस्कृति, महान ग्रन्थ, विविध परम्परामा एक दर्बिलो चर अथवा जगसँग बाँचेका हामी जाति हौं ।

      

इण्डोनेशियाले आज आफ्नो आस्था सबै इस्लाम लिएर अर्कै संसारमा बाँचेको छ । तर त्यस देशको हवाजहाज  गरुड़ नामले आज पनि उडेको छ । त्यहाँ रुपियाँमा भगवान गणेशको फोटो आज पनि अंकित छ । उनीहरू यसो गरेको आफ्नो पूर्खा, प्राचीन सभ्यताको रक्षण भनी मान्दछन् । हामी त प्राचीन आस्थामा बाँधिएका छौं । हाम्रा  ग्रन्थहरू प्राचीन हुन् । हाम्रो ज्ञान प्राचीन हो । यी महान् व्यक्तिहरूबाट आदर सम्मान गरिएको वेदान्तका अंश हामी, यसको संरक्षण गरौं । विकास गरौं, विस्तार गरी आफू बाह्य होइन भित्री दर्बिलो बनौं । ज्ञानका समुद्रमा डुबौ जीवन सार्थक बनाउँ ।

 

सलील ज्ञावलीको यस प्रयासलाई व्यापक गरी आफूलाई  चिनौं । आफूलाई चिने आफ्नो हीनताबोध  हट्ने छ , स्वाभिमान जाग्नेछ ।  हाम्रो स्वाभिमान बेलाबेला डगमगाउन खोज्छ । यसैले हामी आफैँमा शंका गरिरहेका  हुन्छौं । अर्काको  असल  हाम्रो कस्तो-कस्तो ? यो शंका मनमा रहे  हामी उन्नतितर्फ लाग्न सक्दैनौँ । ज्ञावलीका यस पुस्तकबाट उत्प्रेरणा लिँदै हामी आफ्ना जरा बलिया बनाऔं ।

प्रतिक्रिया
Loading...