नेपाली साहित्यको सम्पूर्ण पत्रिका

फिल्म र टेलिभिजन अधिकारका हारालुछ युग !

गएको साता लेखक जोन ले केरीको निधन भयो । एक हिसाबले उनको साहित्यजीवनको अन्त्य भयो तर त्यो उनको साहित्य पेशाको पहिलो तह मात्र हो । लेखकहरु तिनको सिर्जनाको कारण सदियौँ बाँच्छन् । बेलायतमा कुनै लेखकको निधन भयो भने उसको सिर्जनाको अधिकार तिनको परिवारलाई कम्तीमा ७० वर्षसम्म हुन्छ ।

जोन ले केरीको निधन हुँदा उनको जीवनको अन्त्य भएको त देखियो तर उनका पुस्तकमा उनी जीवित नै रहनेछन् । झन् अब उनका बारेमा लेखिने नयाँ जीवनी, फिल्म र टेलिभिजन शृंखलाको त कुरै भएन ।

‘ले केरीजस्ता लेखकका लागि यो त एउटा स्वर्णयुगझैँ छ,’ अमेरिकी सुपरएजेन्टका रुपमा नाम कमाएका एन्ड्र्यु वाइली भन्छन्, ‘उनको निधनपछि पनि उनले लेखेका उपन्यासहरु फिल्म, टेलिभिजनका लागि हारालुछ भइरहेको छ । यस्तो अवस्थामा लेखक उसको निधनको कयौँ वर्षपछि पनि जीवित रहन्छ ।’

व्यस्त जीवन शैलीका कारण अहिले थोरबहुत समय हुनेबित्तिकै मानिसहरु केही पढ्न रुचाउँछ । पढ्न नरुचाउनेहरुले भने टेलिभिजनतिर आँखा दौडाउँछ । यस्तो बेलामा टेलिभिजनले पस्कने भनेको चर्चित पुस्तककै अंश हुन् ।

जोन ले केरी

साहित्य कृतिमाथि बनेका शृंखला वा फिल्मको माग कति छ भने सन् २०१९ मा मात्र नेटफ्लिक्सले ५० वटाभन्दा साहित्यकृतिको अधिकार किनेको थियो । यसले एकाएक राम्रा पुस्तकका लिटररी एजेन्टहरुको भाउ बढेको छ भने पुस्तकको स्क्रिन अधिकार लिनका लागि एजेन्टहरुको दौडधुप तीव्र हुने गरेको छ ।

सामान्यतः कुनै लेखकको चिठ्ठी, डायरी, साहित्यकृति या अन्य चिजबिजको अधिकार कुनै संस्था खडा गरी त्यसको भोगचलन गर्न दिइन्छ । त्यस्ता संस्था (इस्टेट)ले बोर्ड सदस्यहरु बनाई तिनको सहमतिमा ती सामग्रीको फिल्म, टेलिभिजन, डकुमेन्ट्री, खेलौना या अन्य अधिकार कुनै अर्को संस्थालाई बेच्ने गरिन्छ । यसरी लेखकले छाडेर गएका सिर्जनामाथि तिनका परिवार र अधिकारप्राप्त संस्थाको रजाइँ आउँदा ७० वर्षसम्म चल्ने गर्छ ।
मिस्ट्री विधाकी प्रख्यात उपन्यासकार अगाथा क्रिस्टीको अधिकारप्राप्त लिटररी एजेन्ट जेम्स प्रिकार्ड भन्छन्, ‘हामी त यतिबेला सुनखानीमा बसिरहेका छौँ । उनले लेखेर छाडेका कयौँ प्रकाशित अप्रकाशित सिर्जनाहरुको माग यतिबेला जति यसअघि कहिल्यै भएको थिएन ।’

लेखिका क्रिस्टीका पनातिले यसको अधिकार उपभोग गरिरहेका छन् । उनले बिबिसीका लागि ‘द पेल हर्स’ उपन्यासमाथि नयाँ टेलिभिजन शृंखलामा हस्ताक्षर गरे । त्यस्तै फ्रान्सेली टेलिभिजनका लागि नयाँ शृंखला ‘लेस पेटिट्स मेयुट्रिस डि अगाथा क्रिस्टी’ बन्दैछ । स्विडेनी टेलिभिजनले पनि उनका कृतिमाथि शृंखला बनाउँदैछ । र, यो क्रम अन्य देशमा पनि जारी छ ।

नयाँ नयाँ स्ट्रिमिङ साइटहरु बढ्दै जाँदा तिनीहरुले पनि उनका उपन्यासमाथि शृंखला बनाउने प्रस्ताव दिनदिनै आइरहेका छन् । कतिसम्म भने चीनले समेत उनका उपन्यासमाथि बनाइने शृंखलाका लागि अधिकार किनिसकेको छ ।

वाइलीले हालै लगभग करोडमा अर्जेन्टिनाका चर्चित साहित्यकार जर्ज लुइस बोर्गेसमाथि बनाइने शृंखलाका लागि सम्झौता गरेका छन् । त्यस्तै अर्का एक एजेन्टले चिनियाँ टेलिभिजनका लागि डा. सेउसका सम्पूर्ण कृतिहरुको अधिकारका लागि सम्झौता गरेको छ । र, यो पनि करोडौँको सम्झौताका रुपमा अनुमान गरिएको छ ।

त्यसो त सबै साहित्य यसरी करोडौँमा बिक्री हुन्छ भन्ने छैन । अनि, सहजै कुनै संस्था वा साहित्यकारका परिवारले खुरुक्क अधिकार दिन्छन् भन्ने पनि छैन । कयौँ निर्माताहरु साहित्यकारका परिवारले दिएको दुःख सम्झेर साहित्यकृतिमा फिल्म या शृंखला बनाउनुभन्दा बरु नयाँ सिर्जना गर्नु नै उचित ठान्छन् ।

(कहिलेकाहीँ कुन मूडमा एउटा लेखकले के बोलिदिएको हुन्छ, त्यसको सजाय चाहिँ तिनका सन्तान दरसन्तानले माफी माग्ने गरी भोग्नुपर्छ । पछिल्लो समय यस्तै भयो । रोआल्ड डालले कुनै समय हिटलरले छानीछानी यहुदीहरुलाई मार्नुमा केह िन केही त अवश्य छ किनभने तिनीहरुको चरित्रमै कहीँकतै गडबडी छ भनी लेखेका थिए । त्यसप्रति परिवारजनले पछि माफी मागेका थिए । यद्यपि, डालको निधनअघि उनको सो भनाइ भने कसैले उधिन्न सकेका थिएनन् । निधनपछि उनका बारेमा जब जीवनी लेख्न अनेकन् कुरा खोतल्न थालियो, त्यहीँ उनको सो भनाइ फेला पारिएको थियो र परिवार नै लज्जित हुनुपरेको थियो ।)

कहिलेकाहीँ यस्ता समस्यालाई लिटररी एजेन्टहरुले सम्हाल्नु पर्ने हुन्छ । जानाजान कतिपय कुराहरु उनीहरुले लुकाउने गरेका पनि छन् । पछिल्लो समय जेआरआर टोकिनका पुस्तकहरु खोतल्ने क्रममा उनको जीवनी लेख्न अरुलाई जिम्मा दिन उनका छोरा क्रिस्टोफर टोकिन तयार नै भएनन् । जेआरआरले लेखेका खेस्रा कपीहरुको ७० वटा बाकसलाई खोतल्ने जिम्मा आफैँ लिए र यति झूर किताबहरु तयार पारे कि तिनको नामसमेत कोही लिन चाहँदैन यतिबेला । कतिभने अनफिनिस्ड टेल्स, द फल अफ गोन्डलिन, द चिल्ड्रेन अफ हुरिन, द मिल्मरिलियनजस्ता उपन्यास क्रिस्टोफरले पुनर्लेखन गरे पनि तिनले कुनै साहित्यिक चमत्कार गर्न सकेनन् । त्यसमाथि मिडल–अर्थका १२ भागको इतिहासको त कुरै भएन ।

जेआरआरका सिर्जनाको अधिकारमाथि क्रिस्टोफरले निकै दुव्र्यवहार गरेको केहीको आरोप छ । फिल्म र टेलिभिजन अधिकारका लागि हबिट, द लर्ड अफ द रिङ्सजस्ता सिर्जनालाई टोकिनले जम्मा १ लाख पाउन्डमा बेचेका थिए । ताकि उनको कर तिर्न सजिलो होस् । पछि पिटर ज्याक्सन र उनको कम्पनीलाई अधिकार बेच्दा जेआरआरको मूलमर्म नै हराएको भन्दै मुद्दा हालेका थिए । कहिले फिल्मले कमाएको नाफा कम दिएको भन्दै त कहिले मूलमर्ममा प्रहार गरिएको भन्दै ।

पछिल्लो समय अमेजनलाई लर्ड अफ दि रिङको शृंखला अधिकार २५० मिलियन डलरमा बेचेको थियो ।

कहिलेकाहीँ साहित्यकारको मर्म मर्ने गरी पैसा कमाउने कि मर्म पनि नमर्ने र तर पैसा पनि कमाउने भन्ने प्रश्नले धेरै प्रशंसकहरुको चित्त कुँढाइरहेको हुन्छ । निकै थोरै साहित्यकारको निधनपछि तिनका परिवारले यसलाई सन्तुलित बनाएका हुन्छन् । जस्तो कि माइकल बन्डकी छोरी करेन जान्केलले गरेकी छन् । वर्षौंअघि बुवाले अधिकार बेचे पनि अहिले छोरी करेनले अधिकार आफूमा सीमित गरेकी छन् र आफ्नो आर्थिक संकट टार्ने कुरामा पिताका सिर्जनलाई उपयोग गर्ने गरेकी छन् ।

कतिपय साहित्यकारका जुनसुकै रचना चाहिँ गाढधन बराबर नै हुने गरेका छन् । जर्ज अर्वेलका सिर्जनालाई हरकोही टेलिभिजन र सिनेमामा उतार्न चाहन्छन् तर अर्वेलपत्नी सोनियाले भने ती सिर्जनालाई यसरी लुकाएकी छन् कि कसैले पनि तिनको उपयोग गर्न पाएको छैन । केहीले भने अर्वेलका अन्तरंग कुरा बाहिर आउलान् भनेर सोनियाले छिरिक्क छुन दिन्नन् ।

तर कहिलेकाहीँ यसरी कडा रुपमा प्रस्तुत हुनु पनि प्रत्युत्पादक हुनसक्ने र कवि टिएस इलियटको जस्तो उदाहरण दिने पनि कम छैनन् । टिएस इलियटकी विधवा भेलेरी इलियटले कविका केही पत्रहरुलाई उनको मृत्युपर्यन्त कतै छिरिक्क चुहिन दिइनन् । कयौँ जीवनीकारले उनीबाट सहयोगको अपेक्ष गरे पनि सहयोग पाएनन् । त्यसैले पनि उनको जीवनीकारले सधैँभरि सम्बन्धहरुमा कहीँकतै दालमा कालो अवश्य छ भनेर घुसाइहाल्छन् । तर प्रमाणका रुपमा भने केही हाल्न सक्दैनन् ।

सन् २०२१ को जनवरी १ पछि जर्ज अर्वेलका सबै पुस्तकहरुको प्रतिलिपि अधिकारले मुक्ति हुन्छ । अमेरिका, स्पेन भने भने थप १० वर्ष यसको अधिकार रहे पनि बेलायतमा ‘१९८४’ र ‘एनिमल फार्म’का कथालाई आफूखुसी प्रयोग गर्न सकिनेछ । ती कथानक र पात्रहरु सधैँ सान्दर्भिक रहिरहने हुनाले लेखक सदियौँसम्म बाँच्छ । यही सन्दर्भमा भने ड्यानियल स्टिलजस्ता लेखकका सयौँ उपन्यास भने बिल्कुलै काम लाग्दैन । कसैले फर्केर पनि हेर्न चाहँदैन । तर जब जोन लि केरीजस्ताका उपन्यासको कुरा आउँछ, तिनको सन्दर्भ भने सदियौँसम्म रहिरहन्छ ।

प्रतिक्रिया
Loading...