नेपाली साहित्यको सम्पूर्ण पत्रिका

१४ पुस्तकका लेखक तथा राजनीतिक मनोविज्ञानका धुरन्धर पण्डित रहेनन्

इजरायल र मध्यपूर्वको दुस्मनी चुलीमा रहेका बेला त्यस क्षेत्रमा शान्ति बहाली गर्न इजरायल र इजिप्टबीच शान्ति कायम हुनुपर्थ्यो । त्यहाँको तनाव मत्थर पार्न वा पूर्ण रूपमा शान्ति बहालीका लागि सन् १९७८ को अगस्त महिनामा इजरायली प्रधानमन्त्री मेनाचेम बेगिन र इजिप्टका राष्ट्रपति अनवर अल सदातबीच संवादको वातावरण मिल्नु पर्थ्यो ।

यसका लागि राष्ट्रपति जिम्मी कार्टर स्वयं सिआइएको प्रधान कार्यालय भर्जिनियास्थित लाङली पुगे । त्यहाँ उनले सिआइएका निर्देशक स्टान्सफिल्ड टर्नरसँग राष्ट्रपति कार्टरले सल्लाह गरे, तिनको मनोभाव, व्यक्तित्व विश्लेषण र राजनीतिक व्यवहारको अध्ययनपछि तिनीहरूलाई विश्वास गर्न सकिन्छ कि सकिँदैन ? राष्ट्रपति कार्टर ती दुई महत्त्वपूर्ण पाहुनाको व्यक्तित्व विश्लेषण गर्न चाहन्थे । स्टान्सफिल्ड टर्नरले यो जिम्मा मनोविज्ञानमा पिएचडी गरेका जेरोल्ड एम. पोस्टलाई लगाए ।

मेरील्यान्डको क्याम्प डेभिडमा आउने पाहुनाको गतिविधि, बोलीचाली, हलचलले के भाव व्यक्त गरिरहेको छ, राष्ट्रपति ती सबै जान्न चाहन्थे । यसले शान्ति सम्झौताका पक्षमा काम गर्न सकिन्छ कि सकिँदैन भन्ने उनी निश्चित हुन चाहन्थे ।

यसपछि डा. पोस्टले ती दुई पाहुनाको साइकोबायोग्राफी तयार पारे । त्यसपछि यी दुई पाहुनाले कस्तो मनोविज्ञानमा आफूलाई प्रस्तुत गर्छन् र त्यसको फाइदा र बेफाइदालाई कसरी आफूअनुकूल प्रयोग गर्न सकिन्छ भनी प्रतिवेदन पेश गरे ।

प्रतिवेदनमा डा. पोस्टले लेखेका थिए, ‘अर्को होलोकस्ट रोक्नका लागि इजरायली प्रधानमन्त्री बेनिन प्रतिबद्ध छन् । यता सदात चाहिँ उनीभन्दा अघि भएका राष्ट्रपति जमाल अब्देल नासेरभन्दा आफू महान् देखिन चाहन्छन् ।’ यही मनोविज्ञानमाथि खेलेर राष्ट्रपति कार्टरले यी दुई मुलुकबीच शान्ति कायम मात्र गराएनन्, संयुक्त रूपमा त्यस बेलाको नोबेल शान्ति पुरस्कार दिलाउन सफलसमेत भए ।

यस मामिलामा कार्टरको भूमिका जति बढी छ, त्यति नै बढी डा. पोस्टको पनि थियो । उनको विश्लेषणबिना शान्ति कायम गर्न कठिन हुने थियो ।

तिनै पोस्टको गएको नोभेम्बर २२ मा अमेरिकाको वासिङ्टनस्थित स्वास्थ्य केन्द्र (हस्पिस)मा निधन भयो । उनी ८६ वर्षका थिए । उनकी पत्नी क्यारोलिन पोस्टले निधन हुनुको मुख्य कारण कोभिड १९ रहेको जानकारी दिइन् ।

२१ वर्ष सिआइएमा काम गरेका उनको मुख्य काम नै राजनीतिक मनोविज्ञान अध्ययन गर्नु थियो । उनले सद्दाम हुसेन, आयोतुल्लाह खुमेनीजस्ता राजनीतिक नेताको विश्लेषण गर्दै तिनले त्यस क्षेत्रमा मच्चाउन सक्ने तहल्काको विश्लेषण गरेका थिए । यति मात्र होइन, उनले बिल क्लिन्टन, बेलायती प्रधानमन्त्री टोनी ब्लेयर, ओसामा बिन लादेन र डोनाल्ड ट्रम्पमाथि पनि विश्लेषणयुक्त पुस्तक लेखेका थिए ।

उनको चर्चा त्यो बेला किन पनि भयो भने, सद्दाम हुसेन र खुमेनीजस्ता नेताको ठूलो लोकप्रियताका लागि बाहिरी र पश्चिमा विश्लेषण भन्दा पनि तिनको सांस्कृतिक तथा ऐतिहासिक पक्षको रौँ चिरापछि मात्र सम्भव छ भन्ने सूत्र प्रतिपादन गरेका थिए । यो कुरा २१ औँ शताब्दीको दोस्रो दशकमा सामान्य हो तर सन् १९६० र ७० को दशकमा यस्ता कुरा बिल्कुलै नसुनिएको र नौलो थियो । उनले यही कुरा स्थापित गराएका थिए ।

‘यदि कोही हामीले नचिनेको मान्छे छ र उसले केही हाम्रो नजरमा गलत क्रियाकलाप गरिरहेको छ भने यसको अर्थ ऊ बिल्कुलै राक्षस हो भन्न सकिँदैन,’ डा. पोस्टसँग काम गरेका ब्रुस रिडेलको प्रतिक्रिया थियो, ‘यही कुरा डा. पोस्टले हामीलाई सिकाए कि तिनलाई उनीहरूको सन्दर्भमा बुझिनु पर्छ, हाम्रो सन्दर्भमा होइन ।’

डा. पोस्टले सिआइएबाट बिदा लिएपछि सन् २०१५ सम्म जर्ज वासिङ्टन विश्वविद्यालयमा पोलिटिकल साइकोलजी पढाएका थिए । उनले घरैमा एउटा बेग्लै निजी मनोचिकित्साको क्लिनिक चलाइरहेका थिए । साथै, आवश्यक परेका बेला सरकारसँग सहकार्य समेत गर्दै आइरहेका थिए ।

सन् १९३४ फेब्रुअरी ८ मा जन्मिएका जेरोल्ड मोर्टन पोस्टका बुवा फिल्म वितरक थिए भने उनकी आमा लिलियन जुत्ता र किताब पसल चलाउँथिन् । चिकित्साशास्त्रका विद्यार्थी पोस्टले येल स्कुल अफ मेडिसिन र हार्वर्ड मेडिकल स्कुलमा अध्ययन गरेका थिए । अध्ययन सकिएपछि साइकियाट्रिक अस्पतालमा उनले सेवा गरेका थिए ।

सन् १९७५ मा प्रथम पत्नी स्यारोनको निधनपछि १९७८ मा क्यारोलिनसँग बिहे गरेका थिए । उनका दुई छोरी सिन्थिया (साइकोलजिस्ट) र मेरिडिथ (अपाङ्गताकी चिकित्सक) छन् ।

उनलाई सिआइएमा उनैका साथीले जागिर लगाएका थिए । उनले त्यो बेला रूसी प्रधानमन्त्री निकिता खुस्च्रेभको अध्ययन गर्नुपर्ने बताएका थिए । पछि सिआइएले एन्थ्रोपोलोजिस्ट, सोसियोलजिस्ट, पोलिटिकल साइन्टिस्ट, साइकोलजिस्ट र साकियाट्रिस्टहरूको बेग्लै समूह बनाएर तिनको प्रोफाइल तयार पारेका थिए । पोस्टले कुनै पनि नेताको बारेमा बुझ्न, ती नेताको राजनीतिक, ऐतिहासिक र सांस्कृतिक सोच बुझ्न पर्छ भन्ने सूत्र नै बनाएका थिए ।

उनले कुनै व्यक्तिको सिधासिधा अन्तरवार्ता नलिइकनै तयार पारेका त्यस्ता विश्लेषणपछि नै उनको अध्ययनको तारिफ गरिएको थियो । पछि उनको अध्ययनको यो शैलीलाई संसदीय सुनुवाई लगायतका कुरामा समेत लागू गरिएको थियो ।

पछिल्लो समय उनी मृगौलाबाट पीडित थिए । पटक पटक डाइलासिसका लागि अस्पताल आउने जाने क्रममा मेडिकल ट्याक्सीबाटै उनलाई कोभिड १९ सरेको हुनसक्ने पारिवारिक स्रोतले जनाएको छ । उनलाई कोभिड १९ लागेको पत्ता लागेको एक सातामा नै निधन भएको हो ।

तासका सोखिन तथा ज्याज म्युजिकलाई रूचाउने डा. पोस्टले कयौँ मेडिकल आलेख लेखेका छन् भने १४ वटा विभिन्न पुस्तक समेत लेखेका छन् । उनको पछिल्लो पुस्तक डेन्जरस करिस्मा एक वर्षअघि बजारमा आएको थियो । उनले हुसेन, खुमेनी र अन्य नेतालाई विश्लेषण गरेजस्तै यसमा पनि ट्रम्पका आनीबानीको विश्लेषण गरिएको थियो । उनले यस पुस्तकमा ट्रम्पले चुनावमा आफ्नो हार अस्वीकार गर्ने र उनका समर्थकले पनि उनको कुरालाई सहमति जनाउने पुस्तकमा चर्चा गरेको कुरा ठ्याक्कै यस पटकको चुनावमा पराजितपछि मिलेको थियो ।

स्रोतः विभिन्न अनलाइन

प्रतिक्रिया
Loading...