नेपाली साहित्यको सम्पूर्ण पत्रिका

सिर्जना के हो र कसरी गरिन्छ ?

१. विषय प्रवेश

सिर्जना भनेको सृष्टि हो । सृष्टि भनेको उत्पत्ति, जन्म अथवा आविष्कार हो । कुनै पनि कुराको उत्पत्ति हुनु नै सिर्जना हुनु हो । यो पृथ्वी एउटा ठूलो सिर्जना हो । मान्छेहरू पनि सिर्जना नै हुन् । हावा, पानी, हिमाल, पहाड, तराई, वनजङ्गल, खोलानाला आदि सबै सिर्जना हुन् । तिनलाई प्रकृति भनिन्छ । आफैँ उत्पत्ति भएका कुराहरू प्रकृतिका सिर्जना हुन् । पछि बनाइएका चिजहरू मान्छेका सिर्जना हुन् । भौतिक वस्तुको आविष्कार पनि सिर्जना हो र साहित्य लेखन वा कलाको निर्माण पनि सिर्जना हो । वैज्ञानिक आविष्कारका लागि मस्तिष्क पक्ष सबल हुनुपर्छ, कलाको आविष्कारका लागि हृदय पक्ष सबल हुनुपर्छ । तथ्यमा आधारित सूचना ज्ञान वैज्ञानिक आविष्कारहरूमा हुने गर्दछ भने कल्पनामा आधारित सिर्जना कला साहित्यिक रचनामा हुने गर्दछ ।

कलाका अनेकौँ पक्षहरू छन् । तीमध्येमा साहित्य सिर्जना पनि एउटा कला नै हो । स्रष्टाहरूले सिर्जना गरेका कविता, कथा, उपन्यास, निबन्ध, नाटक आदि सबै साहित्यिक सिर्जना हुन् । चित्रकारहरूले बनाएका चित्रहरू, मूर्तिकारहरूले बनाएका मूर्तिहरू र कलाकारहरूले निर्माण गरेका मूर्त तथा अमूर्त अनेक प्रकारका कलाहरू सबै सिर्जना हुन् । सिर्जना गर्नेलाई सर्जक भनिन्छ । ‘सिर्जना पाठशाला’को उद्देश्य सिर्जना वा कलाका विविध पक्षमा प्रवेश नगरी साहित्यिक सिर्जनाअन्तर्गत पर्ने विभिन्न विधाका बारेमा प्रारम्भिक जानकारी दिनु हो । सिर्जनाप्रति जिज्ञासा राख्ने, सिर्जना गर्न चाहने तर सामान्य मार्गनिर्देशन पनि नपाइरहेको समूह नै यसको लक्षित वर्ग हो । त्यसैले स्थापित लेखक तथा विज्ञ पाठकवर्गका लागि यो कार्य अति सामान्य लाग्न सक्छ तर सिर्जनाप्यासी नवसर्जकहरूका लागि यो तिर्तिरे धारो बन्न सक्छ कि भन्ने विश्वास लिइएको छ । यसलाई प्रतिफलमा रूपान्तरण गर्नका लागि अति सरल भाषामा सिर्जनात्मक लेखनका बारेमा जानकारी प्रदान गरेपछि साहित्य सिर्जनाअन्तर्गत पर्ने सबै विधा तथा उपविधाहरूको छोटो सैद्धान्तिक चर्चा गरिने छ र त्यसको विधागत स्वरूप र सिर्जना विधि के कस्तो हुने गर्दछ अर्थात् के कसरी लेखिन्छ ? भन्ने बारेमा प्रयोगात्मक कार्यहरूको समेत उल्लेख गरिने छ ।

२. अन्य लेखन र सिर्जनात्मक लेखनमा भिन्नता

लेखन क्षेत्रलाई साहित्यिक लेखन र साहित्येतर लेखन गरी हेर्ने गरिन्छ । हाम्रो व्यावहारिक जीवनसँग सम्बन्धित सम्पूर्ण रचनाहरूका साथै प्रशासन, कानुन, पत्रकारिता, राजनीति, अर्थशास्त्र, इतिहास जस्ता विविध क्षेत्रसँग सम्बन्धित तथ्यपरक लेखरचनाहरूलाई साहित्येतर लेखनअन्तर्गत राख्ने गरिन्छ भने साहित्यका विभिन्न विधाकेन्द्रित लेखनलाई साहित्यिक लेखनअन्तर्गत राख्ने गरिन्छ । साहित्यका पनि सिर्जना र समालोचना दुई पक्ष हुन्छन् । सिर्जना कलाको नवीन प्रवर्तन हो भने समालोचना सिर्जित सामग्रीमाथिको विश्लेषणात्मक दृष्टिकोण हो । विशेषतः विधागत लेखनलाई सिर्जनात्मक लेखनअन्तर्गत राख्ने गरिन्छ ।

भाषिक प्रयोग र प्रस्तुतीकरणका दृष्टिले हेर्दा सिर्जनात्मक लेखन र अन्य लेखनमा निकै ठूलो अन्तर देखिन्छ । अन्य लेखनमा वस्तुता, सत्यता, प्रमाण, तर्क, उदाहरण र तथ्यका आधारमा लेखकको संज्ञानात्मक पक्ष सक्रिय हुने गर्दछ भने सिर्जनात्मक लेखनमा कल्पना, भावना, भावुकता र हार्दिकताले पनि प्रवेश पाउँछ । अन्य लेखनमा बौद्धिक पक्षको बलियो उपस्थिति देखिन्छ भने सिर्जनात्मक लेखनमा बौद्धिकताका साथै हार्दिकताको पनि सक्रियता देखिन्छ । अन्य लेखनमा मस्तिष्कको सक्रियता, देखेका कुराको प्रस्तुति र वस्तुतामा आधारित भाषाशैलीको प्रयोग हुन्छ भने सिर्जनात्मक लेखनमा हृदयको सक्रियता, हृदयको आँखाले देखेका कुराको प्रस्तुति र मर्ममिश्रित आलङ्कारिक भाषाशैलीको प्रयोग हुन्छ । व्याकरणिक पदसङ्गतिको प्रयोग अन्य लेखनमा अनिवार्य मानिन्छ भने आलङ्कारिक पदसङ्गतिको प्रयोग सिर्जनात्मक लेखनको गहना बन्ने गर्दछ । सत्यलाई प्रस्तुत गर्ने तरिका यी दुईमा फरक हुन्छ । सत्यको सूचनामूलक प्रस्तुति अन्य लेखनमा हुन्छ भने सत्यको मनोरञ्जनात्मक प्रस्तुति सिर्जनात्मक लेखनमा हुन्छ । सिर्जनात्मक लेखनअन्तर्गतको कविता विधामा त अझै सत्यको सूक्तीकरण हुने गर्दछ ।

दुई लेखनमा एउटै विषयलाई प्रस्तुत गर्दा नितान्त फरकपन देखिन्छ । ‘सगरमाथा’का विषयमा लेख्नुप¥यो भने अन्य प्रकारका लेखनमा यस्तो भाषाशैलीको प्रयोग हुन्छ— “सगरमाथा विश्वको सर्वोच्च शिखर हो । यसको उचाइ ८८४८.८६ मिटर छ । यसको उचाइ मापन गर्ने यन्त्रलाई स्टाडियो मिटर भनिन्छ ।” तर यही कुरालाई सिर्जनात्मक लेखनअन्तर्गत रहेर प्रस्तुत गर्दा यस्तो भाषाशैलीको प्रयोग पनि गर्न सकिन्छ— “सगरमाथा हाम्रो शिर हो । यसको उचाइ मापन गर्नै सकिँदैन । गौरवको मापन गर्ने यन्त्र विश्वमा आजसम्म पनि आविष्कार भएको छैन ।” यी दुईमध्येमा पहिलोमा तथ्यपरक सूचनाको मात्रा बढी छ भने दोस्रोमा संवेगात्मक अवस्था, आलङ्कारिक भाषा र मनोरञ्जनात्मक पक्षको उपस्थिति बढी पाइन्छ । सामान्य व्यक्तिले बाहिरी आँखाले जे देख्छ त्यसलाई सत्य ठान्दछ र विषयवस्तुको सपाट वर्णन गर्दछ । बौद्धिक लेखकले बाहिरी आँखाले देखेका कुरालाई मस्तिष्कमा हालेर परीक्षण गर्छ अनि तथ्य र तर्कका आधारमा विश्लेषणात्मक तरिकाले विषयवस्तुतलाई प्रस्तुत गर्छ तर स्रष्टाले विषयवस्तुलाई हृदयको आँखाले हेर्छ, मानवीय संवेगसँग जोडेर साधारणीकरण गर्छ अनि आलङ्कारिक भाषाशैलीमा प्रस्तुत गर्छ । यसकारण सामान्य अभिव्यक्ति बोलचालमा सीमित हुन्छ, बौद्धिक अभिव्यक्तिबाट संज्ञानात्मक सामग्रीहरू निर्माण हुन्छन् भने कलात्मक एवं आलङ्कारिक अभिव्यक्तिबाट अभिव्यञ्जनामूलक साहित्यिक सिर्जनाहरू लेखिने गर्दछन् ।

व्यावहारिक जीवनसँग जोडिएका विभिन्न रचनाहरू पनि अभिव्यक्तिअन्तर्गत नै पर्दछन् । तिनलाई व्यावहारिक लेखनअन्तर्गत राखेर अध्ययन, अध्यापन तथा सिर्जना गर्ने गराइने गरिन्छ । यसअन्तर्गत मान्छेका दैनिक एवं व्यावहारिक कामकाजमा आउने व्यक्तिगत विवरण, तमसुक, भरपाई, मन्जुरनामा, इच्छापत्र, मिलापत्र, छोडपत्र, क्षमायाचना, माइन्युट लेखन, परिचय पत्र, फारम आदि, चिठीपत्रसम्बन्धमा आउने चिठी, निवेदन, निमन्त्रणा पत्र, शुभकामना पत्र, बधाई, प्रमाण पत्र, सम्मान÷अभिनन्दन पत्र, माहुर लेखन, लग्नपत्रिका, दुलाहालाई पठाउने पत्र, समवेदना, श्रद्धाञ्जली, धन्यवाद पत्र आदि, सरकारी कामकाजसम्बन्धमा आवश्यक पर्ने नियुक्ति पत्र, सरुवा पत्र, रमाना पत्र, काजसम्बन्धी पत्र, पुरस्कार÷ग्रेडसम्बन्धी पत्र, राजीनामा पत्र, अवकाश पत्र, आदेश पत्र, परिपत्र, ताकेता पत्र, जाहेरी पत्र, रायपरामर्श पत्र, बोलपत्र, फैसला पत्र आदि र प्रकाशन÷प्रसारणसम्बन्धमा आउने विज्ञापन, सूचना, विज्ञप्ति, किताब वा पत्रिकामा दिइने शुभकामना, समाचार लेखन, सम्पादकीय, सम्पादकलाई चिठी, पाठक प्रतिक्रिया, प्रकाशकीय, प्रतिवेदन लेखन, टिप्पणी लेखन आदि जस्ता कुराहरू पर्दछन् । यसरी नै अभिव्यक्तिका अन्य प्रकारहरूमा अनुच्छेद लेखन, दैनिकी, मनोवाद, वादविवाद, संवाद, चित्रवर्णन, दृश्यवर्णन आदि पनि पर्दछन् । यिनमा प्रयोग हुने भाषा र अपेक्षित शैली सम्बन्धित विषयले माग गरेअनुकूल हुने गर्दछ ।

३. सिर्जनात्मक लेखनका लागि विधागत चिनारी

सिर्जनाको इतिहासलाई हेर्ने हो भने परापूर्व कालदेखि नै पूर्वीय जगत्मा साहित्यलाई काव्यका नामबाट सम्बोधन गर्दै आएको पाइन्छ । छैटौँ शताब्दीका आचार्य भामहले ‘शब्दार्थौ सहितौ काव्यम्’ (शब्द र अर्थको सहभाव नै काव्य हो) भनी परिभाषित गरेको सन्दर्भ होस् अथवा चौधौँ शताब्दीका आचार्य विश्वनाथले ‘वाक्यं रसात्मकं काव्यम्’ (रसात्मक वाक्य नै काव्य हो) भनी उल्लेख गरेको सन्दर्भ होस् यी दुवैले काव्य शब्दभित्र सिर्जना वा साहित्यका सम्पूर्ण विधाहरूलाई समेट्ने प्रयास गरेको देखिन्छ । यिनै तथ्यहरूका आधारमा पूर्वीय काव्यशास्त्रीय मान्यतालाई हेर्दा साहित्यिक सिर्जनाहरूको विधागत वर्गीकरण यस प्रकारको देखिन्छ—

श्रव्य              गद्य आख्यानात्मक गद्य—                                   कथा, उपन्यास आदि
आख्यानेतर गद्य—                                             निबन्ध, प्रबन्ध, नियात्रा, संस्मरण आदि
साहित्य पद्य कविता—                                       कविताका लघुतम, लघु, मध्यम, बृहत् र बृहत्तर रूप
चम्पू गद्य र पद्यको मिश्रण भएका रचनाहरू

दृश्य             अभिनयात्मक रचनाहरू—                                   नाटक, एकाङ्की, रूपक आदि

 

यस आधारमा हेर्दा काव्य, साहित्य वा सिर्जनालाई श्रव्य र दृश्य गरी मुख्य रूपमा दुई वर्गमा विभाजन गरिएको पाइन्छ । सुनेर आनन्द लिइने सिर्जनाहरू श्रव्यअन्तर्गत पर्दछन् । प्राचीन कालमा कविता, कथा आदि पनि पढ्नेभन्दा बढी सुन्ने प्रचलन नै थियो । यसकारण यिनलाई श्रव्य काव्यअन्तर्गत राखिएको हो । श्रव्य काव्यअन्तर्गत गद्य, पद्य र चम्पू गरी तीन भेद पाइन्छन् । गद्यलाई आख्यानात्मक गद्य र आख्यानेतर गद्य गरी दुई वर्गमा विभाजन गरिएको पाइन्छ । आख्यानात्मक गद्यमा कथा र उपन्यास पर्दछन् भने आख्यानेतर गद्यमा निबन्धात्मक रचनाहरू पर्दछन् । सिर्जनात्मक प्रयोगशीलताका आधारमा कथाका पनि सूत्रकथा, लघुकथा, आत्मकथा आदि जस्ता उपभेद र उपन्यासका पनि कथोपन्यास, आत्मोपन्यास, नाट्योपन्यास जस्ता प्रयोगहरू देख्न पाइन्छन् भने निबन्धात्मक रचनाहरूभित्र प्रबन्ध, नियात्रा, यात्रावर्णन, संस्मरण, आत्मसंस्मरण, जीवनी आदि पर्दछन् । सिर्जनाको पद्य भेदअन्तर्गत कविताको सबैभन्दा सानो लघुतम रूपअन्तर्गत पर्ने हाइकुदेखि लिएर विश्वकै सबैभन्दा ठुलो काव्य ‘महाभारत’सम्मका सिर्जनाहरू पर्दछन् । एउटै कृतिमा गद्य र पद्यको मिश्रण भएको छ भने त्यस्ता रचनालाई पूर्वीय काव्यशास्त्रहरूमा चम्पू काव्य भनेको पाइन्छ । यस प्रकारका कृतिहरू नेपाली साहित्यमा कमै पाइन्छन् ।

हेरेर आनन्द ग्रहण गरिने साहित्यलाई दृश्य काव्य भनिन्छ । वर्तमानमा नाटक पाठ्यकृतिका रूपमा पनि प्रयोग हुँदै आएको छ तापनि मूलतः नाटक भन्नेबित्तिकै मञ्चमा मञ्चन गरिने र हेरिने विधा नै हो । यस्ता दृश्य काव्यअन्तर्गत नाटक, एकाङ्की, रूपक आदि पर्दछन् । सिनेमा पनि नाटककै विकसित रूप हो । नाटकको प्रदर्शन प्रत्यक्ष रूपमा रङ्गमञ्चमा हुने गर्दछ भने सिनेमाको प्रदर्शन पर्दामा हुने गर्दछ । यिनका अतिरिक्त समालोचना, समीक्षा, कृतिविश्लेषण आदि कुराहरू पनि यसै सन्दर्भसँग जोडिएर आउँछन् तर ती सिर्जना होइनन् । सिर्जनामाथि राखिने सैद्धान्तिक, व्यावहारिक वा विषयगत विश्लेषण अथवा दृष्टिकोणहरू हुन् ।

उल्लिखित विश्लेषणका आधारमा हेर्दा सिर्जनाका लागि कविता, आख्यान, निबन्ध र नाटक गरी मूलतः चारओटा विधाहरू देखापर्दछन् । विश्वसाहित्यमा कला वा साहित्यको प्रादुर्भाव भएदेखि हालसम्म भएका अनेकौँ साहित्यिक आन्दोलन, नवीन आविष्कार, पृथक् प्रयोग र विधागत प्रवर्तन आदिका कारण उल्लिखित मूल विधाअन्तर्गत अनेकौँ उपविधाहरूको जन्म भएको पाइन्छ । नेपाली साहित्यकै सन्दर्भमा केन्द्रित भएर हेर्ने हो भने पनि अनेकौँ नवीनतम प्रयोगहरू सिर्जनाका क्षेत्रमा भएका छन् र अहिले पनि हुँदै छन् । यहाँ भने उल्लिखित चारओटा मूल विधाहरूका बारेमा सामान्य सैद्धान्तिक जानकारी प्रदान गरी तिनका अन्तर्यमा रहेका विविध उपविधाका बारेमा अतिसामान्य सूचना मात्र प्रदान गरिएको छ ।

(क) कविता

कविता विश्वसाहित्यकै सर्वाधिक लोकप्रिय र गेय विधा हो । अनुभूतिको लयात्मक अभिव्यक्ति कवितामा हुने गर्दछ । अत्यन्त सुललित, सुकोमल, प्राञ्जल र आलङ्कारिक भाषाशैलीमा अनुभूतिको अभिव्यक्ति दिने काम कवितामा भएको देखिन्छ । यसमा अनुभूतिको प्रवाह लयात्मक रूपमा हुने हुनाले अन्य विधाका तुलनामा यसको गायन, वाचन वा प्रस्तुतीकरण पनि प्रभावकारी हुने गर्दछ । वर्णहरूको आनुप्रासिक अन्तर्गुञ्जन, शब्दहरूको तदनकूल छनोट र विषयवस्तुको सूक्तिपूर्ण प्रस्तुति आदिका कारण कविता अन्य विधाभन्दा मनोरञ्जक पनि छ र यो सबैभन्दा बढी लेखिने विधामा पनि पर्दछ ।

कवितालाई विश्वसाहित्यकै सबैभन्दा जेठो विधा मान्ने गरिन्छ । नेपाली लिखित साहित्यको इतिहासलाई हेर्ने हो भने पनि कविता नेपाली साहित्यको सबैभन्दा पुरानो विधा हो । नेपाली कविताको जन्म अनेकौँ लोकगीत तथा गाथाहरूको पृष्ठभूमिमा वि.सं. १८२६ मा भएको मानिन्छ । सुवानन्द दासद्वारा लिखित ‘पृथ्वीनारायण’ शीर्षकको कविता नै पहिलो नेपाली कविता हो । त्यहाँदेखि यहाँसम्म आइपुग्दा नेपाली कविताले २५० वर्षको यात्रा पूरा गरिसकेको छ । यस अवधिमा नेपाली कवितामा यसका पूर्वस्थापित सबै प्रकारका रूपहरूको प्रयोग भइसकेको छ भने केही नयाँ स्वरूपहरूको समेत जन्म भइसकेको पाइन्छ । कविता भनेको केवल फुटकर कविता मात्र होइन । जम्मा १७ अक्षरमा पूरा हुने ‘हाइकु’ पनि कविता हो, चार हरफमा पूरा हुने ‘मुक्तक’ पनि कविता हो, अनुभूति प्रवाहमा एक झरी बर्सिएको जस्तो लाग्ने ‘फुटकर कविता’ पनि कविता हो, अनुभूतिको विस्तार हुँदै गएपछि निर्माण भएका लेखनाथको ‘ऋतुविचार’, देवकोटाको ‘मुनामदन’ र घिमिरेको ‘गौरी’ जस्ता ‘खण्डकाव्य’हरू पनि कविता हुन्, जीवनको समग्र चित्रण गरी लेखिएका देवकोटाका ‘शाकुन्तल’ र ‘सुलोचना’, बालकृष्ण समको ‘चिसोचुल्हो’, मोदनाथ प्रश्रितको ‘मानव’ जस्ता ‘ललित महाकाव्य’हरू पनि कविता हुन् र एउटा सिङ्गो युगको प्रतिनिधित्व गर्ने संस्कृत काव्यपरम्पराका ‘रामायण’ र ‘महाभारत’ तथा अङ्ग्रेजी काव्यपरम्पराका ‘इलियड’ र ‘ओडिसी’ जस्ता ‘विकसनशील वा आर्षमहाकाव्य’हरू पनि कविता नै हुन् । यति मात्र नभएर कविताका क्षेत्रमा अनेकौँ नयाँ नयाँ प्रयोगहरू भएका छन् । ती पनि नेपाली कविताका सम्पत्ति नै हुन् । यिनको विधागत स्वरूप र सिर्जनात्मक प्रयोगका बारेमा कविता सिर्जनाका समयमा नै विस्तृत जानकारी प्रदान गरिने छ ।

(ख) आख्यान

आख्यान पनि विश्वसाहित्यको अर्को लोकप्रिय विधाअन्तर्गत पर्दछ । एउटा कथावस्तुको केन्द्रीयतामा रहेर घटनाको कार्यकारण शृङ्खला प्रस्तुत गर्दै अन्त्यसम्म पुग्ने र सन्देश, ज्ञान र मनोरञ्जन एकै साथ प्रदान गर्ने काम आख्यानले गर्दछ । यसअन्तर्गत कथा र उपन्यास पर्दछन् । यी दुवैका लागि घटनाको उपस्थिति अनिवार्य मानिन्छ । देवकोटाले कथालाई संसार चियाउन सकिने एउटा सानो आँखीझ्यालका रूपमा परिभाषित गरेका छन् । यसका आधारमा हेर्दा कथा छोटो हुन्छ र त्यसबाट विश्व चियाउन सकिन्छ भन्ने कुरा बुझिन्छ । जीवनको व्यापकतालाई समेट्न सक्ने आख्यानात्मक रचनालाई उपन्यास भनिन्छ । कथाकै शैलीमा लेखिएको तर विषयगत व्यापकतालाई समेटिएको सिर्जना नै उपन्यास हो । कथावस्तु, कथानक, चरित्र, परिवेश, उद्देश्य, दृष्टिविन्दु, भाषाशैली आदि कथा र उपन्यास दुवैका लागि अनिवार्य तत्त्व मानिन्छन् । वि.सं. १८२७ मा शक्तिवल्लभ अर्यालद्वारा संस्कृतबाट नेपाली भाषामा अनूदित ‘महाभारत विराटपर्व’लाई नेपाली कथा र उपन्यास दुवैको पहिलो कृति मानिन्छ । त्यहाँदेखि यहाँसम्म आइपुग्दा नेपाली आख्यानले पनि २५० वर्षको यात्रा पूरा गरिसकेको छ । यस अवधिमा नेपाली कथाका क्षेत्रमा सूत्रकथा, लघुकथा, आत्मकथा आदि जस्ता उपभेदहरूको पनि प्रयोग भएको देखिन्छ भने नेपाली उपन्यासका क्षेत्रमा कथोपन्यास, आत्मोपन्यास, नाट्योपन्यास जस्ता प्रयोगहरू भएको देखिन्छ । यी सबै कुराको विस्तृत चर्चा सम्बन्धित विधाको सैद्धान्तिक जानकारी र सिर्जनात्मक प्रयोगका सन्दर्भमा गरिने छ ।

(ग) निबन्ध

निबन्ध साहित्यको दृष्टिकोणमूलक गद्य सिर्जना हो । कुनै पनि विषयमाथिको गम्भीर दृष्टिकोण निबन्धमा हुने गर्दछ । देवकोटाले निबन्धलाई टेबुल गफका रूपमा परिभाषित गरेका छन् । उनले चस्मादार प्राध्यापकको बौद्धिक व्याख्यान, वेदान्तको वमन र जटिलताको प्रस्तुति नभएर सरल भाषा र अनौपचारिक शैलीमा विषयवस्तुको गम्भीर व्यवस्थापन गरिएको रचनाका रूपमा प्रस्तुत गरेका छन् । यसका आधारमा हेर्दा स्रष्टाले निजात्मक वा परात्मक शैलीमा कुनै पनि विषयवस्तुका बारेमा आत्मदृष्टिका साथ गरेको विश्लेषण नै निबन्ध बन्ने गर्दछ भन्ने बुझिन्छ । निबन्ध नै भनेर लेखिएको नभए पनि वि.सं. १८३१ मा पृथ्वीनारायण शाहले आफ्ना भाइभारदारहरूलाई दिएको ‘दिव्योपदेश’लाई नेपाली निबन्धको पहिलो स्वरूप मानिन्छ । त्यहाँदेखि यहाँसम्म आइपुग्दा नेपाली निबन्धले पनि झन्डै २५० वर्षको यात्रा पूरा गर्न लागेको देखिन्छ । यस अवधिमा नेपाली निबन्धात्मक सिर्जनाभित्र पनि प्रबन्ध, नियात्रा, यात्रावर्णन, संस्मरण, आत्मसंस्मरण, जीवनी आदि जस्ता अनेकौँ प्रयोगहरू भइसकेका छन् । यी सबै कुराको विस्तृत चर्चा सम्बन्धित विधाको सैद्धान्तिक जानकारी र सिर्जनात्मक प्रयोगका सन्दर्भमा गरिने छ ।

(घ) नाटक

नाटक साहित्यको दृश्य विधाअन्तर्गत पर्दछ । अहिले भने नाटकलाई पनि पाठ्यविधाकै रूपमा विद्यालय र विश्वविद्यालयमा पढाइने गरिन्छ । कुनै पनि विषयलाई संवाद र अभिनयका माध्यमबाट प्रस्तुत गरी सन्देशलाई भावकसम्म पु¥याउने काम नाटकमा हुने गर्दछ । नाटक रङ्गमञ्चमा नै प्रस्तुत गरिने र यसमा अभिनयका माध्यमबाट सूचनाको सम्प्रेषण गरिने हुनाले नाटकका लागि संवाद र अभिनय अनिवार्य मानिन्छन् । वि.सं. १८५५ मा शक्तिवल्लभ अर्यालद्वारा आफ्नै संस्कृत नाटकबाट नेपाली भाषामा अनूदित ‘हास्यकदम्ब’लाई नेपाली नाटकको पहिलो कृति मान्ने गरिन्छ । त्यहाँदेखि यहाँसम्म आइपुग्दा नेपाली नाटकले पनि २२० वर्षको यात्रा पूरा गरिसकेको देखिन्छ । यस अवधिमा नाटकका एकाङ्की, रूपक, प्रहसन आदि अनेकौँ रूपको प्रयोग भइसकेको देखिन्छ । सिनेमा पनि नाटककै विकसित रूप हो । नाटकलाई प्रविधिअनुकूल बनाएर पर्दामा प्रस्तुत गर्न थालेपछि सिनेमाको जन्म भएको हो । यी सबै कुराको विस्तृत चर्चा सम्बन्धित विधाको सैद्धान्तिक जानकारी र सिर्जनात्मक प्रयोगका सन्दर्भमा गरिने छ ।

निष्कर्षमा भन्नुपर्दा सिर्जनात्मक लेखनअन्तर्गत उल्लिखित चारओटा मूल विधाहरू नै पर्दछन् । यी विधाहरूमा पनि विधातत्त्वका आधारमा अनेकौँ समानता र भिन्नताहरू पाइन्छन् । विषयवस्तुको वर्णन सबै विधामा हुन्छ । कथा, उपन्यास र नाटकमा चरित्र र परिवेश अनिवार्य मानिन्छन् तर कविता र निबन्धमा चरित्र अनिवार्य नभए पनि कतै कतै आउन सक्छन् भने परिवेश त कुनै न कुनै रूपमा आएकै हुन्छ । उद्देश्य, भाव, विचार, भाषाशैली आदि जस्ता कुराहरू पनि सबै विधामा आउने गर्दछन् । यति हुँदाहुँदै पनि हरेक विधाको आफ्नो एउटा न एउटा विधागत चिनारी हुन्छ । कवितालाई कविता बनाउने वा अन्य विधाबाट फरक बनाउने एक मात्र तत्त्व लयविधान हो । कवितामा लय बद्ध छन्दका कवितामा बाह्य रूपमा र मुक्त छन्दका कवितामा आन्तरिक रूपमा भए पनि कुनै न कुनै रूपमा आएकै हुनुपर्छ । यसरी नै आख्यानलाई अरू विधाबाट अलग बनाउने एक मात्र तत्त्व घटना वा त्यसको कार्यकारण शृङ्खला नै हो । निबन्धलाई निबन्ध बनाउने अनिवार्य तत्त्व दृष्टिकोण हो भने नाटकलाई अरू विधाबाट अलग गराउने तत्त्व संवाद वा अभिनय नै हो । यसरी हरेक विधाको आफ्नो छुट्टै पहिचान छ, छुट्टै संरचनात्मक अस्तित्व छ र छुट्टै इतिहास पनि छ ।

अन्त्यमा यिनै विधागत मूलमर्मको केन्द्रीयतामा रहेर नेपाली साहित्यमा प्रयोग भएका उल्लिखित विधाहरूसँग सम्बन्धित अनेकौँ उपविधा र तिनको प्रयोगात्मक वैशिष्ट्यका साथ सिकाइ क्रियाकलापसम्म पनि पुग्ने गरी आगामी शृङ्खलाहरूमा हरेक हप्ता एक एकओटा नयाँ विधा तथा उपविधाका बारेमा आवश्यक सामग्रीहरू क्रमशः प्रस्तुत गर्दै जाने र के कसरी लेख्ने ? भन्नेबारेमा समेत स्पष्ट र प्रयोगात्मक सिकाइ सामग्री उपलब्ध गराउने लक्ष्यसहित ‘सिर्जना पाठशाला’को थालनी गरिएको कुरा सम्बन्धित सबैमा जानकारी गराउँदै यो पहिलो शृङ्खला यहीँ समापन गर्ने अनुमति चाहन्छु ।

क्रमशः अर्को हप्ता…

प्रतिक्रिया
Loading...